Importantedunotes.com
Back to Education Notes
बाल विकास र बाल मनोविज्ञान
(BAL BIKASH RA BAL MANOVIGYAN)
एकाइ ३ — Class 10 Education (शिक्षा) Complete Notes
SEE board exam तयारीका लागि: अति संक्षिप्त, संक्षिप्त र लामो उत्तर सहित सम्पूर्ण गाइड
क. अति संक्षिप्त उत्तर (१ अंक भारका २० प्रश्नहरू)
१. बाल विकास भनेको के हो?
उत्तर: बालकको गर्भधारणदेखि परिपक्व अवस्थासम्म शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक पक्षमा आउने क्रमिक र सकारात्मक परिवर्तन नै बाल विकास हो।
२. बाल विकासमा कुन दुई तत्वको उत्तिकै प्रभाव रहन्छ?
उत्तर: बाल विकासमा वंशाणुगत गुण (Heredity) र वातावरणीय प्रभाव (Environment) को उत्तिकै प्रभाव रहन्छ।
३. शारीरिक विकासमा देखिने वैयक्तिक भिन्नताको एक उदाहरण दिनुहोस्।
उत्तर: एउटै उमेर समूहका बालबालिकाहरूको उचाइ, तौल र शारीरिक बनोटमा फरकपना हुनु शारीरिक वैयक्तिक भिन्नता हो।
४. बौद्धिक विकासमा वैयक्तिक भिन्नता भन्नाले के बुझिन्छ?
उत्तर: बालबालिकाको सिक्ने गति, स्मरण शक्ति, तर्क गर्ने क्षमता र समस्या समाधान गर्ने सीपमा हुने फरकपनालाई बौद्धिक वैयक्तिक भिन्नता भनिन्छ।
५. हर्लकका अनुसार पूर्व बाल्यावस्थाको अवधि कुन हो?
उत्तर: प्रसिद्ध मनोवैज्ञानिक एलिजाबेथ हर्लकका अनुसार २ वर्षदेखि ६ वर्षसम्मको अवधिलाई पूर्व बाल्यावस्था (Early Childhood) भनिन्छ।
६. पूर्व बाल्यावस्थालाई मनोवैज्ञानिकहरूले कुन नाम दिएका छन्?
उत्तर: मनोवैज्ञानिकहरूले यस अवस्थालाई ‘खेलौनाको उमेर’ (Toy age) वा ‘प्रश्न गर्ने उमेर’ (Questioning age) भनेर नामकरण गरेका छन्।
७. उत्तर बाल्यावस्थाको अवधि कति मानिन्छ?
उत्तर: ६ वर्षदेखि १३ वर्षसम्मको (यौवनावस्था सुरु हुनुभन्दा अगाडिसम्मको) अवधिलाई उत्तर बाल्यावस्था (Late Childhood) भनिन्छ।
८. किन उत्तर बाल्यावस्थालाई ‘फोहोरी उमेर’ (Sloppy Age) भनिन्छ?
उत्तर: यस उमेरका बालबालिकाहरू खेलकुद र साथीभाइसँगको क्रियाकलापमा यति धेरै व्यस्त हुन्छन् कि उनीहरूलाई आफ्नो लुगा र शरीरको सरसफाइको कुनै पर्वाह हुँदैन, त्यसैले यसलाई फोहोरी उमेर भनिन्छ।
९. यौवनावस्था (Puberty) कुन भाषाको शब्दबाट आएको हो?
उत्तर: यौवनावस्था ल्याटिन भाषाको ‘Pubertas’ (जसको अर्थ पुरुषत्व वा परिपक्वता हुन्छ) शब्दबाट आएको हो।
१०. यौवनावस्थाको मुख्य विशेषता के हो?
उत्तर: तीव्र शारीरिक वृद्धि हुनु र प्रजनन अङ्गहरूको विकास भई सन्तान उत्पादन गर्न सक्ने क्षमताको सुरुवात हुनु यसको मुख्य विशेषता हो।
११. ‘नक्कल गर्ने उमेर’ (Imitative Age) भनेर कुन अवस्थालाई चिनिन्छ?
उत्तर: पूर्व बाल्यावस्था (२-६ वर्ष) लाई नक्कल गर्ने उमेर भनिन्छ, जहाँ बालबालिकाले ठूला मानिसको बोली र व्यवहारको हुबहु नक्कल गर्छन्।
१२. बाल मनोविज्ञान भनेको के हो?
उत्तर: बालबालिकाको विकासात्मक चरणहरू, उनीहरूको मानसिक प्रक्रिया, रुचि, क्षमता र व्यवहारको वैज्ञानिक अध्ययन गर्ने विज्ञान नै बाल मनोविज्ञान हो।
१३. उत्तर बाल्यावस्थाको कुनै एक विकासात्मक कार्य लेख्नुहोस्।
उत्तर: साधारण खेलका लागि आवश्यक पर्ने शारीरिक सीपहरू सिक्नु र दौँतरी समूह (Peer group) सँग घुलमिल हुन सिक्नु।
१४. यौवनावस्थालाई किन ‘खप्टिएको अवस्था’ (Overlapping Age) भनिन्छ?
उत्तर: यो छोटो अवधिमा बाल्यावस्थाका अन्तिम लक्षणहरू हराउँदै जाने र किशोरावस्थाका सुरुवाती लक्षणहरू देखा पर्ने हुँदा दुवै अवस्थाका गुणहरू एकैपटक देखिने भएकाले यसलाई खप्टिएको अवस्था भनिन्छ।
१५. बालकको पहिलो विद्यालय कुन हो?
उत्तर: बालकको पहिलो विद्यालय उसको आफ्नो घर/परिवार हो भने पहिलो गुरु उसका बाबु-आमा हुन्।
१६. पोषणयुक्त खानाले बालकको विकासमा कसरी मद्दत गर्छ?
उत्तर: सन्तुलित र पोषणयुक्त खानाले बालकको शारीरिक वृद्धि छिटो गराउनुका साथै रोग प्रतिरोधात्मक क्षमता र बौद्धिक विकासमा प्रत्यक्ष मद्दत गर्छ।
१७. बाल विकासमा ‘सुरक्षाको अनुभूति’ किन आवश्यक छ?
उत्तर: बालकलाई डर, त्रास र चिन्तामुक्त वातावरणमा निर्धक्क भएर नयाँ कुराहरू अन्वेषण गर्न र सिक्नका लागि सुरक्षाको अनुभूति अत्यन्त आवश्यक छ।
१८. किन पूर्व बाल्यावस्थालाई ‘रचनात्मक उमेर’ भनिन्छ?
उत्तर: यस उमेरका बालबालिकाहरू माटो, बालुवा, कागज वा खेलौनाहरू जोडेर नयाँ कुरा बनाउन र भत्काउन उत्सुक हुने भएकाले यसलाई रचनात्मक उमेर भनिन्छ।
१९. यौवनावस्थामा देखिने एक नकारात्मक परिवर्तन के हो?
उत्तर: हार्मोनमा आउने एक्कासी परिवर्तनले गर्दा बालबालिकाहरू विना कारण झर्किने, एकान्तमा बस्न रुचाउने र विद्रोही स्वभाव देखाउने गर्छन्।
२०. लिङ्गीय भेदभावले बालकको विकासमा कस्तो असर पार्छ?
उत्तर: छोरा र छोरीबीच गरिने भेदभावले बालबालिकामा हीनताबोध पैदा गराउँछ, जसले उनीहरूको आत्मविश्वास गिराउने र समग्र व्यक्तित्व विकासमा गम्भीर असर पार्छ।
ख. संक्षिप्त उत्तर ( ५ अंक भारका १५ प्रश्नहरू)
१. पूर्व बाल्यावस्थाका प्रमुख ५ विशेषताहरू के-के हुन्? [ ५ अंक ]
२ वर्षदेखि ६ वर्षसम्मको अवधिलाई पूर्व बाल्यावस्था भनिन्छ। यस अवस्थाका प्रमुख ५ विशेषताहरू निम्न प्रकार छन्:
- आधार स्तम्भको उमेर: यस उमेरमा बालकले सिकेका बानी, व्यवहार र धारणाहरूले नै उसको भविष्यको व्यक्तित्व निर्माण गर्ने हुनाले यसलाई जीवनको आधार स्तम्भ मानिन्छ।
- प्रश्न गर्ने उमेर: बालबालिकाहरू आफ्नो वरपरका नयाँ वस्तु र घटना देख्नासाथ ‘यो के हो?’, ‘किन यस्तो भयो?’ भनी अनगिन्ती प्रश्नहरू सोधिरहन्छन्।
- नक्कल गर्ने उमेर: यस अवस्थाका बालबालिकाहरू आफ्ना अभिभावक वा टिभीका पात्रहरूले जस्तै बोल्ने, हिँड्ने र काम गर्ने नक्कल गर्न खप्पिस हुन्छन्।
- पूर्व विद्यालय उमेर: यो बालबालिकाहरूलाई औपचारिक शिक्षाका लागि विद्यालय पठाउनु अघि घरमै वा मन्टेश्वरीमा तयार गरिने उमेर हो।
- खेलौनाको उमेर: यस उमेरमा बालबालिकाहरू साथीभाइसँग भन्दा पनि आफ्ना खेलौनाहरूसँग एक्लै खेल्न र रमाउन बढी मन पराउँछन्।
२. पूर्व बाल्यावस्थाका विकासात्मक कार्यहरू उल्लेख गर्नुहोस्। [ ५ अंक ]
विकासात्मक कार्य भन्नाले निश्चित उमेर पुगेपछि समाजले बालकबाट अपेक्षा गर्ने सीप वा व्यवहारलाई बुझाउँछ। पूर्व बाल्यावस्थाका मुख्य विकासात्मक कार्यहरू यस प्रकार छन्:
- शारीरिक सीपको विकास: राम्ररी हिँड्न, दौडन, उफ्रन र आफ्ना हातखुट्टाका मांसपेशीहरूमा सन्तुलन कायम गर्न सक्ने हुनु।
- दैनिक कार्यमा आत्मनिर्भरता: आफ्नो खाना आफैं खान सक्ने हुनु, लुगा लगाउन र फुकाल्न सिक्नु।
- भाषिक तथा सञ्चार सीप: आफ्ना कुराहरू स्पष्ट रूपमा अरूलाई भन्न सक्ने र अरूले भनेका सामान्य कुराहरू बुझेर प्रतिक्रिया दिन सक्ने हुनु।
- सामाजिक र संवेगात्मक विकास: परिवारका सदस्यहरूसँग घुलमिल हुनु, सही र गलतबीचको सामान्य भिन्नता बुझ्न सुरु गर्नु।
- लिङ्गीय पहिचान: आफू केटा वा केटी के हुँ भन्ने कुराको सामान्य लिङ्गीय भिन्नता छुट्याउन सक्ने क्षमताको विकास हुनु।
३. उत्तर बाल्यावस्थालाई किन ‘दुःख दिने उमेर’ भनिन्छ? [ ५ अंक ]
उत्तर बाल्यावस्था (६-१३ वर्ष) मा बालबालिकाहरूमा आउने व्यवहारिक परिवर्तनका कारण अभिभावकलाई व्यवस्थापन गर्न गाह्रो हुने हुँदा यसलाई ‘दुःख दिने उमेर’ (Troublesome Age) भनिन्छ। यसका कारणहरू निम्न छन्:
- अटेरीपन र जिद्दीपन: बालबालिकाहरूले बाबु-आमाले भनेको नटेर्ने, आफ्नो कुरामा अडिग रहने र अनावश्यक कुरामा जिद्दी गर्ने प्रवृत्ति देखाउँछन्।
- साथीभाइको प्रभाव: उनीहरू घरको नियमभन्दा साथीहरूको नियम र निर्देशनलाई बढी मान्ने भएकाले अभिभावकसँग टाढिँदै जान्छन्।
- ध्वंसात्मक प्रवृत्ति: विभिन्न वस्तुहरूको माग गरी हैरान पार्ने र नपाएमा सामग्रीहरू फुटाउने, फाल्ने र उपद्रो गर्ने कार्यहरू बढी गर्छन्।
- बाहिरी आकर्षण: घरभित्र बस्न पटक्कै नमान्ने र खेलकुदमा मात्र बढी समय बिताउँछन्।
- झगडालु स्वभाव: दाजुभाइ दिदीबहिनी वा साथीहरूसँग ससाना कुरामा पनि झगडा गरिरहन्छन्।
४. यौवनावस्थाका ५ विकासात्मक कार्यहरू लेख्नुहोस्। [ ५ अंक ]
यौवनावस्था (Puberty) बाल्यावस्थाबाट किशोरावस्थातर्फ प्रवेश गर्ने सङ्क्रमणकालीन छोटो अवधि हो। यस अवस्थाका प्रमुख ५ विकासात्मक कार्यहरू निम्न छन्:
- शारीरिक परिवर्तनलाई स्वीकार गर्नु: आफ्नो शरीरमा तीव्र गतिमा आएका परिवर्तनहरूलाई सहज रूपमा ग्रहण गर्नु।
- यौन परिपक्वता हासिल गर्नु: प्रारम्भिक यौन परिपक्वतालाई सामान्य रूपमा लिनु।
- नयाँ लैङ्गिक भूमिका अपनाउनु: समाजले अपेक्षा गरे अनुरूप उपयुक्त सामाजिक र लैङ्गिक भूमिकाहरूको विकास गर्नु।
- बाल्यावस्थाका बानीहरू त्याग्नु: बाल्यावस्थाका निर्भरताका लक्षणहरू क्रमशः छोड्दै वयस्क अवस्थाका परिपक्व लक्षणहरू देखाउन थाल्नु।
- समवयस्कसँग नयाँ सम्बन्ध: आफ्नै उमेर समूहका समान तथा विपरीत लिङ्गी साथीहरूसँग परिपक्व र नयाँ प्रकारको सामाजिक सम्बन्ध कायम गर्नु।
५. बाल विकासमा परिवारको सामाजिक र आर्थिक स्तरले कस्तो प्रभाव पार्छ? [ ५ अंक ]
परिवारको सामाजिक र आर्थिक स्तर (Socio-Economic Status) ले बालकको समग्र विकासमा प्रत्यक्ष र गहिरो प्रभाव पार्दछ:
- आधारभूत आवश्यकताको परिपूर्ति: आर्थिक अवस्था बलियो भएको परिवारमा बालबालिकाले सन्तुलित आहार, स्वास्थ्य उपचार र उपयुक्त आवास पाउँछन्।
- शैक्षिक अवसर: राम्रो आर्थिक स्तरका बालबालिकाले सानै उमेरदेखि गुणस्तरीय शिक्षा र शैक्षिक सामग्रीहरूको अवसर पाउँछन्।
- सामाजिकीकरण र संस्कार: शिक्षित र सभ्य सामाजिक पृष्ठभूमि भएको परिवारमा हुर्केका बालबालिकाले असल संस्कार छिटो सिक्छन्।
- मनोवैज्ञानिक वातावरण: आर्थिक अभाव नभएको परिवारमा प्रायः शान्त र तनावरहित वातावरण हुन्छ।
- अवसरको वञ्चितीकरण: विपन्न परिवारका बालबालिकामा कुपोषण, बालश्रम र अवसरको अभावले गर्दा समग्र विकासमा गम्भीर बाधा पुग्न सक्छ।
६. बाल मनोविज्ञानको महत्व ५ बुँदामा लेख्नुहोस्। [ ५ अंक ]
शिक्षक र अभिभावकका लागि बाल मनोविज्ञानको ज्ञान अत्यन्त आवश्यक छ। यसको महत्व निम्न ५ बुँदामा प्रस्तुत छ:
- विकासात्मक अवस्थाको ज्ञान: बालबालिकाको उमेर अनुसार उनीहरूको शारीरिक, मानसिक र संवेगात्मक क्षमता कति हुन्छ भन्ने कुरा बुझ्न मद्दत गर्छ।
- वैयक्तिक भिन्नताको पहिचान: सबै बालबालिका एकै नासका हुँदैनन् भन्ने बुझी उनीहरूको रुचि अनुसारको व्यवहार वा शिक्षण गर्न सिकाउँछ।
- सिकाइ समस्याको समाधान: कक्षाकोठामा विद्यार्थीले किन सिक्न सकेन वा किन अनुशासनहीन काम गर्यो भन्ने पत्ता लगाई उचित मार्गदर्शन दिन टेवा पुर्याउँछ।
- बालमैत्री शिक्षण विधि: मनोवैज्ञानिक सिद्धान्तहरूलाई प्रयोग गरी शिक्षण सिकाइलाई रोचक र विद्यार्थी केन्द्रित बनाउन शिक्षकलाई सहयोग गर्छ।
- पाठ्यक्रम निर्माण: बालबालिकाको बौद्धिक स्तर र चाहना अनुसारको पाठ्यक्रम र पाठ्यपुस्तकहरू निर्माण गर्न मार्गदर्शन गर्छ।
७. पोषणयुक्त खानाको अभावमा बालकमा देखिने असरहरू के-के हुन्? [ ५ अंक ]
बालबालिकाको तीव्र शारीरिक र मानसिक वृद्धिको लागि सन्तुलित आहार अनिवार्य हुन्छ। यसको अभाव (कुपोषण) मा निम्न असरहरू देखिन्छन्:
- शारीरिक वृद्धिमा अवरोध: बालकको उमेर अनुसार उचाइ र तौल नबढ्ने, मांसपेशीहरू कमजोर हुने र शरीर दुब्लो-पातलो हुन्छ।
- रोग प्रतिरोधात्मक क्षमतामा कमी: शरीरमा आवश्यक भिटामिन र खनिजको अभावले रोगसँग लड्ने क्षमता कमजोर भई बालक बारम्बार बिरामी परिरहन्छ।
- बौद्धिक र मानसिक सुस्तता: स्मरण शक्ति कमजोर हुने, ध्यान केन्द्रित गर्न नसक्ने र सिकाइ क्षमतामा गम्भीर ह्रास आउँछ।
- ऊर्जा र जाँगरको अभाव: बालबालिका खेल्न वा पढ्न नचाहने, सधैं थकित देखिने र सिर्जनशीलताको अभाव देखिन्छ।
- संवेगात्मक अस्थिरता: कुपोषित बालबालिकाहरू प्रायः चिडचिडे स्वभावका हुने र मनोवैज्ञानिक रूपमा पनि निराश हुने गर्छन्।
८. यौवनावस्थालाई किन ‘तीव्र वृद्धि र परिवर्तनको अवस्था’ भनिन्छ? [ ५ अंक ]
यौवनावस्था (Puberty) मानव जीवनचक्रकै सबैभन्दा छोटो तर निकै नाटकीय परिवर्तन हुने अवस्था हो। यसलाई तीव्र वृद्धि र परिवर्तनको अवस्था भनिनुका कारणहरू निम्न छन्:
- हार्मोनको अचानक बाढी: पियुस ग्रन्थि (Pituitary Gland) एक्कासी सक्रिय भई शरीरमा वृद्धि रस र यौन रसको उत्पादन तीव्र हुन्छ।
- शारीरिक उछाल (Growth Spurt): बालबालिकाको शारीरिक उचाइ र तौलमा अचानक र तीव्र गतिमा वृद्धि देखिन्छ।
- यौन अङ्गहरूको विकास: सुप्त अवस्थामा रहेका प्रजनन अङ्गहरू सक्रिय भई सन्तान उत्पादन गर्न सक्ने प्राथमिक क्षमताको विकास हुन्छ।
- द्वितीयक यौन लक्षणहरू: केटाहरूमा दाह्रीजुँगा आउने, स्वर धोद्रो हुने र केटीहरूमा स्तनको विकास हुने जस्ता परिवर्तनहरू देखा पर्छन्।
- तीव्र संवेगात्मक परिवर्तन: शारीरिक परिवर्तन सँगसँगै मानसिक रूपमा पनि अस्थिरता र तीव्र संवेगहरू देखा पर्छन्।
९. उत्तर बाल्यावस्थाका ५ प्रमुख विशेषताहरू लेख्नुहोस्। [ ५ अंक ]
६ वर्षदेखि १३ वर्षसम्मको अवधिलाई उत्तर बाल्यावस्था भनिन्छ। यस अवस्थाका प्रमुख विशेषताहरू निम्न ५ बुँदामा उल्लेख गर्न सकिन्छ:
- विद्यालय जाने उमेर: यो बालबालिकाहरू प्राथमिक विद्यालयमा भर्ना भई पढाइ, लेखाइ र गणितका आधारभूत ज्ञानहरू हासिल गर्ने मुख्य उमेर हो।
- बालसमूहको उमेर (Gang Age): यस उमेरमा बालबालिकाहरू घरको भन्दा साथीहरूको सङ्गत बढी रुचाउने र आफ्नै नियम भएको समूह निर्माण गरी बस्ने गर्छन्।
- सिर्जनात्मक उमेर: उनीहरू नयाँ कुरा सिक्न, चित्र कोर्न, माटो वा कागजका नमुनाहरू बनाउन निकै उत्सुक हुन्छन्।
- खेल उमेर (Play Age): बालबालिकाहरू आफ्नो अधिकांश समय बाहिरी खेलकुदमा बिताउन रुचि राख्छन्।
- फोहोरी उमेर: खेलकुद र साथीभाइसँग यति धेरै व्यस्त हुन्छन् कि उनीहरूलाई आफ्नो लुगाफाटो र शरीरको सरसफाइमा कत्ति पनि ध्यान हुँदैन।
१०. बालबालिकामा वैयक्तिक भिन्नता आउनुका ५ कारणहरू के-के हुन्? [ ५ अंक ]
एउटै उमेर र कक्षाका बालबालिकाहरू पनि शारीरिक, मानसिक र स्वभावका दृष्टिले एकअर्काभन्दा फरक हुन्छन्। यसरी वैयक्तिक भिन्नता आउनुका ५ मुख्य कारणहरू निम्न छन्:
- वंशानुगत गुण (Heredity): बाबु-आमाबाट वंशाणु (Genes) मार्फत सरेर आउने शारीरिक बनोट र बौद्धिक क्षमताले मुख्य भिन्नता ल्याउँछ।
- पारिवारिक वातावरण: बालबालिका हुर्कने घरको वातावरण र हुर्काउने शैलीले उनीहरूको स्वभाव र बानीबेहोरामा फरक पार्छ।
- पोषण र स्वास्थ्य: गर्भावस्थादेखि नै प्राप्त गर्ने पौष्टिक आहार र स्वास्थ्य सेवाले बालबालिकाको शारीरिक वृद्धि र मानसिक तीक्ष्णतामा ठूलो भिन्नता ल्याउँछ।
- सामाजिक र सांस्कृतिक पृष्ठभूमि: बालक हुर्किएको समाज, भाषा, धर्म र संस्कृतिले उसको मूल्यमान्यता र सोचमा विविधता ल्याउँछ।
- शैक्षिक अवसर: प्राप्त गरेको शिक्षाको स्तर र विद्यालयको वातावरणले बालबालिकाको सिकाइ क्षमता र रुचिमा भिन्नता सिर्जना गर्छ।
११. उत्तर बाल्यावस्थामा देखिने सिर्जनात्मक उमेरका लक्षणहरू के हुन्? [ ५ अंक ]
उत्तर बाल्यावस्थालाई सिर्जनात्मक उमेर भनिन्छ किनभने यस बेला बालकको कल्पना शक्ति निकै फराकिलो हुन्छ। यसका मुख्य लक्षणहरू निम्न छन्:
- जिज्ञासु स्वभाव: वरपरका घटना र वस्तुहरू कसरी बन्छन् वा कसरी काम गर्छन् भनेर जान्न निकै उत्सुक हुन्छन्।
- रचनात्मक कार्यमा रुचि: चित्रहरू कोर्ने, माटो वा कागजका विभिन्न वस्तुहरू बनाउने कार्यमा लामो समय रमाउँछन्।
- कल्पनाशीलताको प्रयोग: आफूले प्राप्त गरेको ज्ञान र देखेका कुराहरूलाई जोडेर नयाँ सोच र कल्पनाको संसार निर्माण गर्छन्।
- समस्या समाधानको प्रयास: सानातिना खेलौना बिग्रिएमा आफैं खोल्ने र बनाउने प्रयास गर्छन्।
- नवीनताको चाहना: एउटै कुरा दोहोर्याउनु भन्दा पनि आफ्नो क्षमतालाई नयाँ र फरक रचनात्मक कार्यमा लगाउन बढी चाहन्छन्।
१२. घरायसी कार्यको बोझले बालकको विकासमा कसरी असर पार्छ? [ ५ अंक ]
बालबालिकालाई उनीहरूको क्षमता भन्दा बढी घरायसी वा बाहिरी काममा लगाउँदा उनीहरूको सर्वाङ्गीण विकासमा नकारात्मक असर पर्छ:
- शैक्षिक अवसरबाट वञ्चित: कामको बोझले गर्दा बालबालिकाले विद्यालय जाने, गृहकार्य गर्ने र पढ्ने पर्याप्त समय पाउँदैनन्।
- शारीरिक थकावट र कमजोरी: कलिलो उमेरमा अत्यधिक शारीरिक श्रम गर्दा बालकको वृद्धि र विकासमा बाधा पुग्छ।
- खेलकुद र मनोरञ्जनको अभाव: खेल्ने र रमाउने उमेरमा कामको बोझ थपिँदा उनीहरूले सिर्जनात्मक क्षमता विकास गर्ने अवसर गुमाउँछन्।
- मानसिक तनाव र नैराश्यता: आफ्ना दौंतरीहरू विद्यालय गएको देख्दा उनीहरूमा हीनताबोध र संवेगात्मक समस्याहरू उत्पन्न हुन्छन्।
- व्यक्तित्व निर्माणमा बाधा: निरन्तरको दबाबले गर्दा बालकको सिर्जनशीलता नष्ट हुन्छ र उसको समग्र व्यक्तित्व निर्माणमा गम्भीर बाधा पुग्छ।
१३. सुरक्षाको अनुभूतिले बालकको सिकाइमा कसरी मद्दत गर्छ? [ ५ अंक ]
शारीरिक र मनोवैज्ञानिक सुरक्षा बाल विकास र सिकाइको पूर्वसर्त हो। यसले सिकाइमा निम्न तरिकाले मद्दत गर्छ:
- निर्भिकता र साहस: आफू सुरक्षित छु भन्ने महसुस भएपछि बालबालिकाले डराउनुको सट्टा निर्भिकतापूर्वक नयाँ कुराहरू अन्वेषण गर्ने साहस गर्छन्।
- आत्मविश्वासमा वृद्धि: गल्ती गर्दा सुधारको अवसर पाइन्छ भन्ने विश्वासले उनीहरूमा आत्मविश्वास बढाउँछ।
- एकाग्रता र ध्यान: शान्त र सुरक्षित वातावरण हुँदा बालकको ध्यान विचलित हुँदैन र सिकाइ प्रभावकारी हुन्छ।
- सकारात्मक सम्बन्ध: सुरक्षाको अनुभूतिले बालकलाई अभिभावक र शिक्षकसँग खुला रूपमा आफ्ना कुरा राख्न र अन्तरक्रिया गर्न सहज बनाउँछ।
- संवेगात्मक सन्तुलन: डर, त्रास र चिन्ताको अभावमा बालकको मानसिक र संवेगात्मक सन्तुलन कायम रहन्छ, जुन द्रुत सिकाइको लागि आधार हो।
१४. यौवनावस्थामा देखिने नकारात्मक अवस्थाका ५ कारणहरू लेख्नुहोस्। [ ५ अंक ]
यौवनावस्थालाई ‘नकारात्मक अवस्था’ पनि भनिन्छ किनभने यस बेला बालबालिकाको स्वभावमा अचानक विद्रोही र चिडचिडेपन देखा पर्छ। यसका ५ कारणहरू निम्न छन्:
- हार्मोनको प्रभाव: शरीरमा एक्कासी वृद्धि रस र यौन हार्मोनहरूको उत्पादन तीव्र हुँदा शरीरले तुरुन्तै सन्तुलन गर्न नसक्नाले संवेगात्मक अस्थिरता आउँछ।
- शारीरिक परिवर्तनप्रतिको चिन्ता: आफ्नो शरीरमा आएका तीव्र र नयाँ परिवर्तनहरू प्रति उनीहरूमा कौतूहलता र चिन्ता हुन्छ।
- स्वतन्त्रताको चाहना: यस उमेरमा उनीहरू आफूलाई ठूलो भइसकेको ठान्छन् र अभिभावकको नियन्त्रणलाई अनावश्यक हस्तक्षेप मान्छन्।
- पहिचानको सङ्कट: म बच्चा हुँ कि वयस्क हुँ भन्ने द्विविधाले गर्दा उनीहरूमा पहिचानको सङ्कट उत्पन्न हुन्छ।
- साथीभाइको दबाब (Peer Pressure): साथीहरूको समूहमा आफूलाई अब्बल देखाउने होडबाजीले गर्दा कहिलेकाहीं नकारात्मक बाटो अपनाउँछन्।
१५. उत्तर बाल्यावस्थाका ५ विकासात्मक कार्यहरू लेख्नुहोस्। [ ५ अंक ]
रोबर्ट ह्याभिगहर्स्टका अनुसार उत्तर बाल्यावस्था (६-१३ वर्ष) मा बालबालिकाले पूरा गर्नुपर्ने प्रमुख ५ विकासात्मक कार्यहरू निम्न छन्:
- शारीरिक सीपहरू सिक्नु: विद्यालय वा घरबाहिर खेलिने साधारण खेलहरू (दौडने, उफ्रने, पौडी खेल्ने आदि) का लागि आवश्यक शारीरिक सीपहरू सिक्नु।
- दौँतरी समूहसँग समायोजन: आफ्नो उमेर समूहका साथीहरूसँग मिलेर बस्न, खेल्न र समूहको नियम पालना गर्न सिक्नु।
- सामाजिक र लैङ्गिक भूमिका: समाजले अपेक्षा गरेअनुसारको केटा र केटीको उपयुक्त लैङ्गिक तथा सामाजिक भूमिकाहरूको पहिचान र विकास गर्नु।
- आधारभूत शैक्षिक सीप: विद्यालय शिक्षा मार्फत पढाइ, लेखाइ र अङ्कगणित (3Rs) सम्बन्धी आधारभूत सीपहरू विकास गर्नु।
- स्वतन्त्रता र मूल्यमान्यताको विकास: आफ्ना दैनिक कामहरू आफैं गर्ने स्वतन्त्रताको विकास गर्नुका साथै सही र गलत छुट्याउन सक्ने नैतिक मूल्यमान्यता निर्माण गर्नु।
ग. लामो उत्तर ( ८ अंक भारका १५ प्रश्नहरू)
१. बाल विकासको अवधारणा प्रष्ट पार्दै यसमा वैयक्तिक भिन्नताका आधारहरूको वर्णन गर्नुहोस्। [ ८ अंक ]
बाल विकासको अवधारणा: बाल विकास भनेको आमाको गर्भमा बास बसेदेखि लिएर परिपक्व अवस्था (करिब १८ वर्ष) सम्म बालकमा आउने गुणात्मक र परिमाणात्मक परिवर्तनहरूको शृङ्खला हो। यसले बालकको शारीरिक वृद्धि, मानसिक वा बौद्धिक विकास, संवेगात्मक सन्तुलन र सामाजिकीकरणको समग्र पक्षलाई समेट्छ।
वैयक्तिक भिन्नताका आधारहरू:
वैयक्तिक भिन्नताका आधारहरू:
- शारीरिक भिन्नता: एउटै उमेरका भए तापनि बालबालिकाहरूको उचाइ, तौल र छालाको रङमा स्पष्ट फरकपना हुन्छ।
- बौद्धिक/मानसिक भिन्नता: बालबालिकाहरूको सिक्ने गति, स्मरण शक्ति, तर्क गर्ने क्षमता र सिर्जनशीलतामा ठूलो भिन्नता पाइन्छ।
- व्यक्तित्व र स्वभावगत भिन्नता: बालकको स्वभाव (अन्तर्मुखी वा बहिर्मुखी), रुचि, चाहना र दैनिक व्यवहारमा विविधता पाइन्छ।
- वंशानुगत भिन्नता: आफ्ना पुर्खाबाट जीन (Genes) मार्फत प्राप्त हुने जन्मजात गुणहरूका कारण बालबालिका जन्मँदै एकअर्काभन्दा फरक हुन्छन्।
- वातावरणीय भिन्नता: बालबालिका हुर्कने भौगोलिक परिवेश, सामाजिक संस्कृति र पारिवारिक आर्थिक अवस्थाले उनीहरूको विकासको अवसरमा भिन्नता ल्याउँछ।
- संवेगात्मक भिन्नता: खुसी, रिस, ईर्ष्या, डर र सहानुभूति जस्ता संवेगहरू प्रकट गर्ने शैली र तिनलाई नियन्त्रण गर्ने क्षमतामा बालबालिकापिच्छे फरकपना हुन्छ।
- सामाजिक भिन्नता: अरूसँग घुलमिल हुने, साथी बनाउने र समाजमा अन्तरक्रिया गर्ने क्षमतामा बालबालिकाहरू बीच स्पष्ट भिन्नता पाइन्छ।
- रुचि र अभिक्षमता (Aptitude) मा भिन्नता: कोही बालकलाई सङ्गीत मन पर्छ भने कोहीलाई खेलकुद वा चित्रकला।
२. पूर्व बाल्यावस्थाका मुख्य विशेषताहरूको विस्तृत चर्चा गर्नुहोस्। [ ८ अंक ]
परिचय: जन्मेको २ वर्ष पूरा भएदेखि ६ वर्षसम्मको अवधिलाई बाल मनोविज्ञानमा ‘पूर्व बाल्यावस्था’ (Early Childhood) भनिन्छ। यो अवस्था शारीरिक वृद्धिको हिसाबले केही सुस्त भए पनि मानसिक, भाषिक र संवेगात्मक विकासका दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण र तीव्र गतिको अवस्था हो।
पूर्व बाल्यावस्थाका मुख्य विशेषताहरू:
पूर्व बाल्यावस्थाका मुख्य विशेषताहरू:
- समस्यामूलक वा दुःखदायी उमेर: बालबालिकाहरू जिद्दी गर्ने, रोइकराइ गर्ने, खाना नखाने र भनेको नमान्ने भएकाले उनीहरूलाई हुर्काउन कठिन हुन्छ।
- खेलौनाको उमेर: यस अवस्थाका बालबालिकाहरू आफ्ना खेलौनाहरूसँग एक्लै खेल्न र काल्पनिक संसारमा रमाउन बढी चाहन्छन्।
- पूर्व विद्यालय उमेर: यो औपचारिक रूपमा विद्यालय जानुअघि आधारभूत बानीबेहोरा सिक्ने तयारीको उमेर हो।
- जिज्ञासा वा अन्वेषणको उमेर: बालबालिकाले जे देख्छन् त्यसैको बारेमा ‘यो के हो?’, ‘किन यस्तो भयो?’ भन्दै अनगिन्ती प्रश्नहरू सोधेर हैरान पार्छन्।
- नक्कल गर्ने उमेर: बालबालिकाहरूले घरका ठूला मान्छे, शिक्षक वा टेलिभिजनका पात्रहरूले बोलेको र हिँडेको हुबहु नक्कल गरेर सिक्छन्।
- आधार स्तम्भको उमेर: मनोवैज्ञानिकहरूका अनुसार व्यक्तिको सम्पूर्ण जीवनको व्यक्तित्वको जग (Foundation) यही उमेरमा बस्दछ।
- पूर्व बालसमूहको उमेर: यो अवस्थाको अन्त्यतिर बालबालिकाहरू विस्तारै छरछिमेकका आफ्नै उमेरका साथीहरूसँग मिल्न र खेल्न थाल्छन्।
- संवेगात्मक प्रदर्शनको उमेर: आफ्ना भावनाहरू लुकाउन जान्दैनन्। खुसी हुँदा अत्यधिक रमाउने र रिसाउँदा भुइँमा लडिबुडी खेल्ने जस्ता तीव्र संवेगहरू प्रदर्शन गर्छन्।
३. उत्तर बाल्यावस्थालाई किन ‘बालसमूह’ र ‘सिर्जनात्मक उमेर’ भनिन्छ? व्याख्या गर्नुहोस्। [ ८ अंक ]
परिचय: ६ वर्षदेखि लिएर यौवनावस्था सुरु हुनुभन्दा अगाडिसम्म (करिब १३ वर्ष) को अवधिलाई उत्तर बाल्यावस्था (Late Childhood) भनिन्छ। यो अवस्था बालबालिकाको सामाजिक दायरा फराकिलो हुने र नयाँ सीपहरू सिक्ने महत्त्वपूर्ण चरण हो।
क. बालसमूहको उमेर (Gang Age) भनिनुका कारणहरू:
क. बालसमूहको उमेर (Gang Age) भनिनुका कारणहरू:
- समूहको निर्माण: बालबालिकाहरू अब घरको साँघुरो घेराबाट बाहिर निस्केर साथीहरूसँग घुलमिल हुन्छन् र आफ्नो छुट्टै समूह निर्माण गर्छन्।
- साथीहरूको नियमलाई प्राथमिकता: उनीहरू घरका आमाबाबुको निर्देशन भन्दा आफ्ना दौँतरी समूहले बनाएका नियम र मान्यताहरूलाई बढी कडा रूपमा पालना गर्छन्।
- समूहप्रतिको बफादारिता: आफ्नो समूहका साथीहरूलाई जोगाउन जस्तोसुकै झुट बोल्न तयार हुने र समूहको गोप्यता कायम राख्ने प्रवृत्ति हुन्छ।
- सामाजिकीकरणको अभ्यास: यही समूहमा बसेर उनीहरूले सहकार्य गर्ने, नेतृत्व लिने र प्रतिस्पर्धा गर्ने जस्ता जीवनोपयोगी सामाजिक व्यवहारहरू सिक्ने अवसर पाउँछन्।
- नयाँ कुरा सिक्ने उत्सुकता: यस उमेरका बालबालिकामा केही नयाँ जान्ने र आफ्नो क्षमता प्रदर्शन गर्ने तीव्र भोक हुन्छ।
- रचनात्मक कार्यमा संलग्नता: चित्रहरू कोर्ने, माटो वा बालुवाका घरहरू बनाउने जस्ता रचनात्मक कार्यमा उनीहरू आफ्नो धेरै समय र ऊर्जा खर्च गर्छन्।
- समस्या समाधानमा मौलिकता: कुनै खेलौना बिग्रिएमा आफैंले खोल्ने र जोड्ने प्रयास गर्छन् र आफ्नै मौलिक तर्कहरू निर्माण गर्छन्।
- कल्पनालाई मूर्तरूप दिने प्रयास: आफूले सिकेका कुरा र देखेका सपनाहरूलाई चित्र वा वस्तु मार्फत नवीन कार्यमा लगाउने प्रयास गर्छन्।
४. यौवनावस्थामा आउने शारीरिक र मनोवैज्ञानिक परिवर्तनहरूको चर्चा गर्नुहोस्। [ ८ अंक ]
परिचय: यौवनावस्था (Puberty) बाल्यावस्थाबाट किशोरावस्थामा प्रवेश गराउने एक छोटो तर अत्यन्तै क्रान्तिकारी परिवर्तनको अवस्था हो। यस अवस्थामा बालकको शरीर र मन दुवैमा उथलपुथल ल्याउने परिवर्तनहरू हुन्छन्।
१. शारीरिक परिवर्तनहरू:
१. शारीरिक परिवर्तनहरू:
- शारीरिक उछाल (Growth Spurt): उचाइ र तौलमा अचानक र तीव्र गतिमा वृद्धि हुन्छ। मांसपेशीहरू कडा र विकसित हुन थाल्छन्।
- हार्मोनको उत्पादन: केटाहरूमा टेस्टोस्टेरोन र केटीहरूमा एस्ट्रोजेन जस्ता यौन हार्मोनको उत्पादन सुरु हुन्छ।
- प्राथमिक यौन लक्षणको विकास: प्रजनन अङ्गहरूको आकारमा वृद्धि हुने र सन्तान उत्पादन गर्न सक्ने क्षमताको सुरुवात हुन्छ।
- द्वितीयक यौन लक्षणको विकास: केटाहरूको दाह्रीजुँगा आउने, काँध फराकिलो हुने र केटीहरूको स्तनको विकास हुने जस्ता परिवर्तनहरू देखा पर्छन्।
- नकारात्मक अवस्था र विरक्तपन: हार्मोनको एक्कासी परिवर्तनले गर्दा बालबालिका विना कारण दिक्क मान्ने, झर्किने र एकान्तमा बस्न रुचाउने हुन्छन्।
- विद्रोही स्वभाव र द्वन्द्व: अभिभावक र शिक्षकको निर्देशनलाई हस्तक्षेप सम्झन्छन् र वैचारिक द्वन्द्व परिरहन्छ।
- शारीरिक परिवर्तनप्रतिको चिन्ता: आफ्नो अनुहारमा डन्डीफोर वा स्वरमा परिवर्तन हुँदा अरूसँग तुलना गरेर चिन्तित हुने गर्छन्।
- विपरीत लिङ्गीप्रतिको आकर्षण: यौनिक विकाससँगै प्राकृतिक रूपमै विपरीत लिङ्गीप्रति आकर्षण बढ्ने र प्रेम भावना जाग्रत हुने हुन्छ।
- पहिचानको खोजी: “म को हुँ?”, “मेरो लक्ष्य के हो?” भन्ने दार्शनिक प्रश्नहरू मनमा खेल्ने र आफ्नो छुट्टै पहिचान खोज्ने प्रयास गर्छन्।
५. बाल विकासमा प्रभाव पार्ने वातावरणीय तत्वहरूको विस्तृत वर्णन गर्नुहोस्। [ ८ अंक ]
परिचय: बालकको विकास वंशाणुगत गुण र वातावरणको अन्तरक्रियाको प्रतिफल हो। वंशाणुले बालकको विकासको आधाररेखा तयार गर्छ भने वातावरणले त्यो आधारलाई कति माथि लैजाने भन्ने निर्धारण गर्छ।
बाल विकासमा प्रभाव पार्ने प्रमुख वातावरणीय तत्वहरू:
बाल विकासमा प्रभाव पार्ने प्रमुख वातावरणीय तत्वहरू:
- परिवारको सामाजिक र आर्थिक स्तर: सम्पन्न र शिक्षित परिवारमा हुर्कने बालबालिकाले गुणस्तरीय खाना, स्वास्थ्य सेवा र शैक्षिक अवसर पाउँछन्।
- अभिभावकको शिक्षा र पालनपोषण शैली: शिक्षित र सचेत अभिभावकले बालकलाई सही मार्गदर्शन र बालमैत्री वातावरण दिन्छन्।
- पोषण र स्वास्थ्य: गर्भ अवस्थादेखि नै प्राप्त गर्ने सन्तुलित आहारले मस्तिष्क र शरीरको विकासमा प्रत्यक्ष प्रभाव पार्छ।
- घरायसी कार्यको बोझ: खेल्ने र पढ्ने उमेरमा अत्यधिक शारीरिक श्रम वा घरायसी कामको बोझ बोकाउँदा बालकको शैक्षिक प्रगति रोकिन्छ।
- सुरक्षा र मनोवैज्ञानिक वातावरण: डर, त्रास र झैझगडा नहुने शान्त पारिवारिक वातावरणले बालकको संवेगात्मक स्थिरता ल्याउँछ।
- विद्यालय र शिक्षकको भूमिका: विद्यालयको भौतिक वातावरण, शिक्षकको व्यवहार र शिक्षण विधिले बालकको बौद्धिक र सामाजिक विकासमा ठूलो प्रभाव पार्छ।
- दौँतरी समूह र साथीभाइ: बालकले कस्तो साथीको सङ्गत गर्छ भन्ने कुराले उसको चरित्र र व्यवहार निर्धारण गर्छ।
- लिङ्गीय भेदभाव र सामाजिक संस्कृति: छोरा र छोरीमा गरिने भेदभावले बालिकाको आत्मसम्मानमा ठेस पुर्याउँछ र मिडिया तथा प्रविधिको प्रयोगले पनि बालबालिकाको सोच र व्यवहारमा गहिरो प्रभाव पारिरहेको छ।
६. शिक्षण सिकाइमा बाल मनोविज्ञानको महत्व र आवश्यकतामाथि प्रकाश पार्नुहोस्। [ ८ अंक ]
परिचय: बाल मनोविज्ञानले बालबालिका कसरी सिक्छन्, उनीहरूको रुचि के छ र कुन उमेरमा कस्तो व्यवहार देखाउँछन् भन्ने कुराको वैज्ञानिक अध्ययन गर्छ।
शिक्षण सिकाइमा बाल मनोविज्ञानको महत्व र आवश्यकता:
शिक्षण सिकाइमा बाल मनोविज्ञानको महत्व र आवश्यकता:
- बालबालिकाको अवस्था र रुचिको पहिचान: बालक कुन विकासात्मक चरणमा छ र उसको रुचि केमा छ भन्ने बुझेर सोही अनुसारको शैक्षिक योजना बनाउन मनोविज्ञानले मद्दत गर्छ।
- वैयक्तिक भिन्नता अनुरूपको शिक्षण: बाल मनोविज्ञानले शिक्षकलाई सबैको वैयक्तिक भिन्नता चिनेर समावेशी शिक्षण रणनीति अपनाउन सिकाउँछ।
- उपयुक्त शिक्षण विधिको छनोट: बालबालिकाको उमेर र मानसिक स्तर हेरेर कुन विधि प्रभावकारी हुन्छ भनेर छनोट गर्न मार्गदर्शन गर्छ।
- बालमैत्री कक्षाकोठाको निर्माण: डर र सजायको सट्टा प्रेम र मनोवैज्ञानिक सिद्धान्तहरूको प्रयोग गरी कक्षाकोठालाई रमाइलो र भयरहित बनाउन सहयोग गर्छ।
- सिकाइ समस्या र अनुशासनहीनताको समाधान: विद्यार्थीले किन पढ्न मानेन वा किन झैझगडा गर्यो भन्ने कुराको भित्री मनोवैज्ञानिक कारण पत्ता लगाई सकारात्मक अनुशासन कायम गर्न महत्वपूर्ण उपायहरू सुझाउँछ।
- प्रेरणा र पुनर्बलको प्रयोग: विद्यार्थीलाई कसरी सिकाइप्रति उत्प्रेरित गर्ने र सकारात्मक पुनर्बलको प्रयोग कसरी गर्ने भन्ने सीप शिक्षकलाई प्रदान गर्छ।
- प्रभावकारी मूल्याङ्कन प्रणाली: विद्यार्थीको क्षमताको सही र वैज्ञानिक ढङ्गले मूल्याङ्कन गर्न र सुधारात्मक शिक्षण गर्न टेवा पुर्याउँछ।
- पाठ्यक्रम र पाठ्यसामग्री निर्माण: विद्यार्थीको उमेर र बौद्धिक स्तर सुहाउँदो पाठ्यक्रम र शैक्षिक सामग्रीहरू निर्माण तथा प्रयोग गर्न शिक्षाविद्हरूलाई आधार प्रदान गर्छ।
७. उत्तर बाल्यावस्थाका विकासात्मक कार्यहरूको सूची तयार गरी यसको महत्व लेख्नुहोस्। [ ८ अंक ]
परिचय: उत्तर बाल्यावस्था (६-१३ वर्ष) मा बालबालिकाहरू औपचारिक शिक्षाको सुरुवात गर्ने र समाजसँग बढी अन्तरक्रिया गर्ने चरणमा हुन्छन्। समाजले यस उमेरका बालबालिकाबाट केही निश्चित सीप र व्यवहारको अपेक्षा गर्छ, जसलाई विकासात्मक कार्य भनिन्छ।
उत्तर बाल्यावस्थाका प्रमुख विकासात्मक कार्यहरूको सूची:
उत्तर बाल्यावस्थाका प्रमुख विकासात्मक कार्यहरूको सूची:
- शारीरिक सीपहरू सिक्नु: विद्यालय वा साथीहरूसँग खेलिने साधारण खेलहरूका लागि आवश्यक शारीरिक सीप र सन्तुलन सिक्नु।
- दौँतरी समूहसँग समायोजन: आफ्नो उमेर समूहका साथीहरूसँग घुलमिल हुन, सहकार्य गर्न, नेतृत्व स्वीकार गर्न र समूहको नियम पालना गर्न सिक्नु।
- आधारभूत शैक्षिक सीप हासिल गर्नु: पढाइ (Reading), लेखाइ (Writing) र आधारभूत गणित (Arithmetic) सम्बन्धी सीपहरू विकास गर्नु।
- लैङ्गिक भूमिकाको विकास: समाजले अपेक्षा गरे अनुरूप पुरुष (केटा) वा महिला (केटी) को उपयुक्त लैङ्गिक र सामाजिक भूमिकाहरू पहिचान गर्नु।
- व्यक्तिगत स्वतन्त्रताको विकास: आफ्ना दैनिक कामहरू आफैं गर्ने र सानातिना निर्णयहरू आफैं गर्न सक्ने स्वतन्त्रताको विकास गर्नु।
- मूल्यमान्यता र नैतिकताको विकास: समाजमा के सही हो र के गलत हो भन्ने छुट्याउन सक्ने क्षमता र नैतिक आचरणको विकास गर्नु।
- सामाजिक संस्थाहरूप्रतिको धारणा: आफ्नो परिवार, विद्यालय, धर्म र समाजका अन्य संस्थाहरूप्रति सकारात्मक धारणा निर्माण गर्नु।
- स्वस्थ दृष्टिकोणको विकास: आफ्नो शरीर, स्वास्थ्य र सरसफाइप्रतिको सकारात्मक र स्वस्थ दृष्टिकोण विकास गर्नु।
८. यौवनावस्थाका बालबालिकालाई अभिभावक र शिक्षकले कसरी सहयोग गर्न सक्छन्? [ ८ अंक ]
परिचय: यौवनावस्था शारीरिक र संवेगात्मक रूपमा निकै उथलपुथल हुने सङ्क्रमणकालीन अवस्था हो। यस बेला बालबालिकाहरूलाई दण्ड वा नियन्त्रणभन्दा पनि अभिभावक र शिक्षकको सही मार्गदर्शन र मायाको खाँचो पर्दछ।
सहयोग गर्ने प्रमुख उपायहरू:
सहयोग गर्ने प्रमुख उपायहरू:
- शारीरिक परिवर्तनबारे पूर्व जानकारी: यौवनावस्था सुरु हुनु अगावै उनीहरूको शरीरमा आउने स्वाभाविक परिवर्तनहरूका बारेमा वैज्ञानिक र सत्य जानकारी दिने।
- मित्रवत् व्यवहार र परामर्श: शिक्षक र अभिभावकले हाकिमको भूमिका नखेली एउटा मिल्ने साथी र सल्लाहकारको भूमिका निर्वाह गर्नुपर्छ।
- नकारात्मक व्यवहारमा सहनशीलता: यस अवस्थामा देखिने झर्किने वा विद्रोही व्यवहार हार्मोनको कारणले हो भन्ने बुझी माया र धैर्यतापूर्वक सम्झाउनुपर्छ।
- गोपनीयताको सम्मान: उनीहरूको डायरी पढ्ने, कोठामा विना अनुमति पस्ने वा साथीहरूसँगको कुरामा अनावश्यक हस्तक्षेप गर्नु हुँदैन।
- यौन शिक्षा र सरसफाइको ज्ञान: विद्यालय र घर दुवै ठाउँमा उनीहरूलाई प्रजनन स्वास्थ्य र सुरक्षित व्यवहारका बारेमा व्यावहारिक ज्ञान दिनुपर्छ।
- रचनात्मक कार्यमा संलग्नता: उनीहरूको शरीरमा बढेको अतिरिक्त ऊर्जालाई सही ठाउँमा लगाउन खेलकुद, सङ्गीत वा चित्रकलामा प्रशस्त अवसर दिनुपर्छ।
- निर्णय प्रक्रियामा सहभागिता: उनीहरूलाई बच्चा ठान्नुको सट्टा घर वा विद्यालयका सामान्य निर्णयहरूमा उनीहरूको पनि राय लिने र जिम्मेवारी दिने गर्नाले आत्मसम्मान बढ्छ।
- तनावमुक्त वातावरणको सिर्जना: साथीभाइको दबाब वा पढाइको अनावश्यक बोझ नदिई सिकाइ र व्यक्तिगत विकासका लागि अनुकूल वातावरण सिर्जना गरिदिनुपर्छ।
९. पूर्व बाल्यावस्थालाई किन ‘व्यक्तित्व विकासको आधार’ मानिन्छ? तर्कहरू दिनुहोस्। [ ८ अंक ]
परिचय: पूर्व बाल्यावस्था (२ देखि ६ वर्ष) मानव जीवनको जग हो। मनोवैज्ञानिक सिग्मन्ड फ्रायडले भनेका छन्, बालक भविष्यमा जे बन्ने हो त्यसको स्वरूप पहिलो चार/पाँच वर्षमै तय भइसकेको हुन्छ।
यसलाई व्यक्तित्व विकासको आधार मानिनुका पछाडि निम्न तर्कहरू रहेका छन्:
यसलाई व्यक्तित्व विकासको आधार मानिनुका पछाडि निम्न तर्कहरू रहेका छन्:
- मूल बानीबेहोराको निर्माण: मानिसको जीवनभर रहने आधारभूत बानीहरू (सरसफाइ, खाने बानी, अनुशासित हुने बानी) यही उमेरमा बस्दछ।
- संवेगात्मक ढाँचाको सुरुवात: बालकले रिस, खुसी, डर र माया जस्ता संवेगहरू कसरी प्रकट गर्ने र अरूको भावनालाई कसरी बुझ्ने भन्ने कुराको आधारभूत अभ्यास यही उमेरमा गर्छ।
- सामाजिकीकरणको जग: अरूसँग कसरी बोल्ने, साथीहरूसँग कसरी खेल्ने र ठूलालाई कसरी आदर गर्ने भन्ने सामाजिक मूल्यमान्यताको जग यही बेला बस्छ।
- भाषा र सञ्चारको विकास: बालकले यही अवस्थामा मातृभाषाका अधिकांश शब्दहरू र वाक्य संरचना सिकिसक्छ।
- सिर्जनात्मकता र कल्पना शक्तिको सुरुवात: बालकको जिज्ञासु स्वभाव र माटो/कागजबाट नयाँ कुरा बनाउने अभ्यासले उसको भविष्यको सिर्जनशीलता र वैज्ञानिक सोचको जग खन्ने काम गर्छ।
- स्व-अवधारणा (Self-Concept) को निर्माण: “म को हुँ?”, “म के गर्न सक्छु?” भन्ने आफ्नो बारेमा बन्ने धारणा (आत्मविश्वास वा हीनताबोध) यही उमेरमा अभिभावकले गर्ने व्यवहारबाट तय हुन्छ।
- नक्कलबाट संस्कारको सिकाइ: बालबालिकाले यस उमेरमा आफ्ना आमाबाबुको हुबहु नक्कल गर्छन् र यही नक्कलको माध्यमबाट परिवारको संस्कार र संस्कृति ग्रहण गर्छन्।
- मस्तिष्कको सर्वाधिक विकास: वैज्ञानिकहरूका अनुसार मानिसको मस्तिष्कको करिब ८०-९०% विकास जीवनको पहिलो ५ वर्षभित्र भइसक्छ।
१०. पोषण र सुरक्षाको अभावले बाल विकासमा पार्ने दीर्घकालीन असरहरू के-के हुन्? [ ८ अंक ]
परिचय: पोषणले बालकको शरीर र मस्तिष्कलाई ऊर्जा दिन्छ भने सुरक्षा (भौतिक र मनोवैज्ञानिक) ले बालकलाई भयरहित वातावरणमा फुल्न र फक्रन मद्दत गर्छ। यी दुवैको अभावले बालकको जीवनमा गम्भीर र दीर्घकालीन असरहरू निम्त्याउँछ।
पोषणको अभाव (कुपोषण) ले पार्ने दीर्घकालीन असरहरू:
पोषणको अभाव (कुपोषण) ले पार्ने दीर्घकालीन असरहरू:
- स्थायी शारीरिक अशक्तता: उमेर अनुसार उचाइ नबढ्ने (पुड्कोपन), तौल नबढ्ने र शारीरिक रूपमा जिन्दगीभर कमजोर र अशक्त हुने अवस्था आउँछ।
- बौद्धिक क्षमतामा स्थायी ह्रास: मस्तिष्कको विकास हुने मुख्य समयमै उचित पोषण नपाउँदा स्मरण शक्ति र सिकाइ क्षमता (IQ) जीवनभरका लागि कमजोर हुन्छ।
- दीर्घकालीन रोगहरूको सिकार: रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले बालबालिका बारम्बार बिरामी पर्ने र भविष्यमा पनि दीर्घकालीन रोगहरूको चपेटामा पर्ने सम्भावना उच्च हुन्छ।
- आर्थिक विपन्नताको चक्र: कमजोर स्वास्थ्य र शिक्षाका कारण भविष्यमा राम्रो रोजगारी पाउन नसक्ने र जीवनभर गरिबी र विपन्नताको दुष्चक्रबाट बाहिर निस्कन नसक्ने हुन्छन्।
- संवेगात्मक ट्रमा: बाल्यकालमा भोग्नुपरेको हिंसा वा डरले बालबालिकाको मनमा गहिरो चोट (Trauma) बस्छ, जसले जीवनभर डिप्रेसन वा एन्जाइटी निम्त्याउन सक्छ।
- हीनताबोध र कमजोर आत्मविश्वास: सुरक्षित वातावरण नपाएका बालबालिकामा सधैं डराउने र आफूलाई अरूभन्दा कमजोर ठान्ने हीनताबोधको भावना विकास हुन्छ।
- सामाजिक समायोजनमा कठिनाइ र आपराधिक प्रवृत्ति: माया र सुरक्षा नपाएका बालबालिका भविष्यमा समाजसँग घुलमिल हुन नसक्ने र आक्रामक हुने हुन सक्छन्।
- सिर्जनशीलताको मृत्यु: त्रासपूर्ण वातावरणमा बालकले कहिल्यै स्वतन्त्र रूपमा सोच्न र आफ्ना प्रतिभा देखाउन सक्दैन।
११. उत्तर बाल्यावस्थामा देखिने ‘नकारात्मक व्यवहार’ व्यवस्थापन गर्ने उपायहरू के हुन्? [ ८ अंक ]
परिचय: उत्तर बाल्यावस्था (६-१३ वर्ष) मा बालबालिकाहरूमा अटेरी गर्ने, झगडा गर्ने, झुट बोल्ने र भनेको नटेर्ने जस्ता व्यवहारहरू देखा पर्छन्। यसलाई ‘दुःख दिने उमेर’ पनि भनिन्छ। यस्ता नकारात्मक व्यवहारहरूलाई सही ढङ्गले व्यवस्थापन गर्नु अभिभावक र शिक्षकको मुख्य दायित्व हो।
व्यवहार व्यवस्थापन गर्ने प्रमुख उपायहरू:
व्यवहार व्यवस्थापन गर्ने प्रमुख उपायहरू:
- कारणको खोजी र विश्लेषण: बालकले किन जिद्दी गरिरहेको छ वा किन रिसाइरहेको छ भन्ने कुराको पछाडिको भित्री मनोवैज्ञानिक वा वातावरणीय कारण बुझ्ने प्रयास गर्नुपर्छ।
- कठोर सजायको सट्टा सकारात्मक उपाय: कुटपिट गर्ने वा कडा सजाय दिनाले बालबालिका झन् विद्रोही बन्छन्। त्यसको सट्टा सम्झाउने र बुझाउने बालमैत्री बाटो अपनाउनुपर्छ।
- सिर्जनात्मक क्रियाकलापमा व्यस्तता: बालबालिकाको खाली समय र ऊर्जालाई खेलकुद, चित्रकला, सङ्गीत वा अन्य सिर्जनात्मक कार्यहरूमा व्यस्त राख्नुपर्छ।
- सकारात्मक पुनर्बलको प्रयोग: बालबालिकाले राम्रो काम गर्दा तत्काल प्रशंसा गर्ने वा सानो पुरस्कार दिने गर्नुपर्छ, ताकि सकारात्मक व्यवहार दोहोरियोस्।
- नियम र अनुशासनको स्पष्टता: घर र विद्यालयमा के गर्न हुने र के गर्न नहुने भन्ने स्पष्ट नियमहरू बालबालिकाकै सहभागितामा बनाउने।
- साथीभाइको सङ्गतमा निगरानी: बालकले कस्तो साथीसँग सङ्गत गरिरहेको छ भन्ने कुरामा अभिभावकले गोप्य निगरानी राख्ने।
- पर्याप्त समय र सुन्ने बानी: अभिभावकले बालबालिकासँग प्रशस्त समय बिताउने र उनीहरूका कुरा, गुनासा र समस्याहरू धैर्यतापूर्वक सुनिदिने।
- जिम्मेवारीको बोध: बालबालिकालाई उमेर सुहाउँदा साना-साना कामहरूको जिम्मेवारी दिनाले उनीहरूमा उत्तरदायित्वको भावना बढ्छ।
१२. वैयक्तिक भिन्नताले शिक्षण सिकाइमा पार्ने प्रभाव र शिक्षकको भूमिका लेख्नुहोस्। [ ८ अंक ]
परिचय: वैयक्तिक भिन्नता भन्नाले बालबालिकाहरूको रुचि, क्षमता, सिक्ने गति र स्वभावमा हुने फरकपनालाई बुझाउँछ। कक्षाकोठामा रहेका सबै विद्यार्थीहरूको सिक्ने शैली एउटै हुँदैन।
वैयक्तिक भिन्नताले शिक्षण सिकाइमा पार्ने प्रभाव:
वैयक्तिक भिन्नताले शिक्षण सिकाइमा पार्ने प्रभाव:
- सिकाइ गतिमा फरक: एउटै पाठ पढाउँदा पनि तीक्ष्ण बुद्धिका विद्यार्थीले छिट्टै बुझ्छन् भने सुस्त सिकारुलाई त्यही कुरा बुझ्न धेरै समय र दोहोर्याइरहनुपर्ने हुन्छ।
- शिक्षण विधिको प्रभावकारिता: एउटा शिक्षण विधि सुनेर सिक्ने विद्यार्थीलाई प्रभावकारी होला, तर गरेर सिक्ने विद्यार्थीलाई त्यही विधि निरस हुन सक्छ।
- रुचि र प्रेरणामा भिन्नता: विद्यार्थीको रुचि फरक हुने हुँदा सबैलाई एउटै विषयवस्तुले समान रूपमा उत्प्रेरित गर्न सक्दैन।
- अनुशासनमा प्रभाव: विद्यार्थीको आवश्यकता अनुसार शिक्षण नहुँदा कक्षामा अनुशासनहीनता बढ्न सक्छ।
- भिन्नताको पहिचान र स्वीकार: सबैभन्दा पहिले शिक्षकले ‘सबै विद्यार्थी एउटै साँचोमा ढालिएका हुँदैनन्’ भन्ने सत्यलाई स्वीकार गरी प्रत्येक विद्यार्थीको क्षमता र रुचि पहिचान गर्नुपर्छ।
- विविध शिक्षण विधिको प्रयोग: श्रव्य, दृश्य र क्रियाकलापमा आधारित (Visual, Auditory, Kinesthetic) विधिहरूको सम्मिश्रण गरेर पढाउनुपर्छ।
- शैक्षिक सामग्रीको उपयोग: अमूर्त कुरालाई मूर्त बनाउन र सबै प्रकारका विद्यार्थीको ध्यान खिच्न विविध शैक्षिक सामग्रीहरूको प्रयोग गर्नुपर्छ।
- समूह कार्य र सहकार्यात्मक सिकाइ: जान्ने, ठिक्कको र कमजोर विद्यार्थीहरूलाई एउटै समूहमा मिसाएर राख्नुपर्छ, जसले गर्दा उनीहरूले एकअर्काबाट सिक्न सकून्।
- व्यक्तिगत ध्यान र पृष्ठपोषण: सुस्त सिकारुलाई थप समय दिएर सिकाउने र तीक्ष्ण सिकारुलाई थप चुनौतीपूर्ण कार्यहरू दिई प्रत्येक विद्यार्थीलाई व्यक्तिगत पृष्ठपोषण (Feedback) दिनुपर्छ।
- विशेष आवश्यकता भएकालाई सहयोग: शारीरिक अपाङ्गता वा विशेष सिकाइ आवश्यकता भएका बालबालिकालाई विशेष माया र सहयोग प्रदान गर्नुपर्छ।
१३. बालबालिकाको अपेक्षा र आवश्यकता परिपूर्ति नहुँदा देखिने समस्याहरू चर्चा गर्नुहोस्। [ ८ अंक ]
परिचय: मनोवैज्ञानिक अब्राहम मास्लोका अनुसार मानवका केही आधारभूत आवश्यकताहरू हुन्छन् (शारीरिक, सुरक्षा, स्नेह, सम्मान र आत्म-सन्तुष्टि)। जब परिवार, विद्यालय वा समाजबाट बालबालिकाका यी जायज अपेक्षाहरू परिपूर्ति हुँदैनन्, तब उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर विचलन आउँछ।
अपेक्षा र आवश्यकता परिपूर्ति नहुँदा देखिने मुख्य समस्याहरू:
अपेक्षा र आवश्यकता परिपूर्ति नहुँदा देखिने मुख्य समस्याहरू:
- शारीरिक विकासमा अवरोध: आधारभूत शारीरिक आवश्यकता पूरा नहुँदा बालक कुपोषणको सिकार हुने, शारीरिक वृद्धि रोकिने र बारम्बार बिरामी पर्ने हुन्छ।
- हीनताबोध र कमजोर मनोविज्ञान: आफूले चाहेको माया, सम्मान र शैक्षिक सामग्री नपाउँदा बालबालिकाले हीनताबोध (Inferiority Complex) को सिकार हुन्छन्।
- नकारात्मक धारणा र नैराश्यता: आफ्ना सानातिना अपेक्षाहरू पनि बारम्बार बेवास्ता हुँदा उनीहरूमा परिवार, शिक्षक र सम्पूर्ण समाजप्रति नकारात्मक धारणा र चरम निराशा पैदा हुन्छ।
- संवेगात्मक अस्थिरता र आक्रामकता: स्नेह र सुरक्षाको आवश्यकता पूरा नहुँदा बालबालिका छिटो रिसाउने, आक्रामक हुने र झैझगडा गर्ने स्वभावका बन्छन्।
- शैक्षिक ह्रास र विद्यालय छोड्ने दर: पढ्नको लागि आवश्यक वातावरण र सामग्रीको अभावमा विद्यालयका क्रियाकलापमा रुचि घट्दै जान्छ र अन्त्यमा पढाइ बिग्रने र बीचमै विद्यालय छोड्ने (Drop-out) समस्या बढ्छ।
- पारिवारिक सम्बन्धमा चिसोपन: आफ्ना आवश्यकता पूरा नकरिदिने आमाबाबुसँग बालबालिकाको सम्बन्धमा दूरी बढ्न थाल्छ।
- नैतिक विचलन र दुर्व्यसनी: आवश्यकता पूरा गर्न नसक्दा बालबालिकाले गलत बाटो रोज्न सक्छन् र लागुपदार्थको कुलतमा फस्ने उच्च जोखिम रहन्छ।
- व्यक्तित्व निर्माणमा पूर्ण क्षति: समग्रमा, समयमै मलजल नपाएको बिरुवा जस्तै आवश्यकता पूरा नभएको बालकको भविष्यको सफल व्यक्तित्व निर्माणको आधार नै भताभुङ्ग हुन्छ।
१४. यौवनावस्थामा देखिने संवेगात्मक अस्थिरताका लक्षण र कारणहरू व्याख्या गर्नुहोस्। [ ८ अंक ]
परिचय: यौवनावस्था (Puberty) बाल्यकालबाट वयस्कतातर्फको सङ्क्रमण हो। यो अवस्थामा शारीरिक परिवर्तनसँगै मानसिक र संवेगात्मक (Emotional) रूपमा निकै ठूलो उथलपुथल आउँछ। बालकका संवेगहरू नियन्त्रण बाहिर हुने र पलपलमा परिवर्तन हुने अवस्थालाई नै संवेगात्मक अस्थिरता भनिन्छ।
संवेगात्मक अस्थिरताका लक्षणहरू:
संवेगात्मक अस्थिरताका लक्षणहरू:
- छिटो रिसाउने र झर्किने: सानातिना कुरामा वा सामान्य सुझाव दिँदा पनि अचानक झोक्किने, रिसाउने र ढोका ढ्याङ्ग लगाएर हिँड्ने।
- एकान्तपनको चाहना: विना कारण दिक्क मान्ने र परिवारका सदस्यहरूसँग बोल्न नचाहने।
- मुड स्विङ (Mood Swings): एकैछिनमा धेरै खुसी भएर हाँस्ने र लगत्तै विना कारण दुःखी हुने वा रुने।
- विद्रोही स्वभाव: घर वा विद्यालयका नियमहरू तोड्न खोज्ने र अभिभावकले भनेको कुराको सिधै प्रतिवाद गर्ने।
- चिन्ता र तनाव: आफ्नो भविष्य र शरीरको बनोटको बारेमा अनावश्यक चिन्ता लिने र तनावमा रहने।
- हार्मोनल परिवर्तन: शरीरमा एक्कासी उत्पादन हुने यौन र वृद्धि हार्मोनहरू स्नायु प्रणालीलाई अति उत्तेजित बनाउँछन्।
- शारीरिक परिवर्तनप्रतिको कौतूहलता र डर: अचानक बढेको उचाइ, स्वर धोद्रो हुनु जस्ता नयाँ शारीरिक परिवर्तनहरूलाई सहज रूपमा ग्रहण गर्न नसक्दा अस्थिरता पैदा हुन्छ।
- वयस्कहरूको व्यवहार र दबाब: समाज र अभिभावकले उनीहरूलाई कहिले ‘ठूलो भइस्’ भनेर जिम्मेवारी थोपर्ने र कहिले ‘बच्चै छस्’ भनेर नियन्त्रण गर्न खोज्ने दोहोरो व्यवहारले द्विविधा र रिस उठ्छ।
- साथीभाइको प्रभाव र स्वीकृति: दौँतरी समूहले आफूलाई स्वीकार गर्छ कि गर्दैन भन्ने डरले संवेगात्मक तनाव बढाउँछ।
- पहिचानको सङ्कट: आफू बच्चा वा वयस्क के हो भन्ने प्रष्ट नहुँदा उत्पन्न हुने मानसिक सङ्घर्षले अस्थिरता ल्याउँछ।
१५. बाल मनोविज्ञानका आधारमा कक्षाकोठाको वातावरणलाई कसरी सुधार गर्न सकिन्छ? [ ८ अंक ]
परिचय: सिकाइ केवल शिक्षकले पढाएर मात्र हुँदैन; यसको लागि कक्षाकोठाको वातावरण अत्यन्त अनुकूल र बालमैत्री हुनुपर्छ। बाल मनोविज्ञानले विद्यार्थीको उमेर, रुचि र मानसिक अवस्थालाई केन्द्रमा राखेर कक्षाकोठा व्यवस्थापन गर्नुपर्ने कुरामा जोड दिन्छ।
बाल मनोविज्ञानका आधारमा कक्षाकोठाको वातावरण सुधार गर्ने उपायहरू:
बाल मनोविज्ञानका आधारमा कक्षाकोठाको वातावरण सुधार गर्ने उपायहरू:
- भौतिक वातावरणको व्यवस्थापन: कक्षाकोठा हावादार, उज्यालो र सफा हुनुपर्छ। विद्यार्थीको उमेर र उचाइ अनुसारको बस्ने बेन्च/डेस्कको व्यवस्था हुनुपर्छ।
- भयरहित र मनोवैज्ञानिक सुरक्षा: कक्षाकोठामा शिक्षक हातमा छडी लिएर हाकिमको रूपमा नभई सहजकर्ता र साथीको रूपमा प्रस्तुत हुनुपर्छ।
- जिज्ञासा र प्रश्नको प्रोत्साहन: विद्यार्थीलाई प्रश्न सोध्न डराउनु पर्ने वातावरणको अन्त्य गरी उनीहरूका जिज्ञासाहरूलाई धैर्यतापूर्वक सुन्ने संस्कार बसाल्नुपर्छ।
- वैयक्तिक भिन्नताको सम्मान: सबै विद्यार्थी एउटै स्तरका हुँदैनन् भन्ने बुझी कमजोर विद्यार्थीलाई होच्याउने विभेदपूर्ण व्यवहार पूर्ण रूपमा हटाउनुपर्छ।
- सिकाइलाई रोचक र क्रियाकलापमुखी बनाउने: एकोहोरो भाषण विधिको सट्टा सिकाइलाई खेल, कथाकथन, समूह कार्य र प्रोजेक्ट वर्कसँग जोडेर विद्यार्थीलाई सक्रिय रूपमा सहभागी गराउनुपर्छ।
- सकारात्मक पुनर्बलको प्रयोग: विद्यार्थीको सानो भन्दा सानो सफलतामा पनि ताली बजाउन लगाउने, ‘स्याबास’ भन्ने वा स्टार दिने जस्ता सकारात्मक पुनर्बलको अधिकतम प्रयोग गर्नुपर्छ।
- शैक्षिक सामग्रीको पर्याप्त प्रयोग: पाठसँग सम्बन्धित चित्र, भिडियो, मोडल र स्थानीय शैक्षिक सामग्रीहरूको प्रयोग गरेर सिकाइलाई मूर्त बनाउनुपर्छ।
- मानसिक स्वास्थ्यमा ध्यान: कुनै विद्यार्थी अचानक चुपचाप बस्यो वा आक्रामक भयो भने उसलाई गाली गर्नुको सट्टा उसको मानसिक स्वास्थ्य बुझेर मनोवैज्ञानिक परामर्श दिने व्यवस्था गर्नुपर्छ।
Also Read: Class 10 SEE Notes
Compulsory Subjects
Optional Subjects
