एकाइ ९: हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग (Hamro Antarrashtriya Sambandha ra Sahayog)
पाठ १: नेपालको परराष्ट्र नीति (Nepal ko Pararashtra Niti)
यस पाठमा पढ्नुहोस्
१. परराष्ट्र नीति (Nepal ko Pararashtra Niti) भनेको के हो ?
उत्तर: परराष्ट्र नीति भनेको कुनै पनि मुलुकले आफ्नो राष्ट्रिय हितका खातिर बाह्य जगत्मा आफ्नो प्रभाव विस्तार एवम् प्रवर्द्धन गर्न तय गरिएको राष्ट्रिय नीति हो। यसलाई राज्यको अरू राज्यसँगको अन्तरसम्बन्धलाई नियमित गर्ने व्यवहारको पुञ्जका रूपमा लिन सकिन्छ।
२. परराष्ट्र नीतिको महत्त्व उल्लेख गर्नुहोस् ।
उत्तर: परराष्ट्र नीतिको महत्त्वलाई निम्न बुँदाका माध्यमबाट स्पष्ट पार्न सकिन्छ :-
- राष्ट्र र राष्ट्रियताको संरक्षण र संवर्द्धन गर्न मद्दत गर्दछ।
- देशको अस्तित्वको सुरक्षा गर्दछ।
- पारस्परिक लाभमा वृद्धि गर्दछ।
- भूराजनीतिक सन्तुलन कायम गर्न मद्दत गर्छ।
- अन्तर्राष्ट्रिय मञ्चमा पहुँच र प्रतिनिधित्व स्थापित गर्दछ।
- शक्ति सम्पन्न राष्ट्रको स्वार्थबाट देशलाई बचाउँछ।
३. पञ्चशीलको सिद्धान्तअन्तर्गत कुन कुन सिद्धान्त पर्दछन् ?
उत्तर: पञ्चशीलको सिद्धान्त अन्तर्गत निम्न पाँचवटा सिद्धान्त पर्दछन् :-
- क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको सम्मान
- अरू देशको आन्तरिक मामलामा अहस्तक्षेप
- अनाक्रमण
- परस्पर सहयोग र लाभको वृद्धि
- शान्तिपूर्ण सहअस्तित्व
४. पञ्चशीलको सिद्धान्तको महत्व समेटी एक लेख तयार पार्नुहोस् ।
उत्तर: पञ्चशीलको सिद्धान्त र यसको महत्त्व (लेख)
पञ्चशीलको सिद्धान्त पाँचवटा नियम वा आचरणको संयुक्त रूप हो। नेपाल लगायतका विभिन्न राष्ट्रहरूले पञ्चशीलको सिद्धान्तलाई परराष्ट्र नीतिको प्रमुख सिद्धान्तका रूपमा ग्रहण गरेका छन्। सन् १९५५ अप्रिलमा इन्डोनेसियाको बाङ्डुङ सहरमा भएको सम्मेलनमा एसिया र अफ्रिकाका विभिन्न राष्ट्रको सहभागितामा यससम्बन्धी प्रस्ताव पारित भएको थियो। क्षेत्रीय अक्षुण्णता र सार्वभौमिकताको पारस्परिक सम्मान, अनाक्रमण, एक अर्काका देशीय समस्याहरूमा हस्तक्षेप नगर्ने, समानता र पारस्परिक हित र शान्तिपूर्ण सहअस्तित्व जस्ता महत्त्वपूर्ण पाँच सिद्धान्त पञ्चशीलको सिद्धान्तअन्तर्गत पर्दछन्।
अन्तर्राष्ट्रिय शान्ति र समझदारी कायम राख्न पञ्चशीलको सिद्धान्त निकै महत्त्वपूर्ण रहेको छ। आफ्नो राष्ट्रको परराष्ट्र नीतिमा पञ्चशीलको सिद्धान्तलाई प्राथमिकता दिने हो भने विश्वमा आपसी भाइचारा र सहअस्तित्वको वातावरण सिर्जना हुन्छ। द्वन्द्वको मूल कारण कुनै पनि देशको आन्तरिक गतिविधिमा बाह्य हस्तक्षेप हो। यस सिद्धान्तले बाह्य हस्तक्षेपलाई निषेध गर्दछ। देशहरूका बिचमा आपसी सहयोग र सहकार्यको वातावरण सिर्जना हुन्छ। हरेक देशको राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको सम्मान हुन्छ। यी विभिन्न कारणले गर्दा पञ्चशीलको सिद्धान्तको विश्वव्यापी महत्त्व रहेको छ।
यसर्थ विश्वमा भएका विभिन्न साना तथा ठुला राष्ट्रहरूको समान अस्तित्व कायम गरी युद्धको सट्टा शान्तिको माध्यम, संवादको माध्यमबाट समस्या समाधान गर्न पञ्चशीलको सिद्धान्त निकै महत्त्वपूर्ण सावित भएको छ। विश्वबन्धुत्वको भावना विकास गरी हामी एक हौं भन्ने कुरालाई यस सिद्धान्तले जोड दिएको हुँदा यसको महत्त्व रहेको छ।
५. पञ्चशीलको सिद्धान्तको अवलम्बनले विश्वमा शान्ति र मेलमिलापको भावना सिर्जना गर्छ। यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।
उत्तर: पञ्चशीलको सिद्धान्तको अवलम्बनले विश्वमा शान्ति र मेलमिलापको भावना सिर्जना गर्छ। धेरै राष्ट्रहरूले आफ्नो परराष्ट्र नीतिको प्रमुख सिद्धान्तको रूपमा पञ्चशीलको सिद्धान्तलाई अवलम्बन गरेका छन्। यसको कारण विगतको तुलनामा वर्तमानमा युद्ध र हिंसाको वातावरण निकै कमी भएको छ। ठुला र शक्तिशाली राष्ट्रले साना र कमजोर राष्ट्रको अस्तित्व नस्वीकार्ने प्रचलन हराउँदै गएको छ। अनाक्रमणमा विश्वास राख्दै हस्तक्षेप नगर्ने नीति अवलम्बन भएको छ। शान्तिपूर्ण सहअस्तित्वमा सबैको ध्यान केन्द्रित भएको छ।
युद्धका माध्यमबाट होइन, वार्ता र संवादका माध्यमबाट समस्याको हल खोजिन थालिएको छ। तसर्थ, पञ्चशीलको सिद्धान्तको अवलम्बनले विश्वमा शान्ति र मेलमिलापको भावना सिर्जना गर्छ।
अर्को पाठ (Next Chapter)
यो पनि पढ्नुहोस्
कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us