Class 10 Economics (अर्थशास्त्र)
पाठ ३: बजार संरचना र उत्पादनको मूल्य निर्धारण (Market Structure and Product Pricing)
SEE board exam तयारीका लागि: पूर्ण सैद्धान्तिक नोट, ग्राफ र अभ्यासका सम्पूर्ण प्रश्नोत्तरहरू
Welcome to the complete study guide on Market Structure and Product Pricing (बजार संरचना र उत्पादनको मूल्य निर्धारण) under Microeconomics. This is Chapter 3 of Unit 2 for Class 10 Economics students in Nepal preparing for their SEE board exams.
Here you will find structured notes, clear illustrations of short-run equilibrium under Perfect Competition and Monopoly, and fully solved textbook exercises with additional mathematical problems.
Explore our complete study list here: Class 10 Economics Notes.
१. सैद्धान्तिक अवधारणा (Theoretical Concept)
परिचय
बजार संरचनाले कुनै पनि वस्तुको क्रेता र विक्रेताको सङ्ख्या, प्रतिस्पर्धाको स्तर, वस्तुको मूल्य निर्धारणलगायतका पक्षलाई समेटेको हुन्छ । यस पाठमा पूर्ण प्रतिस्पर्धा र एकाधिकार बजारअन्तर्गत वस्तु तथा सेवाको मूल्य निर्धारण र यी बजार संरचनाबिचको भिन्नताका बारेमा अध्ययन गरिन्छ ।
(क) बजारको अर्थ (Meaning of Market)
बजार शब्द अङ्ग्रेजी भाषाको ‘Market’ बाट आएको हो । अङ्ग्रेजी शब्द ‘Market’ ल्याटिन भाषाको ‘Mercatus’ बाट आएको मानिन्छ । यसको अर्थ व्यापार वा कारोबार गर्नु भन्ने हुन्छ । साधारण अर्थमा बजार भनेको त्यस्तो स्थान हो जहाँ क्रेता एवम् विक्रेता एक आपसमा भेला भई वस्तु तथा सेवाको खरिदबिक्री गर्छन् ।
अर्थशास्त्रमा बजारले खरिदबिक्री गर्ने स्थान मात्र नबुझाई खरिदबिक्री गर्ने प्रक्रियासमेतलाई बुझाउँछ । यसर्थ बजार भनेको त्यस्तो कुनै ठाउँ वा माध्यम हो जहाँ क्रेता र विक्रेताबिच सम्पर्क स्थापित भई वस्तु तथा सेवाको खरिदबिक्री हुन्छ ।
(ख) बजारका तत्त्वहरू (Components of Market)
सामान्यतः बजार हुनका लागि निम्नलिखित तत्त्वहरू आवश्यक हुन्छन् :
- (अ) स्थान वा सञ्चारको माध्यम (Place or Means of Communication): बजार हुन वस्तु तथा सेवाको विनिमयका लागि क्रेता र विक्रेता भेट हुने भौतिक स्थान हुनुपर्छ वा भौतिक रूपमा भेट नभए पनि टेलिफोन, इमेल, इन्टरनेट, सामाजिक सञ्जाल आदि सञ्चारका माध्यमबाट सम्पर्क स्थापित भएको हुनुपर्छ ।
- (आ) क्रेता तथा विक्रेता (Buyer and Seller): क्रेता र विक्रेता वस्तु विनिमयका दुई पक्षहरू हुन् । कुनै एकको अभावमा वस्तु विनिमय हुन सक्दैन । क्रेता तथा विक्रेताको आपसी सहमतिमा मात्र वस्तु तथा सेवाको विनिमय हुन्छ ।
- (इ) वस्तु तथा सेवा (Goods or Services): क्रेता तथा विक्रेताको भेटघाट हुँदैमा त्यसलाई बजार भन्न सकिँदैन । बजार हुनका लागि खरिद तथा बिक्रीका लागि वस्तु तथा सेवा उपलब्ध हुनुपर्छ ।
- (ई) इच्छा वा क्षमता (Willingness and Ability): क्रेता र विक्रेता दुवैमा वस्तु विनिमय गर्ने इच्छा हुनुपर्छ । त्यस्तै दुवैमा वस्तु विनिमय गर्ने क्षमता हुनुपर्छ ।
- (उ) मूल्य (Price): बजारमा विनिमय हुने सबै वस्तु तथा सेवा आर्थिक वस्तु हुने भएकाले यस्ता वस्तुको निश्चित मूल्य हुन्छ । उक्त निश्चित मूल्यमा क्रेता वस्तु खरिद गर्न र विक्रेता वस्तु बिक्री गर्न तयार हुनुपर्छ ।
(ग) बजारका प्रकार (Types of Market)
बजारलाई भौगोलिक क्षेत्र, प्रतिस्पर्धा, उत्पादनका साधन, वित्तीय सम्पत्ति, समयावधिलगायतका आधारमा विभाजन गरेर अध्ययन गर्ने गरिन्छ । यहाँ भौगोलिक क्षेत्र र प्रतिस्पर्धाका आधारमा बजारलाई वर्गीकरण गरी अध्ययन गरिएको छ ।
(अ) भौगोलिक क्षेत्रका आधारमा (On the Basis of Geographical Region)
भौगोलिक क्षेत्रका आधारमा बजारलाई निम्नलिखित तीन भागमा विभाजन गरिन्छ :
i. स्थानीय बजार (Local Market): स्थानीय क्षेत्रमा उत्पादन भएका वस्तु तथा सेवा सोही स्थान विशेषमा मात्र खरिदबिक्री हुन्छ भने त्यस्तो बजारलाई स्थानीय बजार भनिन्छ । गाउँघर तथा सहरका स्थान विशेषमा लाग्ने साप्ताहिक, पाक्षिक (पन्ध्र पन्ध्र दिन) हाटबजार स्थानीय बजारका उदाहरण हुन् । जहाँ धेरैजसो स्थानीय क्षेत्रमा उत्पादन भएका र छिटो नाश भएर जाने सागपात, तरकारी, माछामासु, दुधदही, फलफूललगायतका वस्तुको खरिदबिक्री हुन्छ ।
ii. राष्ट्रिय बजार (National Market): देशको कुनै एक क्षेत्रमा उत्पादन भई देशका विभिन्न स्थानहरूमा बिक्रीवितरण गरिने वस्तुहरू (जस्तै : कपडा, खाद्यान्न, दाल, चामल, तेल, फर्निचर, जुत्ता आदि) को बजारलाई राष्ट्रिय बजार भनिन्छ । राष्ट्रिय बजारमा खरिदबिक्री हुने वस्तुहरू लामो समयसम्म टिकाउ हुने (durable) प्रकृतिका हुन्छन् । उदाहरणका लागि तराईमा उत्पादन भएको धान देशका सबै भागमा आपूर्ति हुन्छ । उदयपुर, अर्घाखाँची, हेटौंडामा उत्पादन भएको सिमेन्ट पनि देशभरि आपूर्ति हुन्छ । त्यस्तै चिया, कपडा, चिनी आदिको बजार पनि राष्ट्रिय बजारअन्तर्गत पर्छ । यसरी देशभित्रकै कुनै एक ठाउँमा उत्पादित वस्तु पूरै देशभरि खरिदबिक्री हुन्छ भने त्यस्तो बजारलाई राष्ट्रिय बजार भनिन्छ ।
iii. अन्तर्राष्ट्रिय बजार (International Market): देशको भौगोलिक सीमाभित्र मात्र सीमित नरहेर अन्य देशमा पनि वस्तु तथा सेवाको खरिदबिक्री हुन्छ भने त्यस्तो बजारलाई अन्तर्राष्ट्रिय बजार भनिन्छ । सुन, चाँदी, घडी, फलाम, तामा, मोटर, मोबाइल, रेडियो, क्यामेरा, लत्ताकपडा, शृङ्गारका सामग्री र सजावटका वस्तुहरू एक देशमा उत्पादन भई देशभित्र साथै देशबाहिर पनि बिक्रीवितरण गरिन्छ । नेपालको सन्दर्भमा अदुवा, अलैंची, चिया, कफी, जडीबुटी, हस्तकलाका वस्तुहरूको बजारलाई अन्तर्राष्ट्रिय बजार मान्न सकिन्छ । अन्तर्राष्ट्रिय बजारमा आयात र निर्यात गरी दुई पक्षहरू हुन्छन् । देशबाहिर वस्तुको निकासीलाई निर्यात र देशभित्र वस्तुको पैठारीलाई आयात भनिन्छ ।
(आ) प्रतिस्पर्धाका आधारमा (On the Basis of Competition)
प्रतिस्पर्धाका आधारमा बजारलाई पूर्ण प्रतिस्पर्धा बजार र अपूर्ण प्रतिस्पर्धा (imperfect competition) बजार गरी दुई भागमा विभाजन गरिन्छ । अपूर्ण प्रतिस्पर्धालाई पनि एकाधिकात्मक प्रतिस्पर्धा (monopolistic competition), अल्पाधिकार (oligopoly), एकाधिकार र एक क्रेताधिकार (monopsony) गरी चार भागमा विभाजन गरिन्छ । यहाँ पूर्ण प्रतिस्पर्धा र एकाधिकार बजारका बारेमा मात्र अध्ययन गर्छौँ ।
i. पूर्ण प्रतिस्पर्धा बजार (Perfect Competition Market): अधिक सङ्ख्यामा क्रेता र विक्रेता रहेको समरूपी (समान रूप, रङ, तौल, आकार र गुणस्तर) वस्तु उत्पादन हुने बजारलाई पूर्ण प्रतिस्पर्धा बजार भनिन्छ । यस्तो बजारमा वस्तु उत्पादन गर्ने उत्पादकलाई फर्म भनिन्छ र फर्महरूको समूहलाई उद्योग भनिन्छ । यस्तो बजारमा व्यक्तिगत फर्महरूबिच प्रतिद्वन्द्विता हुँदैन । बजारले निर्धारण गरेको मूल्य सबै फर्महरूले स्वीकार गर्छन् । त्यसैले यस्तो बजारलाई मूल्य स्वीकारक (Price taker) बजार भनिन्छ । पूर्ण प्रतिस्पर्धा बजार एक काल्पनिक बजार हो ।
ii. एकाधिकार बजार (Monopoly Market): एक मात्र विक्रेता र अधिक सङ्ख्यामा क्रेता भएको बजारलाई एकाधिकार बजार भनिन्छ । यस्तो बजारमा कुनै वस्तु तथा सेवा उत्पादन गर्ने एक मात्र फर्म वा विक्रेता हुन्छ र उसले वस्तुको मूल्य निर्धारण गर्छ । त्यसैले यस्तो बजारलाई मूल्य निर्धारक (Price maker) बजार भनिन्छ । बजारमा निकट प्रतिस्थापक वस्तुहरूको अभाव हुन्छ अर्थात् एकाधिकार फर्मले उत्पादन गर्ने जस्तो अर्को वस्तु बजारमा पाइँदैन । नेपालको सन्दर्भमा नेपाल आयल निगम (Nepal Oil Corporation), नेपाल विद्युत् प्राधिकरण (Nepal Electricity Authority) आदि एकाधिकार बजारका उदाहरण हुन् ।
(घ) पूर्ण प्रतिस्पर्धा र एकाधिकार बजारमा अल्पकालीन सन्तुलन
सन्तुलन भनेको कुनै पनि फर्मले वस्तु तथा सेवाको सन्तुलित मूल्य र सन्तुलित परिमाण निर्धारण गरेको अवस्था हो । पूर्ण प्रतिस्पर्धा र एकाधिकार बजारमा सन्तुलन प्राप्त गर्नका लागि फर्मले निम्नलिखित दुई सर्तहरू पूरा गरेको हुनुपर्छ :
- (अ) आवश्यक सर्त (Necessary Condition): यस सर्तअनुसार फर्म सन्तुलनमा हुनका लागि फर्मको सीमान्त लागत र सीमान्त आय बराबर हुनुपर्छ (Marginal cost should be equal to marginal revenue) ।
$$\text{अथवा, } MC = MR$$ - (आ) पर्याप्त सर्त (Sufficient Condition): यस सर्तअनुसार फर्म सन्तुलनमा हुनका लागि सीमान्त लागत वक्ररेखाले सीमान्त आय वक्ररेखालाई तलबाट काटेको हुनुपर्छ (Marginal cost curve must intersect marginal revenue curve from below) । यसरी काटेको विन्दुमा सीमान्त लागत वक्रको झुकाव सीमान्त आय वक्रको झुकावभन्दा धेरै हुनुपर्छ ।
$$\text{अथवा, Slope of MC curve } > \text{ Slope of MR curve}$$
उल्लेखित दुई सर्तका आधारमा पूर्ण प्रतिस्पर्धा र एकाधिकार बजारको अल्पकालीन सन्तुलनलाई सीमान्त लागत सीमान्त आय विधि प्रयोग गरी निम्नानुसार व्याख्या गरिएको छ :
i. पूर्ण प्रतिस्पर्धा बजार (Perfect Competition Market)
पूर्ण प्रतिस्पर्धा बजार मूल्य स्वीकारक बजार हो । यस्तो बजारमा तोकिएको मूल्यमा जति पनि वस्तुको परिमाण बिक्री गर्न सकिने भएकाले हरेक थप परिमाण बिक्री गर्दा फर्मको सीमान्त आय समान मात्रामा वृद्धि हुन्छ । यसले गर्दा फर्मको सीमान्त आय समान र स्थिर हुन्छ । फर्मको सीमान्त लागत भने उत्पादन परिमाण बढ्दै जाँदा सुरुआतमा घट्ने र एक निश्चित विन्दुमा पुगेपछि बढ्ने हुन्छ । सीमान्त लागत र सीमान्त आय विधिको प्रयोगबाट फर्मको सन्तुलनलाई रेखाचित्र ३.१ मा देखाइएको छ ।
व्याख्या: रेखाचित्र ३.१ को $X$ अक्षमा वस्तुको परिमाण र $Y$ अक्षमा वस्तुको मूल्य, सीमान्त लागत र सीमान्त आय मापन गरिएको छ । फर्मले $OX_1$ र $OX_2$ परिमाण उत्पादन गर्दा क्रमशः $e_1$ र $e_2$ विन्दुमा सीमान्त लागत र सीमान्त आय बराबर छन् । यी दुवै विन्दुमा फर्म सन्तुलनका लागि चाहिने पहिलो सर्त पूरा भएको छ । विन्दु $e_1$ मा $MC$ ले $MR$ लाई माथिबाट काटेको हुनाले फर्म सन्तुलनको दोस्रो सर्त पूरा हुन सक्दैन । तर विन्दु $e_2$ मा $MC$ वक्ररेखाले $MR$ वक्ररेखालाई तलबाट काटेको छ । अतः यस विन्दुमा दुवै सर्त पूरा भएकाले फर्म सन्तुलनमा हुन्छ । यहाँ $OP$ सन्तुलित मूल्य हो भने $OX_2$ सन्तुलित परिमाण हो ।
ii. एकाधिकार बजार (Monopoly Market)
एकाधिकार बजारमा एक मात्र विक्रेता हुन्छ । वस्तुको मूल्य निर्धारणमा विक्रेता वा फर्मको मुख्य भूमिका रहन्छ । त्यसैले यस्तो बजारलाई मूल्य निर्धारक बजार भनिन्छ । एकाधिकार बजारमा वस्तुको बढी परिमाण बिक्री गर्न फर्मले मूल्य घटाउनुपर्ने हुन्छ जसले गर्दा वस्तुको थप परिमाण बिक्री गर्दा फर्मको सीमान्त आय क्रमशः घट्दै जान्छ । सीमान्त आय घट्दै जाने भएकाले फर्मको सीमान्त आय रेखा ऋणात्मक झुकावको हुन्छ । फर्मको सीमान्त लागत भने पूर्ण प्रतिस्पर्धा बजारको जस्तै सुरुमा घट्ने र पछि बढ्ने हुन्छ । सीमान्त लागत र सीमान्त आय विधिबाट एकाधिकारमा फर्मको सन्तुलनलाई रेखाचित्र ३.२ मा देखाइएको छ ।
व्याख्या: रेखाचित्र ३.२ को $X$ अक्षमा वस्तुको परिमाण र $Y$ अक्षमा वस्तुको मूल्य, सीमान्त लागत र सीमान्त आय मापन गरिएको छ । फर्मले $OX_1$ र $OX_2$ परिमाण उत्पादन गर्दा क्रमशः $e_1$ र $e_2$ विन्दुमा सीमान्त लागत र सीमान्त आय बराबर छन् । यी दुवै विन्दुमा फर्म सन्तुलनका लागि चाहिने पहिलो सर्त पूरा भएको छ । विन्दु $e_1$ मा $MC$ ले $MR$ लाई माथिबाट काटेको हुनाले फर्म सन्तुलनको दोस्रो सर्त पूरा हुन सक्दैन । तर विन्दु $e_2$ मा $MC$ वक्ररेखाले $MR$ वक्ररेखालाई तलबाट काटेको छ । अतः यस विन्दुमा दुवै सर्त पूरा भएकाले फर्म सन्तुलनमा हुन्छ । यहाँ $OP$ सन्तुलित मूल्य हो भने $OX_2$ सन्तुलित परिमाण हो ।
(ङ) पूर्ण प्रतिस्पर्धा र एकाधिकार बजार संरचनाबिचका भिन्नता
पूर्ण प्रतिस्पर्धा र एकाधिकार बजार दुई विपरीत प्रकृतिका बजार संरचना हुन् । विक्रेताको सङ्ख्या, औसत तथा सीमान्त आय, मूल्यको निर्धारण, प्रवेश तथा बहिर्गमनलगायतका पक्षमा यी बजार संरचनामा भिन्नता पाइन्छ । यी दुई बजार संरचनाका मुख्य भिन्नतालाई दिइएको तालिकामा प्रस्तुत गरिएको छ :
| पूर्ण प्रतिस्पर्धा र एकाधिकार बजारबिचको भिन्नता | |||
|---|---|---|---|
| क्र. सं. | भिन्नताका आधार | पूर्ण प्रतिस्पर्धा बजार | एकाधिकार बजार |
| १. | क्रेता र विक्रेताको सङ्ख्या | पूर्ण प्रतिस्पर्धा बजारमा अधिक सङ्ख्यामा क्रेता तथा विक्रेता हुन्छन् । | एकाधिकार बजारमा अधिक सङ्ख्यामा क्रेता र एक मात्र विक्रेता हुन्छ । |
| २. | वस्तुको प्रकृति | पूर्ण प्रतिस्पर्धा बजारमा हरेक फर्मले उत्पादन गर्ने वस्तु समरूपी (homogeneous) हुन्छन् । | एकाधिकार बजारमा फर्मले उत्पादन गर्ने वस्तुको निकट प्रतिस्थापक (close substitute) वस्तु हुँदैन । |
| ३. | प्रवेश तथा बहिर्गमन | पूर्ण प्रतिस्पर्धा बजारमा फर्महरूको प्रवेश र बहिर्गमनमा स्वतन्त्रता हुन्छ । | एकाधिकार बजारमा फर्महरूको प्रवेशमा बन्देज लगाइएको हुन्छ । |
| ४. | मूल्य | पूर्ण प्रतिस्पर्धा बजारमा वस्तुको मूल्य समान (identical) हुन्छ । | एकाधिकार बजारमा वस्तुको मूल्यमा भिन्नता हुन्छ । |
| ५. | मूल्य निर्धारण | पूर्ण प्रतिस्पर्धा बजारमा फर्म मूल्य स्वीकारक (price taker) हुन्छ । | एकाधिकार बजारमा फर्म मूल्य निर्धारक (price maker) हुन्छ । |
| ६. | औसत र सीमान्त आय | पूर्ण प्रतिस्पर्धा बजारमा औसत र सीमान्त आय बराबर र स्थिर हुन्छ । | एकाधिकार बजारमा औसत आयभन्दा सीमान्त आय कम हुन्छ र दुवै क्रमशः घट्दै जान्छन् । |
२. अभ्यास (Exercise) – समाधानसहित
अति छोटो उत्तर आउने प्रश्नहरू [1 Mark]
३. अभ्यास: छोटो उत्तर आउने प्रश्नहरू [5 Marks]
- स्थान वा सञ्चारको माध्यम: क्रेता-विक्रेता भेट हुने भौतिक ठाउँ वा इन्टरनेट/टेलिफोन जस्तो सञ्चार माध्यम।
- क्रेता तथा विक्रेता: खरिद गर्ने र बिक्री गर्ने दुवै पक्षको उपस्थिति।
- वस्तु तथा सेवा: विनिमय गर्नका लागि उपलब्ध आर्थिक वस्तु वा सेवा।
- इच्छा वा क्षमता: क्रेतामा किन्ने र विक्रेतामा बेच्ने इच्छा र क्षमता हुनु।
- मूल्य: वस्तु तथा सेवा विनिमय गर्नका लागि दुवै पक्ष सहमत भएको निश्चित मूल्य।
- १. पूर्ण प्रतिस्पर्धा बजार: यो त्यस्तो काल्पनिक बजार संरचना हो जहाँ अधिक सङ्ख्यामा क्रेता र विक्रेता हुन्छन् र सबैले समरूपी (एउटै गुणस्तर र आकारका) वस्तुको कारोबार गर्छन्। यस बजारमा व्यक्तिगत फर्मको कुनै नियन्त्रण हुँदैन र बजारभरि वस्तुको एउटै मूल्य कायम हुन्छ। फर्महरू यहाँ ‘मूल्य स्वीकारक’ हुन्छन्।
- २. अपूर्ण प्रतिस्पर्धा बजार: पूर्ण प्रतिस्पर्धा नभएको अवस्थालाई अपूर्ण प्रतिस्पर्धा भनिन्छ। यसलाई एकाधिकात्मक प्रतिस्पर्धा, अल्पाधिकार, एकाधिकार र एक क्रेताधिकार गरी चार भागमा बाँडिन्छ। यसअन्तर्गतको मुख्य रूप एकाधिकार बजार हो, जहाँ अधिक सङ्ख्यामा क्रेता भए पनि विक्रेता एक मात्र हुन्छ। उसले बेच्ने वस्तुको अर्को विकल्प हुँदैन र ऊ आफैँ ‘मूल्य निर्धारक’ हुन्छ।
| क्र.सं. | भिन्नताका आधार | पूर्ण प्रतिस्पर्धा बजार | एकाधिकार बजार |
|---|---|---|---|
| १. | क्रेता र विक्रेता | अधिक सङ्ख्यामा क्रेता तथा विक्रेता दुवै हुन्छन्। | अधिक क्रेता हुन्छन् तर विक्रेता एक मात्र हुन्छ। |
| २. | वस्तुको प्रकृति | हरेक फर्मले उत्पादन गर्ने वस्तु समरूपी (Homogeneous) हुन्छन्। | उत्पादित वस्तुको निकट प्रतिस्थापक (Close substitute) हुँदैन। |
| ३. | मूल्य निर्धारण | फर्म मूल्य स्वीकारक (Price taker) हुन्छ। | फर्म आफैँ मूल्य निर्धारक (Price maker) हुन्छ। |
| ४. | प्रवेश/बहिर्गमन | फर्महरूलाई बजारमा प्रवेश गर्न र बाहिरिन पूर्ण स्वतन्त्रता हुन्छ। | नयाँ फर्महरूको प्रवेशमा पूर्ण बन्देज लगाइएको हुन्छ। |
| ५. | आय रेखाहरू | औसत आय (AR) र सीमान्त आय (MR) बराबर र स्थिर हुन्छन्। | औसत आय (AR) भन्दा सीमान्त आय (MR) कम हुन्छ र दुवै तल झरेका हुन्छन्। |
४. लामो उत्तर आउने प्रश्नहरू [8 Marks]
१. स्थानीय बजार (Local Market): कुनै निश्चित गाउँ, सहर वा स्थानीय क्षेत्रमा मात्र उत्पादन हुने र सोही स्थान विशेषमा मात्र खरिदबिक्री हुने वस्तुहरूको बजारलाई स्थानीय बजार भनिन्छ। यस बजारमा विशेषगरी छिटो नाश भएर जाने वा बिग्रने प्रकृतिका वस्तुहरूको कारोबार हुन्छ।
उदाहरण: गाउँघरमा लाग्ने साप्ताहिक हाटबजार जहाँ ताजा तरकारी, सागपात, माछामासु, दुधदही आदि बेचिन्छन्।
२. राष्ट्रिय बजार (National Market): देशको कुनै एक निश्चित क्षेत्रमा उत्पादन भए पनि त्यस वस्तुको बिक्रीवितरण देशका विभिन्न भाग वा देशभरि नै हुन्छ भने त्यसलाई राष्ट्रिय बजार भनिन्छ। यस्ता वस्तुहरू सामान्यतया लामो समयसम्म टिकाउ हुने प्रकृतिका हुन्छन्।
उदाहरण: तराईमा फलेको धान वा चामल देशभर आपूर्ति हुनु, हेटौंडा वा उदयपुरको सिमेन्ट देशभर बिक्री हुनु, नेपालमा उत्पादित कपडा वा फर्निचरको खरिदबिक्री हुनु।
३. अन्तर्राष्ट्रिय बजार (International Market): कुनै वस्तु वा सेवाको खरिदबिक्री एउटा देशको भौगोलिक सीमाभित्र मात्र सीमित नरही संसारका विभिन्न देशहरूबिच (आयात र निर्यातका रूपमा) हुन्छ भने त्यसलाई अन्तर्राष्ट्रिय बजार भनिन्छ।
उदाहरण: सुन, मोटर, मोबाइल फोन, क्यामेरा जस्ता वस्तुहरू विदेशबाट आयात हुनु र नेपालबाट चिया, कफी, अलैंची, गलैँचा र हस्तकलाका सामग्रीहरू विदेशमा निर्यात हुनु अन्तर्राष्ट्रिय बजारका उदाहरण हुन्।
रेखाचित्रको व्याख्या: माथिको रेखाचित्रमा X-अक्षमा वस्तुको उत्पादन परिमाण र Y-अक्षमा मूल्य (P), सीमान्त आय (MR), र सीमान्त लागत (MC) मापन गरिएको छ। मूल्य स्थिर भएकाले MR रेखा X-अक्षसँग समानान्तर छ। MC रेखा U आकारको छ। चित्रमा MC वक्ररेखाले MR वक्ररेखालाई दुईओटा विन्दुहरू $e_1$ र $e_2$ मा काटेको छ। दुवै विन्दुमा $MC = MR$ भएको छ (पहिलो सर्त पूरा)। तर $e_1$ विन्दुमा MC रेखाले MR रेखालाई माथिबाट काटेको छ, त्यसैले यो सन्तुलन विन्दु होइन। विन्दु $e_2$ मा भने MC रेखाले MR रेखालाई तलबाट काटेको छ, जसले गर्दा यहाँ फर्म सन्तुलनको दोस्रो सर्त (पर्याप्त सर्त) पनि पूरा भएको छ। अतः, $e_2$ नै फर्मको सन्तुलन विन्दु हो। यस विन्दुमा फर्मको सन्तुलित मूल्य $OP$ र सन्तुलित उत्पादन परिमाण $OX_2$ कायम हुन्छ।
रेखाचित्रको व्याख्या: माथिको रेखाचित्रमा X-अक्षमा वस्तुको बिक्री परिमाण र Y-अक्षमा मूल्य, सीमान्त आय (MR) र सीमान्त लागत (MC) देखाइएको छ। MR वक्ररेखा माथिबाट तल झरेको छ। MC वक्ररेखा U आकारको जस्तो छ। चित्रमा MC र MR वक्ररेखाहरू $e_1$ र $e_2$ दुई स्थानमा एकआपसमा बराबर भएका छन्। विन्दु $e_1$ मा MC रेखाले MR लाई माथिबाट काटेर तल झरेको हुनाले यो फर्मको सन्तुलन विन्दु होइन (किनकि यहाँ उत्पादन बढाउँदा नाफा अझै बढ्ने सम्भावना रहन्छ)। तर, विन्दु $e_2$ मा पुग्दा MC वक्ररेखाले MR वक्ररेखालाई तलबाट काटेर माथि गएको छ, जहाँ $MC = MR$ पनि छ। तसर्थ, यहाँ सन्तुलनका दुवै सर्तहरू पूरा भएकाले $e_2$ नै एकाधिकार फर्मको सन्तुलन विन्दु हो। यस अवस्थामा फर्मको सन्तुलित मूल्य $OP$ कायम हुन्छ भने सन्तुलित उत्पादन परिमाण $OX_2$ निर्धारण हुन्छ।
५. थप अभ्यास
(Additional Exercises & Numerical Problems)
खण्ड ‘क’: अति सङ्क्षिप्त प्रश्नोत्तरहरू (Very Short Answer Questions)
खण्ड ‘ख’: सङ्क्षिप्त तथा लामो उत्तर आउने प्रश्नहरू (Short/Long Answer Questions)
एकाधिकार बजारका चार प्रमुख विशेषताहरू:
- १. एक मात्र बिक्रेता र धेरै क्रेताहरू: बजारमा वस्तु उत्पादन गर्ने वा सेवा दिने एउटा मात्र फर्म हुन्छ, तर खरिद गर्ने उपभोक्ताहरू भने लाखौँको सङ्ख्यामा हुन्छन्।
- २. निकट प्रतिस्थापन वस्तुको अभाव: एकाधिकारीले उत्पादन गरेको वस्तुको सट्टामा प्रयोग गर्न मिल्ने अर्को उस्तै प्रकारको वस्तु बजारमा पाइँदैन।
- ३. प्रवेशमा निषेध (Barriers to Entry): यस बजारमा नयाँ कम्पनी वा फर्महरूलाई व्यवसायमा प्रवेश गर्न कानुनी, प्राविधिक वा आर्थिक रूपमा कडा रोक लगाइएको हुन्छ।
- ४. फर्म नै उद्योग हुनु: एउटा मात्र उत्पादक हुने भएकाले यस बजारमा फर्म र उद्योगबीच कुनै भिन्नता हुँदैन। सिङ्गो फर्मले नै उद्योगको प्रतिनिधित्व गर्दछ।
पूर्ण प्रतिस्पर्धा एउटा यस्तो आदर्श बजार अवस्था हो जहाँ कुनै पनि व्यक्तिगत क्रेता वा विक्रेताले वस्तुको मूल्यलाई प्रभाव पार्न सक्दैन। यसका प्रमुख विशेषताहरू निम्नानुसार छन्:
- १. क्रेता र विक्रेताहरूको अत्यधिक सङ्ख्या: यस बजारमा सामान किन्ने र बेच्ने मानिसहरूको सङ्ख्या यति धेरै हुन्छ कि, कुनै एक जनाले खरिद वा बिक्री घटाउँदा वा बढाउँदा समग्र बजार मूल्यमा कुनै असर पर्दैन।
- २. समरूपी वस्तु (Homogeneous Products): सबै फर्महरूले उत्पादन गर्ने वस्तुहरू रूप, रङ्ग, आकार, गुणस्तर र तौल सबै दृष्टिकोणले एकैनासका हुन्छन्। कुन कम्पनीको सामान हो भनेर छुट्याउन सकिँदैन।
- ३. बजारको पूर्ण ज्ञान (Perfect Knowledge): क्रेता र विक्रेता दुवैलाई बजारमा कुन वस्तुको मूल्य कति छ र कहाँ पाइन्छ भन्ने कुराको सम्पूर्ण जानकारी हुन्छ।
- ४. स्वतन्त्र प्रवेश र बहिर्गमन: कुनै पनि नयाँ फर्मले नाफा देखेमा सजिलै उद्योगमा प्रवेश गर्न सक्छ र घाटा भएमा जुनसुकै बेला व्यवसाय छोडेर बाहिरिन पूर्ण स्वतन्त्रता हुन्छ।
- ५. समान मूल्य: बजारमा माग र पूर्तिको आधारमा उद्योगले तय गरेको एउटै मूल्य सबै तिर लागू हुन्छ। तसर्थ, फर्महरू केवल मूल्य स्वीकारक (Price Takers) हुन्छन्।
पूर्ण प्रतिस्पर्धात्मक बजारमा कुनै एउटा फर्म वा क्रेताले वस्तुको मूल्य तोक्न सक्दैन। यस बजारमा वस्तुको मूल्य समग्र बजारको कुल माग (Market Demand) र कुल पूर्ति (Market Supply) को आपसी अन्तरक्रियाबाट निर्धारण हुन्छ। जुन मूल्यमा बजारमा उपभोक्ताले माग गरेको कुल परिमाण र उत्पादकले बेच्न ल्याएको कुल पूर्ति परिमाण ठ्याक्कै बराबर हुन्छन्, त्यसैलाई ‘सन्तुलित मूल्य’ (Equilibrium Price) भनिन्छ।
तालिकाद्वारा व्याख्या:
| मूल्य (P) | माग परिमाण (D) | पूर्ति परिमाण (S) | अवस्था |
|---|---|---|---|
| १० | १५ | ५ | अधिक माग (मूल्य बढ्ने दबाब) |
| २० | १० | १० | सन्तुलन (माग = पूर्ति) |
| ३० | ५ | १५ | अधिक पूर्ति (मूल्य घट्ने दबाब) |
विश्लेषण: माथिको तालिकामा वस्तुको मूल्य रु. १० हुँदा बजारमा पूर्ति (५) भन्दा माग (१५) बढी छ, जसले मूल्यलाई माथितिर धकेल्छ। मूल्य रु. ३० पुग्दा माग (५) भन्दा पूर्ति (१५) बढी हुन्छ र सामान नबिकेर मूल्य घट्न थाल्छ। तर मूल्य रु. २० हुँदा माग र पूर्ति दुवै बराबर (१० एकाइ) छन्। त्यसैले रु. २० सन्तुलित मूल्य हो।
रेखाचित्रमा प्रस्तुत गर्दा, तलतिर झुकेको माग वक्ररेखा (DD) र माथितिर गएको पूर्ति वक्ररेखा (SS) जुन बिन्दु (E) मा काटिन्छन्, त्यहाँ सन्तुलित मूल्य र परिमाण निर्धारण हुन्छ।
- १. मुख्य उद्देश्य: जुनसुकै बजार संरचना भए पनि यसभित्र सञ्चालित फर्महरूको एकमात्र प्रमुख लक्ष्य भनेको आफ्नो लागत न्यूनतम गरी ‘अधिकतम नाफा’ (Profit Maximization) कमाउनु नै हो।
- २. क्रेताको सङ्ख्या: दुवै बजार संरचनाहरूमा वस्तु खरिद गर्ने उपभोक्ता वा क्रेताहरूको सङ्ख्या अत्यधिक ठूलो हुन्छ।
- ३. सन्तुलनका सर्तहरू: दुवै बजारमा फर्म सन्तुलनमा हुनका लागि एउटै गणितीय सर्त पूरा हुनुपर्छ: सीमान्त लागत र सीमान्त आय बराबर हुनुपर्छ ($MC = MR$) र MC रेखाले MR रेखालाई तलबाट काटेको हुनुपर्छ।
- ४. लागत रेखाहरूको आकार: उत्पादनमा परिवर्तनशील अनुपातको नियम लागू हुने भएकाले दुवै बजारमा अल्पकालीन औसत लागत (AC) र सीमान्त लागत (MC) रेखाहरू अङ्ग्रेजी अक्षर ‘U’ आकारका हुन्छन्।
गणितीय समस्याहरू (Numerical Problems)
५. यदि एक फर्मको कुल आय रु. १८,००० र कुल लागत रु. १३,००० छ भने कुल नाफा निकाल्नुहोस्।
समाधान:
दिइएको, कुल आय ($TR$) = रु. १८,०००
कुल लागत ($TC$) = रु. १३,०००
हामीलाई थाहा छ, नाफा ($\pi$) = $TR – TC$
तसर्थ, नाफा = १८,००० – १३,००० = रु. ५,०००
$\therefore$ फर्मको कुल नाफा रु. ५,००० रहेको छ।
६. यदि कुल लागत रु. १,००० र कुल आय रु. १,२०० भए कुल नाफा पत्ता लगाउनुहोस्।
समाधान:
दिइएको, कुल आय ($TR$) = रु. १,२००
कुल लागत ($TC$) = रु. १,०००
हामीलाई थाहा छ, नाफा ($\pi$) = $TR – TC$
तसर्थ, नाफा = १,२०० – १,००० = रु. २००
$\therefore$ कुल नाफा रु. २०० रहेको छ।
७. $P = \text{रु. } 30$, $Q = 10 \text{ एकाइ}$ र $AC = \text{रु. } 25$ भएको फर्मको नाफा गणना गर्नुहोस्।
समाधान:
दिइएको विवरण:
मूल्य ($P$) = रु. ३०
उत्पादन परिमाण ($Q$) = १० एकाइ
औसत लागत ($AC$) = रु. २५
हामीलाई थाहा छ,
कुल आय ($TR$) = मूल्य $\times$ परिमाण ($P \times Q$) $\rightarrow$ $TR$ = ३० $\times$ १० = रु. ३००
कुल लागत ($TC$) = औसत लागत $\times$ परिमाण ($AC \times Q$) $\rightarrow$ $TC$ = २५ $\times$ १० = रु. २५०
अब, नाफा ($\pi$) = $TR – TC$
$\rightarrow$ नाफा = ३०० – २५० = रु. ५०
$\therefore$ फर्मको कुल नाफा रु. ५० रहेको छ।
८. तलको तालिका मनन गर्नुहोस् र दिइएको प्रश्नको उत्तर दिनुहोस्।
| वस्तुको बजार मूल्य (रु./केजी) | वस्तुको बजार माग (केजीमा) | वस्तुको बजार पूर्ति (केजीमा) |
|---|---|---|
| १ | १० | २ |
| २ | ८ | ४ |
| ३ | ६ | ६ |
| ४ | ४ | ८ |
| ५ | २ | १० |
a. दिइएको तालिकाका आधारमा वस्तुको बजार माग र पूर्ति वक्ररेखाहरू एउटै रेखाचित्रमा खिच्नुहोस्।
उत्तर:
b. रेखाचित्रका आधारमा वस्तुको बजार मूल्य र माग परिमाणका साथसाथै बजार मूल्य र पूर्ति परिमाणबीचको सम्बन्ध पहिचान गर्नुहोस्।
उत्तर: तथ्याङ्क र रेखाचित्रले के देखाउँछ भने, वस्तुको मूल्य बढ्दै जाँदा माग परिमाण घट्दै गएको छ, जसले मूल्य र मागबीच ऋणात्मक (Inverse) सम्बन्ध रहेको पुष्टि गर्छ। त्यसैगरी, वस्तुको मूल्य बढ्दै जाँदा पूर्ति परिमाण पनि बढ्दै गएको छ, जसले मूल्य र पूर्तिबीच धनात्मक (Direct) सम्बन्ध रहेको देखाउँछ।
c. रेखाचित्रबाट सन्तुलित मूल्य र सन्तुलित परिमाण पत्ता लगाउनुहोस्।
उत्तर: रेखाचित्रमा माग र पूर्ति रेखाहरू रु. ३ को मूल्य र ६ केजी परिमाण भएको बिन्दुमा काटिएका छन्। तसर्थ, यस बजारमा सन्तुलित मूल्य रु. ३ र सन्तुलित परिमाण ६ केजी हो।
📚 Also Read: Class 10 SEE Notes
Compulsory Subjects
Optional Subjects
