कक्षा १० नेपाली व्यावसायिक चिठी: Complete Guide with Exercises and Solutions

व्यावसायिक चिठी (Business Letter)

Comprehensive guide with all exercises, vocabulary, comprehension and detailed analysis of ‘व्यावसायिक चिठी’ for Class 10 SEE preparation.

Nepali Class 10 व्यावसायिक चिठी (Business Letter) chapter notes with exercises

शब्दभण्डार (Vocabulary) – व्यावसायिक चिठी

१. शब्दकोशको सहायता लिई दिइएका शब्दको अर्थ लेख्नुहोस्:

भुक्तानी ⇒ मूल्य तिर्ने काम
अत्यधिक ⇒ ज्यादै धेरै
उपत्यका ⇒ चारैतिरबाट पहाडले घेरिएको सम्म ठाउँ
ब्रोकाउली ⇒ काउली प्रजातिको तरकारी
कृषक ⇒ खेतीपाती गर्ने मानिस
नगदेबाली ⇒ नगद आम्दानी हुने कृषिबाली
तपसिल ⇒ निम्नलिखित

३. अनुच्छेदबाट कोष्ठकको निर्देशनअनुसार हरेकका दुई दुईओटा शब्द पहिचान गरी लेख्नुहोस्:

(क) झगडाको राम्रो फैसला गर्न सक्ने कृष्ण राय घरबाट बाहिर कम निस्कन्थे। (तद्भव र आगन्तुक)

⇒ झगडा, घर (तद्भव) | फैसला, कम (आगन्तुक)

(ख) सवारी दुर्घटना किन र कसरी हुन्छ भन्ने कुरालाई गम्भीरता साथ सोच्नु पर्ने भएको छ। (तत्सम र आगन्तुक)

⇒ दुर्घटना, गम्भीरता (तत्सम) | सवारी, जिम्मेवार (आगन्तुक)

(ग) नेपालमा परम्परागत सिँचाइका कुलो, इनार आदिका सहायताले खेती गर्ने चलनका साथै तराई तथा भित्री मधेसमा बढी मात्रामा नहरबाट सिँचाइ गर्ने आधुनिक प्रक्रियाको विकास भएको छ। (तत्सम र तदभव)

⇒ परम्परागत, सहायता (तत्सम) | खेती, मधेस (तद्भव)

(घ) वायुमण्डल विभिन्न ग्याँसले बनेको छ। यसमा आयतनका हिसाबले सबभन्दा बढी नाइट्रोजन र अक्सिजन छन्। (तत्सम र आगन्तुक)

⇒ वायुमण्डल, विभिन्न (तत्सम) | ग्याँस, नाइट्रोजन (आगन्तुक)

४. दिइएका पत्र रचनासँग सम्बन्धित शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्:

सम्बोधन ⇒ आफूभन्दा ठुलालाई आदरणीय भनेर सम्बोधन गर्नुपर्छ।
निवेदक ⇒ निवेदनको अन्तिममा निवेदकको नाम हुनुपर्छ।
अभिवादन ⇒ सम्बोधनको तलपट्टि अभिवादन जनाउनुपर्छ।
प्रेषक ⇒ प्रेषकको नाम र ठेगाना खामको देब्रेपट्टि लेखिन्छ।
प्रापक ⇒ प्रापकको नाम र ठेगाना स्पष्ट नभएमा चिठी सम्बन्धित ठाउँमा पुग्दैन।
भवदीय ⇒ चिठीका अन्त्यमा आत्मीयता जनाउन भवदीय शब्द प्रयोग गरिन्छ।
विषय ⇒ कार्यालयीय र व्यापारिक चिठीमा विषय लेखिन्छ।

बोध र अभिव्यक्ति (Comprehension & Expression)

३. दिइएका प्रश्नको उत्तर भन्नुहोस्:

(क) चिठी कुन विषयवस्तुमा लेखिएको छ?

⇒ चिठी बिउबिजन उपलब्ध गराइदिने विषयवस्तुमा लेखिएको छ।

(ख) चिठीमा सम्बोधनपछि कुन कुरा उल्लेख गरिएको छ?

⇒ चिठीमा सम्बोधनपछि चिठी पाउने संस्थाको ठेगाना उल्लेख गरिएको छ।

(ग) चिठी कसले कसलाई लेखेको हो?

⇒ शीतोष्ण बागवानी केन्द्र मकवानपुरका निर्देशक उमाकान्त ठाकुरले शीतोष्ण बागवानी केन्द्र मुस्ताङलाई लेखेको हो।

(घ) चिठीको अन्त्य कसरी गरिएको छ?

⇒ चिठीको अन्त्य भवदीय र चिठी पठाउने व्यक्तिको पद र नाम लेखेर भएको छ।

१३. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्:

(अ) र्याप गीतमा कस्तो भाव पाइन्छ?

⇒ र्याप गीतमा आक्रोश, चेतना र विद्रोहको भाव पाइन्छ।

(आ) र्याप गीतको सुरुआत कसरी भएको थियो?

⇒ पश्चिमी देशमा श्वेतहरूले अश्वेतहरुमाथि दमन र शोषण गर्दथे। आफूमाथि भएको शोषणविरुद्ध आक्रोश व्यक्त गर्न अश्वेतहरूले सडक र गल्लीबाट र्याप गायनको आरम्भ गरेका थिए।

(इ) अहिलेका र्याप गीतमा कस्ता विषयवस्तु पाइन्छन्?

⇒ अहिलेका र्याप गीतमा सामाजिक, राजनीतिक व्यवस्था, समसामयिक विकृति प्रेम जस्ता थुप्रै विषयवस्तु पाइन्छन्।

(ई) र्याप गीतबाट युवालाई के कुरामा उत्प्रेरित गर्न सकिन्छ?

⇒ र्याप गीतबाट युवालाई रूपान्तरण र परिवर्तनका गीत गाउन उत्प्रेरित गर्न सकिन्छ।

पत्र लेखन (Letter Writing)

४. घरपझाङ गाउँपालिका मुस्ताङका तर्फबाट लेखेको माथिको चिठीको प्रत्युत्तर लेख्नुहोस्:

शीतोष्ण बागवानी केन्द्र

घरपझोङ गाउँपालिका २

मुस्ताङ, गण्डकी प्रदेश

मिति : २०८०/०५/१४

प.स.

च. न.

श्री शीतोष्ण बागवानी केन्द्र,

थाहा नगरपालिका – ४

मकवानपुर, बाग्मती प्रदेश।

महोदय,

विषयः बिउबिजन उपलब्ध गराइएको सम्बन्धमा

उपर्युक्त सम्बन्धमा त्यस शीतोष्ण बागवानी केन्द्रबाट हिमाली क्षेत्रका लागि उपयुक्त विभिन्न बिउबिजनको माग गरी लेख्नुभएको पत्र प्राप्त भयो। वेबसाइटबाट हाम्रो केन्द्रका बारेमा थाहा पाएर पत्र लेख्नुभएको रहेछ, यसबाट हामीलाई धेरै खुसी लाग्यो।

मुस्ताङबाट मकवानपुरमा पनि हाम्रा उत्पादन पुर्न पाउनु हाम्रा लागि गर्वको कुरा हो। त्यस केन्द्रबाट प्राप्त पत्रमा उल्लेख भएबमोजिमका बिउबिजन मुस्ताङ ट्रान्सपोर्टबाट त्यस केन्द्रको ठेगानामा पठाइएको छ। बिउबिजनको विवरण र रकम उल्लेख भएको बिल पत्रसाथ पठाइएको छ।

बिल र सामान प्राप्त हुनासाथ यस केन्द्रको नाममा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको खाता नं १२३४५६७८९ मा बिलमा तोकिएअनुसारको रकम उपलब्ध गराइदिनुहुन अनुरोध छ।

भवदीय

प्रबन्धक

मोहन शेर्पा

६. शैक्षिक भ्रमणको प्रबन्ध मिलाइदिन अनुरोध गर्दै विद्यालयका प्रधानाध्यापकलाई लेखिने निवेदनको नमुना तयार पार्नुहोस्:

श्री प्रधानाध्यापकज्यू,

जनता माध्यमिक विद्यालय,

बुटवल, रुपन्देही

मितिः २०८०।०४।२०

महोदय,

विषयः शैक्षिक भ्रमणको प्रबन्ध मिलाइदिनुहुन

शैक्षिक भ्रमण विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्ने प्रभावकारी उपाय हो। विद्यार्थीलाई घोकाएरभन्दा प्रत्यक्ष अनुभव गराएर दिइने शिक्षा कहिले पनि भुल्न सक्दैनन्। एउटा भनाइ छ, ‘सुने बिर्सन्छु, देखे सम्झन्छु, गरे जान्दछु।’ यसबाट पनि शैक्षिक भ्रमणको महत्त्व झल्कन्छ।

अझ सामाजिक र नेपाली विषयमा देशका विभिन्न भूभागहरुको प्रत्यक्ष अवलोकन गरेर सिक्नुपर्ने र लेख्नुपर्ने कुराहरु समेटिएका हुन्छन्। शैक्षिक भ्रमणबाट बालबालिकाहरुलाई देशका सम्पदाहरुको विषयमा परिचित हुन पनि सहयोग पुग्छ। फरक ठाउँको सामाजिक, सांस्कृतिक परिवेशका बारेमा बुझ्न सकिन्छ। त्यस्ता ठाउँहरुको प्रचारप्रचारमा समेत टेवा पुग्छ।

शैक्षिक भ्रमणमा जानका लागि हामी कक्षा १० का सम्पूर्ण विद्यार्थीहरु सहमत छौं। अभिभावकको सहमति पत्र र भ्रमणका लागि शुल्क उठाउन आवश्यक भए, त्यो पनि उठाउन तयार छौँ। तसर्थ अब उपयुक्त रुट, समय र यातायातसहितको सम्पूर्ण आवश्यक प्रबन्ध मिलाइदिनुहुन विनम्र अनुरोध गर्दछौं।

निवेदक

कक्षा १० मा अध्ययनरत सम्पूर्ण छात्रछात्राहरु

भाषिक संरचना (Language Structure)

करण र अकरण क्रियापद:

करण क्रियापद:

गौरवले गहुँको रोटी खान्छन्

⇒ खान्छन्

सलिनाले स्याउ असाध्यै रुचाउँछिन्

⇒ रुचाउँछिन्

सुदीक्षा सधैं सबैसँग बोल्छिन्

⇒ बोल्छिन्

गङ्गाराम गुरु रायोको साग खुब मिठो मान्नुहुन्छ

⇒ मान्नुहुन्छ

अकरण क्रियापद:

मैदाको रोटी खाँदैनन्

⇒ खाँदैनन्

सुन्तला त्यति रुचाउँदिनन्

⇒ रुचाउँदिनन्

तिनै कहिलेकाहीँ सबैसँग बोल्दिनन्

⇒ बोल्दिनन्

फापरको साग खासै मिठो मान्नुहुन्न

⇒ मान्नुहुन्न

व्यावसायिक चिठी पाठमा प्रयोग भएका क्रियापद टिप्नुहोस् र तिनलाई अकरणमा बदल्नुहोस्:

भयो

⇒ भएन

गरिरहेका छन्

⇒ गरिरहेका छैनन्

आएका छन्

⇒ आएका छैनन्

गरेको छ

⇒ गरेको छैन

आइरहेको छ

⇒ आइरहेको छैन

⇒ छैन

ब र व प्रयोग भएका शब्दहरू:

ब प्रयोग भएका शब्दहरू:

  • बागवानी
  • बिउ
  • बाग्मती
  • बरबोट
  • बडो
  • बिरामी
  • बुढाबुढी

व प्रयोग भएका शब्दहरू:

  • विषय
  • मकवानपुर
  • विगत
  • वडा
  • विजय
  • वर्मा
  • विचित्र
  • व्यक्ति
  • अनिवार्य

सिर्जना कार्य (Creative Writing)

१. गाउँघरको हालखबर उल्लेख गर्दै सहरमा पढ्न बसेको भाइलाई पठाउने चिठीको नमुना तयार पार्नुहोस्:

मितिः २०८०।०४।२०

प्यारो भाइ,

शुभाशीर्वाद

यहाँ बुबाआमा र म सन्चै छौं। त्यहाँ तिमी पनि सन्चै छौ होला भन्ने आशा गरेको छु। भाइ तिमीले पठाएको पत्र प्राप्त भयो। तिमीले गाउँघरको हालखबर सोधेका रहेछौ।

यहाँ गाउँमा इन्टरनेटको सुबिधा अझै पुगेको छैन नत्र त भिडियो कल गरेर यताको हालखबर अवगत गराउन पाइन्थ्यो। चिठीबाटै भए पनि गाउँको हालखबर लेख्दै छु।

भाइ, गाउँ अहिले सुनसान बन्दै छ। हाम्रा छिमेकीहरु पनि सहरतिर बसाइँ सरेर गए। गाउँमा पहिला जस्तो खेतीपाती पनि हुँदैन। अलिअलि लगाएको अन्न तरकारी पनि बँदेल र बाँदरले सखाप पारिदिन्छ। गाउँमा युवाहरु पनि कोही छैनन्। वृद्ध, महिला र बालबालिका मात्र छन्।

तिमीले पाँचसम्म पढेको विद्यालयमा पनि विद्यार्थी सङ्ख्या धेरै कम भएको छ। हुनत गाउँमा मोटरबाटो, बिजुली, खानेपानी आदि धेरै कुराको सुविधा थप भएका छन् तर पनि गाउँ रित्तिने कम पनि रोकिएको छैन।

मैले टनेल बनाएर गाउँमै व्यावसायिक तरकारी खेती गर्न सोचेको थिएँ। अपेक्षा गरे जस्तो सफलता मिलेको छैन। धेरै नपढेको मान्छेलाई त गाह्रो हुने रहेछ। त्यसैले म पनि कतारको भिसा लगाउन आँटेको छु।

भाइ, तिमी सहरमा बसेर राम्रोसँग पढ्नू। अरु कुरा फोनमा गर्दै गरौंला। आजलाई उही

तिम्रो दाजु

पवन ज्ञवाली

२. तपाईं सहभागी भएको कुनै सांस्कृतिक कार्यक्रमका घटना टिपोट गरी रिपोटिङको शैलीमा कक्षामा प्रस्तुत गर्नुहोस्:

तीज विशेष कार्यक्रम सम्पन्न

भदौ १४, पाल्पा

तानसेन नगरपालिका पाल्पामा रहेको श्री बाल माध्यमिक विद्यालयमा तीज विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र पौडेलको अध्यक्षता र विद्यालयका शिक्षक रमेश अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

बालबालिकामा लुकेर रहेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले कार्यकमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक वासुदेव घिमिरेले बताउनुभएको थियो। कार्यक्रममा तीज विशेष गायन र नृत्य प्रतियोगिताहरु सञ्चालन भएका थिए। स्थानीय कलाकार जिया भुसालले पनि कार्यक्रममा रमाइलो प्रस्तुति दिनुभएको थियो।

शिक्षकहरुको समूहले रमाइलो गीत र नृत्य प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि तानसेन नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमन्त ओलीले यस्ता कार्यकमले हाम्रा संस्कृतिको संरक्षणमा सहयोग पुग्ने भन्दै कार्यकम आयोजना गरेकामा विद्यालयलाई धन्यवाद दिनुभएको थियो। कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीलाई पुरस्कृत पनि गरिएको थियो।

खामको नमुना (Envelope Format)

पठाउने (From):
मोहन शेर्पा
प्रबन्धक
शीतोष्ण बागवानी केन्द्र
घरपझोङ गाउँपालिका २
मुस्ताङ, गण्डकी प्रदेश ।
हुलाक टिकट
(Stamp Here)
पाउने (To):
श्री शीतोष्ण बागवानी केन्द्र,
थाहा नगरपालिका ४ मकवानपुर,
बाग्मती प्रदेश।

Also Read: More SEE Resources

Scroll to Top