कर्तव्य (Kartavya)
Comprehensive guide with all exercises, vocabulary, comprehension and detailed analysis of the story ‘कर्तव्य (Kartavya)’ for Class 10 SEE preparation.
Table of Contents (Kartavya)
शब्दभण्डार (Vocabulary) – कर्तव्य
१. दिइएका अर्थ आउने पद पदावली ‘कर्तव्य’ कथाबाट खोजेर लेख्नुहोस् :
२. दिइएका शब्द र तिनले दिने अर्थबिच जोडा मिलाउनुहोस् :
३. दिइएको कथांशबाट उखान र टुक्का पहिचान गरी लेख्नुहोस्ः
गङ्गाधर कसैको आँखामा राखे पनि नबिझाउने खालका मानिस थिए। गाउँले उनलाई न्यायका प्रतिमूर्ति नै ठान्थे। उनी आफू भलो त जगतै भलो भन्ने सोचका मानिस थिए। उनको यो कृति एक कान दुई कान मैदान हुँदै दश गाउँ फैलियो। सबैतिर उनले न्यार्यानसाफ गर्दा कहिल्यै पनि चोरलाई चौतारो साधुलाई शुली गर्दैनन् भन्नेमा सबैको विश्वास थियो। उनको जिब्रो चिप्लो मन कालो थिएन। उनी मनमा एउटा कुरा र मुखले अर्को कुरा गर्दैनथे अर्थात् मनमा लागेका कुरा निर्धक्क भन्ने खुला किताब जस्तै थिए।
उखानः
- आफू भलो त जगतै भलो
- चोरलाई चौतारो साधुलाई शुली
- मनमा एउटा कुरा मुखले अर्को कुरा
टुक्काः
- आँखामा राखे पनि नबिझाउनु
- एक कान दुई कान मैदान
- जिब्रो चिप्लो मन कालो
- खुला किताब जस्तै हुनु
४. दिइएका उखान र टुक्कालाई अलग अलग वाक्यमा प्रयोग गर्नुहोस् :
उखानः
हुने विरुवाको चिल्लो पात
⇒ हुने बिरुवाको चिल्लो पात भनेझै आर्यनले सानैदेखि राम्रो गीत गाउन जानेको थियो।
धान खाने मुसो चोट पाउने भ्यागुतो
⇒ मेरो बेवास्ताले मोबाइल भुइँमा खसेर फुट्यो, बाबाले मोबाइल किन फुटालेको भनेर बहिनीलाई पिट्नुभयो। यो त धान खाने मुसो चोट पाउने भ्यागुतो भइहाल्यो नि।
खाने मुखलाई जुंगाले छेक्दैन
⇒ समीरले बत्ती गएको बेला मोबाइल बालेर भए पढ्छ, खाने मुखलाई जुंगाले छेक्दैन भनेको यही हो।
बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन
⇒ बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भनेझैँ तुल्साले कमसल सामान पनि टिकटकबाट प्रचार गरेरै राम्रो कारोबार गरेकी छन् तर जमुनाले ब्रान्डेड सामान पनि बेच्न सकेकी छैनन् ।
टुक्काः
माया मार्नु
⇒ एसईईपछि जो जहाँ गए पनि माया मार्नु हुन्न है।
कम्मर कस्नु
⇒ परीक्षामा राम्रो अङ्क ल्याउन अहिलेदेखि नै कम्मर कस्नुपर्छ।
कानमा तेल हाल्नु
⇒ शिक्षकले पढाउने बेलामा कानमा तेल हालेर बसे पाठ बुझिदैन।
सुइँकुच्चा ठोक्नु
⇒ चोर पुलिसलाई देखेर सुइँकुच्चा ठोक्यो।
आगो हुनु
⇒ विद्यार्थीहरुले कक्षामा हल्ला गरेपछि शिक्षक रिसले आगो हुनुभयो।
चिसो पस्नु
⇒ मन मिल्ने साथी एक दिन स्कुल नआउँदा मनमा छोडेर गयो कि भन्ने चिसो पस्छ।
बोध र अभिव्यक्ति (Comprehension & Expression)
१. दिइएका शब्दको लेखाइ र उच्चारणमा पाइने भिन्नता पहिचान गर्नुहोस् :
४. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) ‘कर्तव्य’ कथाको सुरु र अन्त्य कुन कुन घटनाबाट भएको छ ?
⇒ ज्वरो आएर गङ्गाधरले संसार छाडेको घटनाबाट कथा सुरु भएको छ भने मुरलीधरले श्रीधरलाई उपचार गराउन हिँडेको घटनाबाट कथाको अन्त्य भएको छ।
(ख) कथामा कति जना पात्र छन्, तिनको नाम भन्नुहोस् ।
⇒ कथामा गङ्गाधर, मुरलीधर, श्रीधर, शशीधर, कमला, रमा, दुलही, गाउँले आदि पात्रहरु रहेका छन्।
(ग) कथामा ग्रामीण समाजको परिवेश झल्काउने तथ्य के के हुन्?
⇒ गरिबका चुलामा आगो नबलेको, सुत्केरी भोको रहेको थाहा पाउँदा अन्नपैसा दिई पठाउने, गाउँले कोही बिरामी परे ओखतीमूलो लिएर झुपडीमा पुग्ने, मलामीहरु गाउँदेखि खोलासम्म पुगेका, मुखिया, प्रधान, अधियाँ, खेतका विषयमा झगडा, चौतारामा बसेर रमिता हेर्ने आदि घटनाहरुले ग्रामीण समाजको परिवेश झल्काउँछन् ।
(घ) कथामा प्रथम वा तृतीय पुरुषमध्ये कुन दृष्टिबिन्दु प्रयोग भएको छ ?
⇒ कथामा तृतीय पुरुष दृष्टिबिन्दु प्रयोग भएको छ।
५. दिइएको कथांश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
त्यस पाजीलाई अँगालो हाल्न जान लागेको होइन कमला। यहाँ बाबुबाजेको सन्तानको मानमर्यादा डुब्न लाग्यो। कुलमा सबैभन्दा जेठो बिहे, उसमाथि त्यत्रा घरानियाँ कुटुम्बका आँगनमा बरियाती लैजानु छ। बाबु चाहिँ फलैंचामा ओछ्यान लाएर लडिरहेछ । जन्तीमा बुढोपाको एउटा छैन। खालि ओठ निचोर्दा दुध झर्ने अल्लारे ठिटा मात्र छन्। घरगृहस्थीको यति ठुलो काममा घरको एक भाइ पनि नगए जोरीपारीले के भन्लान् ?
(क) कथांशका आधारमा वक्ताको चरित्र चित्रण गर्नुहोस् ।
⇒ कथांशका आधारमा वक्ता मानमर्यादको ख्याल राख्ने र आफ्नो कर्तव्य पूरा गर्ने जिम्मेवार व्यक्ति लाग्यो। उनले मनमा कत्ति पनि इख राखेनन् । भाइभाइमा मनमुटाव भए पनि जब कुल घरानाको कुरा आयो तब उनी अरु कुराको पर्वाह नगरी आफ्नो परिवारको इज्जत बचाए। उनले अवस्था हेरेर विवेक पुऱ्याएर काम गरे। यसरी उनी आफ्ना रीतिरिवाजप्रति श्रद्धा राख्ने एउटा आदर्श चरित्रका रुपमा देखापरेका छन् ।
(ख) कथांशमा ‘बाबुबाजेको मानमर्यादा डुब्न लाग्यो’ भन्नुको आशय खुलाउनुहोस् ।
⇒ कथांशमा ‘बाबुबाजेको मानमर्यादा डुब्न लाग्यो’ भन्नुको आशय कुल घरानाको मानमर्यादा र इज्जतमाथि खतरा बढ्यो भन्नु हो। श्रीधरको छोरा शशीधरको धनीमानी कुटुम्बकी छोरीसँग विवाह हुँदै थियो। श्रीधर बिरामी परेर ओछ्यानमा लडेका थिए। जन्तीमा सबै अल्लारे ठिटामात्र थिए । यसरी घरगृहस्थीको यति ठुलो काममा घरको एक भाइ पनि नगए बुबा गङ्गाधरले कमाएको इज्जत गुम्ने आशय कथांशमा व्यक्त भएको छ।
६. दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
“मलाई अब धेरै दिन बाँचुला जस्तो लाग्दैन । मैले जीवनमा हजुरका प्रति धेरै अत्याचार गरेको छु। यस अज्ञानीको सबै अपराध क्षमा गरेर यी नाबालक छोराछोरीको शरण लिइदिनुहोला।” भाइका कुरा सुनेर मुरलीधरले बरर आँसु झारे। मुरलीधर रोएको देखेर श्रीधरका जहान, छोराछोरी पनि रुन लागे। एकछिनपछि मुरलीधरले भाइका निधार, छाती, हात, गोडा सबै अङ्ग छामे । उनको शारीरिक गति देखेर मुरलीधरको हृदयमा दुःखको कोलाहल मच्चियो। केही बेरपछि छातीमा भक्कानु पारेर आँसु झार्दै भने, “”बिसेक हुन्छ वा हरेस नखाऊ। बरू अब यहाँका वैद्यको भर गरेर बस्नुभएन। तिमीलाई देशतिर औषधी गराउन लैजान्छु।””
(क) कथांशमा ‘म’ पात्रले पश्चाताप गर्नुको कारण के हो ?
⇒ कथांशमा ‘म’ पात्रले पश्चाताप गर्नुको कारण ‘म’ पात्रले दाजुप्रति अत्याचार गरेकाले हो ।
(ख) मुरलीधरले भाइप्रति कस्तो व्यवहार देखाए ?
⇒ मुरलीधरले भाइप्रति आदर्श व्यवहार देखाए ।
(ग) सिकिस्त भएपछि मात्र उपचार गर्न लानु ठिक हो, तर्क गर्नुहोस् ।
⇒ सिकिस्त भएपछि मात्र उपचार गर्न लानु ठिक होइन, यस्तो अवस्थामा उपचार गर्दा रोग निको नहुन पनि सक्छ। ।
(घ) ‘हृदयमा दुःखको कोलाहल मच्चिनु’ को आशय खुलाउनुहोस् ।
⇒ ‘हृदयमा दुःखको कोलाहल मच्चिनु’ को आशय मनमा डर बढ्नु हो ।
७. ‘कर्तव्य’ कथा पढी दिइएका संवाद कसले कसलाई भनेका हुन्, भन्नुहोस् :
(क) मेरा दुवै छोरा बराबर हुन्, आधा आधा बाँडेर खानू ।
⇒ गङ्गाधरले छोराहरु मुरलीधर र श्रीधरलाई।
(ख) त्यस महाआत्माको अन्तिम आज्ञा श्रीधरले मान्नैपर्छ।
⇒ गाउँका बुढापाकाहरुले श्रीधरलाई।
(ग) कसैको मरण होस् त यसप्रकारको होस् ।
⇒ गाउँलेहरुले गङ्गाधरको मरणप्रति ।
(घ) त्यस्ता महापुरुषका सन्तान आफ्नो कर्तव्य किन छोड्थे।
⇒ दुलही पक्षकाले मुरलीधरलाई।
(ङ) लौ, घर लगेर भित्र्याऊ।
⇒ मुरलीधरले जन्तीलाई।
(च) दाज्यूलाई खानपिन त राम्ररी गरायौ के ?
⇒ श्रीधरले जन्तीलाई।
(छ) खै, सम्धी पाल्नुभएको छैन, अब मण्डपमा आएर बसिदिनुभएहुन्थ्यो ।
⇒ दुलहीका बुबाले जन्तीलाई।
(ज) यस अज्ञानीको सबै अपराध क्षमा गरेर यी नाबालक छोराछोरीको शरण लिइदिनुहोला।
⇒ श्रीधरले मुरलीधरलाई。
८. ‘कर्तव्य’ कथाका मुख्य मुख्य घटना क्रमबद्ध रूपमा टिपोट गरी कथासार तयार पार्नुहोस् ।
मुख्य घटनाहरू:
- गङ्गाधरको निधन भएपछि सारा गाउँ शोकाकुल हुनु
- बाबुको मृत्युपछि जिउनी खेतको विषयमा दाजुभाइबिच विवाद हुनु र मुद्दा अदालतसम्म पुग्नु
- दाजुभाइबिच बोलचाल बन्द हुनु
- श्रीधर बिरामी परेका समयमा छोरा शशीधरको विवाह हुनु
- भाइले दाइलाई छोराको विवाहमा नबोलाउनु
- यस्तो प्रतिकुल अवस्थामा मुरलीधर एक आदर्श पात्रको रुपमा स्थापित भएर विवाह विधि राम्रोसँग सम्पन्न गराउनु
- मुरलीधरको आदर्शकै कारणले गर्दा दाजुभाइबीचको मिलन हुनु
कथासार:
गङ्गाधरको निधन भएपछि सारा गाउँ शोकाकुल हुन्छन् । बाबुको जिउनी खेतको विषयमा दाजुभाइबिच विवाद भएपछि त्यो मुद्दा अदालतसम्म पुग्छ । कानुनी आधारमा बाबुसँग बसेकाले जिउनी खेत श्रीधरको हुनुपर्छ भने पनि बाबुले अन्तिम अवस्थामा “मेरो दुवै छोरा बराबरी हुन् बाँडेर खानू” भनेकाले मुरलीधरले पनि दाबी गरेका थिए। अदालतमा श्रीधरले मुद्दा जिते र खेत आफ्नो बनाए। श्रीधर बिरामी परेका थिए। त्यही समयमा छोरा शशीधरको विवाह हुने भयो। त्यस्तो प्रतिकुल अवस्थामा मुरलीधर एक आदर्श पात्रको रुपमा स्थापित भए र विवाह विधि राम्रोसँग सम्पन्न गराए। उनको आदर्शकै कारणले गर्दा दाजुभाइबिच मिलन भयो।
९. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) ‘कर्तव्य’ कथाका मुरलीधर र श्रीधरका चारित्रिक विशेषता लेख्नुहोस् ।
⇒ ‘कर्तव्य’ कथाको मुरलीधर र श्रीधर प्रमुख पुरुष पात्रका रुपमा छन्। मुरलीधर र श्रीधर दाजुभाइ हुन्। उनीहरुको आ-आफ्नै चारित्रिक विशेषताहरु छन् । मुरलीधर कथाका एक आदर्श पात्र हुन्। उनी परम्परागत पात्रको प्रतिनिधित्व गर्छन्। उनले पारिवारिक मानमर्यादाको बडो ख्याल राख्दथे। धर्मकर्म र संस्कृतिमा अपार श्रद्धा राख्ने उनलाई आफ्नो रीतिरिवाजमा ठूलो विश्वास थियो । उनी बिहान सबेरै उठ्थे, न्वाउँथे र जपध्यान, पूजापाठ आदि गर्थे। उनी जिल्लामा ‘मुरली पण्डित’का नामले विख्यात थिए।
भाइ श्रीधर भने आफूलाई जिल्लाको एक मात्र प्रगतिशील व्यक्ति सम्झन्थे। उनी आधुनिक पात्रको प्रतिनिधित्व गर्छन् । पारिवारिक कर्तव्य र मानमर्यादामा त्यस्तो ख्याल राख्दैनथे। खानपानमा खासै ध्यान पुयाउँदैन थिए र आफूलाई मन पर्ने पहिरन लगाउँथे । उनलाई धर्मकर्ममा कुनै रुचि थिएन। उनले नयाँ शैलीको पालना गर्थे र केही दादागिरीको काममा पनि पछि हट्दैनथे। त्यसैले उनी ‘शर्माजी’को नाउँले जिल्लामा प्रख्यात थिए।
(ख) कथामा दाजुभाइबिचको सम्बन्धलाई कुन रूपमा देखाइएको छ, लेख्नुहोस् ।
⇒ सामजिक यथार्थवादी कथाकार गुरुप्रसाद मैनालीद्वारा लिखित ‘कर्तव्य’ कथामा भातृप्रेम देखाइएको छ। एक आपसमा जतिसुकै वैमनस्य, ईर्ष्या, डाह र कटुता भएपनि रगतको नाता भनेको कहिल्यै पनि टुट्दैन। पानी बाराबारको अवस्था र आवतजावत नै ठप्प भए पनि अप्ठेरो अवस्था र दुःखमा एकले अर्कालाई साथ दिनुपर्छ। यसरी सम्पत्तिभन्दा रगतको नाता ठुलो हुन्छ भनेर दाजुभाइबिचको आदर्श सम्बन्धलाई यस कथाले प्रस्तुत गरेको छ।
(ग) मुरलीधर र श्रीधरको विवाद नभएको र सम्बन्ध नबिग्रेको भए के हुन्थ्यो होला, अनुमान गर्नुहोस् ।
⇒ कर्तव्य कथामा यस कथामा दुईजना दाजुभाइबिच भएको मनमुटाव प्रस्तुत गरिएको छ। मुरलीधर र श्रीधरको विवाद नभएको र सम्बन्ध नबिग्रेको भए उनीहरूको सम्बन्ध सधैं राम्रो रहन्थ्यो। उनीहरु पनि बुबा जस्तै समाजमा प्रतिष्ठित व्यक्तिको रुपमा रहन्थे । गाउँका मान्छे न्यायका लागि उनीहरुकै घरमा आउँथे। शशीधरको विवाहमा मुरलीधर, कमला र उनीहरुका छोरीहरु पनि जान्थे । शशीधरको विवाहमा ठिटा तथा बुढापाकाहरू सबै उपस्थित हुन्थे। श्रीधरको पनि रोगले थला परेर बस्नुपर्ने अवस्था आउँदैनथ्यो । समयमा नै उपचारका लागि सहर लगिन्थ्यो। विवाद मिलाउन अदालतसम्म जानु पर्दैनथ्यो। मुरलीधर र शशीधरका परिवारका सबै सदस्यका बिचमा माया, प्रेम, स्नेह, र सहयोग हुन्थ्यो। छिमेकी र नाताकुटुम्बले दुई भाइहरुबिचको आदर्श भाइचाराको बयान गर्थे ।
(घ) कर्तव्य कथाको सन्देश के हो ?
⇒ नेपाली कथा साहित्यका प्रथम आधुनिक कथाकार गुरुप्रसाद मैनालीले लेखेको कर्तव्य कथा एक सामाजिक यथार्थवादी कथा हो। परिवारमा हुने नयाँ पुस्ता र पुरानो पुस्ताबिचको द्वन्द्वलाई देखाइएर अन्तिममा आदर्शमा टुङ्ग्याइएको छ। यस कथाले परिवारका सदस्यहरुबिच आपसी मिलापलाई विशेष महत्त्व दिएको छ। पारिवारिक -झगडा गर्न नहुने कुरा यस कथाको मुख्य विषय हो। परिवारका सदस्यमा मनमुटाउ भए पनि परिआएको खण्डमा आफ्नो कर्तव्य निभाउनुपर्छ। धनसम्पत्तिभन्दा रगतको नाता ठुलो हुन्छ । यसरी परिवारका सबै सदस्यका बिचमा माया, प्रेम, स्नेह, र सहयोग हुनुपर्छ भन्नु नै कर्तव्य कथाको सन्देश हो।
व्याख्या र समीक्षा (Explanation & Analysis)
११. व्याख्या गर्नुहोस्:
(क) उनको देहावसानले न्यायको बत्ती निभ्यो, अनाथ अशक्तको आशास्तम्भ ढल्यो, गाउँका धन्वन्तरि अस्ताए।
⇒ प्रस्तुत कथांश सामाजिक यथार्थवादी कथा ‘कर्तव्य’ बाट साभार गरिएको हो। यसका कथाकार नेपाली कथा साहित्यका पहिलो आधुनिक कथाकार गुरुप्रसाद मैनाली हुन्। सामाजिक विषयवस्तुमा आधारित यस कथाले परिवारप्रतिको कर्तव्य बोध गराउन खोजेको छ। माथिको कथांश गङ्गाधरको मृत्युमा गाउँलेले महसुस गरेको क्षति चर्चा गर्ने सन्दर्भमा आएको हो।
गङ्गाधर ग्रामपिता थिए। उनी मुखिया बाको रूपमा परिचित थिए। उनी बाँचुन्जेल कसैले पनि अन्यायमा मर्नु परेन, भोकै बस्नु परेन । उनले आफूसँग भएको अन्न, पैसा गाउँलेको हितमा लगाएका थिए। उनी गाउँका बालबालिकदेखि वृद्धवृद्धासम्म सबैका प्रिय व्यक्ति थिए। उनी गाउँलेका सबै समस्याको समाधान गरिदिन्थे। गाउँमा कोही गरिब बिरामी परेको थाहा पाए ओखतीमुलो लिएर उसका झुपडीमा पुग्थे। जसरी धन्वन्तरिले आयुर्वेद उपचार सुरु गरेर धेरैको उपचार गरेका थिए, त्यसरी नै गङ्गाधरले पनि धेरैको उपचार गरेका थिए। यस्ता महापुरुषको देहावसानले गाउँमा अपार क्षति भयो। गाउँलेहरुले न्यायको बत्ती निभेको ठाने । भोकानाङ्गा र दुःखीदरिद्रीहरूले बाबु मरेको महसुस गरे। बुढाबुढी र असहायले आफ्नो टेक्ने लौरो भाँचिएको ठाने । अनाथ र अशक्तले आशास्तम्भ ढलेको ठाने । उनको देहावसानले एउटा न्यायदाता, अभिभावक र डाक्टर गुमाएको अनुभूति गरे। उनका निधनमा सारा गाउँ नै दुःखी बन्यो।
यसरी प्रस्तुत गहन कथांशमा एउटा असल अभिभावकलाई गुमाउनुपर्दा गाउँलेहरुको मनमा परेको पीडालाई देखाउन खोजिएको छ। हामीलाई पनि गङ्गाधर जस्तै सबैको प्रिय बन्न प्रेरित गरिएको छ।
(ख) कुकुर अज्ञानी पशु हुनाले बोलाएपछि मात्र जान्छ, मानिस चाहिँ ज्ञानवान् हुनाले बखतमौका विचार गरेर आफैं पनि जानुपर्छ।
⇒ प्रस्तुत कथांश कक्षा १० को नेपाली किताबको ‘कर्तव्य’ कथाबाट निकालिएको हो। यस कथाका कथाकार गुरुप्रसाद मैनाली हुन् । आदर्शोन्मुख सामाजिक यथार्थवादी कथाकार गुरुप्रसाद मैनालीले कर्तव्य कथामा समाजको वास्तविकतालाई प्रस्तुत गरेका छन् । मुरलीधर श्रीधरको छोरा शशीधरको विवाहमा नबोलाई जान खोज्दा पत्नीले सोधेको जवाफमा मुरलीधरले यो कुरा भनेका थिए।
कुकुरले समय र परिस्थितिलाई बुझ्न सक्दैन। कुकुर एउटा अज्ञानी पशु हो तर मानिस त ज्ञानवान्, सामाजिक र विवेकशील हुन्छ । त्यसैले मानिसले बेलामौका हेरेर सही समयमा सही काम गर्नुपर्छ। असल काम गर्न कसैको निर्देशन कुरेर बस्नु पर्दैन। मानिसको जीवनमा परिवारको इज्जतले ठुलो अर्थ राख्छ । सँगै भएपछि कहिलेकाहीँ मनमुटाउ हुनु सामान्य कुरा हो। परिवारका सबै सदस्यबिच सधैं हार्दिक सम्बन्ध नहुन सक्छ तर जब खान्दानको इज्जतको कुरा आउँछ तब रिस पालेर बस्नु हुँदैन ।। परिवारका सदस्यमा मनमुटाउ भए पनि परिआएको खण्डमा आफ्नो कर्तव्य निभाउनुपर्छ। मनमा इख पालेर बस्नु हुँदैन। दुःखमा काम लाग्ने परिवारका सदस्य नै हुन् ।
यसरी कथांशमा आएको उदाहरणबाट सन्तानहरुको काँधमा नै प्रत्येक कुल खान्दानको इज्जत निर्भर हुन्छ । साथै अभिभावकले दुःखले कमाएको इज्जत र प्रतिष्ठालाई विवेकी बनेर जोगाउनुपर्छ भन्ने भाव प्रस्तुत गरिएको छ।
१२. कर्तव्य कथामा श्रीधर र मुरलीधरमध्ये तपाईं कसको पक्ष लिनुहुन्थ्यो, किन ?
⇒ नेपाली कथा साहित्यका प्रथम आधुनिक कथाकार गुरुप्रसाद मैनालीले लेखेको कर्तव्य कथा एक सामाजिक यथार्थवादी कथा हो। यस कथामा नयाँ पुस्ता र पुरानो पुस्ताबीचको द्वन्द्वलाई देखाइएर अन्तिममा पुरानो पुस्ताको जितसहित आदर्शमा टुङ्ग्याइएको छ।
पारिवारिक -झगडा गर्न नहुने कुरा यस कथाको मुख्य विषय हो। त्यसैले म मुरलीधरको पक्ष लिन्थें । उनी एक असल आचरण भएका व्यक्ति हुन्। आफ्नो कर्तव्य, परम्परा र आफ्ना पुर्खाको मान मर्यादाको ख्याल राख्छन् । आधुनिकताको नाममा पारिवारिक मानमर्यादा, इज्जत भुल्नु हुँदैन । परिवारका सदस्यहरुबिच विभिन्न फरक विचार हुन्छन्, विभिन्न सामाजिक मतभेदहरु पनि हुन्छन् । त्यसको समाधान परिवारका सदस्य मिलेर खोज्नुपर्छ। परिवारका सबै सदस्यबीचमा माया, प्रेम, स्नेह, र सहयोग हुनुपर्छ । श्रीधरले बुबाको अन्तिम इच्छा पूरा गर्नुपर्थ्यो । सम्पत्तिभन्दा रगतको नाता ठुलो हो । सम्पत्ति छोराहरुले आफ्नै श्रमले कमाउनुपर्छ। पैतृक सम्पत्तिमा झगडा गर्नु राम्रो होइन। त्यसैले म मुरलीधरको पक्ष लिन्थें।
१३. कर्तव्य कथामा नेपाली समाजको वास्तविकतालाई कसरी दर्शाएको छ, विवेचना गर्नुहोस् ।
⇒ नेपाली साहित्यका प्रथम आधुनिक कथाकार गुरुप्रसाद मैनालीद्वारा लिखित कर्तव्य कथा सामाजिक यथार्थवादी कथा हो। यस कथामा नेपाली ग्रामीण समाजको यथार्थतालाई आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ। परिवारका सबै सदस्यका बिचमा माया, प्रेम, स्नेह, र सहयोग हुनुपर्छ भन्ने विषयलाई कथामा प्रस्तुत गरिएको छ।
गाउँमा कुनै मानिसको मृत्यु हुँदा मलामी जानु, दुःख व्यक्त गर्नु र काज किरिया गर्नु पनि नेपाली समाजमा घट्ने वास्तविक घटनाहरु हुन् । अशिक्षा र असमझदारीबाट उत्पन्न हुने विवादको कारणले एउटै परिवारका सदस्यहरु पनि अलग्गिएर छुट्टै बस्ने पनि यथार्थ घटना हो। नेपाली समाजमा पैतृक सम्पत्ति छोराहरुले अंशवण्डा गर्ने सामाजिक चालचलन पहिलेदेखि नै रहेको छ। आफ्नो बाबुआमाको निधनपछि उनीहरुको जिउनीको रुपमा रहेको सम्पत्ति कतै बाँड्ने चलन पाइन्छ त कतै बाबुआमाले भनेको कुराको आधारमा नै जिउनीको प्रक्रिया मिलाउने गरिन्छ। यो समाजको यथार्थ घटना हो। तत्कालीन समाजमा मुखिया रहने र गाउँमा भएका विवादहरुलाई मिलाउने वास्तविकतालाई प्रस्तुत गरिएको छ। गाउँमा कचहरी बस्ने र न्यायका लागि अदालत धाउने पनि समाजको वास्तविकता हो। नेपाली समाजमा उपयुक्त वर खोजेर छोरी दिने र धेरै दाइजो र धनसम्पत्तिको आशमा धनाढ्यको छोरी खोज्ने प्रचलन पनि रहिआएको छ । त्यसै अनुसार श्रीधरले छोरा शशीधरलाई धनी व्यक्तिले छोरी दिन आएकाले त्यसलाई सहर्ष स्वीकार गरेको देखाइएको छ। जन्ती जाने, विवाहमा युवाहरु रमाइलो गर्ने पनि समाजको वास्तविकता हो। संस्कृतिको रक्षा गर्ने, पुराण लगाउने, व्रत बस्ने, चन्दन लगाउने आदि पनि यथार्थ घटना हुन् । युवाहरु कपाल पाल्ने, राजनीतिमा लाग्ने र होटलमा बसेर खाने, अङ्ग्रेजी मिसाएर बोल्ने जस्ता वास्तविकता पनि देखाइएको छ।
कर्तव्य कथामा परिवारका सदस्यमा मनमुटाउ भए पनि परिआएको खण्डमा आफ्नो कर्तव्य निभाउनै पर्छ भन्ने भाव समावेश गरिएको छ । कथामा समाजका सामाजिक, सांस्कृतिक, न्यायिक वास्तविकतालाई सुन्दर एवम् कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ।
१४. तपाईंलाई कर्तव्य कथामा व्यक्त भएका कुन कुन कुरा मन पर्यो, मन पर्नुका कारणसहित आफ्नो प्रतिक्रिया दिनुहोस् ।
⇒ गुरुप्रसाद मैनालीद्वारा लिखित कर्तव्य सामाजिक यथार्थवादी कथा हो। यस कथामा दाजुभाइबिच जतिसुकै लडाइँ भएपनि परिवारप्रतिको कर्तव्य छोड्नु हुँदैन भन्ने मूल भाव रहेको छ। कथामा द’ई भाइका बिचको द्वन्द्व र आदर्शोन्मुख समापन देखाइएको छ।
मलाई कर्तव्य कथामा पात्र गङ्गाधर र उनका काम मन पन्यो। यसरी अरुको सेवामा लाग्नु र यस्तो ख्याति कमाउनु प्रशंसनीय काम हो। कुकुर एक अज्ञानी पशु भएको हुनाले बोलाएपछि मात्र जान्छ मान्छे चाहिँ ज्ञानवान् प्राणी भएका कारण बेलामौका विचार गरेर आफै पनि जानुपर्छ भन्ने मुरलीधरको भनाइ मन । उनी जन्ती गए र आफ्नो कुलको इज्जत बचाए। भाइ बिरामी भएको खबर थाहा पाएपछि मुरलीधर भाइको घरमा गएर उपचारका लागि लग्ने कुरा गरेको मन पर्यो। यसरी मनमा इख नराखी आफ्ना सबै मनमुटावलाई भुलेर मान्छेले बेलामा बुद्धि पुऱ्याएर काम गरेको मन पर्यो। कथामा श्रीधरले आफूले गल्ती गरेको स्वीकार्दै मुरलीधरसँग माफी मागेको र दुई भाइको मिलनको संयोगान्त समापन मन पर्यो। कथाले परिवारका परिवारका सबै सदस्यका बिचमा माया, प्रेम, स्नेह, र सहयोग हुनुपर्छ भनेर दिन खोजेको सन्देश मन पर्यो। समग्रमा मलाई कथाका गङ्गाधर र मुरलीधरका विचारका साथै कथाको सन्देश मन पन्यो।
भाषिक संरचना (Language Structure)
१. दिइएको अनुच्छेदमा नाम र विशेषणबाट बनेका क्रियापद प्रयोग भएका छन्, पढ्नुहोस् :
हरिशरण साहै मोटाएका छन् तर रामशरण चाहिँ बिरामी परेर निकै दुब्लाएका छन्। हरिशरण साहै मोटाएर रोगाएका छन् भने रामशरण पनि दुब्लाएर रोगले थलिएका छन्। हरिशरणलाई मोटा छौ नि भन्यो भने उनी रिसले भुनभुनाउँछन्। रामशरणले चाहिँ आफू रोगले दुब्लाएको कुरो सहजै स्विकार्छन् ।
⇒ यहाँ रेखाङ्कित क्रियापदमा क्रमशः मोटाउ, दुब्लाउ, रोगाउ, थलि, भुनभुनाउ र स्विकार धातु प्रयोग भएका छन्। ती धातु क्रमशः मोटो, दुब्लो विशेषण र चला, भुनभुन र स्विकार नाम पदबाट बनेका छन्। त्यसैले माथिका रेखाङ्ङ्कित क्रियापदमा प्रयोग भएका धातु नामिक शब्द वा नाम र विशेषणबाट बनेका नाम धातु हुन् ।
२. दिइएका क्रियामूलको बनोट प्रक्रिया देखाउनुहोस् :
३. कर्तव्य कथाबाट कुनै पाँचओटय क्रियामूल खोजेर तिनलाई पाठमा प्रयोग भएका भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस्।
४. कुनै पाँच नाम धातु पर्ने गरी एउटा अनुच्छेद लेख्नुहोस् ।
⇒ गाउँका केटाहरु सबै बिदेसिए। छोराछोरीका पीरले बाआमा दुब्लाए। देशका नेता मोटाए। नेताले जनताका सपना लत्याए। जनताहरु पिरोलिए। जनताहरु आन्दोलन गर्न तातिए।
५. दिइएको अनुच्छेदबाट सामान्यार्थक र प्रेरणार्थक क्रियापद छुट्याउनुहोस्ः
आमाले सानी नानीलाई सुताइन् र आफू पनि सुतिन । सुताउनुभन्दा पहिले आमाले सानी नानीलाई लिटो खुवाइन् र आफूले रोटी तरकारी खाइन् । बिहान आमा सबेरै चार बजे जागिन् र चिया पिइन्। सात बजेतिर सानी नानीलाई जगाइन् र दुध पिलाइन् ।
सामान्यार्थक क्रियापदः
- सुतिन्
- खाइन्
- जागिन्
- पिइन्
प्रेरणार्थक क्रियापदः
- सुताइन्
- खुवाइन्
- जगाइन्
- पिलाइन्
६. दिइएको अनुच्छेदलाई प्रेरणार्थकमा परिवर्तन गर्नुहोस्ः
विनयले खाना खाए। उनी विद्यालय पुगे। घन्टी लाग्यो। उनी कक्षामा पसे। उनले पहिलो घन्टीमा नेपाली विषय पढे। उनले दिउसो खाजा खाए। उनी बेलुकी घर फर्किए।
⇒ आमाले विनयलाई खाना खुवाउनुभयो । दाइले उनलाई विद्यालय पुऱ्याउनुभयो। शिक्षकले पालेलाई घन्टी लगाउन लगाउनुभयो । शिक्षकहरुले उनलाई कक्षामा पस्न लगाउनुभयो । नेपाली शिक्षकले उनलाई पहिलो घन्टीमा नेपाली विषय पढाउनुभयो । साथीहरुले उनलाई दिउसो खाजा खुवाए। शिक्षकले उनलाई बेलुकी घर फर्काउनुभयो ।
७. प्रेरणार्थक वाक्यको प्रयोग गरी कुनै एक घटनाको वर्णन गर्नुहोस् ।
⇒ नेपाली शिक्षकले शुकबार सबै विद्यार्थीलाई व्याकरण पढाउनुभयो। सामाजिक शिक्षकले नवीनलाई कक्षामा गीत गाउन लगाउनुभयो । प्रधानाध्यापकले विद्यार्थीलाई बाहिर आउन लगाउनुभयो। सहायक प्रधानाध्यापकले सबैलाई नाच्न लगाउनुभयो। साथीहरुले मलाई पनि नाच्न लगाए। शिक्षकले पाले दाइलाई घण्टी बजाउन लगाउनुभयो अनि सबैलाई घर जान लगाउनुभयो ।
८. कर्तव्य कथाबाट रि, ऋ प्रयोग भएका तीन तीनओटा शब्द खोजेर लेख्होस् ।
ऋ प्रयोग भएका शब्दः
- ऋचामन्त्र
- दृढ
- संस्कृति
रि प्रयोग भएका शब्दः
- गरिब
- सुत्केरी
- किरिया
९. दिइएको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस् ।
रिषि दऋमा बसेर रिषभसँग भन्दै थिए। झऋमा नहिँड्नु ऋस नगर्नु, एउटा कानमा मात्र ऋङ होइन, दुईओटै कानमा लगाउन ऋङ किन्नु। ऋता माघे सङ्क्रान्ति मेलामा जानू र दिनभॠ रमाइलो गर्नु ।
⇒ ऋषि दरीमा बसेर ऋषभसँग भन्दै थिए। झरीमा नहिँड्नु, रिस नगर्नु, एउटा कानमा मात्र रिङ होइन, दुईओटै कानमा लगाउन रिङ किन्नू । रीता माघे सङ्क्रान्ति मेलामा जानू र दिनभरि रमाइलो गर्नु।
सिर्जना कार्य (Creative Writing)
१. दिइएका बुँदाका आधारमा एउटा छोटो कथा लेख्नुहोस् :
(क) प्रवीण धेरै धन कमाइने लोभले विदेश जानु
(ख) विदेश स्वदेश जस्तो नहुनु
(ग) दिनमा १४ घण्टासम्म काममा जोतिदासमेत गएको ऋण तिर्न नसक्नु
(घ) ऊ देश र गाउँघरको सम्झनाले पिरोलिनु
(ङ) तुरुन्त विदेश छोडेर आउन पनि नसक्नु
(च) निकै वर्ष दुःख गरेर केही धन आर्जन गर्नु
(छ) देशमै फर्केर सानोतिनो लगानी गरी आफ्नै खेतबारीमा पाखुरा खियाउने निधो गर्नु
(ज) अहिले आफ्नै देशमा आधुनिक कृषि व्यवसाय अङ्गाल्नु
(झ) राम्रै आम्दानी गर्नु, सुखले जीवन चलाउनु
(ञ) उसका आमाबुबा बुढेसकालको सहारा पाएर अत्यन्त खुसी हुनु
प्रवीणको प्रेरणा
अर्घाखाँचीको सितगंगा गाउँमा प्रवीण नाम गरेको युवक बस्थ्यो। उसका गाउँका धेरैजसो साथीहरु रोजगारको खोजीमा विदेश पसेका थिए। उसका केही साथीहरुले विदेशमा कमाएको पैसाले बजारमा घरघडेरी किनेका थिए। यो देखेर प्रवीणलाई पनि विदेश गई केही पैसा कमाएर बजारमा घरघडेरी किन्ने इच्छा जागेको थियो।
एकदिन प्रवीण पनि धेरै धन कमाइने लोभले विदेश गयो। उसले त्यहाँ मेनपावरले भने जस्तो काम र पैसा पाएन। कतारको त्यो गर्मीमा काम गर्नुपर्ने तर पैसा अत्यन्तै कम पायो। उसलाई विदेश स्वदेश जस्तो भएन। दिनमा १४ घण्टासम्म काममा जोतिँदासमेत उसले गएको ऋण तिर्न पनि सकेन। उसको मन दिनरात देश र गाउँघरको सम्झनाले पिरोलिन थाल्यो। विदेश जाँदा लागेको ऋण सम्झेर उसले तुरुन्त विदेश छोडेर घर आउन पनि सकेन । जसोतसो निकै वर्ष दुःख गरेर ऋण तिर्यो र केही धन आर्जन गयो। उसले अब देशमै फर्केर सानोतिनो लगानी गरी आफ्नै खेतबारीमा पाखुरा खियाउने निधो गर्यो र ऊ स्वदेश फर्कियो।
विदेशमा बस्दा उसले श्रमको मूल्य थाहा पाएको थियो। अहिले उसले आफ्नै देशमा आधुनिक कृषि व्यवसाय अङ्गालेको छ। उसले कृषि पेसाबाटै अहिले राम्रै आम्दानी गरी सुखले जीवन चलाउन थालेको छ। उसका आमाबुबा पनि बुढेसकालको सहारा पाएर अत्यन्त खुसी छन् । वास्तवमा नेपालमा बसेर केही गर्न सकिदैन भन्नेहरुका लागि प्रवीण अहिले प्रेरणाको स्रोत बनेको छ।
