राष्ट्रिय गौरवका आयोजनाहरू (Rastriya Gauravka Aayojanaharu) | Class 10 Social Notes
An overview of Rastriya Gauravka Aayojanaharu notes for SEE Class 10 Social Studies

एकाइ २: विकास र विकासका पूर्वाधार (Bikas ra Bikaska Purwadhar)

पाठ ४: राष्ट्रिय गौरवका आयोजनाहरू (Rastriya Gauravka Aayojanaharu)

१. विकास आयोजना भनेको के हो?

उत्तर: विकास आयोजना भनेको निश्चित समयावधिमा सम्पन्न गरिसकिने गरी विविध लक्ष्यका साथ साधन र स्रोतको प्रयोग गरेर सुव्यवस्थित तवरबाट सञ्चालित विकासका कार्यक्रमहरू हो। देशको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि यस्ता आयोजनाहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्, जसमा राष्ट्रिय गौरवका आयोजनाहरू (Rastriya Gauravka Aayojanaharu) विशेष प्राथमिकतामा पर्छन्।

२. कस्ता आयोजनालाई राष्ट्रिय गौरवका आयोजना (Rastriya Gauravka Aayojanaharu) भनिन्छ?

उत्तर: राष्ट्रलाई पहिचान दिलाउने र देशका अधिकांश जनता लाभान्वित हुने आयोजना प्रदेश वा स्थानीय स्तरबाट सञ्चालन हुन नसक्ने हुँदा यस्ता आयोजना राष्ट्रिय स्तरबाट सञ्चालित हुन्छन्। यस्ता आयोजनाहरूका लागि बढी स्रोत, साधन र लगानीको आवश्यकता पर्छ। यस्ता आयोजनाहरूलाई नै राष्ट्रिय गौरवका आयोजना (Rastriya Gauravka Aayojanaharu) भनिन्छ। यस्ता आयोजना नेपाल सरकारले घोषणा गर्ने गर्दछ।

३. राष्ट्रिय गौरवका आयोजनाहरू किन महत्त्वपूर्ण मानिन्छन्?

उत्तर: राष्ट्रिय गौरवका आयोजना (Rastriya Gauravka Aayojanaharu) महत्त्वपूर्ण मानिनुका कारण निम्न छन्:

  • पूर्वाधारको विकास हुने: सडक, सिँचाइ, विमानस्थल जस्ता ठुला पूर्वाधार निर्माण हुन्छन्।
  • रोजगारीमा वृद्धि हुने: आयोजना निर्माणका क्रममा हजारौँले रोजगारी पाउँछन्।
  • धेरै जनतालाई लाभ पुग्ने: अधिकांश नागरिकले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा फाइदा लिन सक्छन्।
  • दिगो विकासको आधार तय हुने: देशको दीर्घकालीन विकासका लागि बलियो जग बसाल्छ।
  • प्राकृतिक सम्पदाको संरक्षण र सम्बर्द्धन हुने: जलविद्युत, संरक्षण क्षेत्र जस्ता आयोजनाले प्राकृतिक स्रोतको सदुपयोग र संरक्षण गर्छन्।
  • पर्यटकीय क्षेत्रको विस्तार: नयाँ गन्तव्यहरूको विकास भई पर्यटन प्रवर्द्धनमा सहयोग पुग्छ।

४. नेपालमा तोकिएको समयमा विकास आयोजना सम्पन्न गर्न कुन कुन पक्षमा ध्यान दिनुपर्ला?

उत्तर: नेपालमा तोकिएको समयमा विकास आयोजना सम्पन्न गर्न निम्न पक्षमा ध्यान दिनुपर्ला:

  • स्थिर सरकार: राजनीतिक स्थिरता र स्पष्ट नीतिको निरन्तरता।
  • आर्थिक लगानी: आवश्यक बजेटको समयमै सुनिश्चितता।
  • स्रोत, साधन र जनशक्तिको उपलब्धता: दक्ष जनशक्ति र निर्माण सामग्रीको सहज आपूर्ति।
  • जनताको अपेक्षा सम्बोधन: स्थानीय सरोकार र मागको उचित व्यवस्थापन।
  • सुशासन र भ्रष्टाचार नियन्त्रण: पारदर्शी र जवाफदेही कार्यप्रणालीको अवलम्बन।

५. हुलाकी लोकमार्गले पुऱ्याउने फाइदाको विवेचना गर्नुहोस्।

उत्तर: नेपालमा राष्ट्रिय गौरवका आयोजनाहरू राष्ट्रिय योजना आयोगको पछिल्लो तथ्याङ्कअनुसार २४ वटा रहेका छन्। यी आयोजना मध्ये एउटा महत्त्वपूर्ण आयोजना हुलाकी लोकमार्ग पनि हो। आ.व. २०६८/२०६९ देखि यो आयोजना राष्ट्रिय गौरवको आयोजनाका रूपमा कार्यान्वयनमा रहेको छ। आयोजनाको अन्त्यसम्ममा लगभग १८०० कि.मी. सडक र २१९ वटा पुलको निर्माण हुने अपेक्षा गरिएको यस आयोजनाले तराई मधेशका २० जिल्लालाई छुन्छ।

नेपालको पूर्व पश्चिम हुँदै तराई मधेशमा यातायातको सहज पहुँच विस्तार गर्ने यस आयोजनाको मुख्य लक्ष्य हो। यस आयोजनाले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरसम्मको भूभागलाई जोड्छ। पूर्व पश्चिम अर्थात् महेन्द्र राजमार्गको समानान्तर भएर यो राजमार्ग निर्माण हुन्छ। यो लोकमार्गले यस क्षेत्रका जनतालाई यातायातको सहज पहुँच पुग्नेछ। यसका साथै यस क्षेत्रमा उत्पादन हुने कृषि उपजलाई बजारीकरणमा सहयोग पुऱ्याउने छ। महेन्द्र राजमार्गसँगको निर्भरता हटाएर दक्षिणी भेगका जनतालाई आवतजावतमा दुरी छोटो हुने छ। बजार क्षेत्रको विस्तार र विकासमा सहयोग पुग्ने छ। रोजगार तथा स्वरोजगारका क्षेत्रमा वृद्धि हुने छ। यसप्रकार हुलाकी लोकमार्ग निर्माण आयोजना सम्पन्न भएपश्चात् त्यस क्षेत्रका जनताको यातायातमा सहज पहुँच अभिवृद्धि भई सामाजिक, आर्थिक र सांस्कृतिक विकासमा योगदान पुग्ने छ।

अर्को पाठमा जानुहोस्

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top