शत्रु (Shatru) – Chapter 7 Complete Notes
Comprehensive guide with all exercises, vocabulary, comprehension and detailed analysis of the story ‘शत्रु’ for Class 10 SEE preparation.
Table of Contents
शब्दभण्डार (Vocabulary) – शत्रु (Shatru)
१. दिइएका शब्दको अर्थ लेख्नुहोस् :
२. दिइएको अनुच्छेदबाट अनेकार्थी शब्द खोजी तिनले दिने कम्तीमा दुई दुईओटा अर्थ लेख्नुहोस् :
उदाहरणको लागि अनुच्छेद
⇒ पुजा, हार, कर, सुर, तर, दर, वर, रस, टीका, पुरा
३. दिइएको अनुच्छेद पढ्नुहोस् र अनुच्छेदबाट अनुकरणात्मक शब्द पहिचान गर्नुहोस् :
⇒ गजक्क, प्याट्ट, धुरुधुरु, टुलटुल, गुरुरु, स्याँस्याँ
४. ‘शत्रु’ कथाको ‘कृष्ण राय जुरमुरिंदै शत्रु हुन सक्छ’ अंशको उपयुक्त ठाउँमा अनुकरणात्मक शब्द राखी पुनर्लेखन गर्नुहोस् ।
⇒ कृष्ण राय जुरुक्क उठे, तबसम्म आक्रमणकारी फुत्तै भागिसकेको थियो । “मलाई कसले अचानक यसरी आक्रमण गर्यो होला ?” तिनी विचार गर्न थाले । “यस जीवनमा मैले कसैलाई आफ्नो कट्टर शत्रु बनाइनँ, झगडा फसादमा रहिनँ।” कृष्ण रायलाई पहिले त कसैले आक्रमण गरेको हो भन्ने कुरामा पटक्कै विश्वास भएन । सब तन्द्रा अवस्थामा भ्रम जस्तो लाग्यो तर भित्तामा लागेर ठनक्क भाँचिएको लट्ठीको टुक्रा त भ्रम हुन सक्दैन । कृष्ण रायले विछ्यौनाबाट निहुरीकन त्यस टुक्रालाई टपक्क टिपे, हेरेर गम्न थाले “को मेरो शत्रु हुन सक्छ ?”
५. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्:
सान्त्वना
⇒ मैले परीक्षामा राम्रो नम्बर ल्याउन नसकेर रोइरहेको थिएँ, बाबाले आएर सान्त्वना दिँदै भन्नुभयो, “यसपटक कम नम्बर आएर के भो त, अर्को पटक आइहाल्छ नि ।”
सिद्धान्त
⇒ नेपालका राजनैतिक पार्टी कुनैले पनि आफ्नो सिद्धान्त अनुसरण गरी काम गरेको पाइँदैन ।
पुँजी
⇒ नेपालको वर्तमान पुँजीबजार एकदमै ओरालो लागेको छ ।
मध्यस्थ
⇒ मध्यस्थ हुनु पनि राम्रो काम चाहिँ होइन । फोकटिया दुस्मन मात्रै हुन्छन् ।
फैसला
⇒ यस पालिको तिहारमा टीका नलगाउने बाबाको फैसलाले हामी सबैलाई दुःखी बनायो ।
अङ्कमाल
⇒ आजका युवालाई के भएको छ कुन्नि, जहाँपायो त्यहीँ अङ्कमाल गरेर हिँड्छन् ।
स्वाभिमान
⇒ बरु म भोकै बस्छु तर आफ्नो स्वाभिमान गिर्ने काम गर्दिनँ ।
समर्थक
⇒ यी नेतालाई के आनन्द लागेको होला अनावश्यक समर्थकको भीड जम्मा गर्न !
धैर्य
⇒ हामीले कुनै पनि कार्य धैर्य पूर्वक गर्यौँ भने अवश्य पनि सफलता हासिल गर्छौं ।
बोध र अभिव्यक्ति (Comprehension & Expression)
४. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) ‘शत्रु’ कथामा कृष्ण रायले रेलको डिब्बामा भएको झगडा सम्झेको घटना कतिऔँ अनुच्छेदमा छ ?
⇒ आठौँ
(ख) कथामा कृष्ण रायको सोचलाई परिवर्तन गराउने मुख्य सन्दर्भ कुनलाई मानिन्छ ?
⇒ उनीमाथि भएको लाठी प्रहारलाई कथामा कृष्ण रायको सोचलाई परिवर्तन गराउने मुख्य सन्दर्भ मानिन्छ ।
(ग) कथाको पाँचौँ अनुच्छेदको शीर्ष वाक्य कुन हो ?
⇒ नाहक कृष्ण राय यस दुर्गुणलाई गुण ठानेर अनुमान गरिरहेका थिए ।
(घ) कथाको समापन कुन घटनाबाट भएको छ ?
⇒ प्रहरीले शङ्का लागेको व्यक्ति भन्नु भन्दा लगभग आफ्नो सम्पर्कमा आएजति सबैको नाम भनेबाट कथाको समापन भएको छ ।
६. दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् ।
(क) कृष्ण रायले गर्व गर्ने कुरा के थियो ?
⇒ कृष्ण राय धेरै झगडामा मध्यस्थ भएका थिए, यही नै उनको गर्व गर्ने कुरा थियो ।
(ख) कृष्ण रायले गोविन्द पण्डितमाथि किन शङ्का गरे ?
⇒ कृष्ण रायले जमदार र पण्डितबिचको झगडामा जमदारको पक्षमा फैसला सुनाएको हुनाले गोविन्द पण्डितमाथि शङ्का गरे ।
(ग) कृष्ण रायलाई गाउँमा सम्मान गर्नुको कारण के हो ?
⇒ कृष्ण राय निष्पक्ष भएर मध्यस्थता गर्नु नै कृष्ण रायलाई गाउँमा सम्मान गर्नुको कारण हो ।
(घ) मध्यस्थ दुवै पक्षको समर्थक हुन सक्दैन । भन्नुको तात्पर्य के हो ?
⇒ झगडा गर्ने दुवै पक्ष आफू निर्दोष भएको ठान्छन् र मध्यस्थतामा कुनै एक पक्षलाई जिताउनु पर्ने हुँदा हार्ने पक्ष समर्थक हुन सक्दैन ।
७. “कृष्ण राय धेरै…….. आर्जन गरे’ कथांशबाट छोटो उत्तरात्मक प्रश्न निर्माण गरी उक्त प्रश्नको उत्तर लेख्नुहोस् ।
प्रश्न:
(क) कृष्ण रायले कस्तो ज्ञान आर्जन गरे ?
⇒ विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको ‘शत्रु’ कथा एक मनोवैज्ञानिक कथा हो । यसमा मान्छेले अर्काको झगडाको बिचमा पस्नु भनेको शत्रुलाई डाक्नु हो । ‘मेरा शत्रु छैनन्’ भनेर बस्नु भनेको स्वैर कल्पना गर्नु हो । मान्छे सामाजिक प्राणी भएको हुनाले समाजमा रहँदा बस्दा अवश्य शत्रु बनाएको हुन्छ भन्ने ‘शत्रु’ कथाको मूल भाव देखिन्छ ।
कृष्ण राय एक भलाद्मी व्यक्ति थिए । उनले कसैको पनि नराम्रो चिताएका थिएनन् । उनीमाथिको विश्वासले गर्दा गाउँका हरेक विवादमा सबैले उनैलाई मध्यस्थ बनाउँथे । उनले गरेको फैसलामा भेदभाव हुँदैन भन्नेमा सबै ढुक्क हुन्थे । तर मान्छेले सोचेजस्तो हुँदैन थियो । झगडामा दुई पक्ष हुने र एक पक्षको जितमा अर्काको हार निश्चित हुन्छ । यहाँ पनि जमदारको जितमा गोविन्द पण्डितको हार भएको थियो र कैयौँको जितमा मास्टरको हार । जसको परिणाम मास्टर र गोविन्द पण्डित कृष्णरायका शत्रु बन्ने सम्भावना थियो । कसैलाई दिइएको उपदेशको पनि उसले गलत अर्थ लगाउन सक्छ । कृष्णराय त जसलाई पनि उपदेश दिन थालिहाल्थे ।
अन्त्यमा, एउटा झगडामा सबभन्दा निर्दोष काम हो, त्यो झगडाको मध्यस्थ हुनु, तर कुनै पनि मध्यस्थ दुवै पक्षको समर्थक हुन सक्दैन । मध्यस्थले एउटा न एउटाको शत्रु हुनैपर्छ । ‘मैले मेरा शत्रु छैनन्’ भन्नु मेरो मूर्खता मात्र हो । मेरो कामले नै मेरा धेरै शत्रु बनेका छन् । कृष्ण रायले ब्युँझे झैँ भयो, ज्ञान आर्जन गरे ।
८. ‘शत्रु’ कथाको चौथो अनुच्छेद मौन पठन गरी मुख्य मुख्य चारओटा बुँदा टिपोट गर्नुहोस् ।
⇒ कृष्ण राय उठ्दा आक्रमणकारी भागिसकेको हुनु ।
⇒ आफूले जीवनमा कसैलाई पनि शत्रु नबनाएको र झगडा र फसादमा नफसेकाले यो एक भ्रम मात्रै भएको ठान्नु ।
⇒ लट्ठीको टुक्रा भेटेपछि आक्रमण भएको निश्चित मान्नु ।
⇒ आफ्ना को को शत्रु हुन सक्लान् भनेर सोच्न थाल्नु ।
९. दिइएका बुँदाका आधारमा कृष्ण रायको चरित्र चित्रण गर्नुहोस् :
⇒ ‘शत्रु’ कथाका प्रमुख पात्र कृष्ण राय समाजमा भद्र, शान्त र सहयोगी पात्रको रूपमा चिनिएका व्यक्ति थिए । उनको मुख्य कार्य गाउँको झगडामा मध्यस्थको भूमिका निर्वाह गर्ने गर्दथे । सबै कुराले सम्पन्न भएको पात्र भएकाले उनी आफ्नो कोही शत्रु नभएको ठान्दथे । एक रात उनीमाथि भएको एक लट्ठी प्रहार पछि सबैमाथि शङ्का गर्न थाले । परिणामतः उनले आफ्ना विगतका प्रत्येक कार्यबाट शत्रु जन्मिएका हुन सक्ने ठानी मनमनै विचलित हुन थाले । अन्त्यमा उनले शत्रु सबैका हुने रहेछन् भन्ने तत्त्वबोध गरे ।
समग्रमा भन्दा कृष्ण राय एक अस्थिर चरित्रका पात्र हुन् । अनुच्छेदको सुरुमा आफूलाई सर्वगुण सम्पन्न, कोही शत्रु नभएको ठान्ने कृष्ण राय अनुच्छेदको अन्त्यसम्म आइपुग्दा आफ्ना धेरै शत्रु हुन सक्ने निष्कर्षमा पुग्नुबाट उनको अस्थिर चरित्र पुष्टि हुन्छ । कृष्ण रायलाई छिटै ज्ञान आर्जन गर्ने व्यक्तिका रूपमा पनि लिन सकिन्छ । आफ्ना कोही शत्रु नभएको ठान्ने उनले आफूमाथि भएको लट्ठी प्रहारले शत्रु सबैका हुने रहेछन् भन्ने बुझे । कृष्ण राय छिटै विचलित हुने पात्र पनि हुन्, यति लामो जीवनखण्ड बिताइसकेका उनले भित्तामा भएको लट्ठी प्रहारबाट धेरै विचलित भएर आफ्नो धारणा नै परिवर्तन गरे ।
१०. दिइएका घटनालाई कथाका आधारमा क्रम मिलाएर लेख्नुहोस् :
१. (घ) कृष्ण राय आँखामा राखे पनि नबिझाउने खालका हुनु
२. (छ) ४५ वर्षसम्म शत्रु नहुनु
३. (च) मध्यस्थताको भूमिका निर्वाह गर्दा जमदारको पक्षमा न्याय दिनु
४. (ग) एक दिन लट्ठी प्रहार हुनु
५. (ङ) तिनका मनमा धेरै प्रकारका विचार आउनु
६. (ज) लट्ठीले आक्रमण गर्ने व्यक्तिको पहिचान नहुनु
७. (क) काम बिगार्दा रामे नोकरमाथि रिसाएको घटना सम्झनु
८. (झ) कुरामा कुरा चल्दा कृष्ण रायले उसलाई अप्रिय शब्द भन्नु
९. (ख) इन्स्पेक्टरले सोध्दा धेरैमाथि शङ्का व्यक्त गर्नु
कथा विश्लेषण (Story Analysis)
११. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) ‘शत्रु’ कथाका कृष्ण रायको व्यक्तित्व कस्तो थियो ?
⇒ स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको ‘शत्रु’ कथा एक मनोवैज्ञानिक कथा हो । यसमा कथाको मुख्य पात्र कृष्ण रायको मनोविज्ञानको चर्चा गरिएको छ । मान्छेको मन परिवर्तन हुनलाई एउटा सानो घटना नै पर्याप्त हुन्छ भन्ने कुरा कृष्णरायको जीवनमा घटेको एउटा सानो घटना, लट्ठी प्रहारबाट थाहा हुन्छ ।
कथाका मुख्य पात्र कृष्ण राय समाजमा भद्र, शान्त र सहयोगी पात्रका रूपमा चिनिएका व्यक्ति हुन् । काम नपरी घर बाहिर नजाने र परेको बेलामा आर्थिक रूपमा सहयोग नगरे पनि सान्त्वनाका शब्दहरूले नै मान्छेलाई मक्ख पार्न सक्ने क्षमता भएका व्यक्ति हुन् । कृष्णराय आफूलाई शत्रुविहीन ठान्ने, उनले भित्तामा लट्ठी प्रहार भएको एउटा घटना पछि आफ्नो सम्पर्कमा आएजति सबैलाई शत्रु ठान्न पुग्छन् । आफूसँग सम्पर्कमा आएका जति व्यक्तिसँग तर्कवितर्क गरेको सम्झन्छन् । झगडाको मध्यस्थता भएर काम गर्ने उनका कामले सधैँ एक पक्ष शत्रु हुने कुरा कथाको अन्त्यसम्म आइपुग्दा थाहा पाए । उनले यो पनि थाहा पाए कि सबैका शत्रु हुन्छन् ।
अन्त्यमा, कृष्ण रायको व्यक्तित्व एक गाउँघरको अलिक सम्पन्न परिवारको नेतृत्वकर्ताको जस्तो छ । जसरी गाउँघरमा एक सम्पन्न व्यक्तिलाई कसैलाई सहयोग गरे पनि नगरे पनि सबैले मान्छन्, त्यसैगरी कथामा पनि कृष्ण रायलाई सबैले मान्ने गरेको देखिन्छ । गाउँघरमा हरेक कुराको छिनोफानो गर्न सम्पन्न परिवारको मुखियालाई जिम्मा लगाए जस्तै कथामा कृष्ण रायलाई जिम्मा लगाइएको छ । त्यस्तै, गाउँमा सम्पन्न परिवारले कसैलाई विश्वास नगरे जस्तै कृष्ण रायले पनि कसैलाई विश्वास नगरेको देखिन्छ ।
(ख) कृष्ण रायले किन आफूलाई शत्रुविहीन ठान्थे, वर्णन गर्नुहोस् ।
⇒ ‘शत्रु’ कथा स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको एक मनोवैज्ञानिक कथा हो । यस कथामा कथाको मुख्य पात्र कृष्णरायको क्रियाकलापको मनोविज्ञानको चर्चा गरिएको छ । सधैँ आफूलाई शत्रुविहीन ठान्ने कृष्ण रायले आफूमाथि भएको लट्ठी प्रहारबाट सबैलाई शत्रुको घेरामा राखेको कुरा देखाइएको छ ।
कथाका मुख्यपात्र कृष्ण राय समाजमा भद्र, शान्त र सहयोगी पात्रका रूपमा चिनिएका व्यक्ति थिए । काम नपरी घर बाहिर ननिस्कने र परेको बेलामा आर्थिक रूपमा सहयोग नगरे पनि सान्त्वनाका शब्दहरूले नै मान्छेलाई मक्ख पार्न सक्ने क्षमता भएका व्यक्ति पनि थिए उनी । समाजमा सबैले उनलाई आदर सम्मान गर्ने । उनले भनेको सबैले मान्थे । त्यसैले गाउँमा केही विवाद भयो भने उनैलाई मध्यस्थकर्ता बनाइन्थ्यो । उनको न्याय सर्वमान्य हुन्थ्यो । उनीसित प्रशस्तै धन सम्पत्ति भए पनि कसैलाई ठगेर कमाएका थिएनन् । उनले जानेर कसैलाई दुःख दिएका थिएनन् । यिनै विविध कारणले कृष्ण राय आफूलाई शत्रुविहीन ठान्थे ।
(ग) यस कथाबाट के सन्देश पाइन्छ ?
⇒ विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको ‘शत्रु’ कथा एक मनोवैज्ञानिक कथा हो । यसमा कथाको मुख्य पात्र कृष्णरायको मनोविज्ञानको चर्चा गरिएको छ । मान्छेको मन परिवर्तन हुनलाई एउटा सानो घटना नै पर्याप्त हुन्छ । कोही पनि मान्छे शत्रुविहीन हुँदैन । कहीँ न कहीँ, कतै न कतै, केही न केही गर्दा शत्रु बनेका हुन्छन् भन्ने सन्देश दिनु नै यस कथाको मूल आशय देखिन्छ ।
कथाका मुख्य पात्र कृष्ण राय आफ्ना कोही शत्रु नभएको ठान्थे । उनी आफूलाई सबैले सम्मान गर्ने गरेकोमा मक्ख थिए । तर एक रात उनी सुत्ने कोठामा भएको लट्ठी प्रहारले उनको विश्वास टुट्यो, अनि उनले आफूले गरेका निर्णयले र कार्यहरूले बन्न सक्ने शत्रुको पहिचान गर्न लागे र परिणामतः उनको सम्पर्कमा आउने लगभग सबै सम्भावित हमलाकारीको रूपमा मान्न थाले ।
यस कथाको अर्को सन्देश भनेको शत्रुविहीन मान्छे हुँदैन । मान्छेले आफ्नो कार्यले थाहा नपाई दोस्रोलाई शत्रु बनाइसकेको हुन्छ । त्यसमा पनि कृष्ण राय त मध्यस्थकर्ता थिए । मध्यस्थकर्ता भनेको यस्तो कार्य हो जसमा विषालु साँप जस्तो वैरी बनाउने साधन लुकिरहेको हुन्छ । विशेष गरेर झगडाको मध्यस्थता गर्ने कृष्ण रायलाई आफू मध्यस्थले एउटा न एउटाको शत्रु हुनै पर्छ भन्ने ज्ञान आर्जन गरेको कुरा बताएर शत्रुविहीन मान्न नहुने सन्देश कथाले दिएको छ ।
(घ) प्रत्येक व्यक्तिका कृष्ण रायका जस्तै नदेखिने शत्रु होलान् त ? कथाका आधारमा अनुमान गर्नुहोस् ।
⇒ स्वर्गीय विश्वेश्वरप्रसाद कोइराला एक मनोवैज्ञानिक कथाकार हुन् । उनका कथामा मान्छेको मनोविज्ञानलाई विशेष गरी खोतलिएको हुन्छ । ‘शत्रु’ कथा पनि एक मनोवैज्ञानिक कथा हो । यस कथाका मुख्य पात्र कृष्ण रायका जस्ता शत्रु सबैका हुन्छन् । मान्छे शत्रुविहीन हुँदैन । नदेखेको, नचिनेको भए पनि प्रत्येक व्यक्तिको कोही न कोही शत्रु हुन्छन् । मानिस एक सामाजिक प्राणी भएको हुनाले प्रत्येक व्यक्तिका कृष्ण रायका जस्तै नदेखिने शत्रु हुन्छन् । समाजमा रहँदा बस्दा धेरैसँग व्यवहार गर्नुपर्ने हुन्छ । यसरी व्यवहार गर्दा हामीले कसैको पनि चित्त नदुखाई गर्न सकिन्छ भन्ने छैन । घरमा बा-आमासित, दाजुभाइ-दिदीबहिनीसित पनि कहिलेकाहीँ झगडा हुन्छ । कृष्ण रायले आफैँले धर्मपुत्रसरह पालेको युवकमाथि पनि शङ्का गरेको देख्दा बा-आमा, दाजुभाइ, दिदी-बहिनी पनि शत्रु बन्न सक्ने देखिन्छ । विद्यालयमा साथीहरूसित पनि कहिलेकाहीँ भनाभन हुन्छ, ती कृष्ण रायका शत्रु जस्ता शत्रु बन्न सक्छन् ।
अन्त्यमा, मानिस सामाजिक प्राणी भएकोले समाजमा बस्दा गरिने हरेक क्रियाकलाप एक अर्कासित सम्बन्धित हुन्छन् र जानेर वा नजानेर एक अर्काको चित्त दुखाउन पुग्छ। त्यसैले कृष्ण रायको जस्तो शत्रु हामी सबैका हुन्छन्।
१२. व्याख्या गर्नुहोस्
क. कुनै पनि मध्यस्थ दुवै पक्षको समर्थक हुन सक्दैन।
⇒ माथिको कथांश हाम्रो कक्षा १० को पाठ सात अन्तर्गत पर्ने ‘शत्रु’ कथाबाट लिइएको हो। स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित ‘शत्रु’ कथा एक मनोवैज्ञानिक कथा हो। आफूमाथि लठ्ठी प्रहार भइसकेपछि शत्रु सम्झने क्रममा आफ्ना शत्रु बन्नुको मुख्य कारण नै आफ्नो काम रहेको थाहा पाउँछन्। आफ्नो काम नै शत्रु भएको थाहा पाइसकेपछि कृष्णरायले चित्त बुझाउने क्रममा उक्त कथांश आएको हो।
माथिको हरफ कृष्ण रायमाथि लाठी आक्रमण भएपछि उनको मनमा कुरा खेल्ने क्रममा आफूले मध्यस्थ भएर झगडा मिलाउँदा हार्ने व्यक्ति आफ्नो समर्थक नभएर शत्रु भएको हुनसक्ने प्रसङ्गमा आएको हो। आफूले कसैको चित्त पनि नदुखाएको र कमाएको सम्पत्ति पनि कसैलाई धोका दिएर अथवा दुःख दिएर नकमाएको हुनाले आफूलाई शत्रुविहीन ठानेर बसेका कृष्ण रायलाई एक रात एक्कासि लठ्ठी आक्रमण भएपछि आफ्ना कार्यको बारेमा समीक्षा गर्न थाले र आफ्ना हुनसक्ने शत्रु सम्झन थाले। आफू मध्यस्थ भएर गरेका न्यायमा सधैँ एकपक्ष दुस्मन भएको सम्झे। उनले आफूसँग आएका अन्य मान्छेको पनि सूची बनाए अनि मान्छे शत्रुविहीन हुँदैन भन्ने निष्कर्षमा पुगे।
माथिको वाक्यको मूल आशय झगडाको मध्यस्थले स्वस्फूर्त रूपमा शत्रु कमाउँछ, किनकि झगडाका दुवै पक्ष फैसलाको समर्थक बन्न सक्दैनन्। एक पक्षको अवश्य चित्त दुख्छ। चित्त दुख्ने पक्षले सबै मध्यस्थलाई आफ्नो शत्रु ठान्छ।
ख. कस्तो अचम्म, निर्दोष कुरामा पनि विषालु साँप जस्तो वैरी बनाउने साधन लुकिरहेको देखिन्छ।
⇒ माथिको कथांश हाम्रो कक्षा १० को पाठ सात अन्तर्गत ‘शत्रु’ कथाबाट लिइएको हो। स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित ‘शत्रु’ कथा एक मनोवैज्ञानिक कथा हो। कथाका मुख्य पात्र कृष्ण रायले आफूले निष्पक्ष रहेर गर्ने गरेको मध्यस्थताको अर्थ बुझ्ने क्रममा माथिको कथांश आएको हो।
माथिका हरफ कृष्ण रायले आफूमाथि लाठी आक्रमण भएपछि आफ्ना विगतका कार्य सम्झेर निकालेको निष्कर्षको रूपमा आएको हो। कथाका मूलपात्र कृष्ण रायको मुख्य काम झगडाको मध्यस्थ बन्नु हो। मध्यस्थ बन्नु भनेको एक निर्दोष कार्य हो तर निर्दोष कार्यभित्र विषालु साँप जस्तो वैरी बनाउने साधन लुकिरहेको हुन्छ भन्ने पत्ता लगाए। कृष्ण रायले गर्ने कार्यहरू सबै निर्दोष नै थिए तर कुन कामले कसलाई चित्त दुखेको थियो पत्तै पाउन सकेनन्। जसरी हरियो घाँसमा लुकेको विषालु साँपलाई सजिलै देख्न सकिँदैन र एक्कासि आक्रमण गरेपछि मात्र साँप रहेछ भन्ने थाहा हुन्छ त्यसैगरी हामीले गरेका कुन कार्यले कहिले शत्रु जन्माएका हुन्छन् र त्यो शत्रुले कुन मौकाको पर्खाइमा लुकेर बसेको हुन्छ अनि कहिले थाहै नदिई आक्रमण गर्छ भन्ने हामीलाई थाहा हुँदैन भन्ने कुराको चर्चा माथिको वाक्यमा भनिएको छ।
१३. ‘शत्रु’ कथाका कृष्ण रायमाथि लट्ठी प्रहार भएपछि पनि उनले किन शत्रु किटान गर्न सकेनन्, तर्क दिएर पुष्टि गर्नुहोस्।
⇒ विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको ‘शत्रु’ कथा एक मनोवैज्ञानिक कथा हो। यस कथामा कथाका मुख्यपात्र कृष्णरायले आफूमाथि लठ्ठी प्रहार हुनुभन्दा अगाडि र पछाडि मनमा खेलाएका कुराहरू समेटिएको छ। आफूले कसैलाई दुःख नदिएको ठान्ने कृष्ण रायलाई नै कसैले आक्रमण गरेपछि उनी अचम्मित भएका छन्। अहिलेसम्म शत्रुविहीन ठानेका रायले आफ्ना कार्यहरू सम्झँदा कुनै न कुनै समयमा धेरैको चित्त दुखाएको सम्झन्छन् र शत्रु चिन्न सक्दैनन्।
कृष्ण राय आफ्ना कोही शत्रु नभएको ठान्थे। उनी आफूलाई सबैले सम्मान गर्ने गरेकोमा मक्ख थिए तर एकरात उनी सुत्ने कोठामा भएको लठ्ठी प्रहारले उनको विश्वास टुट्यो। अनि उनले आफूले गरेका निर्णयले र कार्यहरूले बन्न सक्ने शत्रुको पहिचान गर्न लागे र परिणामतः उनको सम्पर्कमा आउने लगभग सबै सम्बन्धित हमलाकारीको रूपमा शङ्काको घेरामा आए। धेरै मान्छेसित सङ्गत गर्ने कृष्ण रायले जतिसित सङ्गत गरे त्यतिलाई नै आफ्नो शत्रु बन्ने ठाउँ दिए।
कृष्ण रायले काम विशेषले मात्र मान्छेसित सङ्गत गर्ने गरेका र प्रत्येक सङ्गतमा कसै न कसैको चित्त दुखाउने काम गरेको देखिन्छ। चाहे त्यो काम गर्ने नोकरलाई बकाएको होस् या काम खोज्न आएको युवकलाई उपदेश दिँदा होस्। झगडाको मध्यस्थता गर्दा त त्यसै एक पक्ष रिसाउने भइहाल्यो। रेलको डब्बामा पनि उनले झगडा गरेका थिए। यसरी कृष्ण रायले आफ्नो सम्पर्कमा आएका प्रायः सबैसँग सानोतिनो गल्ती गरेका हुनाले शत्रु किटान गर्न सकेनन्।
१४. कृष्ण रायका मनमा उब्जिएका मानसिक उतारचढावलाई ‘शत्रु’ कथाका आधारमा समीक्षा गर्नुहोस्।
⇒ विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको ‘शत्रु’ कथा एक मनोवैज्ञानिक कथा हो। यसमा कथाको मुख्य पात्र कृष्णरायको मनोविज्ञानको चर्चा गरिएको छ। सधैँ आफूलाई शत्रुविहीन ठान्ने कृष्ण रायले आफूमाथि भएको लठ्ठी प्रहारबाट सबैलाई शत्रुको घेरामा राखेको कुरा देखाइएको छ। एउटा झगडामा सबभन्दा निर्दोष काम त्यो झगडाको मध्यस्थ हुनु हो। कुनै पनि मध्यस्थ दुवै पक्षको समर्थक हुन सक्दैन, मध्यस्थ एउटा न एउटाको शत्रु हुनैपर्छ भन्ने ज्ञान कृष्ण रायले आर्जन गरे भन्ने कुरा कथामा उल्लेख गरिएको छ।
आफूले कसैको चित्त नदुखाएको, रुपियाँ कमाउँदा अरूलाई पीर नपारेको, आफूसित सबैथोक भएको र सबैभन्दा ठुलो कुरा शत्रु नभएको सम्झेर मक्ख परेर सुतेको बेलामा कसैले आफूमाथि लठ्ठी प्रहार गरेपछि उनको भ्रम टुट्छ। अनि उनले आफ्ना कार्यको बारेमा समीक्षा गर्न थाल्छन् र आफ्ना हुनसक्ने शत्रु सम्झन थाल्छन्। आफू मध्यस्थ भएर गरेको न्यायमा सधैँ एकपक्ष दुस्मन भएको सम्झे, चाहे ती गोविन्द पण्डित हुन् वा मास्टर। त्यस्तै काम गर्ने नोकरलाई पनि त उनले बकाएका थिए। रेलमा पनि झगडा भएको थियो। नोकरी खोज्दै आउनेलाई नोकरी नदिएर उपदेश दिएका थिए आदि घटना सम्झन पुग्छन्।
लठ्ठी प्रहार अगाडिसम्म आफूलाई शत्रुविहीन ठान्ने कृष्ण रायले घटनाको छानबिनको लागि आउने इन्स्पेक्टरसँग सम्भावित शत्रुका अनगिन्ती सूची दिएबाट कृष्ण रायका मनमा उब्जिएका मानसिक उतारचढावलाई प्रस्ट्याउन सकिन्छ।
१५. ‘शत्रु’ कथाका मुख्य मुख्य घटना नछुट्ने गरी कथासार लेख्नुहोस्।
⇒ विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको ‘शत्रु’ कथा एक मनोवैज्ञानिक कथा हो। यस कथामा कथाका मुख्यपात्र कृष्णरायले आफूमाथि लठ्ठी प्रहार हुनुभन्दा अगाडि र पछाडि मनमा खेलाएका कुराहरू समेटिएका छन्।
भाषिक संरचना र वर्णविन्यास
१. दिइएको अनुच्छेद पढी आज्ञार्थ र इच्छार्थ जनाउने क्रियापदको अलग अलग सूची बनाउनुहोस्:
आज्ञार्थ
⇒ ले
⇒ पकाउनुहोस्
⇒ खाएस्
इच्छार्थ
⇒ पकाऊँ
⇒ ल्याऊँ
⇒ पकाउन
⇒ खाओस्
⇒ खाए
२. दिइएको अनुच्छेद पढी रेखाङ्कित सम्भावनार्थ र सङ्केतार्थ जनाउने क्रियापदको अलग अलग सूची बनाउनुहोस्:
सम्भावनार्थ
⇒ ल्याउँला
⇒ खेल्दै होला
⇒ दिउँला
सङ्केतार्थ
⇒ आए हुन्थ्यो
⇒ ल्याए हुन्थ्यो
⇒ ल्यायो भने
⇒ मान्छौ भने
३. कोष्ठकमा दिइएका सङ्केतका आधारमा खाली ठाउँ भर्नुहोस्:
४. दिइएको अनुच्छेदलाई सम्भावनार्थमा परिवर्तन गर्नुहोस्:
⇒ म हिउँदे बिदामा इलाम घुम्न जाउँला। म कन्यामको चियाबारी घुमुँला। स्वदेशमा प्रख्यात र विदेशमा निर्यात हुने नेपाली चियाका बारेमा जानकारी लिउँला। त्यहाँका मानिससँग चिया खेती गर्ने तरिका सिकुँला। म पनि कृषि विषय पढेर गाउँमा चियाखेती गरुँला।
५. दिइएको अनुच्छेदलाई दुईओटा सङ्केतार्थ वाक्यमा परिवर्तन गर्नुहोस्:
⇒ आज पानी पर्यो भने मकै राम्ररी फल्नेछ।
⇒ मकै राम्ररी फल्यो भने बेचेर घरखर्च चलाइनेछ।
अनुच्छेद र प्रश्नोत्तर (Passage and Q&A)
१६. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्।
नेपाली कलालाई ४ भागमा वर्गीकरण गरिएको छ। हस्तलिखित ग्रन्थमा लेखिएका विषयसँग सम्बन्धित चित्रलाई ग्रन्थचित्र भनिन्छ। गाताचित्र र पात्रचित्र गरी ग्रन्थचित्र दुई प्रकारका हुन्छन्। विशेष प्रविधिका साथ कपडामा बनाइएको चित्रलाई पौभाचित्र भनिन्छ। पट र मण्डल गरी पौभाचित्र दुई प्रकारका हुन्छन्। नेपाली मूर्तिकलाको विकास लिच्छविकालदेखि सुरु भएको पाइन्छ। छापाखानाको आविष्कार हुनुभन्दा पहिले आफूलाई आवश्यक पर्ने पुस्तक र ग्रन्थ हातले लेखेर तयार पार्ने गरिन्थ्यो।
(क) नेपाली कलालाई कति भागमा वर्गीकरण गरिएको छ?
⇒ नेपाली कलालाई ४ भागमा वर्गीकरण गरिएको छ।
(आ) कस्ता चित्रलाई ग्रन्थचित्र भनिन्छ?
⇒ हस्तलिखित ग्रन्थमा लेखिएका विषयसँग सम्बन्धित चित्रलाई ग्रन्थचित्र भनिन्छ। गाताचित्र र पात्रचित्र गरी ग्रन्थचित्र दुई प्रकारका हुन्छन्।
(इ) पौभाचित्र भनेको कस्तो चित्र हो?
⇒ विशेष प्रविधिका साथ कपडामा बनाइएको चित्रलाई पौभाचित्र भनिन्छ। पट र मण्डल गरी पौभाचित्र दुई प्रकारका हुन्छन्।
(ई) मूर्तिकलाको विकास कहिलेबाट सुरु भएको पाइन्छ?
⇒ मूर्तिकलाको विकास लिच्छविकालदेखि सुरु भएको पाइन्छ।
भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस्:
(अ) माथिको अनुच्छेदमा रहेको ‘नेपाली मूर्तिकलाको विकास लिच्छविकालदेखि सुरु भएको पाइन्छ।’ वाक्यलाई सम्भावनार्थमा परिवर्तन गर्नुहोस्।
⇒ नेपाली मूर्तिकलाको विकास लिच्छविकालदेखि सुरु भएको होला।
(आ) माथिको अनुच्छेदमा रहेको ‘विशेष प्रविधिका साथ कपडामा बनाइएको चित्रलाई पौभाचित्र भनिन्छ।’ वाक्यलाई इच्छार्थमा परिवर्तन गर्नुहोस्।
⇒ विशेष प्रविधिका साथ कपडामा बनाइएको चित्रलाई पौभाचित्र भनियोस्।
(इ) ‘छापाखानाको आविष्कार हुनुभन्दा पहिले आफूलाई आवश्यक पर्ने पुस्तक र ग्रन्थ हातले लेखेर तयार पार्ने गरिन्थ्यो।’ वाक्यलाई पदयोग पदवियोग मिलाई पुनर्लेखन गर्नुहोस्।
⇒ छापाखानाको आविष्कार हुनुभन्दा पहिले आफूलाई आवश्यक पर्ने पुस्तक र ग्रन्थ हातैले लेखेर तयार पार्ने गरिन्थ्यो।
