एकाइ ७: हाम्रो विगत (Hamro Bigat)
पाठ ७: प्रथम विश्वयुद्धका परिणाम (Pratham Bishwayuddha ka Parinam)
यस पाठमा पढ्नुहोस्
१. राष्ट्रसङ्घको छोटो परिचय दिनुहोस्।
उत्तर: राष्ट्रसङ्घको स्थापना पहिलो विश्वयुद्धको परिणाम हो। तत्कालीन अमेरिकी राष्ट्रपति वुड्रो विल्सनको पहलमा १० जनवरी १९२० मा यसको स्थापना भएको थियो। विश्वलाई युद्धबाट टाढा राख्ने, विश्वमा शान्ति कायम गर्ने, र द्वन्द्वलाई वार्ताबाट समाधान गर्ने उद्देश्यका साथ विश्वव्यापी सङ्गठनका रूपमा राष्ट्रसङ्घको स्थापना भएको थियो।
२. प्रथम विश्वयुद्धका परिणाम (Pratham Bishwayuddha ka Parinam) को छोटकरीमा वर्णन गर्नुहोस्।
उत्तर: प्रथम विश्वयुद्धलाई नरसंहारकारी युद्धका रूपमा लिइन्छ। यो मानव जगत्कै सबैभन्दा भयानक परिणाम व्यहोरेको युद्ध थियो। यसका प्रमुख परिणामहरू (Pratham Bishwayuddha ka Parinam) यसप्रकार छन्:
- राष्ट्रसङ्घको स्थापना: प्रथम विश्वयुद्धको परिणामस्वरूप वि.सं. १९२० जनवरी १० मा तत्कालीन अमेरिकी राष्ट्रपति वुड्रो विल्सनको पहलमा विश्व शान्तिका लागि राष्ट्रसङ्घको स्थापना भयो।
- जनधनको ठूलो क्षति: यस युद्धमा करिब ९२ लाख मानिसको मृत्यु र २ करोड ९० लाख मानिस घाइते भएका थिए। त्यस्तै, ३३ करोड ६० लाख अरब पाउन्ड खर्च भएको थियो।
- भर्सेलिज सन्धिमा हस्ताक्षर: २८ जुन १९१९ मा मित्रराष्ट्रहरू र जर्मनीबीच फ्रान्सको पेरिसमा सन्धि भएपछि युद्धको औपचारिक अन्त्य भएको थियो।
- राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना: यस युद्धको प्रभाव स्वरूप विश्वमा राजतन्त्रको अन्त्य भई गणतन्त्रको स्थापनाको सुरुवात भयो।
- विश्वव्यापी आर्थिक सङ्कट: यस युद्धमा ठूलो जनधनको क्षति भएकाले कृषि, उद्योग, व्यापारका क्षेत्रमा प्रतिकूल असर परेको थियो। विश्वमा भोकमरी, बेरोजगारी, गरिबी, मुद्रास्फीति र महँगीले सताएको थियो।
- अधिनायकवादको उदय: प्रथम विश्वयुद्धपछि भर्सेलिजको सन्धिलाई आधार बनाई जर्मनीमा हिटलर, इटालीमा मुसोलिनी जस्ता अधिनायकवादीहरूको उदय हुन पुग्यो।
- नयाँ राष्ट्रको उदय: यस युद्धपछि अल्बानिया, युगोस्लाभिया, फिनल्यान्ड, चेकोस्लोभाकिया जस्ता नयाँ राष्ट्रहरूको उत्पत्ति भयो।
३. प्रथम विश्वयुद्धमा नेपालीले खेलेको भूमिकाको छोटकरीमा वर्णन गर्नुहोस्।
उत्तर: प्रथम विश्वयुद्ध भएका बेला नेपालमा प्रधानमन्त्री चन्द्रशमशेर थिए। उनले अङ्ग्रेजहरूलाई सहयोग गर्नका लागि वीर शमशेरको नेतृत्वमा ७५०० नेपाली फौज पठाएका थिए। त्यसपछि जनरल पद्म शमशेर, तेज शमशेर र केशर शमशेरको नेतृत्वमा पनि फौज पठाइएको थियो। त्यस समय कुल १६,५४४ नेपाली सैनिकहरूले अङ्ग्रेजहरूको सहायताका लागि लडेका थिए। त्यस्तै, बेलायतलाई नेपालले दश लाख पाउन्ड आर्थिक सहयोग पनि गरेको थियो। नेपाली सैनिकले युद्धको कठिन मोर्चामा अद्भूत पराक्रम, साहस र वीरता प्रदर्शन गरी अङ्ग्रेजहरूलाई विजयी बनाएका थिए। नेपाली फौजको वीरताको शत्रुपक्षले पनि मुक्त कण्ठले प्रशंसा गरेका थिए। प्रथम विश्वयुद्धमा देखाएको वीरताको कारणले आजसम्म पनि विश्वमा नेपालीलाई ‘गोर्खाली वीर’ भनेर चिनिन्छ। यसप्रकार प्रथम विश्वयुद्धमा नेपालीले निकै साहसिक भूमिका निर्वाह गरी बहादुरको परिचय दिलाएका थिए।
४. अधिनायकवाद भनेको के हो?
उत्तर: कुनै व्यक्ति वा व्यक्ति समूह अधिनायक बनी सञ्चालन गरेको राज्यव्यवस्था वा सो व्यवस्थासम्बन्धी सिद्धान्त अधिनायकवाद हो। यसले आफ्नो सत्ता टिकाउन विरोधीलाई दमन गर्ने, यातना दिने, र हत्या गर्ने तथा आफ्नो महत्त्वाकांक्षा जसरी पनि पूरा गर्ने जस्ता कार्य गर्दछ।
५. “बदलाको भावनाले सङ्कट निम्त्याउँछ।” यस भनाइलाई प्रथम विश्वयुद्धको प्रसङ्ग जोडेर पुष्टि गर्नुहोस्।
उत्तर: बदलाको भावना जोसुकैका लागि पनि राम्रो होइन। यसले कुनै न कुनै रूपमा सङ्कट निम्त्याउँछ। बदलाको भावनाले अशान्ति उत्पन्न हुन्छ र नोक्सान गर्छ। बदलाको भावनाले गर्दा अविश्वास, गुटबन्दी, घृणा, ईर्ष्या उत्पन्न हुन गई प्रथम विश्वयुद्ध हुन पुगेको देखिन्छ। यस युद्धको परिणाम निकै भयावह भयो। त्यसअघि यस्तो विनाश कहिल्यै भएको थिएन। त्यसैले यो नरसंहारकारी युद्ध बन्यो। भर्सेलिजको सन्धिले प्रथम विश्वयुद्ध रोकिए पनि जर्मनीमा बदलाको भावना विकास गरायो, यसले गर्दा दोस्रो विश्वयुद्धको बीजारोपण हुन गयो। तसर्थ, बदलाको भावनाले सङ्कट निम्त्याउँछ।
६. तुष्टीकरणको नीति भनेको के हो? यसले दोस्रो विश्वयुद्धलाई कसरी निम्त्यायो?
उत्तर: ‘तुष्ट’ को अर्थ सन्तुष्ट, खुसी, तृप्त हुन्छ। तसर्थ, ‘तुष्टीकरण’ को अर्थ तुष्ट पार्ने काम वा प्रक्रिया भन्ने हुन्छ। अन्तर्राष्ट्रिय सन्दर्भमा तुष्टीकरण नीति भनेको कुटनीतिको एक शैली हो, जसमा प्रत्यक्ष द्वन्द्वबाट बच्न आक्रमणकारी शक्तिलाई विभिन्न छुट दिइन्छ। दोस्रो विश्वयुद्धताका बेलायतले यो नीति लिएको थियो। रुसमा साम्यवादी (कम्युनिस्ट) शासन सुरु भएपछि छोटो समयमा धेरै परिवर्तन भएका थिए। यसको प्रभाव युरोपभरि फैलिँदै गएको थियो। रुसको प्रभाव बढ्न थालेपछि बेलायत र फ्रान्स चिन्तित भए र भित्रभित्रै असन्तुष्ट थिए। बेलायतलाई आफ्नो प्रभुत्व समाप्त हुने डर भएकाले जर्मनीको गठबन्धनले रुसमा आक्रमण गरोस् र रुसको शक्ति ह्रास होस् भन्ने चाहना थियो। यसैले गर्दा उसले तुष्टीकरणको नीति अवलम्बन गर्यो। यस कार्यमा फ्रान्सले साथ दियो। यो नीति पनि विश्वयुद्धको कारण बन्न पुग्यो र दोस्रो विश्वयुद्धलाई निम्त्यायो।
Next Chapter
पाठ ८: दोस्रो विश्वयुद्ध र यसका कारणहरूयो पनि पढ्नुहोस्
कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us