एकाइ ११: शिक्षा र सामाजिक विकास (Shiksha ra Samajik Bikas)
पाठ ५: शिक्षा र रोजगार (Shiksha ra Rojgar)
यस पाठमा हामी शिक्षा र रोजगार (Shiksha ra Rojgar) बिचको अन्तरसम्बन्ध, नेपालको वर्तमान शैक्षिक प्रणालीले रोजगारीमा पारेको प्रभाव, र बेरोजगारीका चुनौतीहरूलाई सम्बोधन गर्ने उपायहरूबारे विस्तृत रूपमा अध्ययन गर्नेछौँ। कुनै पनि देशको आर्थिक र सामाजिक विकासका लागि शिक्षा र रोजगारबिच सामञ्जस्यता हुनु अपरिहार्य छ।
अभ्यास
१. तलका प्रश्नका उत्तर दिनुहोस् :
(क) साधारण शिक्षा र प्राविधिक शिक्षाबिचको एक फरक लेख्नुहोस्।
उत्तर: कुनै पनि व्यक्तिले आफ्नो जीवनको बारेमा प्राप्त गर्ने आधारभूत ज्ञानलाई साधारण शिक्षा (General Education) भनिन्छ। यस्तो शिक्षाले व्यक्तिलाई सामान्य जीवन जिउन आधार दिन्छ तर विशिष्ट सीप दिँदैन। यसको विपरीत, कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा (Technical Education) भनिन्छ। यसले मानिसलाई यन्त्र, उपकरण, मेसिन, उद्योगधन्दा जस्ता क्षेत्रमा काम गर्न निपुण बनाउँछ, जसले शिक्षा र रोजगार (Shiksha ra Rojgar) को सम्बन्धलाई बलियो बनाउँछ।
(ख) नेपालमा रोजगार क्षेत्रको मुख्य समस्या के हो?
उत्तर: नेपालमा प्रत्येक वर्ष लाखौँ युवा श्रम बजारमा प्रवेश गरे पनि उनीहरू अनुरूप रोजगारका अवसर सिर्जना हुन नसक्दा बेरोजगारीको समस्या बढ्दो छ। नेपालको रोजगारी क्षेत्रको प्रमुख समस्या भनेको श्रमबजारमा रोजगारी उपलब्ध नहुनु र उपलब्ध रोजगारीका लागि चाहिने सिप र दक्षता भएको जनशक्ति उपलब्ध नहुनु हो। विश्वविद्यालयले उत्पादन गर्ने जनशक्तिमा सैद्धान्तिक ज्ञान पर्याप्त भए तापनि प्राविधिक, व्यावहारिक तथा प्रयोगात्मक ज्ञानको कमी हुनुले पनि यो समस्यालाई बढाएको छ।
(ग) नेपालले किन वैदेशिक जनशक्ति आयात गर्नु परेको हो?
उत्तर: नेपालका विश्वविद्यालयहरूले वर्षेनी ज्ञानमा आधारित (साधारण शिक्षा) जनशक्ति ठूलो सङ्ख्यामा उत्पादन गर्छन्, तर श्रम बजारमा आवश्यक पर्ने सीपयुक्त जनशक्ति उपलब्ध गराउन सकेका छैनन्। सिलाइ-कटाइ, सुन-चाँदीका गहना बनाउने जस्ता सीपदेखि लिएर जलविद्युत्, पुल, सुरुङमार्ग जस्ता क्षेत्रमा आवश्यक उच्च-स्तरीय प्राविधिक जनशक्ति (High-level Technical Manpower) देशमा पर्याप्त मात्रामा उपलब्ध नहुनाले नेपालले वैदेशिक जनशक्ति आयात गर्नु परेको हो।
(घ) बौद्धिक पलायन रोक्न के गर्न सकिन्छ? एक उपाय लेख्नुहोस्।
उत्तर: बौद्धिक पलायन (Brain Drain) रोक्न देशमा गुणस्तरीय रोजगारीको अवसर उपलब्ध गराउनु पर्छ। यसका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको सृजना गर्ने, तीव्र औद्योगीकरण गर्ने, पुँजी निर्माण गर्ने, लगानीमैत्री वातावरण बनाउने, र सीपमूलक तालिमहरू सञ्चालन गर्ने जस्ता कार्य गर्न सकिन्छ। साथै, शिक्षा क्षेत्रले श्रम बजारको आवश्यकता सर्वेक्षण गरी योजनाबद्ध रूपमा दक्ष जनशक्ति उत्पादनमा जोड दिनु पर्छ।
(ङ) बेरोजगारी समस्याका कुनै पाँच कारणहरू उल्लेख गर्नुहोस्।
उत्तर: नेपालमा बेरोजगारीका प्रमुख कारणहरू निम्न छन्:
- विश्वविद्यालयले उत्पादन गर्ने जनशक्तिमा सैद्धान्तिक ज्ञान बढी तर प्राविधिक, व्यवहारिक तथा प्रयोगात्मक ज्ञानको कमी हुनु।
- उच्च जनसङ्ख्या वृद्धि दरका कारण पुराना बेरोजगारलाई रोजगारी दिन नपाउँदै नयाँ बेरोजगारहरू श्रम बजारमा थपिनु।
- देशमा व्यापार व्यवसायको वृद्धिदर कम रहेकोले उच्च दरमा रोजगारको अवसर सिर्जना नहुनु।
- मुद्राको क्रय शक्तिमा आएको ह्रास र व्यापार व्यवसायमा आएको मन्दीको प्रभावले नयाँ रोजगारी सिर्जनामा कमी आउनु।
- देशमा औद्योगीकरणको गति सुस्त हुनु र नयाँ उद्योगधन्दा तथा व्यवसाय फस्टाउन नसक्नु।
(च) नेपालमा बेरोजगारी समस्या समाधान गर्न के के उपायहरू गर्न सकिएला? कुनै पाँच उपायहरू लेख्नुहोस्।
उत्तर: नेपालमा बेरोजगारी समस्या समाधानका लागि निम्न उपायहरू अपनाउन सकिन्छ:
- गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा: व्यवसाय तथा रोजगारमूलक गुणस्तरीय शिक्षाको प्रभावले बेरोजगारी समस्यालाई न्यूनीकरण गर्न सकिन्छ।
- कृषिको आधुनिकीकरण र बजारीकरण: नेपाल कृषिप्रधान देश भएकाले निर्वाहमुखी कृषिलाई व्यवसायमुखी बनाउन तथा उत्पादनमूलक उद्योगमा विशेष जोड दिई रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ।
- तीव्र औद्योगीकरण: तीव्र औद्योगीकरण गर्नका लागि ठूलो मात्रामा श्रमशक्तिको जरुरी पर्ने भएकाले बेरोजगारी समस्या समाधानमा मद्दत पुग्छ।
- जनसङ्ख्या व्यवस्थापन: जनसङ्ख्या शिक्षा र परिवार योजना जस्ता उपायहरूबाट सन्तुलित आकारको जनसङ्ख्या व्यवस्थापन गर्न सकेमा रोजगारीको अवसर प्रदान गर्न सजिलो हुन्छ।
- पुँजी निर्माण: उपभोक्तावादी संस्कृतिमा सुधार ल्याई खर्चमा भन्दा पुँजी निर्माण र लगानीमा जोड दिन सकेमा बेरोजगारी समस्या समाधान गर्न मद्दत पुग्छ।
यो पनि पढ्नुहोस्
कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us