class 11 Social Unit 4-Chapter 4 | पुँजीवादी युग र औद्योगिक विश्व (Punjibadi Yug ra Audhyogik Bishwa)-मानव तथा समाजको उद्भव र विकास
An overview of Punjibadi Yug ra Audhyogik Bishwa (Capitalist Era and the Industrial World) notes for NEB class 11 Social Studies

एकाइ ४: मानव तथा समाजको उद्भव र विकास

पाठ ४: पुँजीवादी युग र औद्योगिक विश्व

यस पाठमा हामीले पुँजीवादी युग र औद्योगिक विश्व (Punjibadi Yug ra Audhyogik Bishwa) को सुरुवात, विकासक्रम र यसले मानव समाजमा पारेका प्रभावहरूबारे विस्तृत अध्ययन गर्नेछौँ। सामन्तवादको अन्त्यपछि सुरु भएको यो युगले विश्वमा आर्थिक, सामाजिक र राजनीतिक रूपमा ठूलो परिवर्तन ल्यायो। औद्योगिक क्रान्ति यसै युगको एक महत्त्वपूर्ण उपलब्धि हो, जसले उत्पादन प्रणाली र जीवनशैलीलाई नै रूपान्तरण गरिदियो।

Punjibadi Yug ra Audhyogik Bishwa

१. पुँजीवादी व्यवस्था र सामन्तवादी व्यवस्थाबिचको फरक छुट्याउनुहोस्।

उत्तर: मानव समाज विकासक्रममा ढुङ्गे युग, कृषि युग, सामन्त युग हुँदै वर्तमान पुँजीवादी औद्योगिक युगमा आइपुगेको हो। यसै सन्दर्भमा पुँजीवादी व्यवस्थासामन्तवादी व्यवस्था बिचको भिन्नतालाई निम्नअनुसार प्रस्तुत गर्न सकिन्छ:

  • उत्पादन प्रणाली: पुँजीवादी व्यवस्था औद्योगिक उत्पादनमा आधारित छ भने सामन्तवादी व्यवस्था कृषि उत्पादनमा आधारित थियो।
  • प्राथमिकता: पुँजीवादी व्यवस्थामा मानिससँग भएको धन, सम्पत्ति र पुँजीलाई पहिलो स्थानमा राखिन्छ भने सामन्तवादी व्यवस्थामा बढीभन्दा बढी जमिन ओगट्ने सामन्तहरू शक्तिशाली हुन्थे।
  • प्रविधिको प्रयोग: पुँजीवादी व्यवस्था पूर्ण रूपमा प्रविधिमैत्री उत्पादन व्यवस्था हो भने सामन्तवादी उत्पादन व्यवस्थामा प्रविधिको प्रयोग अत्यन्तै कम थियो।
  • राजनीतिक पहुँच: पुँजीवादी व्यवस्था भएको देशमा सामान्यतया पुँजीपतिले देशको राजनीति सञ्चालन गर्छन् भने सामन्तवादी व्यवस्थामा सामन्तहरूको पहुँच राजनीतिमा थियो।
  • विकासको गति: सामन्तवादी व्यवस्थामा विश्वमा खासै विकास निर्माणको कार्य भएन भने वर्तमान पुँजीवादी व्यवस्थामा यातायात र इन्टरनेटको आविष्कारसँगै विश्व एक ‘ग्लोबल भिलेज’ (Global Village) मा रूपान्तरण भइसकेको छ।
  • शोषणको प्रकृति: सामन्तवादी युगमा कृषि मजदुर र दासहरूमाथि शोषण हुन्थ्यो भने वर्तमान पुँजीवादी औद्योगिक युगमा औद्योगिक मजदुरहरू र गरिब मानिसहरूमाथि शोषण हुने गरेको छ।
  • सामाजिक सोच: सामन्तवादी युगमा समाज परम्परागत सोच र धर्मबाट बढी प्रभावित थियो भने वर्तमान पुँजीवादी व्यवस्थामा आधुनिक सोच र प्रविधिको प्रयोग बढेको छ, जहाँ दया, माया र मानवता गौण बन्दै गएको छ।

२. युरोपको औद्योगिक क्रान्ति र यसले मानव समाजमा पारेको प्रभाव उल्लेख गर्दै एक संवाद तयार पार्नुहोस्।

पत्रकार: नमस्ते विज्ञज्यू! हाम्रो टेलिभिजनमा तपाईंलाई स्वागत छ। युरोपको औद्योगिक क्रान्ति के हो र कस्तो क्रान्ति हो? प्रस्ट पारिदिनुहुन्छ कि?

इतिहासशास्त्री: हजुर, नमस्ते। राम्रो जिज्ञासा राख्नुभयो। १८औँ शताब्दीमा बेलायतबाट सुरु भई युरोप हुँदै बाँकी विश्वभरि नै औद्योगिक क्षेत्रमा भएको रूपान्तरण (Transformation) लाई औद्योगिक क्रान्ति भनिन्छ। यो एक अप्रत्याशित, द्रुत र आश्चर्यजनक परिवर्तन थियो, जसमा सयौँदेखिको कृषि युगको अन्त्य भई औद्योगिक युगको उदय भयो। यो घटना सन् १७६० को दशकदेखि सुरु भै १८४० सम्ममा निकै विकसित अवस्थामा पुगेको थियो। विना रक्तपात औद्योगिक क्षेत्रमा आमूल परिवर्तन भएकाले यसलाई ‘क्रान्ति’ भनिएको हो।

पत्रकार: ए! त्यसो भए औद्योगिक क्रान्तिलाई मुख्यत: कुन-कुन क्षेत्रमा भएको रूपान्तरण भनेर चिनिन्छ?

इतिहासशास्त्री: हो, यसलाई मुख्यतः ५ क्षेत्रमा भएको रूपान्तरण भनेर चिनिन्छ:
१) घरेलु उद्योगबाट कारखाना प्रणालीमा,
२) कृषि मजदुरबाट कारखाना मजदुरमा,
३) हाते श्रमबाट औद्योगिक मेसिनरीमा,
४) जैविक शक्तिबाट मेसिनरी शक्तिमा, र
५) पुरानो विचारबाट नयाँ विचारमा।

पत्रकार: औद्योगिक क्रान्तिले मानव समाजमा के-कस्ता प्रभावहरू पारेका छन् त?

इतिहासशास्त्री: यसका सकारात्मक र नकारात्मक दुवै प्रभावहरू छन्।
सकारात्मक प्रभावहरू:

  • ठूला-ठूला कलकारखाना र औद्योगिक नगरहरूको स्थापना।
  • उत्पादन र उत्पादकत्वमा वृद्धि।
  • मानवीय जीवनयापनमा सुधार र यातायात प्रणालीको विकास।
  • स्वतन्त्र व्यापार सिद्धान्त र ट्रेड युनियन अधिकार (Trade Union Rights) को जन्म।
नकारात्मक प्रभावहरू:

  • मजदुरहरूको दयनीय अवस्था र बेरोजगारी समस्या।
  • घरेलु तथा घरेलु उद्योग-धन्दाको अन्त्य।
  • समाजमा पुँजीपति र मजदुर गरी दुई वर्गको उदय र वर्ग सङ्घर्षको सुरुवात।
  • साम्राज्यवाद र उपनिवेशवादको जन्म।

पत्रकार: आज यहाँ आएर औद्योगिक क्रान्तिको बारेमा धेरै जानकारी दिनुभयो। तपाईंलाई धेरै धन्यवाद छ।

इतिहासशास्त्री: मलाई पनि आफ्ना कुरा राख्ने अवसर दिनुभएकोमा तपाईं र यस टेलिभिजन च्यानललाई धन्यवाद दिन्छु।

३. पुँजीवादी समाज र औद्योगिकीकरण बिचको सम्बन्ध प्रस्ट पार्नुहोस्।

उत्तर: उत्पादनका साधनहरूमा निजी स्वामित्व कायम रहने र वस्तुको वितरण स्वतन्त्र बजारको अवधारणामा आधारित हुने समाजलाई पुँजीवादी समाज भनिन्छ। अर्कोतर्फ, औद्योगिक क्षेत्रमा आएको द्रुत र आश्चर्यजनक परिवर्तन औद्योगिकीकरण हो। यी दुईबिच गहिरो अन्तरसम्बन्ध रहेको छ।

पुँजीवादी समाज खासगरी औद्योगिकीकरणमा आधारित हुन्छ। पुँजीवादी समाजको विकास हुँदै जाँदा उत्पादन बढाउनका लागि जीवाश्म इन्धन (Fossil Fuel) बाट चल्ने मेसिनको तीव्र विकास भयो। मेसिनको व्यापक प्रयोगले मानवीय श्रमको आवश्यकता घटायो। यद्यपि, उत्पादित वस्तुहरूको बजारीकरण र सेवा क्षेत्रको विस्तारले गर्दा औद्योगिक सहरहरूको विकास भयो र सहरीकरण प्रक्रिया तीव्र बन्यो। यातायात, सञ्चार (टेलिफोन, रेडियो, इन्टरनेट), ऊर्जा (जलविद्युत्) र शिक्षा क्षेत्रमा भएको विकासले मानव समाजमा ठूलो परिवर्तन ल्यायो। यी सबै परिवर्तनको पछाडि औद्योगिकीकरणले नै प्रमुख भूमिका खेलेको थियो, जसले पुँजीवादी समाजको जगलाई थप बलियो बनायो।

४. पुँजीवादी समाजमा निजी सम्पतिको महत्व बढी हुनुका कारणहरू उल्लेख गर्नुहोस्।

उत्तर: पुँजीवादी अर्थ-व्यवस्थामा उत्पादनका साधनहरूमा निजी स्वामित्व कायम रहने भएकाले निजी सम्पत्तिको महत्त्व बढी हुन्छ। यसका प्रमुख कारणहरू निम्न छन्:

  • मुनाफाको प्रेरणा: पुँजीवादमा प्रत्येक व्यक्ति प्रतिस्पर्धा मार्फत बढीभन्दा बढी मुनाफा कमाउने प्रयासमा लाग्छन्, जुन निजी सम्पत्ति बिना सम्भव छैन।
  • स्वतन्त्र बजार: वस्तुको वितरण र विकास स्वतन्त्र बजारमा आधारित हुन्छ, जहाँ सम्पत्ति भएका व्यक्ति वा समूहले बजारलाई नियन्त्रण गर्न सक्छन्।
  • शक्तिको स्रोत: पुँजीवादी समाजमा धन, सम्पत्ति र पुँजीलाई नै शक्तिको मुख्य स्रोत मानिन्छ र यसैको आधारमा सामाजिक प्रतिष्ठा निर्धारण हुन्छ।

५. औद्योगिक समाज र पुँजीवादी समाज एकअर्कामा अन्तरसम्बन्धित छन्। यस भनाइलाई पुष्टि गर्नुहोस्।

उत्तर: औद्योगिक समाजपुँजीवादी समाज एकअर्काका परिपूरक हुन् र यिनीहरूको विकास सँगसँगै भएको देखिन्छ। औद्योगिकीकरणले पुँजीवादको विकासका लागि आवश्यक आधार तयार गर्‍यो भने पुँजीवादले औद्योगिकीकरणलाई थप प्रोत्साहन गर्‍यो।

औद्योगिकीकरणले मेसिन र कारखानाको प्रयोगबाट ठूलो मात्रामा वस्तु उत्पादन गर्न सम्भव बनायो। यो उत्पादन प्रणाली सञ्चालन गर्न ठूलो पुँजीको आवश्यकता पर्‍यो, जुन पुँजीपति वर्गले लगानी गर्‍यो। यसरी, कारखाना मालिक (पुँजीपति) र मजदुर वर्गको उदय भयो, जुन पुँजीवादी समाजको मुख्य विशेषता हो। औद्योगिकीकरणले यातायात र सञ्चारको विकास गरी विश्व बजार सिर्जना गर्‍यो, जसले पुँजीपतिहरूलाई आफ्नो सामान बेच्न र थप नाफा कमाउन मद्दत गर्‍यो। उत्पादित वस्तुको बजारीकरण, सेवा क्षेत्रको विस्तार र सहरीकरण जस्ता प्रक्रियाहरूले यी दुई समाजलाई झनै नजिकबाट जोडेको छ। तसर्थ, अस्तित्वमा आएको समय फरक भएता पनि औद्योगिक र पुँजीवादी समाजको विकास विश्वमा सँगसँगै भएको देखिन्छ र यिनको अन्तरसम्बन्ध अत्यन्तै गहिरो छ।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top