2. Industry: Class 10 Economics Notes | उद्योग
Importantedunotes.com
Back to Economics Notes

Welcome to the complete study guide on Industry (उद्योग) under Nepal’s Economy. This is Chapter 2 of Unit 5 for Class 10 Economics students in Nepal preparing for their SEE board exams.

Here you will find structured theoretical notes on the classification of industries, industrial policies, present state, problems, and solutions of the industrial sector in Nepal, along with fully solved textbook exercises.

Explore our complete study list here: Class 10 Economics Notes.

१. सैद्धान्तिक अवधारणा (Theoretical Concept)

परिचय

उद्योगलाई उत्पादनको द्वितीय क्षेत्र (Secondary Sector) मा समावेश गरिन्छ। यसले विभिन्न प्रकारका कच्चापदार्थ, श्रम र प्रविधिको प्रयोग गरी वस्तु तथा सेवाको उत्पादन गर्छ। अर्थात् उद्योग अर्थतन्त्रको त्यो क्षेत्र हो जसले कच्चापदार्थलाई रूपान्तरण गरेर नयाँ वस्तु उत्पादन गर्छ। यस पाठमा उद्योगको परिचय, प्रकार, महत्त्व, वर्तमान अवस्था, समस्या र समाधानका उपायहरूको अध्ययन गर्ने छौं।

उद्योग ➔ कच्चापदार्थ, श्रम, प्रविधि ➔ वस्तु उत्पादन

(क) उद्योगको परिचय (Introduction to Industry)

समान रूपका वस्तुको उत्पादन गर्ने सङ्गठित संस्था वा प्रतिष्ठानहरूको समूहलाई उद्योग भनिन्छ जुन निश्चित स्थानमा अवस्थित हुन्छ। यसले कच्चापदार्थलाई प्रशोधन (Processing) वा रूपान्तरण (Transformation) गरेर उपभोग्य वा पुँजीगत वस्तु उत्पादन गर्छ र बिक्रीवितरणका लागि वस्तु उपलब्ध गराउँछ। अर्थशास्त्रमा उद्योग भन्नाले उत्पादनका साधनहरू (जस्तै : भूमि, पुँजी, श्रम र सङ्गठन) को प्रयोग गरी वस्तुको उत्पादन तथा बिक्रीवितरण गर्ने फर्महरूको समूहलाई बुझाउँछ।

औद्योगिक नीति, २०६७ ले कुनै व्यक्ति, फर्म वा कम्पनीले आयआर्जन गर्ने उद्देश्य लिई वस्तु तथा सेवा प्रदान गर्ने आर्थिक क्रियाकलापलाई औद्योगिक व्यवसाय मानेको छ। औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार “उद्योग भन्नाले विभिन्न प्रकृतिका आधारमा उत्पादन गर्ने एकाइ सम्झनुपर्छ” भनिएको छ।

अतः उद्योग भनेको वस्तु उत्पादन र बिक्रीवितरण गरी आयआर्जन गर्ने उद्देश्यले स्थापना गरिएको व्यावसायिक एकाइ हो।

(ख) उद्योगको प्रकार (Types of Industry)

औद्योगिक क्रान्तिभन्दा पहिला उद्योगलाई कृषि, हस्तकला र व्यापारिक उत्पादनमा सीमित गरिन्थ्यो। औद्योगिक क्रान्तिपश्चात् मेसिन र प्रविधिको प्रयोगले उद्योगको स्वरूप परिवर्तन भयो। यसले गर्दा उद्योगको वर्गीकरणको आवश्यकता महसुस गरियो। उद्योगको वर्गीकरणले आर्थिक योजना तथा नीति निर्माण गर्न, लगानी निर्णय गर्न, रोजगारीको अवसर पहिचान गर्न र अन्तर्राष्ट्रिय व्यापारमा क्षेत्रगत योगदान थाहा पाउन सहयोग पुगेको छ। उद्योगको वर्गीकरणलाई स्थिर पुँजी र वस्तु तथा सेवाको प्रकृतिका आधारमा निम्नानुसार विभाजन गरेर प्रस्तुत गरिएको छ :

(अ) स्थिर पुँजीका आधारमा (On the Basis of Fixed Capital)

औद्योगिक व्यवसाय ऐन, २०७६ ले स्थिर पुँजीका आधारमा उद्योगलाई निम्नानुसार वर्गीकरण गरेको छ :

i. लघु उद्यम (Micro Enterprises): घरजग्गाबाहेक बढीमा बिस लाख रुपियाँसम्मको स्थिर पुँजी रहेको, उद्यमी स्वयम् उद्योगको सञ्चालन र व्यवस्थापन संलग्न रहेको उद्योगलाई लघु उद्यम भनिन्छ। यस्तो उद्यममा उद्यमीसहित बढीमा नौ जनासम्म कामदार रहेका हुन्छन्। उद्यमको वार्षिक कारोबार एक करोड रुपियाँभन्दा कम रहेको हुन्छ। ऊर्जाको खपत बढीमा २० किलोवाट वा सोभन्दा कम रहेको हुनुपर्छ।
ii. घरेलु उद्योग (Cottage Industry): परम्परागत सिप र प्रविधिमा आधारित उद्योगलाई घरेलु उद्योग भनिन्छ। यस्तो उद्योग श्रममूलक, स्थानीय कच्चापदार्थ, स्थानीय प्रविधिलगायतमा आधारित हुन्छ। ऊर्जाको खपत बढीमा ५० किलोवाट वा सोभन्दा कम रहेको हुनुपर्छ।
iii. साना उद्योग (Small Industry): लघु उद्यम र घरेलु उद्योगबाहेकको पन्ध्र करोड रुपियाँसम्म स्थिर पुँजी भएको उद्योग साना उद्योग हुन्।
iv. मझौला उद्योग (Medium Industry): पन्ध्र करोड रुपियाँभन्दा बढी पचास करोड रुपियाँसम्म स्थिर पुँजी भएको उद्योग मझौला उद्योग हुन्।
v. ठुला उद्योग (Large Industry): पचास करोड रुपियाँभन्दा बढी स्थिर पुँजी भएका उद्योग ठुला उद्योग हुन्।

(आ) वस्तु तथा सेवाको प्रकृतिका आधारमा (On the Basis of Nature of Goods and Services)

वस्तु तथा सेवाको प्रकृतिका आधारमा उद्योगलाई देहायबमोजिम वर्गीकरण गरिएको छ :

i. ऊर्जामूलक उद्योग (Energy Based Industry): ऊर्जा उत्पादन गर्ने व्यवसायमा संलग्न उद्योगहरू ऊर्जामूलक उद्योगअन्तर्गत पर्छन्।
ii. उत्पादनमूलक उद्योग (Production Based Industry): कच्चापदार्थ, सहायक कच्चापदार्थ वा अर्धप्रशोधित कच्चापदार्थको प्रयोग वा प्रशोधन गरी मालवस्तु उत्पादन गर्ने उद्योगहरू उत्पादनमूलक उद्योगअन्तर्गत पर्छन्।
iii. कृषि तथा वन पैदावारमा आधारित उद्योग (Agriculture and Forest Product Based Industry): कृषि वा वन पैदावारमा आधारित कच्चापदार्थबाट कुनै वस्तु उत्पादन गर्ने वा कृषि वा वन पैदावारसँग सम्बन्धित उद्योगहरू यसअन्तर्गत पर्छन्।
iv. खनिज उद्योग (Mining Industry): खनिज उत्खनन वा प्रशोधन गरी कुनै धातु वा धातुबाहेकका खनिज पदार्थ उत्पादन गर्ने उद्योगहरू यसअन्तर्गत पर्छन्।
v. पूर्वाधार उद्योग (Infrastructure Industry): भौतिक पूर्वाधार निर्माण गरी सञ्चालन गर्ने उद्योगहरू यसअन्तर्गत पर्छन्।
vi. पर्यटन उद्योग (Tourism Industry): पर्यटन सेवासँग सम्बन्धित उद्योगहरू यसअन्तर्गत पर्छन्।
vii. सूचना प्रविधि, सञ्चार प्रविधि तथा सूचना प्रसारण प्रविधिमा आधारित उद्योग (Information Technology, Communication and Information Dissemination Technology Based Industry): सूचना सङ्कलन, प्रशोधन र प्रसारणका लागि प्रविधि प्रयोग गरी सूचना, सञ्चार वा सूचना प्रसारण प्रविधिको सेवा उपलब्ध उद्योगहरू यसअन्तर्गत पर्छन्।
viii. service-based industry (Service Based Industry): सेवा उत्पादन वा प्रदान गर्ने उद्योगहरू यसअन्तर्गत पर्छन्।

(ग) उद्योगको महत्त्व (Importance of Industry)

कुनै पनि देशको आर्थिक विकासका लागि उद्योगको आवश्यकता पर्छ। उद्योगको विकासले एकातिर रोजगारीका अवसरमा वृद्धि हुन्छ भने अर्कोतिर आवश्यक वस्तु तथा सेवाको पूर्ति हुन्छ। साथै अप्रत्यक्ष रूपमा कृषि क्षेत्रको विकासलाई टेवा पुग्छ। देशमा गरिबी कम गर्नका लागि उद्योगको महत्त्वपूर्ण भूमिका हुन्छ। नेपाल जस्तो आयातमा आधारित अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा रूपान्तरण गरी व्यापार घाटा कम गर्न उद्योग क्षेत्रको महत्त्वपूर्ण भूमिका हुन्छ। उद्योगले राष्ट्रिय आय बढाउन, पुँजी निर्माण गर्न र आर्थिक विकासलाई तीव्र बनाउन सहयोग गर्छ। नेपालको सन्दर्भमा उद्योगको महत्त्वलाई निम्नानुसार प्रस्तुत गरिएको छ :

(अ) रोजगारीमा वृद्धि (Increase in Employment): उद्योगको विकासले रोजगारीका अवसर बढाउँछ। आर्थिक सर्वेक्षण, २०८१/८२ अनुसार वि.सं. २०८१ फागुनसम्ममा सञ्चालनमा रहेका १० औद्योगिक क्षेत्रभित्र सञ्चालित ६३४ उद्योगमा झन्डै १९ हजार ५ सय व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन्। उद्योगमा थप लगानी बढाइ थप रोजगारीका अवसरहरू सिर्जना गर्न सकिन्छ।
(आ) उत्पादनमा वृद्धि (Increase in Production): औद्योगिकीकरणका कारण देशको उत्पादन बढ्छ। देशको कच्चापदार्थ तथा प्राकृतिक साधनस्रोतको उचित उपयोग हुन्छ। यसले देशको उत्पादन वृद्धि भई आयआर्जन पनि बढ्छ। आर्थिक सर्वेक्षण, २०८१/८२ अनुसार कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान करिब १३ प्रतिशत रहेको देखिन्छ।
(इ) जीवनस्तरमा वृद्धि (Increase in Living Standard): औद्योगिकीकरणले कामदारको दक्षता बढाई कामदारको आम्दानी बढाउन सहयोग गर्छ। जब कामदारको नियमित आयआर्जन हुन्छ तब परिवारका सदस्यको गुणस्तरीय शिक्षा तथा स्वास्थ्य व्यवस्थापन गर्न सहज हुन्छ। साथै जीवनस्तर सुधार गर्न पनि मदत मिल्छ।
(ई) सरकारी राजस्वमा वृद्धि (Increase in Government Revenue): उद्योगको विस्तारसँगै अन्तःशुल्क, मूल्य अभिवृद्धि करलगायतबाट सङ्कलन हुने राजस्व बढ्छ। आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार उद्योगबाट झन्डै २० अर्ब बराबरको राजस्व सङ्कलन हुने अपेक्षा गरिएको छ। त्यस्तै औद्योगिकीकरणमार्फत निर्यात बढाई विदेशी विनिमय सञ्चितिसमेत बढाउन सकिन्छ।
(उ) सामाजिक कल्याणमा वृद्धि (Increase in Social Welfare): औद्योगिक विकासले सरकारको राजस्व बढाउँछ जुन जनताको कल्याणमा खर्च गरिन्छ। यसबाट सडक, अस्पताल, विद्यालय, भवन र पार्कहरू निर्माण गरिन्छन्। यसरी निर्माण भएको पूर्वाधार जनताने समुचित उपभोग गर्न पाउँदा सामाजिक कल्याण अभिवृद्धि हुन्छ।
(ऊ) लगानीमा वृद्धि (Increase in Investment): औद्योगिकीकरणले जनताको आयमा वृद्धि गर्छ। आयमा वृद्धिसँगै बचतदर र लगानीमा वृद्धि हुन्छ। जुन तीव्र आर्थिक वृद्धिदर हासिल गर्नका लागि अनिवार्य छ। आर्थिक सर्वेक्षण, २०८१/८२ अनुसार २०८१ फागुनसम्म १० औद्योगिक क्षेत्रमा नेपाल सरकारबाट करिब रु. ५६ अर्ब ५२ करोड र निजी क्षेत्रबाट रु. २१ अर्ब गरी रु. ७७ अर्ब ५२ करोड लगानी भएको छ।
(ए) कृषि विकास (Development of Agriculture): औद्योगिकीकरणले कृषि क्षेत्रका लागि आवश्यक पर्ने ट्रयाक्टर, थ्रेसर, हार्वेस्टर जस्ता मेसिनरी र आधुनिक सामग्रीहरू उत्पादन गर्छ। यसबाट कृषिको आधुनिकीकरण र व्यवसायीकरण भई कृषिको विकासमा सहयोग पुग्छ।
(ऐ) अन्य क्षेत्रको विकास (Development of Other Sectors): पूर्वाधार विकासका लागि चाहिने फलाम, स्टिल, सिमेन्टलगायतका वस्तुको उत्पादन गरी यातायात, निर्माण, सञ्चारलगायतका क्षेत्रको विकास गर्न उद्योगको महत्त्वपूर्ण भूमिका हुन्छ।

(घ) नेपालमा उद्योगको वर्तमान अवस्था (Current Situation of Industry in Nepal)

नेपालमा औपचारिक रूपमा वि.सं. १९९३ मा विराटनगर जुट मिलको स्थापनापश्चात् उद्योगको स्थापना हुन थालेको हो। नेपालमा हालसम्म ठुला १ हजार ४१९, मझौला २ हजार १३९ र साना उद्योग ५ हजार ९६१ गरी जम्मा ९ हजार ५१९ उद्योग दर्ता भएका छन्। त्यसै गरी लघु, घरेलु तथा साना उद्योग गरी जम्मा ६ लाख ५८ हजार ८६२ दर्ता भएका छन्।

नेपालमा दर्ता भएका उद्योगहरूमा ठुला, मझौला र साना उद्योगहरूको हिस्सा क्रमशः १५, २२ र ६३ प्रतिशत रहेको छ। ठुला, मझौला र साना उद्योगबाट करिब ७ लाख ३१ हजार ५ सय ६० रोजगारी सिर्जना हुने अनुमान छ। नेपालमा ५० करोडभन्दा बढी स्थिर पुँजी भएका ठुला उद्योग, विदेशी लगानीका उद्योगहरूको दर्ता, नियमन र प्रशासन उद्योग विभागले गर्छ भने मझौला, साना, लघु र घरेलु उद्योगहरूको दर्ता, नियमन र प्रशासन प्रदेश सरकारले गर्छ। (स्रोत : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सुधार कार्ययोजना, २०८१)

२०८१ फागुनसम्म दर्ता भएका उद्योगको सङ्ख्याका आधारमा उत्पादनमूलक, सेवामूलक र पर्यटन उद्योगहरूको हिस्सा क्रमशः ३५.८४, २५.७९ र २३.१० प्रतिशत रहेको छ। लगानीका आधारमा ऊर्जामा आधारित उद्योगहरूमा ५६.५५ प्रतिशत, उत्पादनमूलक उद्योगहरूमा २०.९६ प्रतिशत, पर्यटनमा आधारित उद्योगहरूमा ९ प्रतिशत र सबैभन्दा न्यून खनिज उद्योगमा ०.२९ प्रतिशत लगानी स्वीकृत गरिएको छ। (स्रोत : आर्थिक सर्वेक्षण, २०८१/८२)

(ङ) नेपालमा उद्योगका समस्या र समाधानका उपाय (Problems and Measures to Solve the Problem of Industrial Sector in Nepal)

नेपालको उद्योग क्षेत्रका समस्या र समाधानका उपायहरूलाई तलको तालिकामा प्रस्तुत गरिएको छ :

आधार समस्या समस्या समाधानका उपाय
१. औद्योगिक पूर्वाधारउद्योगधन्दा स्थापना र सञ्चालन गर्नका लागि आवश्यक पर्ने औद्योगिक पूर्वाधार, जस्तै : यातायात, सडक, विद्युत्, सञ्चार आदि पर्याप्त छैनन्।औद्योगिक पूर्वाधारहरू, जस्तै : यातायात, सडक, विद्युत्, सञ्चार आदिको विकास र विस्तार गरी औद्योगिक क्षेत्रको सुदृढीकरण गर्नुपर्छ।
२. पुँजीन्यून पुँजी निर्माणले गर्दा उद्योग क्षेत्रमा लगानी गर्न आवश्यक पर्ने पुँजीको अभाव छ। विदेशी लगानी पनि पर्याप्त रूपमा भित्र्याउन सकिएको छैन।स्वदेशी पुँजी वृद्धि गर्नका लागि बचत गर्ने बानीलाई प्रोत्साहन गर्नुपर्छ साथै विदेशी लगानीकर्ताका लागि लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ।
३. प्राविधिक जनशक्तिउद्योगधन्दाका लागि आवश्यक पर्ने प्राविधिक जनशक्तिको कमी छ।श्रमिकलाई प्राविधिक शिक्षा र व्यावसायिक तालिम दिएर दक्ष बनाई प्राविधिक जनशक्तिको अभाव पूरा गर्न सकिन्छ।
४. प्रतिस्पर्धास्वदेशी उद्योगले उत्पादन गरेका वस्तु गुणस्तर र लागतका कारणले विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न सकेका छैनन्।स्वदेशी उद्योगहरूको उत्पादन गर्ने वस्तुको गुणस्तर र लागतमा सुधार गरी प्रतिस्पर्धी बनाउनुपर्छ।
५. अनुसन्धान र विकासस्वदेशी तथा विदेशी मागबमोजिमका वस्तु उत्पादनमा अनुसन्धान र विकासको कमी छ।`स्वदेशी तथा विदेशी बजारमा मागअनुसारका वस्तुहरूको उत्पादन गर्न अनुसन्धान र विकासमा जोड दिनुपर्छ।
६. नीतिनियमउद्योगको विकास तथा विस्तारका लागि आवश्यक पर्ने स्पष्ट नीतिनियमको अभाव छ।उद्योगको विकासका लागि आवश्यक पर्ने स्पष्ट नीति नियम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्छ।

२. अभ्यास (Exercise) – समाधानसहित
अति छोटो उत्तर आउने प्रश्नहरू [1 Mark]

क. लघु उद्यमका लागि वार्षिक कारोबारको सीमा कति हुन्छ ?
उत्तर: लघु उद्यमका लागि वार्षिक कारोबारको सीमा एक करोड रुपियाँभन्दा कम हुन्छ।
ख. घरेलु उद्योग भनेको के हो?
उत्तर: परम्परागत सिप र प्रविधिमा आधारित, श्रममूलक र स्थानीय कच्चापदार्थ प्रयोग गरेर सञ्चालन गरिने उद्योगलाई घरेलु उद्योग भनिन्छ।
ग. कस्ता उद्योगलाई साना उद्योग भनिन्छ ?
उत्तर: लघु उद्यम र घरेलु उद्योगबाहेकको पन्ध्र करोड रुपियाँसम्म स्थिर पुँजी भएको उद्योगलाई साना उद्योग भनिन्छ।
घ. मझौला उद्योगका लागि कति स्थिर पुँजी आवश्यक पर्छ ?
उत्तर: मझौला उद्योगका लागि पन्ध्र करोड रुपियाँभन्दा बढी पचास करोड रुपियाँसम्म स्थिर पुँजी आवश्यक पर्छ।
ङ. ठुलो उद्योगलाई परिभाषित गर्नुहोस्।
उत्तर: पचास करोड रुपियाँभन्दा बढी स्थिर पुँजी भएका उद्योगहरूलाई ठुलो उद्योग भनिन्छ।
च. नेपालको कुल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान कति रहेको छ ?
उत्तर: आर्थिक सर्वेक्षण, २०८१/८२ अनुसार नेपालको कुल गार्हस्थ उत्पादन (GDP) मा औद्योगिक क्षेत्रको योगदान करिब १३ प्रतिशत रहेको छ।
छ. कस्ता उद्योगलाई ऊर्जामूलक उद्योग भनिन्छ ?
उत्तर: जलविद्युत्, सौर्य ऊर्जा लगायतका ऊर्जा उत्पादन गर्ने व्यवसायमा संलग्न उद्योगहरूलाई ऊर्जामूलक उद्योग भनिन्छ।

३. अभ्यास: छोटो उत्तर आउने प्रश्नहरू [5 Marks]

क. उद्योगको उदाहरणसहित परिचय दिनुहोस्। 5 Marks
कच्चापदार्थ, श्रम र प्रविधिको प्रयोग गरी प्रशोधन वा रूपान्तरणमार्फत नयाँ उपभोग्य वा पुँजीगत वस्तु उत्पादन तथा बिक्रीवितरण गर्ने व्यावसायिक एकाइ वा प्रतिष्ठानलाई उद्योग भनिन्छ। औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार आयआर्जन गर्ने उद्देश्य लिई वस्तु तथा सेवा प्रदान गर्ने आर्थिक क्रियाकलाप नै उद्योग हो।
उदाहरण: जुट मिल (कच्चा जुटलाई बोरा बनाउने), सिमेन्ट कारखाना (चुनढुङ्गाबाट सिमेन्ट बनाउने), चाउचाउ उद्योग, कपडा उद्योग आदि।

ख. स्थिर पुँजीका आधारमा उद्योगको वर्गीकरण गर्नुहोस्। 5 Marks
औद्योगिक व्यवसाय ऐन, २०७६ ले स्थिर पुँजीका आधारमा उद्योगलाई निम्न ५ भागमा वर्गीकरण गरेको छ:
१. लघु उद्यम: घरजग्गाबाहेक बढीमा २० लाख रुपियाँसम्म स्थिर पुँजी भएको र वार्षिक कारोबार १ करोडभन्दा कम भएको।
२. घरेलु उद्योग: परम्परागत सिप र प्रविधिमा आधारित उद्योग।
३. साना उद्योग: लघु र घरेलु बाहेकका १५ करोड रुपियाँसम्म स्थिर पुँजी भएका उद्योग।
४. मझौला उद्योग: १५ करोडभन्दा बढी ५० करोड रुपियाँसम्म स्थिर पुँजी भएका उद्योग।
५. ठुला उद्योग: ५० करोड रुपियाँभन्दा बढी स्थिर पुँजी भएका उद्योग।

ग. वस्तु तथा सेवाको प्रकृतिका आधारमा कुनै पाँच प्रकारका उद्योगहरू उल्लेख गरी उदाहरणसमेत दिनुहोस्। 5 Marks
वस्तु तथा सेवाको प्रकृतिका आधारमा उद्योगका पाँच प्रकार र तिनका उदाहरणहरू निम्न छन्:
१. ऊर्जामूलक उद्योग: ऊर्जा उत्पादन गर्ने। (उदाहरण: जलविद्युत् आयोजना, सौर्य ऊर्जा केन्द्र)
२. उत्पादनमूलक उद्योग: कच्चापदार्थ प्रशोधन गरी नयाँ वस्तु बनाउने। (उदाहरण: सिमेन्ट कारखाना, साबुन उद्योग)
३. कृषि तथा वन पैदावारमा आधारित उद्योग: कृषि वा वनको कच्चापदार्थ प्रयोग गर्ने। (उदाहरण: चिया प्रशोधन उद्योग, जडीबुटी उद्योग, काठ मिल)
४. पर्यटन उद्योग: पर्यटन सेवासँग सम्बन्धित। (उदाहरण: होटेल, रिसोर्ट, ट्राभल एजेन्सी)
५. सेवामूलक उद्योग: सेवा उत्पादन वा प्रदान गर्ने। (उदाहरण: अस्पताल, विद्यालय, यातायात कम्पनी)

घ. नेपालमा उद्योगको विद्यमान अवस्था चर्चा गर्नुहोस्। 5 Marks
नेपालमा वि.सं. १९९३ मा विराटनगर जुट मिलको स्थापनासँगै औपचारिक रूपमा उद्योगको सुरुवात भएको हो। नेपालमा उद्योगको वर्तमान अवस्था निम्न प्रकारको छ:
– हाल नेपालमा ठुला १,४१९, मझौला २,१३९ र साना ५,९६१ गरी जम्मा ९,५१९ उद्योग दर्ता भएका छन् भने लघु, घरेलु तथा साना गरी ६ लाख ५८ हजारभन्दा बढी उद्योग दर्ता छन्।
– दर्ता भएका उद्योगहरूमा साना उद्योगको हिस्सा सबैभन्दा धेरै ६३% छ भने मझौलाको २२% र ठुला उद्योगको १५% रहेको छ।
– लगानीका आधारमा हेर्दा सबैभन्दा बढी आकर्षण ऊर्जामूलक उद्योग (५६.५५%) र त्यसपछि उत्पादनमूलक उद्योग (२०.९६%) मा रहेको छ। खनिज उद्योगमा भने लगानी अत्यन्त न्यून (०.२९%) छ।
– समग्रमा उद्योग क्षेत्रले करिब ७ लाख ३१ हजारभन्दा बढीलाई रोजगारी दिएको अनुमान छ।

४. लामो उत्तर आउने प्रश्नहरू [8 Marks]

क. नेपालको सन्दर्भमा उद्योगको महत्त्व बुँदागत रूपमा वर्णन गर्नुहोस्। 8 Marks
नेपाल जस्तो आयातमा आधारित अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा रूपान्तरण गर्न र देशको चौतर्फी विकास गर्न उद्योगको अत्यन्तै ठुलो महत्त्व छ। यसका महत्त्वहरूलाई निम्न बुँदाहरूमा वर्णन गर्न सकिन्छ:
१. रोजगारीमा वृद्धि: उद्योगको विकासले देशमा रहेका हजारौँ युवाहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारीको अवसर प्रदान गर्छ, जसले गर्दा बेरोजगारी समस्या हल हुन्छ।
२. उत्पादनमा वृद्धि र आयात प्रतिस्थापन: स्वदेशकै प्राकृतिक साधन र कच्चापदार्थको उपयोग गरी विभिन्न वस्तुहरू उत्पादन गर्दा राष्ट्रिय आय बढ्छ र विदेशबाट आयात गर्नुपर्ने बाध्यता घट्छ।
३. जीवनस्तरमा सुधार: औद्योगिक रोजगारीले मानिसहरूको नियमित आयआर्जन बढाउँछ। आय बढेपछि परिवारले गुणस्तरीय शिक्षा, स्वास्थ्य र खानपान प्राप्त गर्न सक्छन्, जसले समग्र जीवनस्तर उकासिन्छ।
४. सरकारी राजस्वमा वृद्धि: उद्योगहरूको स्थापना oars विस्तारसँगै सरकारले भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर (VAT) र आयकर बापत ठुलो राजस्व सङ्कलन गर्छ, जुन देश विकासमा खर्च हुन्छ।
५. कृषि क्षेत्रको विकास: उद्योगले कृषिका लागि आवश्यक पर्ने ट्र्याक्टर, थ्रेसर, मल, कीटनाशक औषधी र औजारहरू उत्पादन गर्छ भने कृषिको उत्पादनलाई कच्चापदार्थका रूपमा खपत गरिदिन्छ। यसले कृषिको व्यवसायीकरणमा मद्दत गर्छ।
६. पूर्वाधार विकासमा मद्दत: फलाम, स्टिल, सिमेन्ट जस्ता निर्माण सामग्रीहरू उत्पादन गर्ने उद्योगले देशमा सडक, पुल, र भवन जस्ता भौतिक पूर्वाधार निर्माण गर्न प्रत्यक्ष सहयोग पुर्‍याउँछन्।

ख. नेपालमा उद्योग क्षेत्रमा देखिएका समस्याहरू समाधानका लागि के कस्ता कार्यहरू गर्न सकिन्छ, सुझाव दिनुहोस्। 8 Marks
नेपालको औद्योगिक क्षेत्रको विकास सोचेअनुरूप हुन सकेको छैन। यस क्षेत्रमा देखिएका विभिन्न समस्याहरूलाई समाधान गर्न निम्न कार्यहरू गर्नुपर्ने सुझाव दिन सकिन्छ:
१. औद्योगिक पूर्वाधारको विकास: उद्योग सञ्चालनका लागि नभई नहुने भरपर्दो सडक सञ्जाल, निरन्तर र सस्तो विद्युत् आपूर्ति, र सञ्चार जस्ता आधारभूत पूर्वाधारहरूको तीव्र गतिमा विकास तथा विस्तार गर्नुपर्छ।
२. पुँजी निर्माण र विदेशी लगानी आकर्षण: स्वदेशी पुँजी वृद्धि गर्न जनताको बचत गर्ने बानीलाई प्रोत्साहन गर्नुपर्छ। साथै, विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न लगानीमैत्री, सुरक्षित र झन्झटमुक्त वातावरण (One-Window Policy) सिर्जना गर्नुपर्छ।
३. प्राविधिक तथा दक्ष जनशक्तिको उत्पादन: उद्योगलाई चाहिने दक्ष जनशक्तिको अभाव पूर्ति गर्नका लागि राज्यले प्राविधिक शिक्षा र व्यावसायिक तालिम (CTEVT) केन्द्रहरूको विस्तार गरी बजारको मागअनुसारका जनशक्ति उत्पादन गर्नुपर्छ।
४. गुणस्तर सुधार र प्रतिस्पर्धात्मक क्षमता वृद्धि: स्वदेशी उत्पादनहरूलाई विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउन उत्पादन लागत घटाउने र वस्तुको गुणस्तरमा व्यापक सुधार ल्याउने नीति अख्तियार गर्नुपर्छ।
५. अनुसन्धान र विकासमा लगानी: स्वदेशी र विदेशी बजारमा कुन वस्तुको माग कस्तो छ भनेर पत्ता लगाउन र नयाँ प्रविधिको विकास गर्न अनुसन्धान र विकास (Research and Development – R&D) मा लगानी बढाउनुपर्छ।
६. स्पष्ट र स्थिर नीतिनियमको तर्जुमा: उद्योगी व्यवसायीहरूलाई त्रसित नबनाउन उद्योगको विकास र विस्तारका लागि आवश्यक पर्ने स्पष्ट, स्थिर र प्रोत्साहनमुखी नीति नियमहरू तर्जुमा गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ।

📚 Also Read: Class 10 SEE Notes

Compulsory Subjects

Optional Subjects

Scroll to Top