एकाइ १: हामी र हाम्रो समाज (Hami ra Hamro Samaj)
पाठ १: सामाजिकीकरण (Samajikikaran)
यस पाठमा पढ्नुहोस्
१. सामाजिकीकरण (Samajikikaran) भनेको के हो?
उत्तर: सामाजिकीकरण (Samajikikaran) एक यस्तो प्रक्रिया हो जसले व्यक्तिहरू वा समूहहरूलाई समाजमा एकीकृत गराउँछ, समाजको निर्माणमा सहयोग गर्दछ, र सामाजिक परम्परा एवं संरचनामा परिवर्तन ल्याउन मद्दत गर्छ। यसले समूहको निर्माण, सामाजिक संरचना, संगठन, र सामाजिक मूल्यको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दछ।
सामाजिकीकरणले विभिन्न प्रकारका सामाजिक प्रक्रिया र क्रियाकलापहरूलाई समेट्छ, जसमा शिक्षा, सामाजिक सम्बन्ध, संगठन, सांस्कृतिक परम्परा, राजनीतिक प्रक्रिया, र अन्य सामाजिक प्रणालीका कार्यहरू समावेश हुन्छन्। यसका माध्यमबाट समूह र समाजले समृद्धि प्राप्त गर्दछ र सामाजिक विविधता, सामाजिक न्याय, र सामाजिक परम्परामा सहयोग पनि प्रदान गर्दछ।
२. सामाजिकीकरण (Samajikikaran) को महत्त्व उल्लेख गर्नुहोस्।
उत्तर: सामाजिकीकरणको महत्त्वलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ:
- व्यक्तिको व्यक्तित्व विकास गर्न: यसले व्यक्तिको समग्र व्यक्तित्व निर्माणमा मद्दत गर्छ।
- सकारात्मक सोच र चिन्तनको विकास: समाजमा घुलमिल हुँदा सकारात्मक सोच र व्यवहार सिक्न सकिन्छ।
- सामाजिक सिपको विकास: यसले व्यावहारिक ज्ञान र सामाजिक सिपको विकास गराउँछ।
- अनुशासित र योग्य नागरिक बन्न: सामाजिकीकरणले व्यक्तिलाई अनुशासित, कर्मठ र योग्य बन्न आधार प्रदान गर्छ।
- मानवीय गुणको विकास: प्रेम, सहयोग, सहकार्य, सहानुभूति जस्ता मानवीय गुण र व्यवहार सिक्न मद्दत गर्छ।
- मूल्य-मान्यताको संरक्षण: सामाजिक मूल्य, मान्यता, परम्परा, र रीतिरिवाजको संरक्षण गर्दै हस्तान्तरण गर्न सघाउँछ।
- सामाजिक सद्भाव कायम गर्न: समाजमा शान्ति, सद्भाव, र सहअस्तित्व कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ।
३. प्रेम र स्नेहले सामाजिकीकरणमा कसरी सहयोग गर्छ, प्रष्ट पार्नुहोस्।
उत्तर: सामाजिकीकरणका लागि मानिस-मानिसका बिचमा विश्वास र अपनत्व आवश्यक पर्दछ। प्रेम र स्नेहले मानिसहरूका बिचमा आत्मीयता प्रदान गर्दछ। यस्तो आत्मीयताले सद्भाव र सहकार्यका लागि आधारको काम गर्दछ। सद्भाव र सहकार्यले मानिसप्रति विश्वास बढाउँछ र अपनत्वको भावना विकास हुन्छ। मानिसलाई सामाजिक प्राणी बनाउन विश्वास र अपनत्व प्रदान गर्ने कार्य प्रेम र स्नेहले गर्दछ। यसरी, प्रेम र स्नेहले सामाजिकीकरण (Samajikikaran) मा सहयोग गर्छ।
४. सामाजिकीकरण (Samajikikaran) का माध्यम वा निकाय के-के हुन्? तीमध्ये तपाईंको विचारमा सबैभन्दा महत्त्वपूर्ण निकाय वा माध्यम कुन हो र किन?
उत्तर: सामाजिकीकरणका माध्यम वा निकाय निम्न छन्:
- घर परिवार
- विद्यालय
- दौँतरी समूह
- सांस्कृतिक गतिविधि
- छिमेकी
- स्थानीय सङ्घसंस्थाहरू
- सहकारी
- सञ्चारका साधन
- हाटबजार
यीमध्ये मेरो विचारमा सबैभन्दा महत्त्वपूर्ण निकाय वा माध्यम घर परिवार हो। किनभने, घर परिवार पहिलो पाठशाला हो। हरेक व्यक्तिको सिकाइको प्रारम्भ घर परिवारबाट सुरु हुन्छ। सामाजिकीकरणका लागि आवश्यक पर्ने भाषा, प्रेम र स्नेह, मूल्य-मान्यता, सम्मान, सम्बन्ध जस्ता विभिन्न सामाजिक गुण सिक्ने र अभ्यास गर्ने प्रारम्भिक थलो घर परिवार नै हो।
५. मानिस जैविक प्राणीबाट कसरी सामाजिक प्राणीमा रूपान्तरण हुन्छ? उदाहरणसहित प्रष्ट पार्नुहोस्।
उत्तर: मानिस जन्मँदा जैविक प्राणीका रूपमा मात्र रहेको हुन्छ। उसले घर परिवारमा रहेर भाषा, प्रेम, मूल्य, मान्यता, सम्मान, नातासम्बन्ध जस्ता विभिन्न सामाजिक गुण सिक्ने र अभ्यास गर्ने कामको प्रारम्भ गर्दछ। त्यसपछि ऊ छिमेकीसँग बिस्तारै घुलमिल हुन थाल्छ।
विद्यालय प्रवेशसँगै उसको सामाजिकीकरणले औपचारिकता प्राप्त गर्दछ। साथीभाइसँग खेल्ने, मिल्ने, सहयोग आदानप्रदान गर्ने जस्ता कार्यमा ऊ सहभागी बन्छ। घरपरिवार, छिमेक, समाज, र विद्यालयले सञ्चालन गर्ने सांस्कृतिक गतिविधिमा सहभागी हुन्छ। हाटबजार जाँदा, मेलापात जाँदा उसले कोसँग कसरी बोल्ने, कस्तो व्यवहार गर्ने लगायतका कुरा सिक्दछ र ऊ समाजमा सजिलै अन्तरघुलन हुन पुग्छ। यसरी मानिस जैविक प्राणीबाट सामाजिक प्राणीमा रूपान्तरण हुन्छ।
६. तपाईंले आफ्नो घर छिमेकमा कस्ता सामाजिकीकरणका अभ्यास गर्नुभएको छ? ती अभ्यासले सामाजिकपनको विकास गर्न कसरी मद्दत पुऱ्याएका छन्, लेख्नुहोस्।
उत्तर: मैले आफ्नो घरमा एक अर्कालाई सम्मान गर्ने गरेको छु। सानालाई माया र ठूलालाई सम्मान गर्ने हाम्रो सामाजिक प्रचलन नै हो। यो कुरा मैले घरबाट अभ्यास गरेको हुँ। अहिले म मेरो समाजमा रहेका सबै साना व्यक्तिलाई माया गर्छु र ठूलालाई सम्मान गर्छु। यसले समाजमा सामाजिकपनको विकास गराएको छ।
त्यस्तै, मैले घर परिवार र छिमेकीबाट प्रेम र स्नेह सिकेको छु, जसले विश्वास र अपनत्व प्रदान गरेको छ। पर्दा-पर्दा एक अर्कालाई सहयोग गर्न, आपसी मनमुटाव र विवादहरू अन्तरक्रिया र छलफलका माध्यमबाट समाधान गर्न पनि मैले घर र छिमेकबाट अभ्यास गरेको हुँ। घरले मलाई भाषा सिकायो भने छिमेकले भाषामा दक्ष बनायो। यी सबै कुराले गर्दा म बिस्तारै ‘मेरो’ बाट ‘हाम्रो’ भन्न थालेको छु। घर परिवार र छिमेकबाट मैले गरेका सामाजिकीकरण (Samajikikaran) का अभ्यासले सामाजिकपनको विकास गर्न मद्दत पुऱ्याएका छन्।
अर्को पाठ
यो पनि पढ्नुहोस्
कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us