Class 10 Social Unit 7-Chapter 9 | दोस्रो विश्वयुद्धका परिणाम र नेपालको भूमिका (Dosro Vishwayuddhaka Parinam ra Nepalko Bhumika)-हाम्रो विगत
Dosro Vishwayuddhaka Parinam ra Nepalko Bhumika - SEE Class 10 Social Notes

एकाइ ७: हाम्रो विगत (Hamro Bigat)

पाठ ९: दोस्रो विश्वयुद्धका परिणाम र नेपालको भूमिका (Dosro Vishwayuddhaka Parinam ra Nepalko Bhumika)

१. द्वितीय विश्वयुद्धका परिणामको छोटकरीमा वर्णन गर्नुहोस् ।

उत्तर: द्वितीय विश्वयुद्धका प्रमुख परिणामहरू निम्नानुसार छन्:

  • अपार धनजनको क्षति: यस युद्धमा करिब २ करोड २० लाख मानिस मारिएको र ११ सय खर्ब डलर रकम खर्च भएको अनुमान गरिएको छ।
  • विश्व दुई ध्रुवमा विभाजित र शीतयुद्धको सुरुवात: यस युद्धपछि रुस र अमेरिका शक्तिशाली भए। यी दुई राष्ट्रबीच वैचारिक र राजनीतिक मतभेदसमेत बढ्न गयो। सैन्य युद्ध नभए पनि दुई राष्ट्रबीचको सम्बन्ध चिसो भयो, जसलाई शीतयुद्ध (Cold War) भनिन्छ।
  • आर्थिक पुनः निर्माणका नाममा विभिन्न प्रतिस्पर्धी संस्थाको स्थापना: अमेरिकाको नेतृत्वमा नाटो (NATO) को स्थापना भयो, भने रुसले पनि वार्सा सन्धि (Warsaw Pact) सङ्गठन स्थापना गर्‍यो। त्यस्तै, रुसले मोलोटोभ प्लान बनायो भने अमेरिकाको मार्शल प्लान सुरु भयो।
  • उपनिवेशवादको अन्त्य र विश्वभरि प्रजातान्त्रिक लहर: दोस्रो विश्वयुद्धपछि विश्वभरि नै उपनिवेशवादको अन्त्य भयो र प्रजातान्त्रिक आन्दोलनको लहर चल्यो।
  • संयुक्त राष्ट्रसङ्घको स्थापना: लन्डन घोषणापत्र र एट्लान्टिक चार्टर जस्ता सम्झौताको जगमा टेकेर घोषणापत्र तयार पारी सन् १९४५ अक्टोबर २४ मा विधिवत् रूपमा संयुक्त राष्ट्रसङ्घ (United Nations) को स्थापना भयो।

२. एट्लान्टिक चार्टर भनेको के हो ?

उत्तर: लन्डन घोषणापत्र जारी भएको तीन महिनापछि सन् १९४१ अगस्ट १४ मा विश्वशान्तिका लागि अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन रुजवेल्ट र बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलले आन्ध्र महासागरमा युद्धपोतभित्र रहेर एउटा घोषणापत्र तयार पारे। यसलाई एट्लान्टिक चार्टर (Atlantic Charter) भनिन्छ।

३. पर्ल हार्बर घटना जापानका लागि किन घातक हुन पुग्यो ?

उत्तर: दोस्रो विश्वयुद्धमा अमेरिका तटस्थ बसेको थियो। यसरी युद्धमा तटस्थ रहेको अमेरिकाको पर्ल हार्बर (Pearl Harbor) मा रहेको अमेरिकी सेना र पानीजहाजमाथि जापानले सन् १९४१ डिसेम्बर ७ मा बम हानी ध्वस्त बनायो। त्यसपछि अमेरिकाद्वारा जापान, जर्मनी र इटालीका विरुद्ध युद्धको घोषणा गरी युद्ध प्रारम्भ भयो। सन् १९४५ मा अमेरिकाद्वारा जापानको हिरोसिमा र नागासाकी सहरमा एटम बम प्रहार गरियो। त्यसपछि जापान आत्मसमर्पण गर्न बाध्य भयो। तसर्थ, यो घटना जापानका लागि घातक हुन पुग्यो।

४. दोस्रो विश्वयुद्ध अगाडि शक्तिशाली हिटलरले युद्धको क्रममै आत्महत्या गर्नुपर्नाका कारण के-के हुन्? लेख्नुहोस् ।

उत्तर: दोस्रो विश्वयुद्ध अगाडि शक्तिशाली हिटलरले युद्धको क्रममै आत्महत्या गर्नुपर्नाका कारणहरू निम्न छन्:

  • जापानका कारण युद्धमा तटस्थ रहेको अमेरिकाले पनि युद्धको घोषणा गर्नु।
  • इटालीले युद्धमा हार मानी आत्मसमर्पण गर्नु।
  • जर्मनीको कब्जामा रहेको पेरिस मित्र राष्ट्रका संयुक्त फौजद्वारा मुक्त गर्नु र जर्मनीको भयानक क्षति हुनु।
  • इटालीका शासक मुसोलिनी (Mussolini) को हत्या हुनु।

५. नेपालका राणा शासक ब्रिटिस सरकारप्रति बफादार हुनाका कारण के-के हुन्? स्पष्ट पार्नुहोस् ।

उत्तर: नेपालका राणा शासक ब्रिटिस सरकारप्रति बफादार थिए। सुगौली सन्धि (Sugauli Treaty) पछि नेपाल-ब्रिटिस सरकारबीचको सम्बन्ध निकै राम्रो थियो। ब्रिटिसहरूले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न सुरु गरेका थिए। त्यसबेला विश्वभरि नै अङ्ग्रेजहरूको उपनिवेश रहेको थियो र उनीहरू शक्तिशाली थिए। त्यसैले ब्रिटिस सरकारसँग बफादार भएमा नेपालमा आफ्नो सत्ता टिकाउन सजिलो हुन्छ भन्ने राणाहरूको बुझाइ रहेको थियो। उनीहरूप्रति बफादार बनेर राणाहरूले धेरै फाइदा पनि लिएका थिए।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top