एकाइ ५: नागरिक चेतना (Ekai 5: Nagarik Chetana)
पाठ २: सङ्घीय कार्यपालिका (Sanghiya Karyapalika)
यस पाठमा पढ्नुहोस्
१. कार्यपालिका भनेको के हो? सङ्घीय कार्यपालिका (Sanghiya Karyapalika) बारे लेख्नुहोस्।
उत्तर: राज्यका तीन अङ्गमध्येको एक महत्त्वपूर्ण अङ्ग र कानून कार्यान्वयन गर्ने निकायलाई कार्यपालिका भनिन्छ। यसलाई सरकार वा मन्त्रिपरिषद्का रूपमा लिइन्छ। नेपालको कार्यकारी अधिकार मन्त्रिपरिषद्मा निहित रहेको हुन्छ। नेपालमा सङ्घीय कार्यपालिका (Sanghiya Karyapalika), प्रदेश कार्यपालिका र स्थानीय कार्यपालिका गरी तीन तहका कार्यपालिकाको व्यवस्था रहेको छ।
२. कार्यपालिकाको प्रशासनिक क्षेत्रमा कुन-कुन कार्यहरू गरिन्छ?
उत्तर: कार्यपालिकाको प्रशासनिक क्षेत्रमा निम्नलिखित कार्यहरू गरिन्छन्:
- व्यवस्थापिकाबाट स्वीकृत कानुनको कार्यान्वयन गराउने।
- शान्ति, सुव्यवस्था र स्थायित्व कायम गर्ने।
- राज्यसम्बन्धी नीति तयार पार्ने।
- प्रशासन सञ्चालन, नियन्त्रण र निर्देशन गर्ने।
- सुशासन कायम गर्ने।
३. प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी दिनुपर्ने मुख्य विषयहरू उल्लेख गर्नुहोस्।
उत्तर: प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी दिनुपर्ने मुख्य विषयहरू निम्न छन्:
- मन्त्रिपरिषद्का निर्णयहरू।
- सङ्घीय संसदमा पेश गरिने विधेयकहरू।
- माथि उल्लिखित विषयमा राष्ट्रपतिले जानकारी मागेको अन्य आवश्यक विवरण।
- नेपालको समसामयिक परिस्थिति र वैदेशिक सम्बन्धका विषयहरू।
- विदेशका राष्ट्र वा सरकारसँग गरिएका सन्धि, सम्झौता, र समझदारीहरू।
- नेपाल सरकारको आय-व्ययको वार्षिक विवरण (बजेट)।
- मुलुकको शान्ति सुरक्षा सम्बन्धी प्रमुख विषयहरू।
- नेपाल सरकारको प्रतिवर्षको नीति र कार्यक्रमलाई व्यवस्थापिका-संसदको सामनामा प्रस्तुत गर्ने।
- राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा गरिएका निर्णयका सम्बन्धमा बनेका विषयहरू।
४. सङ्घीय कार्यपालिका (Sanghiya Karyapalika) र प्रदेश कार्यपालिकाका बीच भिन्नता लेख्नुहोस्।
उत्तर: सङ्घीय कार्यपालिका (Sanghiya Karyapalika) र प्रदेश कार्यपालिकाबीच निम्न भिन्नताहरू रहेका छन्:
- सङ्घीय कार्यपालिकामा बहुमत प्राप्त संसदीय दलको नेता प्रधानमन्त्री हुन्छ भने प्रदेश कार्यपालिकामा बहुमत प्राप्त प्रदेश संसदीय दलको नेता मुख्यमन्त्री हुन्छ।
- सङ्घीय कार्यपालिकाको कार्यक्षेत्र नेपाल राज्यभर रहन्छ भने प्रदेश कार्यपालिकाको कार्यक्षेत्र आफ्नो प्रदेशभित्र मात्र सीमित रहेको हुन्छ।
- सङ्घीय कार्यपालिकाका कार्यहरू नेपाल सरकारका नामबाट हुन्छन् भने प्रदेश कार्यपालिकाका कार्यहरू सम्बन्धित प्रदेश सरकारका नामबाट हुन्छन्। जस्तै: मधेश प्रदेश सरकार, बाग्मती प्रदेश सरकार आदि।
- सङ्घीय कार्यपालिकाले प्रशासनिक कार्य, कूटनीतिक कार्य, आर्थिक कार्य, र सुरक्षासम्बन्धी कार्य गर्दछ भने प्रदेश कार्यपालिकाले मूलतः प्रदेशको प्रशासनिक कार्य, आर्थिक कार्य र प्रदेशको आन्तरिक शान्तिसुव्यवस्थाको कार्य गर्दछ।
५. यदि तपाईंलाई नेपालको प्रधानमन्त्री बन्ने अवसर मिलेको भए, तब देशमा सुशासन कायम गर्नका लागि के-के काम गर्नुहुन्थ्यो? बुँदागत रूपमा प्रस्तुत गर्नुहोस्।
उत्तर: म नेपालको प्रधानमन्त्री भएँ भने देशमा सुशासन कायम गर्न निम्न कार्यहरू गर्छु:
- विधिको शासन स्थापना गर्ने।
- राष्ट्रसेवक कर्मचारीलाई जवाफदेही, जिम्मेवार, प्रभावकारी र दक्ष बनाउने।
- हरेक गतिविधिलाई पारदर्शी बनाउने।
- जनसहभागितामा अभिवृद्धि गर्ने।
- सार्वजनिक सेवा प्रवाहलाई त्वरित र जनमुखी बनाउने।
- राष्ट्रसेवक कर्मचारीको सेवासुविधा वृद्धि गर्ने।
- भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिने।
अर्को पाठ पढ्नुहोस्
यो पनि पढ्नुहोस्
कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us