class 11 Social Unit 4-Chapter 5 | वर्तमान विश्व परिवेश र सामाजिक व्यवहार (Bartaman Bishwa Paribesh ra Samajik Byabahar)-मानव तथा समाजको उद्भव र विकास
An overview of Bartaman Bishwa Paribesh ra Samajik Byabahar (Current World Context and Social Behavior) notes for NEB class 11 Social Studies

एकाइ ४: मानव तथा समाजको उद्भव र विकास

पाठ ५: वर्तमान विश्व परिवेश र सामाजिक व्यवहार

यस पाठमा हामीले अन्तरवैयक्तिक सिपहरू (Interpersonal Skills) र सामाजिक व्यवहारका विभिन्न पक्षहरू बारे सिक्नेछौँ। आजको विश्व परिवेशमा सफल हुनका लागि राम्रो सञ्चार, नेतृत्व क्षमता, र समूहमा काम गर्ने सिपहरू अनिवार्य छन्। यी सिपहरूले व्यक्तिगत र व्यावसायिक जीवनमा सम्बन्धहरू सुमधुर बनाउन र लक्ष्य हासिल गर्न मद्दत गर्दछन्।

Bartaman Bishwa Paribesh ra Samajik Byabahar

१. अन्तरवैयक्तिक सिप भनेको के हो?

उत्तर: आफूले नजानेका कुरा अरूसँग सोधेर र आफ्ना विचार राखेर अरूसँग सञ्चार गर्ने सिप अन्तरवैयक्तिक सिप (Interpersonal Skills) हो। वैयक्तिक दक्षता र अन्तरसंवाद सिप विकास गर्ने भएकाले यसलाई ‘जनसिप’ पनि भनिँदो रहेछ। यसले व्यक्तिको अन्तर विकास गरी सामाजिक परिवेशमा आफूलाई समायोजन गर्न सहयोग गर्दछ।

२. अन्तरवैयक्तिक सिप किन महत्त्वपूर्ण छ?

उत्तर: अन्तरवैयक्तिक सिपले हामीलाई अरूका कुरा सक्रियतापूर्वक सुनेर समूहमा काम गर्न, उत्तरदायित्व बहन गर्न, नेतृत्व सिप विकास गर्न, उत्प्रेरित हुन, धैर्य र सहानुभूति विकास गरी लचकदार व्यक्तित्व विकास गर्न सहयोग गर्ने हुनाले महत्त्वपूर्ण छ। अन्तरवैयक्तिक सिपका अन्य महत्त्व यसप्रकार रहेका छन्:

  • यसले जीवनमा आइपर्ने समस्या समाधान गर्न सिकाउँछ।
  • आफ्नो लक्ष्य प्राप्तिका लागि चुनौती सामना गर्न सिकाउँछ।
  • अरूलाई विश्वासमा लिएर आफ्ना काम सफल बनाउन सकिन्छ।
  • आफ्ना कामलाई व्यवस्थित गर्न सकिन्छ।
  • आफ्ना आचार, विचार र संवादको संस्कृति परिवर्तन गर्न सकिन्छ।

३. अन्तरवैयक्तिक सम्बन्ध सुधार गर्ने उपायहरू लेख्नुहोस्।

उत्तर: अन्तरवैयक्तिक सिप भनेको मनको मैलो फालेर ज्ञानको थैलो भर्ने माध्यम हो। त्यसैले यसको सम्बन्ध सुधार गर्ने उपायहरू यसप्रकार रहेका छन्:

  • हामीले रिस, ईर्ष्या, डाहजस्ता संवेग नियन्त्रण गर्नुपर्छ।
  • ‘मैले मात्रै जानेको छु’ भन्ने बिर्सेर अरूको विज्ञता र अनुभवको सम्मान गर्नुपर्छ।
  • अरूका इच्छा, आकाङ्क्षा बुझ्न पर्छ।
  • अरूप्रति सहानुभूति, अग्रगामी सोच राख्न पर्छ।
  • अरूलाई होच्याएर र दमन गरेर होइन, सम्मानपूर्वक कुरा गर्नुपर्दछ।
  • घमन्ड त्याग गरी, असल सन्देश अरूलाई सुनाएर सम्बन्ध सुधार गर्न सकिन्छ।

४. अन्तरवैयक्तिक सम्बन्ध सुधारका लागि सामाजिक सञ्जाललाई कसरी प्रयोग गर्नुपर्छ?

उत्तर: आजको युगमा अन्तरवैयक्तिक सम्बन्ध सुधारका लागि सामाजिक सञ्जाल (Social Media) सबैभन्दा प्रभावकारी र उत्तम विकल्प बन्दै आएको छ। विश्वका कुनाकुनाका मानिसहरू सामाजिक सञ्जालमा जोडिएका छन्। अन्तरवैयक्तिक सम्बन्ध सुधारका लागि सामाजिक सञ्जाललाई हामीले कसरी प्रयोग गर्छौं भन्नेमा भर पर्दछ। यसका लागि हामीले यी कुराहरूमा ध्यान केन्द्रित गर्नुपर्दछ:

  • छलफल, बैठक र सेमिनारमा भाग लिने।
  • असल मानिस र असल विषयबाट असल विचार सिक्ने साधनका रूपमा लिने।
  • साथी सञ्जाल बनाउने, विज्ञसँग सम्पर्क बढाउने, ज्ञान सिप आर्जन गर्ने।
  • अनावश्यक साइट नहेर्ने, अस्वस्थ मनोरञ्जन नगर्ने र खराब नियतका मानिससँग सम्बन्ध नबनाउने।

५. असल नेतृत्व विकास गर्न के-के गर्न सकिन्छ?

उत्तर: नेतृत्व (Leadership) व्यक्ति, समूह र सङ्गठनको अगुवाइ गर्ने कार्य हो। अरूलाई उत्प्रेरित गर्ने कला पनि हो। नेतृत्व गर्न इच्छाशक्ति, सिर्जनात्मकता र विनम्र भाव चाहिन्छ। आत्मानुशासन, नियमको पालना, सहनशीलता र धैर्यविना नेतृत्व सम्भव छैन। असल नेतृत्व विकास गर्नका लागि हामीलाई यसप्रकारका कार्यहरू आवश्यक पर्दछन्:

  • सामूहिक विचारलाई सम्मान गर्दै विभिन्न क्षेत्रमा काम गर्न सक्ने सक्रिय समूह निर्माण गर्नुपर्दछ।
  • समूहबीच वैयक्तिक र अन्तरवैयक्तिक सञ्चार, समन्वय र सहयोगको वातावरण विकास गर्नुपर्दछ।
  • निर्णय गर्ने क्षमता र समस्या समाधान गर्ने शिल्प पनि परिष्कृत बनाउन पर्दछ।
  • अस्वस्थ आलोचना, नकारात्मक सोच, अपहेलना र गलत सन्देश प्रवाह गर्नुहुँदैन।
  • विचार, निर्णय र चुनौतीको खोजी, कार्यान्वयन र समाधानमा ध्यान दिनुपर्दछ।

६. टोलीकार्य भनेको के हो र यसबाट कसरी नेतृत्व विकास हुन्छ?

उत्तर: टोलीकार्य (Teamwork) समूहमा काम गर्ने सिप हो। समूहमा काम गर्दा व्यवस्थापक र कामदार व्यक्ति हुन्छन्। काम गर्दागर्दै मानिसहरूले सिक्छन् र त्यसलाई नेतृत्वका रूपमा परिवर्तित गर्छन्। टोलीकार्य संवाद, योजना, बैठक र सहकार्यमा अरूसँग मिलेर काम गर्ने दक्षता र गुणस्तर हो।

टोलीकार्यबाट नेतृत्व विकास गर्न यी कुराहरूको कार्यान्वयन गर्नुपर्दछ:

  • समूहमा खुला र इमानदारीपूर्वक काम गर्नुहोस्।
  • सामूहिक लक्ष्य निर्धारण गर्नुहोस्।
  • आफ्ना सफलतालाई सम्मान गर्नुहोस्।
  • समूहका लागि स्रोत र दक्षता विकासको व्यवस्था गर्नुहोस्।
  • समूहका प्रत्येकलाई समस्या समाधानमा सहभागी बनाउनुहोस्।
  • सबैलाई उत्तरदायी बनाउनुहोस्, व्यक्ति-व्यक्तिबीच सम्बन्ध विस्तार गर्नुहोस्।
  • सबैप्रति सहानुभूति राखी खुला दृष्टि राख्नुहोस्, सबैलाई सम्मान गर्नुहोस्।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top