Class 10 Nepali Bagmati Province 2081 Solved: Complete Questions & Answers
Back to Notes
ImportantEduNotes

Class 10 Nepali Bagmati Province 2081 Solved: Complete Questions & Answers

A comprehensive guide for SEE preparation with detailed solutions for Class 10 Nepali Bagmati Province 2081 exam.

Class 10 Nepali Bagmati Province 2081 SEE Notes

SEE 2081 (2025)
अनिवार्य नेपाली

समय: ३ घण्टा पूर्णाङ्क: ७५

Bagmati Province – Class 10 Nepali

समूह ‘क’ – Very Short Questions (Class 10 Nepali Bagmati Province 2081)

१. समूह ‘क’ मा दिइएका शब्दको अर्थ समूह ‘ख’ बाट पहिचान गरी जोडा मिलाउनुहोस् :

समूह ‘क’
  • समृद्ध
  • फसाद
  • दसी
  • चित्त
समूह ‘ख’
  • असजिलो अवस्था
  • दिल
  • धनधान्य आदिले सम्पन्न
  • उत्सव
  • उल्लास
  • प्रमाण

उत्तर:

समूह ‘क’ समूह ‘ख’ (उत्तर)
समृद्ध धनधान्य आदिले सम्पन्न
फसाद असजिलो अवस्था
दसी प्रमाण
चित्त दिल

२. दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् :

नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो तर यहांका प्राकृतिक स्रोत साधनको उचित प्रयोग हुन सकेको छैन । एक दशक मात्र प्राकृक्तिक सम्पदाको सही प्रयोग हुन सकेको खण्डमा देशको चौतर्फी विकास हुन सक्छ ।

उत्तर:

  • (क) ‘मुलुक’ को पर्यायवाची शब्द देश हो।
  • (ख) ‘अन्वित’ (अनुचित) को विपरीतार्थी शब्द उचित हो।
  • (ग) अनेकार्थी शब्द तर हो।
  • (घ) ‘दश वर्षको अवधि’ जनाउने पदावलीको सिङ्गो शब्द दशक हो।

३. दिइएको अनुच्छेद पढी एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् :

आए ऑप गए झटारो भने झै कृष्ण बिनातयारी नै फुटबल खेल्न गयो । खेलमैदान व्यवस्थित थियो । सबै खेलाडीहरू उत्साहित थिए तर कृष्णले भने राम्रो खेल्न सकेन । ऊ मैदानबाट फरक्क फर्कियो । हुने हार दैव नटार भन्दै उसका साथीहरूले सम्झाएपछि कृष्ण फुत्त निस्केर घरतिर लाग्यो ।

उत्तर:

उखान: आए आँप गए झटारो

वाक्यमा प्रयोग: रामले परीक्षाको तयारी त गरेको थिएन, तर ‘आए आँप गए झटारो’ भन्दै परीक्षा दिन गयो र पास पनि भयो।

अनुकरणात्मक शब्द: फरक्क (वा फुत्त)

वाक्यमा प्रयोग (फरक्क): रिसाएको साथी मसँग नबोली फरक्क फर्कियो।

४. (क) दिइएका शब्द समूहबाट शुद्ध शब्द पहिचान गरी लेख्नुहोस् :

(अ) (i) विश्वविद्यालय (ii) विश्वबिद्यालय (iii) विश्वविद्यालय (iv) विश्वविद्यालय

(आ) (i) चन्चल (ii) चंचल (iii) चञ्चल (iv) चड्चल

उत्तर:

  • (अ) (i) विश्वविद्यालय
  • (आ) (iii) चञ्चल

(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् :

देवकोटाको कवित्व व्यक्तित्व र प्रतिभा कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान अद्वितिय रहेकोछ ।

उत्तर: देवकोटाको कवित्व, व्यक्तित्व र प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान अद्वितीय रहेको छ ।

५. दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गर्नुहोस् :

`स्याबास !` `तिमीले` `परीक्षा` निकै राम्रो `गर्यो` । `यो` खुसी तिम्रो जीवन`भरि` रहिरहोस् ।

उत्तर:

  • स्याबास ! – विस्मयादीबोधक
  • तिमीले – सर्वनाम
  • परीक्षा – नाम
  • गर्यो – क्रियापद
  • यो – विशेषण
  • भरि – नामयोगी

समूह ‘ख’ – Short Answers (Class 10 Nepali Bagmati Province 2081)

६. (क) दिइएको अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय लागेर बनेका शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :

नागरिकका अधिकारलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा मौलिक अधिकारका रूपमा विभिन्न हकको व्यवस्था गरिएको छ ।

उत्तर:

उपसर्ग लागेका शब्द (कुनै दुई):

  • विभिन्न = वि + भिन्न
  • अधिकार = अधि + कार
  • संविधान = सम् + विधान

प्रत्यय लागेका शब्द (कुनै दुई):

  • नागरिक = नगर + इक
  • सङ्घीय = सङ्घ + ईय
  • लोकतान्त्रिक = लोकतन्त्र + इक

(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :

बुबा बैठककोठामा हुनुहुन्थ्यो । आज भोलि बुबा टिभी हेर्नुहुन्छ । उहाँको हातमा रिमोट थियो । दाहिने हातको बुढीऔंलाले रिमोट थिचिरहनुभएको देखें । टिभीमा ससानो आवाजमा गीत बज्न थाल्यो । मैले भान्साकोठाबाट चिया र विस्कुट ल्याएँ । बुबाले त “चियासिया खान्न’ भन्दै हुनुहुन्थ्यो तर मैले कर गरेर खान दिएँ ।

उत्तर:

समस्त शब्दको विग्रह (कुनै एक):

  • बैठककोठा = बैठकको कोठा
  • भान्साकोठा = भान्साको कोठा

विग्रह पदावलीको समस्त शब्द (कुनै एक):

  • आज भोलि = आजभोलि
  • चिया र विस्कुट = चियाबिस्कुट

द्वित्व भएर बनेका शब्द (दुईओटा):

  • ससानो = सानो + सानो
  • चियासिया = चिया + चिया

७. दिइएको अनुच्छेदलाई अभ्यस्त भूतकालमा परिवर्तन गर्नुहोस् :

विद्यार्थी दिनहुँ पुस्तकालय जान्छन् । आफूलाई आवश्यक पर्ने सामग्री खोजी खोजी पढ्छन् । पढेका सामग्रीबारे सबै साथीसँग छलफल गर्छन् । थप अध्ययन गर्नुपर्ने कुराका लागि शिक्षकको पनि सहयोग लिन्छन् ।

उत्तर:

विद्यार्थी दिनहुँ पुस्तकालय जान्थे । आफूलाई आवश्यक पर्ने सामग्री खोजी खोजी पढ्थे । पढेका सामग्रीबारे सबै साथीसँग छलफल गर्थे । थप अध्ययन गर्नुपर्ने कुराका लागि शिक्षकको पनि सहयोग लिन्थे ।

८. कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

(क) इच्छार्थक भावका फरक फरक क्रियापद प्रयोग गरी चार वाक्यमा आफ्नो साथीको सफलताको वर्णन गर्नुहोस् ।

उत्तर:

मेरो साथीले परीक्षामा ठूलो सफलता हासिल गरेको छ।

  1. ऊ सधैँ यसरी नै सफल हुँदै जाओस् !
  2. उसको मेहनतले सधैँ यस्तै राम्रो फल पाओस् ।
  3. उसले भविष्यमा अझै ठूलाठूला उपलब्धिहरू हासिल गरोस् ।
  4. उसको यो खुसी जीवनभरि रहिरहोस् ।

(ख) दिइएका द्वितीय पुरुषका वाक्यलाई प्रथम पुरुषमा परिवर्तन गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस् :

तिमीले धेरै दुःख पाएका छौ । तिमी सुख पाउन सङ्घर्ष गर्दै छौ । तिमीले हार मानेका छैनौ । तिमी कुनै दिन पक्कै पनि सुखी हुने छौ ।

उत्तर:

मैले धेरै दुःख पाएको छु । म सुख पाउन सङ्घर्ष गर्दै छु । मैले हार मानेको छैन । म कुनै दिन पक्कै पनि सुखी हुने छु ।

९. कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :

  • (क) सगरमाथा नेपालमा पर्छ । सगरमाथाले देशको गौरव बढाएको छ । (वाक्य संश्लेषण)
    उत्तर: सगरमाथा नेपालमा परेकाले देशको गौरव बढाएको छ ।
  • (ख) मैले साचीलाई बाटामा भेटें । (कर्मवाच्य)
    उत्तर: मद्वारा साची बाटामा भेटिइन् ।
  • (ग) हामी कविता लेख्दै छौं । (प्रेरणार्थक)
    उत्तर: शिक्षकले हामीलाई कविता लेखाउँदै हुनुहुन्छ ।
  • (घ) समीक्षाले भनिन्, “मैले योग साधना आरम्भ गरें ।” (अप्रत्यक्ष कथन)
    उत्तर: आफूले योग साधना आरम्भ गरेको कुरा समीक्षाले भनिन् ।

१०. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

कृष्ण राय धेरै झगडामा मध्यस्थ भएका थिए । यो बडो गर्वको कुरा हो । गाउँले तिनीमाथि नै विश्वास गरी तिनलाई झगडामा मध्यस्थ तुल्याउँथे, त्यसैले पनि तिनको गाउँमा धेरै सम्मान थियो । निश्चय नै यो कामले तिनलाई धेरैको मन नपरेको बनायो होला । एक दिनको घटना उदाहरणस्वरूप तिनको सामुन्ने आउन थाल्यो । गोविन्द पण्डित र गोरे जमदारको खेतको झगडा धेरै दिनदेखि चलिआएको थियो तर त्यस दिनको जस्तो कुटामारी कहिल्यै भएको थिएन । राय सदाको जस्तै मध्यस्थ भए बानीले प्रेरित भए झै ती झगडियालाई झगडाको दुष्परिणाम बुझाउन थाले । हेर गोविन्द पण्डित, हेर गोरे जमदार, झगडा गरेर के लाभ ? आपस्तमा मिल, खाऊ पिऊ र ईश्वरको भजन गर । यति उपदेशमा तिनीहरू झगडा गर्न छोड्ने भए तिनीहरू कहिल्यै झगडा गर्ने थिएनन् । तिनीहरू मिल्न मानेनन् र बिचरा मध्यस्थलाई कर लागेर गोरे जमदारको पक्षमा न्याय दिनुपर्यो । यस झगडामा मध्यस्थ भएर तिनले निश्चय नै गोविन्द पण्डितलाई आफ्नो शत्रु बनाए होलान् ।

उत्तर:

  • (क) माथिको अनुच्छेदको ‘कृष्ण राय सदाको जस्तै मध्यस्थ भए ।’ भन्ने वाक्यलाई अकरणमा परिवर्तन गर्नुहोस् ।
    उत्तर: कृष्ण राय सदाको जस्तै मध्यस्थ भएनन् ।
  • (ख) अनुच्छेदमा रेखाङ्कन गरिएको ‘गाउँमा’ शब्दको कारक र विभक्ति पहिचान गरी लेख्नुहोस् ।
    उत्तर: कारक: अधिकरण, विभक्ति: सप्तमी (मा)
  • (ग) माथिको अनुच्छेदको ‘कृष्ण राय धेरै झगडाका मध्यस्थ भएका थिए ।’ भन्ने वाक्यको उद्देश्य र विधेय लेख्नुहोस् ।
    उत्तर: उद्देश्य: कृष्ण राय, विधेय: धेरै झगडाका मध्यस्थ भएका थिए ।
  • (घ) माथिको अनुच्छेदको ‘गाउँलेले तिनीमाथि विश्वास गरी तिनलाई झगडामा मध्यस्थ तुल्याउँथे ।’ भन्ने वाक्यलाई संयुक्त वाक्यमा परिवर्तन गर्नुहोस् ।
    उत्तर: गाउँलेले तिनीमाथि विश्वास गर्थे अनि तिनलाई झगडामा मध्यस्थ तुल्याउँथे ।

समूह ‘ग’ – Long Answer Questions (Class 10 Nepali Bagmati Province 2081)

११. दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

आधुनिक भौतिक विज्ञानले विश्वमा एउटा नयाँ क्रान्तिको जन्म दिएको छ । भौतिक विज्ञानका प्रणेता न्युटनलाई मानिन्छ तापनि न्युटन मात्र नभएर ग्यालिलियो र आइन्स्टाइन ती तीनै जना भौतिक विज्ञानका प्रणेता मानिन्छन् । न्युटनले चालको विषय, ग्यालिलियोले खगोल विज्ञान र आइन्सटाइनले सापेक्षता अर्थात् आफू स्वतन्त्र नभएर अर्कासित सम्बद्ध हुने गुण वा अवस्थाको नियम पत्ता लगाएका हुन् । भौतिक विज्ञानको आरम्भ प्राचीन ग्रिकबाट भएको मानिन्छ । यसले शक्ति र बलसँग सम्बन्धित समय र स्थानबाट चाल र पदार्थको अध्ययन गर्छ । अर्थात् यसले वस्तुको चाल र त्यसमा बलको असरका बारेमा अध्ययन गर्छ । त्यति मात्र नभएर यसले विद्युत् तरङ्ग र त्यसको असरको पनि अध्ययन गर्छ । विद्युत् तरङ्गकै माध्यमबाट सात समुद्रपारिका मानिससँग प्रत्यक्ष कुराकानी गर्न सकिन्छ । यसको अध्ययनको क्षेत्र असीमित छ । भौतिक विज्ञानकै माध्यमबाट प्रकृति र जीवनजगत्का विविध पक्षको अध्ययन गरिन्छ । यस विज्ञानले स्थान, काल, गति, विद्युत्, प्रकाश, ऊर्जा, भूगर्भ तथा खगोल आदि अनेक विषयको प्रामाणिक अध्ययन गर्छ । समग्रमा प्रकृति, जीवनजगत् तथा ब्रह्माण्ड समेतको बृहत् क्षेत्रफललाई यसले आफ्नो अध्ययनमा समेटेको छ ।

उत्तर:

  • (क) भौतिक विज्ञानका प्रणेता को को हुन् ?
    उत्तर: न्युटन, ग्यालिलियो र आइन्स्टाइन भौतिक विज्ञानका प्रणेता मानिन्छन् ।
  • (ख) भौतिक विज्ञानले कुन कुन कुराको अध्ययन गर्छ ?
    उत्तर: भौतिक विज्ञानले शक्ति, बल, चाल, पदार्थ, वस्तुमा बलको असर, विद्युत् तरङ्ग, स्थान, काल, गति, प्रकाश, ऊर्जा, भूगर्भ तथा खगोल आदि विषयको प्रामाणिक अध्ययन गर्छ ।
  • (ग) प्रकृति र जीवनजगत्‌का विविध पक्षको अध्ययन केको माध्यमबाट गर्न सकिन्छ?
    उत्तर: भौतिक विज्ञानकै माध्यमबाट प्रकृति र जीवनजगत्का विविध पक्षको अध्ययन गर्न सकिन्छ ।
  • (घ) भौतिक विज्ञानको आरम्भ कहाँवाट भएको मानिन्छ ?
    उत्तर: भौतिक विज्ञानको आरम्भ प्राचीन ग्रिकबाट भएको मानिन्छ ।

१२. कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

(क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत दिनुहोस् :

नाम: पारिजात (विष्णुकुमारी वाइबा)
जन्म: वि.सं.१९९४ वैशाख २४
जन्मस्थान: दार्जिलिङको लिङ्गिया चिया कमान, भारत
माता र पिता: अमृता मोक्तान र के एस वाइबा
शिक्षा: स्नातक
प्रमुख कृतिहरू: आकाङ्क्षा, पारिजातका कविताहरू (कविता सङ्ग्रह); आदिम देश, सडक र प्रतिभा, साल्गीको बलात्कृत आँसु, बधशाला जाँदाआउँदा (कथा सङ्ग्रह); शिरीषको फूल, महत्ताहीन, वैसको मान्छे (उपन्यास) आदि ।
साहित्यिक प्रवृत्ति: विसङ्गतिवादी, अस्तित्ववादी र जीवनवादी दृष्टिकोण राखी साहित्य सिर्जना गर्नु, प्रगतिवादी दृष्टिकोण राख्नु
सम्मान र पुरस्कार: मदन पुरस्कार, गङ्की बसुन्धरा पुरस्कार, सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार आदि ।
मृत्यु: वि.सं. २०५० वैशाख ५ गते, काठमाडौँ ।

साहित्यकार पारिजात

परिचय: नेपाली साहित्यको इतिहासमा विसङ्गतिवादी र प्रगतिवादी धारामा कलम चलाएर विशिष्ट पहिचान बनाउन सफल स्रष्टा हुन् पारिजात। उनको वास्तविक नाम विष्णुकुमारी वाइबा हो। ‘शिरीषको फूल’ जस्तो कालजयी उपन्यासमार्फत उनले नेपाली साहित्यमा अमिट छाप छोडेकी छिन्।

जन्म र बाल्यकाल: पारिजातको जन्म वि.सं.१९९४ वैशाख २४ गते भारतको दार्जिलिङस्थित लिङ्गिया चिया कमानमा भएको हो। उनकी माता अमृता मोक्तान र पिता के. एस. वाइबा हुन्।

शिक्षा र साहित्यिक यात्रा: उनले स्नातक तहसम्मको औपचारिक शिक्षा हासिल गरेकी थिइन्। उनका ‘आकाङ्क्षा’, ‘पारिजातका कविताहरू’ (कविता सङ्ग्रह); ‘आदिम देश’, ‘सडक र प्रतिभा’ (कथा सङ्ग्रह); र ‘शिरीषको फूल’, ‘महत्ताहीन’ (उपन्यास) आदि प्रमुख कृतिहरू हुन्।

साहित्यिक प्रवृत्ति र योगदान: पारिजातको साहित्यिक लेखनमा विसङ्गतिवादी, अस्तित्ववादी र जीवनवादी दृष्टिकोण पाइन्छ। जीवनको उत्तरार्धमा उनी प्रगतिवादी दृष्टिकोणबाट समेत प्रभावित भइन्।

सम्मान र पुरस्कार: नेपाली साहित्यमा पुऱ्याएको अतुलनीय योगदानको कदरस्वरूप उनले प्रतिष्ठित ‘मदन पुरस्कार’, ‘गङ्की बसुन्धरा पुरस्कार’ र ‘सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार’ आदि प्राप्त गरिन्।

मृत्यु: लामो समयसम्म शारीरिक अस्वस्थतासँग सङ्घर्ष गरेकी यी महान् साहित्यकारको वि.सं. २०५० वैशाख ५ गते काठमाडौँमा दुःखद निधन भयो।

(ख) प्रदेशस्तरीय विद्यार्थी प्रतिभा पहिचान कार्यक्रमको वक्तृत्वकला प्रतियोगितामा प्रथम भएर पुरस्कृत हुँदाको क्षणलाई समेटी मनोवाद तयार पार्नुहोस् ।

पुरस्कारको त्यो क्षण

(मञ्चमा पुरस्कार समातेर उभिएको छु। आँखा खुसीले रसाएका छन्।)

आहा! मैले साँच्चै प्रथम स्थान हासिल गरेँ! विश्वासै लागिरहेको छैन। मेरो नाम उद्घोषकले बोलाउँदा मुटुको धड्कन कति छिटो चलेको थियो! जब प्रमुख अतिथिज्यूले मेरो हातमा यो सिल्ड र प्रमाणपत्र थमाउनुभयो, म त एकछिन भुइँमै थिइनँ। अगाडि हेर्छु, सबैले मेरो लागि ताली बजाइरहनुभएको छ। मेरा शिक्षकहरूको अनुहारमा गर्वको भाव प्रस्ट देखिन्छ।

यो विषयमा बोल्न मैले कति धेरै मेहनत गरेको थिएँ। कति रात नसुती सन्दर्भ सामग्री खोजेँ, ऐनाअगाडि उभिएर कति पटक अभ्यास गरेँ। आज त्यो सबै मेहनत सफल भयो। बुबाआमाले यो खबर सुन्दा कति खुसी हुनुहुनेछ! घर पुगेर यो सिल्ड देखाउँदाको क्षण कस्तो होला! यो जित मेरो मात्र होइन, मलाई सधैँ हौसला दिनुहुने मेरा गुरु र परिवारको पनि हो। आजको दिन मेरो जीवनको सबैभन्दा अविस्मरणीय दिन बनेको छ। म अझै धेरै मेहनत गर्नेछु।

१३. कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

(क) आफ्नो टोलमा शुद्ध पिउने पानीको व्यवस्था गरिदिन अनुरोध गर्दै वडा अध्यक्षलाई लेख्ने निवेदनको नमुना तयार पार्नुहोस् ।

मिति: २०८१/०७/१०

श्री वडा अध्यक्षज्यू,
काठमाडौँ महानगरपालिका, वडा नं. १६,
नयाँबजार, काठमाडौँ।

विषय: शुद्ध पिउने पानीको व्यवस्था गरिदिने सम्बन्धमा।

महोदय,

उपर्युक्त सम्बन्धमा, हामी काठमाडौँ महानगरपालिका वडा नं. १६, नयाँबजार (टोलको नाम) मा बसोबास गर्ने बासिन्दा हौँ। हाम्रो टोलमा विगत केही महिनादेखि शुद्ध पिउने पानीको चरम अभाव भइरहेको व्यहोरा अनुरोध गर्न चाहन्छौँ।

हाल हामीले प्रयोग गरिरहेको पानी धमिलो, दूषित र पिउन अयोग्य छ। जसका कारण टोलका बालबालिका तथा वृद्धवृद्धाहरूमा झाडापखाला जस्ता पानीजन्य रोगहरूको सङ्क्रमण देखिन थालेको छ। शुद्ध पानीको अभावमा हामीले निकै कठिनाइ भोगिरहेका छौँ।

अतः, यस विकराल समस्यालाई गम्भीरतापूर्वक लिई हाम्रो टोलमा यथाशीघ्र शुद्ध पिउने पानीको दिगो व्यवस्थापन गरिदिनुहुन वडा नं. १६ का सम्पूर्ण टोलवासीका तर्फबाट म यो निवेदन पेस गर्दछु।

भवदीय,
(निवेदकको नाम)
(ठेगाना)
(टोलवासीका तर्फबाट)

(ख) राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा आफ्नो विद्यालय प्रथम भएको विषय समेटी समाचार बनाउनुहोस् ।

राष्ट्रपति रनिङ सिल्डमा ज्ञानोदय मा.वि. प्रथम, उपाधि हात पार्न सफल

काठमाडौँ, फागुन १० गते। (रासस)

काठमाडौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा यस वर्ष ज्ञानोदय माध्यमिक विद्यालय, बाफलले उपाधि जितेको छ। दशरथ रङ्गशालामा सम्पन्न तीनदिने प्रतियोगितामा ज्ञानोदयले सर्वाधिक स्वर्ण पदक हात पार्दै उपाधिमाथि कब्जा जमाएको हो।

प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी र कराते गरी चार विधामा प्रतिस्पर्धा गराइएको थियो। ज्ञानोदयले एथ्लेटिक्सतर्फ ५ स्वर्ण र भलिबल (छात्रा) तर्फ १ स्वर्ण गरी कुल ६ स्वर्ण, ४ रजत र ३ कास्य पदकसहित उपाधि जितेको हो।

विजयी खेलाडीहरूलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्षले सिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभयो। विद्यालयका प्रधानाध्यापकले खेलाडीहरूको मेहनत र प्रशिक्षकको लगनशीलताले यो सफलता प्राप्त भएको बताउँदै आगामी दिनमा राष्ट्रियस्तरमा पनि उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो।

१४. दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् :

एकछिन वाल्ल परेर बहादुर शाहले भने, “खुब विचार गरिरहेको छु । खास जननीकै रूपमा नारी जातिलाई पाएको हूँ । नारी सिर्जना र शक्तिका अवतार हुन् भन्ने खुद मलाई थाहा छ । के गरूँ उज्यालाका निम्ति बालेको बत्तीले आगलागी हुने सम्भावना देखिएपछि देश बचाउनका लागि उपचार गर्नेपर्ने रहेछ । व्यक्तिगत विरोधलाई अँगालेर यसो गरेको होइन । मुमाको मूर्ति सम्झेर हजुरमाथि मेरो पूरा श्रद्धा छ । हाम्रो आपसी घातप्रतिघातले मातृभूमिको अँध्यारो भविष्य देखापर्दा वाध्य भएर नै यो काम मैले गरेको हूँ। वास्तवमा नायबी सिनोको निम्ति मरिमेट्ने गिद्ध म होइन । यदि छोड्दे भन्ने हुकुम हुन्छ भने अहिले नै तयार छु ।”

उत्तर:

  • नारीलाई सिर्जना र शक्तिको अवतार मान्ने बहादुर शाहले देश बचाउन आगलागीको सम्भावना रोक्नुपरेको बताउनु ।
  • व्यक्तिगत विरोध नभई मुमाको मूर्ति सम्झेर श्रद्धा राखे पनि आपसी घातप्रतिघातले मातृभूमिको अँध्यारो भविष्य देख्दा वाध्य भएर काम गरेको हुनु ।
  • आफू नायबीका लागि मरिमेट्ने गिद्ध नभएको बताउनु ।
  • हुकुम भए नायबी छोड्न पनि तयार रहेको कुरा व्यक्त गर्नु ।

१५. दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् :

सन्दुक रुइतले आफ्नो उपचार पद्धतिबाट लाखौं मानिसको सफल शल्यक्रिया गरिसकेका छन् । यसबाट दृष्टि प्राप्त गर्ने विश्वभरका मानिसले उनलाई ‘दृष्टिका देवता’ मानेका छन् । नेपालको नवीन प्रविधि ‘रुइलेक्टोमी’ का रूपमा यो उपचार पद्धति एसिया, दक्षिण अमेरिका, अफ्रिकालगायत विभिन्न देशमा प्रयोगमा छ । यो प्रविधि संसारभर गुणस्तरीय र प्रशंसनीय बन्दै गइरहेको छ । उनले मोतीबिन्दुको शल्यक्रिया भिडियोमार्फत र सम्भव भएसम्म आफै उपस्थित भएर संसारभरिका डाक्टरलाई सिकाउँदै आएका छन् । उत्तरकोरियामा उनले गरेको काम नेसनल जियोग्राफिकले एउटा वृत्तचित्रका रूपमा प्रसारण गरेको थियो । उनले पुऱ्याएको योगदानस्वरूप तिलगङ्गा आँखा उपचार केन्द्र अहिले तिलगङ्गा आँखा प्रतिष्ठानका रूपमा स्थापित छ । यसमार्फत उनले पुऱ्याएको मानवीय सेवाको उच्च मूल्याङ्कन भएको छ ।

डा. रुइतको योगदान

डा. सन्दुक रुइतले आफ्नो नवीन उपचार पद्धति ‘रुइलेक्टोमी’ बाट लाखौँ मानिसको सफल शल्यक्रिया गरी दृष्टि प्रदान गरेका छन्। विश्वभर ‘दृष्टिका देवता’ मानिने उनको यो प्रविधि एसिया, अफ्रिका र दक्षिण अमेरिकामा समेत गुणस्तरीय र प्रशंसनीय बन्दै गएको छ। उनले संसारभरका डाक्टरलाई मोतीबिन्दुको शल्यक्रियाबारे तालिम दिँदै आएका छन्। उनको योगदानस्वरूप स्थापित तिलगङ्गा आँखा प्रतिष्ठानमार्फत उनले पुऱ्याएको मानवीय सेवा उच्च मूल्याङ्कित भएको छ।

१६. (क) दिइएको कवितांशका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

के गर्नु चुनावका घोषणापत्रहरू ?
सिंगान पुछ्ने कागजभन्दा बढी कामयाब हुन सक्तैन यो यिनीहरूलाई
के पढ्नु अन्तरिक्ष यानका गतिविधिहरू ?
दन्त्यकथाकै सिलसिलामा जोड्नुभन्दा बढी केही अर्थ छैन यसको पनि
यिनीहरूलाई ।

(अ) चुनावका घोषणापत्रहरूप्रति कविले आफ्‌ना असन्तुष्टि कसरी व्यक्त गरेका छन् ?
उत्तर: कविले चुनावका घोषणापत्रहरूलाई ‘सिंगान पुछ्ने कागज’ भन्दा बढी उपयोगी नहुने भनेर व्यङ्ग्य गरेका छन्। नेताहरूले चुनावको बेला ठूलाठूला आश्वासन बाँड्ने तर चुनाव जितेपछि ती सबै बिर्सिने र जनतालाई धोका दिने प्रवृत्तिप्रति कविले यसरी तीव्र असन्तुष्टि र आक्रोश व्यक्त गरेका छन्।

(आ) अन्तरिक्ष यानका गतिविधिलाई किन दन्त्यकथासँग तुलना गरिएको हो ?
उत्तर: कवितामा उल्लिखित सीमान्तकृत र गरिब मानिसहरूका लागि भोक र अभाव नै जीवनको मूल सत्य हो। उनीहरूका लागि वैज्ञानिक उन्नति र अन्तरिक्ष यानका गतिविधिहरूको कुनै अर्थ छैन। पेट भोकै भएका मानिसलाई अन्तरिक्षको यात्राले कुनै राहत दिँदैन, त्यसैले उनीहरूका लागि यी वैज्ञानिक उपलब्धिहरू सुन्दै असम्भव लाग्ने दन्त्यकथाहरू जस्तै निरर्थक छन् भनेर तुलना गरिएको हो।

(ख) दिइएको जीवनीको अंशका आधारमा सोधिएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :

मानव वेदनाको जीवन्त चित्रण भएका कला सिर्जनामा पिकासोले आफ्नो सम्पूर्ण जीवन समर्पण गरे । उनले कलामार्फत बन्दुकभन्दा कलम र कुची बलियो हुन्छ भन्ने दसी प्रस्तुत गरे र कलामार्फत युद्धलाई खरो रूपमा व्यङ्ग्य गरेकाले नाजीहरूले जर्मनीमा उनका चित्र प्रदर्शनमा रोक लगाए । उनले भिखारी, जेलमा चुनिएका, दुःख पाएका, हेपिएका र सीमान्तकृत मान्छेका साथै गम्भीर मानसिक समस्या भएका व्यक्तिका चित्रसमेत बनाए । उनले महिलाका मार्मिक र प्रेमिल चित्र पनि बनाए ।

(अ) नाजीहरूले जर्मनीमा पिकासोलाई चित्र प्रदर्शन गर्न नदिनुको कारण के हो ?
उत्तर: पिकासोले आफ्ना कला सिर्जनाहरूमार्फत युद्धको खरो व्यङ्ग्य गरेका थिए। उनका चित्रहरूले युद्धको विभिषिका र मानव वेदनालाई देखाउँथे, जुन कुरा युद्ध सञ्चालन गरिरहेको नाजी सत्ताको विरुद्धमा थियो। यही कारणले गर्दा नाजीहरूले जर्मनीमा उनका चित्र प्रदर्शनमा रोक लगाएका थिए।

(आ) ‘बन्दुकभन्दा कलम र कुची बलियो हुन्छ ।’ भन्नुको तात्पर्य खुलाउनुहोस् ।
उत्तर: ‘बन्दुकभन्दा कलम र कुची बलियो हुन्छ’ भन्नुको तात्पर्य भौतिक शक्ति वा हिंसाभन्दा सिर्जना, विचार र कलाको शक्ति धेरै स्थायी र प्रभावशाली हुन्छ भन्ने हो। बन्दुकले मानिसलाई मार्न सक्छ तर विचारलाई मार्न सक्दैन। पिकासो जस्ता कलाकारले आफ्नो कुची (कला) मार्फत उठाएका आवाजहरूले मानिसको मन र मस्तिष्कलाई परिवर्तन गर्न सक्छ र तानाशाही सत्तालाई समेत चुनौती दिन सक्छ।

१७. रोग नियन्त्रण गर्न आयुर्वेद चिकित्सा पद्धति प्रभावकारी मानिन्छ, कसरी ? तार्किक उत्तर दिनुहोस् ।

उत्तर:

आयुर्वेद चिकित्सा पद्धति केवल रोगको उपचारमा मात्र सीमित नभएर रोग लाग्नै नदिने जीवनशैलीमा केन्द्रित छ, त्यसैले यो प्रभावकारी मानिन्छ। यसका कारणहरू निम्न छन्:

१. जीवनशैलीमा जोड: आयुर्वेदले ‘स्वस्थस्य स्वास्थ्य रक्षणं…’ अर्थात् स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा गर्नु र रोगीको रोग निको पार्नुलाई मूल सिद्धान्त मान्छ। यसले खानपान, आहारविहार, योग, र ऋतुअनुसारको जीवनशैलीमा जोड दिन्छ, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

२. प्राकृतिक उपचार: यस पद्धतिमा जडीबुटी, खनिज र प्राकृतिक वस्तुहरूको प्रयोगबाट उपचार गरिन्छ। रासायनिक औषधिको जस्तो यसको ‘साइड इफेक्ट’ (नकारात्मक असर) प्रायः हुँदैन वा निकै कम हुन्छ।

३. रोगको जडमा प्रहार: आयुर्वेदले रोगको लक्षणलाई मात्र दबाउनुको सट्टा रोग लाग्नुको मूल कारण (वात, पित्त, कफको असन्तुलन) लाई पहिचान गरी त्यसको जडदेखि नै उपचार गर्छ। यसले गर्दा रोग बल्झिने सम्भावना कम हुन्छ।

त्यसैले, शरीरलाई प्रकृतिसँग जोड्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने र रोगलाई जडैदेखि निको पार्ने भएकाले रोग नियन्त्रणमा आयुर्वेद चिकित्सा पद्धति निकै प्रभावकारी मानिन्छ।

१८. कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् :

(क) ईष्यद्विष हटाए जो छर्छन् प्रेम सौरभ
तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव ।

उत्तर:

प्रस्तुत पद्यांश कक्षा १० को नेपाली पाठ्यपुस्तकअन्तर्गत पर्ने ‘उज्यालो यात्रा’ कविताबाट साभार गरिएको हो। यो कविता रामप्रसाद ज्ञवालीद्वारा रचना गरिएको हो। यस पद्यांशमा कविले मानिस ठूलो बन्नका लागि उसले आफ्नो मनबाट ईर्ष्या र द्वेषजस्ता नराम्रा भावनाहरू हटाउनुपर्छ भन्ने सन्देश दिएका छन्।

कविका अनुसार, संसारमा गौरवशाली र महान् ती व्यक्तिहरू मात्र बन्न सक्छन्, जसले आफ्नो मनबाट ईर्ष्या (अरूको प्रगति देखेर जल्ने काम) र द्वेष (अरूप्रति राख्ने रिस र सत्रुता) लाई पूर्ण रूपमा हटाउँछन्। जब मानिसले यी नकारात्मक भावनाहरू त्याग्छ, तब मात्र उसको मनमा सबैका लागि प्रेम र सद्भावको सुगन्ध (सौरभ) छरिन्छ।

जसले आफ्नो स्वार्थ त्यागेर अरूको भलाइका लागि प्रेम र करुणा फैलाउँछ, त्यही व्यक्ति नै संसारका लागि गौरवको पात्र बन्छ। गौतम बुद्ध वा महात्मा गान्धी जस्ता व्यक्तिहरूले आफ्नो मनमा कसैप्रति पनि द्वेष नराखी प्रेम छरेकाले नै आज उनीहरू विश्वका लागि गौरव बनेका छन्। तसर्थ, महान् बन्नका लागि धन र शक्ति होइन, प्रेम र सद्भावपूर्ण हृदय चाहिन्छ भन्ने नै यस पद्यांशको मूल भाव हो।

(ख) जति पसिना बहाउनु परे पनि आफ्नो घरवारीमा बहाऔंला
एक गेडा मकै भए पनि आफ्नै माटामा उब्जाउँला ।

उत्तर:

प्रस्तुत पद्यांश कक्षा १० को नेपाली पाठ्यपुस्तकअन्तर्गत पर्ने ‘घरको माया’ एकाङ्कीबाट साभार गरिएको हो। यो एकाङ्कीकार मतिलाल चन्दद्वारा रचित हो। यस अंशले स्वदेशप्रतिको गहिरो प्रेम, स्वाभिमान र आफ्नै माटोमा श्रम गर्ने सङ्कल्पलाई उजागर गरेको छ।

यो भनाइ एकाङ्कीको प्रमुख पात्र कृष्णेको हो। विदेशमा दुःख पाएर फर्केको कृष्णेले विदेशको नारकीय जीवन र स्वदेशको महत्त्व बुझिसकेको हुन्छ। ‘जति पसिना बहाउनु परे पनि आफ्नो घरवारीमा बहाऔंला’ भन्नुको अर्थ हो- जस्तोसुकै कठिन परिश्रम गर्नुपरे पनि त्यो आफ्नै देश र आफ्नै खेतबारीमा गरिनुपर्छ। ‘एक गेडा मकै भए पनि आफ्नै माटामा उब्जाउँला’ ले स्वाभिमान र आत्मनिर्भरताको भाव बोकेको छ।

समग्रमा, यस उद्धरणले वैदेशिक रोजगारीको मोह त्यागेर स्वदेशमै श्रम, सिप र पसिना लगाउनुपर्छ भन्ने देशभक्तिपूर्ण सन्देश दिएको छ। आफ्नै माटोमा गरिएको श्रमले नै वास्तविक सुख, सन्तुष्टि र राष्ट्रिय स्वाभिमान मिल्छ भन्ने कुरालाई यसले जोड दिएको छ।

१९. कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :

(क) दिइएको कवितांशका आधारमा सोधिएको प्रश्नको उत्तर दिनुहोस् :

नेपाल आमा यो दिव्य आभा जगाऊँ कसरी
आलस्य निद्रा हीनता सारा भगाऊँ कसरी
आशिष देऊ एकै र फेरि पसिना बगाऊँ
नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ ।

(अ) नेपालीले आफ्नो श्रम र सिपलाई स्वदेशमै कसरी उपयोग गर्न सक्छन् ? ‘नेपाली हाम्रो श्रम र सिप’ कविताका आधारमा समीक्षा गर्नुहोस् ।

उत्तर:

‘नेपाली हाम्रो श्रम र सिप’ कविता राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा रचित एक उत्कृष्ट देशभक्तिपूर्ण कविता हो। कविताको भावअनुसार नेपालीले आफ्नो श्रम र सिपलाई स्वदेशमै निम्न तरिकाले उपयोग गर्न सक्छन्:

१. कृषिमा आधुनिकीकरण: कविताले ‘पसिना बगाऊँ’ भन्दै श्रमको महत्त्व दर्साएको छ। नेपाल एक कृषिप्रधान देश हो। विदेशमा पसिना बगाउने युवाहरूले त्यही श्रम र त्यहाँ सिकेको आधुनिक प्रविधिलाई आफ्नै माटोमा प्रयोग गर्ने हो भने कृषि क्रान्ति गर्न सकिन्छ।

२. प्राकृतिक स्रोतको सदुपयोग: नेपाल ‘दिव्य आभा’ भएको देश हो, अर्थात् यहाँ जलस्रोत, वनजङ्गल र जडीबुटीले सम्पन्न छ। नेपाली युवाहरूले आफ्नै देशमा इन्जिनियरिङ, वन विज्ञान जस्ता विषय पढेर यहाँका खोलानालाबाट बिजुली निकाल्न र वनसम्पदाको दिगो उपयोग गर्न सक्छन्।

३. उद्यमशीलता र आत्मनिर्भरता: कविताले ‘आलस्य निद्रा हीनता सारा भगाऊँ’ भन्दै नेपालीलाई जाँगरिलो र उद्यमशील बन्न प्रेरित गरेको छ। विदेशमा सिकेको प्राविधिक सिपलाई स्वदेशमै उद्योग वा व्यवसाय सञ्चालन गर्न प्रयोग गर्न सकिन्छ।

निष्कर्ष: ‘नेपाली हाम्रो श्रम र सिप’ कविताले दिएको सन्देश स्पष्ट छ- समृद्धिको चाबी विदेशमा होइन, आफ्नै देशको माटोमा छ। नेपाली युवाहरूले आफूभित्रको आलस्यता र हीनताबोधलाई त्यागेर स्वदेशमै काम गर्ने हो भने, यहीँको श्रम र सिपले नेपाललाई समृद्ध बनाउन सकिन्छ।

(ख) दिइएको निबन्धांशका आधारमा सोधिएको प्रश्नको उत्तर दिनुहोस् :

शिक्षाका क्षेत्रमा हिजोभन्दा आज कैयौं सकारात्मक कार्य भएका छन् । माध्यमिक शिक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था हुनु, थुप्रै विश्वविद्यालय खोलिनु, गाउँ गाउँमा क्याम्पस खोलिनु, उच्च शिक्षा सुलभ हुनु मेरो शिक्षाका लागि गर्व गर्न लायक आदि कुरा कुरा हुन् । त्यस्तै क्याम्पस र विद्यालयमा इन्टरनेट सेवा जोडिनु, सूचना र प्रविधिमा विद्यालयका विद्यार्थीको समेत पहुँच हुनुले मेरो देशका विद्यार्थीको ज्ञान फराकिलो भएको छ ।

(अ) हाम्रो देशको शिक्षामा के कस्तो समय सान्दर्भिक विकास भएको छ ? ‘मेरो देशको शिक्षा’ निबन्ध पाठका आधारमा समीक्षा गर्नुहोस् ।

उत्तर:

‘मेरो देशको शिक्षा’ निबन्धका अनुसार, हाम्रो देशको शिक्षामा विभिन्न समय सान्दर्भिक र सकारात्मक विकासहरू भएका छन्।

पहिलो, शिक्षाको पहुँच विस्तार भएको छ। माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क बनाइएको छ, जसले गर्दा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूले पनि पढ्ने अवसर पाएका छन्। यसैगरी, देशका विभिन्न भागमा थुप्रै विश्वविद्यालयहरू स्थापना भएका छन् र गाउँ-गाउँसम्म क्याम्पसहरू खोलिएका छन्। यसले गर्दा उच्च शिक्षा पहिलेभन्दा धेरै सुलभ र सहज बनेको छ।

दोस्रो, शिक्षामा प्रविधिको प्रयोग बढेको छ। यो आजको युगको सबैभन्दा ठूलो माग हो। क्याम्पस र विद्यालयहरूमा इन्टरनेट सेवा विस्तार हुनु र विद्यार्थीहरूको पहुँचमा सूचना र प्रविधि पुग्नुले उनीहरूको ज्ञानको दायरा फराकिलो बनाएको छ। उनीहरूले विश्वस्तरीय ज्ञान र जानकारी सजिलै प्राप्त गर्न सकेका छन्, जसले सिकाइलाई थप प्रभावकारी बनाएको छ।

यसरी, शिक्षाको पहुँच विस्तार र प्रविधिको एकीकरण हुनु नै हाम्रो देशको शिक्षामा भएका महत्त्वपूर्ण समय सान्दर्भिक विकासहरू हुन्।

२०. कुनै एक शीर्षकमा १५० शब्द नघटाई निबन्ध लेख्नुहोस् :

(क) राष्ट्रप्रति मेरो भूमिका

राष्ट्रप्रति मेरो भूमिका

राष्ट्र भनेको केवल ढुङ्गा, माटो र सिमानाको घेरा मात्र होइन; यो हाम्रो पहिचान, गौरव र अस्तित्व हो। एक नागरिकको रूपमा यो राष्ट्रप्रति मेरो पनि महत्त्वपूर्ण भूमिका र कर्तव्य छ। मेरो पहिलो भूमिका भनेको एक असल र इमानदार नागरिक बन्नु हो।

म एक विद्यार्थी भएको नाताले मेरो प्रमुख कर्तव्य भनेको राम्रोसँग अध्ययन गर्नु हो। भोलि यही शिक्षाको जगमा नै म एक दक्ष जनशक्ति बनेर राष्ट्रको सेवा गर्न सक्छु। म डाक्टर, इन्जिनियर, शिक्षक वा जुनसुकै पेसामा लागे पनि आफ्नो काम इमानदारीपूर्वक गरेर देशको विकासमा योगदान दिन सक्छु।

राष्ट्रप्रति मेरो अर्को भूमिका भनेको यहाँका नियम, कानुन र संविधानको पालना गर्नु हो। सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु, आफ्नो गाउँ-ठाउँ सफा राख्नु र सभ्य समाज निर्माणमा सघाउनु पनि मेरो कर्तव्य हो।

अन्त्यमा, म जहिले पनि राष्ट्रिय हितलाई सर्वोपरि ठान्नेछु। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशको स्वाभिमान र समृद्धिका लागि काम गर्नु नै राष्ट्रप्रतिको मेरो सबैभन्दा ठूलो भूमिका हुनेछ।

(ख) शिक्षण सिकाइमा प्रविधिको प्रयोग

शिक्षण सिकाइमा प्रविधिको प्रयोग

आजको युग विज्ञान र प्रविधिको युग हो। प्रविधिले मानव जीवनको हरेक क्षेत्रलाई स्पर्श गरेको छ, र यसबाट शिक्षा क्षेत्र पनि अछुतो छैन। परम्परागत चक र डस्टरको ठाउँमा आज स्मार्ट बोर्ड, प्रोजेक्टर र कम्प्युटरले प्रवेश पाइसकेका छन्। शिक्षण सिकाइमा प्रविधिको प्रयोग आजको आवश्यकता र समयको माग दुवै हो।

प्रविधिको प्रयोगले शिक्षण सिकाइलाई निकै रोचक, सहज र प्रभावकारी बनाएको छ। शिक्षकले कुनै पनि जटिल विषयवस्तुलाई श्रव्य-दृश्य सामग्री (भिडियो, एनिमेसन) मार्फत प्रस्तुत गर्दा विद्यार्थीले छिटो र स्पष्ट रूपमा बुझ्न सक्छन्।

इन्टरनेट र कम्प्युटरको पहुँचले ज्ञानको भण्डारलाई एउटा सानो ‘क्लिक’ मा सीमित गरिदिएको छ। विद्यार्थीले संसारको कुनै पनि कुनाको स्रोत सामग्री घरमै बसेर अध्ययन गर्न सक्छन्। ‘इ-लर्निङ’ र ‘अनलाइन कक्षा’ जस्ता अवधारणाहरूले समय र स्थानको बाधालाई हटाइदिएका छन्।

अन्त्यमा, प्रविधिको सही र सन्तुलित प्रयोगले शिक्षण सिकाइमा क्रान्ति ल्याउन सक्छ। यसले विद्यार्थीलाई केवल घोकाउने मात्र होइन, खोजी र अनुसन्धान गर्न सक्ने सिर्जनशील नागरिक बनाउन मद्दत गर्छ।

(ग) उद्योग र रोजगार

उद्योग र रोजगार

उद्योग र रोजगार कुनै पनि देशको आर्थिक विकासका दुई अविभाज्य पाटा हुन्। यी दुई एकअर्काका परिपूरक हुन्। देशमा उद्योगधन्दाको विकास हुनु भनेको रोजगारीका अवसरहरू सिर्जना हुनु हो, र रोजगारीको सिर्जना हुनु भनेको नागरिकको जीवनस्तर माथि उठ्नु र देश समृद्ध हुनु हो।

नेपाल जस्तो विकासोन्मुख देशका लागि उद्योगको महत्त्व झनै बढी छ। आज हाम्रा लाखौँ युवाहरू रोजगारीको खोजीमा विदेश पलायन भएका छन्। यदि हामीले स्वदेशमै कृषि, पर्यटन, जलस्रोत र जडीबुटीमा आधारित उद्योगहरू खोल्न सक्ने हो भने ती युवाहरूले आफ्नै देशमा पसिना बगाउन पाउँथे।

उद्योगको विकासले रोजगारी मात्र दिँदैन, यसले आयात प्रतिस्थापन गरी व्यापार घाटा कम गर्छ। जब मानिसले रोजगारी पाउँछ, उसको क्रयशक्ति बढ्छ, जसले बजारलाई थप चलायमान बनाउँछ र समग्र अर्थतन्त्र बलियो हुन्छ।

तसर्थ, सरकारले उद्योगमैत्री नीति बनाएर लगानीको वातावरण सिर्जना गर्नुपर्छ। उद्योग र रोजगारको सन्तुलित विकासबाट मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा हुन सक्छ।

© 2025 ImportantEduNotes. All solutions are based on the official answer key and textbook materials.

Scroll to Top