मेरो देशको शिक्षा (Mero Deshko Shiksha)
Comprehensive guide with all exercises, vocabulary, comprehension and detailed analysis of the essay ‘मेरो देशको शिक्षा (Mero Deshko Shiksha)’ for Class 10 SEE preparation.
Table of Contents (Mero Deshko Shiksha)
शब्दभण्डार (Vocabulary) – मेरो देशको शिक्षा
१. दिइएका अर्थ बुझाउने शब्द मेरो देशको शिक्षा निबन्धबाट खोजेर लेख्नुहोस्:
२. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस्:
३. दिइएको अनुच्छेदबाट प्राविधिक पारिभाषिक शब्द पहिचान गरी लेख्नुहोस्:
शिक्षण सिकाइको महत्त्वपूर्ण पक्ष शिक्षक हो। शिक्षकले पाठ्यक्रमअनुसार विषयवस्तुमा आधारित भएर शिक्षण गर्नु अपरिहार्य हुन्छ । शिक्षणलाई प्रभावकारी बनाउन पाठयोजना बनाउनसमेत अनिवार्य हुन्छ। पाठयोजनाभित्र विशिष्ट उद्देश्य, पाठ्यवस्तु, शैक्षणिक सामग्री, सिकाइ सहजीकरण क्रियाकलाप, मूल्याङ्कन र गृहकार्य रहन्छन् ।
⇒ प्राविधिक पारिभाषिक शब्दहरुः शिक्षण, सिकाइ, शिक्षक, पाठ्यक्रम, विषयवस्तु, शैक्षणिक, पाठयोजना, विशिष्ट उद्देश्य, पाठ्यवस्तु, शैक्षणिक सामग्री, सिकाइ सहजीकरण, क्रियाकलाप, मूल्याङ्कन र गृहकार्य।
४. मेरो देशको शिक्षा निबन्धबाट कुनै पाँचओटा पारिभाषिक शब्द खोजी वाक्यमा प्रयोग गर्नुहोस्:
समालोचनात्मक
⇒ हामी सबैमा समालोचनात्मक दृष्टि हुनुपर्छ ।
विज्ञान
⇒ यो युग विज्ञानको युग हो।
प्रविधि
⇒ प्रविधिले हाम्रो जीवन सहज भएको छ ।
परिष्कृत
⇒ हाम्रा बानीव्यवहार परिष्कृत गर्नुपर्छ।
इतिहास
⇒ नेपालको इतिहास गर्व गर्न लायक छ ।
बोध र अभिव्यक्ति (Comprehension & Expression)
३. दिइएका प्रश्नको उत्तर भन्नुहोस्:
(क) मेरो देशको शिक्षा निबन्ध आत्मपरक वा वस्तुपरक कुन हो?
⇒ मेरो देशको शिक्षा निबन्ध आत्मपरक निबन्ध हो।
(ख) व्यवसायमूलक शिक्षाका लागि हाम्रो परम्परागत र आधुनिक प्रविधिलाई सँगसँगै अगाडि लैजानु बढी सान्दर्भिक देख्छु भन्ने अनुच्छेदको शीर्ष वाक्य कुन हो?
⇒ व्यवसायमूलक शिक्षाका लागि हाम्रो परम्परागत र आधुनिक प्रविधिलाई सँगसँगै अगाडि लैजानु बढी सान्दर्भिक देख्छु ।
(ग) वाक्य संरचनाका दृष्टिले सबभन्दा लामो अनुच्छेद कुन हो?
⇒ वाक्य संरचनाका दृष्टिले सबभन्दा लामो अनुच्छेद छैटौं अनुच्छेद हो।
(घ) प्राचीन सभ्यता र संस्कृतिसँग सम्बन्धित कुरा कुन अनुच्छेदमा आएको छ?
⇒ प्राचीन सभ्यता र संस्कृतिसँग सम्बन्धित कुरा दोस्रो अनुच्छेदमा आएको छ।
४. दिइएको निबन्धांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्:
(क) दीक्षित व्यक्तिमा कस्तो क्षमता हुनुपर्छ?
⇒ दीक्षित व्यक्तिमा समालोचनात्मक सोचयुक्त नयाँ नयाँ ज्ञान निर्माण गर्न सक्ने क्षमता हुनुपर्छ ।
(ख) स्वस्थ चिन्तनमा कुन कुरा पर्छ?
⇒ स्वस्थ चिन्तनमा हरेक कुरालाई पूर्वाग्रह नराखेर अरूका भरमा मात्र नपरी आफ्नै विवेकका आँखाले हेर्नुपर्ने कुरा पर्छ।
(ग) समालोचनात्मक चिन्तन शिक्षाको एउटा पाटो हो भन्नुको आशय के हो?
⇒ समालोचनात्मक चिन्तनले व्यक्तिमा विवेकी, तार्किक र चेतनशील बनाउने हुनाले यसलाई शिक्षाको एउटा पाटो भनिएको हो।
(घ) निबन्धको अंशको भनाइप्रति तपाईं सहमत या असहमत के हुनुहुन्छ, तर्क दिनुहोस्।
⇒ निबन्धको अंशको भनाइप्रति म सहमत छु। हामीमा समालोचनात्मक सोच हुनु आवश्यक छ। यस्तो सोच राख्न सके हामी सही गलत छुट्याउने चेतनाको विकास गर्न सक्छौँ। हरेक विषय र वस्तुका बारेमा आफ्नो धारणा बनाउन सक्छौँ ।
५. दिइएका प्रश्नको उत्तर लेख्नुहोस्:
(क) मेरो देशको शिक्षा निबन्धमा कस्तो व्यवसायमूलक शिक्षाको अपेक्षा गरिएको छ?
⇒ निबन्धमा भूगोल र पर्यावरण अनुकूल व्यवसायमूलक शिक्षाको अपेक्षा गरिएको छ। जुन ठाउँमा जे कुराको उत्पादन सम्भव छ, त्यसैको उत्पादन र प्रशोधनसम्बन्धी शिक्षा दिनुपर्छ। हाम्रो परम्परागत र आधुनिक प्रविधिलाई सँगसँगै अगाडि लैजाने शिक्षा सान्दर्भिक हुन्छ । कृषिमा आधुनिक प्रविधि तथा अत्याधुनिक औजारको प्रयोग गर्ने व्यावसायिक शिक्षा आवश्यक छ । विज्ञान र प्रविधियुक्त शिक्षाको खाँचो छ। समग्रमा विद्यार्थीलाई स्वरोजगार बनाउने सिपयुक्त शिक्षाको अपेक्षा यसमा गरिएको छ।
(ख) शिक्षाले मानव जीवनका कुन कुन कुरामा सुधार ल्याउँछ?
⇒ शिक्षाले हरेक काममा सहजता ल्याउँछ। हामी मोबाइल एप्सबाट अनलाइन टिकट काट्ने, बैङ्क खाता खोल्ने र घरमै सामान मगाउने जस्ता कामहरु गर्न सक्छौँ। अनलाइनबाट जागिर र व्यापार व्यवसाय गर्न सक्छौँ। शिक्षाबाट समालोचनात्मक सोचयुक्त नयाँ नयाँ ज्ञान निर्माण गर्न सकिन्छ । परिवर्तनलाई आत्मसात गर्न सक्ने बनाउँछ । शिक्षाले मानिसलाई कर्तव्य, दायित्व, सद्गुण आदि सिकाउँछ । शिक्षाले मानवीय स्वभाव र कर्मलाई सही मार्गमा लाग्न प्रेरित गर्छ। यसरी शिक्षाले व्यक्तिमा सकारात्मक गुण भरिदिन्छ र आत्मनिर्भर बनाउँछ ।
(ग) विज्ञान र प्रविधिमा आधारित शिक्षाको महत्त्व लेख्नुहोस्।
⇒ आजको युग सूचना र प्रविधिको युग हो। विज्ञान र प्रविधियुक्त शिक्षाले हरेक काममा सहजता ल्याएको छ। हामी मोबाइल एप्सबाट अनलाइन टिकट काट्ने, बैड्क खाता खोल्ने र घरमै सामान मगाउने जस्ता कामहरु गर्न सक्छौँ। अनलाइनबाट जागिर र व्यापार व्यवसाय गर्न सक्छौँ। घरमा उत्पादन गरेका कृषिजन्य वस्तु अनलाइनबाटै बजारीकरण गरी आय वृद्धिमा सघाउ पुऱ्याउन सकिन्छ । विश्वभरिको सूचना र जानकारीको अजस्र स्रोत इन्टरनेटभित्रै छ। मेरो देशको शिक्षाले विद्यार्थीलाई यी र यस्ता कुरामा दक्ष बनाउँदै युगीन आवश्यकता र आविष्कारसँग जोड्न सक्नुपर्छ । शिक्षाले नै मानवलाई सम्मान, खुसी र सुखपूर्वक जिउन ज्ञान र सिप प्रदान गर्छ।
(घ) निबन्धको मुख्य सन्देश के हो?
⇒ मेरो देशको शिक्षा सन्देशमूलक निबन्ध हो। यस निबन्धले वैज्ञानिक एवम् व्यावसायिक शिक्षामा जोड दिएको छ। नेपालमा विज्ञान, सूचना, प्रविधि लगायत युग सुहाउँदो शिक्षाको आवश्यकता रहेको छ। जे जति नवीन प्रयोग र मान्यता स्थापित भएका छन्, तिनलाई आत्मासात् गर्दै समयानुकुल परिष्कृत गर्दै लैजाने काम गर्नुपर्छ। हाम्रो देशको शिक्षालाई यहाँको भूगोल र पर्यायवरण अनुकूल बनाउनुपर्छ । सिपयुक्त व्यवसायमूलक शिक्षाले आत्मनिर्भर बनाउँछ र रोजगारी सिर्जना गर्न सहयोग पुग्छ । शिक्षाका माध्यमबाट व्यक्तिमा समालोचनात्मक चिन्तनको विकास गरी जीवनलाई सहज र स्तरीय बनाउन सकिन्छ । यसरी यहाँको परम्परागत ज्ञानलाई समेट्दै आधुनिक र प्रविधि सुहाउँदो ज्ञानका रुपमा शिक्षाको विकास गर्ने सके देश समृद्धितर्फ लाग्नेछ भन्नु नै निबन्धको मुख्य सन्देश हो।
व्याख्या र समीक्षा (Explanation & Analysis)
६. व्याख्या गर्नुहोस्:
क. आत्मनिर्भरताको लक्ष्य स्वरोजगार बन्नु हो।
⇒ प्रस्तुत निबन्धांश ‘मेरो देशको शिक्षा’ बाट साभार गरिएको हो। यो निबन्ध पाठ्यपुस्तकका सम्पादकको समूहले तयार पारेका हुन्। यस निबन्धमा व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिइएको छ । शिक्षाले मानिसलाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने कुरा बुझाउने सन्दर्भमा प्रस्तुत निबन्धांश आएको हो ।
शिक्षालाई मानव जातिको तेस्रो आँखा मानिन्छ । शिक्षाले नै मानवलाई सम्मान, खुसी र सुखपूर्वक जिउने ज्ञान र सिप प्रदान गर्छ। यसका लागि समयसापेक्ष सिप प्रदान गर्ने शिक्षा चाहिन्छ । शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग अनि श्रमलाई आधुनिक प्रविधिसँग जोड्ने शिक्षा आजको आवश्यकता हो। सिपयुक्त शिक्षालाई प्राथमिकतासाथ अगि बढाउनुपर्छ। यसो भयो भने मात्र मानिस आफ्नो अनुकूलको व्यवसाय गर्न सक्छन् । स्वरोजगार बनेर आफ्नै देशमा पसिना बगाउने अवसर पाउँछन् । व्यवसायमूलक शिक्षा, प्राविधिक ज्ञान र सिप प्राप्त गरेका विद्यार्थी व्यवसाय सञ्चालन गर्न सक्छन्। उनीहरु आत्मनिर्भर हुन उत्प्रेरित हुन्छन् । आत्मनिर्भरताको लक्ष्य स्वरोजगार बन्नु हो। यसरी निबन्धांशमा हाम्रो शिक्षाको मूल उद्देश्य विद्यार्थीलाई आत्मनिर्भर बनाउने हुनुपर्छ भन्ने कुरा स्पष्ट पार्न खोजिएको छ।
ख. शिक्षित व्यक्तिमा शिष्टाचार, प्रतिबद्धता, सांस्कृतिक सद्भाव, सामाजिक सद्व्यवहारका क्षमता हुनु जरुरी छ ।
⇒ प्रस्तुत निबन्धांश ‘मेरो देशको शिक्षा’ बाट साभार गरिएको हो । यो निबन्ध पाठ्यपुस्तकका सम्पादकको समूहले तयार पारेका हुन् । यस निबन्धमा व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिइएको छ । शिक्षाले मानिसलाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने कुरा बुझाउने सन्दर्भमा प्रस्तुत निबन्धांश आएको हो।
शिक्षा ज्ञान र विज्ञानको सङ्ङ्गम बन्नुपर्छ । शिक्षाबाट पाइने ज्ञान वा चेतनाले मानिसलाई कर्तव्य, दायित्व, सद्गुण आदि सिकाउँछ । यसले मानिसलाई नैतिकवान, सहिष्णु, दक्ष र विवेकशील बनाउनु पर्छ। हाम्रो शिक्षाले उत्पादन गरेका व्यक्तिमा सकारात्मक गुण भरिपूर्ण हुनुपर्छ । शिक्षित व्यक्तिमा शिष्टाचार, प्रतिबद्धता, सांस्कृतिक सद्भाव, सामाजिक सद्व्यवहारका क्षमता हुनु जरुरी छ। प्रमाणपत्र थुपार्ने शिक्षा मात्र भएर हुँदैन। हाम्रो शिक्षा सैद्धान्तिकभन्दा व्यावहारिक हुनुपर्छ। शिक्षा मान्छेको व्यवहारमा झल्किनुपर्छ। कक्षा दसमा पढ्ने मान्छेलाई आफूभन्दा ठुलो मान्छेसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने पनि थाहा छैन भने त्यो शिक्षाको केही औचित्य हुँदैन । शिक्षाले त अनुशासित, सभ्य र भद्र बनाउनुपर्छ। यसरी हाम्रो शिक्षाले हामीमा असल बानीको विकास गर्न सक्नुपर्छ भन्ने कुरालाई निबन्धांशमा स्पष्ट पार्न खोजिएको छ।
९. शिक्षालाई भूगोल… पाउने छन् निबन्धको अंश मौन पठन गर्नुहोस् र बुँदा टिपोट गरी सारांश लेख्नुहोस् ।
बुँदा टिपोटः
- शिक्षालाई भूगोल र पर्यावरण अनुकूल व्यवसायमूलक रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको
- देशमा रोजगारी सिर्जनामा व्यावसायिक ज्ञान र सिपयुक्त शिक्षा आवश्यक हुनु
- ठाउँ र त्यहाँको विशेषताअनुसार शिक्षा दिँदा स्वरोजगारका अनन्त सम्भावना खोज्न सकिने
- प्राविधिक र व्यावसायिक सिपयुक्त शिक्षालाई प्राथमिकतासाथ अगि बढाए अवसरको सदुपयोग गर्दै विद्यार्थीले देशमै पसिना बगाउने अवसर पाउने
सारांश:
शिक्षालाई भूगोल र पर्यावरण अनुकूल व्यवसायमूलक शिक्षाका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको छ । देशमा रोजगारी सिर्जनामा पनि व्यावसायिक ज्ञान र सिपयुक्त शिक्षा आवश्यक हुन्छ । ठाउँ र त्यहाँको विशेषताअनुसार शिक्षा दिँदा स्वरोजगारका अनन्त सम्भावना खोज्न सकिन्छ । प्राविधिक र व्यावसायिक सिपयुक्त शिक्षालाई प्राथमिकतासाथ अगि बढाए अवसरको सदुपयोग गर्दै विद्याथीले देशमै पसिना बगाउने अवसर पाउने छन् ।
(अनुच्छेदमा दिइएको शब्द सङ्ख्याः १७१) | (सारांशमा भएको शब्द सङ्ख्याः ५७)
१०. तपाईंलाई नेपालको भावी शिक्षा कस्तो हुनुपर्छ भन्ने लाग्छ, मेरो देशको शिक्षा निबन्धका आधारमा समीक्षात्मक उत्तर लेख्नुहोस् ।
⇒ ‘मेरो देशको शिक्षा’ सन्देशमूलक निबन्ध हो। पाठ्यपुस्तकका सम्पादकको समूहले तयार पारेको यो निबन्ध आत्मपरक शैलीमा लेखिएको छ। यस निबन्धले प्राचीन ज्ञान र आधुनिक विज्ञानसहितको व्यावसायिक शिक्षामा जोड दिएको छ। शिक्षालाई मानव जातिको तेस्रो आँखा मानिन्छ। शिक्षाले मानवलाई सम्मान, खुसी र सुखपूर्वक जिउने ज्ञान र सिप प्रदान गर्नुपर्छ। यसले समाज र राष्ट्रमा प्रचलित मान्यता र विश्वासलाई मानवताका आँखाले हेर्ने र तिनका बारे समालोचनात्मक चिन्तन गर्ने सोच प्रदान गर्नुपर्छ । देशको शिक्षा युगानुकूल, विज्ञान प्रविधियुक्त र देशलाई समृद्ध बनाउने दिशामा प्रवृत्त हुनुपर्छ । देशलाई पूर्वीय ज्ञान तथा पाश्चात्य विज्ञान र प्रविधिसँग हातेमालो गर्दै अझै अगि बढाउने शिक्षा जरुरी छ। सिपले सुसम्पन्न समयसापेक्ष शिक्षा हुनुपर्छ । बदलिँदो युगसँगै आफूलाई समायोजन गर्न सक्ने शिक्षा चाहिन्छ । शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग अनि श्रमलाई आधुनिक प्रविधिसँग जोड्ने शिक्षा आजको आवश्यकता हो। शिक्षा भूगोल र पर्यावरण अनुकूल व्यवसायमूलक हुनुपर्छ। यसो भयो भने मात्र आफ्नो अनुकूलको व्यवसाय गरेर आफ्नै देशमा स्वरोजगारका अवसरको सदुपयोग गर्दै विद्याथीले यो देशमा पसिना बगाउने अवसर पाउने छन्। शिक्षाको मूल उद्देश्य आत्मनिर्भर शिक्षामा जोड दिने हुनुपर्छ ।
देशको शिक्षामा सर्वसुलभ हुनुपर्छ । सबैमा सूचना प्रविधिको पहुँच पुग्नुपर्छ । आजका शिक्षित विद्यार्थी सूचना प्रविधिसँग पूर्ण रूपमा परिचित पोख्त र दक्ष हुनुपर्छ। नेपालमा परिवर्तनलाई आत्मसात गर्न सक्ने नागरिक उत्पादनमा जोड दिने शिक्षाको खाँचो छ। शिक्षा ज्ञान र विज्ञानको सङ्गम बन्नुपर्छ। शिक्षाबाट पाइने ज्ञान वा चेतनाले मानिसलाई कर्तव्य, दायित्व, सद्गुण आदि सिकाउनुपर्छ। शिक्षाले मानवीय स्वभाव र कर्मलाई सही मार्गमा लाग्न प्रेरित गर्नुपर्छ। देशको शिक्षाले उत्पादन गरेका व्यक्तिमा सकारात्मक गुण भरिपूर्ण हुनुपर्छ। शिक्षाबाट दीक्षित व्यक्ति समालोचनात्मक सोचयुक्त नयाँ नयाँ ज्ञान निर्माण गन सक्ने हुनुपर्छ।
समग्रमा नेपालमा आफ्नो मौलिकतासहितको युग सुहाउँदो व्यावसायिक, प्राविधिक र आधुनिक शिक्षा हुनुपर्छ। यहाँको परम्परागत ज्ञानलाई समेट्दै आधुनिक र प्रविधि सुहाउँदो ज्ञानका रुपमा शिक्षाको विकास गर्ने सके रोजगारीको अवसर सिर्जना भई देश समृद्धितर्फ लाग्नेछ भन्ने विचार निबन्धले प्रस्तुत गरेको छ।
भाषिक संरचना (Language Structure)
वाच्य परिवर्तन:
कर्तृवाच्यबाट कर्मवाच्यमा:
विविषा कम्प्युटर किन्थिन् ।
⇒ विविषाद्वारा कम्प्युटर किनिन्थ्यो ।
दर्शन लेखाशास्त्र पढ्दै छन् ।
⇒ दर्शनद्वारा लेखाशास्त्र पदिँदै छ ।
समीक्षाले गीत गाइन् ।
⇒ समीक्षाद्वारा गीत गाइयो।
कर्मवाच्यबाट कर्तृवाच्यमा:
मेनुकाद्वारा नेपाली पढाइन्छ।
⇒ मेनुकाले नेपाली पढाउँछिन् ।
आफू त लेख लेखिँदै छ ।
⇒ म त लेख लेख्दै छु।
भोलि त गीत गाइएला।
⇒ उसले भोलि गीत गाउला।
कर्तृवाच्यबाट भाववाच्यमा:
म बिहान उठ्छु ।
⇒ आफू बिहान उठिन्छ ।
उनीहरू घरबाट हिँडेछन् ।
⇒ उनीहरुद्वारा घरबाट हिँडिएछ ।
हामी पोखरातिर घुम्न जान्छौँ ।
⇒ हामीद्वारा पोखरा घुम्न गइन्छ।
मेरो देशको शिक्षा निबन्धबाट य र ए प्रयोग भएका शब्दहरू:
य प्रयोग भएका शब्दहरू:
- यस
- हृदय
- नयन
ए प्रयोग भएका शब्दहरू:
- फिँजाए
- गरिएको
- भएको
सिर्जना कार्य (Creative Writing)
११. मेरो सोच : मेरो भविष्य शीर्षकमा आत्मपरक अनुच्छेद लेख्नुहोस् ।
भनिन्छ, मानिसले जस्तो सोच राख्छ, त्यस्तै बन्छ। असल बन्ने सोच छ भने भविष्यमा असल बन्न सकिन्छ। एउटा सकारात्मक मानसिकताले जहिले पनि आनन्द, खुसी र स्वस्थ अनुभव गराउँछ । मानिसका आआफ्ना सोचहरु हुन्छन् । हामी जस्तो भविष्य त्यस्तै सिर्जना गछौँ । अभावको सोचले अभाव सिर्जना गर्छ । समस्याहरूको सोचले समस्याले भरिएको जीवन सिर्जना गर्दछ । सम्भावना र समाधानका सोचहरूले नयाँ विचार, ऊर्जा, सम्भावना र समाधानहरू सिर्जना गर्दछ । म मनमा सधैं सकारात्मक सोच राख्ने छु । अध्ययनलाई लगनशील भएर पूरा गर्ने छु । मेरो विचारमा पद र पेसा ठुलो सानो भन्ने हुँदैन । अहिले कक्षा १० मा अध्ययन गर्दै गरेको हुनाले भविष्यमा यही नै बन्छु भन्ने निर्णय गरेको छैन तर जे बने पनि जुन क्षेत्रमा लागे पनि बस असल बन्ने छु। म कहिल्यै कुलतमा फस्ने छैन, कसैलाई जानी जानी दुःख दिने छैन । म आफ्ना मातापिता र देश छोडेर विदेश जाने छैन । मनमा अठोट र जाँगर हुने हो भने नेपालमै राम्रो गर्न सकिन्छ भन्ने कुरामा म दृढ छु । सबै कुरा योजनाअनुसार बन्दै गयो भने भविष्यमा म एउटा असल र सफल मान्छे बन्ने छु।
नेपालको आर्थिक विकासमा कृषिको भूमिका (निबन्ध)
नेपाल कृषि प्रधान देश हो। खेतीपाती, पशुपालन, बाली उत्पादन, मत्स्य पालन र अन्य अन्य जीव जन्तुको पालन कृषिअन्तर्गत पर्दछन् । नेपालमा करिब ६० प्रतिशत नेपाली कृषि पेसामा निर्भर छन् । देशको कुल ग्राहस्थ्य उत्पादनको करिब ३३ प्रतिशत भाग कृषि क्षेत्रले ओगटेको छ। नेपालको भौगोलिक, प्राकृतिक विविधताका कारण ठाउँअनुसार फरक फरक किसिमको हावापानी पाइन्छ। त्यसैले नेपाल कृषि क्षेत्रमा धेरै सम्भाव्यताको देश हो। जहाँ उच्च हिमाली भेगमा पशुपालन, पहाडी भेगमा फलफूल खेती र तराईमा खाद्यान्न उत्पादन गर्न सकिन्छ ।
कृषि गाँस, वास, कपास, कच्चा पदार्थ र औषधीको स्रोत हो। जसबिना प्राणीहरूको अस्तित्व हुन सक्दैन । मानिसलाई आफ्नो जीवन निर्वाह गर्नको लागि आवश्यक पर्ने खाद्य तत्त्व, पौष्टिक तत्त्व सम्पूर्ण हामीले कृषिको सहायताले उत्पादन गर्न सक्छौँ । खण्डीकृत जमिनमा परम्परागत रुपमा निर्वाहमुखी खेती प्रणालीको अवलम्बन गरिँदै आएको र कृषि विकासका लागि भएका सरकारी प्रयासहरु सीमित स्रोत र साधनहरुका कारण नेपालको कृषि प्रतिफलमुखी हुन सकेको छैन । विगत केही वर्ष यता केही कृषकले यस पेसालाई आधुनिक र व्यावसायिक रुपमा लैजाने अनुकरणीय प्रयास गरेका छन् । मुलुकमा औद्योगिकिकरणको विकासको लागि मुख्य आधार कृषि हो। कृषिमा उत्पादन बढाउन सकेमा मात्र कृषिमा आधारित उद्योगलाई आवश्यक कच्चा पदार्थको अभाव हुँदैन । यसबाट औद्योगिकिकरणको विकासले पनि गति लिन सक्ने थियो। हामीले कृषिलाई व्यवसायका रुपमा विस्तार गरी आफ्नो उपभोगको लागि मात्र नभएर बढीभन्दा बढी उत्पादन गरेर आयआर्जन गर्न सक्ने वातावरण बनाउनु पर्दछ। हाम्रो देशमा कृषि क्षेत्रको उन्नतिको लागि किसानहरूलाई हौसला दिनु जरुरी छ। राज्यले कृषि नीति बनाउँदा दुर्गम तथा ग्रामिण क्षेत्रमा कृषि सहकारीका माध्यमबाट स्थानीय निकायको परिचालन गरी सामूहिक खेती प्रणालीको अवधारणा अगाडि बढाउन सके गरिबी तथा बेरोजगारी हटाउन सहयोग पुग्न सक्छ ।
