एकाइ ९: बस्ती, जनसङ्ख्या र विकास
पाठ ४: उमेर संरचनाको सङ्क्रमण र जनसाङ्ख्यिक लाभांशको उपयोग
यस पाठमा हामीले उमेर संरचनाको सङ्क्रमण र जनसाङ्ख्यिक लाभांशको उपयोग (Umer Sanrachanako Sankraman ra Janasankhyik Labhanshko Upyog) बारे विस्तृत रूपमा अध्ययन गर्नेछौँ। जनसाङ्ख्यिक सङ्क्रमणले देशको उमेर संरचनामा कसरी परिवर्तन ल्याउँछ र त्यसबाट प्राप्त हुने जनसाङ्ख्यिक लाभांश (Demographic Dividend) लाई राष्ट्रको विकासमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नेछौँ।
Umer Sanrachanako Sankraman ra Janasankhyik Labhanshko Upyog
अभ्यासका विषयहरू
१. जनसाङ्ख्यिक सङ्क्रमण र उमेर संरचनाको सङ्क्रमणको छोटो परिचय लेख्नुहोस्।
उत्तर: जीवनमा एकचोटि मात्र घटित हुने जन्म र मृत्यु जस्ता घटनाहरूलाई जनसाङ्ख्यिक घटना (Demographic Events) भनिन्छ। जनसाङ्ख्यिक घटना जन्म र मृत्युका कारणले जनसङ्ख्या वृद्धिदर पनि उच्च, निम्न र स्थिर हुन्छ। यिनै जनसाङ्ख्यिक घटनाका प्रभावले गर्दा जनसङ्ख्या वृद्धिदर एउटा अवस्थाबाट अर्को अवस्थामा परिवर्तन हुँदै जान्छ। यही प्रक्रियालाई जनसाङ्ख्यिक सङ्क्रमण (Demographic Transition) भनिन्छ।
उमेर वा उमेर समूहअनुसार जनसङ्ख्याको वितरणलाई जनसङ्ख्याको उमेर संरचना भनिन्छ। उमेर संरचनालाई सामान्यतया १४ वर्षमुनिका (बाल आश्रित), १५-५९ वर्षका (सक्रिय) र ६० वर्षभन्दा माथिका (वृद्ध आश्रित) उमेर समूहमा वर्गीकरण गरेर अध्ययन गरिन्छ।
२. जनसाङ्ख्यिक सङ्क्रमणले जनसङ्ख्याको उमेर संरचनालाई कसरी प्रभाव पार्दछ, आफ्नो विचार लेख्नुहोस्।
उत्तर: उच्च मृत्युदर र उच्च प्रजनन दरको अवस्थाबाट न्यून मृत्युदर र प्रजनन दरमा पुग्ने प्रक्रियाले उमेर संरचनामा प्रत्यक्ष प्रभाव पार्दछ। यस्तो अवस्थामा जनसङ्ख्याको संरचना सानो उमेरबाट ठुलो उमेर संरचनामा परिवर्तन हुन्छ। यो प्रक्रियालाई उमेर संरचनाको सङ्क्रमण भनिन्छ। बाल आश्रित जनसङ्ख्याबाट आर्थिक रूपले सक्रिय जनसङ्ख्यामा र पछि वृद्ध आश्रित जनसङ्ख्यामा परिवर्तन हुने यो अवस्था जनसाङ्ख्यिक सङ्क्रमणको एक विशेष अवस्था हो।
उमेर संरचनाको सङ्क्रमणलाई तीन चरणमा विभाजन गरिन्छ:
- पहिलो चरण: मृत्युदर घट्छ तर प्रजनन दर उच्च रहन्छ, जसले बालबालिकाको सङ्ख्या बढाउँछ।
- दोस्रो चरण: प्रजनन दर पनि घट्न थाल्छ, जसले बालबालिकाको सङ्ख्या घटाउँछ र काम गर्ने उमेरको (सक्रिय) जनसङ्ख्या बढाउँछ।
- तेस्रो चरण: प्रजनन दर निरन्तर घट्दा बालबालिका र वयस्कहरूको सङ्ख्यामा ह्रास आउँछ भने वृद्धवृद्धाको सङ्ख्या बढ्छ।
यसरी जनसाङ्ख्यिक सङ्क्रमणले देशको जनसङ्ख्याको उमेर संरचनालाई निरन्तर प्रभाव पारिरहेको हुन्छ।
३. जनसाङ्ख्यिक लाभांश र जनसाङ्ख्यिक अवसरको झ्यालबिचको सम्बन्ध आफ्नै शब्दमा व्याख्या गर्नुहोस्।
उत्तर: देशको कुल जनसङ्ख्यामा श्रम गर्न सक्ने वा आर्थिक रूपले सक्रिय (१५-५९ वर्ष) जनसङ्ख्याको बाहुल्यता रहेको अवस्था नै जनसाङ्ख्यिक लाभांश (Demographic Dividend) हो। यो अवस्थामा आश्रित जनसङ्ख्या (बालबालिका र वृद्धवृद्धा) को तुलनामा काम गर्ने जनसङ्ख्या धेरै हुन्छ।
जनसाङ्ख्यिक सङ्क्रमणका क्रममा प्रजनन दर कम हुँदा कुनै एक निश्चित समय अवधिसम्म मात्र जनसाङ्ख्यिक लाभांशको अवस्था रहिरहन्छ। यस्तो अवस्थाले कुनै पनि देशलाई आर्थिक उपलब्धि हासिल गर्न अवसर प्रदान गर्ने भएकाले यसलाई जनसाङ्ख्यिक अवसरको झ्याल (Demographic Window of Opportunity) भनिन्छ। यस अवस्थामा लगानी र बचतका कारण आर्थिक वृद्धिदर बढ्छ।
विभिन्न प्रतिवेदनअनुसार नेपालमा जनसाङ्ख्यिक अवसरको झ्याल करिब ५५ वर्ष (सन् १९९२ देखि सन् २०४७) सम्म रहने अनुमान छ। यस अवधिको सही सदुपयोग गर्न सकेमा देशको चौतर्फी विकासका सम्भावना रहन्छन्।
जनसाङ्ख्यिक लाभांशलाई जनसाङ्ख्यिक अवसरको रूपमा उपयोग गर्न निम्न उपायहरू अवलम्बन गर्न सकिन्छ:
- देशमा उपलब्ध श्रमशक्तिको अधिकतम उपयोग गरी कुल गार्हस्थ्य उत्पादन वृद्धि गर्ने।
- देशको आम्दानी र बचतलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने।
- दक्ष जनशक्ति उत्पादनमा उचित लगानी गर्ने।
- समयमै जनशक्ति प्रक्षेपण गरी योजना निर्माण र कार्यान्वयनलाई अगाडि बढाउने।
- एकीकृत बस्ती विकासमार्फत जनसङ्ख्या व्यवस्थापनलाई सहज बनाउने।
- भविष्यमा वृद्धि हुने ज्येष्ठ नागरिकको सङ्ख्यालाई अनुमान गरी सामाजिक सुरक्षाको क्षेत्रमा लगानी गर्ने।
यो पनि पढ्नुहोस्
थप जानकारीका लागि आधिकारिक स्रोतहरू:
Demographic Transition & Ageing (UN) राष्ट्रिय परीक्षा बोर्ड (NEB)कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us