एकाइ ६: हाम्रो पृथ्वी (Hamro Prithvi)
पाठ ६: विश्वको हावापानी : धरातलीय विविधता र प्रभाव (Bishwoko Hawapani: Dharataliya Bibidhata ra Prabhab)
यस पाठमा पढ्नुहोस्
१. धरातलीय स्वरुपले जनजीवनमा प्रभाव पार्दछ भन्ने तथ्यलाई नेपालको दृष्टान्त दिई प्रमाणित गर्नुहोस्।
उत्तर: मानव जीवनमा हावापानी र धरातलीय विविधताले प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। यसबाट खानपान, भेषभूषा, सभ्यता, पेसा, धर्म, संस्कार, विकासका कार्य, आर्थिक क्रियाकलापलगायतका पक्षहरू प्रभावित भइरहेका हुन्छन्। नेपालको हिमाली, पहाडी र तराई क्षेत्रको जनजीवन फरक हुनाको कारण हावापानी र धरातलीय स्वरूपको प्रभावले गर्दा हो। हिमाली क्षेत्र चिसो भएकाले त्यहीअनुसारको खानपान, रहनसहन र अन्य गतिविधि छन् भने तराई क्षेत्र गर्मी भएकाले त्यही अनुसारको खानपान, रहनसहन र अन्य गतिविधि छन्। तसर्थ, धरातलीय स्वरूपले जनजीवनमा प्रभाव पार्दछ।
२. समाना क्षेत्रमा धेरै प्रजातिका जनावर पाइन्छन्। किन? कारण दिनुहोस्।
उत्तर: समाना क्षेत्र उष्ण तृणभूमिको क्षेत्र हो। ग्रीष्म र हिउँद ऋतु हुने तथा वर्षा स्थान र अवस्थाअनुसार ५० देखि १५० से.मि. सम्म हुन्छ। यहाँ वर्षाको अवस्थाअनुसार वनस्पति पाइए पनि मुख्य रूपमा लामा र बाक्ला घाँसे वनस्पतिहरू प्रशस्त मात्रामा पाइन्छन्। घाँसेभूमि हुनाले यो क्षेत्रमा शाकाहारी, मांसाहारी र सर्वाहारी जीवजन्तुहरू ठुलो सङ्ख्यामा पाइन्छ। हजारौँ प्रकारका जीव जनावर पाइने हुनाले समाना क्षेत्रलाई संसारको चिडियाघर पनि भनिन्छ।
३. नेपालको उत्तरी क्षेत्र पाँच हजार मिटर माथिको उचाइमा बोटबिरुवा पाइँदैन, किन?
उत्तर: नेपालको उत्तरी क्षेत्र पाँच हजार मिटर माथिको उचाइमा वर्षभरि हिउँ जम्छ। त्यस्तै, यहाँको तापक्रम पनि अत्यन्त न्यून रहन्छ। यस क्षेत्रमा वर्षा निकै कम हुने र हिमवर्षा हुने गर्दछ। तसर्थ, यस क्षेत्रमा बोटबिरुवा पाइँदैन।
४. संस्कृति र संस्कारलाई हावापानी र धरातलले प्रभाव पारेको हुन्छ भन्ने तथ्यलाई आफ्नो परिवेशको उदाहरण दिई प्रस्ट पार्नुहोस्।
उत्तर: भाषा, भेषभूषा, रहनसहन, खानपिन, मूल्यमान्यता, चाडपर्व, जीवनशैली, घर निर्माणका तरिका आदि संस्कृति र संस्कार अन्तर्गत पर्दछन्। यस्ता कुरालाई हावापानी र धरातलले प्रभाव पारेको हुन्छ। तराईमा गर्मी धेरै हुने भएकाले यहाँको भेषभूषा, खानपिन, चाडपर्व, जीवनशैली र घर निर्माणको तरिका हावापानी अनुसारको रहेको छ। हिमाली क्षेत्रमा चिसो मौसम हुने भएकाले मौसम र भूगोलअनुसारको भेषभूषा, खानपिन, चाडपर्व, जीवनशैली र घर निर्माणको तरिका रहेको छ। त्यस्तै पहाडमा पनि हावापानी र धरातल अनुसारको संस्कृति र संस्कार रहेको छ।
Next Chapter:
यो पनि पढ्नुहोस्
कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us