Class 10 Social Sudurpashchim Province 2081: Complete Solved Questions & Answers
Back to Notes
ImportantEduNotes

Class 10 Social Sudurpashchim Province 2081: Complete Solved Questions

A comprehensive guide for SEE preparation with detailed solutions for Class 10 Social Sudurpashchim Province 2081 exam.

Class 10 Social Sudurpashchim Province 2081 SEE Notes

SEE 2081 (2025)
अनिवार्य सामाजिक अध्ययन (Compulsory Social Studies)
RE-1051 ‘SP’

समय: ३ घण्टा पूर्णाङ्क: ७५

Sudurpashchim Province – Class 10 Social Studies

समूह ‘क’ – Short Questions (Class 10 Social Sudurpashchim Province 2081)

१. सामाजिक विविधताको अर्थ एक वाक्यमा लेख्नुहोस् ।

उत्तर: जात, जाति, धर्म, भाषा, संस्कृति, पेशा र भूगोल आदिको आधारमा समाजमा देखिने फरकपन वा भिन्नता नै सामाजिक विविधता हो ।

२. दिगो विकासको अवधारणाअनुसार विकास योजनाहरू सञ्चालन गर्न उपयुक्त हुन्छ किन ? आफ्नो धारणा एक बुँदामा लेख्नुहोस् ।

उत्तर: भविष्यका पुस्ताका आवश्यकतासँग सम्झौता नगरी वर्तमानका आवश्यकता परिपूर्ति गर्न र वातावरण संरक्षण गर्दै विकासलाई निरन्तरता दिन दिगो विकासको अवधारणा अनुसार योजना सञ्चालन गर्न उपयुक्त हुन्छ ।

३. मानव बेचबिखन रोक्ने दुई उपायहरू लेख्नुहोस् ।

उत्तर:

  • जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने ।
  • गरिबी तथा अशिक्षा न्यूनीकरणका लागि रोजगारमूलक शिक्षामा जोड दिने ।

४. भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउन उपयुक्त हुने एक सन्देशमूलक नारा तयार पार्नुहोस् ।

“सदाचारी बनौँ,
भ्रष्टाचारमुक्त समाज निर्माण गरौँ”

५. दिल्ली सम्झौतामा भएको कुनै एक प्रावधान उल्लेख गर्नुहोस् ।

उत्तर: राजा त्रिभुवनलाई नेपालको वैधानिक राजा मानिने र बालिग मताधिकारको आधारमा संविधान सभाको चुनाव गरिने ।

६. ‘बदलाको भावनाले अर्को दुर्घटना वा विध्वंस निम्त्याउँछ ।’ यस भनाइलाई प्रथम वा दोस्रो विश्वयुद्धको उदाहरणबाट प्रस्ट पार्नुहोस् ।

उत्तर: प्रथम विश्वयुद्धपछि जर्मनीमाथि थोपरिएको अपमानजनक भर्सेलिज सन्धिको बदला लिन हिटलरले आक्रामक नीति लिँदा दोस्रो विश्वयुद्ध भयो; तसर्थ बदलाको भावनाले सधैँ अर्को ठुलो विध्वंस निम्त्याउँछ ।

७. अन्तःशुल्कको अर्थ एक वाक्यमा प्रस्ट पार्नुहोस् ।

उत्तर: देशको सिमानाभित्र उत्पादन हुने विभिन्न वस्तु तथा सेवाहरूमा सरकारद्वारा लगाइने अप्रत्यक्ष करलाई अन्तःशुल्क (Excise Duty) भनिन्छ ।

८. वैदेशिक रोजगारीमा गएका तपाईंको आफन्तले विदेशमा कमाएर पठाएको विप्रेषण रकमलाई सदुपयोग गर्न के सुझाव दिनुहुन्छ ? कुनै एक सुझाव लेख्नुहोस् ।

उत्तर: उक्त विप्रेषण रकमलाई विलासिताका सामानमा खर्च नगरी उत्पादनमूलक क्षेत्र (जस्तै: कृषि, साना उद्योग वा जलविद्युत शेयर) मा लगानी गर्न सुझाव दिन्छु ।

९. संयुक्त राष्ट्रसङ्घको महासभाले गर्ने कुनै एक कार्य लेख्नुहोस् ।

उत्तर: संयुक्त राष्ट्रसङ्घको वार्षिक बजेट पारित गर्ने तथा सुरक्षा परिषद्का अस्थायी सदस्यहरूको चुनाव गर्ने ।

१०. विश्वव्यापीकरणले नेपालको अर्थतन्त्रमा पारेको नकारात्मक प्रभाव न्यून गर्न के गर्नुपर्ला ? कुनै एक सुझाव दिनुहोस् ।

उत्तर: विदेशी वस्तुको आयातलाई प्रतिस्थापन गर्न स्वदेशी उद्योग र उत्पादनलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्नुपर्छ ।

११. तपाईँ बसोबास गर्ने क्षेत्रको वातावरणलाई प्रदूषणमुक्त बनाउन तपाईंले खेल्न सक्ने एक भूमिका उल्लेख गर्नुहोस् ।

उत्तर: आफ्नो घर तथा टोलबाट निस्कने फोहोरलाई कुहिने र नकुहिने गरी वर्गीकरण गरेर उचित व्यवस्थापन गर्ने तथा वृक्षारोपण अभियानमा सहभागी हुने ।

समूह ‘ख’ – Short Answers (Class 10 Social Sudurpashchim Province 2081)

१२. सामाजिक विविधताले हाम्रो सामाजिकीकरणमा पारेको असरहरू विश्लेषण गर्नुहोस् ।

उत्तर: नेपाल एक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । यहाँ विद्यमान सामाजिक विविधताले व्यक्ति र समाजको सामाजिकीकरण प्रक्रियामा गहिरो प्रभाव पारेको छ, जसलाई निम्न बुँदामा विश्लेषण गर्न सकिन्छ:

  • सहिष्णुताको विकास: विविध जातजाति र धर्मका मानिसहरू सँगै बस्दा एक अर्काको संस्कार सिक्ने र सम्मान गर्ने बानीको विकास भएको छ ।
  • सांस्कृतिक आदानप्रदान: एउटा समुदायको व्यक्ति अर्को समुदायको चाडपर्व (जस्तै: दसैँ, ल्होसार, छठ) मा सहभागी हुँदा अन्तरघुलन र एकताको भावना बढ्छ ।
  • फराकिलो दृष्टिकोण: विविधताले मानिसलाई सङ्कुचित सोचबाट माथि उठेर ‘विविधतामा एकता’ को मर्म बुझ्न सिकाउँछ ।
  • भाषा र सीपको विकास: बहुभाषिक समाजमा हुर्कँदा बालबालिकाहरूले एकभन्दा बढी भाषा र विभिन्न परम्परागत सीपहरू (जस्तै: हस्तकला, कृषि विधि) सिक्ने अवसर पाउँछन् ।

१३. नेपालमा सञ्चालित कुनै एक राष्ट्रिय गौरवका आयोजनाको परिचय दिँदै त्यसले देशको आर्थिक तथा सामाजिक पक्षमा पार्ने प्रभाव लेख्नुहोस् ।

उत्तर:

परिचय:

पुष्पलाल (मध्य पहाडी) लोकमार्ग नेपालको पहाडी भेगको पूर्वदेखि पश्चिमसम्म जोड्ने राष्ट्रिय गौरवको आयोजना हो । यो पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म करिब १८७९ किलोमिटर लामो छ ।

आर्थिक तथा सामाजिक प्रभावहरू:

  • नयाँ सहरहरूको विकास: यस लोकमार्गको आसपासमा १० वटा नयाँ नमुना सहरहरू विकास भइरहेका छन्, जसले व्यवस्थित सहरीकरणलाई टेवा पुर्‍याउँछ ।
  • बसाइँसराइ नियन्त्रण: पहाडी क्षेत्रमा सुविधा र अवसरहरू सिर्जना हुँदा तराई तथा ठुला सहरतिर हुने अनियन्त्रित बसाइँसराइ कम हुन्छ ।
  • बजारको पहुँच: पहाडी क्षेत्रका कृषि उपज, जडीबुटी र स्थानीय उत्पादनले बजार पाउँछन्, जसले स्थानीयको आयस्तर वृद्धि गर्छ ।
  • पर्यटन प्रवर्द्धन: पहाडी जिल्लाका पर्यटकीय स्थलहरूमा पहुँच सजिलो भई आन्तरिक तथा बाह्य पर्यटनको विकास हुन्छ ।

१४. “राष्ट्रिय सम्पदा संरक्षणमा समुदायको भूमिका” शीर्षकमा एक सम्पादकीयको नमुना तयार पार्नुहोस् ।

राष्ट्रिय सम्पदा संरक्षणमा समुदायको भूमिका

(गोरखापत्र दैनिक, २०८१/०१/१५)

नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण देश हो । हाम्रा मन्दिर, पाटीपौवा, गुम्बा, दरबार र प्राकृतिक स्थलहरू हाम्रो पहिचान हुन् । तर, पछिल्लो समय बढ्दो सहरीकरण र बेवास्ताका कारण यी सम्पदाहरू सङ्कटमा पर्दै गएका छन् ।

सम्पदा संरक्षणको जिम्मा सरकारको मात्र होइन, यो समुदायको पनि प्रमुख दायित्व हो । स्थानीय समुदाय नै सम्पदाका वास्तविक पहरेदार हुन् । समुदायले आफ्नो टोलमा रहेका सम्पदाहरूको नियमित सरसफाइ गर्ने, जीर्णोद्धारका लागि पहल गर्ने र अतिक्रमण हुनबाट जोगाउने कार्यमा सक्रिय भूमिका खेल्नुपर्छ ।

यसका साथै, नयाँ पुस्तालाई सम्पदाको महत्त्व बुझाउन र पर्यटन प्रवर्द्धनमा स्थानीय कला र संस्कृतिलाई जोड्न समुदाय सचेत हुनुपर्छ । “हाम्रो सम्पदा, राम्रो सम्पदा” भन्ने भावनासहित समुदाय जागे मात्र हाम्रो इतिहास र पहिचान भावी पुस्ताका लागि सुरक्षित रहनेछ ।

१५. अपाङ्गता भएका व्यक्तिहरूको मर्यादित र सम्मानित जीवनयापनका लागि तपाईंले के कस्ता सामाजिक दायित्व पूरा गर्न सक्नुहुन्छ ? कुनै चारओटा बुँदा लेख्नुहोस् ।

उत्तर: अपाङ्गता भएका व्यक्तिहरूको मर्यादित जीवनका लागि म निम्न सामाजिक दायित्वहरू पूरा गर्न सक्छु:

  • सम्मानजनक व्यवहार: उनीहरूलाई दया वा बिचराको पात्र नबनाई समान अधिकार र क्षमता भएको व्यक्तिको रूपमा सम्मानजनक व्यवहार गर्ने ।
  • भेदभावको अन्त्य: समाजमा उनीहरू प्रति हुने कुनै पनि किसिमको भेदभाव, हेला वा अपशब्द प्रयोगको विरोध गर्ने र सचेतना फैलाउने ।
  • अवसरमा प्राथमिकता: विद्यालय, सार्वजनिक यातायात वा सामाजिक कार्यक्रमहरूमा उनीहरूलाई सहज पहुँच र प्राथमिकता दिन सहयोग गर्ने ।
  • क्षमताको कदर: उनीहरूको शारीरिक अवस्थालाई भन्दा उनीहरूमा रहेको अन्तरनिहित प्रतिभा र बौद्धिक क्षमतालाई प्रोत्साहन गर्ने वातावरण बनाउने ।

१६. मानव तथा मानवअंग बेचबिखनले परिवारको जीवनमा पार्ने सामाजिक प्रभाव समीक्षा गर्नुहोस् ।

उत्तर: मानव तथा मानवअंग बेचबिखन एक जघन्य अपराध हो, जसले पीडित व्यक्तिलाई मात्र नभई सिङ्गो परिवार र समाजलाई नै नकारात्मक असर पार्छ:

  • पारिवारिक विखण्डन: परिवारको सदस्य हराउँदा वा बेचिँदा परिवारमा मानसिक तनाव, कलह र विखण्डनको स्थिति आउँछ ।
  • सामाजिक प्रतिष्ठामा आँच: हाम्रो समाजमा पीडित परिवारलाई हेर्ने दृष्टिकोण अझै संकुचित छ, जसले गर्दा परिवारले सामाजिक अपहेलना सहनुपर्ने हुन्छ ।
  • आर्थिक सङ्कट: परिवारको कमाउने मुख्य व्यक्ति नै बेचबिखनमा परेमा परिवार आर्थिक रूपमा धराशायी हुन्छ र बालबालिकाको भविष्य अन्धकार हुन्छ ।
  • विश्वासको सङ्कट: यस्ता घटना प्रायः नजिकका चिनजानका व्यक्ति वा नातेदारबाट हुने भएकाले समाजमा आपसी विश्वास र सहकार्यको भावना कमजोर हुँदै जान्छ ।

१७. संसदीय शासन प्रणालीमा राष्ट्रिय सभाको महत्व उदाहरणसहित प्रस्ट पार्नुहोस् ।

उत्तर: नेपालको संघीय संसदको माथिल्लो सदनको रूपमा रहेको राष्ट्रिय सभाको संसदीय शासन प्रणालीमा विशेष महत्त्व छ:

  • विज्ञताको उपयोग: प्रतिनिधि सभामा राजनीतिक आधारमा चुनाव जितेका व्यक्ति आउँछन् भने राष्ट्रिय सभामा विभिन्न क्षेत्रका विज्ञ, दलित, अपाङ्गता भएका व्यक्ति र महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिन्छ । (उदाहरण: राष्ट्रिय सभामा ३ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुन्छन् जसमा विज्ञहरू पर्न सक्छन् ।)
  • सन्तुलन र नियन्त्रण (Check and Balance): प्रतिनिधि सभाले हतारमा वा आवेगमा कुनै कानुन पास गरेमा राष्ट्रिय सभाले त्यसलाई पुनरावलोकन गरी सच्याउन सुझाव दिन सक्छ ।
  • निरन्तरता: प्रतिनिधि सभा विघटन हुन सक्छ तर राष्ट्रिय सभा एक स्थायी सदन हो । यसले संसदको शून्यता हुन दिँदैन र संसदीय गतिविधि जारी राख्छ ।
  • प्रदेश र स्थानीय तहको प्रतिनिधित्व: यसको निर्वाचक मण्डलमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख रहने भएकाले यसले तल्लो तहका मुद्दाहरूलाई केन्द्रमा जोड्ने काम गर्छ ।

१८. भूमध्यरेखीय र भूमध्य सागरीय हावापानीमा पाइने वनस्पतिका आधारमा चार बुँदामा भिन्नता प्रस्तुत गर्नुहोस् ।

आधार भूमध्यरेखीय वनस्पति भूमध्यसागरीय वनस्पति
१. जङ्गलको प्रकार यहाँ ‘सेलभास’ (Selvas) भनिने संसारकै घना सदाबहार जङ्गल पाइन्छ । यहाँ विशेषगरी रसािला फलफूलका बगैँचाहरू र बुट्यानहरू पाइन्छन् ।
२. पात र काठ यहाँका रूखहरूका पात चौडा हुन्छन् र काठ एकदम कडा हुन्छ । यहाँका रूखहरूका पात बाक्ला, चिल्ला हुन्छन् र बोक्रा बाक्लो हुन्छ ।
३. जराको प्रकृति यहाँ प्रशस्त वर्षा हुने भएकाले जरा धेरै गहिरो गएको हुँदैन । यहाँ सुख्खा ग्रीष्मयाम हुने भएकाले ओसिलो खोज्न जराहरू जमिन मुनिसम्म गएका हुन्छन् ।
४. मुख्य प्रजाति यहाँ महोगनी, रोजउड, रबर, बेतबाँस जस्ता वनस्पति पाइन्छन् । यहाँ सुन्तला, अङ्गुर, जैतुन (Olive), कागती, अन्जिर जस्ता फलफूल पाइन्छन् ।

१९. ‘जलवायु परिवर्तन र यसका असरहरू’ शीर्षकमा वक्तृताको नमुना तयार गर्नुहोस् ।

जलवायु परिवर्तन र यसका असरहरू

आदरणीय सभाध्यक्ष महोदय, प्रमुख अतिथि, निष्पक्ष निर्णयक मण्डल, गुरुवर्ग र मेरा प्यास साथीहरू !

आज म ‘जलवायु परिवर्तन र यसका असरहरू’ शीर्षकमा आफ्ना विचारहरू राख्न गइरहेको छु ।
आज विश्वले भोगिरहेको सबैभन्दा ठुलो चुनौती नै जलवायु परिवर्तन हो । मानवीय क्रियाकलाप, औद्योगिकीकरण र वनजंगलको विनाशले पृथ्वीको तापक्रम बढिरहेको छ । यसले हाम्रो पर्यावरण र जनजीवनमा गम्भीर असर पारिरहेको छ ।

महोदय,
जलवायु परिवर्तनका कारण आज हिमालका हिउँ पग्लिएर काला पत्थरमा परिणत हुँदै छन् । समयमा पानी नपर्ने, कहिले अतिवृष्टि त कहिले अनावृष्टि हुने समस्याले कृषि उत्पादन घटेको छ । बाढी, पहिरो र हिमताल फुट्ने जस्ता प्राकृतिक विपत्तिहरू दिनहुँ बढिरहेका छन् । समुद्रको सतह बढेर टापु राष्ट्रहरू डुब्ने खतरामा छन् । नयाँ-नयाँ रोगहरूको प्रकोप बढिरहेको छ ।

अन्त्यमा, प्रकृति रहे मात्र हामी रहन्छौँ । त्यसैले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न आजैबाट रुख रोपौँ, प्रदूषण कम गरौँ र वातावरण मैत्री विकासमा जोड दिऔँ भन्दै म मेरा भनाइहरू यहीँ टुङ्ग्याउँछु ।
धन्यवाद !

२०. नेपालको ग्रामीण र सहरी जनसङ्ख्या वितरणको अवस्था वर्णन गर्नुहोस् ।

उत्तर: नेपालको जनसङ्ख्या वितरण भौगोलिक क्षेत्र र सेवा सुविधाको आधारमा असन्तुलित छ । ग्रामीण र सहरी जनसङ्ख्या वितरणको अवस्थालाई निम्न अनुसार वर्णन गर्न सकिन्छ:

  • सहरीकरणको तीव्र वृद्धि: वि.सं. २०६८ मा १७% रहेको सहरी जनसङ्ख्या २०७८ को जनगणना अनुसार ६६.१७% पुगेको छ । (यद्यपि यो वृद्धिको कारण धेरै ग्रामीण इलाकालाई नगरपालिका घोषणा गरिनु पनि हो ।)
  • सुविधाको खोजी: ग्रामीण भेगमा स्वास्थ्य, शिक्षा, रोजगार र यातायातको असुविधाका कारण मानिसहरू सहर केन्द्रित बसाइँसराइ गरिरहेका छन् । यसले गर्दा गाउँहरू रित्तिदै छन् भने सहरमा जनघनत्व अत्यधिक बढेको छ ।
  • क्षेत्रगत असन्तुलन: तराई र उपत्यकाका सहरहरूमा जनसङ्ख्याको चाप थेग्नै नसक्ने गरी बढेको छ भने पहाडी र हिमाली भेगका ग्रामीण बस्तीहरूमा जनसङ्ख्या पातलिँदै गएको छ ।
  • व्यवस्थापनमा चुनौती: अव्यवस्थित सहरीकरणले सहरमा खानेपानी, फोहोर व्यवस्थापन र आवासको समस्या सिर्जना गरेको छ भने गाउँमा खेतीयोग्य जमिन बाँझो रहने समस्या देखिएको छ ।

समूह ‘ग’ – Long Answer Questions (Class 10 Social Sudurpashchim Province 2081)

२१. नेपालमा मानव अधिकार संरक्षणका लागि भएका प्रयास र तिनको प्रभावकारिता विश्लेषण गर्नुहोस् ।

उत्तर: मानव अधिकार भन्नाले व्यक्तिको जन्मसिद्ध र नैसर्गिक अधिकार हो । नेपालमा मानव अधिकारको सम्मान, संरक्षण र सम्वर्द्धनका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रयासहरू भएका छन् ।

नेपालमा भएका मुख्य प्रयासहरू:

  • संवैधानिक व्यवस्था: नेपालको संविधानमा नागरिकका लागि ३१ वटा मौलिक हकहरूको व्यवस्था गरिएको छ, जसमा स्वतन्त्रता, समानता, न्याय र सामाजिक सुरक्षा जस्ता हकहरू सुनिश्चित छन् ।
  • राष्ट्रिय मानव अधिकार आयोग: मानव अधिकारको अनुगमन र संरक्षण गर्न एक स्वतन्त्र संवैधानिक निकायको रूपमा ‘राष्ट्रिय मानव अधिकार आयोग’ को स्थापना गरिएको छ ।
  • कानुनी प्रबन्ध: मानव अधिकार ऐन, जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, र बालबालिका सम्बन्धी ऐनहरू जारी गरी कार्यान्वयनमा ल्याइएको छ ।
  • अन्तर्राष्ट्रिय प्रतिबद्धता: नेपाल संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र भएको नाताले मानव अधिकारको विश्वव्यापी घोषणापत्र (१९४८) र अन्य विभिन्न अन्तर्राष्ट्रिय सन्धि/महासन्धिहरूमा हस्ताक्षर गरी प्रतिबद्धता जनाएको छ ।

प्रभावकारिताको विश्लेषण:

यति धेरै प्रयासका बाबजुद पनि यसको प्रभावकारितामा मिश्रित नतिजा देखिएको छ:

सकारात्मक पक्ष:

  • जनतामा अधिकारप्रतिको चेतना बढेको छ ।
  • राज्यका निकायहरू मानव अधिकारप्रति बढी जवाफदेही बन्न थालेका छन् ।
  • समावेशी सिद्धान्तको आधारमा राज्यको संरचना बन्दै गएको छ ।

चुनौती/कमजोरी:

  • अझै पनि द्वन्द्वकालीन घटनाका पीडितले पूर्ण न्याय पाउन सकेका छैनन् ।
  • जातीय विभेद, महिला हिंसा र बालश्रम जस्ता समस्या समाजमा विद्यमान छन् ।
  • आयोगका सिफारिसहरू पूर्ण रूपमा कार्यान्वयन हुन सकेका छैनन् ।

निष्कर्ष: मानव अधिकारको संरक्षण कानुनमा मात्र भएर पुग्दैन, यसको व्यवहारिक कार्यान्वयनका लागि राज्य, नागरिक समाज र हरेक व्यक्तिको प्रतिबद्धता आवश्यक छ ।

२२. पृष्ठ भरिने गरी नेपालको नक्सा बनाएर निम्न तथ्यलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् :
बागमती प्रदेश, जानकी मन्दिर, अपि हिमाल, मध्य पहाडी लोकमार्ग

उत्तर: (नोट: यहाँ विद्यार्थीले परीक्षामा पृष्ठ भरिने गरी नेपालको नक्सा कोरेर तल दिइएका स्थानहरूलाई उपयुक्त सङ्केतले देखाउनुपर्छ ।)

Nepal Map for Sudurpashchim Province Class 10 Social 2081

Figure: Outline map of Nepal for Class 10 Social Sudurpashchim Province 2081

  • अपि हिमाल: सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा (नक्साको सुदूर उत्तर-पश्चिम कुनामा त्रिकोण Δ सङ्केतले देखाउने) ।
  • मध्य पहाडी लोकमार्ग: पूर्वको पाँचथर देखि पश्चिमको बैतडीसम्म पहाडको मध्य भाग हुँदै जाने एक रेखा बनाउने ।
  • बागमती प्रदेश: काठमाडौँ उपत्यका र आसपासका जिल्ला समेटिएको क्षेत्रलाई छाया (Shade) पारेर देखाउने ।
  • जानकी मन्दिर: मधेश प्रदेशको जनकपुरमा (नक्साको दक्षिण-पूर्वी तराई भागमा मन्दिरको सङ्केत 🛕 ले देखाउने) ।

(अङ्क विभाजन: नक्साको रूपरेखा – ३ अङ्क, ४ वटा तथ्य सही स्थानमा भरेको – ४ अङ्क)

२३. जनआन्दोलन, २०४६ को पृष्ठभूमि उल्लेख गर्दै वि.सं. २०४६ पछिको राजनीतिक, आर्थिक, सामाजिक प्रभाव उल्लेख गर्नुहोस् ।

उत्तर:

पृष्ठभूमि:

वि.सं. २०१७ सालमा राजा महेन्द्रले सुरु गरेको निर्दलीय पञ्चायती व्यवस्थाले जनताका अधिकार कुण्ठित गरेको थियो । ३० वर्ष लामो निरंकुश शासनका विरुद्ध नेपाली कांग्रेस र संयुक्त वाममोर्चाले सहकार्य गरी २०४६ साल फागुन ७ गते देखि शान्तिपूर्ण जनआन्दोलनको घोषणा गरे । ४९ दिनको आन्दोलनपछि राजा वीरेन्द्रले २०४६ चैत २६ गते दलमाथिको प्रतिबन्ध फुकुवा गरी बहुदलीय व्यवस्था पुनर्स्थापना गरे ।

वि.सं. २०४६ पछिका प्रभावहरू:

क) राजनीतिक प्रभाव:

  • देशमा बहुदलीय प्रजातान्त्रिक शासन व्यवस्थाको पुनः आरम्भ भयो ।
  • जनतामा निहित सार्वभौमसत्ताको मान्यता स्थापित भयो ।
  • नेपाल अधिराज्यको संविधान २०४७ जारी भयो, जसले संवैधानिक राजतन्त्र र संसदीय व्यवस्थालाई संस्थागत गर्‍यो ।

ख) आर्थिक प्रभाव:

  • नेपालले खुला बजार अर्थतन्त्र, उदारीकरण र निजीकरणको नीति अवलम्बन गर्‍यो ।
  • निजी क्षेत्रको लगानी बैंक, वित्तीय संस्था, एयरलाइन्स र उद्योगहरूमा बढ्यो ।
  • वैदेशिक लगानी र सहायतामा वृद्धि भयो ।

ग) सामाजिक प्रभाव:

  • नागरिकले वाक तथा प्रकाशन स्वतन्त्रता, र सङ्गठन खोल्न पाउने स्वतन्त्रताको उपभोग गर्न पाए ।
  • समाजमा दबििएर रहेका महिला, दलित, जनजाति र पिछडिएका वर्गहरू आफ्नो अधिकारका लागि सचेत र सङ्गठित हुन थाले ।
  • शिक्षा, स्वास्थ्य र सञ्चारको क्षेत्रमा गाउँ-गाउँसम्म पहुँच विस्तार भयो ।

२४. “नेपालमा वित्तीय शिक्षा र यसको आर्थिक सामाजिक प्रभाव” शीर्षकमा एक लेख तयार गर्नुहोस् ।

नेपालमा वित्तीय शिक्षा र यसको आर्थिक सामाजिक प्रभाव

– (विद्यार्थीको नाम)

परिचय:

पैसाको सही व्यवस्थापन गर्ने ज्ञान, सीप र धारणालाई वित्तीय शिक्षा भनिन्छ । कुन स्रोतबाट पैसा कमाउने, कसरी बचत गर्ने, कहाँ लगानी गर्ने र कसरी खर्च व्यवस्थापन गर्ने भन्ने कुरा वित्तीय साक्षरताले सिकाउँछ । नेपाल जस्तो विकासोन्मुख देशमा वित्तीय शिक्षाको महत्त्व झन् बढी छ ।

आर्थिक प्रभाव:

वित्तीय शिक्षाले व्यक्तिलाई आर्थिक रूपमा अनुशासित बनाउँछ । मानिसहरूमा फजुल खर्च कम गरी बचत गर्ने बानीको विकास हुन्छ । स-साना बचतबाट पुँजी निर्माण गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन मिल्छ । यसले गर्दा देशमा उद्यमशीलताको विकास हुन्छ, रोजगारी सिर्जना हुन्छ र अन्ततः राष्ट्रिय अर्थतन्त्र बलियो बन्छ । बैंक तथा वित्तीय संस्थाहरूको पहुँच वृद्धि गर्न पनि यसले मद्दत गर्छ ।

सामाजिक प्रभाव:

समाजमा गरिबी निवारण गर्न वित्तीय शिक्षाले ठुलो भूमिका खेल्छ । आर्थिक रूपमा सक्षम परिवारले आफ्ना छोराछोरीलाई राम्रो शिक्षा र स्वास्थ्य दिन सक्छन् । मिटरब्याजी वा ठगीबाट बच्न मानिसहरू सचेत हुन्छन् । यसले मानिसको जीवनस्तर उकास्नुका साथै बुढेसकाल वा आपत्कालीन अवस्थाका लागि आर्थिक सुरक्षा सुनिश्चित गर्छ, जसले गर्दा समाजमा शान्ति र समृद्धि छाउँछ ।

निष्कर्ष:

तसर्थ, समृद्ध नेपाल निर्माणका लागि हरेक नागरिकलाई वित्तीय रूपमा साक्षर बनाउनु आवश्यक छ । यसका लागि विद्यालय स्तरदेखि नै वित्तीय शिक्षालाई प्राथमिकताका साथ लागु गर्नुपर्दछ ।

Other Additional Material

Scroll to Top