class 11 Social Unit 3-Chapter 3 | सञ्चार (Sanchar)-जीवनोपयोगी सिप
Sanchar (Communication) notes for NEB class 11 Social Studies

एकाइ ३: जीवनोपयोगी सिप

पाठ ३: सञ्चार

यस पाठमा हामीले सञ्चार (Sanchar) को अर्थ, प्रकार, तत्त्व, र प्रभावकारी सञ्चारका लागि आवश्यक सिपहरू बारे विस्तृत रूपमा अध्ययन गर्नेछौँ। सञ्चारले व्यक्तिगत र व्यावसायिक जीवनमा कसरी महत्त्वपूर्ण सम्बन्ध स्थापना गर्न मद्दत गर्छ भन्ने कुराको विश्लेषण पनि गरिनेछ।

Sanchar (Communication)

१. सञ्चार भनेको के हो? सञ्चार कति प्रकारका हुन्छन्? सञ्चारका तत्त्वहरूको सूची बनाउनुहोस्।

उत्तर: सञ्चार (Communication) भनेको कुनै सन्देशलाई एक स्थानबाट अर्को स्थानमा पठाउनु तथा त्यसको अर्थ बुझ्नु हो। एल. ए. एलेन (L.A. Allen) ले सञ्चारलाई अरूको मस्तिष्कसँग समझदारी कायम गर्नका लागि व्यक्तिले गरेका सबै कार्यको योग हो भनेका छन्।

सञ्चार तीन प्रकारका हुन्छन्, ती हुन्:

  • क. मौखिक सञ्चार (Verbal Communication)
  • ख. लिखित सञ्चार (Written Communication)
  • ग. साङ्केतिक सञ्चार (Non-verbal/Symbolic Communication)

सञ्चारका तत्त्वहरू (Elements of Communication) यसप्रकार रहेका छन्:

  • प्रेषक (Sender)
  • सूचना (Message)
  • माध्यम (Channel)
  • प्रापक (Receiver)
  • पृष्ठपोषण (Feedback)

२. प्रभावकारी सञ्चारका अवरोधहरू उल्लेख गर्नुहोस्।

उत्तर: सञ्चार प्रणालीमा विभिन्न तत्त्वहरूले बाधा उत्पन्न गर्न सक्छन्। ती तत्त्वहरूलाई सञ्चारका अवरोधक (Barriers to Communication) भनिन्छ। व्यक्तिगत वा सामूहिक रूपमा गरिने सञ्चार खुला तथा दोहोरो हुनुपर्दछ। तर कहिलेकाहीँ सञ्चार प्रक्रियामा विभिन्न अवरोधहरू आइपर्छन्। प्रभावकारी सञ्चारमा देखा पर्ने प्रमुख अवरोधहरू निम्नानुसार छन्:

  • मनोवैज्ञानिक अवरोध (Psychological Barriers): सञ्चार प्रक्रियामा संलग्न पक्षहरूको मनोवैज्ञानिक अवस्थाले प्रभावकारी सञ्चारमा अवरोध उत्पन्न हुन सक्दछ। व्यक्तिमा भएको सूचना छनोटको प्रवृत्ति, सूचनाको बोझ, आवेग र लैङ्गिक शैलीले प्रभावकारी सञ्चारमा अवरोध सिर्जना हुन सक्छ।
  • भाषिक अवरोध (Semantic Barriers): भाषा वा शब्दको गलत अर्थको कारणले सञ्चार प्रक्रियामा अवरोध उत्पन्न हुन सक्दछ। भिन्न भिन्न समाजमा फरक फरक भाषा हुन्छ। देश, धर्म, संस्कृति र उमेरले समेत भाषामा प्रभाव पार्दछ। प्रेषकको भाषा वा अभिप्राय प्रापकले बुझेन भने अर्थको अनर्थ हुन सक्दछ।
  • भौतिक अवरोध (Physical Barriers): यो सञ्चार प्रक्रियाको समयमा उत्पन्न हुने वातावरणीय अवरोध हो। यसअन्तर्गत भौतिक दूरी, कोलाहल (noise), र कमजोर प्राविधिक माध्यम जस्ता कुराहरू पर्दछन्।
  • सङ्गठनात्मक अवरोध (Organizational Barriers): सङ्गठनभित्रको आन्तरिक तत्त्वले समेत सञ्चार प्रक्रियामा बाधा उत्पन्न गर्न सक्दछ। यसअन्तर्गत खराब योजना, जटिल संरचना, र मर्यादा, अहम्ता जस्ता कुराहरू पर्दछन्।

३. प्रभावकारी सञ्चारका माध्यमहरू उल्लेख गरी तिनीहरूले तपाईंको जीवनमा पारेको प्रभाव विश्लेषण गर्नुहोस्।

उत्तर: दुई पक्षहरूबीच सूचना आदानप्रदान गर्ने र अर्थ बुझ्ने प्रक्रियालाई सञ्चार भनिन्छ। सञ्चारअन्तर्गत बोल्ने, सुन्ने, पढ्ने, लेख्ने, हेर्ने आदि क्रियाकलापहरू पर्दछन्। यी क्रियाकलापहरूको मुख्य उद्देश्य नै व्यक्तिले अरूलाई सूचना पठाउनु तथा अरूबाट सूचना प्राप्त गर्नु हो।

प्रभावकारी सञ्चारका मुख्य माध्यमहरू निम्नानुसार छन्:

  • प्रत्यक्ष भेटघाट (Face-to-face)
  • टेलिफोन/मोबाइल फोन
  • पत्रपत्रिका, चिठीपत्र
  • रेडियो, टेलिभिजन
  • इन्टरनेट (इमेल, सामाजिक सञ्जाल, भिडियो कन्फरेन्स)

प्रभावकारी सञ्चारका माध्यमहरूले मानिसको जीवनमा यसप्रकारको प्रभाव पार्दछ:

  • लक्ष्य प्राप्तिमा सहजता: स्पष्ट सञ्चारले व्यक्तिगत र सामूहिक लक्ष्यहरू हासिल गर्न सजिलो बनाउँछ।
  • कार्यसम्पादनमा समन्वय: सहकर्मी र परिवारबीच राम्रो समन्वय कायम भई कामहरू छिटो र प्रभावकारी हुन्छन्।
  • सम्बन्ध सुधार: दुई पक्षबीचको सम्बन्ध सुमधुर बनाउन र गलत बुझाइ हटाउन मद्दत गर्छ।
  • सूचना र जानकारीमा पहुँच वृद्धि: विश्वमा भइरहेका घटना र नयाँ ज्ञानबारे सजिलै जानकारी प्राप्त हुन्छ।
  • सहभागिता बढाउँछ: छलफल र निर्णय प्रक्रियामा आफ्नो विचार राख्न र अरूको सुन्न अवसर मिल्छ।

४. प्रभावकारी सञ्चारले प्रभावकारी सम्बन्ध स्थापना गर्न सहयोग गर्छ भन्ने तथ्यलाई उदाहरणसहित पुष्टि गर्नुहोस्।

उत्तर: प्रभावकारी सञ्चार दुई पक्षहरूबीच हुने एक व्यवस्थित प्रक्रिया हो जसमा सूचना, जानकारी, विचार र भावनाहरू पठाउने, प्राप्त गर्ने तथा बुझ्ने कार्य गरिन्छ। प्रभावकारी सञ्चारले एक-अर्काको इच्छा, चाहना र भाव बुझ्न मद्दत गर्छ, जसले गर्दा सम्बन्धहरू बलियो र विश्वासिलो बन्छन्।

उदाहरणका लागि, यदि कुनै विद्यार्थीलाई शिक्षकले दिएको गृहकार्य स्पष्ट भएन भने, उसले शिक्षकसँग पुनः सोधेर स्पष्ट हुन सक्छ। यो एक प्रभावकारी सञ्चार हो। यसले विद्यार्थीलाई सही काम गर्न र शिक्षकलाई विद्यार्थीको अवस्था बुझ्न मद्दत गर्छ, जसले गर्दा उनीहरूको सम्बन्ध सकारात्मक बन्छ। तर, यदि विद्यार्थीले नबुझिकन चुप लागेर बस्यो भने गृहकार्य बिग्रन्छ र शिक्षकसँग उसको सम्बन्धमा नकारात्मक असर पर्न सक्छ।

प्रभावकारी सञ्चारले प्रभावकारी सम्बन्ध स्थापना गर्न मात्र नभई निम्नानुसार सहयोग पनि गर्दछ:

  • पारदर्शिता प्रवर्धन गर्न: स्पष्ट सञ्चारले कुनै पनि संस्था वा सम्बन्धमा पारदर्शिता ल्याउँछ।
  • प्रभावकारी निर्णय गर्न: सही सूचनाको आदानप्रदानले सही र समयमै निर्णय लिन मद्दत गर्दछ।
  • जनविश्वास कायम राख्न: निरन्तर र सत्य सञ्चारले समाज वा संस्थामा विश्वासको वातावरण बनाउँछ।
  • उत्प्रेरित गराउन: राम्रो सञ्चारले कर्मचारी वा सदस्यहरूलाई सङ्गठनप्रति उत्प्रेरित गराउँछ र काममा हौसला प्रदान गर्दछ।
  • सेवा प्रवाहमा सहजीकरण: सरकारी वा निजी क्षेत्रमा सेवाग्राहीसँगको स्पष्ट सञ्चारले सेवा प्रवाहलाई छिटो र सरल बनाउँछ।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top