एकाइ ९: बस्ती, जनसङ्ख्या र विकास
पाठ ५: जनसङ्ख्या व्यवस्थापन
यस पाठमा हामीले जनसङ्ख्या व्यवस्थापन (Janasankhya Byabasthapan) र यसका विविध पक्षहरूबारे सिक्नेछौँ। जनसङ्ख्या, स्रोतसाधन र विकासबीचको सन्तुलन कायम राख्नु नै जनसङ्ख्या व्यवस्थापन हो। यसले देशको दिगो विकास र नागरिकको गुणस्तरीय जीवनयापनमा महत्त्वपूर्ण भूमिका खेल्छ।
Janasankhya Byabasthapan
अभ्यासका विषयहरू
- जनसङ्ख्या व्यवस्थापन भनेको के हो, यसको महत्त्व आफ्नै शब्दमा वर्णन गर्नुहोस्।
- जन्म विरुद्धको नीति र जन्म पक्षको नीतिबिच फरक छुट्याउनुहोस्।
- संयुक्त परिवारको संरचना र उच्च शिशु मृत्युदरले कसरी जनसङ्ख्या वृद्धिदर बढाउँछ, उल्लेख गर्नुहोस्।
- जनसङ्ख्यामा तीव्र वृद्धिका कारण शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा पर्ने असरहरू उल्लेख गर्नुहोस्।
- हाम्रो देशमा विद्यमान जनसङ्ख्या व्यवस्थापनका चुनौतीहरू उल्लेख गर्दै आफ्नो साथीलाई चिठी लेख्नुहोस्।
१. जनसङ्ख्या व्यवस्थापन भनेको के हो? यसको महत्त्व आफ्नै शब्दमा वर्णन गर्नुहोस्।
उत्तर: राज्यको स्रोत साधन, प्राकृतिक अवस्था, पृथ्वीको बहन गर्ने क्षमता, र राज्यको जनसाङ्ख्यिक आवश्यकताअनुसार जनसङ्ख्याको वितरणलाई व्यवस्थित बनाउने पद्धतिलाई जनसङ्ख्या व्यवस्थापन भनिन्छ। जनसङ्ख्या व्यवस्थापनमा राज्यको आवश्यकताअनुसार आवश्यक परे जनसङ्ख्याको आकार कायम गर्न घट्ने वा बढ्ने नीति निर्धारण गरिन्छ। जनताको जीवनस्तर (Quality of life) वृद्धि गर्न जनसङ्ख्या व्यवस्थापन गरिन्छ।
जनसङ्ख्या व्यवस्थापनको महत्त्व निम्नानुसार छन्:
- लैङ्गिक असमानता हटाउन,
- साधनस्रोत, अवसर र जनसङ्ख्या बिचको त्रिपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन,
- जनसङ्ख्या र वातावरणबिच सन्तुलन ल्याउन,
- उच्च वृद्धिदर घटाउन,
- न्यून वृद्धिदर बढाउन,
- उच्च बाल आश्रित अनुपात घटाउन,
- उच्च मातृ एवम् शिशु मृत्युदर रोक्न,
- बढ्दो बेरोजगारी समस्या निराकरण गर्न,
- जनसङ्ख्याको वितरणमा विद्यमान असमानता हटाउन,
- दिगो आर्थिक र सामाजिक समृद्धि हासिल गर्न, आदि।
२. जन्म विरुद्धको नीति र जन्म पक्षको नीतिबिच फरक छुट्याउनुहोस्।
उत्तर: जन्म विरुद्धको नीति र जन्म पक्षको नीतिबिच फरकहरू यसप्रकार रहेका छन्:
(क) जन्म विरुद्धको नीति (Anti-Natalist Policy):
प्रजननदरलाई नियन्त्रण गरी जनसङ्ख्या घटाउने नीतिलाई जन्म विरुद्धको नीति भनिन्छ। जनसङ्ख्या बढी भएका देशहरूले जनसङ्ख्याको आकार र वृद्धि लाई घटाउनका लागि लागु गरिने उपाय हो। यस अन्तर्गत परिवार नियोजन कार्यक्रम विस्तार गर्ने, कम सन्तान जन्माउने दम्पतीका सन्तानलाई विशेष सरकारी सुविधा उपलब्ध गराउने, बढी सन्तान जन्माउने दम्पतीलाई सरकारी सेवा सुविधा कटौती गर्ने, लैङ्गिक भेदभावलाई हटाई महिला शिक्षा र सशक्तीकरणमा जोड दिने, गर्भपतनलाई कानुनी मान्यता दिने जस्ता नीति तथा कार्यक्रमहरू अपनाउने गरेको पाइन्छ।
(ख) जन्म पक्षको नीति (Pro-Natalist Policy):
शिशुहरूको जन्मदरमा वृद्धि गरेर जनसङ्ख्या बढाउने उद्देश्यले तर्जुमा गरिएका नीतिलाई जन्मपक्षीय नीति भनिन्छ। कुनै पनि देशमा आवश्यकताभन्दा कम जनसङ्ख्या छ, जन्मदर ऋणात्मक छ, जनशक्तिको तुलनामा साधन र स्रोतको मात्रा अत्यधिक छ भने यो नीति लागु गरिन्छ। यस नीति अन्तर्गत बढी सन्तान जन्माउने दम्पतीलाई विशेष सरकारी सुविधा उपलब्ध गराउने, बालबालिकाको स्वास्थ्य तथा शिक्षामा सरकारी लगानी वृद्धि गर्ने, चाँडो विवाह र पुनः विवाहलाई प्रोत्साहन गर्ने, अवैधानिक शिशुको राज्यले संरक्षण गर्ने आदि कार्यक्रमहरू पर्दछन्।
३. संयुक्त परिवारको संरचना र उच्च शिशु मृत्युदरले कसरी जनसङ्ख्या वृद्धिदर बढाउँछ, उल्लेख गर्नुहोस्।
उत्तर: संयुक्त परिवारको संरचना जनसङ्ख्या वृद्धिको एक कारण मानिएको छ। किनभने कुनै परिवारमा जन्मेको बच्चाको अभिभारा संयुक्त रूपमा परिवारमा बाँडिन्छ। परिवारको ढाँचाले पनि जनसङ्ख्या वृद्धिमा भूमिका खेल्दछ। संयुक्त परिवारमा बस्ने मानिसको धारणा सन्तान धेरै भएमा जुनसुकै काम गर्न पनि सहज हुन्छ भन्ने रहेको पाइन्छ। संयुक्त परिवारमा बालबच्चाको हेरचाह गर्ने र पालनपोषण गर्ने गहन जिम्मेवारी आमाबाबुको काँधमा मात्र नपर्ने भएकाले दम्पतीहरूले असहज महसुस गर्न पाउँदैनन्। साथै जति सन्तान जन्मिए पनि आर्थिक बोझ एक्लैलाई नपर्ने भएकोले धेरै सन्तान जन्माउँछन् र जनसङ्ख्या वृद्धि हुन पुग्छ।
मानिसले सन्तान धेरै जन्माउनु पछाडि शिशु मृत्युदर उच्च रहनु पनि हो। किनभने जति धेरै शिशु मर्छन्, त्यति धेरै जन्मिएका शिशु सबै परिपक्व हुने सम्भावनाको कमी रहन्छ। अज्ञानता, अशिक्षा, अन्धविश्वास, स्वास्थ्य सुविधामा आमनागरिकको पहुँचको कमीले गर्दा कलिलैमा धेरै शिशुहरूको मृत्यु भइरहेको छ। उच्च शिशु मृत्युदरले जन्मदर बढाउँछ। किनभने बाबुआमाहरू आफूले जन्माएका सन्तान कति बाँच्छन् भन्ने कुरामा ढुक्कसँग विश्वस्त हुन नसकेका कारण केही मरे पनि केही त बाँच्छन् भन्ने आशामा धेरै सन्तान जन्माउँछन्। यसकारण जनसङ्ख्या वृद्धि हुन जान्छ। उक्त शिशु मृत्युदरमा कमी ल्याउन बालस्वास्थ्य सुधारमा ध्यान दिनु अति आवश्यक देखिन्छ।
४. जनसङ्ख्यामा तीव्र वृद्धिका कारण शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा पर्ने असरहरू उल्लेख गर्नुहोस्।
उत्तर: प्राकृतिक स्रोत साधनको तुलनामा जनसङ्ख्या बढी हुँदा हरेक क्षेत्रमा नराम्रो असर पर्दछ। सीमित स्रोत साधनबाट बढ्दो जनसङ्ख्याको आवश्यकता पूरा गर्न गाह्रो हुने भएकोले यसले देशको मूलतः शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा प्रतिकूल असर पार्न जान्छ।
स्वास्थ्य सेवा तथा सुविधामा पर्ने असरः
बढ्दो मानिसको स्वास्थ्य आवश्यकतालाई उपलब्ध सीमित स्वास्थ्य सेवाबाट पूरा गर्न कठिन हुन्छ जसले गर्दा मृत्युदर बढ्न जान्छ। हाम्रो देशमा जनसङ्ख्याको तुलनामा धेरै नै कम मात्रामा स्वास्थ्य सेवा उपलब्ध रहेको छ। ग्रामीण क्षेत्रमा स्वास्थ्य सुविधा कम भएकोले हैजा, झाडापखाला जस्ता सामान्य रोगबाट पनि मानिसको ज्यान जाने गरेको छ। सहरी क्षेत्रमा केही सहज भएपनि बढ्दो जनसङ्ख्याको मागलाई पूरा गर्न सकेको देखिँदैन। तीव्र जनसङ्ख्या वृद्धिको कारण आधारभूत स्वास्थ्य सेवा सम्पूर्ण जनतालाई पुर्याउन सकिएको छैन।
शिक्षामा पर्ने असरः
जनसङ्ख्या वृद्धि उच्च भएमा सबैलाई शिक्षाको अवसर प्रदान गर्न कठिन हुन्छ। विद्यालय जाने उमेरका बालबालिकाहरूको सङ्ख्यामा वृद्धि हुन गई विद्यालयमा अतिरिक्त चाप बढ्न जान्छ। कक्षाकोठा, भौतिक सामग्री र शैक्षिक सामग्रीहरूको अभाव हुन जान्छ। थोरै शिक्षकले धेरै विद्यार्थीहरूलाई पढाउनु पर्ने हुन्छ, जसले गर्दा शिक्षाको गुणस्तरमा ह्रास आउँछ।
रोजगारीमा पर्ने असरः
जनसङ्ख्या वृद्धिका कारण रोजगारीका अवसरहरू सिर्जनामा समस्या हुन्छ। तीव्र जनसङ्ख्या वृद्धि भएको अवस्थामा बढेको जनसङ्ख्यालाई पालनपोषण गर्नमा नै धेरै पैसा खर्च गर्नुपर्ने भएकाले रोजगारका अवसरहरू सिर्जना गर्न सकिँदैन। फलस्वरूप बेरोजगार जनसङ्ख्याको मात्रा बढ्न गई आर्थिक, सामाजिक समस्याहरू देखा पर्दछन्।
५. हाम्रो देशमा विद्यमान जनसङ्ख्या व्यवस्थापनका चुनौतीहरू उल्लेख गर्दै आफ्नो साथीलाई चिठी लेख्नुहोस्।
तारकेश्वर-५, काठमाडौँ
मिति: २०८०/०४/३२
प्रिय मित्र साहिल,
मीठो सम्झना !
म यहाँ आजको मितिसम्म सकुशल छु र त्यहाँ तिम्रो पनि कुशलताको कामना गर्दछु। मैले तिमीले पठाएको पत्र भर्खर पाएँ र पत्र लेख्दै छु। निकै पछि पत्र पठायौ तैपनि साथीको माया मारेका रहेनछौ, खुसी लाग्यो। हाम्रो देशमा विद्यमान जनसङ्ख्या व्यवस्थापनका चुनौतीहरूको विषयका सम्बन्धमा जानकारी मागेका रहेछौ। मैले जाने बुझे जतिको र अध्ययनका आधारमा केही जानकारी तिमीलाई दिँदै छु।
गरिबी, अशिक्षा, अज्ञानता, धार्मिक अन्धानुकरण, अदूरदर्शी तथा अव्यवहारिक नीति लगायतका कारणहरूले गर्दा नेपालको जनसङ्ख्या व्यवस्थापनमा देहायका चुनौतीहरू देख्न सकिन्छ:
- बढ्दै गइरहेको अदक्ष र अर्धदक्ष जनसङ्ख्यालाई गुणस्तरीय खानपान, शिक्षा तथा रोजगार उपलब्ध गराउनु,
- सहरी क्षेत्रमा कुल प्रजनन दरमा कमी आएतापनि दूरदराजका ग्रामीण क्षेत्रमा यस्तो दर अझपनि उच्च रहनु,
- अझपनि कतिपय स्थान विशेषमा बालविवाह संस्कृतिकै रूपमा झाँगिएर रहनु,
- ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा तथा परिवार नियोजनका साधनहरू सहज रूपमा उपलब्ध गराउनु,
- तीव्र रूपमा बढ्दै गइरहेको आन्तरिक तथा बाह्य बसाइँसराइलाई व्यवस्थित गर्नु,
- समाजमा सदियौँदेखि जरा गाडेर बसेको धार्मिक अन्धानुकरणको जालो तोड्नु (जस्तै: छोराको अनिवार्यता),
- मुलुकबाट दक्ष जनशक्ति बाहिरिने (Brain Drain) क्रम रोकी स्वदेशमै समुचित परिचालन गर्नु,
- बढ्दै गइरहेको ज्येष्ठ नागरिक जनसङ्ख्या (Old age population) को समुचित व्यवस्थापन गर्नु,
- जनसङ्ख्या व्यवस्थापनका विविध पक्षहरूलाई दिगो विकासका लक्ष्यहरूसँग जोड्नु।
अतः माथि उल्लिखित चुनौतीहरूलाई अवसरमा बदल्न सरकारको दूरदर्शिता र तहगत सहकारिता, नागरिक समाजको सक्रिय सहभागिता र आवश्यकतामा आधारित सहायताको खाँचो देखिन्छ। पत्र लामो हुन थाल्यो त्यसैले यति भन्दै कलम बन्द गर्छु। म तिम्रो पत्रको प्रतीक्षामा छु।
उही तिम्रो आत्मीय साथी,
बद्री प्रसाद कोइराला
यो पनि पढ्नुहोस्
थप जानकारीका लागि आधिकारिक स्रोतहरू:
राष्ट्रिय परीक्षा बोर्ड (NEB) जनसङ्ख्या व्यवस्थापनबारे थप जान्नुहोस्कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us