कक्षा १० विज्ञान: मौरी ( Honey Bee ) को सम्पूर्ण अभ्यास
कक्षा १० विज्ञान: मौरी ( Honey Bee )

मौरी ( Honey Bee )

कक्षा १० विज्ञान: मौरी ( Honey Bee ) को सम्पूर्ण अभ्यास

बहुविकल्पीय प्रश्नहरू

१. सही उत्तर छान्नुहोस्:
(क) कुन मौरी पार्थेनोजेनेसिस विधिबाट जन्मन्छ?
(अ) रानी मौरी
(आ) कर्मी मौरी
(इ) भाले मौरी
(ई) रानी मौरी र कर्मी मौरी
सही उत्तर: (इ) भाले मौरी
स्पष्टीकरण: भाले मौरी गर्भाधान नभएका (अनिषेचित) फुलहरूबाट विकास हुन्छ। यो विशेष प्रक्रियालाई पार्थेनोजेनेसिस भनिन्छ।
(ख) मौरीको लार्भालाई रोयल जेल्ली मात्र खान दिँदा कुन चाहिँ मौरी बन्छ?
(अ) रानी मौरी
(आ) भाले मौरी
(इ) कर्मी मौरी
(ई) रानी मौरी र कर्मी मौरी
सही उत्तर: (अ) रानी मौरी
स्पष्टीकरण: जुन लार्भालाई उसको लार्भा अवस्थाको पूरै अवधिभरि पोषणयुक्त खाना ‘रोयल जेल्ली’ मात्र खुवाइन्छ, त्यो लार्भा रानी मौरीको रूपमा विकसित हुन्छ।
(ग) दिएको चित्रमा मौरीको कुन अवस्था देखाइएको छ?
(अ) फुल
(आ) लार्भा
(इ) प्युपा
(ई) वयस्क
सही उत्तर: (आ) लार्भा
स्पष्टीकरण: चित्रमा देखाइएको किराको विकासको चरण फुलपछि र प्युपाअघिको अवस्था हो, जुन सेतो र खुट्टारहित हुन्छ। यो लार्भा अवस्था हो।
(घ) कर्मीमौरीको खुट्टामा रहेको पोलेनबास्केट कुनै कारणवस चुँडिएमा उसको कुन कार्य गर्ने क्षमता घट्छ?
(अ) फूलको रस जम्मा गर्ने
(आ) ब्रुड कोष निर्माण गर्ने
(इ) लार्भालाई रायल जेली खुवाउने
(ई) फूलको परागकण जम्मा गर्ने
सही उत्तर: (ई) फूलको परागकण जम्मा गर्ने
स्पष्टीकरण: कर्मी मौरीले आफ्नो खुट्टामा रहेको ‘पोलेन बास्केट’ नामक थैलीमा फूलको परागकण जम्मा गरेर घारमा ल्याउँछ। यो भाग चुँडिँदा परागकण संकलन गर्ने क्षमतामा कमी आउँछ।
(ङ) तलका मध्ये कुन चाँहि कर्मी मौरीको विशेषता हो?
(अ) ह्याप्लोइड, मझौलाकार, झुसिलो
(आ) ह्याप्लोइड, फर्टाइल, झुसिलो
(इ) डिप्लोइड, स्टेराइल, मझौलाकार
(ई) डिप्लोइड, स्टेराइल, झुसिलो
सही उत्तर: (ई) डिप्लोइड, स्टेराइल, झुसिलो
स्पष्टीकरण: कर्मी मौरी निशेचित फुलबाट बन्ने हुनाले डिप्लोइड (Diploid) हुन्छ, तर यिनीहरूको प्रजनन अंग विकसित नहुने भएकाले स्टेराइल (Sterile/बाँझो) हुन्छन्। साथै, यिनीहरूको खुट्टा झुसिलो रौँले ढाकिएको हुन्छ।
(च) रानी मौरीले शुक्रकीटहरू जम्मा गरेर राख्ने भागलाई के भनिन्छ?
(अ) पोलेन स्याक
(आ) ओभरी
(इ) स्पर्म स्याक
(ई) एग स्याक
सही उत्तर: (इ) स्पर्म स्याक
स्पष्टीकरण: रानी मौरीले ‘नप्चल फ्लाइट’ को समयमा भाले मौरीबाट प्राप्त शुक्रकीटलाई स्पर्म स्याक (Sperm Sac) वा स्पर्माथेकी (Spermatheca) मा आफ्नो जीवनकालभरिको लागि जम्मा गरेर राख्छे।
थप बहुवैकल्पिक प्रश्नहरू (Additional MCQs)
१. भाले मौरीमा कतिवटा क्रोमोजोम हुन्छन्?
(अ) १६
(आ) ३२
(इ) २४
(ई) २०
सही उत्तर: (अ) १६
स्पष्टीकरण: भाले मौरी अनिषेचित फुलबाट बन्ने हुनाले ह्याप्लोइड (Haploid) हुन्छ र यिनीहरूमा १६ ओटा मात्र क्रोमोजोम हुन्छन्, जबकि रानी र कर्मी मौरी डिप्लोइड (Diploid) हुने भएकाले ३२ वटा क्रोमोजोम हुन्छन्।
२. रोयल जेली कहाँबाट उत्पादन हुन्छ?
(अ) रानी मौरीको शिर ग्रन्थिबाट
(आ) भाले मौरीको शिर ग्रन्थिबाट
(इ) कर्मी मौरीको शिर ग्रन्थिबाट
(ई) सबै मौरीको पेटबाट
सही उत्तर: (इ) कर्मी मौरीको शिर ग्रन्थिबाट
स्पष्टीकरण: लगभग ७ देखि ११ दिनको उमेरका कलिला कर्मी मौरीहरूको टाउकोमा रहेको शिर ग्रन्थी (Head Gland) बाट रोयल जेली उत्पादन हुन्छ।
३. व्यावसायिक उद्देश्यले मौरी पालन गर्नुलाई के भनिन्छ?
(अ) सेरिकल्चर
(आ) एपिकल्चर
(इ) हर्टिकल्चर
(ई) एपिओलोजी
सही उत्तर: (आ) एपिकल्चर
स्पष्टीकरण: मह, मैन र अन्य उत्पादनको लागि व्यावसायिक रूपमा मौरी पालन गर्ने कार्यलाई एपिकल्चर (Apiculture) भनिन्छ।
४. तलका मध्ये कुन चाँहि भाले मौरीको विशेषता हो?
(अ) डिप्लोइड, स्टेराइल, सानो आकार
(आ) ह्याप्लोइड, फर्टाइल, मझौलाकार, झुसिलो
(इ) डिप्लोइड, फर्टाइल, ठुलो आकार
(ई) ह्याप्लोइड, स्टेराइल, सानो आकार
सही उत्तर: (आ) ह्याप्लोइड, फर्टाइल, मझौलाकार, झुसिलो
स्पष्टीकरण: भाले मौरी ह्याप्लोइड (Haploid) हुन्छ, गर्भाधान गराउन सक्षम (Fertile) हुन्छ, कर्मीभन्दा ठुलो तर रानीभन्दा सानो (मझौलाकार) हुन्छ, र शरीर झुसिलो हुन्छ।
५. रानी मौरीले उपयुक्त समयमा प्रतिदिन कतिवटासम्म फुल पार्न सक्छ?
(अ) ३००
(आ) १०००
(इ) ३०००
(ई) ५०००
सही उत्तर: (इ) ३०००
स्पष्टीकरण: अनुकूल वातावरण र प्रशस्त आहारा भएको समयमा एउटी स्वस्थ रानी मौरीले एक दिनमा लगभग ३००० वटासम्म फुल पार्न सक्छे।

भिन्नता छुट्याउनुहोस्

२. भिन्नता छुट्याउनुहोस्:
(क) रानी मौरी र कर्मी मौरी
रानी मौरी कर्मी मौरी
१. यो घारको सबैभन्दा ठुलो मौरी हो। १. यो घारको सबैभन्दा सानो मौरी हो।
२. एउटा घारमा एउटा मात्र रानी मौरी हुन्छ। २. एउटा घारमा हजारौँको सङ्ख्यामा कर्मी मौरी हुन्छन्।
३. यसको मुख्य काम फुल पार्नु र गोलाको नेतृत्व गर्नु हो। ३. यसको मुख्य काम घार बनाउने, मह र पराग संकलन गर्ने, लार्भाको हेरचाह गर्ने र घारको सुरक्षा गर्ने हो।
४. यसले लार्भा अवस्थाभरि रोयल जेली मात्र खान्छ। ४. यसले लार्भा अवस्थामा सुरुको ३ दिन रोयल जेली र त्यसपछि मह र कुट (मधुरोटी) खान्छ।
५. यसको आयु लगभग २ देखि ५ वर्षसम्म हुन्छ। ५. यसको आयु लगभग ६ हप्तादेखि ६ महिनासम्म हुन्छ।
(ख) भाले मौरी र कर्मी मौरी
भाले मौरी कर्मी मौरी
१. यो आकारमा कर्मी मौरीभन्दा ठुलो र रानीभन्दा सानो हुन्छ। १. यो घारको सबैभन्दा सानो आकारको मौरी हो।
२. यो अनिषेचित फुलबाट (पार्थेनोजेनेसिस) बन्छ र ह्याप्लोइड (१६ क्रोमोजोम) हुन्छ। २. यो निशेचित फुलबाट बन्छ र डिप्लोइड (३२ क्रोमोजोम) हुन्छ।
३. यसको एकमात्र काम रानी मौरीलाई गर्भाधान गराउनु हो। ३. यसले घार बनाउने, मह जम्मा गर्ने, लार्भाको हेरचाह गर्ने, र शत्रुसँग लड्ने जस्ता विभिन्न काम गर्छ।
४. यसमा विष ग्रन्थी, मह ग्रन्थी र पराग थैली हुँदैन। ४. यसमा विष ग्रन्थी, मह ग्रन्थी र पराग थैली हुन्छ।
५. यो अल्छी हुन्छ र यसलाई कर्मी मौरीले खुवाउनुपर्छ। ५. यो असाध्यै मिहिनेती हुन्छ।
(ग) रानी मौरी र भाले मौरी
रानी मौरी भाले मौरी
१. यो घारको सबैभन्दा ठुलो आकारको मौरी हो। १. यो मझौला आकारको र झुसिलो हुन्छ।
२. यो निशेचित फुलबाट बन्छ र डिप्लोइड (३२ क्रोमोजोम) हुन्छ। २. यो अनिसेचित फुलबाट बन्छ र ह्याप्लोइड (१६ क्रोमोजोम) हुन्छ।
३. यसको मुख्य काम फुल पार्नु र घारको सञ्चालन गर्नु हो। ३. यसको मुख्य काम रानी मौरीलाई गर्भाधान गराउनु हो।
४. यसको आयु लगभग २ देखि ५ वर्षसम्म हुन्छ। ४. यसको आयु लगभग २ महिना मात्र हुन्छ।

कारण दिनुहोस्

३. कारण दिनुहोस्:
(क) मौरी पालन क्षेत्रमा तोरीको उब्जनी बढ्छ, किन?

मौरीले आफ्नो आहाराको लागि फूलको रस चुस्ने क्रममा एउटा फूलबाट अर्को फूलमा परागकणहरू सार्दछ, जसले गर्दा बोटबिरुवामा परपरागसेचन प्रक्रिया प्रभावकारी हुन्छ। मौरीपालन गरिएको क्षेत्रमा तोरीका फूलहरूमा पनि यही प्रक्रियाले गर्दा परागसेचन राम्रोसँग हुन पाउँछ, जसले गर्दा तोरीको दाना धेरै फल्छ र उब्जनी बढ्छ।

(ख) मौरी पालन बहुआयामिक व्यवसाय हो, किन?
  • मह उत्पादन: यसबाट पौष्टिक र औषधीय गुण भएको मह उत्पादन हुन्छ।
  • मैन उत्पादन: मौरीको चाकाबाट मैनबत्ती, क्रिम, लिपिस्टिक जस्ता सामग्री बनाउन प्रयोग हुने मैन उत्पादन हुन्छ।
  • कृषि उत्पादनमा वृद्धि: मौरीले परागसेचनमा मद्दत गरी फलफूल तथा बालीनालीको उत्पादन बढाउँछ।
  • आयआर्जन: किसानहरूले मह र मैन बेचेर आफ्नो आम्दानी बढाउन सक्छन्, जसले देशको आर्थिक विकासमा पनि टेवा पुऱ्याउँछ।
(ग) भाले मौरी मेटिङपछि मर्छ, किन?

भाले मौरीले रानी मौरीसँग समागम गरेपछि यसको प्रजनन अङ्ग र पेटका केही तन्तुहरू नराम्रोसँग च्यातिन्छन्, जसका कारण समागम पश्चात् भाले मौरीको मृत्यु हुन्छ।

(घ) एउटा वयस्क रानी मौरी साँझपख बाहिर उड्छ, किन?

एउटा वयस्क रानी मौरी भाले मौरीहरूसँग समागम गर्नको लागि साँझपख बाहिर उड्छ। यो उडानलाई ‘नप्चल फ्लाइट’ वा ‘मेटिङ फ्लाइट’ भनिन्छ। यसै उडानको क्रममा उसले आफ्नो जीवनकालभरिलाई पुग्ने शुक्रकीटहरू भाले मौरीबाट संकलन गर्छे।

(ङ) मौरीलाई सामाजिक किरा भन्नुको कारण के हो?

मौरीलाई सामाजिक किरा भनिन्छ किनभने यिनीहरू ठुलो समूहमा बस्छन्, यिनीहरूमा उच्च समझदारी र कडा अनुशासन हुन्छ, र घारका सदस्यहरू (रानी, भाले, कर्मी) बिच स्पष्ट कार्य विभाजन गरिएको हुन्छ। यिनीहरू एकअर्काको सेवा र हेरचाह गर्दै संगठित रूपमा जीवनयापन गर्छन्।

दीर्घ उत्तरात्मक प्रश्नहरू

४. तलका प्रश्नहरूको उत्तर दिनुहोस्:
(क) मौरीको घारमा कति प्रकारका मौरी हुन्छन्? तिनीहरूको बनावटको व्याख्या गर्नुहोस्।

मौरीको घारमा तीन प्रकारका मौरी हुन्छन्: रानी मौरी, भाले मौरी र कर्मी मौरी।

  • रानी मौरी: यो घारको सबैभन्दा ठुलो, लाम्चो र सलक्क परेको मौरी हो। यसको टाउको अरूको भन्दा सानो र गोलो हुन्छ भने पेट ठुलो हुन्छ। पेटको अन्तिम भागमा खिल हुन्छ।
  • भाले मौरी: यो रानीभन्दा सानो तर कर्मीभन्दा ठुलो, कालो र झुसिलो हुन्छ। यसको शरीरमा मह बनाउने वा पराग जम्मा गर्ने अंगहरू हुँदैनन्।
  • कर्मी मौरी: यो घारको सबैभन्दा सानो मौरी हो। यसको मुख चपाउने र चाट्ने प्रकारको हुन्छ। खुट्टामा पराग जम्मा गर्ने ‘पोलेन बास्केट’ हुन्छ र पेटमा मह र मैन बनाउने ग्रन्थीहरू हुन्छन्।
(ख) रानी मौरीको घारमा रहेको सबैभन्दा अल्छी मौरीले के काम गर्छ?

रानी मौरीको घारमा रहेको सबैभन्दा अल्छी मौरी भाले मौरी हो। यसको एकमात्र मुख्य काम वयस्क रानी मौरीलाई गर्भाधान गराउनु हो। यसबाहेक यसले घारलाई न्यानो राख्न पनि केही हदसम्म मद्दत गर्छ।

(ग) यदि कुनै कारणवस रानी मौरीको मृत्यु भयो भने उक्त मौरीको घारको नियन्त्रण कसले गर्छ?

यदि कुनै कारणवस रानी मौरीको मृत्यु भयो भने, कर्मी मौरीहरूले घारको नियन्त्रण लिन्छन्। तिनीहरूले तुरुन्तै निशेचित फुलबाट आएका केही दिनका लार्भाहरूलाई लगातार रोयल जेली खुवाएर नयाँ रानी मौरीको विकास गर्न सुरु गर्छन्। नयाँ रानी तयार नहुन्जेलसम्म घारको सम्पूर्ण व्यवस्थापन कर्मी मौरीहरूले नै गर्छन्।

(घ) रानी मौरीले अरु मौरीलाई कसरी नियन्त्रण गर्छ?

रानी मौरीले आफ्नो शरीरबाट एक विशेष किसिमको गन्ध (सेक्स फेरोमोन) निकाल्छे। घारका अन्य सबै मौरीहरूले यही गन्ध ग्रहण गर्छन् र यसैको आधारमा आफ्नो घार पहिचान गर्छन् र एकताबद्ध भएर काम गर्छन्। यही फेरोमोनको सहायताले रानी मौरीले सम्पूर्ण घारलाई नियन्त्रण र सञ्चालन गर्छे।

(ङ) अप्रयुक्त फुलबाट भाले मौरी बन्ने प्रक्रियालाई के भनिन्छ?

अप्रयुक्त (अनिषेचित) फुलबाट भाले मौरी बन्ने प्रक्रियालाई पार्थेनोजेनेसिस (Parthenogenesis) भनिन्छ।

(च) रानी मौरीको शारीरिक बनावटको बारेमा वर्णन गर्नुहोस्। साथै यसको कार्य लेख्नुहोस्।

बनावट: रानी मौरी घारको सबैभन्दा ठुलो र लाम्चो आकारको मौरी हो। यसको टाउको अन्य मौरीको तुलनामा सानो र गोलो हुन्छ, तर पेटको भाग भने ठुलो र सलक्क परेको हुन्छ। यसको पेटको अन्तिम भागमा खिल (sting) पनि हुन्छ।

कार्य: रानी मौरीका मुख्य कार्यहरू निम्न छन्:

  1. फुल पार्नु: यसको प्रमुख काम घारको सङ्ख्या बढाउनका लागि नियमित रूपमा फुल पार्नु हो।
  2. घारको नियन्त्रण: आफ्नो शरीरबाट विशेष गन्ध (फेरोमोन) निकालेर घारका सम्पूर्ण सदस्यहरूलाई नियन्त्रण र सञ्चालन गर्नु।
(छ) मौरीहरूमा रहेको उच्च स्तरीय कार्य विभाजन वर्णन गर्नुहोस्।

मौरीको घारमा उमेर र वर्गअनुसार कामको स्पष्ट विभाजन गरिएको हुन्छ, जुन यस प्रकार छ:

  • रानी मौरी: जीवनभर फुल पार्ने र घारको नेतृत्व गर्ने।
  • भाले मौरी: जीवनभर रानीलाई गर्भाधान गराउने र घार न्यानो पार्ने।
  • कर्मी मौरी:
    • १-३ दिन: चाकामा टाँसिएर फुल, लार्भा र प्युपालाई न्यानो पार्ने र कोठा सफा गर्ने।
    • ४-६ दिन: ठुला लार्भाहरूलाई मह र कुट खुवाउने।
    • ७-११ दिन: शिर ग्रन्थीबाट रोयल जेली निकालेर रानी र साना लार्भालाई खुवाउने।
    • १२-१७ दिन: मैन ग्रन्थीबाट मैन निकालेर चाका बनाउने र कोठाहरू बन्द गर्ने।
    • १८-२० दिन: विष ग्रन्थी विकास हुने हुँदा घारको सुरक्षा गर्ने।
    • २१ दिनपछि: बाहिर गएर फूलको रस, परागकण र पानी संकलन गर्ने।
(ज) मौरीपालन र कृषि उत्पादनको सम्बन्ध व्याख्या गर्नुहोस्।

मौरीपालन र कृषि उत्पादनबिच गहिरो र सकारात्मक सम्बन्ध छ। मौरीले आफ्नो खाना (फूलको रस र पराग) को लागि फूलहरूमा भ्रमण गर्दा परागसेचन प्रक्रियामा ठुलो सहयोग पुऱ्याउँछ। यसले गर्दा फलफूल तथा बालीनालीको उत्पादन र गुणस्तरमा वृद्धि हुन्छ। उदाहरणका लागि, तोरी, स्याउ, सुन्तला, कफी जस्ता बालीहरूको उत्पादन बढाउन मौरीपालनले महत्त्वपूर्ण भूमिका खेल्छ। तसर्थ, मौरीपालनले कृषकहरूलाई मह र मैनबाट मात्र नभई बालीनालीको उत्पादन बढाएर पनि फाइदा दिन्छ।

(झ) एक जना कृषकले मौरी पालन गर्दा वरिपरिका कृषकहरूको पनि आयआर्जनमा वृद्धि हुन्छ। यस भनाइलाई आफ्ना तर्कसहित स्पष्ट पार्नुहोस?

यो भनाइ पूर्ण रूपमा सही छ। जब एक कृषकले मौरीपालन सुरु गर्छ, उसका मौरीहरूले आफ्नो आहाराको लागि वरपरका खेतबारीमा रहेका बालीनालीका फूलहरूमा भ्रमण गर्छन्। यो प्रक्रियामा मौरीले एक फूलको परागकण अर्को फूलमा सारिदिन्छ, जसलाई परपरागसेचन भनिन्छ। यो प्रक्रियाले वरपरका अन्य कृषकहरूको खेतमा लगाइएको बालीनाली (जस्तै: तोरी, सिमी, फापर, फलफूल) को उत्पादनमा वृद्धि हुन्छ। बालीको उत्पादन बढ्नु भनेको कृषकहरूको आयआर्जन पनि स्वतः वृद्धि हुनु हो। यसरी, एक जनाले गरेको मौरीपालनले समुदायका अन्य कृषकहरूलाई पनि अप्रत्यक्ष रूपमा फाइदा पुऱ्याइरहेको हुन्छ।

(ञ) मानव जीवनमा मौरीको महत्त्व उल्लेख गर्नुहोस्।

मानव जीवनमा मौरीको महत्त्व निम्न बुँदाहरूमा उल्लेख गर्न सकिन्छ:

  1. पौष्टिक आहारा: मौरीले उत्पादन गर्ने मह एक पौष्टिक र स्वादिष्ट खानेकुरा हो।
  2. औषधीय प्रयोग: महलाई विभिन्न आयुर्वेदिक औषधि बनाउन र घरेलु उपचारमा प्रयोग गरिन्छ।
  3. कृषिमा सहयोग: मौरीले परागसेचनमा मद्दत गरेर बालीनालीको उत्पादन बढाउँछ, जसले खाद्य सुरक्षामा योगदान दिन्छ।
  4. आर्थिक लाभ: मौरीपालन व्यवसायबाट मह र मैन बिक्री गरी आयआर्जन गर्न सकिन्छ।
  5. अन्य उत्पादन: मौरीको चाकाबाट निकालिने मैनबाट मैनबत्ती, शृंगारका सामान, क्रिम आदि बनाइन्छ।
  6. सामाजिक प्रेरणा: मौरीको अनुशासन, मिहिनेत र सामूहिक कार्यशैलीले मानिसलाई पनि सामाजिक व्यवहार सिक्न प्रेरणा दिन्छ।
(ट) मौरीको जीवनचक्र चित्रसहित व्याख्या गर्नुहोस्।

मौरीको जीवनचक्र पूर्ण मेटामर्फोसिस प्रक्रियाद्वारा पूरा हुन्छ, जसमा चार मुख्य अवस्थाहरू हुन्छन्: फुल, लार्भा, प्युपा र वयस्क।

  1. फुल (Egg):
    • रानी मौरीले चाकाको कोष्ठमा सेतो, लाम्चो आकारको फुल पार्छे।
    • यो अवस्था ३ दिनको हुन्छ। निशेचित फुलबाट रानी र कर्मी मौरी तथा अनिषेचित फुलबाट भाले मौरी बन्छन्।
  2. लार्भा (Larva):
    • ३ दिनपछि फुलबाट लार्भा निस्कन्छ। यो सेतो, खुट्टा नभएको किरा जस्तो देखिन्छ।
    • यो अवस्थामा लार्भाले धेरै खान्छ। सुरुका ३ दिन सबै लार्भालाई रोयल जेली खुवाइन्छ।
    • त्यसपछि रानी बन्ने लार्भालाई जीवनभर रोयल जेली मात्रै, र कर्मी तथा भाले बन्ने लार्भालाई मह र कुट (मधुरोटी) खुवाइन्छ।
    • यो अवस्था मौरीको प्रकार अनुसार लगभग ५.५ देखि ७ दिनको हुन्छ।
  3. प्युपा (Pupa):
    • लार्भा पूर्ण विकसित भएपछि प्युपा अवस्थामा प्रवेश गर्छ। यो अवस्थामा किरा निष्क्रिय रहन्छ र खाना खाँदैन।
    • यस अवस्थामा उसको शरीरभित्र खुट्टा, पखेटा, आँखा जस्ता अंगहरूको विकास हुन्छ।
    • यो अवस्था लगभग ७.५ देखि १४.५ दिनको हुन्छ।
  4. वयस्क (Adult):
    • प्युपा अवस्था पूरा भएपछि वयस्क मौरी कोठाबाट बाहिर निस्कन्छ।
    • बाहिर निस्केपछि आफ्नो वर्ग (रानी, भाले, वा कर्मी) अनुसारको काम गर्न थाल्छ।
    • फुलदेखि वयस्क बन्न रानीलाई करिब १६ दिन, कर्मीलाई २१ दिन र भालेलाई करिब २४ दिन लाग्छ।

(परीक्षामा चित्र बनाउँदा यी चार अवस्थाहरूलाई क्रमैसँग देखाउनुपर्छ।)

(ठ) दिएको चित्रमा कुन चाँहि मौरी रानी मौरी हो? कुन मौरीले मौरीको घारमा सबैभन्दा धेरै काम गर्छ?
  • चित्रमा, B रानी मौरी हो किनकि यो सबैभन्दा ठुलो र लाम्चो छ।
  • चित्रमा, A कर्मी मौरी हो। मौरीको घारमा सबैभन्दा धेरै काम कर्मी मौरी (A) ले गर्छ।
  • चित्रमा, C भाले मौरी हो।
Scroll to Top