एकाइ ८: आर्थिक क्रियाकलाप (Aarthik Kriya Kalap)
पाठ १: ऊर्जा र विकास (Urja ra Bikas)
यस पाठमा पढ्नुहोस्
१. ऊर्जाको परिचय दिई यसका स्रोत उल्लेख गर्नुहोस् ।
उत्तर: प्रकृतिमा पाइने कोइला, दाउरा, ग्यास, पेट्रोलियम पदार्थ, जलविद्युत्, आणविक र भट्टीबाट प्राप्त हुने शक्तिलाई ऊर्जा (Urja) भनिन्छ । हाम्रो दैनिकीमा ऊर्जा र विकास (Urja ra Bikas) को प्रयोग दिन प्रतिदिन बढ्दै गइरहेको हुँदा यो मानव जीवनको अभिन्न अङ्गका रूपमा रहेको छ । ऊर्जाका स्रोतलाई निम्न अनुसार विभाजन गर्न सकिन्छ:
ऊर्जाका नवीकरणीय स्रोत अन्तर्गत सूर्य, हावा, पानी आदिबाट प्राप्त उत्पादन भएका ऊर्जा पर्दछन् भने अनवीकरणीय स्रोत अन्तर्गत पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास आदिबाट उत्पादित ऊर्जा पर्दछन् । त्यस्तै नेपालको सन्दर्भमा हेर्दा ऊर्जाका स्रोतलाई परम्परागत र व्यावसायिक गरी दुई भागमा विभाजन गर्न सकिन्छ :
- (क) परम्परागत स्रोत: दाउरा, कृषिजन्य अवशेष आदि ।
- (ख) व्यावसायिक स्रोत: पेट्रोलियम पदार्थ, कोइला, विद्युत् आदि ।
२. ऊर्जाको महत्त्व उल्लेख गर्नुहोस् ।
उत्तर: ऊर्जाको महत्त्व यसप्रकार उल्लेख गरिएका छन् :-
- खाना पकाउन, कलकारखाना सञ्चालन गर्न, यातायातको साधन चलाउन ऊर्जा चाहिन्छ ।
- ऊर्जा शक्तिको स्रोत हो र मानव जीवनको अभिन्न अङ्ग बनेको छ ।
- ऊर्जाको अभावमा विकास निर्माणका कार्य अघि बढाउन सकिँदैन ।
- ऊर्जाबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।
- हरेक क्षेत्रमा ऊर्जाको आवश्यकता पर्छ । जस्तै : घरायसी काम, कार्यालय सञ्चालन, सञ्चार, यातायात, कृषि, उद्योग आदि ।
३. ऊर्जामा आत्मनिर्भर हुनका लागि अपनाउन सकिने उपाय लेख्नुहोस् ।
उत्तर: ऊर्जामा आत्मनिर्भर हुनका लागि अपनाउन सकिने उपाय निम्न छन् :-
- ऊर्जासम्बन्धी स्पष्ट, प्रभावकारी र देशअनुकूलको नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउने ।
- ऊर्जाका स्रोतको पहिचान, संरक्षण तथा दिगो उपयोग गर्नेतर्फ ध्यान दिने ।
- ग्रामीण क्षेत्रमा ग्यासको सट्टा गोबरग्यास र सहरी क्षेत्रमा कुहिने फोहोरको प्रयोग गरी बायोग्यास र मल उत्पादन गर्ने ।
- नेपालमा जलविद्युत् सबैभन्दा भरपर्दो ऊर्जाको स्रोत भएकाले आन्तरिक तथा बाह्य स्रोतका लगानी आकर्षण गरी जलविद्युत् उत्पादन क्षमता बढाउने र सौर्य ऊर्जालाई पनि विशेष ध्यान दिने ।
४. “नेपालमा जलविद्युत् विकासको अपार सम्भावना रहेको छ ।” यस भनाइलाई पुष्टि गर्नुहोस् ।
उत्तर: नेपालमा रहेका प्राकृतिक सम्पदामध्ये जलस्रोत महत्त्वपूर्ण सम्पदा हो । यहाँ भूमिगत र सतही दुवै प्रकारका अपार जलस्रोत उपलब्ध छ । यहाँका अधिकांश नदीहरू हिमालय पर्वतबाट उत्पत्ति भएकाले वर्षैभरि पानी हुन्छ । ठाडो ढालयुक्त जमिन भएको प्राकृतिक स्वरूप र स्थायी जल प्रवाह हुने नदीहरू प्रशस्त भएको हुनाले यहाँ जलविद्युत् विकासको सम्भावना धेरै छ ।
तसर्थ नेपालमा सबैभन्दा भरपर्दो ऊर्जाको स्रोतका रूपमा जलविद्युत्लाई लिइन्छ । नेपालमा सानाठूला गरेर करिब ६००० नदीनाला रहेका र ती नदीनालाबाट करिब ८३,००० मेगावाट जलविद्युत् उत्पादन गर्ने सैद्धान्तिक क्षमता रहेको छ । कुल उत्पादन क्षमताको ५० प्रतिशत मात्र जलविद्युत् उत्पादन गर्न सकिए पनि नेपालको ऊर्जाको आवश्यकता परिपूरण गर्न सकिन्छ । तसर्थ नीतिगत सुधार गरी कार्यान्वयन पक्ष बलियो बनाउने हो भने नेपालमा जलविद्युत् विकासको अपार सम्भावना रहेको छ ।
५. नेपालको आर्थिक विकासमा जलविद्युत् क्षेत्रको योगदान छोटकरीमा व्याख्या गर्नुहोस् ।
उत्तर: नेपालमा सानाठूला गरेर करिब ६,००० नदीनाला रहेका र ती नदीनालाबाट करिब ८३,००० मेगावाट जलविद्युत् उत्पादन गर्ने सैद्धान्तिक क्षमता रहेको छ । यसमध्ये करिब ४२,००० मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने व्यावहारिक सम्भावना रहेको विभिन्न अध्ययनले देखाएका छन् । नेपालको आर्थिक विकासमा जलविद्युत् क्षेत्रको योगदान निकै महत्त्वपूर्ण रहेको छ।
नेपालको आर्थिक विकास गरी उज्ज्वल भविष्य जलविद्युत् आयोजनाको निर्माण, सञ्चालन र विस्तारमा देखिएको छ । यसका लागि नीतिगत सुधार आवश्यक हुन्छ । त्यस्तै जलविद्युत् विकासमा देखिएका अवरोध न्यूनीकरण गरी प्रशस्त विद्युत् उत्पादन गर्न सके देशमित्र नै उद्योगधन्दा, कलकारखाना सञ्चालनका लागि ऊर्जा जुटाउन सकिन्छ । घरायसी प्रयोगमा ल्याउन सकिन्छ । विद्युतीय सवारीसाधन प्रयोगमा ल्याउन सकिन्छ । त्यस्तै कृषि क्षेत्रमा पनि यसको प्रयोग गरी कृषि उत्पादन बढाउन सकिन्छ । सञ्चार तथा प्रविधिको विकास गर्न सकिन्छ । यसले गर्दा वनजङ्गलको संरक्षण हुनुका साथै पेट्रोलियम पदार्थमा बाहिरिने विदेशी मुद्रा नियन्त्रण गर्न सकिन्छ । यसले गर्दा देशमै रोजगारीको अवसर सिर्जना हुन्छ । यसरी नेपालको आर्थिक विकासमा जलविद्युत् क्षेत्रको महत्त्वपूर्ण योगदान पुग्छ ।
अर्को पाठ (Next Chapter)
यो पनि पढ्नुहोस्
कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us