Class 12 Social Unit 7-Chapter 2 | लैङ्गिक सवाल (Laingik Sawal) – सामजिक पहिचान र विविधता
Class 12 Social Notes on Laingik Sawal (Gender Issues)

एकाइ ७: सामजिक पहिचान र विविधता (Samajik Pahichan ra Bibidhata)

पाठ २: लैङ्गिक सवाल (Laingik Sawal)

यस पाठमा हामी लैङ्गिक सवाल (Laingik Sawal) अन्तर्गत लिङ्ग र लैङ्गिकताको अवधारणा, तिनीहरू बीचको भिन्नता, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पहिचान, र महिला अधिकारसम्बन्धी महत्त्वपूर्ण सवालहरूबारे विस्तृत रूपमा अध्ययन गर्नेछौँ। समाजमा लैङ्गिक समानता कायम गर्न यी विषयहरूको बुझाइ अपरिहार्य छ।

तलका प्रश्नका उत्तर दिनुहोस्:

(क) लिङ्ग भनेको के हो?

उत्तर: लिङ्गको अवधारणालाई दुई दृष्टिकोणबाट हेरिन्छ: प्राकृतिक लिङ्ग र सामाजिक लिङ्ग। अङ्ग्रेजीमा प्राकृतिक लिङ्गलाई Sex र सामाजिक लिङ्गलाई Gender भनिन्छ। महिला र पुरुषबीच प्रकृतिले निर्धारण गरेको जैविक भिन्नता प्राकृतिक लिङ्ग (Sex) हो भने समाज, संस्कृति र परम्पराले सिर्जना गरेको व्यवहारिक भेद लैङ्गिकता (Gender) हो।

(ख) प्राकृतिक लिङ्ग र सामाजिक लिङ्गबिचको भिन्नता उल्लेख गर्नुहोस्।

उत्तर: प्राकृतिक लिङ्ग र सामाजिक लिङ्गबिचका प्रमुख भिन्नताहरू निम्न छन्:

प्राकृतिक लिङ्ग (Sex): मानिस जन्मिनेबित्तिकै शारीरिक बनावट, यौनाङ्ग र जैविक विशेषताका आधारमा छोरा वा छोरी भनेर छुट्याइन्छ। यो प्राकृतिक र जैविक रूपमा निर्धारित हुन्छ र विश्वव्यापी रूपमा समान रहन्छ।

सामाजिक लिङ्ग (Gender): मानिसको जन्मपछि समाज र संस्कृतिले महिला र पुरुषका लागि फरक-फरक भूमिका, जिम्मेवारी, अवसर र सुविधाहरू निर्धारण गरेको हुन्छ। “छोराले यो गर्ने, छोरीले त्यो गर्ने” भनेर सिकाइने सामाजिक मान्यता नै लैङ्गिकता हो। यो समाजले निर्माण गर्ने हुनाले समय, स्थान र संस्कृतिअनुसार फरक हुन सक्छ। यसलाई बाल्यकालदेखि नै परिवार र समाजले सिकाउँदै लैजान्छ।

(ग) बेइजिङ घोषणापत्रमा उल्लेखित महिला सरोकारका क्षेत्र उल्लेख गर्नुहोस्।

उत्तर: सन् १९९५ को बेइजिङ घोषणापत्रले निर्धारण गरेका महिला सरोकारका १२ प्रमुख क्षेत्रहरू यसप्रकार छन्:

  • महिला र गरिबी
  • महिलाको शिक्षा र तालिम
  • महिला र स्वास्थ्य
  • महिलामाथिको हिंसा
  • महिला र सशस्त्र सङ्घर्ष
  • महिला र अर्थतन्त्र
  • शक्ति र निर्णय प्रक्रियामा महिला
  • महिलाको उन्नतिका लागि संस्थागत संयन्त्र
  • महिलाको मानव अधिकार
  • महिला र सञ्चार माध्यम
  • महिला र वातावरण
  • बालिका

(घ) यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पहिचानका सवालहरुको चर्चा गर्नुहोस्।

उत्तर: पुरुष वा महिलाको परम्परागत पहिचानभन्दा फरक पहिचान राख्ने व्यक्तिहरूलाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (Sexual and Gender Minorities) भनिन्छ। यस समूहलाई अङ्ग्रेजीमा LGBTIQ+ (Lesbian, Gay, Bisexual, Transgender, Intersex, Queer/Questioning) भनेर चिनिन्छ।

यस समूहभित्र विभिन्न पहिचानका व्यक्तिहरू पर्छन्। जस्तै, तेस्रोलिङ्गी (Transgender/Intersex) व्यक्तिहरू जैविक रूपमा महिला वा पुरुषभन्दा फरक हुन्छन्। कसैको शारीरिक लिङ्ग स्पष्ट नहुन सक्छ भने कसैमा दुवै लिङ्गको यौनाङ्ग हुन सक्छ। शारीरिक रूपमा महिला भएर मानसिक रूपमा पुरुष महसुस गर्ने वा शारीरिक रूपमा पुरुष भएर मानसिक रूपमा महिला महसुस गर्ने व्यक्तिहरू पनि यसैमा पर्छन्।

त्यस्तै, समलिङ्गी (Homosexual) व्यक्तिहरू (गे, लेस्बियन) समान लिङ्गप्रति आकर्षित हुन्छन् भने बाइसेक्सुअल (Bisexual) व्यक्तिहरू महिला र पुरुष दुवैप्रति आकर्षित हुन्छन्। पछिल्लो समयमा हाम्रो समाजमा यौनिक अल्पसङ्ख्यकहरूलाई हेर्ने दृष्टिकोणमा सुधार आएको छ। उनीहरूलाई सम्मानित जीवन जिउन दिनु र उनीहरूको पहिचानलाई स्वीकार्नु सबैको दायित्व हो।

(ङ) नेपालमा महिलाहरू पछाडि पर्नुको कारण लैङ्गिक विभेद हो। यस भनाइप्रति आफ्ना तर्कहरू प्रस्तुत गर्नुहोस्।

उत्तर: “नेपालमा महिलाहरू पछाडि पर्नुको मुख्य कारण लैङ्गिक विभेद हो” भन्ने भनाइ पूर्ण रूपमा सत्य छ। यसका पछाडि निम्न तर्कहरू प्रस्तुत गर्न सकिन्छ:

समाजले जन्मदेखि नै छोरा र छोरीबीच फरक व्यवहार गर्छ। छोरालाई शिक्षा, स्वास्थ्य र अवसरमा प्राथमिकता दिइन्छ भने छोरीलाई घरायसी काममा सीमित गरिन्छ। “छोरीले अर्काको घर जाने जात हो, पढाएर के गर्नु?” भन्ने जस्ता रूढिवादी सोच आज पनि समाजमा विद्यमान छ।

सामाजिक, आर्थिक, राजनीतिक र प्राविधिक क्षेत्रमा महिलाको क्षमतामाथि शङ्का गरिन्छ र उनीहरूलाई पुरुषसरह अवसर प्रदान गरिँदैन। महिलालाई घरायसी काम र बच्चा हुर्काउने जिम्मेवारीमा सीमित गर्दा उनीहरू सार्वजनिक जीवनमा सक्रिय हुनबाट वञ्चित हुन्छन्। यही सामाजिक तथा सांस्कृतिक विभेद नै महिलाहरू हरेक क्षेत्रमा पछाडि पर्नुको प्रमुख कारण हो।

(च) जैविक र सामाजिक लिङ्गका भूमिकाहरू तालिकामा देखाउनुहोस्।

उत्तर: जैविक (प्राकृतिक) र सामाजिक लिङ्गका भूमिकाहरूलाई निम्न तालिकामा देखाइएको छ:

प्राकृतिक लिङ्ग (Sex) सामाजिक लिङ्ग (Gender)
यो जैविक र शारीरिक संरचनामा आधारित हुन्छ। यो सामाजिक र सांस्कृतिक मान्यतामा आधारित हुन्छ।
यसका भूमिकाहरू अपरिवर्तनीय हुन्छन् (जस्तै: महिलाले बच्चा जन्माउने)। यसका भूमिकाहरू समाज र समयअनुसार परिवर्तनशील हुन्छन्।
यो जन्मजात प्राप्त हुन्छ। यो समाजले सिकाउँछ र निर्माण गर्छ।
यो विश्वव्यापी रूपमा समान हुन्छ। यो संस्कृति र समुदायअनुसार फरक-फरक हुन्छ।

(छ) लैङ्गिक सवालका विषयमध्ये कुनै एक विषयमा अध्ययन गरी एक लेख तयार पार्नुहोस्।

लैङ्गिकता र दिगो विकास

सार्थक र दिगो विकासको अवधारणामा लैङ्गिकता एक परिपूरक विषय हो। विकास केवल आर्थिक सम्पन्नता मात्र होइन, यो एक बहुआयामिक प्रक्रिया हो जसमा सामाजिक गतिशीलता, मानवीय सक्षमता, सकारात्मक सोच र राजनीतिक सचेतना समावेश हुन्छ। विकासलाई दिगो, न्यायोचित र सन्तुलित बनाउन लैङ्गिक मूल प्रवाहीकरण (Gender Mainstreaming) अनिवार्य हुन्छ।

लैङ्गिकताले महिला र पुरुषको समान भूमिका, स्रोतमा समान पहुँच, र निर्णय प्रक्रियामा समान सहभागिताको वकालत गर्छ। नेपालको संविधानले पनि प्रस्तावनामै लैङ्गिक विभेदको अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ। शान्ति, समृद्धि र सुशासनको लक्ष्य हासिल गर्न आर्थिक, सामाजिक, र राजनीतिक गतिविधिहरूलाई लैङ्गिक दृष्टिकोणबाट विश्लेषण गर्नु आवश्यक छ।

नेपालमा लैङ्गिक समानताका लागि प्रयासहरू भए तापनि अशिक्षा, हानिकारक सामाजिक अभ्यास, परम्परागत मूल्य-मान्यता, र घरेलु हिंसा जस्ता चुनौतीहरू कायमै छन्। यी समस्या समाधान गर्न तीनै तहका सरकारले लैङ्गिक रूपमा संवेदनशील नीति, कानुन र लैङ्गिक उत्तरदायी बजेट (Gender-Responsive Budget) मार्फत लैङ्गिक विकासलाई संस्थागत गर्नुपर्छ। लैङ्गिक हिंसाको अन्त्य गर्न निरोधात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक पद्धतिहरू अपनाउनु आजको आवश्यकता हो।

यो पनि पढ्नुहोस्

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top