class 11 Social Unit 3-Chapter 4 | तनाव व्यवस्थापन (Tanab Vyavasthapan)-जीवनोपयोगी सिप
An overview of Tanab Vyavasthapan (Stress Management) notes for NEB class 11 Social Studies

एकाइ ३: जीवनोपयोगी सिप

पाठ ४: तनाव व्यवस्थापन

यस पाठमा हामीले तनाव व्यवस्थापन (Tanab Vyavasthapan) गर्ने तरिकाहरू बारे सिक्नेछौँ। जीवनमा आउने विभिन्न मानसिक दबाब र चुनौतीहरूलाई सही तरिकाले व्यवस्थापन गर्नु नै तनाव व्यवस्थापन हो। आजको प्रतिस्पर्धात्मक युगमा शारीरिक तथा मानसिक स्वास्थ्यलाई सन्तुलनमा राख्न तनाव व्यवस्थापनका सीपहरू अत्यन्त महत्त्वपूर्ण छन्।

Tanab Vyavasthapan (तनाव व्यवस्थापन)

१. माथिको घटनामा तनाव सिर्जना हुने के-के कारण उल्लेख गरिएका छन्?

उत्तर: माथिको घटनामा तनाव सिर्जना हुने कारणहरू यसप्रकार रहेका छन्:

  • सहरको बसाइ खर्चिलो हुनु,
  • पढाइ कसरी राम्रो गर्ने भन्ने चिन्ता हुनु,
  • खर्चको समस्या हुनु,
  • पारिवारिक चिन्ता हुनु,
  • राति निद्रा नलाग्नु, लागे पनि कम लाग्नु,
  • खाना खान मन नलाग्नु,
  • पढाइमा ध्यान केन्द्रित नहुनु आदि।

२. तनावले ज्ञानहरिलाई कस्तो असर पारेको छ?

उत्तर: तनावले ज्ञानहरिलाई पारेको असर यसप्रकार रहेका छन्:

  • मनमा नकारात्मक कुराहरू खेल्ने वा बढी आइरहने,
  • पढाइमा ध्यान केन्द्रित नहुने,
  • निद्रा नलाग्ने,
  • खाना खान मन नलाग्ने।

३. तनाव व्यवस्थापनमा योग र ध्यानले पुऱ्याउने फाइदा के-के हुन्?

उत्तर: व्यक्तिमा उत्पन्न हुने मानसिक दबाब (mental pressure) को अवस्था तनाव हो। वातावरणमा आएको परिवर्तनका कारण व्यक्तिमा देखिएको शारीरिक तथा मानसिक परिवर्तनको स्थिति नै तनाव हो। तनाव व्यवस्थापनमा योग र ध्यानले पुऱ्याउने फाइदाहरू निम्नानुसार छन्:

  • मानसिक शान्ति: योग र ध्यानले चिन्ता, पीर, तनाव वा दबाबबाट मुक्त गराउँछ र मनलाई एकीकृत गर्छ।
  • सकारात्मक ऊर्जा: यसले शरीरमा खुसी ल्याउने हर्मोनहरू वृद्धि गर्छ र अनावश्यक सोचाइको अन्त्य गर्छ।
  • शारीरिक स्वास्थ्य: नियमित योगले शरीरलाई स्वस्थ, तन्दुरुस्त र फुर्तिलो बनाउँछ। यसले शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यलाई सन्तुलनमा राख्छ।
  • आत्म-जागरूकता: योग र ध्यानले व्यक्तिको मानसिक अवस्थालाई निर्मल बनाउँछ, जसले गर्दा व्यक्तिले समाजमा आफ्नो अस्तित्वको पहिचान दिन सक्छ।
  • सन्तुष्टि प्रदान: सकारात्मक कुराहरूबाट शारीरिक तथा मानसिक सन्तुष्टि प्रदान गर्दछ।

४. ‘तनाव व्यवस्थापनमा ज्ञानहरिले अपनाएका रणनीतिहरू वास्तवमा सकारात्मक छन्।’ यस भनाइलाई पुष्टि गर्नुहोस्।

उत्तर: कुनै काम वा कुराले हाम्रो मस्तिष्कमा दबाब, झन्झट, दुःख, कष्ट, पीर, बेचैनी, हैरानी आदि उत्पन्न हुनुलाई तनाव भनिन्छ भने यस्ता मानसिक समस्याहरूको समाधान गर्नु वा निवारण गर्नुलाई तनाव व्यवस्थापन (Tanab Vyavasthapan) भनिन्छ।

ज्ञानहरिले अपनाएका रणनीतिहरू सिर्जनशील र उपयुक्त छन्। मानसिक तनावको व्यवस्थापन सकारात्मक र नकारात्मक दुवै ढङ्गले गरिन्छ तर तनावको व्यवस्थापन विभिन्न रणनीतिहरूको प्रयोग गरी सकारात्मक ढङ्गले गर्नुपर्छ। ज्ञानहरिले अपनाएका सकारात्मक रणनीतिहरू यसप्रकार रहेका छन्:

  • उनले ध्यान र योग गरे,
  • चित्रकला र सङ्गीतमा संलग्न भए,
  • एकान्तपनबाट टाढा रहे,
  • असल साथीसँग घुलमिल गरेर सल्लाह लिए,
  • सन्तुलित भोजन र दैनिक व्यायाम गरे,
  • परिवारका सदस्यहरूसँग सञ्चार गरे।

अन्त्यमा, उनले गरेका यस्ता क्रियाकलापबाट उनले नयाँ जीवन पाएका छन्, र उनी स्वस्थ, तनावमुक्त र तन्दुरुस्त भएका छन्। त्यसैले उनका रणनीतिहरू सकारात्मक छन् भन्ने कुरा पुष्टि हुन्छ।

५. तनाव हुनुभन्दा पनि त्यसलाई कसरी व्यवस्थापन गरिन्छ भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ। के तपाईं यस भनाइसँग सहमत हुनुहुन्छ? आफ्ना तर्कहरू प्रस्तुत गर्नुहोस्।

उत्तर: “तनाव हुनुभन्दा पनि त्यसलाई कसरी व्यवस्थापन गरिन्छ भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ,” म यस भनाइसँग पूर्ण सहमत छु।

थोरै-धेरै तनाव सबैमा हुन्छ र आफ्नो समग्र विकासका लागि केही हदसम्मको तनाव आवश्यक पनि मानिन्छ। तर, हामीले हाम्रो सोचाइद्वारा नै तनाव निम्त्याउँछौं। तनाव निवारणको मुख्य उपाय भनेको आफैँमा समझको विकास गर्नु हो। जुन कुरा आफ्नो नियन्त्रणमा छैन, त्यसप्रति तनाव लिएर कुनै फाइदा हुँदैन।

तनाव व्यवस्थापनका लागि निम्न तर्कहरू महत्त्वपूर्ण छन्:

  • आत्म-व्यवस्थापन: हामी अरूका कुरा र व्यवहारलाई व्यवस्थापन गर्न सक्दैनौं तर ती कुराहरूबाट आफू जोगिएर बस्न सक्छौं। यही नै आफैँले आफैँलाई व्यवस्थापन गर्ने सही तरिका हो।
  • सकारात्मक सोच: मानसिक रूपमा नकारात्मक सोचको विकास गर्नु, नकारात्मक ऊर्जा फैलाउनु र कुलत त्याग्न नसक्नु तनावका कारण हुन्। त्यसैले सकारात्मक सोच राख्नुपर्छ।
  • यथार्थलाई स्वीकार्नु: आफूसँग जे छ त्यो नदेख्ने र जे छैन त्यसप्रति आशक्त हुने स्वभावलाई परास्त गर्नुपर्छ। सबैले आफूसँग भएको मौलिक गुण र क्षमता पहिचान गर्नुपर्छ।
  • आन्तरिक शान्तिको खोजी: आन्तरिक स्थिरता, कोमलता, शान्ति र स्वतन्त्रता हाम्रा आन्तरिक सम्पदा हुन्। यो सम्पदालाई भोग्नुजस्तो खुसी अरू केही हुँदैन भन्ने ज्ञान राख्नुपर्छ।
  • सरल जीवनशैली: आफ्नो अहंकारप्रति जागृत हुनु र सरल एवं सहज जीवन बिताउने कोसिस गर्नुले तनाव कम गर्न मद्दत गर्छ।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top