Complete Guide to Rajaswa (राजस्व) | Class 10 Social Notes
An overview of Rajaswa (राजस्व) notes for SEE Class 10 Social Studies

एकाइ ८: आर्थिक क्रियाकलाप (Aarthik Kriyekalap)

पाठ ८: राजस्व (Rajaswa)

१. राजस्व (Rajaswa) भन्नाले के बुझिन्छ ? कर राजस्व र गैरकर राजस्वबीच फरक छुट्याउनुहोस् ।

उत्तर: राज्यले विभिन्न स्रोतबाट आम्दानी गर्छ। यसरी प्राप्त हुने आम्दानीलाई राजस्व (Rajaswa) भनिन्छ। यसलाई सार्वजनिक आय पनि भनिन्छ। कर राजस्वगैरकर राजस्व बीच निम्न लिखित फरक छ:

कर राजस्व

क) यो कानुनबमोजिम नागरिकले राज्यलाई भुक्तानी गर्नुपर्ने अनिवार्य रकम हो।

ख) आयकर, सवारी कर, भूमि कर, मूल्य अभिवृद्धि कर आदि यसका उदाहरण हुन्।

गैरकर राजस्व

क) यो कानुनले तोकेका बाहेकका अन्य स्रोतबाट प्राप्त हुने सरकारको आम्दानी गैरकर राजस्व हो।

ख) उपहार, अनुदान, शुल्क, दण्ड तथा जरिवाना, सार्वजनिक सम्पत्ति आदि यसका उदाहरण हुन्।

२. प्रत्यक्ष कर र अप्रत्यक्ष करका फाइदाहरूको सूची बनाउनुहोस्।

उत्तर: प्रत्यक्ष कर र अप्रत्यक्ष करका फाइदाहरू निम्न छन्:

  • राज्यको नियमित आम्दानी: यी करहरू राज्यको नियमित आम्दानीको स्रोतका रूपमा रहेका हुन्छन्।
  • लोककल्याणकारी कार्य: राज्यले करबाट प्राप्त रकम सार्वजनिक हित र लोककल्याणकारी कार्यका लागि खर्च गर्छ।
  • न्यायपूर्ण र फराकिलो दायरा: प्रत्यक्ष कर प्रगतिशील हुन्छ भने अप्रत्यक्ष करको दायरा फराकिलो हुने भएकाले कर छली गर्न सकिँदैन।
  • आत्मनिर्भरतामा सहयोग: मुलुकलाई आत्मनिर्भर बनाउन मद्दत गर्छ।
  • सामाजिक न्याय: धनीलाई कर र गरिबलाई राहतको नीतिबाट सामाजिक न्याय कायम गर्न सकिन्छ।
  • उत्पादनमा प्रोत्साहन: अति आवश्यक वस्तु तथा सेवाको उत्पादनलाई प्रोत्साहन गर्न मद्दत पुग्छ।

३. “कर तिर्नु नागरिकको मुख्य दायित्व हो ।” यस भनाइलाई उदाहरणसहित व्याख्या गर्नुहोस् ।

उत्तर: मुलुकको आर्थिक विकासका लागि करको महत्त्व र आवश्यकता रहेको छ। अधिकतम कर परिचालनबाट मात्र मुलुकलाई आत्मनिर्भर बनाउन सकिन्छ। राज्यले नागरिकबाट कर लिएन भने नागरिकलाई सेवा सुविधा प्रदान गर्न सक्दैन। त्यस्तै, विकासका पूर्वाधारको पनि निर्माण गर्न सक्दैन। कर प्रणाली प्रभावकारी भएको देश सक्षम अर्थतन्त्र भएको देश मानिन्छ। राज्यलाई सक्षम र आत्मनिर्भर बनाउने काम प्रत्येक नागरिकको हो। ‘राज्य जनताका लागि र जनता राज्यका लागि’ भन्ने कुरा सबैले बोध गर्नु आवश्यक छ। त्यस्तै, हामीले तिरेको कर हाम्रै समृद्धिका लागि हो भन्ने सबैले सोच्नु आवश्यक छ। तसर्थ, कर तिर्नु नागरिकको मुख्य दायित्व हो।

४. मूल्य अभिवृद्धि कर (Value Added Tax) को परिचय दिनुहोस्।

उत्तर: वस्तु तथा सेवाको उत्पादन तथा वितरणको विभिन्न तहमा हुने मूल्य अभिवृद्धिमा लगाइने करलाई मूल्य अभिवृद्धि कर (VAT) भनिन्छ। यो कर वस्तु तथा सेवाको मूल्यमा वृद्धि हुँदा बढेको मूल्यमा लाग्ने अप्रत्यक्ष कर हो। नेपालमा वि.सं. २०५४ बाट सुरु भएको मूल्य अभिवृद्धि कर हाल १३ प्रतिशत कायम गरिएको छ।

५. भन्सार महसुल भनेको के हो? नेपालको सन्दर्भमा यसको महत्त्व उल्लेख गर्नुहोस्।

उत्तर: विदेशबाट आयात गरिने मालवस्तु र विदेशमा निर्यात गरिने वस्तुहरूमा, अर्थात् आयात निर्यात गर्दा भन्सार बिन्दुमा कानुनबमोजिम लिइने करलाई भन्सार महसुल भनिन्छ। भन्सार महसुललाई राजस्वको महत्त्वपूर्ण स्रोत मानिन्छ। त्यसैले प्रत्येक देशहरूले आफ्ना सीमावर्ती क्षेत्रमा भन्सारका प्रशासनिक एकाइहरू स्थापना गरेका हुन्छन्। नेपालले पनि मुख्य नाकाहरूमा मुख्य भन्सार र अन्य स्थानमा छोटी भन्सार स्थापना गरेको छ। उक्त भन्सार कार्यालयबाट आयात तथा निर्यात गरिने वस्तुहरूमा कानुनबमोजिम कर लगाई सङ्कलन गरिन्छ। भन्सार विभागका अनुसार नेपालको राजस्व स्रोतमध्ये आधा भन्सारले समेट्छ। भन्सार महसुल, मूल्य अभिवृद्धि कर, र अन्य शुल्कहरू यसमा समेटिएको हुन्छ। आर्थिक वर्ष ०७७/७८ मा कुल राजस्वमा ४५ प्रतिशत र कर राजस्वमा ४८ प्रतिशत भन्सारको हिस्सा थियो। तसर्थ, नेपालको सन्दर्भमा भन्सार महसुलको ठूलो महत्त्व रहेको छ।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top