एकाइ ८: संविधान र नागरिक सचेतना (Sambidhan ra Nagarik Sachetana)
पाठ १: सरकारको गठन प्रक्रिया (Sarkar ko Gathan Prakriya)
यस पाठमा हामी नेपालको संविधानले व्यवस्था गरे अनुसार प्रदेश सरकार (Provincial Government) र स्थानीय सरकार (Local Government) को गठन कसरी हुन्छ भन्ने प्रक्रियाबारे विस्तृत रूपमा अध्ययन गर्नेछौँ। सङ्घीय शासन प्रणालीमा सरकारका विभिन्न तहहरूको गठन प्रक्रिया बुझ्नु नागरिक सचेतनाका लागि महत्त्वपूर्ण हुन्छ।
१. तलका प्रश्नका उत्तर दिनुहोस् :
(क) प्रदेश सरकार गठन प्रक्रिया उल्लेख गर्नुहोस्।
उत्तर: हाम्रो देशमा सङ्घीय शासन प्रणालीअनुसार सातवटा प्रदेशहरू रहेका छन्। प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रूपमा प्रदेश प्रमुख (Provincial Chief) रहन्छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रत्येक प्रदेशका लागि एक प्रदेश प्रमुख नियुक्ति गर्छन्। प्रत्येक प्रदेशमा प्रदेश सरकार रहेको हुन्छ। प्रदेश सरकारका प्रमुखका रूपमा मुख्यमन्त्री रहन्छन्। मुख्यमन्त्रीको छनोट प्रदेश सभाबाट हुन्छ र उनको नियुक्ति प्रदेश प्रमुखले गर्छन्। संविधानबमोजिम प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा मुख्यमन्त्रीको पद रिक्त भएको मितिले पैँतीस दिनभित्र मुख्यमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्नेछ। प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेश सभाका सदस्यमध्येबाट समावेशी सिद्धान्त (Principle of Inclusion) बमोजिम मुख्यमन्त्रीसहित प्रदेश सभाका कुल सदस्य सङ्ख्याको बीस प्रतिशतभन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन गर्नेछन्। प्रदेश सरकार गठन गर्नको लागि निम्नानुसारको व्यवस्था गरिएको छ:
- संविधानको धारा १६८ (१) बमोजिम, प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्छन् र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुनेछ।
- धारा १६८ (२) अनुसार, उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ।
- धारा १६८ (३) बमोजिम, प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा, प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
- धारा १६८ (५) अनुसार, उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा, उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ। यसरी नियुक्त मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ।
- धारा १६८ (७) अनुसार, उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा मुख्यमन्त्री नियुक्त हुन नसकेमा, मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभालाई विघटन गरी छ महिनाभित्र अर्को प्रदेश सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्न सक्ने व्यवस्था छ।
(ख) स्थानीय सरकार गठन प्रक्रिया उल्लेख गर्नुहोस्।
उत्तरः स्थानीय सरकारका रूपमा गाउँपालिकामा गाउँ कार्यपालिका (Village Executive) र नगरपालिकामा नगर कार्यपालिका (Municipal Executive) रहन्छ। यसको गठन स्थानीय निर्वाचनबाट हुन्छ। केही सदस्य भने गाउँ सभा र नगर सभाबाट निर्वाचित हुने व्यवस्था रहेको छ। स्थानीय सरकारका पदाधिकारीहरूको पदावधि पाँच वर्षको हुन्छ। यसको गठन प्रक्रिया निम्नानुसार छ:
गाउँ कार्यपालिकाको गठन
- गाउँ कार्यपालिका अध्यक्षको अध्यक्षतामा गठन हुन्छ। सम्बन्धित गाउँपालिकाका मतदाताले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम अध्यक्ष र उपाध्यक्ष निर्वाचित गर्छन्।
- प्रत्येक वडाबाट निर्वाचित वडा अध्यक्षहरू गाउँ कार्यपालिकाका पदेन सदस्य हुन्छन्।
- गाउँ सभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले १५ दिनभित्र, गाउँ सभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचित गरेका चार जना महिला सदस्य कार्यपालिकामा रहने व्यवस्था छ।
- त्यसैगरी, गाउँ सभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचित गरेका दुई जना दलित वा अल्पसङ्ख्यक समुदायका सदस्य रहने व्यवस्था छ।
- यसरी गाउँ कार्यपालिकामा अध्यक्ष, उपाध्यक्ष, सबै वडा अध्यक्षहरू र थप छ जना निर्वाचित सदस्यहरू रहन्छन्।
नगर कार्यपालिकाको गठन
- नगर कार्यपालिका प्रमुखको अध्यक्षतामा गठन हुन्छ। सम्बन्धित नगरपालिकाका मतदाताले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम प्रमुख र उपप्रमुख निर्वाचित गर्छन्।
- प्रत्येक वडाबाट निर्वाचित वडा अध्यक्षहरू नगर कार्यपालिकाका पदेन सदस्य हुन्छन्।
- नगर सभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले १५ दिनभित्र, नगर सभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचित गरेका पाँच जना महिला सदस्य रहने व्यवस्था छ।
- त्यसैगरी, नगर सभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचित गरेका तीन जना दलित वा अल्पसङ्ख्यक समुदायका सदस्य रहने व्यवस्था छ।
- यसरी नगर कार्यपालिकामा प्रमुख, उपप्रमुख, सबै वडा अध्यक्षहरू र थप आठ जना निर्वाचित सदस्यहरू हुन्छन्।
अर्को पाठ:
यो पनि पढ्नुहोस्
थप जानकारी
कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us