5. International Trade: Class 10 Economics Notes | अन्तर्राष्ट्रिय व्यापार
Importantedunotes.com
Back to Economics Notes

Welcome to the complete study guide on International Trade (अन्तर्राष्ट्रिय व्यापार) under Macroeconomics. This is Chapter 2 of Unit 3 for Class 10 Economics students in Nepal preparing for their SEE board exams.

Here you will find structured theoretical notes on Free Trade, Protection Trade, Balance of Trade, BOP, SAFTA, and WTO, along with fully solved textbook exercises and additional problems.

Explore our complete study list here: Class 10 Economics Notes.

१. सैद्धान्तिक अवधारणा (Theoretical Concept)

परिचय

कुनै देशले आफूलाई आवश्यक पर्ने सम्पूर्ण वस्तु उत्पादन गर्न सक्दैन । भौगोलिक जटिलता, उत्पादनको विशिष्टीकरणको अभाव, कच्चापदार्थको अपर्याप्तता जस्ता कारणले गर्दा कुनै एक देश बाँकी अन्य देशसँग अन्तर्राष्ट्रिय व्यापारमा संलग्न हुनुपर्छ । एकआपसमा लाभ प्राप्त गर्ने उद्देश्यले विभिन्न राष्ट्रबिच हुने वस्तुको आयात तथा निर्यात अन्तर्राष्ट्रिय व्यापार हो । सामान्यतः अन्तर्राष्ट्रिय व्यापारअन्तर्गत स्वदेशमा उत्पादन गर्दा तुलनात्मक रूपमा बढी लागत पर्ने वस्तुहरू विदेशबाट आयात गरिन्छ भने उत्पादन लागत तुलनात्मक रूपमा कम पर्ने वस्तुहरू विदेशमा निर्यात गरिन्छ ।

(क) अन्तर्राष्ट्रिय व्यापारको अर्थ (Meaning of International Trade)

विश्वको कुनै एक देशको बाँकी देशसँगको वस्तुको कारोबारलाई अन्तर्राष्ट्रिय व्यापार भनिन्छ । अन्तर्राष्ट्रिय व्यापारमा एक निश्चित समयावधिको वस्तुहरूको कारोबार मात्र समावेश हुन्छ । अन्तर्राष्ट्रिय व्यापारका दुई पक्षहरू छन् आयात व्यापार र निर्यात व्यापार । आयातले विदेशबाट स्वदेशमा पैठारी हुने वस्तुको मौद्रिक मूल्यलाई जनाउँछ भने निर्यातले स्वदेशबाट विदेशमा निकासी हुने वस्तुको मौद्रिक मूल्यलाई बुझाउँछ ।

डि. जी. लकेट (D. G. Locket) का अनुसार कुनै एक राष्ट्रका नागरिकले अर्को राष्ट्रको नागरिकबाट वस्तु तथा सेवा खरिद गर्ने कार्यलाई अन्तर्राष्ट्रिय व्यापार भनिन्छ (The purchase of goods and services by the citizens of one country from the citizens of another country is called international trade.) । उदाहरणका लागि नेपालमा उत्पादन भएका चिया, कफी, अलैंची, जुट, गलैंचा, तयारी पोसाक आदि विश्वका विभिन्न देशमा निर्यात हुने गर्छ । त्यसै गरी सुन, विद्युतीय सामग्री, पेट्रोलियम पदार्थ, औषधी आदि वस्तुहरू नेपालले अन्य देशबाट आयात गर्छ ।

(ख) अन्तर्राष्ट्रिय व्यापारको महत्त्व (Importance of International Trade)

दैनिक आवश्यक वस्तुको परिपूर्ति गर्न, जनताको जीवनस्तर सुधार गर्न, स्वदेशी तथा विदेशी वस्तुबिच तुलनात्मक लाभ हासिल गर्न, विदेशी मुद्रा आर्जन गर्न अन्तर्राष्ट्रिय व्यापारले महत्त्वपूर्ण भूमिका खेल्छ । अन्तर्राष्ट्रिय व्यापारका केही प्रमुख महत्त्वहरू निम्नानुसार छन् :

(अ) विशिष्टीकरणको फाइदा (Advantage of Specialization): अन्तर्राष्ट्रिय व्यापारमा विशिष्टीकरण भनेको कुनै पनि देशले कुनै खास वस्तु अन्य देशको तुलनामा कम लागतमा उत्पादन गर्न सक्षम हुनु हो । त्यसैले आफ्नो देशमा कम लागतमा उत्पादन हुने तर अन्य देशमा बढी लागतमा उत्पादन हुने वस्तुको उत्पादनमा विशिष्टीकरण हासिल गरी निर्यात गर्नुपर्छ ।
(आ) बजारको विस्तार (Expansion of Market): बजारको विस्तार भनेको आफ्नो देशमा उत्पादित वस्तु संसारका विभिन्न देशमा उपलब्ध गराउन सक्नु हो । देशमा उत्पादित वस्तु कम मूल्य तथा उच्च गुणस्तरका छन् भने अन्तर्राष्ट्रिय व्यापारका माध्यमबाट विश्वका जुनसुकै देशमा निर्यात गर्न सकिन्छ । यसले वस्तुको बजार विस्तार भई अन्तर्राष्ट्रिय स्तरसम्म पुग्छ ।
(इ) मानवस्रोतको परिचालन (Mobilization of Human Resources): मानवस्रोतको परिचालन भनेको वस्तु उत्पादनदेखि वितरणसम्म मानव स्रोतको प्रयोगलाई जनाउँछ । यसो गर्दा देशमा मानवस्रोतको गतिशीलता बढाउन सकिन्छ र सामान्यदेखि दक्ष जनशक्तिले आफ्नो क्षमताअनुसार रोजगारी पाउने सम्भावना हुन्छ ।
(ई) कच्चापदार्थको उपलब्धता (Availability of Raw Material): अन्तर्राष्ट्रिय व्यापारमा वस्तु उत्पादनका लागि आवश्यक कच्चापदार्थ पनि आयात निर्यात गरिन्छ । उदाहरणका लागि नेपालका फलाम र सिमेन्ट उद्योगहरूले आवश्यक पर्ने कच्चापदार्थ भारत एवम् अन्य देशहरूबाट आयात गर्छन् । कच्चापदार्थको आयात निर्यातले कुनै पनि मुलुकमा औद्योगिक विकास गर्न प्रत्यक्ष सहयोग गर्छ । साथै देशमा प्रयोग र पहिचान नभएका कच्चापदार्थको पनि सदुपयोग हुन जान्छ ।
(उ) विज्ञान र प्रविधिको विस्तार (Expansion of Science and Technology): अन्तर्राष्ट्रिय व्यापारमार्फत एक देशबाट अर्को देशमा विज्ञान र प्रविधिको विस्तार हुन्छ । यसले वस्तु उत्पादन तथा वितरण सहज भई आयात तथा निर्यातमा पनि सहयोग गर्छ ।

(ग) स्वतन्त्र व्यापार नीतिको अवधारणा (Concept of Free Trade Policy)

सरकारले कुनै किसिमको नियन्त्रण र बन्देज नगरी वस्तु तथा सेवाहरूको स्वतन्त्र आयातनिर्यात गर्न दिने नीति नै स्वतन्त्र व्यापार नीति (free trade policy) हो । स्वतन्त्र व्यापारसम्बन्धी अवधारणा शास्त्रीय अर्थशास्त्रीहरूको विचारधारासँग सम्बन्धित छ । उनीहरूका अनुसार राष्ट्रको आर्थिक विकासका लागि स्वतन्त्र व्यापारको महत्त्वपूर्ण भूमिका हुन्छ । सरकारले कुनै पनि हस्तक्षेपविना स्वतन्त्र रूपमा अन्तर्राष्ट्रिय व्यापार सञ्चालन गर्न दिनुपर्छ । कोटा, बन्देज, नियमनलगायतका व्यापारिक अवरोध लगाउनु हुँदैन ।

अतः स्वतन्त्र व्यापारअन्तर्गत कुनै पनि देशमा स्वदेशी वस्तु र विदेशी वस्तुमा भेदभाव गरिँदैन । यसरी विनाभेदभाव देशहरूबिच वस्तु आयातनिर्यात गरिने भएकाले यसलाई अहस्तक्षेपकारी व्यापार नीति पनि भनिन्छ ।

स्वतन्त्र व्यापार नीतिका फाइदाहरू (Advantages of Free Trade Policy)

(अ) उत्पादन वृद्धि (Increase in Production): स्वतन्त्र व्यापारले वस्तुको उत्पादन बढाउन मदत गर्छ । वस्तु उपलब्धता र छनोट सहज हुने भएकाले विश्वका बजारमा उपभोक्ताको माग पनि बढी हुन्छ । माग बढ्दा वस्तुको उत्पादन पनि वृद्धि हुन जान्छ ।
(आ) उपभोक्तालाई फाइदा (Benefits to the Consumers): स्वतन्त्र व्यापारले वस्तु छनोट गर्ने सुविधा प्रदान गर्ने हुँदा उपभोक्तालाई फाइदा हुन्छ । जुन वस्तु गुणस्तरीय र कम मूल्यको हुन्छ त्यही वस्तु उपभोक्ताले खरिद गर्छन् । यसो गर्दा उपभोक्तालाई उच्चतम सन्तुष्टि पनि मिल्छ ।
(इ) बजारको पहुँच (Access of Market): स्वतन्त्र व्यापारले विश्व बजारमा सहज पहुँच विस्तार गर्न मदत गर्छ । वस्तु आयातनिर्यात स्वतन्त्र हुँदा उपभोक्ताले चाहनाअनुसारको वस्तु प्राप्त सक्छन् । स्वदेशी उपभोक्ताले विदेशी वस्तु चाहेको वेला पाउन सक्छन् भने विदेशी उपभोक्तालाई पनि स्वदेशी वस्तु उपलब्ध गराउन सकिन्छ ।
(ई) स्वस्थ प्रतिस्पर्धामा प्रवर्धन (Promotes Fair Competition): स्वतन्त्र व्यापारले अन्तर्राष्ट्रिय बजारमा उत्पादित वस्तुबिच स्वस्थ प्रतिस्पर्धा गराउन मदत गर्छ । उत्पादित वस्तुहरू अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्दा मूल्य, गुणस्तर आदिमा प्रतिस्पर्धा हुन्छ । अन्य देशका वस्तुसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले स्वदेशी उत्पादकको प्रतिस्पर्धात्मक क्षमता पनि विकास हुन्छ ।
(उ) अन्तर्राष्ट्रिय सम्बन्ध (International Relation): स्वतन्त्र व्यापारले कुनै पनि देशको बाह्य सम्बन्धलाई सुदृढ बनाउँछ । वस्तुको आयातनिर्यातमार्फत मानवीय सम्बन्धका विभिन्न पक्षहरूलाई जोड्ने काम हुन्छ । दुई देशबिचको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध विस्तार हुन्छ ।

स्वतन्त्र व्यापार नीतिका बेफाइदाहरू (Disadvantages of Free Trade Policy)

(अ) आर्थिक अस्थिरता (Economic Instability): स्वतन्त्र व्यापारका कारण आर्थिक अस्थिरता आउन सक्ने खतरा हुन सक्छ । विश्वमा शक्तिशाली देशबिच बढ्दो व्यापारिक होडबाजीका कारण व्यापारमा अवरोध हुन सक्छ । फलस्वरूप वस्तुको स्वतन्त्र आयातनिर्यातमा असर पुगी आर्थिक असन्तुलन देखिन थाल्छ ।
(आ) रोजगारीमा असर (Impact on Employment): स्वतन्त्र व्यापारले रोजगारीलाई समेत असर गर्न सक्छ । साना तथा घरेलु उद्योगहरू बन्द हुने, स्वदेशी उत्पादनसमेत घट्दै जाने कारणले रोजगारीमा कमी आउँछ । त्यसै गरी ठुलो परिमाणमा वस्तु उत्पादन गर्दा मानिसले गर्ने कामलाई मेसिनले विस्थापित गर्ने भएकाले रोजगारी गुम्ने भय पनि उत्तिकै रहन्छ ।
(इ) आर्थिक विवाद (Economic Dispute): अन्तर्राष्ट्रिय व्यापारमा संलग्न देशबिच वस्तु आयातनिर्यातका क्रममा आर्थिक विवाद उत्पन्न हुन सक्छ। कर विवाद, सम्झौता उल्लङ्घन, स्रोतसाधनको बाँडफाँट, मूल्य भुक्तानीलगायतका कारणले आर्थिक विवाद हुन्छ । यसले वस्तु आयातनिर्यातमा प्रभाव पार्न सक्छ । परिणामस्वरूप उपभोक्ताले नाकाबन्दी, आपूर्ति अवरोध जस्ता अप्रिय घटनाको सामना गर्नुपर्ने हुन्छ ।
(ई) स्वदेशी उद्योगमा सङ्कट (Crisis in Domestic Industries): स्वतन्त्र व्यापार नीतिले विकासोन्मुख देशका उद्योगमा सङ्कट उत्पन्न हुन सक्छ । विकसित देशले उच्चस्तरको प्रविधि र जनशक्ति प्रयोग गरेर सस्तो मूल्यमा उत्पादन गर्छन् । विकासोन्मुख देशले नयाँ प्रविधि एवम् पुँजीको अभावका कारणले महङ्गो मूल्यमा कम परिमाणमा उत्पादन गर्छन् । यसरी स्वदेशी उद्योगको उत्पादनले आन्तरिक माग पूरा नहुँदा आयातित वस्तुको प्रभाव बढ्न सक्छ । विदेशी उत्पादनसँग प्रतिस्पर्धात्मक उत्पादन क्षमता भएन भने स्वदेशी उद्योगले सङ्कटको सामना गर्नुपर्छ ।
(उ) विकसित देशद्वारा शोषण (Exploitation by Developed Countries): स्वतन्त्र व्यापार नीतिमा विकासोन्मुख देशका स्रोत र साधनलाई विकसित देशले पनि प्रयोग गरिरहेका हुन्छन् । यसरी आयात गरिएका कच्चापदार्थलाई उच्च प्रविधिको माध्यमबाट उत्पादन गरेर पुनः विकासोन्मुख देशमा निर्यात गर्छन् । यसले एकातिर परनिर्भरता बढाउँछ भने अर्कोतिर विकासोन्मुख देशको कच्चापदार्थ, कामदारलगायत स्रोत कम मूल्यमा प्रयोग हुँदा तिनीहरूको शोषण हुन्छ ।

(घ) संरक्षण व्यापार नीतिको अवधारणा (Concept of Protection Trade Policy)

अन्तर्राष्ट्रिय व्यापारमा वस्तुको आयातमा विभिन्न प्रकारका प्रतिबन्ध, अङ्कुश वा अवरोध खडा गरेर स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीतिलाई संरक्षण व्यापार नीति भनिन्छ । सरकारले स्वदेशी उद्योगलाई विभिन्न शीर्षकमा अनुदान तथा सहुलियत दिने र विदेशी वस्तुको आयातमा उच्च दरमा भन्सार महसुल लगाउने नीति संरक्षण व्यापारले लिन्छ । यस नीतिले स्वदेशी उद्योगले उत्पादन गरेका वस्तुको प्रयोग बढाउन आयातलाई नियन्त्रण गरी स्वदेशी उद्योगधन्दाको विकासमा बढी जोड दिन्छ ।

विकासशील देशका उद्योगहरूले मूल्य, गुणस्तर र प्रविधिमा विकसित देशको उद्योगधन्दाको उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । त्यसैले विकासशील देशका उद्योगहरूलाई संरक्षण दिनुपर्ने हुन्छ । देशको औद्योगिकीकरण पनि क्रमशः न्यून गतिमा वृद्धि हुने कारण यस्ता उद्योगलाई निर्यातमा सहुलियत, छुट र अनुदान दिई प्रतिस्पर्धी बनाउनुपर्छ । यसले गर्दा विदेशी वस्तु महङ्गो हुन्छ र स्वदेशी वस्तुको बजार विस्तारमा मदत गर्छ ।

संरक्षण व्यापार नीतिका फाइदाहरू (Advantages of Protection Trade Policy)

(अ) रोजगारीमा वृद्धि (Increase in Employment): संरक्षण व्यापारको फाइदाहरूमा रोजगारीमा वृद्धि पनि एक हो । स्वदेशी उद्योगहरूलाई संरक्षण दिँदा देशमा उद्योगधन्दाको विकास हुन गई धेरै मानिसले रोजगारी प्राप्त गर्छन् । रोजगारीमा वृद्धि हुँदा मानिसको आयस्तरमा वृद्धि भई जीवनस्तरमा सुधार हुन्छ ।
(आ) स्वदेशी उद्योगको संरक्षण (Protection of Domestic Industry): संरक्षण व्यापारको अर्को फाइदा स्वदेशी उद्योगलाई संरक्षण गर्नु हो । विकसित देशको तुलनामा विकासशील देशमा साना र मझौला उद्योगहरूको बाहुल्यता हुन्छ । यस्ता उद्योगहरूले पुँजी लगानी, प्रविधि विकास तथा मूल्यस्तरमा विकसित देशका उद्योगसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । यस नीतिले विकासोन्मुख देशका नयाँ र शिशु अवस्थाका उद्योगहरू (infant industries) परिपक्व अवस्थामा नपुगुन्जेलसम्म संरक्षण प्रदान गर्छ ।
(इ) आधारभूत उद्योगको विकास (Development of Key Industries): संरक्षण व्यापार नीतिले आधारभूत उद्योगको विकासमा सहयोग गर्छ । देशमा औद्योगिक स्थिति सुदृढ गर्नका लागि फलाम, स्टिल, तामा, रबर तथा प्लास्टिक, रसायन, सिमेन्टलगायतका उद्योगको विकास हुनु जरुरी हुन्छ । यस्ता प्रकारका उद्योगलाई आधारभूत उद्योग भनिन्छ । यस प्रकारका आधारभूत उद्योगको विकासबाट मात्रै अन्य उद्योगको विकास सम्भव हुन्छ । संरक्षण नीतिले यस्ता उद्योगलाई कर छुट, कच्चापदार्थ खरिदमा तथा निर्यातमा सहुलियत प्रदान गरी प्रोत्साहन दिन्छ ।
(ई) प्राकृतिक साधनहरूको संरक्षण (Preservation Natural Resources): संरक्षण व्यापारको नीतिले स्वदेशमा रहेका प्राकृतिक साधनहरू संरक्षण गरी दीर्घकालसम्म आफैँले उपयोग गर्ने क्षमताको विकास गर्छ । देशभित्र रहेका खनिज, वन, वन्यजन्तु जडीबुटी आदिको दिगो उपयोग र व्यवस्थापनमार्फत प्राकृतिक स्रोतसाधनको अत्यधिक प्रयोग हुनबाट बचाउँछ ।
(उ) पुँजीको बहिर्गमन न्यूनीकरण (Minimize the Capital Outflow): संरक्षण व्यापार नीतिले देशका नागरिकलाई देशमा नै उत्पादन भएको वस्तुको उपभोग गर्नका लागि प्रोत्साहन गर्छ । सरकारले कर छुट तथा सहुलियत मूल्यमा स्वदेशी वस्तु उपलब्ध गराउने हुँदा देशको पुँजी देशमा नै रहन्छ । फलस्वरूप स्वदेशमै पुँजी निर्माणको दर उच्च हुन गई उत्पादन, रोजगारी र प्रतिव्यक्ति आयमा वृद्धि हुन्छ । साथै विदेशी वस्तु खरिदमा ठुलो धनराशि बाहिर जानबाट रोकिन्छ ।

संरक्षण व्यापार नीतिका बेफाइदाहरू (Disadvantages of Protection Trade Policy)

(अ) निर्भरता बढाउने (Increase in Dependency): संरक्षण व्यापार नीतिले स्वदेशी उद्योगको सरकारप्रतिको निर्भरता बढाउँछ । यदि सरकारले उद्योगलाई लामो समयसम्म अनुदान, छुट, सहुलियत दिएमा प्रतिस्पर्धात्मक क्षमता विकास गर्नतर्फ उद्योगहरू लाग्दैनन् । सधैंभरि सरकारकै अनुदानमा भरपर्ने तथा क्षमता विकास गर्न पहल नगर्ने हुँदा संरक्षण नीतिले घरेलु उद्योगलाई परनिर्भरतातर्फ लैजान सक्छ ।
(आ) एकाधिकार बजारको सिर्जना (Creation of Monopoly Market): व्यापारमा संरक्षण नीति लगाउनु भनेको कुनै पनि उद्योगले उत्पादन गरेको वस्तुको बजार सुरक्षित गर्नु हो । साथै अन्य देशको वस्तुलाई स्वदेशी बजार प्रवेशमा नियन्त्रण गर्नु हो । तसर्थ संरक्षित उद्योगले अन्य उत्पादकसँग प्रतिस्पर्धा गर्नुपर्दैन । यसले संरक्षित वस्तुको उत्पादकलाई मूल्य तथा गुणस्तर निर्धारण, बजार नियन्त्रण आदिमा एकाधिकार दिन्छ ।
(इ) उपभोक्ता अधिकारमा हनन (Violation of Consumer’s Right): संरक्षण नीतिले विदेशी वस्तुलाई कर लगाएर, आयातमा बन्देज लगाएर, कोटा प्रणाली लगाएर स्वदेशी वस्तुको तुलनामा महङ्गो बनाउँछ । यसले सस्तो मूल्यमा गुणस्तरीय विदेशी वस्तु उपभोग गर्न पाउने उपभोक्ताको अधिकार हनन हुन्छ ।
(ई) आर्थिक असमानता (Economic Inequality): संरक्षण व्यापार नीतिले स्वदेशी उद्योग तथा व्यापारीलाई लाभ प्रदान गरे पनि बजारमा प्रतिस्पर्धा घटाई उपभोक्तामाथि बढी मूल्यको भार पर्छ । यसले समाजमा आर्थिक असमानता बढाउँछ ।
(उ) प्राविधिक पछौटेपन (Technological Backwardness): संरक्षण व्यापार नीतिले विकसित देशमा विकास भएका नवीनतम प्रविधिको प्रवेशमा अवरोध ल्याउँछ । यसले स्वदेशमा सञ्चालित उद्योगलाई अन्तर्राष्ट्रिय प्रविधिको प्रयोगबाट वञ्चित गर्न सक्छ । फलस्वरूप प्राविधिक पछौटेपन सिर्जना भई एकातिर वस्तु उत्पादन लागत बढ्छ भने अर्कोतिर वस्तुको गुणस्तरमा ह्रास आउन सक्छ ।

२. अभ्यास (Exercise) – समाधानसहित
अति छोटो उत्तर आउने प्रश्नहरू [1 Mark]

क. अन्तर्राष्ट्रिय व्यापार भनेको के हो ?
उत्तर: दुई वा दुईभन्दा बढी राष्ट्रहरूबिच एकआपसमा लाभ प्राप्त गर्ने उद्देश्यले हुने वस्तु तथा सेवाको आयात तथा निर्यात (खरिदबिक्री) लाई अन्तर्राष्ट्रिय व्यापार भनिन्छ।
ख. अन्तर्राष्ट्रिय व्यापारको कुनै दुईओटा महत्त्वहरू लेख्नुहोस् ।
उत्तर: अन्तर्राष्ट्रिय व्यापारका दुईओटा महत्त्वहरू: १. स्वदेशी तथा विदेशी वस्तुबिच तुलनात्मक लाभ र विशिष्टीकरणको फाइदा हासिल गर्न। २. देशमा उत्पादित वस्तुको बजार विस्तार गरी विदेशी मुद्रा आर्जन गर्न।
ग. स्वतन्त्र व्यापार नीति भन्नाले के बुझिन्छ ?
उत्तर: सरकारले कुनै किसिमको नियन्त्रण, कोटा, वा बन्देज जस्ता व्यापारिक अवरोधहरू खडा नगरी वस्तु तथा सेवाहरूको स्वतन्त्र रूपमा आयात-निर्यात गर्न दिने नीतिलाई स्वतन्त्र व्यापार नीति भनिन्छ।
घ. संरक्षण व्यापार नीतिको अर्थ बताउनुहोस् ।
उत्तर: अन्तर्राष्ट्रिय व्यापारमा विदेशी वस्तुको आयातमा उच्च भन्सार महसुल, कोटा वा विभिन्न प्रतिबन्धहरू लगाएर स्वदेशी उद्योगलाई प्रोत्साहन र संरक्षण गर्ने व्यापार नीतिलाई संरक्षण व्यापार नीति भनिन्छ।
ङ. स्वतन्त्र व्यापार नीतिबाट उपभोक्ताले प्राप्त गर्ने कुनै दुईओटा फाइदा लेख्नुहोस् ।
उत्तर: स्वतन्त्र व्यापार नीतिबाट उपभोक्ताले प्राप्त गर्ने दुई फाइदाहरू: १. विश्व बजारका गुणस्तरीय वस्तुहरू आफ्नो चाहनाअनुसार छनोट गर्न पाउनु। २. प्रतिस्पर्धाका कारण सस्तो र कम मूल्यमा उच्चतम सन्तुष्टि दिने वस्तुहरू प्राप्त हुनु।
च. नेपालले निर्यात गर्ने कुनै चारओटा वस्तुको सूची बनाउनुहोस् ।
उत्तर: नेपालले विदेशमा निर्यात गर्ने चारओटा वस्तुहरू: १. चिया २. कफी ३. अलैंची ४. गलैँचा (कार्पेट) र तयारी पोसाक।

३. अभ्यास: छोटो उत्तर आउने प्रश्नहरू [5 Marks]

क. अन्तर्राष्ट्रिय व्यापारको महत्त्व उल्लेख गर्नुहोस् । 5 Marks
दैनिक आवश्यक वस्तुको परिपूर्ति गर्न र जनताको जीवनस्तर सुधार गर्न अन्तर्राष्ट्रिय व्यापारको ठुलो महत्त्व छ, जसलाई निम्न बुँदाहरूमा उल्लेख गर्न सकिन्छ:
१. विशिष्टीकरणको फाइदा: जुन वस्तु आफ्नो देशमा कम लागतमा उत्पादन हुन्छ, त्यसमा विशिष्टीकरण हासिल गरी विदेश निर्यात गर्न सकिन्छ र बढी लागत लाग्ने वस्तु आयात गर्न सकिन्छ।
२. बजारको विस्तार: स्वदेशमा उत्पादित गुणस्तरीय वस्तुहरू विश्वका जुनसुकै देशमा पुर्‍याएर बजार विस्तार गर्न सकिन्छ।
३. मानवस्रोतको परिचालन: वस्तु उत्पादनदेखि वितरणसम्म मानवस्रोतको प्रयोग हुने हुँदा सामान्यदेखि दक्ष जनशक्तिले रोजगारी पाउँछन्।
४. कच्चापदार्थको उपलब्धता: स्वदेशी उद्योग (जस्तै: फलाम, सिमेन्ट) का लागि आवश्यक पर्ने कच्चापदार्थ विदेशबाट आयात गरी औद्योगिक विकास गर्न सकिन्छ।
५. विज्ञान र प्रविधिको विस्तार: अन्तर्राष्ट्रिय व्यापारमार्फत एक देशबाट अर्को देशमा नयाँ विज्ञान र प्रविधि भित्रिन्छ, जसले उत्पादन क्षमता बढाउँछ।

ख. स्वतन्त्र व्यापार नीति यसका कुनै पाँचओटा फाइदाहरू लेख्नुहोस् । 5 Marks
सरकारले कुनै पनि हस्तक्षेपविना स्वतन्त्र रूपमा वस्तु आयात-निर्यात गर्न दिने नीति स्वतन्त्र व्यापार नीति हो। यसका पाँचओटा फाइदाहरू यस प्रकार छन्:
१. उत्पादन वृद्धि: विश्व बजारमा वस्तुको माग बढ्ने भएकाले उत्पादकहरूले धेरै परिमाणमा वस्तु उत्पादन गर्छन्, जसले उत्पादनमा वृद्धि हुन्छ।
२. उपभोक्तालाई फाइदा: उपभोक्ताले विश्वभरिका सस्तो र उच्च गुणस्तरका वस्तुहरू छनोट गरेर उपभोग गर्न पाउँछन्, जसबाट उनीहरूलाई उच्चतम सन्तुष्टि मिल्छ।
३. बजारको पहुँच: स्वदेशी वस्तुले सजिलै विदेशी बजारमा पहुँच पाउँछ भने विदेशी वस्तु पनि स्वदेशमा सहजै उपलब्ध हुन्छ।
४. स्वस्थ प्रतिस्पर्धामा प्रवर्धन: अन्तर्राष्ट्रिय बजारका वस्तुहरूसँग मूल्य र गुणस्तरमा प्रतिस्पर्धा गर्नुपर्ने हुनाले स्वदेशी उत्पादकको प्रतिस्पर्धात्मक क्षमता विकास हुन्छ।
५. अन्तर्राष्ट्रिय सम्बन्ध: दुई वा सोभन्दा बढी देशहरूबिच वस्तुको आयात-निर्यात हुँदा उनीहरूबिचको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध सुदृढ हुन्छ।

ग. स्वतन्त्र व्यापार र संरक्षण व्यापार नीतिबिचका भिन्नता छुट्याउनुहोस् । 5 Marks
स्वतन्त्र व्यापार नीति र संरक्षण व्यापार नीतिबिचका मुख्य भिन्नताहरू तलको तालिकामा प्रस्तुत गरिएको छ:
क्र.सं. भिन्नताका आधार स्वतन्त्र व्यापार नीति संरक्षण व्यापार नीति
१.परिभाषासरकारको कुनै हस्तक्षेपविना वस्तु तथा सेवाको स्वतन्त्र आयात-निर्यात गर्न दिने नीति हो।विदेशी वस्तुको आयातमा अङ्कुश लगाएर स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति हो।
२.व्यापारिक अवरोधयसमा भन्सार महसुल, कोटा वा अन्य कुनै पनि व्यापारिक बन्देजहरू हुँदैनन्।यसमा उच्च भन्सार दर, कोटा प्रणाली र आयात प्रतिबन्ध जस्ता कडा अवरोधहरू हुन्छन्।
३.प्रतिस्पर्धायसले विश्व बजारमा वस्तुहरूबिच कडा र स्वस्थ प्रतिस्पर्धा गराउँछ।यसले विदेशी प्रतिस्पर्धा घटाउँछ र स्वदेशी उद्योगको एकाधिकार सिर्जना गर्न सक्छ।
४.उपभोक्तालाई असरउपभोक्ताले सस्तो मूल्यमा छनोटका धेरै विदेशी वस्तु उपभोग गर्न पाउँछन्।विदेशी वस्तु महँगो हुने र छनोट कम हुने हुँदा उपभोक्तालाई आर्थिक भार पर्न सक्छ।
५.स्वदेशी उद्योगविकसित देशका सस्तो सामानले गर्दा विकासोन्मुख देशका स्वदेशी उद्योग सङ्कटमा पर्न सक्छन्।स्वदेशी शिशु तथा साना उद्योगहरूले पूर्ण सुरक्षा र फस्टाउने अवसर पाउँछन्।

४. लामो उत्तर आउने प्रश्नहरू [8 Marks]

क. स्वतन्त्र व्यापार नीतिका फाइदा र बेफाइदाहरू प्रस्तुत गरी वर्णन गर्नुहोस् । 8 Marks
सरकारले कुनै किसिमको नियन्त्रण र बन्देज नगरी (विना भेदभाव) वस्तु तथा सेवाहरूको स्वतन्त्र आयात-निर्यात गर्न दिने अहस्तक्षेपकारी नीतिलाई स्वतन्त्र व्यापार नीति भनिन्छ।

स्वतन्त्र व्यापार नीतिका फाइदाहरू:
१. उत्पादन वृद्धि: बजार विश्वव्यापी हुने हुँदा वस्तुको माग बढी हुन्छ, जसले गर्दा ठुलो परिमाणमा वस्तुको उत्पादन गर्न सकिन्छ।
२. उपभोक्तालाई फाइदा: उपभोक्ताले विभिन्न देशमा उत्पादित सस्तो र गुणस्तरीय वस्तुहरू आफ्नो चाहनाअनुसार छनोट गर्न पाउँछन्, जसले गर्दा उनीहरूलाई बढी फाइदा र सन्तुष्टि मिल्छ।
३. स्वस्थ प्रतिस्पर्धामा प्रवर्धन: अन्तर्राष्ट्रिय बजारका वस्तुहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले स्वदेशी उत्पादकहरूले पनि नवीन प्रविधि प्रयोग गरी सस्तो र गुणस्तरीय सामान उत्पादन गर्न बाध्य हुन्छन्, जसले क्षमता विकास गर्छ।
४. अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ: वस्तु र सेवाको आयात-निर्यातले विभिन्न देशहरूबिचको आर्थिक, सामाजिक र कूटनीतिक सम्बन्धलाई बलियो बनाउँछ।

स्वतन्त्र व्यापार नीतिका बेफाइदाहरू:
१. आर्थिक अस्थिरता: शक्तिशाली देशहरूबिचको व्यापारिक होडबाजीले गर्दा कहिलेकाहीँ व्यापारमा अवरोध आई विश्वभरि नै आर्थिक अस्थिरता र सङ्कट उत्पन्न हुन सक्छ।
२. स्वदेशी उद्योगमा सङ्कट: विकसित देशहरूले आधुनिक प्रविधिबाट उत्पादन गरेका सस्तो सामानसँग विकासोन्मुख देशका साना, घरेलु र नयाँ उद्योगहरूले प्रतिस्पर्धा गर्न नसकी बन्द हुनुपर्ने सङ्कट आउँछ।
३. रोजगारीमा असर: स्वदेशी उद्योगहरू बन्द हुँदा रोजगारी गुम्छ। साथै ठुला उद्योगले श्रमको सट्टा मेसिनको बढी प्रयोग गर्ने भएकाले बेरोजगारी बढ्ने खतरा रहन्छ।
४. विकसित देशद्वारा शोषण: विकसित देशहरूले विकासोन्मुख देशबाट सस्तोमा कच्चापदार्थ लग्ने र त्यसैबाट महँगो सामान बनाएर पुनः विकासोन्मुख देशलाई नै बेचेर शोषण गर्ने र परनिर्भरता बढाउने काम गर्छन्।

ख. संरक्षण व्यापार नीतिको परिचय दिई यसबाट नेपालले लिन सक्ने कुनै पाँचओटा लाभहरू लेख्नुहोस् । 8 Marks
संरक्षण व्यापार नीतिको परिचय: अन्तर्राष्ट्रिय व्यापारमा विदेशी वस्तुको आयातमा विभिन्न प्रकारका प्रतिबन्ध, भन्सार महसुल, वा कोटा प्रणाली जस्ता अवरोध खडा गरेर स्वदेशी उद्योगलाई विदेशी प्रतिस्पर्धाबाट जोगाउने नीतिलाई संरक्षण व्यापार नीति भनिन्छ। विकासशील देशका नयाँ उद्योगहरू (Infant Industries) ले मूल्य र प्रविधिमा विकसित देशका उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्ने भएकाले उनीहरू परिपक्व नहोउन्जेलसम्म यस्तो नीति मार्फत सरकारले अनुदान, सहुलियत र कर छुट दिई संरक्षण प्रदान गर्दछ।

यस नीतिबाट नेपाल जस्तो विकासोन्मुख देशले लिन सक्ने पाँचओटा लाभहरू यस प्रकार छन्:
१. स्वदेशी उद्योगको संरक्षण र विकास: नेपालमा साना, घरेलु र मझौला उद्योगहरूको बाहुल्यता छ। संरक्षण नीति अपनाउँदा यस्ता शिशु उद्योगहरूले बहुराष्ट्रिय कम्पनीका सस्ता सामानसँग प्रतिस्पर्धा गर्नुपर्दैन र स्वदेशमै फस्टाउने राम्रो अवसर पाउँछन्।
२. रोजगारीमा वृद्धि: विदेशी आयातमा प्रतिबन्ध लगाएर स्वदेशी उद्योगलाई प्रोत्साहन गर्दा देशभित्रै नयाँ-नयाँ उद्योगधन्दा र कलकारखानाहरू खुल्छन्। यसले गर्दा हजारौँ नेपाली युवाहरूले स्वदेशमै रोजगारी प्राप्त गर्छन् र विदेशिनु पर्दैन।
३. पुँजीको बहिर्गमन (पलायन) न्यूनीकरण: नेपालीहरूले स्वदेशमै बनेका लत्ताकपडा, जुत्ता, कृषि उपज र दैनिक उपभोग्य वस्तु प्रयोग गर्दा विदेशी सामान किन्नका लागि बिदेसिने ठुलो धनराशि स्वदेशमै रोकिन्छ। यसले देशको पुँजी निर्माणमा सहयोग पुर्‍याउँछ र व्यापार घाटा कम गर्छ।
४. आधारभूत उद्योगको विकास: देशको औद्योगिकीकरणका लागि नभई नहुने फलाम, सिमेन्ट, जलविद्युत् र कृषि प्रशोधन जस्ता आधारभूत उद्योगहरूलाई सरकारले कर छुट र सहुलियत दिएर तीव्र गतिमा विकास गर्न सक्छ।
५. प्राकृतिक साधनहरूको संरक्षण र सदुपयोग: खुला व्यापारमा विदेशीहरूले जथाभाबी स्रोत लान सक्ने सम्भावना हुन्छ। तर संरक्षण नीतिले गर्दा नेपालका खनिज, वन, जडीबुटी र जलस्रोत जस्ता प्राकृतिक साधनहरूको दिगो रूपमा स्वदेशमै अधिकतम सदुपयोग गर्ने क्षमताको विकास हुन्छ।

५. थप अभ्यास
(Additional Exercises)

खण्ड ‘क’: अति सङ्क्षिप्त प्रश्नोत्तरहरू (Very Short Answer Questions)

१. संरक्षण व्यापार नीतिको प्रमुख उद्देश्य लेख्नुहोस्।
उत्तर: भर्खरै स्थापना भएका र प्रतिस्पर्धा गर्न नसक्ने स्वदेशी (शिशु) उद्योगहरूलाई विदेशी वस्तुको प्रतिस्पर्धाबाट बचाउनु र हुर्काउनु नै संरक्षण व्यापार नीतिको प्रमुख उद्देश्य हो।
२. नेपालको लागि विश्व व्यापार सङ्गठन (WTO) का कुनै दुई फाइदाहरू लेख्नुहोस्।
उत्तर: WTO बाट नेपालले पाएका दुई फाइदाहरू हुन्: (क) नेपाली उत्पादनहरूले विना भेदभाव विश्व बजारमा सहज पहुँच पाएका छन्, र (ख) अन्तर्राष्ट्रिय व्यापारिक विवादहरू समाधान गर्न नेपालले आधिकारिक विश्वव्यापी मञ्च प्राप्त गरेको छ।
३. प्रतिकूल व्यापार भनेको के हो?
उत्तर: कुनै पनि देशले विदेशमा बेच्ने (निर्यात) वस्तुको मूल्यभन्दा विदेशबाट किन्ने (आयात) वस्तुको मूल्य बढी भएको घाटाको अवस्थालाई प्रतिकूल व्यापार भनिन्छ।
४. नेपालले विश्व व्यापार सङ्गठन (WTO) को सदस्य भएको कारण प्राप्त गर्न सक्ने कुनै एउटा फाइदा लेख्नुहोस्।
उत्तर: नेपालले विश्वव्यापी खुला बजार प्रणालीमा जोडिएर आफ्ना उत्पादनहरूलाई संसारभर निर्यात गर्ने सुनौलो अवसर प्राप्त गरेको छ।
५. भुक्तान सन्तुलन भनेको के हो?
उत्तर: एक निश्चित समयावधिभित्र (सामान्यतया एक वर्षमा) कुनै देशले विश्वका अन्य देशहरूसँग गरेको सम्पूर्ण आर्थिक तथा वित्तीय लेनदेनको (आउने र जाने रकमको) व्यवस्थित खाता नै भुक्तान सन्तुलन हो।
६. नेपाल जस्तो भूपरिवेष्ठित देशका लागि WTO को सदस्यता किन महत्त्वपूर्ण हुन्छ? कुनै एक कारण दिनुहोस्।
उत्तर: समुद्रसम्म प्रत्यक्ष पहुँच नभएको नेपाल जस्तो भूपरिवेष्ठित राष्ट्रले व्यापारिक ट्रान्जिट सुविधा पाउन र विश्व बजारमा स्वतन्त्र पहुँच स्थापित गर्न WTO को सदस्यता अपरिहार्य हुन्छ।
७. देशगत व्यापार विविधीकरणलाई उदाहरणसहित प्रस्ट पार्नुहोस्।
उत्तर: आफ्नो अन्तर्राष्ट्रिय व्यापार सीमित एउटै देशमा मात्र केन्द्रित नगरी विश्वका धेरै राष्ट्रहरूसँग व्यापारिक सम्बन्ध विस्तार गर्नुलाई देशगत व्यापार विविधीकरण भनिन्छ। जस्तै: नेपालले आफ्नो व्यापार भारतमा मात्र सीमित नराखी चीन, अमेरिका र युरोपमा पनि विस्तार गर्नु।
८. कस्तो व्यापारलाई प्रतिकूल व्यापार सन्तुलन भनिन्छ?
उत्तर: देशबाट बाहिरिने निर्यात व्यापारको तुलनामा देशमा भित्रिने आयात व्यापार धेरै भएको स्थितिलाई प्रतिकूल व्यापार सन्तुलन (Trade Deficit) भनिन्छ।
९. नेपालले संरक्षण व्यापार नीतिलाई प्रोत्साहन गर्न अपनाउनुपर्ने कुनै दुई उपायहरू लेख्नुहोस्।
उत्तर: यसका दुई उपायहरू: (क) विदेशी सामानको आयातमा उच्च भन्सार महसुल र कोटा प्रणाली लागू गर्ने, र (ख) स्वदेशी उद्योगहरूलाई आर्थिक सहुलियत र अनुदान उपलब्ध गराउने।
१०. SAFTA को पूर्ण रूप लेख्नुहोस्।
उत्तर: SAFTA को पूरा रूप ‘साउथ एसियन फ्री ट्रेड एरिया’ (South Asian Free Trade Area) अर्थात् दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र हो।
११. आन्तरिक व्यापार भनेको के हो?
उत्तर: एउटै देशको भौगोलिक सिमानाभित्र मात्र सीमित रहेर त्यहाँका नागरिकहरूबीच हुने वस्तु तथा सेवाको किनबेचलाई आन्तरिक व्यापार भनिन्छ।
१२. व्यापार सन्तुलन भनेको के हो?
उत्तर: कुनै निश्चित समयावधिमा एउटा देशले अन्य देशहरूसँग गरेको दृश्य वस्तुहरूको कुल निर्यात मूल्य र कुल आयात मूल्यबीचको फरकलाई व्यापार सन्तुलन (Balance of Trade) भनिन्छ।
१३. आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारबीच कुनै दुई भिन्नताहरू लेख्नुहोस्।
उत्तर: आन्तरिक व्यापार एउटै देशको सिमानाभित्र हुन्छ र यसमा एउटै मुद्राको प्रयोग हुन्छ भने, अन्तर्राष्ट्रिय व्यापार दुई वा सोभन्दा बढी देशहरूबीच हुन्छ र यसमा विदेशी मुद्राको प्रयोग हुन्छ।
१४. नेपालको व्यापार घाटा घटाउने कुनै दुई उपायहरू बताउनुहोस्।
उत्तर: व्यापार घाटा घटाउने दुई उपायहरू: (क) देशमा तीव्र औद्योगिकीकरण गरी आयात प्रतिस्थापन गर्ने, र (ख) अन्तर्राष्ट्रिय बजारमा बिक्न सक्ने उच्च गुणस्तरीय वस्तुहरू उत्पादन गरी निर्यात बढाउने।
१५. वैदेशिक व्यापारको मुख्य कारणहरू के-के हुन्?
उत्तर: वैदेशिक व्यापार हुनुको सबैभन्दा प्रमुख कारण विभिन्न देशहरूबीच वस्तु उत्पादन गर्दा लाग्ने ‘तुलनात्मक लागतको भिन्नता’ (Comparative Cost Difference) र स्रोतसाधनको असमान वितरण हो।
१६. अन्तर्राष्ट्रिय व्यापारमा विशिष्टीकरणले कसरी फाइदा हुन्छ?
उत्तर: विशिष्टीकरणले गर्दा जुन देशलाई जुन वस्तु उत्पादन गर्दा सबैभन्दा कम लागत लाग्छ वा बढी तुलनात्मक लाभ हुन्छ, त्यही वस्तु मात्र ठूलो मात्रामा उत्पादन गरेर व्यापार गर्दा अधिकतम फाइदा हुन्छ।
१७. कस्तो प्रकारको व्यापारलाई अनुकूल व्यापार सन्तुलन भनिन्छ?
उत्तर: यदि कुनै देशको बाहिरिने आयातित वस्तुको मूल्यभन्दा भित्रिने निर्यातित वस्तुको मूल्य धेरै छ भने, त्यस्तो नाफाको स्थितिलाई अनुकूल व्यापार सन्तुलन भनिन्छ।
१८. अन्तर्राष्ट्रिय व्यापारको तुलनात्मक लागतको सिद्धान्तको परिचय दिनुहोस्।
उत्तर: हरेक देशले त्यस्तो वस्तुको उत्पादन र निर्यातमा मात्र विशिष्टीकरण गर्नुपर्छ जसमा उसलाई अन्य देशको तुलनामा बढी तुलनात्मक फाइदा (वा न्यूनतम तुलनात्मक बेफाइदा) छ भन्ने मान्यता नै तुलनात्मक लागतको सिद्धान्त हो।
१९. अन्तर्राष्ट्रिय व्यापारको तुलनात्मक लागतको सिद्धान्त कसले प्रतिपादन गरेको हो?
उत्तर: यस सिद्धान्तका प्रतिपादक प्रसिद्ध शास्त्रीय अर्थशास्त्री डेभिड रिकार्डो (David Ricardo) हुन्।
२०. साफ्टा (SAFTA) को सदस्यता प्राप्त गर्दा नेपालले लिन सक्ने एउटा फाइदा लेख्नुहोस्।
उत्तर: साफ्टाको सदस्य भएपछि नेपालले दक्षिण एसियाली राष्ट्रहरूबाट दैनिक उपभोग्य तथा औद्योगिक वस्तुहरू कम भन्सार दरमा सुलभ रूपले आयात गर्न पाउँछ।
२१. साफ्टा (SAFTA) को प्रमुख उद्देश्य के हो?
उत्तर: दक्षिण एसियाली राष्ट्रहरूबीच व्यापारमा रहेका भन्सार र अन्य कृत्रिम अवरोधहरू हटाएर स्वतन्त्र र सहज व्यापारिक वातावरण तयार गर्नु नै साफ्टाको प्रमुख उद्देश्य हो।
२२. साफ्टा (SAFTA) का सदस्य राष्ट्रहरू कुन-कुन हुन्?
उत्तर: यसका आठ सदस्य राष्ट्रहरू: नेपाल, भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, पाकिस्तान, मालदिभ्स र अफगानिस्तान हुन्।
२३. विश्व व्यापार सङ्गठनको मुख्य उद्देश्य के हो?
उत्तर: विश्वभर व्यापारिक अवरोधहरू न्यूनीकरण गर्दै स्वच्छ, पारदर्शी र स्वतन्त्र व्यापारमार्फत विश्वव्यापी आर्थिक समृद्धि हासिल गर्नु विश्व व्यापार सङ्गठनको मुख्य उद्देश्य हो।
२४. नेपालले WTO को सदस्यता कहिले प्राप्त गरेको हो?
उत्तर: नेपालले सन् २००४ अप्रिल २३ मा विश्व व्यापार सङ्गठन (WTO) को १४७ औँ सदस्यको रूपमा सदस्यता प्राप्त गरेको हो।
२५. कतिवटा राष्ट्रले WTO को सदस्यता प्राप्त गरेका छन्?
उत्तर: हालसम्म विश्वका १६४ वटा राष्ट्रहरूले विश्व व्यापार सङ्गठन (WTO) को सदस्यता लिइसकेका छन्।
२६. कहिलेदेखि SAFTA लागू भएको हो?
उत्तर: दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (SAFTA) सम्झौता सन् २००६ जनवरी ६ देखि औपचारिक रूपमा लागू भएको हो।

खण्ड ‘ख’: सङ्क्षिप्त तथा लामो उत्तर आउने प्रश्नहरू (Short & Long Answer Questions)

१. नेपालको वैदेशिक व्यापारका कुनै पाँच समस्याहरूको चर्चा गर्नुहोस्।
नेपालको वैदेशिक व्यापार अत्यन्तै असन्तुलित र घाटामा गइरहेको छ। यसका प्रमुख पाँच समस्याहरू निम्नानुसार छन्:
– भूपरिवेष्ठित अवस्था: नेपाल समुद्रसँग जोडिएको छैन। भारत र चीनको बिचमा घेरिएको हुनाले अन्तर्राष्ट्रिय बजारसम्म पुग्न भारतीय बन्दरगाह र पारवहन सुविधामा भर पर्नुपर्ने बाध्यता छ, जुन अत्यन्तै महँगो र झन्झटिलो छ।
– न्यून निर्यात र उच्च आयात (व्यापार घाटा): नेपालमा निर्यात गर्न लायक वस्तुहरू अति सीमित छन् (जस्तै: गलैँचा, चिया)। तर दैनिक उपभोग्य वस्तुदेखि मेसिनरीसम्म सबै कुरा आयात गर्नुपर्ने हुँदा व्यापार घाटा चुलिँदै गएको छ।
– कमसल गुणस्तर: आधुनिक प्रविधिको अभाव र दक्ष जनशक्तिको कमीले गर्दा नेपालमा उत्पादित वस्तुहरू अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डमा खरो उत्रन सकेका छैनन्, जसले गर्दा विश्व बजारमा टिक्न गाह्रो छ।
– प्रचारप्रसार र मार्केटिङको अभाव: नेपालका उत्पादनहरू (जस्तै: जडीबुटी, हस्तकला) कतिपय देशहरूमा निकै रुचाइन्छन्, तर अन्तर्राष्ट्रिय बजारमा आकर्षक रूपमा विज्ञापन र प्रवर्द्धन गर्न नसक्दा बजार खुम्चिएको छ।
– उच्च उत्पादन लागत: छिमेकी देशहरू भारत र चीनमा ठूलो मात्रामा (Mass production) उत्पादन हुने हुँदा लागत निकै सस्तो पर्छ। तर नेपालमा कच्चा पदार्थ महँगो, विद्युत् समस्या र ढुवानी खर्च धेरै भएकाले हाम्रा वस्तुहरू महँगा पर्छन् र प्रतिस्पर्धा गर्न सक्दैनन्।

२. नेपालमा SAFTA मा देखिएको बढ्दो चुनौती न्यूनीकरणका कुनै पाँचवटा उपाय खोजी गर्नुहोस्।
साफ्टा सम्झौताले भन्सार दरहरू घटाउने हुँदा नेपाल जस्तो कमजोर अर्थतन्त्र भएको देशले ठूलो चुनौती सामना गरिरहेको छ। यी चुनौतीहरूलाई न्यूनीकरण गर्ने पाँच उपायहरू यसप्रकार छन्:
– वैकल्पिक राजस्वको व्यवस्था: भन्सार दर घट्दा सरकारको मुख्य आयस्रोत नै सुक्ने हुँदा आन्तरिक कर (जस्तै: आयकर, भ्याट) को दायरा फराकिलो पारी राजस्व समायोजन गर्नुपर्छ।
– प्रविधिको स्तरोन्नति: भारतीय र बङ्गलादेशी सस्ता सामानसँग प्रतिस्पर्धा गर्न नेपाली उद्योगहरूले पनि आधुनिक र उच्च प्रविधिको प्रयोग गरी उत्पादन लागत घटाउनुपर्छ।
– गुणस्तरमा सुधार: साफ्टाका अन्य सदस्य राष्ट्रहरूको स्तर अनुरुप नेपाली उत्पादनहरूको पनि गुणस्तर र प्याकेजिङमा सुधार ल्याउनुपर्छ।
– प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि: नेपाली उद्यमीहरूको क्षमता विकास गर्न सीपमूलक तालिम दिने र बजारको माग अनुसार वस्तु उत्पादन गर्न सिकाउनुपर्छ।
– स्वदेशी उद्योगलाई संरक्षण: सरकारले भन्सारबाहेक अन्य सुविधा जस्तै: कर छुट, सस्तो ब्याजदरमा ऋण र विद्युत् महसुलमा अनुदान दिएर स्वदेशी उद्योगहरूलाई जोगाउनुपर्छ।

३. विश्व व्यापार सङ्गठनको परिचय दिनुहोस्। नेपालमा यसको महत्त्वमाथि प्रकाश पार्नुहोस्।
विश्व व्यापार सङ्गठन (WTO) को परिचय: विश्व व्यापार सङ्गठन अन्तर्राष्ट्रिय व्यापारलाई स्वतन्त्र, पारदर्शी र विभेदरहित बनाउन स्थापित एक मात्र विश्वव्यापी आधिकारिक संस्था हो। यसको स्थापना सन् १९९५ मा भएको हो र हाल यसमा १६४ सदस्य राष्ट्रहरू छन्। नेपालले सन् २००४ अप्रिल २३ का दिन १४७ औँ सदस्यको रूपमा यसको सदस्यता प्राप्त गरेको हो।

नेपालको आर्थिक विकासमा यसको महत्त्व / फाइदाहरू:
– विश्व बजारमा सहज पहुँच: नेपालले आफ्ना उत्पादनहरू विश्वका १६४ देशहरूमा विना भेदभाव न्यून भन्सार दरमा बेच्ने कानुनी अधिकार प्राप्त गरेको छ।
– वैदेशिक लगानी र प्रविधि: खुला बजार नीतिले गर्दा विदेशी कम्पनीहरूलाई नेपालमा लगानी गर्न (FDI) र नयाँ प्रविधि भित्र्याउन सहज वातावरण बनेको छ।
– विवाद समाधानको मञ्च: ठूला वा शक्तिशाली देशहरूले व्यापारमा अन्याय गरेमा नेपालले WTO को विवाद समाधान समितिमा उजुरी गरेर न्याय पाउन सक्छ।
– उपभोक्तालाई फाइदा: विदेशी सामानको आयात सहज हुँदा नेपाली उपभोक्ताले सस्तो मूल्यमा विश्वस्तरीय र विविध प्रकारका वस्तु तथा सेवा छनोट गर्न पाउँछन्।
– रोजगारी र प्रतिस्पर्धा: नेपालीहरूले विश्व बजारमा गएर सेवा दिन पाउने र स्वदेशी उद्योगहरूले विश्वव्यापी प्रतिस्पर्धा गर्दा आफ्नो गुणस्तर बढाउने अवसर पाएका छन्।

४. संरक्षण व्यापार नीतिका बेफाइदाहरू उल्लेख गर्नुहोस्।
विदेशी वस्तुको आयातलाई रोकी स्वदेशी उद्योगलाई मात्र काखी च्याप्ने संरक्षण व्यापार नीतिका प्रमुख पाँच बेफाइदाहरू यसप्रकार छन्:
– निहित स्वार्थको विकास: शिशु उद्योगहरूलाई सुरुमा संरक्षण दिएपछि उनीहरू सधैँ सरकारकै भर पर्छन्। पछि संरक्षण हटाउन खोज्दा उद्योगीहरूले आन्दोलन र दबाब दिने हुँदा यो स्थायी स्वार्थमा परिणत हुन्छ।
– उद्योगहरूको निष्क्रियता र अल्छीपन: विदेशी प्रतिस्पर्धा नभएपछि स्वदेशी उद्योगहरूले आफ्नो वस्तुको गुणस्तर सुधार्न र नयाँ प्रविधि अपनाउन कुनै चासो दिँदैनन्, जसले गर्दा उद्योगहरू निष्क्रिय बन्छन्।
– उपभोक्तालाई ठूलो घाटा: आयातमा उच्च भन्सार लगाउँदा बजारमा विदेशी सामान महँगो हुन्छ। विकल्प नहुँदा उपभोक्ताहरू स्वदेशी कमसल सामान पनि महँगो मूल्य तिरेर किन्न बाध्य हुन्छन्।
– एकाधिकारको जन्म: विदेशी कम्पनीको अभावमा देशका सीमित स्वदेशी उद्योगपतिहरूले मिलेमतो गरी एकाधिकार (Monopoly) कायम गर्छन् र उपभोक्ताको शोषण गर्न थाल्छन्।
– आर्थिक असमानता: संरक्षण नीतिले उपभोक्ताबाट पैसा तानेर सीमित उद्योगपतिहरूको ढुकुटीमा जम्मा गरिदिन्छ। यसले गर्दा धनी झन् धनी र गरिब झन् गरिब हुँदै जान्छन्।

५. व्यापार सन्तुलन र भुक्तान सन्तुलनको अवधारणाबारे व्याख्या गर्नुहोस्।
व्यापार सन्तुलन (Balance of Trade – BOT): व्यापार सन्तुलन भनेको कुनै एक निश्चित समयावधिमा (सामान्यतया एक वर्षमा) एउटा देशले अन्य देशहरूसँग गरेको केवल दृश्य वस्तुहरू (Visible goods जस्तै: कपडा, मेसिन, अन्न) को कुल निर्यात मूल्य र कुल आयात मूल्यबीचको फरक हो। यदि निर्यात बढी भए ‘बचत व्यापार’, आयात बढी भए ‘व्यापार घाटा’ र दुवै बराबर भए ‘सन्तुलन व्यापार’ भनिन्छ。

भुक्तान सन्तुलन (Balance of Payment – BOP): भुक्तान सन्तुलन भनेको कुनै देशले विश्वका अन्य देशहरूसँग गरेको सम्पूर्ण प्रकारको आर्थिक तथा वित्तीय लेनदेनको विस्तृत र व्यवस्थित खाता हो। यो व्यापार सन्तुलनभन्दा निकै फराकिलो अवधारणा हो। यसमा दृश्य वस्तुका साथै अदृश्य सेवाहरू (पर्यटन, शिक्षा, रेमिट्यान्स) र पुँजीको प्रवाह (वैदेशिक ऋण, लगानी) सबै समावेश हुन्छन्। यदि भित्रिने रकम बढी भए अनुकूल (Favorable) र बाहिरिने रकम बढी भए प्रतिकूल (Unfavorable) भुक्तान सन्तुलन भनिन्छ।

६. व्यापार सन्तुलन र भुक्तान सन्तुलनमा के भिन्नता छ?
व्यापार सन्तुलन र भुक्तान सन्तुलनबीचका मुख्य भिन्नताहरू यसप्रकार छन्:
तुलनाको आधार व्यापार सन्तुलन (Balance of Trade) भुक्तान सन्तुलन (Balance of Payment)
१. अर्थदेशको कुल दृश्य वस्तुको आयात र निर्यातको मूल्यबीचको फरक हो।देशको सम्पूर्ण आर्थिक लेनदेन (प्राप्ति र भुक्तानी) को व्यवस्थित अभिलेख हो।
२. समावेशी तत्त्वयसमा आँखाले देख्न र छुन सकिने भौतिक (दृश्य) वस्तुहरू मात्र समावेश हुन्छन्।यसमा दृश्य वस्तु, अदृश्य सेवा (बैंकिंग, पर्यटन) र पुँजीको प्रवाह दुवै समावेश हुन्छन्।
३. दायरा / क्षेत्रयो एउटा सङ्कुचित (साँघुरो) अवधारणा हो। यो भुक्तान सन्तुलनकै एउटा सानो अंश हो।यो एउटा व्यापक (फराकिलो) अवधारणा हो। यसभित्र व्यापार सन्तुलन पनि पर्दछ।
४. आर्थिक सूचकयसले देशको वास्तविक र पूर्ण आर्थिक स्थिति वा प्रगतिको स्तर देखाउन सक्दैन।यसले अन्तर्राष्ट्रिय मञ्चमा देशको वास्तविक आर्थिक सबलता वा दुर्बलता प्रस्ट देखाउँछ।

७. भुक्तान सन्तुलनका तत्त्व वा अङ्गहरू के-के हुन्? व्याख्या गर्नुहोस्।
कुनै पनि देशको भुक्तान सन्तुलनको खातालाई मुख्यतया तीनवटा उप-खाता वा तत्त्वहरूमा विभाजन गरेर राखिएको हुन्छ:
– चालु खाता (Current Account): यस खातामा वस्तु तथा सेवाहरूको नियमित आयात र निर्यातको हिसाब राखिन्छ। यसअन्तर्गत दृश्य वस्तुको व्यापार, अदृश्य सेवा (जस्तै: पर्यटन, बिमा, ढुवानी) को आय-व्यय, वैदेशिक लगानीबाट प्राप्त हुने ब्याज वा लाभांश, र एकतर्फी हस्तान्तरणहरू (जस्तै: रेमिट्यान्स, पेन्सन, विदेशी अनुदान) समावेश गरिन्छ।
– पुँजीगत खाता (Capital Account): यस खातामा देशको वित्तीय सम्पत्ति र दायित्वमा असर पार्ने अन्तर्राष्ट्रिय कारोबारको अभिलेख राखिन्छ। जस्तै: प्रत्यक्ष वैदेशिक लगानी (FDI), निजी क्षेत्रले ल्याएको विदेशी ऋण, विदेशी सरकार वा विश्व बैंक जस्ता संस्थाहरूबाट प्राप्त भएको दीर्घकालीन ऋण तथा पुँजीगत अनुदानहरू यसमा पर्दछन्।
– नगद खाता वा अन्तर्राष्ट्रिय सञ्चिति खाता (Official Reserve Account): चालु खाता र पुँजीगत खाताको कुल योगफललाई सन्तुलनमा ल्याउने काम यस खाताले गर्छ। यसमा देशको केन्द्रीय बैंकसँग भएको सुन, विदेशी मुद्रा (डलर, युरो) र SDR को मौज्दातको हिसाब राखिन्छ। यदि देशमा डलर बढी भित्रियो भने सञ्चिति बढ्छ र डलर बढी बाहिरियो भने सञ्चिति घट्छ।

८. SAFTA को परिचय दिनुहोस्। नेपालको सन्दर्भमा यसका महत्त्वहरू के-के हुन्?
साफ्टा (SAFTA) को परिचय: दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (SAARC) का आठ सदस्य राष्ट्रहरू (नेपाल, भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, पाकिस्तान, मालदिभ्स र अफगानिस्तान) बीच वस्तु तथा सेवाको व्यापारमा लाग्ने भन्सार महसुल र अवरोधहरू हटाई स्वतन्त्र व्यापार कायम गर्न गरिएको सम्झौतालाई साफ्टा (South Asian Free Trade Area) भनिन्छ। यो सन् २००६ जनवरीबाट लागू भएको हो।

नेपालको सन्दर्भमा यसको महत्त्व:
– व्यापारिक अवरोधको अन्त्य: साफ्टाले सार्क राष्ट्रहरूबीच भन्सार दरहरू घटाएर र अन्य अवरोध हटाएर व्यापार र आर्थिक सहयोग बढाउन ठूलो मद्दत गरेको छ।
– बजारको विशाल विस्तार: नेपाली उत्पादनहरू (जस्तै: अदुवा, अलैँची, पश्मिना) ले ३ करोडको बजारबाट सीधै डेढ अर्बभन्दा बढी जनसङ्ख्या भएको दक्षिण एसियाली बजारमा पहुँच पाएका छन्।
– गुणस्तरमा वृद्धि: खुला प्रतिस्पर्धा हुने भएकाले नेपाली उद्योगहरूले आफ्नो वस्तुको गुणस्तर सुधार्न र अन्तर्राष्ट्रिय स्तरको बनाउन प्रयास गर्छ।
– प्रविधि र ज्ञानको हस्तान्तरण: यस सम्झौताले सदस्य राष्ट्रहरूबीच पुँजी, नयाँ प्रविधि, सीप र प्राविधिक ज्ञानको सहज आदानप्रदान गर्न सघाउ पुर्‍याएको छ।
– कूटनीतिक सम्बन्ध सुदृढ: आर्थिक व्यापारिक सम्झौताका कारण नेपालको भारत, बङ्गलादेश लगायत अन्य सार्क मुलुकहरूसँगको कूटनीतिक र राजनीतिक सम्बन्ध अझ मजबुत भएको छ।

९. नेपालका लागि WTO को चुनौतीहरू उल्लेख गर्नुहोस्।
विश्व व्यापार सङ्गठन (WTO) को सदस्य भएर नेपालले विश्व बजारमा पहुँच त पाएको छ, तर यसका नियमहरू पालना गर्दा नेपाल जस्तो कमजोर अर्थतन्त्र भएको देशले निम्न चुनौतीहरू सामना गर्नुपरेको छ:
– असमान प्रतिस्पर्धा: नेपालका साना र परम्परागत प्रविधिबाट चल्ने उद्योगहरूले विशाल बहुराष्ट्रिय कम्पनीका सस्तो र मास प्रोडक्सन (Mass production) सँग प्रतिस्पर्धा गर्न नसकी बन्द हुने अवस्था आएको छ।
– राजस्वमा गम्भीर धक्का: नेपाल सरकारको आम्दानीको मुख्य स्रोत नै भन्सार महसुल हो। WTO को नियमअनुसार भन्सार दर घटाउँदै लैजाँदा सरकारको ढुकुटी रित्तिने जोखिम छ।
– स्वदेशी लगानीकर्ता निरुत्साहित: विदेशी ठूला कम्पनीहरूले सीधै लगानी गर्दा स्वदेशी साना लगानीकर्ताहरू डराउने र व्यापारबाट हात झिक्ने सम्भावना छ।
– रैथाने ज्ञान र सीपको लोप: विदेशी सामानको दबदबा बढ्दा नेपालका परम्परागत हस्तकला, घरेलु उद्योग, र रैथाने प्रविधिहरू बिस्तारै लोप हुँदै जाने खतरा छ।
– अन्तर्राष्ट्रिय मापदण्डको तगारो: WTO ले तोकेका कडा गुणस्तर मापदण्डहरू (जस्तै: सरसफाइ, प्याकेजिङ, लेबलिंग) पूरा गर्न नसक्दा नेपालका कृषि उपजहरू (जस्तै: चिया, अदुवा) विदेश निर्यात हुनबाट रोकिने गरेका छन्।

१०. नेपालका लागि SAFTA को चुनौतीहरू उल्लेख गर्नुहोस्।
साफ्टा (SAFTA) सम्झौताले फाइदा मात्र होइन, नेपाललाई निम्न आर्थिक चुनौतीहरू पनि थपिदिएको छ:
– भन्सार राजस्वमा भारी गिरावट: साफ्टाको मुख्य सर्त नै भन्सार दर घटाउनु हो। यसले गर्दा नेपाल सरकारको राजस्व नराम्ररी घट्ने र विकास बजेट प्रभावित हुने चुनौती छ।
– उद्योगहरू धराशायी हुने जोखिम: भारत र पाकिस्तान जस्ता औद्योगिक रूपमा अति विकसित देशका सस्तो सामान भित्रिँदा नेपालका साना उद्योगहरू प्रतिस्पर्धा गर्न नसकी बन्द हुने खतरा छ।
– स्वदेशी बजार गुम्ने: निर्यात त परको कुरा, प्रतिस्पर्धात्मक क्षमताको अभावमा विदेशी सामानले नेपाली बजार नै कब्जा गर्दा स्वदेशी उत्पादनले आफ्नै देशको बजार पनि गुमाउने सम्भावना छ।
– उद्यमीहरू निरुत्साहित: भारतीय विशाल अर्थतन्त्र र उद्योगका अगाडि टिक्न गाह्रो हुने देखेपछि नयाँ नेपाली युवाहरू र उद्यमीहरू उत्पादनमूलक क्षेत्रमा लगानी गर्न डराउँछन्।
– गुणस्तर कायम राख्न कठिन: साफ्टाका अन्य सदस्य राष्ट्रहरूले अपनाएको जस्तो उच्च प्रविधि र गुणस्तर नियन्त्रण प्रणाली (Quality Control) नेपालका उद्योगहरूले तुरुन्तै लागू गर्न निकै कठिन छ।

११. अन्तर्राष्ट्रिय व्यापार विस्तारका लागि अन्तर्राष्ट्रिय व्यापारको तुलनात्मक लाभ सिद्धान्त कसरी उपयोगी मानिन्छ? उपयुक्त उदाहरणसहित व्याख्या गर्नुहोस्।
तुलनात्मक लागत सिद्धान्तको परिचय र उपयोगिता: यस सिद्धान्तका प्रतिपादक शास्त्रीय अर्थशास्त्री डेभिड रिकार्डो हुन्। यस सिद्धान्तले भन्छ— “कुनै देशले अन्तर्राष्ट्रिय व्यापारबाट अधिकतम लाभ लिनका लागि त्यही वस्तुको उत्पादन र निर्यातमा विशिष्टीकरण गर्नुपर्छ जसमा उसलाई बढी तुलनात्मक लाभ वा कम तुलनात्मक हानि छ।” यदि कुनै देशले दुईवटै वस्तु अर्को देशभन्दा सस्तोमा बनाउन सक्छ भने पनि, जुन वस्तु उत्पादन गर्दा उसलाई ‘अवसर लागत’ (Opportunity Cost) सबैभन्दा कम लाग्छ, त्यही वस्तु मात्र बनाएर व्यापार गर्दा दुवै देशलाई फाइदा हुन्छ।

उदाहरणसहित व्याख्या: मानौँ भारत र नेपाल दुई देश छन्, र दुवैले कपास र जुट उत्पादन गर्छन्। एक केजी उत्पादन गर्न लाग्ने श्रम घण्टा (लागत) तल दिइएको छ:
देश कपास (१ केजी) उत्पादन लागत अवसर लागत (१ केजी कपास = ?) जुट (१ केजी) उत्पादन लागत अवसर लागत (१ केजी जुट = ?)
भारत४ श्रम घण्टा१ कपास = २ जुट२ श्रम घण्टा१ जुट = १/२ कपास
नेपाल१५ श्रम घण्टा१ कपास = ३ जुट५ श्रम घण्टा१ जुट = १/३ कपास

तुलनात्मक लाभको विश्लेषण: माथिको तालिकामा हेर्दा भारतले कपास र जुट दुवै नेपालभन्दा थोरै समयमा (सस्तोमा) बनाउन सक्छ। तर अवसर लागत हेरौँ:
१. कपास उत्पादन: भारतमा १ केजी कपास फलाउन लाग्ने समयमा २ केजी जुट फल्छ (अवसर लागत २)। तर नेपालमा १ केजी कपास फलाउने समयमा ३ केजी जुट फल्छ (अवसर लागत ३)। नेपालको भन्दा भारतको अवसर लागत कम भएकाले भारतले कपास उत्पादन गर्नुपर्छ।
२. जुट उत्पादन: भारतमा १ केजी जुट फलाउँदा आधा (१/२) केजी कपास गुम्छ। तर नेपालमा १ केजी जुट फलाउँदा एक तिहाइ (१/३) केजी मात्र कपास गुम्छ। भारतको भन्दा नेपालको अवसर लागत कम भएकाले (अर्थात् कम हानि हुने भएकाले) नेपालले जुट उत्पादन गर्नुपर्छ।
तसर्थ, भारतले कपासमा र नेपालले जुटमा विशिष्टीकरण गरी एकआपसमा व्यापार गरेमा दुवै देशले एक्लाएक्लै उत्पादन गर्नुभन्दा समग्रमा बढी वस्तु उपभोग गर्न पाउँछन् र अन्तर्राष्ट्रिय व्यापार विस्तार हुन्छ।

१२. अन्तर्राष्ट्रिय व्यापार विस्तारका लागि अन्तर्राष्ट्रिय व्यापारको तुलनात्मक लागत सिद्धान्तको परिचय दिनुहोस्। यसका आलोचनाहरू के-के हुन्?
परिचय: डेभिड रिकार्डोद्वारा प्रतिपादित यो सिद्धान्तले हरेक देशले आफूलाई सबैभन्दा बढी तुलनात्मक फाइदा (Comparative Advantage) हुने वा सबैभन्दा कम तुलनात्मक बेफाइदा हुने वस्तु मात्र उत्पादन गरी अन्य देशसँग व्यापार गर्नुपर्छ भन्ने मान्यता राख्छ। यसले गर्दा विश्वभरि नै स्रोतसाधनको उच्चतम प्रयोग भई समग्र उत्पादन र उपभोग बढ्छ।

यस सिद्धान्तका आलोचनाहरू (Criticisms): रिकार्डोको यो सिद्धान्त अत्यन्तै लोकप्रिय भए तापनि यसमा रहेका केही अवास्तविक मान्यताहरूका कारण यसलाई निम्न बुँदामा आलोचना गरिएको छ:
– श्रमलाई मात्र लागत मान्नु: यस सिद्धान्तले वस्तुको मूल्य निर्धारणमा केवल ‘श्रम घण्टा’ लाई मात्र लागत मानेको छ। तर यथार्थमा उत्पादन गर्दा पुँजी, कच्चा पदार्थ र मेसिनरीको लागत पनि जोडिन्छ।
– श्रमको एकरूपता अवास्तविक: यसले सबै देशका सबै श्रमिकहरू एउटै स्तरका र समान क्षमताका हुन्छन् (Homogeneous) भन्ने गलत मान्यता राखेको छ। यथार्थमा श्रमिकको सीप र क्षमता फरक हुन्छ।
– यातायात खर्चको बेवास्ता: दुई देशबीच व्यापार गर्दा ढुवानी वा यातायात खर्च लाग्छ भन्ने कुरालाई यस सिद्धान्तले पूरै बेवास्ता गरेको छ, जुन बिना अन्तर्राष्ट्रिय व्यापार सम्भव नै छैन।
– स्थिर लागतको मान्यता गलत: यसले उत्पादन बढाउँदा पनि लागत सधैँ स्थिर रहन्छ (Constant Cost) भन्ने मान्यता राखेको छ। तर व्यवहारमा उत्पादन बढाउँदा लागत घट्ने वा बढ्ने नियम (परिवर्तनशील लागत) लागू हुन्छ।
– दुई देश र दुई वस्तुको मोडेल: रिकार्डोले केवल २ वटा देश र २ वटा वस्तुलाई मात्र लिएर सिद्धान्त बनाएका छन्। तर वास्तविक विश्वमा सयौँ देशहरूबीच हजारौँ वस्तुहरूको बहुपक्षीय व्यापार हुने गर्दछ।

📚 Also Read: Class 10 SEE Notes

Compulsory Subjects

Optional Subjects

Scroll to Top