Barga ra Samajik Rupantaran: Ultimate Class 12 Social Notes | Unit 7
An overview of Barga ra Samajik Rupantaran (Class and Social Transformation) notes for NEB Class 12 Social Studies

एकाइ ७: सामाजिक पहिचान र विविधता (Samajik Pahichan ra Bibidhata)

पाठ १: वर्ग र सामाजिक रूपान्तरण (Barga ra Samajik Rupantaran)

यस पाठमा हामी वर्ग र सामाजिक रूपान्तरण (Barga ra Samajik Rupantaran) बिचको सम्बन्ध, समाजमा वर्ग कसरी निर्माण हुन्छ, यसले निम्त्याउने समस्याहरू, र सामाजिक रूपान्तरणका उपायहरूबारे विस्तृत रूपमा अध्ययन गर्नेछौँ। कुनै पनि समाजको प्रगतिशील विकासका लागि वर्गीय समानता र सामाजिक रूपान्तरण अपरिहार्य छ।

Barga ra Samajik Rupantaran (वर्ग र सामाजिक रूपान्तरण)

१. तलका प्रश्नका उत्तर दिनुहोस् :

(क) समाजमा वर्ग निर्माण किन हुन्छ?

उत्तर: एकभन्दा धेरै मानिसहरूको समुदाय र त्यस अन्तर्गतका मानवीय सम्बन्धहरूको सञ्जाल नै समाज हो। समाज मानिसहरूको पारस्परिक लाभका निम्ति सङ्गठित भएको हुन्छ। समाजमा एकै प्रकारका मानिसहरू मात्र बस्दैनन्; त्यहाँ आर्थिक, सांस्कृतिक, जातीय, र धार्मिक रूपले विविधता कायम हुन्छ। यिनै विविधताका बिच समाजमा विभिन्न वर्गको निर्माण हुन्छ।

(ख) वर्गीय विभाजनले निम्त्याउने समस्याहरू औँल्याउनुहोस्।

उत्तर: वर्ग निर्माणले समाजमा विभिन्न समस्याहरू निम्त्याउँछ, जसलाई निम्न बुँदाहरूमा उल्लेख गर्न सकिन्छ:

  • वर्ग विभाजनका कारण राजनीतिक तथा सामाजिक गतिविधिमा निश्चित वर्गको नियन्त्रण हुनु।
  • सामाजिक, सांस्कृतिक, शैक्षिक, र आर्थिक अवसरहरूमा असमानता हुनु।
  • तल्लो वर्गका मानिसहरू समाजमा हेपिनु तथा शोषण र दमनको सिकार हुनु।
  • जातीय विभेद बढ्नु र आम्दानीको स्रोत सीमित हुन पुग्नु।
  • भूमि तथा अन्य प्राकृतिक स्रोतको स्वामित्वबाट वञ्चित हुनु।
  • आर्थिक रूपमा पछाडि परि गरिबीको चक्रमा फस्नु।

(ग) सामाजिक रूपान्तरणका उपायहरू बुँदागत रूपमा लेख्नुहोस्।

उत्तर: नेपालमा सामाजिक रूपान्तरणका लागि भएका प्रयासहरू र अपनाउन सकिने उपायहरू यसप्रकार छन्:

  • नेपालको संविधानमा व्यवस्था भए अनुरूप आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणका लागि कानुन, नीति तथा कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने।
  • पन्ध्रौँ योजनामा उल्लेखित समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न गरिबी निवारण र सामाजिक समानताका कार्यक्रमहरूलाई तीव्रता दिने।
  • समावेशी सिद्धान्त अनुसार राज्यका सबै क्षेत्रमा महिला, दलित, अपाङ्गता भएका व्यक्ति, मधेसी, र अल्पसङ्ख्यकहरूका लागि विशेष सुविधा र आरक्षणको सही कार्यान्वयन गर्ने।
  • कमैया, छाउपडी, हलिया, छुवाछूत, जातीय विभेद जस्ता कुप्रथाहरूको अन्त्य गर्न जनचेतना फैलाउने र पीडित वर्गको पुनर्स्थापना गर्ने।

(घ) नेपालको सामाजिक रूपान्तरणको अवस्थाको चर्चा गर्दै साथीलाई पठाउने पत्रको नमुना तयार पार्नुहोस्।

उत्तर:

मिति: २०८२/०६/०३


प्रिय साथी जमुना,

न्यानो अभिवादन!

यहाँ मलाई सञ्चै छ, त्यहाँ तिमीलाई पनि सञ्चै आरामै होला भन्ने आशा गर्दछु। आज म तिमीलाई नेपालको सामाजिक रूपान्तरण (Social Transformation) को अवस्थाबारे आफूले जानेका कुराहरू यस चिठीमार्फत बताउँदैछु।

समाजमा विभिन्न वर्गका मानिसहरू बसोबास गर्छन्। पिछडिएका, गरिब र निम्न वर्गका मानिसहरू पनि हुन्छन्। त्यसरी पछाडि परेका वा पारिएका वर्गको उत्थान गरी समाजमा अरुसरह सम्मानजनक जीवनयापन गर्न सक्ने अवस्थामा पुऱ्याउनु नै सामाजिक रूपान्तरण हो।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधतायुक्त मुलुक हो। यहाँको समाज रूपान्तरणका विषयमा कुरा गर्दा कुनै एक पक्षलाई मात्र हेरेर हुँदैन। आर्थिक, सामाजिक र सांस्कृतिक पक्षलाई एकैसाथ सम्बोधन गरेर मात्र वास्तविक रूपान्तरण सम्भव छ। यसका लागि सरकारी र गैरसरकारी क्षेत्रबाट पछाडि परेका वर्गको पहिचान गरी उनीहरूलाई सकारात्मक विभेद (Positive Discrimination) को माध्यमबाट अगाडि बढाउनुपर्छ। देशमा रोजगारीको सिर्जना, गुणस्तरीय शिक्षा, व्यावसायिक सिप प्रदान, तथा पुँजी र अवसरमा सहज पहुँच जस्ता उपाय अपनाएर उनीहरूको जीवनस्तर उकास्न सकिन्छ।

अतः साथी, चिठी लामो भयो। बाँकी कुराहरू भेटमा गरौँला।


उही तिम्रो प्रिय साथी,

जीवनराज

(ङ) “सामाजिक आधार वर्ग विभाजनको मुख्य आधार हो।” किन?

उत्तर: “सामाजिक आधार वर्ग विभाजनको मुख्य आधार हो” किनभने समाजमा व्यक्तिको स्थान उसको आर्थिक अवस्थाले मात्र नभई सामाजिक पहिचानले पनि निर्धारण गर्छ। समान जाति, धर्म, संस्कृति, पद, र सामाजिक स्तर भएकाहरूको एउटा वर्ग बन्छ भने फरक स्तर भएकाहरूको अर्को वर्ग निर्माण हुन्छ।

समाजमा उच्च वर्ग भनिनेहरूले कमजोर वर्गलाई हेप्ने, शोषण गर्ने, र विभेद गर्ने जस्ता व्यवहारहरू गर्छन्, जसले गर्दा तल्लो वर्ग र उच्च वर्गबिच द्वन्द्व चलिरहन्छ। हुन त वर्ग स्थायी हुँदैन, तर पनि आर्थिक वर्गभन्दा सामाजिक वर्ग अलि स्थायी प्रकृतिको हुन्छ। समाजले सहर्ष स्वीकार नगरेसम्म सामाजिक वर्गमा परिवर्तन आउन कठिन हुन्छ। त्यसैले सामाजिक आधार नै वर्ग विभाजनको एक प्रमुख आधार हो।

यो पनि पढ्नुहोस्

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top