एकाइ १०: जनसङ्ख्या र यसको व्यवस्थापन (Unit 10: Janasankhya ra Yesko Byabasthapan)
पाठ ४: पारिवारिक योजना र गुणस्तरीय जीवन (Path 4: Paribarik Yojana ra Gunastariya Jiwan)
यस पाठमा पढ्नुहोस्
१. पारिवारिक योजना (Paribarik Yojana) को परिचय दिनुहोस् ।
उत्तर: आम्दानी तथा अन्य स्रोतको उचित व्यवस्थापन तथा परिचालनबाट परिवारका सदस्यलाई सुखी जीवनयापन गराउने योजनालाई पारिवारिक योजना (Paribarik Yojana) भनिन्छ । पारिवारिक जीवनलाई स्वस्थ र व्यवस्थित बनाउनका लागि पारिवारिक योजना आवश्यक पर्छ । एउटा उपयुक्त पारिवारिक योजनाले स्वस्थ, सुखी र गुणस्तरीय जीवन (Gunastariya Jiwan) यापनमा सहयोग पुऱ्याउँछ ।
२. पारिवारिक योजनाअन्तर्गत गर्नुपर्ने कार्यको सूची बनाउनुहोस् ।
उत्तर: पारिवारिक योजनामा निम्नलिखित कार्यहरूलाई महत्त्व दिनुपर्छ:
- घर परिवार चलाउन आर्थिक स्रोत जुटाउनुपर्छ ।
- उपलब्ध स्रोतको सही परिचालन गर्नुपर्छ ।
- आवश्यकताअनुसार बच्चा जन्माउने र उचित जन्मान्तर कायम राख्नुपर्छ ।
- सामाजिक परिवेशमा समायोजन हुन सामाजिकीकरणका क्रियाकलापमा सहभागी हुनुपर्दछ ।
- आपसी सरसल्लाह र निर्णयका आधारमा पारिवारिक जिम्मेवारी पूरा गर्नुपर्छ ।
- बालबच्चाको हेरचाह तथा शिक्षा दीक्षाको व्यवस्था गर्नुपर्छ ।
- ज्येष्ठ नागरिकप्रति उचित स्याहार, हेरचाह र सम्मान गर्नुपर्छ ।
३. पारिवारिक योजनाले गुणस्तरीय जीवन प्राप्तिमा कसरी सहयोग पुऱ्याउँछ, उल्लेख गर्नुहोस् ।
उत्तर: पारिवारिक योजना र गुणस्तरीय जीवन का बिचमा अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । व्यवस्थित पारिवारिक योजना गुणस्तरीय जीवनको मुख्य आधार हो । यसले निम्न तरिकाले गुणस्तरीय जीवन प्राप्तिमा सहयोग पुऱ्याउँछ:
- पारिवारिक योजनाले परिवारका सदस्यबिच सुमधुर सम्बन्ध कायम गर्छ र सुखी र आरामदायी परिवार बनाउनमा सहयोग पुऱ्याउँछ ।
- परिवारमा प्राप्त स्रोतलाई योजनाबद्ध र व्यवस्थित ढङ्गले उपयोग गर्न सकेमा खुसी र सुखी परिवार बन्न सक्छ ।
- यसले व्यक्ति तथा परिवारको स्वास्थ्य तथा जीवनस्तर उकास्न मदत गर्छ ।
- आवश्यकताअनुसार मात्र बच्चा जन्माउन र उचित जन्मान्तर कायम राख्न प्रेरणा प्रदान गर्छ, जसले छोराछोरीको उचित लालनपालन र रेखदेखलाई मदत पुग्छ ।
- यसले परिवारका सदस्य तथा आर्थिक स्रोतबिच समन्वय कायम गर्न र अनावश्यक खर्च घटाउन मदत गर्छ ।
४. गुणस्तरीय जीवनका आधार उल्लेख गर्दै कुनै दुई आधारको छोटकरीमा व्याख्या गर्नुहोस् ।
उत्तर: गुणस्तरीय जीवनका आधारहरू निम्नअनुसार छन्:
- आधारभूत आवश्यकता परिपूर्ति
- खुसीपन वा आनन्दीपन
- स्वस्थ र दीर्घ जीवन
- भौतिक जीवनस्तरका सूचक
- मानव विकास सूचकाङ्क
तीमध्ये कुनै दुई आधारको व्याख्या तल दिइएको छ:
क) आधारभूत आवश्यकता परिपूर्ति:
व्यक्ति वा परिवारको गुणस्तरीय जीवन मापन गर्ने वा तुलना गर्ने महत्त्वपूर्ण आधार आधारभूत आवश्यकताको परिपूर्ति हो । व्यक्तिका आधारभूत आवश्यकता पूरा भएमा जीवनमा सुधार आउँछ, त्यसैले यसलाई गुणस्तरीय जीवनको आधार मानिएको हो । सन् १९७० को दशकमा आधारभूत आवश्यकताको परिपूर्तिलाई गुणस्तरीय जीवनको सूचकका रूपमा लिन थालिएको थियो । यसअन्तर्गत खाद्यान्न, लत्ताकपडा, आवास, खानेपानी र सरसफाइ, स्वास्थ्य, र शिक्षा जस्ता आवश्यकताहरू पर्दछन् ।
ख) मानव विकास सूचकाङ्क:
मानव विकासको अवस्था मापन गर्ने सबैभन्दा महत्त्वपूर्ण र लोकप्रिय सूचकाङ्क मानव विकास सूचकाङ्क (Human Development Index) हो । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले सन् १९९० मा सर्वप्रथम यो सूचकाङ्क प्रचलनमा ल्याएको हो । यसले मानव विकासका तीन आधारभूत आयामहरू: प्रतिव्यक्ति आय, शैक्षिक स्तर र औसत आयुलाई आधार मानेर मानव विकासको अवस्था मापन गर्दछ । मानव विकास सूचकअनुसार ० देखि १ अङ्कलाई आधार मानिन्छ र बढी अङ्क प्राप्त गर्ने देशलाई उच्चस्तरको गुणस्तरीय जीवन भएको मानिन्छ ।
५. सन्तानको उचित भरणपोषण र शिक्षादीक्षाले कसरी गुणस्तरीय जीवनमा प्रभाव पार्छ, उल्लेख गर्नुहोस् ।
उत्तर: सन्तानको उचित भरणपोषण र शिक्षादीक्षाले गुणस्तरीय जीवनमा महत्त्वपूर्ण प्रभाव पार्दछ । सन्तानको जन्म दिएपछि उनीहरूको भरणपोषण र उचित शिक्षा दीक्षा दिनु आमाबुबाको पहिलो कर्तव्य हो । गुणस्तरीय जीवन प्राप्तिका लागि परिवारको आकार लाई एक महत्त्वपूर्ण पक्षका रूपमा लिइन्छ । आवश्यकताअनुसार बच्चा जन्माउने र उचित जन्मान्तर कायम गर्ने जस्ता पारिवारिक योजनाका महत्त्वपूर्ण निर्णयले छोराछोरीको भरणपोषण र शिक्षामा सहयोग पुग्छ । जब परिवारको आकार व्यवस्थित हुन्छ, तब बालबालिकाको उचित लालनपालन, रेखदेख र शिक्षादीक्षाको राम्रो व्यवस्था गर्न सकिन्छ, जसले गर्दा परिवारको जीवनस्तर सुधारिन्छ र समग्रमा गुणस्तरीय जीवन प्राप्त गर्न मद्दत पुग्छ ।
अर्को पाठ (Next Chapter)
यो पनि पढ्नुहोस्
कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us