class 11 Social Unit 2-Chapter 1 | डिजिटल साक्षरता (Digital Saksharata)-जीवनोपयोगी सिपको रूपमा डिजिटल सिपहरू तथा सामान्य अनुसन्धान सिपहरू
An overview of Digital Saksharata (Digital Literacy) notes for NEB class 11 Social Studies

एकाइ २: जीवनोपयोगी सिपको रूपमा डिजिटल सिपहरू तथा सामान्य अनुसन्धान सिपहरू (Jivanupayogi Sipko Rupma Digital Sipharu tatha Samanya Anusandhan Sipharu)

पाठ १: डिजिटल साक्षरता (Digital Saksharata)

यस पाठमा हामी डिजिटल साक्षरता (Digital Saksharata), यसको महत्त्व, कम्प्युटरको प्रयोग, हार्डवेयर, र माइक्रोसफ्ट वर्ड जस्ता आवश्यक डिजिटल सिपहरू बारे विस्तृत रूपमा अध्ययन गर्नेछौँ। आजको युगमा यी सीपहरू जीवनका हरेक क्षेत्रमा अत्यावश्यक भएका छन्।

Digital Saksharata

(क) कम्प्युटरको प्रयोग भइरहेका कुनै दुई क्षेत्रहरूको नाम लेख्नुहोस्।

उत्तर: कम्प्युटरको प्रयोग भइरहेका कुनै दुई प्रमुख क्षेत्रहरू हुन्:

  • शिक्षा
  • उद्योग

(ख) डिजिटल साक्षरता (Digital Saksharata) भन्नाले के बुझिन्छ?

उत्तर: सूचना तथा सञ्चार प्रविधि प्रयोग गरी कुनै पनि सूचना प्राप्त गर्ने, मूल्याङ्कन गर्ने, सिर्जना गर्ने र सञ्चार गर्ने क्षमतालाई डिजिटल साक्षरता भनिन्छ।

(ग) सूचना तथा सञ्चार प्रविधि भनेको के हो?

उत्तर: कम्प्युटर, इन्टरनेट तथा अन्य माध्यमको प्रयोग गरेर तथ्याङ्क सङ्कलन गर्ने, सङ्कलित तथ्याङ्कलाई प्रशोधन गरी सूचनामा परिवर्तन गर्ने, प्रशोधित सूचनालाई भण्डारण गर्ने र उक्त सूचना प्रयोगकर्तालाई उपलब्ध गराउने कार्य नै सूचना तथा सञ्चार प्रविधि (Information and Communication Technology – ICT) हो। यसलाई छोटकरीमा सूचना प्रविधि (IT) पनि भन्ने गरिन्छ।

(घ) कम्प्युटर हार्डवेयरलाई उदाहरणसहित वर्गीकरण गर्नुहोस्।

उत्तर: कम्प्युटर हार्डवेयरलाई मुख्यतया चार भागमा वर्गीकरण गर्न सकिन्छ:

  1. इनपुट उपकरण (Input Device): कम्प्युटरमा तथ्याङ्क वा निर्देशन प्रविष्ट गराउन प्रयोग हुने उपकरणहरू, जस्तै: माउस, किबोर्ड, क्यामेरा, माइक्रोफोन आदि।
  2. प्रशोधन उपकरण (Processing Device): प्रविष्ट भएका तथ्याङ्कलाई निर्देशनअनुसार गणना वा प्रशोधन गर्ने उपकरण, जस्तै: केन्द्रीय प्रशोधन इकाई (Central Processing Unit – CPU)
  3. आउटपुट उपकरण (Output Device): कम्प्युटरमा भएका तथ्याङ्क वा सूचनालाई देखाउन प्रयोग हुने उपकरणहरू, जस्तै: मोनिटर, प्रोजेक्टर, स्पिकर, प्रिन्टर आदि।
  4. भण्डारण उपकरण (Storage Device): तथ्याङ्क वा सूचनालाई लामो समयसम्म सुरक्षित राखी आवश्यक परेको बेला पुनः प्रयोग गर्न मिल्ने बनाउने उपकरणहरू, जस्तै: सीडी, डीभीडी, हार्डडिस्क, पेनड्राइभ, मेमोरी कार्ड आदि।

(ङ) ‘कम्प्युटरको प्रयोग आज विश्वव्यापी भएको छ।’ यस भनाइलाई पुष्टि गर्नुहोस्।

उत्तर: कम्प्युटर एक विद्युतीय यन्त्र हो, जसले निर्देशनअनुसार तथ्याङ्क (Data) लाई गणना (Calculation), प्रशोधन (Processing) तथा भण्डारण (Storing) गर्दछ। आजको वैज्ञानिक युगमा जीवनका हरेक क्षेत्रमा कम्प्युटरको प्रयोग भइरहेको छ।

आज मानव जीवनका लागि कम्प्युटर वरदान साबित भएको छ। यसले गणितीय समस्यादेखि लिएर जटिलभन्दा जटिल कामहरू छिटो र सजिलो बनाएको छ। शिक्षादेखि अन्तरिक्षसम्मको यात्रालाई सहज बनाएको छ। विभिन्न खोज र अनुसन्धानलाई सरल बनाउन सहयोग गरेको छ। आज दूरसञ्चार, हुलाक, वायुसेवा, अस्पताल, शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार आदि क्षेत्रमा यसको प्रयोग अपरिहार्य बन्दै गएको छ।

प्रभावकारी ढङ्गले दस्तावेज लेखन, सम्पादन वा भण्डारण गर्न, छिटोभन्दा छिटो कुनै कुराको परीक्षण गर्न, शिक्षण सिकाइ, खोज, अनुसन्धान जस्ता कार्यमा यसको सहज प्रयोग र उपलब्धताका कारण मानव जीवनका हरेक कार्य र क्षेत्रमा सहयोग पुगेको छ। यसबाहेक, आर्टिफिसियल इन्टेलिजेन्स (Artificial Intelligence) को प्रयोगले आफैँ काम गर्न सक्ने, प्राकृतिक भाषा बुझ्ने, परिस्थितिअनुसार निर्णय गर्ने, मानिसको पहिचान गर्नेजस्ता क्षमता भएका कम्प्युटरहरूको पनि विकास भइसकेको छ। अतः कम्प्युटरको प्रयोग आज विश्वव्यापी भएको छ र मानव जीवनका हरेक क्षेत्रमा उपयोगी सिद्ध भएको छ।

(च) Microsoft Word मा के-के काम गर्न सकिन्छ, उदाहरणसहित लेख्नुहोस्।

उत्तर: माइक्रोसफ्ट वर्ड एक सर्वव्यापी र सबैभन्दा लोकप्रिय एप्लिकेसन प्रोग्राम हो। यसमा देहायबमोजिमका कामहरू गर्न सकिन्छ:

  • कागजातहरूको प्रशोधन गर्न सकिन्छ।
  • कागजातलाई सुरक्षित रूपमा भविष्यको प्रयोजनका लागि सञ्चय गर्न सकिन्छ।
  • कागजातलाई चाहेको समयमा प्रिन्ट गर्न सकिन्छ।
  • अक्षर, अङ्क, सङ्केत, चित्र तथा ग्राफिक्सलाई प्रविष्ट गर्न सकिन्छ।
  • टेबल बनाउन सकिन्छ।
  • मेल मर्ज (Mail Merge) सुविधाले एकै पटक धेरैलाई पत्रहरू बनाउन सकिन्छ।
  • कागजको साइज, मार्जिन र बुट्टाहरू मिलाई आकर्षक बनाउन सकिन्छ।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top