Ultimate Guide to Dosro Bishwayuddha ra Yeska Karan | Class 10 Social Notes
An overview of Dosro Bishwayuddha ra Yeska Karan notes for SEE Class 10 Social Studies

एकाइ ७: हाम्रो विगत (Hamro Bigat)

पाठ ८: दोस्रो विश्वयुद्ध र यसका कारण (Dosro Bishwayuddha ra Yeska Karan)

१. “भर्सेलिजको सन्धिले दोस्रो विश्वयुद्धलाई निम्ता गरेको थियो ।” यस भनाइलाई पुष्टि गर्नुहोस् ।

उत्तर: सन् १९१८ अगस्टमा जर्मन सेना हार उन्मुख भएपछि जर्मन सम्राट कैजर विलियम द्वितीय हल्यान्ड पलायन भए । त्यसपछि सन् १९१९ जुन २८ मा मित्र राष्ट्र र जर्मनीबीच फ्रान्सको पेरिसस्थित भर्सेलिज दरबारमा सन्धि भयो । यसलाई नै भर्सेलिजको सन्धि (Treaty of Versailles) भनिन्छ । यस सन्धिले प्रथम विश्वयुद्धको अन्त्य गरेको थियो । यो सन्धि जर्मनी विरुद्ध एकपक्षीय र अपमानजनक तरिकाले थोपरिएको थियो । यस सन्धिअनुसार जर्मनीले युद्धको सबै किसिमको क्षति स्वीकार गर्नुपरेको थियो । नैतिक रूपमा पनि जर्मनीलाई विश्वसामु नङ्ग्याइएको थियो । युद्ध अपराध, राष्ट्रको क्षति, सैनिक प्रतिबन्ध, आर्थिक क्षतिपूर्तिलगायतका प्रावधानहरू जर्मनीका विरुद्ध सन्धिमा उल्लेख गरिएका थिए । यस सन्धिले युरोपमा प्रतिशोधको भावनाको बीजारोपण गरेको थियो । यो अपमानजनक सन्धि पालना गरिरहनु जर्मनीका राष्ट्रभक्तहरूका लागि असह्य थियो । यसैकारण अप्रत्याशित रूपमा हिटलरको उदय भयो । उनी नै दोस्रो विश्वयुद्धका प्रमुख कारक बने । तसर्थ, भर्सेलिजको सन्धिले नै Dosro Bishwayuddha ra Yeska Karan लाई निम्ता गरेको थियो भन्न सकिन्छ ।

२. दोस्रो विश्वयुद्धका कारणहरू (Causes of Second World War) को छोटकरीमा वर्णन गर्नुहोस् ।

उत्तर: दोस्रो विश्वयुद्धका प्रमुख कारणहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ:

  • (क) जर्मनीद्वारा भर्सेलिजको सन्धि उल्लङ्घन: भर्सेलिजको सन्धिका कारण जर्मनीमा हिटलरको उदय भयो । उनले सैन्य शक्ति विस्तार गर्नुका साथै युद्ध सामग्रीको पनि वृद्धि गरे । उनले भर्सेलिजको सन्धि उल्लङ्घन गर्दै जर्मन सेनामुक्त राइनल्यान्ड टापुमा आफ्नो सेना पुनः पठाए । यी गतिविधि नै युद्धको कारण बन्यो ।
  • (ख) राष्ट्रसङ्घको असफलता: राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रहरूले नै संस्थाको धज्जी उडाउने काम गरे । जापान, इटाली, जर्मनी, रुस जस्ता राष्ट्रले सन्धि विपरीतका कार्य गर्दा पनि राष्ट्रसङ्घले नियन्त्रण गर्न सकेन र असफल भयो । यो पनि दोस्रो विश्वयुद्धको एक कारण बन्यो ।
  • (ग) अधिनायकवादको उदय: प्रथम विश्वयुद्धको अन्त्यसँगै जर्मनीमा हिटलर, इटालीमा मुसोलिनी, स्पेनमा फ्रान्सिस्को जस्ता अधिनायकवादी शासकको उदय भयो । उनीहरूले आफ्ना नागरिकमा उग्रराष्ट्रवादी भावना जागृत गराए, जसले गर्दा सैनिक शक्ति वृद्धि र हातहतियार निर्माण गर्ने होडबाजी चल्यो ।
  • (घ) राष्ट्रहरूको अपवित्र गठबन्धन: जापान र इटाली मित्र राष्ट्र समूह छोडेर धुरी राष्ट्र समूहतिर जोडिन पुगे । अर्कोतर्फ मित्र राष्ट्रहरूको गुटमा फ्रान्स, बेलायत, अमेरिका लगायतका राष्ट्र रहेकोमा पछि रुस पनि सामेल भयो, जसले गर्दा दोस्रो विश्वयुद्धको वातावरण बन्यो ।
  • (ङ) साम्यवादको त्रास र तुष्टीकरणको नीति: रुसमा साम्यवादी शासन सुरु भएपछि यसले छोटो समयमा नै धेरै परिवर्तन गर्यो । यसबाट युरोपका अरू राष्ट्रले पनि त्रास मान्न थाले । बेलायतले आफ्नो साम्राज्य समाप्त हुने डरले तुष्टीकरणको नीति लियो र यसलाई फ्रान्सले साथ दियो ।
  • (च) स्पेनको गृहयुद्ध: सन् १९३६ मा स्पेनमा भएको गृहयुद्धलाई दबाउन फ्रान्सिस्कोले सेना परिचालन गरे । इटाली र जर्मनीले उक्त कार्यलाई सहयोग गरे । स्पेनमा गृह युद्ध दबेपछि स्पेन पनि धुरी राष्ट्र समूहमा सामेल भयो ।
  • (छ) विश्वव्यापी आर्थिक सङ्कट: प्रथम विश्वयुद्धले विश्वव्यापी रूपमा आर्थिक सङ्कट निम्त्याएपछि गरिबी र बेरोजगारीका कारण युवाहरू सेनामा भर्ना भए । यसबाट राष्ट्रहरूले सैन्य शक्ति वृद्धि गर्ने अवसर पाए ।

३. तुष्टीकरणको नीति भनेको के हो ? यसले दोस्रो विश्वयुद्धलाई कसरी निम्त्यायो ?

उत्तर: ‘तुष्ट’ को अर्थ सन्तुष्ट, खुसी वा तृप्त हुन्छ । तसर्थ ‘तुष्टीकरण’ को अर्थ तुष्ट पार्ने काम वा प्रक्रिया भन्ने हुन्छ । अन्तर्राष्ट्रिय सन्दर्भमा, तुष्टीकरणको नीति (Policy of Appeasement) भनेको कुटनीतिको एक शैली हो जसमा प्रत्यक्ष द्वन्द्वबाट बच्न आक्रमणकारी शक्तिलाई विभिन्न छुट दिइन्छ । दोस्रो विश्वयुद्धताका बेलायतले यो नीति लिएको थियो । रुसमा साम्यवादी (कम्युनिस्ट) शासन सुरु भएपछि छोटो समयमा धेरै परिवर्तनहरू भएका थिए । यसको प्रभाव युरोपभरि फैलिँदै गएको थियो । रुसको प्रभाव बढ्न थालेपछि बेलायत र फ्रान्स चिन्तित भए र भित्रभित्रै असन्तुष्ट थिए । बेलायतलाई आफ्नो प्रभुत्व समाप्त हुने डर भएकाले जर्मनीको गठबन्धनले रुसमा आक्रमण गरोस् र रुसको शक्ति ह्रास होस् भन्ने चाहना थियो । यसैले गर्दा उसले तुष्टीकरणको नीति अवलम्बन गर्‍यो । यस कार्यमा फ्रान्सले साथ दियो । यो नीति पनि विश्वयुद्धको कारण बन्न पुग्यो र अन्ततः दोस्रो विश्वयुद्धलाई निम्त्यायो ।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top