पख्नोस् (Pakhnos)
Complete guide with all exercises, vocabulary, comprehension and detailed analysis of the satirical essay ‘पख्नोस्’ by Bhairab Aryal for Class 10 SEE preparation.
Table of Contents (पख्नोस्)
शब्दभण्डार (Vocabulary) – पख्नोस्
१. दिइएका अनुकरणात्मक शब्द र कार्यबिच जोडा मिलाउनुहोस् :
२. ‘पख्नोस्’ निबन्धबाट कुनै पाँचओटा पारिभाषिक शब्द खोजी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् ।
३. शब्दकोशको प्रयोग गरी दिइएका शिक्षा र वाणिज्य क्षेत्रका पारिभाषिक शब्दको अर्थ लेख्नुहोस् :
शिक्षा क्षेत्र
वाणिज्य क्षेत्र
४. दिइएको अनुच्छेदबाट पाँचओटा मौलिक शब्द पहिचान गरी लेख्नुहोस् :
“ओहो ! अब त मेरो एकोहोरो फतफताइ अति नै भयो। तपाईंलाई कति झर्को लाग्यो होला हकि ? तर साह्रै नै झर्को लागेको भए त एक चुस्की चिया पिउनुस् अनि तपाईं नै भन्नोस्, को पर्खेको छैन ? कहाँ पर्खाइ चल्दैन ? त्यसैले दार्शनिक जति घोत्लिइरहुन्, वैज्ञानिक जति घोडि रहुन् मलाई त लाग्छ, बाँच्नुको पर्याय नै पर्खनु हो। सोझै कुरा गरूँ भने पनि हेर्नोस्, दसौं महिना आमाको गर्भमा गुडुल्किएर नपर्खी तपाईंले सूर्यदर्शनको साइत फेला पार्नुभएन । यसरी नजन्मेदेखि पखँदै आउनुभएको तपाईंले सायद किशोर भएपछि विद्यालयमा शिक्षकलाई कैयौं दिन पर्खनुभयो।”
⇒ मौलिक शब्दहरू: दार्शनिक, वैज्ञानिक, आउनुभएको, हेर्नोस्, फतफताइ
५. पख्नोस् निबन्धमा व्यङ्ग्य गर्ने क्रममा आएका निम्नलिखित टुक्कालाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
बोध र अभिव्यक्ति (Comprehension & Expression)
१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) निबन्धमा सबैभन्दा लामो अनुच्छेद कति वाक्यमा संरचित छ ?
⇒ निबन्धमा सबैभन्दा लामो नवौँ अनुच्छेद १३ वाक्यमा संरचित छ।
(ख) पाठमा सबैभन्दा बढी प्रश्नात्मक वाक्य भएको अनुच्छेद कुन हो ?
⇒ पाठमा सबैभन्दा बढी प्रश्नात्मक वाक्य भएको अनुच्छेद नवौँ हो।
(ग) निबन्धको कतिऔं अनुच्छेद विस्मयसूचक शब्दबाट सुरु भएको छ ?
⇒ निबन्धको नवौँ अनुच्छेद विस्मयसूचक शब्दबाट सुरु भएको छ।
(घ) निबन्धका आउँदै गर्नुहोला, धाउँदै गर्नुहोला पदावलीमा असमान संरचना भएको अक्षर कुन हो ?
⇒ निबन्धका आउँदै गर्नुहोला, धाउँदै गर्नुहोला पदावलीमा असमान संरचना भएको अक्षर ‘आ’ र ‘धा’ हो।
४. दिइएको निबन्धांश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
“आफू जुम्रा जस्तो जुम्सो छ अनि कामको सट्य कुराले टार्न खोज्छ भनी तपाईं गिज्याउनुहोला । मुखिन्जेल नसके पनि पछाडि पक्कै उडाउनुहुन्छ । हुन पनि हो, म अचेल साहै जुम्सो भएको छु। बरु के तपाईं पत्याउनुहुन्छ ? यो जुम्स्याइको जन्मदाता पनि यस्तै जङचल्दा पर्खाइ हुन्। साँच्चै भनूँ भने मेरो दुनियाँ झन् लम्स्याङलुम्सुङको छ। मेरो जमाना झन् जम्स्याङजुम्सुङको छ। मैले थाहा पाएदेखि म पखँदो छु। काममा गएकी आमालाई, जागिरमा गएका बाबुलाई, पाठ दिने गुरुलाई, माया दिने मान्यजनलाई, जागिर पाउने आश्वासनलाई, तलब पाइने दिनलाई, ओखती गर्ने उपचारकलाई, बिदा दिने निर्देशकलाई, पैसा दिने मालिकलाई, लुगा सिउने सूचीकारलाई।”
(क) निबन्धांशका आधारमा ‘म’ पात्रमा कस्ता कस्ता विशेषता पाइन्छन् ?
⇒ निबन्धांशको ‘म’ पात्रमा साह्रै जुम्सो स्वभाव, कामको सट्य कुराले टार्ने आदि विशेषता पाइन्छन् ।
(ख) जङचल्दा पर्खाइलाई किन जुम्स्याइको जन्मदाता भनिएको हो ?
⇒ पर्खदा पर्खदा मान्छे जुम्सो बन्ने भएकाले जङचल्दा पर्खाइलाई जुम्स्याइको जन्मदाता भनिएको हो।
(ग) ‘म’ पात्रले कुन कुन कामका लागि पर्खाइको सामना गर्नुपरेको छ ?
⇒ ‘म’ पात्रले मान्यजनबाट माया पाउने, जागिर पाउने, तलब पाउने, उपचारकबाट ओखती पाउने, बिदा लिने, मालिकबाट पैसा लिने, सूचीकारबाट लुगा सिउने आदि कामका लागि पर्खाइको सामना गर्नुपरेको छ।
(घ) निबन्धांशमा भने जस्तै सबैलाई पर्खनुपर्ने अवस्थाको अन्त्य गर्न के गर्नुपर्ला ?
⇒ निबन्धांशमा भने जस्तै सबैलाई पर्खनुपर्ने अवस्थाको अन्त्य गर्न समयको महत्त्व बुझी इमानदार भएर काम गर्नुपर्ला।
५. दिइएको निबन्धांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) अनुच्छेदमा शिक्षित मानिसलाई कस्तो व्यग्य गरिएको छ?
⇒ शिक्षित मानिसले सभ्य र चिल्लो शब्दको प्रयोग गर्छन् । अरुलाई झुलाउन, पर्खाउन सिपालु हुन्छन् । लेखकले पनि सम्पादकलाई पर्खाएका छन्। पर्खने र पर्खाउने सबैको नियति बनेको छ। शिक्षित मान्छेले झनै समयमै काम गर्नुको साटो अरुलाई पर्खाउन सिपालु हुन्छन् भनेर शिक्षित मानिसको स्वभावप्रति तिखो व्यङ्ग्य गरिएको छ।
(ख) कसैसँग काम लिनको लागि पर्खनै पर्ने चलन हटाउन हामीले के गर्नुपर्ला ?
⇒ पर्खनै पर्ने चलन हटाउन हामीले समयअनुसार काम गर्नुपर्छ । अरुको काम लिइसकेपछि इमानदार बनी समयमै काम पूरा गर्नुपर्छ । शिक्षित मानिसहरुले पर्खने र पर्खाउने परम्परालाई हटाउने अभियान चलाउनुपर्छ। चिल्ला शब्द प्रयोगमा भन्दा काममा ध्यान दिनुपर्छ।
६. दिइएको अनुच्छेदबाट तीनओटा बोध प्रश्न बनाई तिनको उत्तर लेख्नुहोस् :
“मानिस र वनस्पतिबिच गहिरो सम्बन्ध छ। मानिसको बाँच्ने आधार वनस्पति हो। माना, छाना र नाना जस्ता मानिसका आधारभूत आवश्यकताको प्रमुख स्रोत वनस्पति हो। उद्योगका लागि आवश्यक कच्चा पदार्थका मूल स्रोत वनस्पति हुन्। आजको विश्व अर्थतन्त्रको करिब ४० प्रतिशत अंश प्रत्यक्ष वा परोक्ष रूपमा वनस्पतिलगायतका जैविक स्रोतको उपयोगमा आधारित छ। त्यति मात्र होइन, मानिसलाई सास फेर्न र बाँच्न नभई नहुने अमूल्य तत्त्व अक्सिजनको स्रोत हरिया वनस्पति नै हुन् । हरेक वनस्पति सेवन वा अन्य प्रयोजनका लागि उपयोगी नभए पनि यिनका सबै प्रजातिले मानिसका निम्ति अपरिहार्य अक्सिजन भने निरन्तर रूपमा उत्पादन गरिरहन्छन् । मानिसका लागि काम नलाग्ने वनस्पति चाहिँ यस संसारमा कुनै पनि छैन। त्यसैले मानिसको अस्तित्वका लागि वनस्पति जगत्को महत्त्वपूर्ण योगदान रहेको हुन्छ।”
(अ) मानिस र वनस्पतिबिच कस्तो सम्बन्ध छ ?
⇒ मानिसको बाँच्ने आधार वनस्पति भएकाले मानिस र वनस्पतिबिच गहिरो सम्बन्ध छ।
(आ) वनस्पति के केको स्रोत हो ?
⇒ वनस्पति माना, छाना र नाना जस्ता मानिसका आधारभूत आवश्यकताको स्रोत हो।
(इ) मानिसका लागि वनस्पति जगत्को कस्तो योगदान रहेको हुन्छ ?
⇒ वनस्पतिबाट अक्सिजन पाइने हुनाले मानिसको अस्तित्वका लागि वनस्पति जगत्को महत्त्वपूर्ण योगदान रहेको हुन्छ।
७. ‘पख्नोस्’ निबन्धको अन्तिम दुई अनुच्छेदको सारांश लेख्नुहोस्ः
⇒ हामीलाई नपर्खी सुखै छैन । पर्खाइदेखि डराउने पलायनवादी, पामर र पानीमरुवा हो। कसैले पनि पर्खन चाहन्न । हामी पर्खाउने परम्परा नहोस् भनेर चाहे पनि हाम्रो यो चाहना चाहनेबित्तिकै पूरा हुँदैन। त्यसैले सबै कामका लागि पर्खनुपर्ने हाम्रो नियति बनेको छ।
८. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) ‘पख्नोस्’ निबन्धको विषयवस्तुमाथि प्रकाश पार्नुहोस् ।
⇒ ‘पख्नोस्’ निबन्ध सामाजिक विषयवस्तुमा आधारित आत्मपरक निबन्ध हो। सामाजिक विसङ्गतिहरुप्रति शब्दवाण प्रहार गर्न सिपालु भैरव अर्यालले यस निबन्धमा मानवीय कमजोरीका रूपमा रहेको पर्खने र पर्खाउने विकृतिका विरुद्धमा व्यङ्ग्य प्रहार गरेका छन् । कोही पर्खन चाहँदैन तर सबै पर्खिरहेका छन्, पर्खाइरहेका छन् भन्ने कुरा निबन्धमा गरिएको छ । हरेक क्षेत्रमा पर्खने र पर्खाउने विकृति रहेको विषयवस्तु उल्लेख गर्दै निबन्धमा शिक्षितहरूमा झनै पर्खाउने प्रवृत्ति बढी रहेको विषयवस्तु चर्चा गरिएको छ । यसरी ‘पख्नोस्’ प्रवृत्ति व्यापक रहेको र यो प्रवृत्ति उन्नतिको बाधक भएको विषयवस्तु निबन्धमा चर्चा गरिएको छ।
(ख) ‘निबन्धको सत्य, समता र शान्ति पखँदै आएको मानिस झन् विषमताको विषले बौलाहिरहेछ, अशान्त भइरहेछ।’ भन्नुको तात्पर्य के हो?
⇒ सबै मानिसको चाहना सत्य, समता र शान्ति हो जसका लागि मानिसले युगौँदेखि पर्खदै आएको छ । जतिसुकै पर्खे पनि समताको साटो विषमता फैलिरहेको छ । शान्ति छाउनुपर्ने अशान्ति छाइरहेको छ । आणविक हतियारमा प्रतिबन्ध लाग्नुपर्नेमा झन् निर्माण गर्ने होडबाजी चलेको छ । विज्ञानका कारण भौतिक रूपमा धेरै उन्नति भए पनि गाँस र बासको लागि मानिसले पर्खनुपर्ने अवस्था रहेको छ। यसरी मानिसको चाहना र काम गराइमा अन्तर छ। जसका कारण चाहेको जस्तो भएको छैन भन्नु नै प्रस्तुत भनाइको तात्पर्य हो।
(ग) निबन्धमा मानिसका कस्ता कमी कमजोरीप्रति व्यङ्ग्य गरिएको छ?
⇒ निबन्धमा मानिसको पर्खने र अनावश्यक पर्खाउने प्रवृत्तिप्रति चोटिलो व्यङ्ग्य गरेर लेखिएको छ । आजका भनाउँदा मानिसहरू आफ्नो दायित्व र जिम्मेवारीप्रति सचेत छैनन्। उनीहरू कामलाई सधैं कुराले टार्न खोज्छन् । सत्य र अहिंसाका आदर्श कुरा गर्छन् तर असत्यको पक्ष लिँदै हिंसा मच्याउन उद्यत रहन्छन्। आणविक हतियारमा प्रतिबन्ध लगाउनुपर्ने कुरा गर्छन् तर कार्यरुपमा बदल्न लम्स्याङलुम्सुङ गर्छन् । अरुलाई बिनाकाम झुलाउन वा पर्खाउन पाउँदा आफूलाई महान् ठान्छन् भन्ने लगायतका कमी कमजोरीप्रति निबन्धमा व्यङ्ग्य गरिएको छ।
(घ) यस निबन्धबाट कस्तो सन्देश पाउन सकिन्छ ?
⇒ नेपाली हास्यव्यङ्ग्य निबन्ध साहित्यका सर्वोच्च प्रतिभा भैरव अर्यालद्वारा लिखित ‘पख्नोस्’ निबन्ध एउटा प्रसिद्ध हास्यव्यङ्ग्य र सन्देशमूलक निबन्ध हो । यस निबन्धले समयको महत्त्व बुझ्नुपर्छ अनि पर्खने र पर्खाउने जुम्सो प्रवत्ति हटाउनुपर्छ भन्ने कुरामा जोड दिएको छ । चिल्ला र शिष्ट शब्दहरू प्रयोग गरेर झुलाउने प्रवृत्ति झन् घातक हुन्छ । हामीले आफ्नो कर्तव्य र दायित्वप्रति सदा सचेत रहनुपर्छ। अरुलाई झुलाएर आफूलाई महान् सिद्ध गर्ने प्रवृति त्याग्नुपर्छ। हामीले राख्ने विचार र कार्यमा समानता हुनुपर्छ। यो पृथ्वी सबै जीवहरूको साझा घर हो तसर्थ यहाँ सञ्चालन हुने हरेक गतिविधि सबैको हितमा हुनुपर्छ। हामी सबै इमानदार र विवेकशील बन्नुपर्छ भन्ने सन्देश निबन्धबाट पाइन्छ।
व्याख्या र समीक्षा (Explanation & Analysis)
९. व्याख्या गर्नुहोस् :
(क) सबै पर्खाइको पछिल्तिर मेरा सयौँ सपना पर्खिरहेछन्, इच्छा र आकाङ्क्षा पर्खिरहेछन् ।
⇒ प्रस्तुत निबन्धांश ‘पख्नोस्’ शीर्षकको निबन्धबाट साभार गरिएको हो। यस निबन्धका रचनाकार प्रभावशाली हास्यव्यङ्ग्य निबन्धकार भैरव अर्याल हुन्। देशका सामाजिक आर्थिक, राजनीतिक आदि विभिन्न क्षेत्रमा व्याप्त विसङ्गतिप्रति व्यङ्ग्य गर्नु उनको प्रमुख विशेषता हो। पर्खाउने प्रवृत्तिले व्यक्तिको भविष्य अन्योल बनेको कुरा बुझाउने सन्दर्भमा प्रस्तुत निबन्धांश आएको हो।
मानिसले अनेकौँ सपना देख्ने गर्छ। उसका सपनाहरूलाई साकार पार्न ऊ कर्मशील बन्नु पर्छ तर काम गर्नुको साटो कुराले टार्ने बानीले गर्दा उसका सपना पूरा हुन सकेका छैनन्। निबन्धकार पनि आफूले थाहा पाएदेखि हरेक क्षेत्रमा पर्खनु परेको गुनासो व्यक्त गर्दछन्। उक्त पर्खाइले उनलाई जुम्सो बनाएको छ। मानिस केही गरुँ भन्ने सोच्छ। केही बनूँ भन्ने सोचले गन्तव्यतर्फ अघि बढ्छ, समाजका लागि केही दिऊँ भन्ने चाहना राख्छ । विडम्बना यी काम सम्पन्न गर्नका लागि जता गयो त्यतै पर्खनुपर्छ। हरेक क्षेत्रमा समयमा काम नगर्ने यस्तै प्रवृत्तिले मानिसले उन्नति गर्न सकेको छैन। अनावश्यक पर्खाउने र समयमा काम नगर्ने प्रवृत्तिले सबैलाई दुःखकष्ट दिएको छ। व्यक्तिका सपना, इच्छा र आकाङ्क्षा पूरा हुन सकेका छैनन् । सामान्य मानिसको भन्दा शिक्षित मान्छेहरूको कल्पना र कार्यशैली फरक हुनुपर्छ तर त्यो पनि हुन सकेको छैन। शिक्षित मानिसहरूले नै सभ्य र शिष्ट शब्द प्रयोग गरेर काम टारिरहेको अवस्था छ।
यसरी निबन्धकारले आत्मपरक शैलीमा सरल र प्रभावकारी भाषाशैलीका माध्यमबाट पर्खाउने विकृति र मानवीय कमजोरीका विरुद्ध व्यङ्ग्य गरेका छन् । यस्ता प्रकृतिले व्यक्तिका सपना केबल सपनामा मात्र सीमित रहने अवस्था सिर्जना हुन्छ भन्ने यथार्थलाई निबन्धांशमा स्पष्ट पारेका छन् ।
(ख) हामी दुवै चाहन्छौं एउटा त्यस्तो दुनियाँ सिर्जना गरौं जहाँ कसैले कसैलाई कुराले मात्र टार्न नसकोस् !
⇒ प्रस्तुत निबन्धांश ‘पख्नोस्’ शीर्षकको निबन्धबाट उद्धृत गरिएको हो। यस निबन्धका रचनाकार नेपाली हास्यव्यङ्ग्य निबन्ध साहित्यका सुप्रसिद्ध हास्यव्यङ्ग्य निबन्धकार भैरव अर्याल हुन्। पर्खने र पर्खाउने दुवै परम्पराको अन्त्य भई समयमै काम हुने अवस्था सिर्जना होस् भन्ने चाहना राख्ने क्रममा माथिको निबन्धांश आएको हो।
मानिसमा प्रशस्त कमजोरी छन्। तीमध्ये काम गर्नेभन्दा कुराले टारेर अरुलाई झुलाइरहने प्रवृति पनि एक हो। यसैका कारण मानिसले समयलाई अर्थहीन रूपमा बिताइरहेको छ र उसको सिर्जना शक्ति हराएर जाँदै छ। मानिसले अपेक्षाकृत उन्नति गर्न नसक्नुको कारण यही हो। मानिस जुम्राजस्तै जुम्सो बनेको छ र हरेक काममा लम्स्याङलुम्सुङ पारा देखाउँछ । शिक्षित व्यक्तिहरूमा यस्तो प्रवृत्ति झन् बढी देख्न पाइन्छ। यसरी कसैले कसैलाई चिल्ला कुराले मात्र टार्ने प्रवृतिको अन्त्य गर्नुपर्छ। यो दुनियाँमा सबैले उन्नति नै चाहन्छन्। तसर्थ जागरुकताका साथ काम सम्पन्न गरी अगाडि बढ्ने वातावरण सिर्जना गर्नुपर्छ। यस्तो प्रवृत्तिको अन्त्य गरेर अगाडि बढ्नु नै सबैको हितमा हुन्छ।
यसरी निबन्धकारले आत्मपरक शैलीमा सरल र प्रभावकारी भाषाशैलीका माध्यमबाट सबैको चाहना ढिलासुस्ती हटाउने भए पनि पर्खनुपर्ने बाध्यता कायम रहेको भाव अभिव्यक्त गरेका छन्। साथै ढिलासुस्तीको अन्त्य गर्नुपर्ने सन्देश पनि निबन्धांशमा अभिव्यक्त भएको छ।
१०. ‘पख्नोस्’ निबन्धमा हाम्रा समाजका कस्ता पक्षमाथि व्यङ्ग्य गरिएको छ, समीक्षा गर्नुहोस् ।
⇒ ‘पख्नोस्’ निबन्ध नेपाली हास्यव्यङ्ग्य निबन्ध साहित्यका सर्वोच्च प्रतिभा भैरव अर्याल (वि.सं. १९९३-२०३३) ले लेखेका हुन् । सामाजिक विषयवस्तुमा आधारित ‘पख्नोस्’ निबन्धमा मानिसका कमी कमजोरीमाथि तिखो व्यङ्ग्य प्रहार गरिएको छ। कामभन्दा कुराले टार्न खोज्ने मानवीय प्रवृत्तिप्रति विरोध गरिएको छ। यसका साथै सबैतिर पर्खने र पर्खाउने प्रवृत्ति प्रगतिको बाधक भएको कुरालाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ। मानिस जुम्रोजस्तै जुम्सो बनेको छ। मान्छेले राम्ररी जानेको क्रिया नै पर्खनु र पर्खाउनु हो। ऊ आफ्नो जिम्मेवारीलाई इमानदारी साथ पूरा गर्न छोडेर कुराले टार्नु महानता ठान्छ। मानौँ मानिसहरूबीच एकले अर्कालाई भुलाउने प्रतिस्पर्धा चलिरहेको छ। सामान्य काममा पर्खनै पर्ने मानिसहरूका लागि नियति नै बनिसकेको छ ।
आजका हरेक मानिस अरूलाई झुलाउनमा अभ्यस्त भइसकेका छन् । शिक्षितहरू त यस कार्यमा झनै निपुण छन् किनभने सभ्य शिक्षितका चिल्ला शब्दमा सबैले धैर्य गर्नैपर्छ। पखँदा पखँदा मानिसको काम गर्ने इच्छाशक्ति एवम् जोस जाँगर हराएको छ। यसैले ऊ हरेक काममा लम्स्याङलुम्सुङ गर्छ। मानिसले पर्खने क्रम जन्मेदेखि मृत्यु नहुन्जेलसम्म रोकिँदैन अर्थात् पर्खाइबिना जीवन चल्दैन। उसले काम गर्न गएकी आमा, जागिरमा गएका बुबा, पाठ दिने गुरु, माया दिने मान्यजन, जागिर पाउने आश्वासन, तलब पाइने दिन, ओखती गर्ने उपचारक, बिदा दिने निर्देशक, पैसा दिने मालिक तथा लुगा सिउने सूचीकार सबैलाई पर्खनैपर्छ। मानिसले पर्खने क्रममा उसका हजारौं सपना, इच्छा र आकाङ्क्षा मरिरहेका छन् । त्यसैले मानिस केही गर्ने नसक्ने जस्तो भएको छ।
हरेक मानिसले सत्य, समता र शान्ति पर्खदै आएका छन् तर विश्व अशान्त बनिरहेको छ। विषमता बढ्दो छ। आणविक हतियारमा प्रतिबन्ध लाउन सके मात्र विश्व शान्ति क्षेत्र बन्न सक्थ्यो भन्ने सबैको मान्यता छ तर प्रतिबन्ध लाउने कार्यमै लम्स्याङलुम्सुङ भइरहेको छ। भौतिक उन्नति तीव्र भएको समयमा पनि सानातिना कुरामा समेत पर्खनपर्ने बाध्यता सिर्जना हुनु स्वभाविक होइन। पर्खन नसक्ने मानिस पलायनवादी कहलिनु परेको छ। यसको कारणले मानिसलाई उन्नति गर्न कठिन भएको छ। विश्वभरि नै भौतिक उन्नति तीव्र रूपमा भए पनि दुई गज र दुई गाँसका लागि अधिकांशलाई जीवनभर पर्खनुपर्ने बाध्यता रहेको छ।
तसर्थ मानिसले आफूलाई सच्याउनुपर्छ। मानिसमा रहेको सिर्जना शक्तिलाई मर्न दिनुहुँदैन, जागृत गराउनुपर्छ भन्ने भावलाई निबन्धमा प्रस्तुत गरिएको छ। उखान टुक्काका साथै अनुकरणात्मक शब्दको विशिष्ट प्रयोगले यो निबन्ध उत्कृष्ट बन्न पुगेको छ। समग्रमा निबन्धमा हाम्रो समाजका पर्खने र पर्खाउने प्रवृत्तिमाथि व्यङ्ग्य गरिएको छ।
भाषिक संरचना (Language Structure)
भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् :
(अ) विद्यार्थीलाई समीक्षात्मक सोचमा तल्लीन बनाउनुपर्छन्। वाक्यलाई पदसङ्गति मिलाई लेख्नुहोस् ।
⇒ विद्यार्थीलाई समीक्षात्मक सोचमा तल्लीन बनाउनुपर्छ।
(आ) शिक्षक र साथीभाइले राखेका तर्कको विश्लेषण गर्दा समीक्षात्मक सोचको उपयोग हुनुहुन्छ। वाक्यलाई पदसङ्गति मिलाई लेख्नुहोस् ।
⇒ शिक्षक र साथीभाइले राखेका तर्कको विश्लेषण गर्दा समीक्षात्मक सोचको उपयोग हुन्छ।
(इ) जिम्मेवारी लिन्, समीक्षात्मक सोच र गुण दोष छुटयाउन गरिने जस्ता पदावलीका हलन्त अजन्त प्रयोगसम्बन्धी त्रुटि सच्याई लेख्नुहोस् ।
⇒ जिम्मेवारी लिन, समीक्षात्मक सोच र गुण दोष छुट्याउन गरिने
२. दिइएका वाक्य पढेर उदाहरणबमोजिम तिनको वचन, पुरुष, लिङ्ग र आदर खाली कोठामा भर्नुहोस् :
| उदाहरण वाक्य | वचन | पुरुष | लिङ्ग | आदर |
|---|---|---|---|---|
| तैंले पाठ पढिस् | एकवचन | द्वितीय | स्त्री, पुलिङ्ग | सामान्य |
| ऊ घर जान्छ | एकवचन | तृतीय | पुलिङ्ग | सामान्य |
| रमा घर जान्छे। | एकवचन | तृतीय | स्त्रीलिङ्ग | सामान्य |
| उहाँ धनकुटा जानुहुन्छ | एकवचन | तृतीय | स्त्री, पुलिङ्ग | उच्च |
| म खेल खेल्छु। | एकवचन | प्रथम | स्त्री, पुलिङ्ग | सामान्य |
| हामीहरू रारा पुग्यौँ। | बहुवचन | प्रथम | स्त्री, पुलिङ्ग | सामान्य |
३. दिइएको अनुच्छेदका वाक्यको क्रियापद सच्याएर पदसङ्गति मिलाई लेख्नुहोस् :
कक्षाका साथीहरू वनभोज गएछ। सीता र रीता वनभोज गइन्छ। गीता चाहि गएछ। बुबाले सबैलाई वनभोज जान अनुमति दिएछ। आमाले पनि सहमत जनाएछ। उहाँले गीतालाई ढिलो नगर्नु भनिछन्। आमाले चाँडै आउ र बेलुकी घुम्न जाऔंला भनिछन्। आमाले मलाई ढिलो नगर्नु भनेको छ भने गीताले साथीलाई भनेछ। गीताले आमाको कुरा मान्नुभएछ र समयमा घर आउनुभएछ। गीता समयमा घर आएकामा आमा खुसी भइछ।
⇒ कक्षाका साथीहरू वनभोज गएछन् । सीता र रीता वनभोज गएनछन्। गीता चाहि गइछ । बुबाले सबैलाई वनभोज जान अनुमति दिनुभएछ। आमाले पनि सहमति जनाउनुभएछ। उहाँले गीतालाई ढिलो नगर्नु भन्नुभएछ। आमाले तिमी चाँडै आउ र बेलुकी घुम्न जाऔंला भन्नुभएछ। आमाले मलाई ढिलो नगर्नु भन्नुभएको छ भनेर गीताले साथीलाई भनिछ। गीताले आमाको कुरा मानिछ र समयमा घर आइछ। गीता समयमा घर आएकामा आमा खुसी हुनुभएछ।
४. दिइएको सङ्केतअनुसार पदसङ्गति मिल्ने क्रियापद भर्नुहोस् :
५. पख्नोस् निबन्धबाट हलन्त र अजन्त हुने पाँच पाँचओटा शब्द टिपोट गर्नुहोस् ।
हलन्त हुने शब्दः
- पख्नोस्
- नमान्नुहोस्
- गर्छन्
- होलान्
- टट्टी
अजन्त हुने शब्दः
- चिरपरिचित
- पत्यारलाग्दो
- आश्वासन
- डर
- लेख
६. हलन्त र अजन्तको उपयुक्त प्रयोग गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
तैंले के गरिस भनेर् मलाई साथीले सोध्यो। मैले गृहकार्य गरें भनेपछि उस्ले मलाई भन्यो, अब म पनि गृहकार्य गर्छु। तँ पनि गृहकार्य गर । उमेश, रमेश, श्यामले पनि गृहकार्य सकेछन ।
⇒ तैंले के गरिस् भनेर मलाई साथीले सोध्यो। मैले गृहकार्य गरें भनेपछि उसले मलाई भन्यो, अब म पनि गृहकार्य गर्छु। तँ पनि गृहकार्य गर्। उमेश, रमेश, श्यामले पनि गृहकार्य सकेछन् ।
सिर्जना कार्य (Creative Writing)
११. दिइएको चित्र वर्णन गर्नुहोस् :
⇒ यो एउटा गाउँको चित्र हो। गाउँमा परम्परागत शैलीका सुन्दर र आकर्षक घरहरू रहेका छन्। मिलेको बस्ती छ । पृष्ठभूमिमा हरियाली, सफा र स्वच्छ वातावरण देखिन्छ। गाउँका मानिसहरू चउरमा भेला भएर समुदायका बारेमा छलफल गरिहेका छन् । छलफलमा सबै धर्म, जात, वर्ग र उमेरका मानिसहरू उपस्थित भएको देखिन्छ। एउटी महिला समुदायका बारेमा सहजीकरण गर्दै छिन्। बसेका मानिसहरू चासो दिएर उनलाई सुन्दै छन्। यसबाट उक्त गाउँ जात, धर्म, संस्कृतिमा विविधता देखिन्छ र विविधताबिच पनि एकता भएको अनुमान गर्न सकिन्छ।
१२. पेट्रोलियम पदार्थको मूल्यवृद्धि शीर्षकमा १५० शब्दसम्मको टिप्पणी लेख्नुहोस् ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि
पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँले वृद्धि गरेको हो। भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएपछि निगमले नेपाली बजारमा पनि तेलको मूल्य वृद्धि गरेको हो। नयाँ मूल्य सूचीअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको प्रतिलिटर १७८ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ पर्ने छ। ग्यास र हवाई इन्धनको मूल्य भने यथावत छ।
लगातार पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण सर्वसाधारणको दैनिकीमा प्रभाव पारेको र उपभोक्तालाई मार परेको तथा मूल्य वृद्धि हुने भन्दै सरकारको आलोचना सुरु भएको छ। नेपालमा रहेका विभिन्न समस्यामध्ये यो पनि एक महत्त्वपूर्ण समस्या हो। पछिल्ला वर्षहरूमा नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि निरन्तर उकालो लागेको देखिन्छ। यस्तो मूल्यवृद्धि कतिपय सन्दर्भमा स्वाभाविक र कतिपय सन्दर्भमा अस्वाभाविक किसिमले भएको छ। नेपालमा पेट्रोलियम पदार्थ विदेशबाट आयात गरिन्छ। विदेशमा मूल्य बढ्दा नेपालमा पनि मूल्य बढ्नु स्वाभाविक हो। नेपाल आयल निगमको एकाधिकार, आयल निगमका राजनीतिक र स्वार्थपूर्ण नियुक्ति, कमिसनको चक्कर, कृत्रिम अभाव सिर्जना जस्ता विभिन्न कारणले हुने मूल्यवृद्धि चाहिँ अस्वाभाविक हो। स्वाभाविकभन्दा अस्वाभाविक मूल्यवृद्धि नेपालमा बढी हुने गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि जनताको भान्छासम्म प्रत्यक्ष असर पार्ने विषय हो। निरन्तर मूल्यवृद्धि गरेर महँगी बढाई जनताको ढाड सेक्ने काम भएको छ। यस विषयमा सबै गम्भीर र जिम्मेवार बनी अस्वाभाविक पेट्रोलियम पदार्थको मूल्यवृद्धि नियन्त्रण गर्नुपर्छ। आयल निगमको एकाधिकार तोड्ने र विद्युतीय ऊर्जाको खपत बढाउने नीति लागु गरी यो समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिन्छ।
१३. दिइएका शीर्षकमा निबन्ध तयार पार्नुहोस् :
(क) आर्थिक समृद्धिमा पर्यटन उद्योग
पर्यटकहरूलाई एक ठाउँबाट अर्को ठाउँको भ्रमणमा सहयोग पुर्याउने कार्य पर्यटन हो। आफ्नो नियमित वासस्थानबाट बिदा मनाउने, व्यापार गर्ने, कुनै नयाँ सीप र अनुभव हासिल गर्ने उद्देश्यले बाहिर घुम्न जाने व्यक्ति पर्यटक हुन्। यस्ता पर्यटकहरूलाई खाने, बस्ने, यातायात, साहसिक खेल, मनोरञ्जन आदिको व्यवस्था मिलाउने कार्य पर्यटन हो। पर्यटनलाई विश्वको दोस्रो ठूलो उद्योगको रूपमा लिइन्छ। नेपाल जस्ता विकासोन्मुख देशहरूका लागि पर्यटन व्यवसाय विदेशी मुद्रा आयात गर्ने प्रमुख माध्यम हो। जसले नेपालको कुल ग्राहस्थ उत्पादनमा करिब ३ प्रतिशत हिस्सा ओगटेको छ।
नेपाल क्षेत्रफलका हिसाबले सानो भए पनि प्राकृतिक, भौगोलिक, सांस्कृतिक विविधताले सम्पन्न देश हो। यहाँ संसारको सर्वोच्च शिखर सगरमाथा छ। नेपाल भगवान् गौतम बुद्धको जन्मस्थल हो। प्रकृतिको वरदान पाएको नेपाल हिमाल, पहाड, तराई, नदीनाला, ताल, छहरा, जङ्गलजस्ता अनेक सम्पदाले भरिपूर्ण छ। विविध भाषा, संस्कृतिसहितका आफ्नै अनुपम मौलिक संस्कृति र परम्पराले सजिएको छ। पर्वतारोहण, पदयात्रा, प्याराग्लाइडिङ, र्याफ्टिङ जस्ता साहसिक खेलहरूको अन्तर्राष्ट्रिय सङ्गम तथा जैविक, सांस्कृतिक विविधताको खानी हो नेपाल। यस्तो विशेषता बोकेको यो माटोमा संसारभरबाट पर्यटकहरू घुम्न आउँछन्। प्रकृतिले कुँदिएर बनेको यो देशमा पर्यटनका प्रचुर सम्भावनाहरू छन्।
नेपालमा प्रायः सहरिया व्यस्त जीवनबाट एकछिन भए पनि मुक्ति पाउने, यहाँको प्रकृतिको स्वर्गीय आनन्दमा रमाउन पर्यटकहरू बढी आउने गरेका छन्। वर्षमा करिब दस लाखको हाराहारीमा विदेशी पर्यटकहरू आउने गरेका छन्। पर्यटन क्षेत्रको विकास भएमा लाखौं युवाहरूले स्वदेशमै रोजगारी प्राप्त गर्छन्। पर्यटन व्यवसायबाट विदेशी मुद्रा आर्जन हुने हुँदा यसबाट व्यापार सन्तुलनमा पनि सहयोग पुग्छ। यसबाट नेपाली कला र संस्कृतिको आदान प्रदान हुन गई यसले विश्वमा चिनिने मौका पाउँछ। यसका लागि विभिन्न प्रसिद्ध स्थलहरूलाई पर्यटकीय हबका रूपमा विकास गरिनुपर्छ। भएका प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक आदि स्थलहरूको संरक्षण र नयाँ स्थल पहिचान गरी ती क्षेत्रको पूर्वाधार विकासमा जोड दिनुपर्छ। त्यसका लागि भरपर्दो र सहज हवाई सेवा र यातायातको व्यवस्था गर्नुपर्छ। प्रशिक्षित र तालिम प्राप्त जनशक्तिको व्यवस्था गर्नु र पर्याप्त सुविधाजनक होटल, रेस्टुरेन्ट आदिको व्यवस्थामा जोड दिनुपर्छ। विश्वव्यापीकरणको अहिलेको युगमा नेपाल जस्ता विकासोन्मुख देशले उद्योग कलकारखाना खोलेर विकसित देशका उत्पादनसँग प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ। त्यसैले हामीले पर्यटन उद्योगलाई व्यवस्थित रूपले अगाडि बढायौँ भने यसले नेपालको अर्थतन्त्र पनि अग्रगामी छलाङ मार्न सक्छ। यस क्षेत्रको प्रवर्धनमा लाग्ने हो भने पर्यटन व्यवसाय नेपाल जस्तो विकासोन्मुख देशका लागि वरदान सावित हुनेछ।
(ख) मेरो जीवनको लक्ष्य
वर्तमान समयमा नेपालका अधिकांश बालबालिकाहरूलाई सोध्ने हो भने उनीहरू डाक्टर वा इन्जिनियर बन्ने, विदेश जाने आदि सपना रहेको सुनाउँछन् । तर मैले यस्तो सपना कहिल्यै देखिनँ। म जुन पारिवारिक पृष्ठभूमिमा हुर्किएँ त्यहाँ मैले मेरा अग्रजबाट राष्ट्रप्रेमको भाव विकास गर्ने अवसर पाएँ। हुर्कंदै बढ्दै जाँदा देशको अवस्थाबारे ज्ञात भयो। हरेक क्षेत्रमा कुशल व्यवस्थापनको अभाव, भ्रष्टाचार लगायतका विकृति देखें। देशको यस्तो दुर्दशा देखेपछि देशमा रामराज्य स्थापना गर्न अरु क्षेत्रमा लागेर भन्दा देशको कार्यकारी प्रमुख बनेर देश र जनताको हितमा काम गर्न सकिन्छ भन्ने विश्वास लिएको छु र मेरो जीवनको लक्ष्य हो, देशको प्रधानमन्त्री बन्ने।
जनताका सामु मिठा सपनाहरू बाँड्ने र जनतालाई सत्तामा पुग्ने भर्याङ मात्र बनाउने, सत्तामा पुगेपछि आफ्नो दुनो सोझ्याउन मात्र लाग्ने प्रवृत्ति देखें। जनताको सरकारप्रतिको विश्वास गुम्दै गएको देखें। देशमा रोजगार नपाएर दैनिक दुई हजार युवा विदेश पलायन भएको देखें। पर्याप्त प्राकृतिक सम्पदा हुँदाहुँदै पनि देश पिछडिएको देखें। यस्तो अवस्थामा म प्रधानमन्त्री बनेर देशको मुहार फेर्न पहल गर्ने छु। भ्रष्टाचारी, देशद्रोही, बलात्कारीहरूलाई फासीको सजाय हुने छ। दण्डहीनताको अन्त्य हुने छ। लिङ्ग, जाति आदिका आधारमा कसैमाथि भेदभाव हुने छैन। देशको माटो सुहाउने योजना बनाउने छु। आर्थिक विकासमा मेरो देशले फड्को मार्ने छ। यहाँको जलस्रोतको भरपूर उपयोग गरेर ठुला ठुला विद्युत गृहहरू निर्माण गर्ने छु। बिजुली बेचेर बर्सेनि अर्बौं डलर कमाइ हुने छ। देशमा ठुला ठुला कलकारखानाहरू स्थापित गर्ने छु। नेपालमा कुनै पनि सामान आयात गरिने छैन। यहाँ उत्पादित सामग्रीहरू विश्वका हरेक कुनामा निर्यात हुने छन्। त्यसैगरी रोजगारीका लागि कुनै पनि नेपाली युवा विदेश जानुपर्ने छैन। यहाँ ठुला ठुला विश्वविद्यालयहरू स्थापना गर्ने छु। त्यस्तै बिरामी परेर उपचार नपाई अकालमा कसैले मर्नुपर्ने छैन। देशमा यातायातको सहज व्यवस्थाका लागि पूर्व-पश्चिम रेल गुडाउने छु । ठाउँ ठाउँमा सुरुङमार्गहरू निर्माण हुने छन्। सडकहरू फराकिला र व्यवस्थित हुने छन्। अन्तर्राष्ट्रिय हवाई मैदानहरूको निर्माण हुने छन् । नेपाललाई विश्वकै एउटा उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने छु। त्यस्तै यहाँका जडीबुटीबाट पर्याप्त मात्रामा औषधीहरू निर्माण गरिने छन्। हुम्ला र जुम्लामा स्याउ उत्पादनका केन्द्र बन्ने छन्। त्यस्तै नेपालमा फुटबल र क्रिकेटका लागि ठुला रङ्गशालाहरू निर्माण गर्ने छु। नेपालको हरेक क्षेत्रलाई व्यवस्थित बनाउने छु।
मेरो लक्ष्य म मात्र खुसी र सुखी हुनु कदापि होइन। म जन्मभूमि नेपाललाई सुन्दर, शान्त र समृद्ध देश बनाउन चाहन्छु। सम्पूर्ण नेपालीहरूमा अमन चैन आएको हेर्न चाहन्छु र सबैको ओठमा खुसी देख्न चाहन्छु। त्यसैले यो लक्ष्य प्राप्तिको बाटोमा दिलो ज्यान दिएर लाग्ने छु र एक दिन यो लक्ष्यलाई वास्तविकतामा परिणत गरेर छाड्ने छु।
(ग) नेपालको विकासमा जलस्रोतको भूमिका
प्राणी र वनस्पतिका लागि नभई नहुने स्रोत हो, जलस्रोत। नेपाललाई जल सम्पदामा संसारमै दोस्रो धनी देशको रूपमा मानिन्छ। नेपालमा रहेका ६ हजारभन्दा बढी नदीनाला, ताल, छहरा, तलाउ, पानीका मुहान र वर्षायामको वर्षा जलका प्रमुख स्रोत हुन्। यहाँ भुमिगत र सतही दुवै प्रकारका अपार जलस्रोत रहेका छन्। जलस्रोतको प्रयोगले कृषि, उद्योग, यातायात, सञ्चार, पर्यटनजस्ता आर्थिक विकासका पूर्वाधारहरूको विकास गर्न सकिन्छ। नेपालमा जलस्रोतको अथाह सम्भावना छ। नेपालमा रहेको जलसम्पदाको क्षमतालाई विश्लेषण गर्दा सैद्धान्तिक रूपमा ८३ हजार मेगावाट विद्युत् उत्पादन हुने बताइएको छ भने आर्थिक तथा व्यवहारिक दृष्टिकोणका हिसाबले ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ। नेपालको जलसम्पदाबाट प्रशस्त मात्रामा जलविद्युत् उत्पादन गरी देशभित्रै विद्युत्को पर्याप्त मात्रामा प्रयोग गर्नुका साथै बढी भएको विद्युत् निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ।
जल सम्पदाबाट सिँचाइ गरी कृषि क्षेत्रको उत्पादकत्व बढाउन एवं मत्स्यपालन व्यवसायको प्रवर्द्धन गर्न, हिमाली भेगमा बग्ने झरनाको पानी प्रशोधन गरी पिउने पानीको उत्पादन गरेर निर्यात गर्न सकिन्छ। ताल, छहरा र पोखरीको प्रवर्द्धन गरी प्राकृतिक सुन्दरता बढाउन र बन्जीजम्पिङ, र्याफ्टिङ, जलविहार जस्ता मनोरञ्जनात्मक क्रियाकलाप सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी आय आर्जन गर्न सकिन्छ। पिउने पानी, सरसफाई र पूर्वाधार निर्माणको स्रोतको रूपमा उपयोग गर्न, जल यातायात सञ्चालन गर्न, पानीजहाज चलाउन, जलचरको संरक्षण र जैविक विविधताको रक्षा गर्न, राष्ट्रिय अन्तर्राष्ट्रिय सिमानाको रूपमा पनि उपयोग गर्न सकिन्छ।
जलस्रोतको सदुपयोगबाट नेपालका कृषकहरूलाई पनि प्रत्यक्ष फाइदा पुग्ने देखिन्छ। नेपालमा अधिकांश जनताहरूले कृषिलाई आफ्नो मुख्य पेसाको रूपमा अँगालिरहेका छन्। कृषि पेसालाई राम्रो बनाउन सकिएको खण्डमा हाम्रो देश नेपालको पनि सही रूपमा विकास हुन सक्छ। त्यसैले कृषिलाई राम्रो तरिकाले विकास गर्न सिँचाइको ठूलो भुमिका रहेको हुन्छ। सिँचाइको सुविधाबाट वञ्चित हुन पुगेका नेपाली कृषकहरूलाई सिँचाइको सुविधा प्रदान गर्न सकेमा नेपाली जनताको जीवन समृद्ध हुने कुरामा कुनै शङ्का छैन।
पुँजीको अभाव, दक्ष जनशक्तिको कमी, राजनीतिक अस्थिरता, भौगोलिक कठिनाइ, खोज अनुसन्धानको कमी आदि कारणले नेपालको जलस्रोतको राम्रो उपयोग हुन सकेको छैन। नेपालको जलस्रोत भनेको अनमोल मोती हो। यसको प्रभावकारी उपयोगबाट नेपालले विश्वका विकसित मुलुकसँग पनि प्रतिस्पर्धा गर्न सक्छ। त्यसैले नेपालमा भएको अपार जल सम्पदाको भरपूर उपयोग गरी नेपाललाई समृद्ध पार्न र नेपालीलाई सुखी बनाउन सकिन्छ।
१४. (अ) दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
समीक्षात्मक सोच भन्नाले के बुझिन्छ ?
⇒ कुनै पनि विषयवस्तु वा कृतिका बारेमा गुण दोष छुट्याउन गरिने विवेचनात्मक सोचलाई समीक्षात्मक सोच भन्ने बुझिन्छ।
समीक्षात्मक सोचले विद्यार्थीलाई के कुरामा आत्मनिर्भर बनाउँछ ?
⇒ समीक्षात्मक सोचले विद्यार्थीलाई प्रतिबिम्बात्मक रूपमा चिन्तन गर्न, आफ्नो व्यक्तिगत सिकाइको जिम्मेवारी लिन, तर्कको सङ्गति बुझ्न, ध्यान दिएर सुन्न, आत्मविश्वासका साथ बहस गर्न तथा जीवनपर्यन्त सिकाइका लागि आत्मनिर्भर बनाउँछ।
समीक्षात्मक सोचको प्रयोग कसकसमा हुनु जरुरी छ ?
⇒ समीक्षात्मक सोचको प्रयोग आधारभूत शिक्षादेखि उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीमा हुन जरुरी छ।
समीक्षात्मक सोचले के कुरामा फाइदा पुर्याउन सक्छ ?
⇒ समीक्षात्मक सोचले हामीलाई आफ्नो चिन्तनका बारेमा सोच्न र आफ्ना सोच पछाडिका कारणबारे सोच्न फाइदा पुर्याउँछ।
सिर्जना र परियोजना कार्य
१. समाजमा देखिएका विकृति शीर्षकमा हास्यव्यङ्ग्य शैलीको छोटो निबन्ध लेख्नुहोस् ।
गधालाई जतिसुकै साबुन पानी दलेर नुहाइदिए पनि गाई बन्न सक्दैन। हो यस्तै नेतालाई जतिसुकै राम्रो अर्ती उपदेश दिए पनि ऊ सुझबुझ सहितको मान्छे बन्न सकेका छैनन् । किन त ? भन्दा नेता गधाजस्तो सच्चा खिच्चा, धुन्धुकारी, अहम, रिस, राग, द्वेष र खानाका भकारी बनेका छन्। त्यसैले गधाको मान पदवीले गधानिधिसभामा विराजमान हुन पुगेका छन्। गफको ढाकर बोकेर, सपनाको पोको झुण्ड्याएर, विकासे नारा घन्क्याएर, बालुवामा पानी खन्याएर, गाउँ समाजमा गधार्थों गन्हाएर, सहर गल्लीमा गधा कराएर, गधानिधिसभामा चिच्याएर, गलगिद्ध घिचेर चिरनिन्द्रामा सुतेर नअघाउनेको गधा दिवस मनाउनु उपयुक्त हुन्छ। धोवीले पाल्ने गधालाई यतिबेला हामी मतका भकारीले साँझ बिहानको गाँस काटेर थेचारी थेचारी पालेका छौं।
सही सत्य कुरा गर्ने हो भने गधालाई पाल्ने हामी मतका भकारी महागधा हौँ। त्यसैले अहिले गधानिधिसभाका सदस्यहरू हाम्रै जात्रा गरिरहेका छन् । हामी मतका भकारी गधानिधिसभाका सदस्यहरू खानका भकारी। खानका भकारीलाई हामी अझ मिठो मिठो खुवाएर बङ्करौँ बनाएर मान सम्मानका साथ पालिरहेका छौं। भनौँ यिनीहरूले मतका भकारीको अपमान गरेर आफू सम्मानित भएकोले पनि यिनीहरूको थप सम्मानका लागि गधा दिवश मनाउनु उचित हुन्छ। यिनीहरूको बौद्धिकताको सम्मानका लागि यिनीहरूलाई गधामाथि चढाएर होइन कि गधालाई यिनीहरू माथि चढाएर बजार घुमाएर वा गधानिधिसभामा नै गधाको भारी बोकाएर शुभ मुहुर्त गरी गधानिधिसभाको बैठक प्रारम्भ गर्नु उचित हुन्छ।
– माधव पोखरेल
