कृषि युगको सुरुआत र विकास (Krishi Yugko Suruaat ra Bikas) Exercise – Unit 4 class 11 Social Notes NEB(एकाइ ४ मानव तथा समाजको उद्भव र विकास)
An overview of Krishi Yugko Suruaat ra Bikas (Beginning and Development of the Agricultural Age) notes for NEB class 11 Social Studies

एकाइ ४: मानव तथा समाजको उद्भव र विकास

पाठ ३: कृषि युगको सुरुआत र विकास

यस पाठमा हामीले कृषि युगको सुरुआत र विकास (Krishi Yugko Suruaat ra Bikas) र यसले मानव सभ्यतामा ल्याएको परिवर्तनबारे सिक्नेछौँ। नवपाषण युग (Neolithic Age) देखि सुरु भएको कृषिले कसरी मानिसलाई स्थायी बसोबास, सामाजिक संरचना, र नयाँ प्रविधिको विकासतर्फ डोऱ्यायो भन्ने विषयमा विस्तृत जानकारी दिइएको छ।

Krishi Yugko Suruaat ra Bikas

१. ‘नवपाषण युगलाई नै कृषि युगको सुरुवात मानिन्छ।’ तर्क दिनुहोस्।

उत्तर: नवपाषण युगको कालखण्डबाट मानिसले घुमन्ते, शिकारी जीवनशैलीका सट्टा स्थायी बसोबास सुरु गर्ने क्रममा कृषि र पशुपालनलाई अंगालेका कुरा पुरातात्विक खोजहरूले देखाएका छन्। नवपाषण युगमा कृषिको व्यवस्थित सुरुवात भइसकेकाले कृषि कार्यका लागि आवश्यक टोकरी, नाइलो, पाथी लगायतका सामग्रीको समेत यस युगमा निर्माण गरिएको थियो। विभिन्न स्थानमा हावापानी, माटो अनुकूलका बालीहरूको खेती गर्न थालिएको थियो।

यस समयमा तातिँदै गएको वातावरणीय अवस्थाले कृषि उत्पादनमा ठूलो भूमिका निर्वाह गरेको थियो। मेसोपोटामिया (Mesopotamia), जोर्डन र इजिप्ट लगायतका स्थानहरूमा गहुँ, जौ, दलहन लगायतका बाली लगाइन्थ्यो। चीनमा मुख्यतया कोदो र धान लगाइन्थ्यो। त्यस्तै अफ्रिकामा कोदो, धान, तरुल आदिको खेती गरिएको थियो भने अमेरिकामा मकै, भटमास, आलु आदि खेती गरिन्थ्यो।

यस समयमा पशुपालन पनि व्यापक बनिसकेको थियो। कृषिमा आवश्यक श्रम साधन जुटाउन र दूध, मासु जस्ता खाद्यवस्तुको सुनिश्चितता गर्न विभिन्न जंगली जनावरहरूलाई समातेर पाल्न सुरु गरिएको थियो। कुकुरबाट सुरु गरिएको जंगली जनावरलाई घरपालुवा बनाउने क्रममा गाई, भैंसी, सुँगुर, भेडा आदिलाई पनि क्रमशः पाल्न थालिएको थियो। अतः मानिसले खाने कुरा सहज रूपमा प्राप्त गर्नका लागि पशुपालन तथा खेतीपाती गर्ने कार्य नवपाषाण (Neolithic) युगदेखि नै गर्दै आएका थिए। त्यसैले नवपाषण युगलाई नै कृषि युगको सुरुवात मानिन्छ।

२. ‘कृषि युग व्यवस्थित बसोबास र सभ्य जीवन विकासको जड हो।’ पुष्टि गर्नुहोस्।

उत्तर: प्रागऐतिहासिक शास्त्रीहरूका अनुसार ऐतिहासिक रूपमा कृषि युग व्यवस्थित बसोबास र सभ्य जीवनको विकासका लागि मुख्य जगका रूपमा मानिन्छ। खोजकर्ताहरूका अनुसार कृषि युगको विकाससँगै समाजमा ठूला सामाजिक परिवर्तनहरू आएका थिए। कृषिको व्यापक विकाससँगै समाजले अनेकौं सामाजिक र सांस्कृतिक परिवर्तनहरू साक्षात्कार गर्यो।

कपडा लगाउने बानीको विकास भयो, स्थायी बसोबास तथा खेतीपाती गर्नका लागि जमिन ओगट्ने क्रम बढ्दै जाँदा व्यक्तिगत सम्पत्तिलाई अधिक महत्त्व दिन थालियो। यसले गर्दा समाजमा असमानताको समेत विकास हुन थाल्यो। समाजमा धर्मकर्म संस्थागत हुँदै गए भने राजनीतिक चेतनाको विकाससँगै साना राज्य र रजौटाहरूले शासन गर्ने पद्धति समेत सुरु हुँदै गयो।

खाद्यवस्तुको उत्पादनका साथै प्रशोधन एवम् भण्डारणका लागि विभिन्न औजार तथा प्रविधिको विकास हुँदै गयो। किसानहरूले बढी भएको उत्पादित अन्न गाउँका बजारमा बेच्न थाले। बिस्तारै यी केही बजार वा केन्द्रहरूको जनसङ्ख्यामा वृद्धि हुँदै गयो र अन्ततः आधुनिक सहरहरूको विकासको थालनी भयो। सहरको विकाससँगै श्रम विभाजन (Division of Labour) ले विशिष्ट रूप लिँदै गयो, फलस्वरुप व्यापारी, शिल्पी, सिपाही, पुजारी, शासक र नोकरशाहीसहित धेरै नयाँ प्रकारका कामहरू देखा पर्दै गए। यसप्रकार सहरको विकाससँगै कृषि युगले सभ्यताको विकासमा नयाँ आयाम प्रदान गर्यो।

३. मेसोपोटामियाको कृषि क्रियाकलापका बारेमा छोटो चर्चा गर्नुहोस्।

उत्तर: ईसा पूर्वभन्दा लगभग ५००० वर्ष अगाडि टिग्रिस र युफ्रेटस (दजला-फरात) दुई नदीको मध्यभागमा एउटा समृद्ध सभ्यताको विकास भएको थियो। यही सभ्यतालाई नै मेसोपोटामियाको सभ्यता (Mesopotamian Civilization) भन्ने गरिन्छ। मेसोपोटामिया (आधुनिक इराक) का टिग्रिस र युफ्रेटस नदीका शीतोष्ण र अत्यन्त उब्जाउ उपत्यकादेखि जोर्डनसम्म फैलिएको उर्वर अर्धचन्द्राकार (Fertile Crescent) नामले चिनिने क्षेत्रमा भेटिएका प्रमाणहरू कृषि विकासका सबैभन्दा प्रसिद्ध मानकका रूपमा लिइएका छन्। यहाँका मानिसहरुले सिँचाइका लागि नहर प्रणालीको विकास गरेका थिए र गहुँ, जौ जस्ता अन्नबालीहरू व्यापक रूपमा उत्पादन गर्दथे, जसले उनीहरूको सभ्यतालाई आर्थिक रूपमा सम्पन्न बनाएको थियो।

४. कृषि युगको विकाससँगै समाजमा असमान वर्गहरू विकास हुँदै गएको प्रसङ्गलाई जोड्दै वर्तमान समयमा विकासले ल्याएको सामाजिक असमानताको व्याख्या गर्नुहोस्।

उत्तर: कृषि युगमा जमिनबाट गरिने उत्पादनको प्रमुख साधन मानव श्रम थियो। जमिन धेरै हुनेहरूले जमिन नहुनेहरूलाई काममा लगाई आफ्नो गुजारा चलाउँथे, जसले गर्दा समाजमा असमान वर्गहरू विकास हुँदै गयो। खेतीयोग्य जमिन अचल भएकाले एकै ठाउँमा बस्नुपर्ने बाध्यताले स्थायी बसोबासको विकास भयो। जमिनको महत्त्व बढ्दै गएकाले बढीभन्दा बढी जमिन ओगट्ने प्रतिस्पर्धा हुन थाल्यो। यस क्रममा सीमित व्यक्तिले अरूको तुलनामा धेरै जमिन ओगट्न सफल भए, जो पछि गएर सामन्त (Feudal Lords) का रूपमा स्थापित हुँदै गए। यसले गर्दा समाजमा असमान वर्गहरू विकास भयो।

वर्तमान समयमा पनि असन्तुलित विकासका कारण समाजमा सामाजिक असमानता बढ्दै गइरहेको छ। धनीहरू धेरै नै धनी र गरिबहरू अत्यन्तै गरिब हुँदै गइरहेका छन्। मानिसहरूले आफ्नो परिश्रमअनुसारको कमाइ आर्जन गर्न सकेका छैनन्। केही सीमित मानिसहरूले धेरैभन्दा धेरै पुँजी आर्जन गरिरहेका छन् भने बहुसंख्यक मानिसहरू सीमित पैसामा ज्याला, मजदुरी र दास बनिरहन बाध्य छन्। यी मानिसहरूको श्रम शोषण भइरहेको छ। त्यसैले सबै वर्ग, लिङ्ग, जात, धर्मका मानिसहरूलाई समानरूपमा सहभागी गराएर विकासको कार्य अघि बढाउन आवश्यक छ। तब मात्र समाजमा मानिसहरू समान हुन्छन् र सामाजिक समानता कायम हुन सक्छ।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top