नेपाली हाम्रो श्रम र सिप (Nepali hamro shram ra sip)
Comprehensive guide with all exercises, vocabulary, comprehension and detailed analysis of the poem ‘नेपाली हाम्रो श्रम र सिप (Nepali hamro shram ra sip)’ for Class 10 SEE preparation.
Table of Contents
शब्दभण्डार (Vocabulary) -Nepali hamro shram ra sip
१. दिइएका शब्दको अर्थ लेख्नुहोस् :
२. ‘नेपाली हाम्रो श्रम र सिप’ कविताबाट पाँच जोडी लय मिल्दा शब्द पहिचान गरी लेख्नुहोस् :
⇒ बगाऊँ : लगाऊँ
⇒ बाँच्ने छ : साँच्ने छ
⇒ नखाए : नलाए
३. दिइएको अनुच्छेदबाट समान संरचनायुक्त शब्द पहिचान गरी अर्थ पहिल्याउनुहोस् :
हाम्रो विद्यालयका १० कक्षाका सारा विद्यार्थी बस चढेर बारा घुम्न हिँड्यौं । वर्षायाम थियो । वेगसँग मेघ गर्ज्यो । रातो माटो र चिप्लो बाटो थियो । बाटामा बस गुड्दै थियो। पानी दरर दर्किंदै थियो । बरर असिना बर्संदै थियो । हाम्रो बस टक्क अडियो । बसबाट सट्ट झरियो । हामीले कुन ठाउँ हो भन्ने भेउ नपाए पनि एउटा होटलको छेउमा बस रोकिएको रहेछ । हामी गएपछि होटल खचाखच भयो। केहीलाई होटलका बूढामान्छेले मुढा दिए । हामी मुढामा बस्यौँ।
⇒ अनुकरणात्मक शब्दहरू: गुड्दै, दरर, बरर, टक्क, सट्ट, खचाखच
⇒ अर्थ: यी सबै अनुकरणात्मक शब्द हुन्, जसले ध्वनि वा गतिको नक्कल गर्छन्।
४. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्:
स्वदेश
⇒ इटालीको ४ दिने भ्रमण सकाएर प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कंदै हुनुहुन्छ।
पसिना
⇒ बढी पसिना आउने मानिसलाई डिहाइड्रेसन वा नुनको कमी हुने जस्ता समस्या निम्तिन सक्छ।
सिप
⇒ सीप भनेको प्रतिभा, तालिम वा अभ्यासबाट विकसित कुनै काम गर्न सक्ने क्षमता हो।
पुर्खा
⇒ पुर्खाको कारणले नै आज हामी शिर ठाडो पारेर हिँड्न सकेका छौँ।
भाषा
⇒ मानव-मानवबीच भावना वा विचार सम्प्रेषण गर्ने माध्यम भाषा हो।
सितो
⇒ दुःखले कमाएको अन्नको सितो फाल्नु हुँदैन।
विज्ञान
⇒ विज्ञान मानव सभ्यताको एक उल्लेखनीय उपलब्धि हो।
५. तपाईंको समाजमा प्रचलित चाडपर्वसँग सम्बन्धित छओटा शब्द टिपोट गरी वाक्यमा प्रयोग गर्नुहोस्:
टीका
⇒ महिलाले लगाउने टीका विभिन्न रङ्गका हुन्छन्।
होली
⇒ होली पर्व असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाइने पर्व हो।
जमरा
⇒ विजयादशमी र जमरा नेपाली संस्कृति एवं परम्पराका परिपूरक शब्द हुन्।
कथा
⇒ कथा साहित्यको महत्त्वपूर्ण अङ्ग वा भागमध्येको एक हो।
व्रत
⇒ व्रत बस्ने नाममा प्रशस्त फलाहार गर्नु, सिँगारिनु तथा आराम गर्नु सामान्य हुन थालेको छ।
बोध र अभिव्यक्ति (Comprehension & Expression)
३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) ‘नेपाली हाम्रो श्रम र सिप’ कविताको अन्तिम श्लोक वाचन गर्नुहोस् र उक्त श्लोकका हरेक पङ्क्तिमा कति-कति ओटा शब्द छन्, भन्नुहोस्।
⇒ ८/९ ओटा शब्द छन्।
(ख) उक्त श्लोकका हरफहरूको अन्त्यमा समान ध्वनि भएका दुई जोडी शब्द भन्नुहोस्।
⇒ बाँच्ने छ : साँच्ने छ, बनाऊँ : लगाऊँ
(ग) आशिष् दिने प्रसङ्ग कविताको कुन श्लोकको कुन पङ्क्तिमा आएको छ?
⇒ अन्तिम श्लोकको तेस्रो पङ्क्तिमा आएको छ।
(घ) ‘नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ’ भन्ने पङ्क्ति कवितामा कतिपटक पुनरावृत्ति भएको छ?
⇒ तीनपटक।
४. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
(क) पहाडले पसिना खोज्नुको आशय खुलाउनुहोस्।
⇒ पहाडले पसिना खोज्नुको आशय आफूलाई अत्यन्त रमणीय स्थान बनाउनका लागि मानव श्रमको अपेक्षा गर्नु हो।
(ख) तराईलाई सिँचाइ किन चाहिएको हो?
⇒ तराईलाई धेरै धान फलाउनका लागि सिँचाइ चाहिएको हो।
(ग) होस्टेमा हैंसे गर्दा देशलाई कस्तो फाइदा पुग्छ?
⇒ होस्टेमा हैंसे गर्दा देशका सबै समस्याहरू समाधान गर्न सजिलो हुन्छ।
(घ) ‘श्रम र सिपलाई स्वदेशमै लगाउनुपर्छ’ भन्ने भनाइलाई पुष्टि गर्नुहोस्।
⇒ देशको विकास गर्नु छ भने हामीसँग भएको क्षमताको प्रयोग स्वदेशमै गर्नुपर्छ।
५. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) नेपाली धर्ती विश्वमै महान् छ भन्ने भनाइलाई कविताका आधारमा वर्णन गर्नुहोस्।
⇒ ‘नेपाली हाम्रो श्रम र सिप’ कवितामा नेपाली धर्तीको महत्त्वलाई प्रस्तुत गरिएको छ। नेपाली धर्ती भौगोलिक रूपमा विविधतामय छ। हिमाल, पहाड र तराई भागमा विभाजित यस धर्तीमा विभिन्न सम्भावनाहरू रहेका छन्। हिमाली भाग हिउँको सौन्दर्य तथा जडीबुटी उत्पादनका दृष्टिले महत्त्वपूर्ण छ। पहाडी भूभाग तरकारी खेती, फलफूल उत्पादन तथा पशुपालनका लागि महत्त्वपूर्ण छ। त्यस्तै तराई भूभाग खाद्यान्न उत्पादनका दृष्टिले महत्त्वपूर्ण रहेको छ। यो हाम्रा पुर्खाको पौरखले निर्माण भएको भूमि हो। प्राचीन समयमा ऋषिहरूको तपोभूमिका रूपमा रहेको यो धर्ती सांस्कृतिक दृष्टिकोणले पनि निकै महत्त्वपूर्ण रहेको छ। पूर्वीय सभ्यताको विकास पनि यही भूमिबाट भएको मानिन्छ। तसर्थ, सबैले होस्टेमा हैंसे मिलाएर हाम्रो श्रम र सीप यही देशमा लगाउन सके यो देश अझै सुन्दर र समृद्ध बन्नेछ भन्ने भाव कवितामा प्रस्तुत भएको छ।
(ख) कवितामा धार्मिक विविधतालाई कविले कसरी चिनाएका छन्?
⇒ ‘नेपाली हाम्रो श्रम र सिप’ कवि मुकुन्दशरण उपाध्यायद्वारा झ्याउरे छन्दमा लेखिएको राष्ट्रिय भावनाले भरिएको कविता हो। यस कवितामा नेपालको वास्तविकतालाई उजागर गरिएको छ। हामी नेपाली भनेर चिनिनलाई नेपाल देश रहनुपर्छ भनेर कवितामा देशप्रेम झल्काइएको छ। नेपाललाई बचाउन आफ्नो श्रम र सिप स्वदेशमै खर्च गर्नुपर्दछ भन्ने मूल सन्देश कवितामा दिइएको छ। कविताभित्र नेपालमा प्रचलित धार्मिक विविधताको पनि उल्लेख गरिएको छ।
नेपालमा धार्मिक विविधता रहेको कुरा कवितामा उल्लेख गरिएको छ। यहाँ वेदको कुरा गरिएको छ। देवता, ऋषि, मनुष्य मिलेर वेदान्त गाउने कुरा उल्लेख गरिएको छ। वेद हिन्दु धर्मको प्रमुख धार्मिक ग्रन्थमध्ये एक हो। त्यस्तै कवितामा मुन्धुमको पनि उल्लेख पाइन्छ, जुन किरात समुदायको प्रमुख धार्मिक कृति हो। कवितामा उल्लिखित धम्मपद बौद्ध दर्शनसँग सम्बन्धित छ। यसरी कवितामा हिन्दू, बौद्ध, किराँत धर्मका प्रमुख धार्मिक ग्रन्थहरूको उल्लेख गरेर तिनीहरूको महानता दर्शाउँदै कविले नेपालको धार्मिक विविधतालाई चिनाएका छन्।
(ग) कविताको दोस्रो श्लोकको विषयवस्तु वर्णन गर्नुहोस्।
⇒ राष्ट्रिय भावना बोकेको ‘नेपाली हाम्रो श्रम र सिप’ भन्ने कविता झ्याउरे छन्दमा लेखिएको छ। यस कविताका रचनाकार श्री मुकुन्दशरण उपाध्याय हुनुहुन्छ। नेपालको वास्तविकतालाई कविताको माध्यमबाट उजागर गरिएको छ। कवितामा हामी नेपाली बाँच्नलाई नेपाल नै बाँच्नुपर्छ भन्ने कुरामा विशेष जोड दिइएको छ। नेपाललाई बचाउन आफ्नो श्रम र सिप स्वदेशमै लगाउनुपर्ने कुरालाई विशेष ख्याल गरिएको छ। यस कविताको दोस्रो श्लोकमा नेपालीहरूलाई गाँस र बासको व्यवस्था गर्नुपर्ने कुरा गरिएको छ। एक जना नेपालीले खान नपाउनु भनेको सम्पूर्ण नेपालीले खान नपाए समान हो। एक जना नेपालीले लुगा लाउन नपाउनु भनेको पनि सम्पूर्ण नेपालीले लाउन नपाउनु जस्तै हो। त्यसैले हामी सबै जुटेर खाना नहुनेलाई खाना र नाना नहुनेलाई नाना दिन तयार हुनुपर्छ भन्ने कुराको वर्णन पाइन्छ। हामी नेपालीहरूले हाम्रा वरिपरि रहेका गरिब, दुःखी दाजुभाइ, दिदीबहिनीलाई सकेसम्म सहयोग गर्नुपर्छ।
(घ) ‘नेपाली हाम्रो श्रम र सीप’ कविताको मूल भाव के हो?
⇒ ‘नेपाली हाम्रो श्रम र सिप’ कविता मुकुन्दशरण उपाध्याय (वि. सं. १९९७) द्वारा लेखिएको कविता हो। नेपाली धर्तीको महत्त्व प्रस्तुत गरिएको यस कवितामा राष्ट्रप्रेमको भाव अभिव्यक्त भएको छ।
हाम्रो देश नेपाल परापूर्व कालदेखि नै महत्त्व बोकेको देश हो। हाम्रा पुर्खाको रगत र पसिनाले निर्माण भएको यो देश प्राकृतिक सुन्दरताले भरिएको छ। यस देशको भाषा, कला, संस्कृति, साहित्यले यस देशको पहिचानलाई बढाउने अमूल्य सम्पदाको रूपमा रहेका छन्। भौगोलिक रूपमा हिमाल, पहाड र तराई क्षेत्रमा विभाजित यस देशका प्रत्येक क्षेत्रले विभिन्न सम्भावना बोकेका छन्। धार्मिक विविधता भएर पनि एकआपसमा सहिष्णुता हुनुले यस देशको गौरवलाई बढाएको छ। सभ्यताको विकासका दृष्टिले समेत यो धर्ती महत्त्वपूर्ण रहेको छ। यस देशको निर्माण गर्ने दायित्व हाम्रै हो। तसर्थ आलस्य, निद्रा र हीनता जस्ता भाव हटाएर एकजुट भई अगाडि बढ्नुपर्छ र सबैले सहजसँग खान र लाउन पाउने अवस्था सिर्जना गर्नुपर्छ। अतः झ्याउरे लयमा रचिएको यस कविताले सबै नेपालीलाई स्वदेशमै रहेर आफ्नो श्रम र सिप देशको उन्नतिका लागि उपयोग गर्नुपर्ने राष्ट्रप्रेमको भाव व्यक्त गर्न सफुल भएको छ।
७. दिइएका कविताका पंक्तिलाई व्याकरणिक क्रम मिलाएर लेख्नुहोस्:
(क) पूर्वले दियो विश्वकै लागि रहस्य विशाल
⇒ पूर्वले विश्वकै लागि विशाल रहस्य दियो।
(ख) विश्वमै छैन धरती महान् यो देश समान
⇒ यो देश समान महान धरती विश्वमै छैन ।
(ग) नेपाल आमा यो दिव्य आभा जगाऊँ कसरी
⇒ नेपाल आमा यो दिव्य आभा कसरी जगाऊँ।
(घ) आलस्य निद्रा हीनता सारा भगाऊँ कसरी
⇒ आलस्य निद्रा हीनता सारा कसरी भगाऊँ।
११. कविताका सुरुका चार पङ्क्तिबाट कुनै दुई ओटा बोध प्रश्न निर्माण गरी तिनको उत्तर लेख्नुहोस्।
प्रश्नहरू :
(क) नेपालीहरूको गौरव कसरी बाँच्ने छ ?
⇒ नेपाल बाँचे नेपालीहरूको गौरव बाँच्ने छ ।
(ख) हाम्रो श्रम र सिप किन स्वदेशमै लगाउनुपर्छ ?
⇒ हाम्रो श्रम र सिप देश बलियो बनाउन स्वदेशमै लगाउनुपर्छ ।
कविता विश्लेषण (Poem Analysis)
८. भाव विस्तार गर्नुहोस् :
क. नेपाल बाँचे नेपाली हाम्रो गौरव बाँच्ने छ नेपाली भाषा संस्कृति कला साहित्य साँच्ने छ ।
⇒ माथिका हरफहरू कक्षा १० को नेपाली पाठ्यपुस्तकको पाठ आठमा समावेश गरिएको कवि मुकुन्दशरण उपाध्यायद्वारा रचित ‘नेपाली हाम्रो श्रम र सिप’ भन्ने कविताबाट लिइएको हो । राष्ट्रप्रेमी कविले भ्याउरे छन्दमा लेखिएको यस कवितामा हामी नेपाली बाँच्नलाई नेपाल नै बाँच्नु पर्छ । नेपाललाई बचाउन आफ्नो श्रम र सिप स्वदेशमै खर्च गर्नु पर्दछ भन्ने प्रसङ्ग बुझाउन माथिको कवितांश आएको हो ।
माथिका हरफमा नेपाललाई हामीले बचाउनु पर्छ भनिएको छ । बचाउनु भनेको देशको अस्तित्व विश्वमा चिनाउनु हो । त्यसको लागि हामी आफैँ अग्रसर हुनुपर्छ हामीसित भएको क्षमताको उपयोग गर्नुपर्छ । हाम्रो भाषा, संस्कृति, कला, साहित्यलाई विस्तार गर्नुपर्दछ । देशमा कसैले पनि भोकै र नाङ्गै बस्नु पर्ने स्थितिको अन्त्य गर्नुपर्छ । पहाडमा हाम्रो श्रम खर्चिन सके यो स्वर्गजस्तै सुन्दर बन्छ भने सिँचाइको अभावले बाँझो रहेका तराईका फाँटहरूमा सिँचाइ पुऱ्याउन सके अन्नको भण्डार खडा गर्न सकिने छ । यस देशको उत्पत्तिकालमा नै विज्ञानको विकास भएको थियो । यहाँका वेद, मुन्धुम, धम्मपद सबै महान् दर्शन हुन् जुन विश्वविख्यात छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा पनि यहाँ छ ।
माथिका हरफमा कविले जसरी पनि नेपाललाई विश्वसामु चिनाएर बचाउनु पर्छ । नेपाललाई बचाउन सकियो भने मात्र नेपालमा प्रचलित भाषा, संस्कृति, कला, साहित्य आदिलाई बचाउन सकिन्छ भन्ने विचार प्रस्तुत गरेका छन्।
ख. आशिष देऊ एकै र फेरि पसिना बगाऊँ नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ ।
⇒ माथिका हरफहरू कक्षा १० को नेपाली पाठ्यपुस्तकको पाठ आठ अन्तर्गत समाविष्ट कवि मुकुन्दशरण उपाध्यायद्वारा रचित ‘नेपाली हाम्रो श्रम र सिप’ भन्ने कविताबाट लिइएको हो । राष्ट्रप्रेमी कविले नेपाल आमासँग आफू सच्चा नेपाली भएर बाँच्न सकूँ भनेर आशिष माग्ने प्रसङ्गमा माथिको पद्यांश आएको हो । झ्याउरे छन्दमा लेखिएको यस कविताले हामी नेपाली बाँच्नलाई नेपाल नै बाँच्नु पर्छ । नेपाललाई बचाउन आफ्नो श्रम र सिप स्वदेशमै खर्च गर्नु पर्दछ भन्ने आशय राखेका छन् ।
माथिका पङ्क्तिमा कविले नेपाल आमासँग आफ्ना सबै कमी कमजोरीहरू हटाएर जन्मभूमिका निम्ति आफ्नो सम्पूर्ण ऊर्जा खर्च गर्न सकूँ, जति पसिना बगाउनु पर्छ नेपालमा नै बगाउन पाऊँ, आफ्नो श्रम र सिप विदेशी भूमिमा खर्च गरेर त्यस देशको उन्नतिमा योगदान दिन नपरोस् भनेका छन् । विश्वमा महान् पहिचान बनाउन सफल यस देशको उत्पत्तिकालमा नै विज्ञानको विकास भएको थियो । यहाँका वेद, मुन्धुम, धम्मपद सबै महान् दर्शन हुन् जुन विश्वविख्यात छन् । जसको म आफ्नो क्षमताले भ्याएसम्म उपयोग गरेर देशको उत्थानमा योगदान गर्न सकूँ भन्ने आशिष देऊ भनेर पुकार गरिएको छ । कविले उपर्युक्त हरफमा एकै पटक भए पनि आशिष देऊ आमा, म मेरो सम्पूर्ण श्रम र सिप मेरै देशमा खर्च गरेर देशलाई बचाउन योगदान गर्न पाऊँ भन्ने आग्रह नेपाल आमासँग गरेका छन् ।
९. श्रम र सिपलाई स्वदेशमै कसरी उपयोग गर्न सकिन्छ, कविताका आधारमा समीक्षा गर्नुहोस् ।
⇒ कवि मुकुन्दशरण उपाध्यायद्वारा रचित ‘नेपाली हाम्रो श्रम र सिप’ झ्याउरे छन्दमा लेखिएको राष्ट्रिय भावनामा डुबेको कविता हो । यस कवितामा नेपालको वर्तमान अवस्थाको यथार्थता उजागर गरिएको छ । यस कविताले हामी नेपाली बाँच्नलाई नेपाल नै बाँच्न पर्छ भन्ने सन्देश दिएको छ । कविताले नेपाललाई बचाउन आफ्नो श्रम र सिप स्वदेशमै खर्च गर्नु पर्दछ भन्ने मूल सन्देश बोकेको छ । प्रत्येक व्यक्तिसँग कुनै न कुनै क्षमता हुन्छ । कसैसित अत्यन्त प्रखर दिमाग हुन्छ भने कसैसित धेरै शारीरिक तागत हुन्छ । कोही सामान्य हुन्छन् । प्रखर दिमागको बुद्धिलाई तागतवर शरीरसम्म पठाउन सकियो भने धेरै काम बन्न सक्छ । नेपालमा अहिले पहाडी क्षेत्रका जग्गाहरू बाँझा बसिरहेका छन् । तिनको उपयोग गरेर हावापानी सुहाउँदो खेती गर्ने हो भने नेपाललाई कृषिमा आत्मनिर्भर बन्न सहयोग पुग्छ । पहाडमा भएको प्रकृतिसँग रमाउने वातावरण बनाउनलाई हाम्रो श्रम र सिप खर्च गर्न सक्यो भने हामी प्रशस्त पर्यटक भित्र्याउन सक्छौं । तराईका सबै ठाउँमा सिँचाइको व्यवस्था मिलाउन र खेती गर्नमा आफ्नो योगदान दिन सक्यौं भने कृषि क्षेत्रमा पूर्ण आत्मनिर्भर हुन सक्छौं। हामीले हामीसित भएका प्रत्येक सिपलाई आफूअनुकूल हुने गरी खर्च गर्न सकिन्छ । पढ्न सिपालुले नीति निर्माण र योजनाहरू बनाउनमा श्रम लगाउन सकिन्छ भने शारीरिक रूपमा बलियो र सामान्यले बनेका योजनालाई मूर्त रूप दिनमा खर्च गर्न सकिन्छ ।
भाषिक संरचना र वर्णविन्यास
१२. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
अनिश्चित जोखिमबापत क्षतिपूर्ति गर्ने माध्यम नै बिमा हो । बिमालाई जोखिम हस्तान्तरण गर्ने उपायका रूपमा लिइन्छ । बिमालाई एक प्रकारको सम्झौता पनि मानिन्छ । बिमाका दुई प्रकारहरू छन् – जीवन बिमा र गैरजीवन बिमा । जीवन बिमाअन्तर्गत सामाजिक बिमा र व्यक्तिगत बिमा पर्छन् । सामाजिक बिमाअन्तर्गत वृद्धावस्था, आश्रित तथा अशक्तता बिमा, स्वास्थ्य बिमा, बेरोजगारी बिमा, कामदार वा मुआब्जा बिमा, अनिवार्य अस्थायी अशक्तता बिमा आदि पर्छन् । अन्य सरकारी बिमाअन्तर्गत उपदान समाप्ति बिमा, सङ्घीय बाढी पहिरो बिमा, सङ्घीय बाली बिमालगायतका थुप्रै कार्यक्रम पर्छन् । बिमा व्यवसायले जीवनमा आइपर्ने खतरा वा विपत्ति रोक्न सक्दैन तर यस्ता विपत्तिबाट हुने आर्थिक क्षतिबाट एक हदसम्म राहत दिन्छ । बिमाबाट हानि वा नोक्सानीको क्षतिपूर्ति, कम चिन्ता र त्रास, लगानीयोग्य कोषको स्रोत, क्षति नियन्त्रण तथा रोकथाम, साखको वृद्धि आदिमा फाइदा पुऱ्याउँछ ।
(अ) अनिश्चित जोखिमबापत के गर्ने माध्यम बिमा हो ?
⇒ अनिश्चित जोखिमबापत क्षतिपूर्ति गर्ने माध्यम नै बिमा हो ।
(आ) बिमालाई एक प्रकारको सम्झौता मानिनुको कारण लेख्नुहोस् ।
⇒ बिमितलाई आकस्मिक सङ्कट आइपरेमा एक निश्चित रकम वा क्षतिपूर्ति दिने भनी बिमकले सम्झौता गर्ने भएकाले बिमालाई एक प्रकारको सम्झौता मानिएको हो ।
(इ) सामाजिक बिमाअन्तर्गत के के पर्छन् ?
⇒ सामाजिक बिमाअन्तर्गत वृद्धावस्था, आश्रित तथा अशक्तता बिमा, स्वास्थ्य बिमा, बेरोजगारी बिमा, कामदार वा मुआब्जा बिमा, अनिवार्य अस्थायी अशक्तता बिमा आदि पर्छन् ।
(ई) बिमाबाट के के फाइदा हुन्छ ?
⇒ बिमाले हानि वा नोक्सानीको क्षतिपूर्ति, कम चिन्ता र त्रास, लगानीयोग्य कोषको स्रोत, क्षति नियन्त्रण तथा रोकथाम, साखको वृद्धि आदिमा फाइदा पुऱ्याउँछ ।
भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस्:
(अ) अनुच्छेदबाट एक एक ओटा उद्देश्य र विधेय विस्तारक वाक्य पहिचान गर्नुहोस् ।
⇒ उद्देश्य विस्तार : अन्य सरकारी बिमाअन्तर्गत उपदान समाप्ति बिमा, सङ्घीय बाढी पहिरो बिमा, सङ्घीय बाली बिमालगायतका थुप्रै कार्यक्रम पर्छन् ।
⇒ विधेय विस्तारः बिमालाई जोखिम हस्तान्तरण गर्ने उपायका रूपमा लिइन्छ ।
(आ) अनुच्छेदबाट एउटा जटिल वाक्य पहिचान गरी त्यसलाई सरल वाक्यमा परिवर्तन गर्नुहोस् ।
⇒ जटिल वाक्य: बिमा व्यवसायले जीवनमा आइपर्ने खतरा वा विपत्ति रोक्न सक्दैन तर यस्ता विपत्तिबाट हुने आर्थिक क्षतिबाट एक हदसम्म राहत दिन्छ ।
⇒ सरल वाक्यहरू: बिमा व्यवसायले जीवनमा आइपर्ने खतरा रोक्न सक्दैन । बिमाले विपत्ति रोक्न सक्दैन । बिमाले विपत्तिबाट हुने आर्थिक क्षतिबाट एक हदसम्म राहत दिन्छ ।
(इ) अनुच्छेदबाट ‘श’, ‘ष’ र ‘स’ प्रयोग भएका एक एक ओटा शब्द टिपोट गरी तिनको अर्थ लेख्नुहोस् ।
⇒ अशक्त : कमजोर
⇒ कोष : ढुकुटी
⇒ सम्पत्ति : धन
सुनाइ र बोलाइ (Listening and Speaking)
१. सुनाइ पाठ ८ सुन्नुहोस् र दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) सजीव तत्त्व भन्नाले के बुझिन्छ ?
⇒ सजीव तत्त्व भन्नाले सूक्ष्म जीवाणुदेखि ठुला ठुला जनावरका साथै बोटविरुवा जस्ता पृथ्वीका सम्पूर्ण प्राणी तथा वनस्पतिलाई बुझिन्छ ।
(ख) पृथ्वीको वातावरणलाई कति किसिममा विभाजन गरिएको छ ?
⇒ पृथ्वीको वातावरणलाई जल, स्थल र वायु गरी प्रमुख तीन किसिमले विभाजन गरिएको छ ।
(ग) महासागरको पानी नुनिलो हुनाको कारण के हो ?
⇒ महासागरको पानी नुनिलो हुनाको कारण लवण तत्त्व बढी हुनु हो ।
(घ) वायु पारिस्थितिक प्रणालीको सिर्जना कसरी हुन्छ ?
⇒ वायु वातावरणमा चराचुरुङ्गी तथा कीटपतङ्गको वातावरण पर्छ र यिनै वातावरणमा वायु पारिस्थितिक प्रणालीको पनि सिर्जना हुन्छ ।
२. पारिस्थितिक प्रणालीको सन्तुलनका लागि के कुरामा ध्यान पुऱ्याउनुपर्छ, सुनाइ पाठ ८ का आधारमा भन्नुहोस् ।
⇒ सजीव र उसको वरपरको वातावरण वा निर्जीव तत्त्वबिच हुने अदृश्य वा अप्रत्यक्ष किसिमको घनिष्ठ अन्तरसम्बन्धलाई पारिस्थितिक प्रणाली भनिन्छ । जलीय पारिस्थितिक प्रणाली, वायु पारिस्थितिक प्रणाली र स्थलीय पारिस्थितिक प्रणाली गरी पारिस्थितिक प्रणाली तीन किसिमका छन् ।
पारिस्थितिक प्रणाली सन्तुलनका लागि हामीले जल, वायु तथा स्थल तीनै क्षेत्रको स्वच्छतामा ख्याल गर्नु पर्दछ । स्वच्छ वातावरण भयो भने पारिस्थितिक प्रणाली सन्तुलित हुन्छ ।
