class 11 Social Unit 4-Chapter 2 | मानव समाजको विकासक्रम (Manav Samajko Bikaskram)-मानव तथा समाजको उद्भव र विकास
An overview of Manav Samajko Bikaskram (The Evolution of Human Society) notes for NEB class 11 Social Studies

एकाइ ४: मानव तथा समाजको उद्भव र विकास

पाठ २: मानव समाजको विकासक्रम

यस पाठमा हामीले मानव समाजको विकासक्रम (Manav Samajko Bikaskram) का विभिन्न चरणहरू र त्यसक्रममा भएका सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तनहरूबारे अध्ययन गर्नेछौँ। विभिन्न विद्वानहरूले समाजको विकासलाई कसरी व्याख्या गरेका छन् र नवपाषाण युग (Neolithic Period) जस्ता महत्वपूर्ण कालखण्डले मानव सभ्यतालाई कसरी नयाँ मोड दियो भन्ने विषयमा विस्तृत जानकारी प्राप्त गर्नेछौँ।

Manav Samajko Bikaskram

१. कार्ल मार्क्स, ई. बी. टाइलर र एल. एच. मोर्गनका समाजका विकासका चरणहरू उल्लेख गर्नुहोस्।

उत्तर: कार्ल मार्क्स (Karl Marx) ले अहिलेसम्मको समाजको विकास निम्नानुसारका चरणहरू पार गर्दै भएको हो भनी व्याख्या गरेका छन्:

  • आदिम साम्यवाद: साझा स्वामित्वमा आधारित प्रारम्भिक मानव समाज।
  • दासप्रथा: मालिक र दास वर्गमा विभाजित समाज।
  • सामन्तवादी समाज: जमिनदार र किसान वर्गमा आधारित समाज।
  • पुँजीवादी समाज: पुँजीपति र मजदुर वर्गमा आधारित समाज।

यसै गरी मानवशास्त्रीहरू ई. बी. टाइलर (E.B. Tylor)एल. एच. मोर्गन (L.H. Morgan) का अनुसार समाजको विकास निम्नलिखित तीन चरणमा भएको मानिन्छ:

  • ढुङ्गे युग (आरम्भिक चरण): ढुङ्गाका औजार प्रयोग हुने प्रारम्भिक अवस्था।
  • बर्बर युग (मध्यकालीन चरण): पशुपालन र कृषिको सुरुवात भएको अवस्था।
  • सभ्य युग (आधुनिक चरण): लेखनकला, राज्य र सहरीकरणको विकास भएको अवस्था।

२. तपाईं बस्ने समाज समाज विकासका कुन चरणसँग मिल्दोजुल्दो छ, आफ्नो तर्क लेख्नुहोस्।

उत्तर: म बस्ने समाज, ई. बी. टाइलर र एल. एच. मोर्गनको समाज विकासको दृष्टिकोणबाट सभ्य युग अर्थात् आधुनिक चरणसँग मिल्दोजुल्दो छ र कार्ल मार्क्सको समाज विकासको दृष्टिकोणबाट पुँजीवादी समाजसँग मिल्दोजुल्दो छ।

माथिका चरणहरू र वर्तमान विश्व परिवेशबिच यसप्रकारका समानता रहेका छन्:

  • मानिस, समाज र संस्कृतिको उच्चतम विकास भएको छ।
  • वैज्ञानिक आविष्कार, भाषा, साहित्य, सङ्गीत, कला, सामाजिक संस्थाको विकास भएको छ।
  • उद्योग, व्यापार, सूचना प्रविधिमा विकास, आधुनिक कृषि प्रणालीको विकास भएको छ।
  • निजी सम्पत्तिको महत्व, प्रतिस्पर्धा मार्फत बढीभन्दा बढी मुनाफा कमाउने प्रयास जस्ता पुँजीवादी चरित्र आदि।

३. नवपाषाण युगको सामाजिक सांस्कृतिक विशेषताहरू उल्लेख गर्नुहोस्।

उत्तर: आजभन्दा करिब ९ हजार वर्ष अगाडिबाट सुरु भएको नवपाषाण युग (Neolithic Period) लाई सांस्कृतिक परिवर्तनका आधारमा क्रान्तिकारी युगसमेत भन्ने गरिन्छ। यो ढुङ्गे युगको तेस्रो युग हो। यस युगका सामाजिक सांस्कृतिक विशेषताहरू निम्नलिखित छन्:

  • घुमन्ते जीवनशैलीको सट्टा स्थायी बसोबास सुरु गर्ने क्रममा कृषि र पशुपालनलाई अँगालिएको थियो।
  • खेतीपाती र पशुपालनको व्यापक विकाससँगै कपडा लगाउने बानीको विकास भयो।
  • स्थायी बसोबास तथा खेतीपाती गर्नका लागि जमिन ओगट्ने क्रम बढ्दै जाँदा व्यक्तिगत सम्पत्तिलाई अधिक महत्त्व दिन थालियो, जसले गर्दा समाजमा असमानताको समेत विकास हुन थाल्यो।
  • समाजमा धर्मकर्म संस्थागत हुँदै गए भने राजनीतिक चेतनाको विकाससँगै साना राज्य र रजौटाहरूले शासन गर्ने पद्धतिसमेत सुरु हुँदै गयो।
  • यस युगको चरम विकास हुने क्रममा धातुको आविष्कार भई यसलाई ढुङ्गाको सट्टा औजार बनाउने काममा प्रयोग गर्न थालियो।

४. नवपाषाण युग (Neolithic Period) लाई क्रान्तिकारी युग भनिन्छ। आफ्नो तर्कसहित पुष्टि गर्नुहोस्।

उत्तर: आजभन्दा करिब ९ हजार वर्ष अगाडिबाट सुरु भएको नवपाषाण युग (Neolithic Period) लाई सांस्कृतिक परिवर्तनका आधारमा क्रान्तिकारी युगसमेत भन्ने गरिन्छ। ढुङ्गे औजारमा आएको व्यापक परिवर्तनसँगै कृषिको विकासलाई सबैभन्दा क्रान्तिकारी परिवर्तनका रूपमा पुरातत्वविद्हरू व्याख्या गर्दछन्।

यसै कालखण्डबाट मानिसले घुमन्ते, सिकारी जीवनशैलीको सट्टा स्थायी बसोबास सुरु गर्ने क्रममा कृषि र पशुपालनलाई अँगालेका कुरा पुरातात्विक खोजहरूले देखाएका छन्। खेतीपाती र पशुपालनको व्यापक विकाससँगै नवपाषाण युगको समाजले अनेकौँ सामाजिक र सांस्कृतिक परिवर्तनहरू साक्षात्कार गर्यो। कपडा लगाउने, स्थायी बसोबास गर्ने, व्यक्तिगत सम्पत्ति राख्ने जस्ता अभ्यास सुरु भए। यसले समाजमा असमानता पनि बढायो। धर्मकर्म संस्थागत हुन थाले, राजनीतिक चेतना बढ्यो र शासन प्रणालीको विकास भयो। अन्ततः धातुको आविष्कारले ढुङ्गाको औजारलाई विस्थापित गर्यो। अतः यसप्रकार नवपाषाण युगले सामाजिक सांस्कृतिक विकासको चरम रूपमा लिँदा धातु युग हुँदै सभ्यता (Civilization) को विकासका लागि बलियो जग खडा गर्यो, त्यसैले यसलाई क्रान्तिकारी युग भनिन्छ।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top