एकाइ ३: जीवनोपयोगी सिप
पाठ ५: अन्तरवैयक्तिक सिपहरू
यस पाठमा हामीले अन्तरवैयक्तिक सिपहरू (Antarvaiyaktik Sipharu) को महत्त्व र विकास गर्ने तरिकाहरू बारे सिक्नेछौँ। व्यक्तिगत र व्यावसायिक जीवनमा सफल हुन अरूसँग प्रभावकारी सञ्चार, सहकार्य र सम्बन्ध स्थापित गर्ने क्षमता आवश्यक हुन्छ। यी सिपहरूलले हामीलाई समाजमा समायोजन हुन र नेतृत्व विकास गर्न मद्दत गर्दछन्।
Antarvaiyaktik Sipharu
अभ्यासका विषयहरू
१. अन्तरवैयक्तिक सिप भनेको के हो?
उत्तर: आफूले नजानेका कुरा अरूसँग सोधेर र आफ्ना विचार राखेर अरूसँग सञ्चार (Communication) गर्ने सिप अन्तरवैयक्तिक सिप हो। व्यक्तिगत दक्षता र अन्तरसंवाद सिप विकास गर्ने भएकाले यसलाई जीवनसिप पनि भनिन्छ। यसले व्यक्तिलाई आफ्नो आन्तरिक विकास गरी सामाजिक परिवेशमा आफूलाई समायोजन गर्न सहयोग गर्दछ।
२. अन्तरवैयक्तिक सिप किन महत्त्वपूर्ण छ?
उत्तर: अन्तरवैयक्तिक सिपले हामीलाई अरूका कुरा सक्रियतापूर्वक सुनेर समूहमा काम गर्न, उत्तरदायित्व वहन गर्न, नेतृत्व सिप (Leadership Skill) विकास गर्न, उत्प्रेरित हुन, धैर्य र सहानुभूति विकास गरी एक सक्षम व्यक्ति बनाउन सहयोग गर्ने हुनाले यो महत्त्वपूर्ण छ।
अन्तरवैयक्तिक सिपका अन्य महत्त्वहरू यसप्रकार छन्:
- यसले जीवनमा आइपर्ने समस्या समाधान गर्न सिकाउँछ।
- आफ्नो लक्ष्य प्राप्तिका लागि चुनौती सामना गर्न सिकाउँछ।
- अरूलाई विश्वासमा लिएर आफ्ना काम सफल बनाउन सकिन्छ।
- आफ्ना कामलाई व्यवस्थित गर्न सकिन्छ।
- आफ्ना आचार, विचार र संवादको संस्कृति परिवर्तन गर्न सकिन्छ।
३. अन्तरवैयक्तिक सम्बन्ध सुधार गर्ने उपायहरू लेख्नुहोस्।
उत्तर: अन्तरवैयक्तिक सिप भनेको मनको मैलो फालेर ज्ञानको थैलो भर्ने माध्यम हो। त्यसैले, यसको सम्बन्ध सुधार गर्ने उपायहरू यसप्रकार रहेका छन्:
- रिस, ईर्ष्या, डाहजस्ता संवेग (Emotions) नियन्त्रण गर्नुपर्छ।
- ‘मैले मात्रै जानेको छु’ भन्ने भाव त्यागेर अरूको विज्ञता र अनुभवको सम्मान गर्नुपर्छ।
- अरूका इच्छा, आकांक्षा र भावनाहरू बुझ्नुपर्छ।
- अरूप्रति सहानुभूति र अग्रगामी सोच राख्नुपर्छ।
- अरूलाई होच्याएर र दमन गरेर होइन, सम्मानपूर्वक कुरा गर्नुपर्छ।
- घमन्ड त्यागेर असल सन्देश अरूलाई सुनाएर सम्बन्ध सुधार गर्न सकिन्छ।
४. अन्तरवैयक्तिक सम्बन्ध सुधारका लागि सामाजिक सञ्जाललाई कसरी प्रयोग गर्नुपर्छ?
उत्तर: आजको युगमा अन्तरवैयक्तिक सम्बन्ध सुधारका लागि सामाजिक सञ्जाल (Social Media) सबैभन्दा प्रभावकारी विकल्प बन्दै आएको छ। सामाजिक सञ्जालमा अन्तरवैयक्तिक सम्बन्ध सुधारका लागि हामीले निम्न कुराहरूमा ध्यान केन्द्रित गर्नुपर्दछ:
- छलफल, बैठक र सेमिनारमा भाग लिने।
- असल मानिस र असल विषयबाट असल विचार सिक्ने साधनका रूपमा लिने।
- साथी सञ्जाल बनाउने, विज्ञसँग सम्पर्क बढाउने, ज्ञान र सिप आर्जन गर्ने।
- अनावश्यक साइट नहेर्ने, अस्वस्थ मनोरञ्जन नगर्ने र खराब नियतका मानिससँग सम्बन्ध नबनाउने।
- सामाजिक सञ्जालबाट कसरी अन्तरव्यक्ति सम्बन्ध विस्तार गर्न सकिन्छ भन्ने कुरा पढ्ने र सिक्ने।
५. असल नेतृत्व विकास गर्न के-के गर्न सकिन्छ?
उत्तर: नेतृत्व व्यक्ति, समूह र सङ्गठनको अगुवाइ गर्ने कार्य हो। यसका लागि इच्छाशक्ति, सिर्जनात्मकता, विनम्र भाव, आत्मानुशासन, सहनशीलता र धैर्य आवश्यक हुन्छ। असल नेतृत्व विकास गर्नका लागि निम्न कार्यहरू गर्न सकिन्छ:
- सामूहिक विचारलाई सम्मान गर्दै विभिन्न क्षेत्रमा काम गर्न सक्ने सक्रिय समूह निर्माण गर्नुपर्दछ।
- समूहबीच व्यक्तिगत र अन्तरवैयक्तिक सञ्चार, समन्वय र सहयोगको वातावरण विकास गर्नुपर्दछ।
- निर्णय गर्ने क्षमता र समस्या समाधान गर्ने शिल्पलाई परिष्कृत बनाउनुपर्दछ।
- अस्वस्थ आलोचना, नकारात्मक सोच, अपहेलना र गलत सन्देश प्रवाह गर्नुहुँदैन।
- नयाँ विचार, निर्णय र चुनौतीको खोजी, कार्यान्वयन र समाधानमा केन्द्रित हुनुपर्दछ।
६. टोलीकार्य भनेको के हो र यसबाट कसरी नेतृत्व विकास हुन्छ?
उत्तर: टोलीकार्य (Teamwork) समूहमा मिलेर काम गर्ने सिप हो। समूहमा काम गर्दा मानिसहरूले एकअर्काबाट सिक्छन् र त्यसलाई नेतृत्वका रूपमा परिणत गर्छन्। टोलीकार्य संवाद, योजना, बैठक र सहकार्यमा अरूसँग मिलेर काम गर्ने दक्षता र गुणस्तर हो।
टोलीकार्यबाट नेतृत्व विकास गर्न निम्न कुराहरूको कार्यान्वयन गर्नुपर्दछ:
- समूहमा खुला र इमानदारीपूर्वक काम गर्ने।
- सामूहिक लक्ष्य निर्धारण गर्ने।
- आफ्ना र समूहका सफलतालाई सम्मान गर्ने।
- समूहका लागि स्रोत र दक्षता विकासको व्यवस्था गर्ने।
- समूहका प्रत्येक सदस्यलाई समस्या समाधानमा सहभागी बनाउने।
- सबैलाई उत्तरदायी बनाउने र व्यक्ति-व्यक्तिबीच सम्बन्ध विस्तार गर्ने।
- सबैप्रति सहानुभूति राखी खुला दृष्टि राख्ने र सबैलाई सम्मान गर्ने।
यो पनि पढ्नुहोस्
थप जानकारीका लागि आधिकारिक स्रोतहरू:
राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तरवैयक्तिक सिपबारे थप जान्नुहोस्कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us