Class: 10 Subject: Economics Unit: 1
लागत तथा आय वक्ररेखाहरू (Cost and Revenue Curves)
Complete explanation of Cost and Revenue Curves including TC, AC, MC, TR, AR, and MR with tables and diagrams.
1) लागत भनेको के हो ?
सामान्यतया कुनै फर्म वा उद्योगले वस्तु उत्पादन गर्दा हुने मौद्रिक खर्चलाई लागत भनिन्छ । उत्पादन प्रक्रियामा उत्पादकले भूमि, पुँजी, श्रम, व्यवस्थापक, साहसी, कच्चा पदार्थ आदिको उपयोग गर्दछ। उत्पादन प्रक्रियामा प्रयोग गरिएका यी साधनहरूलाई उत्पादकले मौद्रिक रकम भुक्तानी गर्दछ । उत्पादन प्रक्रियामा प्रयोग गरिने यी साधनहरूमा हुने मौद्रिक खर्चलाई लागत भनिन्छ। वस्तु उत्पादन गर्दा उत्पादकले भूमि प्रयोगको लगान, श्रम प्रयोगको ज्याला तथा उद्यमीको नाफा जस्ता शीर्षकमा खर्च व्यहोर्नु पर्दछ । यसरी वस्तु तथा सेवाको उत्पादन गर्दा लाग्ने खर्चलाई लागत भनिन्छ ।
2) लागतका प्रकारहरुको व्याख्या गर्नुहोस् ।
उत्पादन लागतलाई मुख्यतया तीन प्रकारमा विभाजन गरिन्छ ।
- i. कुल लागत (Total Cost, TC): उत्पादन कार्यमा खर्च हुने सम्पूर्ण मौद्रिक खर्चलाई कुल लागत भनिन्छ। यो उत्पादनमा प्रयोग हुने सम्पूर्ण साधनहरूको मूल्य वा पारिश्रमिक बराबर हुन्छ। यसमा पुँजीको व्याज र सामान्य नाफा पनि समावेश गरिएको हुन्छ।
-
ii. औसत लागत (Average Cost, AC): प्रतिएकाइ वस्तुको उत्पादनमा खर्च हुने सरदर मौद्रिक खर्चलाई औसत लागत भनिन्छ । कुल लागतलाई उत्पादन परिमाणले भाग गर्दा औसत लागत प्राप्त हुन्छ। सूत्रमा,
औसत लागत $(AC) = TC/Q$ -
iii. सीमान्त लागत (Marginal cost, MC): वस्तुको अन्तिम एकाइ उत्पादन गर्दा हुने मौद्रिक खर्चलाई सीमान्त लागत भनिन्छ। यसलाई एक एकाइ थप वस्तुको उत्पादन गर्दा कुल लागतमा हुने परिवर्तनको रूपमा परिभाषित गरिन्छ । सूत्रमा,
सीमान्त लागत $(MC) = \Delta TC / \Delta Q$
3) अल्पकालको बारेमा व्याख्या गर्नुहोस् ।
छोटो समयमा उत्पादन परिवर्तन गर्नु पर्दा उत्पादनका सम्पूर्ण साधनहरू परिवर्तन गर्न सम्भव हुँदैन । यस अवस्थामा उत्पादन परिवर्तन गर्दा इन्धन, श्रम, कच्चा पदार्थ आदि मात्र परिवर्तन गरिन्छ। मेसिन, कारखाना, पुँजीगत उपकरणजस्ता वस्तुहरु परिवर्तन गर्न सम्भव हुँदैन। त्यो अवधि, जसमा उत्पादनका केही साधनहरू स्थिर र केही परिवर्तनशील हुन्छन्, त्यसलाई अल्पकाल भनिन्छ। अल्पकालमा अपरिवर्तनशील हुने साधनलाई स्थिर साधन (Fixed factor) र परिवर्तन हुने साधनलाई परिवर्तनशील साधनहरू (variable factors) भनिन्छ ।
4) दीर्घकालको बारेमा व्याख्या गर्नुहोस् ।
उत्पादनका साधनहरूलाई व्यवस्थित गर्न उत्पादनसँग प्रशस्त समय छ भने उत्पादन परिवर्तन गर्न उत्पादकले सम्पूर्ण साधनहरूलाई परिवर्तन गर्न सक्छ। त्यो यस्तो समय हो जहाँ उत्पादनका सम्पूर्ण साधनहरू परिवर्तनशील हुन्छन्, त्यसलाई दीर्घकाल भनिन्छ ।
5) स्थिर लागत भनेको के हो?
उत्पादनका स्थिर साधनहरूमा लाग्ने खर्चलाई स्थिर लागत भनिन्छ। यो लागत उत्पादनको जुनसुकै परिमाणमा पनि स्थिर हुन्छ भने उत्पादन नभएपनि यो लागत व्यहोर्नै पर्ने हुन्छ । यो लागतको उत्पादन परिमाणसँग कुनै सम्बन्ध हुँदैन । यसमा निम्न लागतहरू समावेश हुन्छन्ः
- क) प्रशासनिक कर्मचारीको तलब
- ख) भवन, उद्योगको भाडा
- ग) बिमा कम्पनीलाई तिर्ने किस्ता
- घ) पूँजीको अभाव (ब्याज)
6) परिवर्तनशील लागत भनेको के हो?
उत्पादन परिमाणसँग परिवर्तन हुने खर्चलाई परिवर्तनशील लागत भनिन्छ। यो लागत उत्पादन परिमाण वृद्धि हुँदा बढ्छ र कम हुँदा घट्छ । उत्पादन बन्द हुँदा यो लागत शुन्य हुन्छ। यसमा निम्न लागतहरु समावेश हुन्छन्ः
- क) कच्चा पदार्थको मूल्य
- ख) ज्यालादारी कर्मचारीको ज्याला
- ग) इन्धन खर्च
- घ) मेसिन उपकरण मर्मत
7) अल्पकालीन लागत (Short Run Cost Curves) भनेको के हो? रेखाचित्र सहित व्याख्या गर्नुहोस् ।
अल्पकालीन यस्तो लागत हो जहाँ समय छोटो हुने भएकाले केहि साधन स्थिर हुन्छन् भने केहि साधन परिवर्तनशील हुन्छन् । त्यसैगरी उत्पादनका लागतहरु पनि स्थिर र परिवर्तनशील लागतमा सम्बन्धित हुन्छन् । यसलाई प्रष्ट पार्नको लागी निम्न अनुसार कुराको व्याख्या गरिएको छ।
- क) कुल स्थिर लागत (TFC): अल्पकालमा उत्पादनका स्थिर साधनहरुमा खर्च हुने रकमलाई कुल स्थिर लागत भनिन्छ । यो लागत उत्पादनमा परिवर्तन आउदा पनि स्थिर रहन्छ । उत्पादन परिमाण शून्य हुँदा पनि यो स्थिर नै रहन्छ ।
- ख) कुल परिवर्तनशील लागत (TVC): उत्पादनका परिवर्तनशील साधनहरुमा गरिएको जम्मा खर्चलाई कुल परिवर्तनशील लागत भनिन्छ । उत्पादनमा परिवर्तन आउँदा परिवर्तनशील लागतमा पनि परिवर्तन आउँछ । यदि उत्पादन शून्य भयो भने परिवर्तनशील लागत पनि शून्य हुन्छ । यदि उत्पादन बढ्यो भने परिवर्तनशील लागत पनि बढ्छ र घट्दा घट्छ ।
- ग) कुल लागत (TC): कुल स्थिर लागत र कुल परिवर्तनशील लागतको योगफललाई कुल लागत भनिन्छ । अर्को शब्दमा भन्नुपर्दा, फर्मले वस्तु उत्पादन गर्न लागेको जम्मा खर्चलाई कुल लागत भनिन्छ । उत्पादन शून्य हुँदा पनि कुल लागत लागेको हुन्छ ।
यसलाई प्रष्ट पार्नको लागी निम्न तालिका प्रस्तुत गरिएको छ।
| QUANTITY (Q) | TFC | TVC | TC |
|---|---|---|---|
| 0 | 60 | 0 | 60 |
| 1 | 60 | 15 | 75 |
| 2 | 60 | 40 | 100 |
| 3 | 60 | 60 | 120 |
| 4 | 60 | 85 | 145 |
| 5 | 60 | 100 | 160 |
माथिको रेखाचित्रमा OX- अक्षमा Production र OY- अक्षमा TC, TFC र TVC देखाइएको छ । रेखा TFC र OX-अक्ष समानान्तर छ र TVC शुन्य देखि सुरु भएको छ । TC चाहि TFC को विन्दुबाट सुरु भएको छ । TC र TVC को आकार एउटै छ।
8) AC र MC बीचको सम्बन्ध रेखाचित्र सहित व्याख्या गर्नुहोस् ।
प्रतिएकाई वस्तुको उत्पादनमा खर्च हुने सरदर मौद्रिक खर्चलाई औसत लागत भनिन्छ । कुल लागतलाई परिमाणले भाग गर्दा औसत लागत प्राप्त हुन्छ । बस्तुको अन्तिम एकाई उत्पादन मौद्रिक खर्चलाई सीमान्त लागत भनिन्छ । यसलाई एक (1) एकाई थप बस्तुमा उत्पादन गर्दा कुल लागतमा हुने परिवर्तनको रुपमा परिभाषित गरेको छ । यहाँ दुवै AC र MC पहिले घट्छ, न्यूनतम विन्दुमा पुग्छ र त्यसपछि दुवै बढ्छ । त्यसैले AC र MC रेखा ‘U’ आकारको हुन्छ । यहाँ AC रेखालाई MC रेखाले तल देखि काट्दै माथितिर जान्छ र त्यो काटिएको विन्दुलाई सन्तुलन विन्दु भनिन्छ । यो सन्तुलन विन्दु भनेको यस्तो विन्दु हो जहाँ MC र AC बराबर हुन्छ ।
AC र MC बिचको सम्बन्धलाई प्रष्ट पार्नको लागि रेखा चित्र प्रस्तुत गरिएको छ ।
- a) AC र MC दुवै घटेको छ तर AC भन्दा MC तिब्र रुपमा घटेको छ ।
- b) AC र MC दुवै बढेको छ तर MC भन्दा AC तिब्र रुपमा बढेको छ ।
- c) AC र MC सन्तुलन विन्दु ‘E’ मा गएर काटिएको छ, यसैले AC र MC बराबर भएको हो । $AC=MC$ हुन्छ ।
- d) AC लाई MC ले तल बाट काटेर गएको छ ।
9) अल्पकालीन औसत लागत र सीमान्त लागत रेखाको प्रकृतिको बारेमा व्याख्या गर्नुहोस् ।
कुल लागतलाई उत्पादन परिमाणले भाग गर्दा आउने भागफललाई औसत लागत भनिन्छ । यसलाई निम्न सङ्केतमा देखाउन सकिन्छ ।
औसत लागत $(AC) = TC / Production$
यसरी औसत लागतमा पनि अल्पकालमा औसत स्थिर लागत (AFC) र औसत परिवर्तनशील लागत (AVC) गरी 2 भाग हुन्छन्, जसलाई निम्न अनुसार ब्याख्या गरिएको छ ।
- क) औसत स्थिर लागत (AFC): कुल स्थिर लागतलाई बस्तुको परिमाणले भाग गर्दा आउने भागफललाई (AFC) भनिन्छ । उत्पादन बढ्दै जादाँ AFC घट्दै जान्छ । यसलाई निम्न सङ्केतमा देखाउन सकिन्छ:
$AFC = TFC / Production$ - ख) औसत परिवर्तनशील लागत (AVC): कुल परिवर्तनशील लागतलाई उत्पादनले भाग गर्दा आउने भागफललाई AVC भनिन्छ । यसलाई निम्न सङ्केतमा देखाउन सकिन्छ:
$AVC = TVC / Production$
अल्पकालीन औसत लागत, औसत स्थिर लागत र औसत परिवर्तनशील लागतलाई निम्न तालिका प्रस्तुत गरिएको छ।
सीमान्त लागत (MC): कुनै पनि वस्तुको अतिरिक्त एक एकाई उत्पादन गर्दा कुल लागतमा आउने वृद्धिलाई सीमान्त लागत भनिन्छ। यो उत्पादन परिमाणको परिवर्तनसँग सम्बन्धित भएकोले यसको स्थिर तथा परिवर्तनशीलको विभाजन हुँदैन । यसलाई निम्न सङ्केतमा देखाउन सकिन्छ:
$MC = \Delta TC / \Delta Production$
तालिकामा विभिन्न प्रकारका कुल लागतहरू र ती कुल लागतको आधारमा प्राप्त हुने औसत लागतहरू र सीमान्त लागतहरु प्रस्तुत गरिएका छन् ।
| QUANTITY | TFC | TVC | TFC+TVC=TC | TFC/Q=AFC | TVC/Q=AVC | AFC+AVC=AC | MC |
|---|---|---|---|---|---|---|---|
| 0 | 20 | 0 | 20 | – | – | – | – |
| 1 | 20 | 18 | 38 | 20 | 18 | 38 | 18 |
| 2 | 20 | 30 | 50 | 10 | 15 | 25 | 12 |
| 3 | 20 | 36 | 56 | 6.7 | 12 | 18.7 | 6 |
| 4 | 20 | 44 | 64 | 5 | 11 | 16 | 8 |
| 5 | 20 | 60 | 80 | 4 | 12 | 16 | 16 |
| 6 | 20 | 90 | 110 | 3.3 | 15 | 18.3 | 30 |
| 7 | 20 | 136 | 156 | 2.1 | 19.4 | 22.3 | 46 |
तालिकामा उत्पादन परिमाण र औसत लागतका संयोग बिन्दुहरुलाई रेखाचित्रमा प्रस्तुत गरी ती संयोग बिन्दुहरुलाई जोड्दा औसत लागत रेखाहरू निर्माण हुन्छन् । उत्पादन परिमाण 1 हुँदा औसत स्थिर लागत (AFC) 20 हुन्छ । उत्पादन परिमाण 2 हुँदा AFC 10 र उत्पादन परिमाण 3 हुँदा AFC 6.7 हुन्छ । यसैगरी उत्पादन परिमाण 4, 5, 6 र 7 हुँदा औसत स्थिर उत्पादन (AFC) घट्दै गई क्रमशः 5, 4, 3.3 र 2.1 हुन्छ । उत्पादन परिमाण र औसत स्थिर लागत (AFC) का यी संयोग बिन्दुहरुलाई रेखाचित्रमा प्रस्तुत गरी तिनीहरूलाई क्रमिक रूपले जोड्दै जाँदा औसत स्थिर लागत (AFC) रेखा निर्माण हुन्छ। यो क्रमशः घट्दै जान्छ । सुरुमा AFC रेखा तीव्रदरमा घट्छ। तर पछि न्यूनदरमा घटी बढी उत्पादनमा X अक्षको नजिक पुग्छ तर अक्षलाई स्पर्श गर्दैन।
औसत परिवर्तन लागत (AVC) उत्पादन परिमाण 1 हुँदा 18 हुन्छ । उत्पादन परिमाण 2 हुँदा AVC 15 र उत्पादन परिमाण 3 हुँदा AVC 12 हुन्छ । उत्पादन परिमाण 4 हुँदा AVC न्यूनतम भई 11 हुन्छ । त्यसपछि AVC मा वृद्धि हुँदै गई उत्पादन परिमाण 5, 6 र 7 हुँदा औसत परिवर्तनशील लागत (AVC) क्रमशः 12, 15, र 19.4 हुन्छ। उत्पादन परिमाण र औसत स्थिर लागत (AVC) का संयोग बिन्दुलाई क्रमशः जोड्दै जाँदा चित्रमा U आकारको AVC रेखा निर्माण हुन्छ ।
कुल औसत लागत (ATC or AC) उत्पादन परिमाण 1 हुँदा 38 हुन्छ । उत्पादन परिमाण 2 हुँदा AC 25 र उत्पादन परिमाण 3 हुँदा AC 18.7 हुन्छ । उत्पादन परिमाण 4 र 5 हुँदा कुल औसत लागत (AC) 16 हुन्छ भने उत्पादन परिमाण 6 र 7 हुँदा कुल औसत लागत (AC) बढ्न गई क्रमशः 18.3 र 22.3 हुन्छ । उत्पादन परिमाण र कुल औसत लागत (AC) का संयोग बिन्दुहरुलाई क्रमिक रूपमा जोड्दै जाँदा कुल औसत लागत (AC) रेखा निर्माण हुन्छ। यसलाई औसत लागत मात्र पनि भनिन्छ। AVC को न्यूनतम बिन्दुपछि AC को न्यूनतम बिन्दु हुन्छ । यसको कारण $AC=AVC+AFC$ भएको र AVC को न्यूनतम बिन्दुपछिको बढ्ने दरभन्दा AFC को घट्ने दर बढी तीव्र भएकोले AVC बढ्न थालेको केही पछि मात्रै AC वृद्धि हुन थाल्छ।
औसत र सीमान्त लागत वक्ररेखाको सम्बन्धः
- (i) औसत लागत रेखा घटिरहेको बेला MC < AC हुन्छ ।
- (ii) औसत लागतको न्यूनतम बिन्दुमा $MC=AC$ हुन्छ ।
- (iii) औसत लागत बढी रहेको बेला MC > AC हुन्छ ।
10) सीमान्त लागत रेखाको प्रकृतिको बारेमा व्याख्या गर्नुहोस् ।
सीमान्त लागतलाई निम्न तालिकाबाट प्रष्ट पारिएको छः
| QUANTITY (Q) | TC (In Rs.) | MC (In Rs.) |
|---|---|---|
| 0 | 20 | – |
| 1 | 38 | 18 |
| 2 | 50 | 12 |
| 3 | 56 | 6 |
| 4 | 64 | 8 |
| 5 | 80 | 16 |
| 6 | 110 | 30 |
| 7 | 156 | 46 |
रेखाचित्र को OX- अक्षमा वस्तुको परिमाण र OY- अक्षमा सीमान्त लागत देखाइएको छ । सीमान्त लागत वक्ररेखालाई MC ले जनाइएको छ । सीमान्त लागत वक्ररेखा सुरुमा वस्तुको उत्पादन परिमाण बढ्दै जाँदा क्रमशः घट्दै गएको छ । वस्तुको 3 एकाइ उत्पादन हुँदा न्यूनतम अर्थात् Rs. 6 भएको छ । त्यसपछि उत्पादनमा भएको वृद्धिसँगै सीमान्त लागत वक्ररेखा क्रमशः उकालो लाग्दै गएको छ । फलस्वरूप सीमान्त लागत वक्ररेखा पनि अङ्ग्रेजी अक्षर ‘U’ आकारको बन्न पुगेको छ ।
11) आय (Revenue) भनेको के हो?
कुनै पनि फर्मले उत्पादन गरेको वस्तुहरुको बिक्रिबाट प्राप्त हुने रकमलाई आय भनिन्छ । यसलाई आम्दानी पनि भनिन्छ।
12) आय कति प्रकारका छन्, नाम लेख।
आय तीन प्रकारका छन्ः क) कुल आय ख) औसत आय ग) सीमान्त आय
13) कुल आय भनेको के हो?
कुनै पनि फर्मले कुनै निश्चित समयमा मूल्यमा आफ्नो वस्तुको कुल परिमाण बिक्रीबाट प्राप्त गर्ने आम्दानी रकमलाई कुल आय भनिन्छ। अर्को शब्दमा प्रति एकाइ मूल्य र कुल बिक्री परिमाणको गुणनफलबाट प्राप्त हुने रकमलाई कुल आय भनिन्छ। $TR = P \times Q$ (P = मूल्य, Q = परिमाण)
14) औसत आय भनेको के हो?
वस्तु तथा सेवाको कुल परिमाणको बिक्रीबाट प्राप्त गरेको आयलाई बिक्री गरिएको परिमाणले भाग गर्दा आउने भागफललाई औसत आय भनिन्छ। अर्को शब्दमा भन्नुपर्दा, प्रति एकाईको वस्तुको बिक्रीबाट प्राप्त हुने रकमलाई औसत आय भनिन्छ। $AR = TR / Q$ (AR = औसत आय, TR = कुल आय, Q = वस्तुको परिमाण)
15) सीमान्त आय भनेको के हो?
थप एकाई बिक्रीबाट कुल आयमा आउने परिवर्तनलाई सीमान्त आय भनिन्छ। अर्को शब्दमा भन्नुपर्दा, कुनै वस्तुको थप एकाई बिक्रीबाट प्राप्त हुने अतिरिक्त आम्दानीलाई सीमान्त आय भनिन्छ । $MR = \Delta TR / \Delta Q$ (MR = सीमान्त आय, $\Delta TR$ = अतिरिक्त कुल आय, $\Delta Q$ = अतिरिक्त वस्तुको परिमाण)
16) एकाधिकार बजारमा कुल आय, सिमान्त आय र औसत आयको रचना गर्नुहोस् ।
एकाधिकार बजार त्यस्तो बजार हो, जहाँ एउटा मात्र विक्रेता र धेरै क्रेता हुन्छन् । यस्तो बजारमा बिक्री गरिने वस्तुको निकट प्रतिस्थापक वस्तु हुँदैन । यस बजारमा विक्रेताले धेरै नाफा कमाउने उद्देश्य राख्दछन् । उसले आफ्नो वस्तुको बिक्रि बढाउनको लागि वस्तुको मूल्य घटाउँछ । यस्तो बेलामा कुल आय एक निश्चित विन्दुसम्म बढ्ने र त्यसपछि घट्न थाल्छ । मूल्य घटाउँदा विक्रेताले धेरै वस्तु बेच्न सजिलो हुने भएकाले औसत आय र सिमान्त आय घट्दै जान्छ । औसत आय लगातार घट्दै जान्छ भने सिमान्त आय घट्छ, शुन्य हुँदै नकारात्मक हुन्छ। औसत आय र सिमान्त आयको रेखा बायाँ बाट दायाँ तिर झरेको हुन्छ र सिमान्त आयको रेखा जहिले पनि औसत आयको रेखा मुनि हुन्छ । यसलाई निम्न तालिकाबाट प्रष्ट पार्न सकिन्छ :
| Quantity | Price | TR | AR | MR |
|---|---|---|---|---|
| 1 | 10 | 10 | 10 | 10 |
| 2 | 9 | 18 | 9 | 8 |
| 3 | 8 | 24 | 8 | 6 |
| 4 | 7 | 28 | 7 | 4 |
| 5 | 6 | 30 | 6 | 2 |
| 6 | 5 | 30 | 5 | 0 |
| 7 | 4 | 28 | 4 | -2 |
माथिको तालिका अनुसार एकाधिकारीले वस्तुको बिक्री परिमाण बढाउनका लागि वस्तुको मूल्य घटाएको छ। तर वस्तुको बिक्री परिमाण बढाउँदै जाँदा कुल आय भने बढ्दै गएर अधिकतम भई त्यसपछि घट्न गएको छ । त्यसैगरी वस्तुको बिक्री परिमाण बढ्दै जाँदा सीमान्त आय क्रमशः घट्दै गएर शून्य र त्यसपछि ऋणात्मक भएको छ ।
(कारण) Condition to figure:
- i) TR अधिकतम हुँदा MR (शून्य) हुन्छ ।
- ii) रेखाचित्रमा TR बढेर अधिकतम विन्दुमा पुगेपछि TR घट्छ तर TR कहिले पनि negative हुँदैन ।
- iii) MR घट्छ र negative पनि हुन्छ ।
दिइएको रेखाचित्रमा OX- अक्षमा Quantity Sold (बिक्री परिमाण) हुन्छ र OY- अक्षमा AR, MR, TR हुन्छ। TR जहिले पनि घट्दो दरमा बढ्छ र अधिकतम विन्दुमा पुगेपछि घट्छ भने AR र MR जहिले पनि उत्पादन बढाउँदा घट्छ।
17) पूर्ण प्रतिस्पर्धाको बजारमा कुल आय, सिमान्त आय र औसत आयको रचना गर्नुहोस् ।
पूर्ण प्रतिस्पर्धा बजारमा धेरै विक्रेता र धेरै क्रेताहरु हुन्छन् । यस्तो बजारमा फर्मले उद्योगबाट तोकेको मूल्यमा वस्तु बिक्री गर्नुपर्ने हुन्छ । यस्तो बजारमा फर्महरू मूल्य स्वीकारक हुन्छन् । यस्तो बजारमा वस्तुको माग र पूर्तिको अन्तर-क्रियाबाट वस्तुको मूल्य निर्धारण हुने भएकोले वस्तुको मूल्य तथा विक्रेताको बारेमा क्रेतालाई सबै जानकारी हुने भएकोले गर्दा बजार मूल्य सधै स्थिर हुन्छ । त्यसैले सिमान्त आय (MR) र औसत आय (AR) जहिले पनि बराबर हुन्छ । यसलाई प्रष्ट पार्नको लागि निम्न अनुसारको तालिका प्रस्तुत गर्न सकिन्छः
| Quantity Sold | Price | TR | AR | MR |
|---|---|---|---|---|
| 0 | 10 | 0 | – | – |
| 1 | 10 | 10 | 10 | 10 |
| 2 | 10 | 20 | 10 | 10 |
| 3 | 10 | 30 | 10 | 10 |
| 4 | 10 | 40 | 10 | 10 |
| 5 | 10 | 50 | 10 | 10 |
तालिकामा वस्तुको मूल्य समान अर्थात् रु. 10 छ । फलस्वरूप वस्तुको जति एकाइ बिक्री गरे पनि औसत आय र सीमान्त आय समान अर्थात् 10 हुन्छ । वस्तुको 1 एकाइ बिक्री गर्दा कुल आय 10 भएको छ । वस्तुको परिमाण एक (1) एकाइबाट बढाउँदै 5 एकाइमा पुर्याउँदा कुल आय पनि 10 बाट क्रमशः बढेर 50 भएको छ । कुल आय र वस्तुको उत्पादन परिमाणबिचको सम्बन्ध देखाउने वक्ररेखालाई कुल आय वक्ररेखा भनिन्छ । त्यसैगरी औसत आय र वस्तुको उत्पादन परिमाणबिचको सम्बन्ध देखाउने वक्ररेखालाई औसत आय वक्ररेखा भनिन्छ । सीमान्त आय र वस्तुको उत्पादन परिमाणबिचको सम्बन्ध देखाउने वक्ररेखालाई सीमान्त आय वक्ररेखा भनिन्छ ।
$AR = MR = P$
दिइएको रेखाचित्रका OX- अक्षमा Quantity Sold र OY- अक्षमा TR, AR र MR लाई देखाइएको छ । यहाँ TR शून्य देखि सुरु भएको छ। जहाँ कुनै पनि वस्तु विक्रि भएको छैन । जब बस्तुको विक्रि 1, 2, 3, 4, 5 unit सम्म हुन्छ तब TR 10, 20, 30, 40 र 50 हुन्छ र TR रेखा तल देखि माथितिर उक्लेको छ तर AR र MR रेखा चाही OX- अक्षसँग समानान्तर रहन्छ किनभने यहाँ मूल्य स्थिर (रु 10) छ ।
