एकाइ ६: हाम्रो पृथ्वी (Hamro Prithvi)
पाठ ९: अफ्रिका महादेश (Africa Mahadesh)
यस पाठमा पढ्नुहोस्
१. ‘भौगोलिक स्वरूप र अवस्थितिको प्रभावले गर्दा अफ्रिका महादेशको अधिकांश क्षेत्रमा हावापानी विषम छ ।’ यस भनाइलाई कारणसहित पुष्टि गर्नुहोस् ।
उत्तर: अफ्रिका महादेश (Africa Mahadesh) लाई भूमध्यरेखाले लगभग बिचबाट काटेर गएको छ। यो क्षेत्रफलका हिसाबले दोस्रो ठूलो महादेश र सबैभन्दा धेरै राष्ट्र भएको महादेश हो। यसको चारैतिरबाट महासागरले घेरेको छ। भौगोलिक स्वरूप र अवस्थितिको प्रभावले गर्दा यो महादेशको अधिकांश क्षेत्रको हावापानी विषम छ, यहाँ सात प्रकारको हावापानी पाइन्छ। भूमध्यरेखीय भूभाग तथा कङ्गो बेसीमा उष्ण तथा ओसिलो हावापानी पाइन्छ भने सहारा मरुभूमि रहेको उत्तरतर्फको हावापानी अत्यन्त गर्मी र शुष्क छ। दक्षिण पूर्वी भागमा उष्ण मौसमी हावापानी रहेको छ भने दक्षिण अफ्रिकी उच्च समस्थलीय क्षेत्रमा ग्रीष्ममा धेरै गर्मी र हिउँदमा धेरै जाडो हुन्छ। त्यस्तै पश्चिमोत्तर क्षेत्र र दक्षिण पश्चिम क्षेत्रमा भूमध्यसागरीय हावापानी पाइन्छ भने दक्षिण पूर्वका टापु क्षेत्रमा मौसमी हावापानी पाइन्छ।
२. सभाना क्षेत्रलाई संसारको चिडियाखाना किन भनिन्छ? कारणहरू दिनुहोस् ।
उत्तर: हावापानीको विविधताले गर्दा अफ्रिका महादेशमा वनस्पतिमा पनि विविधता पाइन्छ। यस महादेशको भित्री मध्य भागमा कम वर्षा हुनाले विशाल रूपमा फैलिएका घाँसे मैदान छन्, जसलाई सभाना भनिन्छ। यहाँ जेब्रा, जिराफ, हात्ती, गैँडा, अस्ट्रिच, इमु जस्ता विभिन्न जीवजन्तु पाइन्छन्। संसारमा पाइने अधिकांश प्रकारका जीवजन्तुहरू यहाँ प्रशस्त मात्रामा पाइने हुनाले यस क्षेत्रलाई विश्वको चिडियाखाना भनिन्छ।
३. ‘अफ्रिका पर्यटनको प्रचुर सम्भावना भएको महादेश हो ।’ यस भनाइलाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।
उत्तर: अफ्रिका महादेशमा आठ सयभन्दा बढी जातजातिका मानिसको बसोबास रहेको छ र यहाँ दुई हजारभन्दा बढी भाषा बोलिन्छ। यो महादेश विविधताको स्थल हो। मिश्र, गिजाको पिरामिड, र नाइल नदीको सभ्यता यहाँका प्राचीन सभ्यता हुन्। सभाना संसारकै चिडियाखानाका रूपमा प्रसिद्ध छ। सभाना र भेल्ड जस्ता विशाल घाँसे मैदान, सयौँ प्रकारका वन्यजन्तुको वासस्थान, इजिप्टको पिरामिड र भिक्टोरिया झरना यहाँका पर्यटन आकर्षण गर्ने सम्पदा हुन्। त्यसैले, अफ्रिका (Africa Mahadesh) पर्यटनको प्रचुर सम्भावना भएको महादेश हो।
४. अफ्रिका महादेशमा पाइने प्रमुख हावापानी बुँदागत रूपमा उल्लेख गर्नुहोस् ।
उत्तर: अफ्रिका महादेशमा पाइने प्रमुख हावापानी निम्न छन्:
- भूमध्यरेखीय हावापानी: भूमध्यरेखीय भूभाग र कङ्गो बेसीमा उष्ण तथा ओसिलो हावापानी पाइन्छ।
- मरुस्थलीय हावापानी: उत्तरतर्फ सहारा मरुभूमि रहेको क्षेत्रमा अत्यन्त गर्मी र शुष्क हावापानी पाइन्छ।
- समस्थलीय हावापानी: दक्षिण उच्च समस्थलीय क्षेत्रमा ग्रीष्ममा धेरै गर्मी र हिउँदमा धेरै जाडो हावापानी पाइन्छ।
- भूमध्यसागरीय हावापानी: पश्चिमोत्तर क्षेत्रमा भूमध्यसागरीय हावापानी पाइन्छ।
- मौसमी हावापानी: दक्षिण पूर्वका टापु क्षेत्रमा मौसमी हावापानी पाइन्छ।
५. नेपालको लेकाली घाँसे क्षेत्र र अफ्रिकाको भेल्डबिच तुलना गर्नुहोस् ।
उत्तर: नेपालको लेकाली घाँसे क्षेत्र र अफ्रिकाको भेल्डबिचको तुलनालाई निम्न अनुसार प्रस्तुत गर्न सकिन्छ:
नेपालको लेकाली घाँसे क्षेत्र: यो क्षेत्र ११,००० फिटदेखि १६,००० फिटसम्मको उचाइमा लेकाली हावापानीको क्षेत्रमा पाइन्छ। आठ-नौ महिनासम्म हिउँ रहनु, वर्षा हिमपातका रूपमा रहनु यहाँको विशेषता हो। कृषि कार्य नभए पनि मुख्य पेसाका रूपमा पशुपालन रहेको छ। यहाँ उपत्यका क्षेत्रमा ठूला घाँसे मैदान रहेका छन्। ग्रीष्ममा यहाँ गोठ राख्ने गरिन्छ।
अफ्रिकाको भेल्ड: भेल्ड अफ्रिकाको खुला क्षेत्र हो। घाँस र साना साना झाडीले ढाकेको मैदानी क्षेत्रलाई अफ्रिकामा भेल्ड भनिन्छ। यो समशीतोष्ण घाँसे मैदान हो जुन पशुपालनका लागि अत्यन्तै उपयुक्त मानिन्छ।
अर्को पाठ
यो पनि पढ्नुहोस्
कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us