1. Agriculture: Class 10 Economics Notes | कृषि
Importantedunotes.com
Back to Economics Notes

Welcome to the complete study guide on Agriculture (कृषि) under Nepal’s Economy. This is Chapter 1 of Unit 5 for Class 10 Economics students in Nepal preparing for their SEE board exams.

Here you will find structured theoretical notes on the characteristics, commercialization, problems, and financial sources of agriculture in Nepal, along with fully solved textbook exercises.

Explore our complete study list here: Class 10 Economics Notes.

१. सैद्धान्तिक अवधारणा (Theoretical Concept)

(क) कृषिको परिचय (Introduction to Agriculture)

कृषिले भूमिमा गरिने सबै प्रकारका बालीहरूको खेती र पशुपन्क्षी पालनलाई समेट्छ । यसअन्र्तगत खाद्यान्नबाली, नगदेबाली, दुग्ध तथा पशुपालन व्यवसाय, माछापालन, मौरीपालन, फलफूल खेती र बागवानीलगायत पर्छन् । कृषि जीवन निर्वाहको माध्यम साथै समृद्धिको आधार पनि हो । कृषिले आम मानिसलाई रोजगारीको अवसर प्रदान गर्नुका साथै कृषिजन्य कच्चापदार्थमा आधारित उद्योगहरू पनि सञ्चालन गर्न आधार प्रदान गर्छ ।

नेपालमा सामुद्रिक सतहको होचा भूभागदेखि लिएर विश्वकै सबैभन्दा उच्च हिमशृङ्खला अवस्थित छन् । यसले गर्दा नेपालमा भौगोलिक विविधता छ । यस्तो भौगोलिक विविधताले नेपाल हावापानी, माटो, जैविक तथा सांस्कृतिक विविधतायुक्त देशका रूपमा परिचित छ । यस्तो विविधताले गर्दा यहाँ कृषि उत्पादनको पनि धेरै सम्भावना छ । यहाँ विविध किसिमका खाद्यान्न, फलफूल, जडीबुटीको खेती, पशुपन्क्षीपालन साथै वन सम्पदामा आधारित व्यवसाय गर्न सकिने प्रचुर सम्भावना छ ।

राष्ट्रिय कृषि गणना, 2078 ले नेपालमा 39 लाख 99 हजार परिवारले खेतीपाती गर्ने गरेको र 1 लाख 32 हजारले पशुपन्क्षी मात्र पाल्ने गरेको देखाएको छ । यसरी खेतीपाती र पशुपन्क्षी पालन दुबै गरी नेपालमा जम्मा 41 लाख 21 हजार कृषक परिवार रहेको तथ्य कृषि गणनाले देखाएको छ ।

(ख) कृषिका विशेषता (Features of Agriculture)

कृषि क्षेत्रमा निर्भर रहेको जनसङ्ख्या र कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदानलाई मध्यनजर गर्दा नेपाललाई कृषिप्रधान देश मान्न सकिने प्रशस्त आधार छन् । तथापि पछिल्ला वर्षहरूमा अन्न, फलफूल, तरकारी, बिउबिजन, माछा, फलफूल आदि कृषिजन्य वस्तुहरू आयात गरेर परिपूर्ति गर्नु परिरहेको अवस्था छ । यसै सन्दर्भमा नेपालको कृषिका केही मुख्य विशेषताहरूलाई निम्नानुसार प्रस्तुत गरी वर्णन गरिएको छ :

i. निर्वाहमुखी खेती (Subsistance Farming): जीवन धान्नका लागि गरिने खेती निर्वाहमुखी खेती हो । नेपालमा अधिकांश कृषक परिवार साना किसान छन् । व्यावसायिक रूपमा खेती गर्ने किसान नगन्य मात्रामा छन् । आफू र आफ्नो परिवारलाई आवश्यक पर्ने अन्न, तरकारी, फलफूल, मसलाजन्य बाली थोरै परिमाणमा लगाउने र केही सङ्ख्यामा पशुपन्क्षी पाल्ने प्रवृत्ति रहेको छ । न्यून अनुपातमा मात्र तरकारी र फलफूल खेतीको व्यवसायीकरणको कार्य सुरु भएको छ । केही निश्चित बाली ठुलो परिमाणमा लगाई विशिष्टीकरण हासिल गरी व्यावसायिक खेती गर्ने चलन न्यून भएकाले कृषि जीवन निर्वाहमुखी मात्रै रहेको छ ।
ii. श्रम प्रधान खेती (Labour Intensive Farming): कृषिमा यान्त्रिकीकरण हुन सकेको छैन। खन्ने, जोत्ने, बाली काट्‌ने, बाली भित्र्याउनेलगायतका सम्पूर्ण कार्यहरू श्रमिकबाट नै गरिन्छ । तराई क्षेत्रमा कृषि बिस्तारै यान्त्रिकीकरण हुँदै गइरहेको भए तापनि पहाडी र हिमाली क्षेत्रमा अप्ठ्यारो एवम् विकट भूगोलका कारण कृषिको यान्त्रिकीकरण गर्ने कार्य त्यति सहज छैन । यसले एकातिर कृषि उपजको उत्पादन परिमाण अपेक्षाजनक वृद्धि हुन सकेको छैन भने अर्कातिर उत्पादन लागत पनि वृद्धि गरेको छ ।
iii. अदृश्य बेरोजगारी (Invisible Unemployment): कृषिका विशेषताहरूमा अदृश्य बेरोजगारी पनि एक हो। देशको करिब दुईतिहाइ जनसङ्ख्या कृषिमा आश्रित छन् । यस क्षेत्रमा चाहिनेभन्दा बढी जनशक्ति संलग्न रहेकाले बाहिरबाट देख्दा धेरैले रोजगारी पाएको देखिए पनि यसले कृषि उत्पादन र उत्पादकत्व बढाउन सकेको छैन । उदाहरणका लागि कुनै एक परिवारका चार सदस्यले वर्षभरि खेती गर्दा 40 मुरी अन्न उत्पादन गर्छन् । परिवारका एक सदस्य थप भई पाँच जना भएर खेती गर्दा पनि उक्त जमिनबाट 40 मुरी अन्न उत्पादन हुन्छ । यस अवस्थामा कृषि कार्यमा लागेको थप एक जना अदृश्य बेरोजगारी हो किनकि थप जनशक्तिको कुल उत्पादनमा कुनै योगदान देखिएको छैन ।
iv. घट्दो कृषि भूमिको स्वामित्व (Decreasing Land Holding): कृषि भूमिको स्वामित्व भन्नाले खेतीपातीका लागि किसानले प्रयोग गर्ने जग्गाको क्षेत्रफल भन्ने बुझिन्छ । यस्तो क्षेत्रफल जमिनको खण्डीकरण, सहरीकरण, पूर्वाधारको विकासलगायतले गर्दा निरन्तर घट्दो छ । पहिलो कृषि गणना 2018 मा एक कृषक परिवारको भागमा सरदर 1.11 हेक्टर जग्गा पर्थ्यो । पछिल्लो कृषि गणना 2078 अनुसार प्रतिकृषक परिवार जग्गाको स्वामित्व घटेर सरदर 0.55 हेक्टर पुगेको छ । सहरीकरण, उद्योगधन्दा, सडक निर्माण र जनसङ्ख्या वृद्धिका कारणले प्रतिकृषक परिवारले कृषिका लागि भोगचलन गर्दै आएको जग्गाको स्वामित्व घट्दै गएको छ ।
v. खाद्यान्न बालीको प्रधानता (Dominance of Food Crops): कृषिका विशेषताहरूमा खाद्यान्न बालीको प्रधानता पनि एक हो । नेपालमा भौगोलिक विविधताको कारण यहाँ विभिन्न प्रकारको खेती गर्न सकिने सम्भावना भए पनि धेरैजसो कृषकले धान, मकै, गहुँ आदि खाद्यान्न बाली नै लगाउने गरेका छन् । खाद्यान्न बाली प्रत्यक्ष रूपमा उपभोगमा प्रयोग गरिने र परम्परादेखि नै खेती गरिँदै आएको हुनाले नगदे तथा औद्योगिक बालीको खेती न्यून छ । आर्थिक सर्वेक्षण, 2080/81 अनुसार नेपालमा कुल कृषि उत्पादनमा खाद्यान्न बालीको योगदान करिब 45 प्रतिशत रहेको छ ।
vi. अपर्याप्त लगानी (Inadequate Investment): कृषिमा लगानीको अपर्याप्तताले गर्दा कृषिको उत्पादकत्व र गुणस्तर पनि कमजोर छ । पछिल्ला दिनमा सरकारी र निजी क्षेत्र दुबैले कृषि क्षेत्रमा लगानी बढाइरहेको भए तापनि यो मागको तुलनामा अपर्याप्त छ । नेपालमा कृषि क्षेत्रमा राष्ट्रिय बजेटको करिब तीन प्रतिशत मात्र लगानी छ । कृषिमा न्यून लगानीका कारण आधुनिक यन्त्र, उपकरण, उन्नत बिउबिजन, मलखाद, कीटनाशक औषधी र खेतीबाली लगाउने उन्नत प्रविधिको प्रयोग कम छ ।
vii. मनसुनमा आधारित (Based on Monsoon): कृषिका लागि सिँचाइ महत्त्वपूर्ण मानिन्छ । राष्ट्रिय कृषि गणना, 2078 अनुसार कुल खेतीयोग्य जमिनमध्ये करिब 65 प्रतिशत जमिनमा मात्र सिँचाइको सुविधा पुगेको छ । बाँकी खेतीयोग्य जमिनमा खेती गर्न आकाशको पानीमा भर पर्नुपरेको छ । जलवायु परिवर्तनका कारण वर्षात् हुने समय र मात्रामा असन्तुलन रहेको अवस्था छ । यसले गर्दा कृषि पेसा र व्यवसायमा समस्या उत्पन्न भएको छ ।
viii. कृषि पूर्वाधार र बजारको अभाव (Lack of Agricultural Infrastructure and Market): कृषिको विकासका लागि आवश्यक पर्ने कृषि पूर्वाधारहरू, जस्तै: कृषि सडक, प्रशोधन केन्द्र, गोदामघर तथा शीतभण्डार, कृषि बजारलगायतको कमी छ । हिमाली र पहाडी क्षेत्रमा उत्पादन भएका कृषिजन्य वस्तुहरू बजारसम्म ढुवानी गर्न भरपर्दो सडक सञ्जाल छैन । कृषि उपजलाई प्रसोधन गरी उच्च मूल्यमा बिक्रीवितरण गर्न आवश्यक पर्ने प्रशोधन केन्द्रको कमी छ । कृषि वस्तुको मूल्य निर्धारण प्रभावकारी छैन । कृषि बजारमा कृषकको भन्दा बिचौलिया (मध्यस्थकर्ता) को बढी प्रभुत्व छ । कतिपय अवस्थामा कृषि उपजको मूल्यले किसानको लागत पनि नउठ्ने अवस्था छ ।

(ग) कृषिको आधुनिकीकरण र व्यवसायीकरण (Modernization and Commercialization of Agriculture)

परम्परागत कृषि प्रणालीमा उन्नत तथा वैज्ञानिक प्रविधि, उपकरण र व्यवस्थापन पद्धति प्रयोग गरी उत्पादन, उत्पादकत्व र आम्दानी बढाउनुलाई कृषिको आधुनिकीकरण भनिन्छ । उन्नत बिउबिजन, सुधारिएको सिँचाइ प्रविधि, कृषिमा यान्त्रिकीरणलगायतको प्रयोग गरी कृषिको आधुनिकीकरण गर्न सकिन्छ । यसले अनुसन्धानमा आधारित, हावापानी, माटो सुहाउँदो कृषि कार्यलाई प्राथमिकता दिन्छ । कृषिको आधुनिकीकरणले एकातर्फ कृषिको उत्पादकत्व बढाउँछ भने अर्कोतर्फ उत्पादन लागत घटाई कृषकको आयआर्जन वृद्धि गर्न सहयोग गर्छ ।

परम्परागत वा निर्वाहमुखी कृषि प्रणालीलाई बजारमुखी र नाफामा आधारित कृषि प्रणालीमा रूपान्तरण गर्ने कार्यलाई कृषिको व्यवसायीकरण भनिन्छ । दैनिक घरायसी आवश्यकता परिपूर्तिमा मात्र सीमित नरहेर व्यापारिक उद्देश्यले खेती गर्ने अभ्यास कृषिको व्यवसायीकरण हो । नेपालको सन्दर्भमा कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि निम्नलिखित उपायहरू अपनाउन सकिन्छ :

(अ) भौगोलिक अवस्थितिअनुसार बालीको छनोट (Selection of Crop According to Geographical Location): नेपालको भौगोलिक बनोटको विविधताले गर्दा हावापानी, माटो, उर्वरता, वर्षात्‌को अवस्था फरक फरक छ । फरक भौगोलिक क्षेत्रमा फरक फरक किसिमका बालीनाली लगाउन सकिन्छ । नेपालमा तराईदेखि हिमालसम्म धेरैजसो क्षेत्रमा खाद्यबाली मात्र लगाइने हुँदा कृषिबाट खासै लाभ लिन सकिएको छैन । भौगोलिक बनोट, माटो, हावापानी सुहाउँदो बाली, फलफूल, तरकारी र जडीबुटी छनोट गरी खेती गरेमा उत्पादन वृद्धि गरी आयआर्जन बढाउन सकिने सम्भावना छ ।
(आ) कृषि शिक्षा, तालिम, अनुसन्धान तथा विकास (Agricultural Education, Training, Research and Develpoment): कृषि प्रणालीलाई आधुनिकीकरण र व्यवसायीकरण गर्न उन्नत प्रविधि, बिउबिजन, खेती लगाउने तरिका, बाली भित्र्याउने विधि र सङ्ग्रह गर्ने विधिका बारेमा कृषकलाई कृषि शिक्षा, तालिम र प्राविधिक ज्ञान प्रदान गर्नुपर्छ । त्यस्तै कृषि अनुसन्धान तथा विकासमा लगानी बढाई बढी उत्पादन दिने जातका बिउबिजन र बाली पहिचान गरी सोही जातका बालीहरू लगाउन सल्लाह दिनुपर्छ ।
(इ) आधुनिक प्रविधिको प्रयोग (Use of Modern Technloogy): कृषिको यान्त्रिकीकरण र आधुनिकीकरणको माध्यमबाट खेतीबालीको समय र लागत घटाउन सकिन्छ । यसका लागि सरकारले किसानलाई आधुनिक प्रविधि प्रयोग गरी खेतीपाती गर्नका लागि तालिम, ऋण वा अनुदान सहायता उपलब्ध गराउनुपर्छ । ट्रयाक्टर, हार्भेस्टर, थ्रेसर जस्ता मेसिन तथा उपकरणको प्रयोगबाट किसानको उत्पादकत्व बढ्न गई किसान कृषिप्रति आकर्षित हुन्छन् । यसले बर्सेनि वृद्धि हुँदै गएको बाँझो जमिन पुनः खेतीमा प्रयोग हुन थाल्छ ।
(ई) उन्नत बिउ र बाली प्रविधि (Hybrid Seeds and Advanced Technloogy): कृषि उत्पादन र उत्पादकत्व बढाउन उच्च उत्पादन दिने खाद्यान्न, फलफूल, तरकारीको खेती र पशुपन्क्षीको पालन गर्नुपर्छ । यसका लागि कृषि ज्ञान केन्द्र, कृषि विभाग, कृषि मन्त्रालयले अग्रसरता देखाउनुपर्छ । रोगप्रतिरोधी र अनुकूलित बिउबिजन बिक्रीवितरणको व्यवस्था मिलाउनुपर्छ ।
(उ) खेतीयोग्य जमिनको विशेष व्यवस्था (Special Provision for Cultiviable Land): खेतीयोग्य जमिनलाई वर्गीकरण गरी त्यस्ता कृषि जमिन अन्य प्रयोजनको लागि प्रयोग गर्न नपाइने व्यवस्था लागु गर्नुपर्छ । यस्तो जमिनमा कृषकलाई कर मिनाहा दिने, अनुदान दिने नीति पनि लागु गर्नुपर्छ । उदाहरणका लागि केही देशमा कृषि जमिन बाँझो राखेमा उत्पादन हुन सक्नेभन्दा दुई गुणा बढी जरिवाना तिर्नुपर्ने व्यवस्था छ । यसले कृषि कार्य नगरी जग्गा ओगटेर बस्ने वा जग्गा बाँझो राख्ने प्रवृत्तिलाई न्यूनीकरण गर्न मदत गर्छ ।
(ऊ) कृषि पूर्वाधारको विस्तार (Extension of Agriculture Infrastructure): सिँचाइ, कृषि सडक, गोदाम तथा शीतभण्डार, कृषि प्रशोधन केन्द्रलगायतका पूर्वाधार विस्तार गरेर कृषिको व्यवसायीकरण गर्न सकिन्छ । यसका लागि सरकारी, निजी र सहकारी क्षेत्रले पूर्वाधार निर्माण तथा विस्तारमा लगानी बढाउनुपर्छ ।
(ए) सहकारी खेती प्रणालीको विकास (Development of Cooperative Farming System): नेपालमा ठुलो परिमाणमा जमिन भएका किसानको तुलनामा थोरै परिमाण जमिन भएका साना किसानको बाहुल्यता छ । त्यस्ता साना किसानको जमिन एकीकरण गरी सहकारी वा सामूहिक खेती गर्न सके कृषकले मनग्य लाभ लिन सक्छन् । सहकारीले आवश्यक पर्ने कृषि औजार, प्रविधि, मल र बिउ उपलब्ध गराउँछ । किसानको उत्पादन बिक्री तथा बजारीकरणको व्यवस्था गर्छ । साथै खेती प्रणालीबारे सिप तथा तालिम प्रदान गरी कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा मदत पुर्याउँछ ।
(ऐ) कृषि वित्त तथा बिमा (Agricultural Finance and Insurance): कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरणका लागि सरकारले यस क्षेत्रमा लगानी वृद्धि गर्नुका साथै सङ्गठित लगानीको व्यवस्था गर्नुपर्छ । बैङ्क तथा वित्तीय संस्थाले कृषि व्यवसाय गर्नेका लागि सहुलियत तथा अनुदानमा आधारित कृषि ऋण उपलब्ध गराउन सक्छ । साथै लगानी सुरक्षाका लागि कृषि बिमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्छ ।

(घ) कृषि वित्तका स्रोतहरू (Sources of Agriculture Finance)

कृषि कार्यमा बाली लगाउने समयदेखि बाली बिक्री गर्नेसम्मका कार्यमा किसानलाई वित्त वा पुँजीको आवश्यकता पर्छ । सबै किसानसँग लगानी गर्नका लागि पर्याप्त रकम नहुन सक्छ । यस्तो अवस्थामा किसानले विभिन्न स्रोतबाट ऋण वा सरसापट लिन्छन् । यसैलाई कृषि वित्तका स्रोत भनिन्छ ।

नेपालमा कृषकले सामान्यतः आफन्त, नातागोता, छरछिमेक, सहकारी, बैङ्क तथा वित्तीय संस्थालगायतबाट ऋण वा सापटी लिएर आवश्यक पर्ने पुँजीको प्रबन्ध गर्छन् । कृषकले प्राप्त गर्ने विभिन्न वित्तीय स्रोतलाई निम्नलिखित दुई मुख्य भागमा विभाजन गरिन्छ :

(अ) औपचारिक वा सङ्गठित स्रोत (Formal or Organized Sources)

कानुनी रूपमा स्थापना भएका संस्थाहरू, जस्तै: वाणिज्य बैङ्क, लघुवित्त वित्तीय संस्था, सहकारी संस्थाहरूबाट प्राप्त हुने वित्तीय स्रोतलाई औपचारिक वा सङ्गठित स्रोत भनिन्छ । यस्तो स्रोतबाट किसानले लिने ऋणको ब्याज सामान्यतः सस्तो हुन्छ । परम्परागत रूपमा साहुमहाजन र व्यापारीबाट ऋण लिँदा हुने शोषणबाट कृषक मुक्त हुन्छन् । कृषि वित्तका औपचारिक वा सङ्गठित स्रोतअन्तर्गत निम्नलिखित स्रोतहरू पर्छन् :

i. सरकार (Government): सङ्घीय, प्रादेशिक र स्थानीय तहका सरकारबाट किसानलाई कृषि अनुदान र बिमाको व्यवस्था गरिँदै आएको छ । कृषकलाई आवश्यक पर्ने कृषि औजार, बिउबिजन र उन्नत जातका बेर्ना खरिदलगायतका कार्यका लागि स्थानीय सरकारका रूपमा रहेको गाउँपालिका र नगरपालिकाले समेत अनुदान तथा सहायता उपलब्ध गराउँदै आएका छन् । कृषि फर्म वा व्यवसाय सञ्चालन गर्ने र तोकिएको मापदण्ड पूरा गर्ने कृषकले ब्याज अनुदानमा कृषि ऋण प्राप्त गरिरहेका छन् ।
ii. वाणिज्य बैङ्क (Commercial Bank): हाल नेपालका धेरै जसो स्थानीय तहमा कुनै न कुनै वाणिज्य बैङ्कको शाखा पुगेको अवस्था छ । नेपाल राष्ट्र बैङ्कको निर्देशनअनुसार वाणिज्य बैङ्कले कुल ऋणको निश्चित प्रतिशत ऋण कृषि कर्जाका रूपमा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । कृषिमा आधारित व्यवसाय सञ्चालन गर्ने विश्वसनीय परियोजना प्रस्तुत गरेमा यी बैङ्कले कृषक परिवारलाई आवश्यक पर्ने यन्त्र, उपकरण, निर्माण कार्यका लागि ऋण सहायता प्रदान गर्छन् ।
iii. लघुवित्त वित्तीय संस्था (Micro Finance Financial Institutions): लघुवित्त वित्तीय संस्थाले साना कृषकलाई मध्यनजर गरी वित्तीय सुविधा उपलब्ध गराइरहेका छन् । अन्य वित्तीय संस्थाको पहुँच नपुगेको ठाउँमा स्थानीय कृषकलाई पशुपन्क्षीपालन, मत्स्यपालन, तरकारी खेती, फलफूल खेती गर्न, ट्युबेल, मल, बिउ, कृषि सामग्रीलगायत खरिद गर्ने कार्यमा यस्ता संस्थाले ऋण प्रवाह गर्दै आएका छन् ।
iv. सहकारी (Cooperatives): बैङ्क तथा वित्तीय संस्थामा कम पहुँच भएका कृषकका लागि सहकारी एक भरपर्दो स्रोत हो । सहकारीले सदस्यबाट बचत सङ्कलन गरी सदस्यलाई नै ऋण प्रवाह गर्छ । किसानको आवश्यकता र क्षमता हेरेर सामूहिक जमानीमा यसले ऋण प्रदान गर्छ । खेतीपाती, पशुपालन, कृषि औजार, बिउबिजन, कीटनाशक औषधी, कृषि यन्त्र उपकरण, भण्डारण र प्रशोधन आदि कार्यका लागि सदस्यलाई सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउँछ ।

(आ) अनौपचारिक वा असङ्गठित स्रोत (Informal or Unorganized Source)

बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिन धेरै कागजी प्रक्रियाहरू पूरा गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा बैङ्क तथा वित्तीय संस्थामा पहुँच नभएर तथा यसले प्रदान गर्ने वित्तीय सेवाको ज्ञान नभएर कृषकहरू उच्च ब्याजदरमा अनौपचारिक स्रोतबाट ऋण लिन बाध्य छन् । नेपालको सन्दर्भमा कृषि वित्तका अनौपचारिक स्रोतहरू निम्नलिखित छन् :

i. छरछिमेक (Neighbours): किसानहरू खेतीबाली लगाउने, उठाउने समयमा आवश्यक पर्ने ऋण छरछिमेकबाट लिन्छन् । छरछिमेकले ऋणको समयावधि र परिमाणका आधारमा ब्याज वा विनाब्याज ऋण सहायता प्रदान गर्छन् ।
ii. साथीभाई तथा नातेदार (Friends and Relatives): घरखर्चका लागि होस् वा खेतीपातीका लागि होस् साथीभाइ तथा नातेदारबाट ऋण वा सापटी लिने हामी नेपालीको परम्परा नै हो । संस्थागत ऋणको सुविधाको उपलब्धता गाउँ गाउँसम्म नपुग्दा र संस्थागत ऋण लिने जटिल प्रक्रियाले गर्दा किसानले साथीभाइ तथा नातेदारहरूबाट ऋण लिने गरेका छन् ।
iii. साहुमहाजन र व्यापारी (Merchants and Traders): किसानले छोटो समयका लागि नजिकको व्यापारी वा साहुमहाजनबाट ऋण लिने गर्छन् । सामान्यतः साहुमहाजन वा व्यापारीबाट लिने ऋणको ब्याज तुलनात्मक रूपमा उच्च हुन्छ । यिनीहरूले धितो लिएर वा विनाधितो ऋण प्रदान गर्छन् ।
iv. कृषक समूह (Farmers Group): हिजोआज गाउँघरमा कृषक समूहहरू गठन भई ससानो रकम सङ्कलन गर्ने गरेका छन् । यस्तो सङ्कलित रकम आवश्यकताका आधारमा समूहअन्तर्गतका कृषकले आपसमा विभाजन गरी सदुपयोग गर्ने गर्छन् । सहकारीभन्दा भिन्न यस्ता समूहले समूहको बचत कोषबाट सस्तो व्याजदरमा आफैँ ऋण लिन सक्ने भएकाले यसको प्रचलन बढ्दै गएको छ ।

(ङ) नेपालको कृषि क्षेत्रका समस्या र समाधानका उपाय (Problems and Measures to Solve Problem of Agriculture Sector in Nepal)

नेपालको कृषि क्षेत्रका समस्या र समाधानका उपायहरूलाई तलको तालिकामा प्रस्तुत गरिएको छ :

आधार समस्या समस्या समाधानका उपाय
1. उत्पादन प्रणालीपरम्परागत उत्पादन प्रणाली, औजार र विधि प्रयोग गरेर उत्पादन गरिने भएकाले कृषि उत्पादन एवम् उत्पादकत्व न्यून छ ।उत्पादनको आधुनिक प्रविधि, सुधारिएको बिउ, मलखाद तथा सिँचाइको प्रयोग गरी उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने कार्यमा जोड दिनुपर्छ ।
2. खेतीयोग्य जमिनको आकारपूर्वाधार विकास र उच्च सहरीकरणले गर्दा खेतीयोग्य जमिन खण्डीकृत हुँदै गइरहेको छ । सानो आकारको जमिनमा आधुनिक प्रविधि प्रयोग गर्न समस्या हुन्छ ।सानो आकारमा विभक्त जमिनलाई एकीकरण गरी एकीकृत वा सहकारी खेती प्रणाली अपनाई कृषिमा आधुनिक प्रविधि प्रयोग गर्न र व्यवसायिकीकरण गर्न सकिन्छ । यसले उत्पादन र उत्पादकत्व बढाउँछ ।
3. सिँचाइ पूर्वाधारसबै कृषियोग्य भूमिमा बाह्रै महिना सिँचाइको सुविधा छैन । सिँचाइका पूर्वाधार नहर, कुलो, पैनी, बोरिङ, ट्युबेलको सुविधा पर्याप्त छैन । यसले गर्दा मनसुनबाहेकको समयमा कृषिभूमि बाँझो राख्नुपर्ने बाध्यता छ ।तराईमा रहेका ठुला सिँचाइ आयोजना समयमै सम्पन्न गर्ने, पहाड र हिमाली क्षेत्रमा ससाना सिँचाइ आयोजनालाई प्राथमिकतामा राख्ने, नहर, कुलोको पहुँच नपुग्ने क्षेत्रमा मनसुनको समयको पानी सङ्कलन गर्ने र सुक्खा समयमा आपूर्ति गरी सिँचाइ प्रणाली थप विस्तार गर्न सकिन्छ ।
4. कृषि पूर्वाधार र बजारकृषि पूर्वाधारहरू, जस्तै: सडक, यातायात, प्रशोधन केन्द्र, शीतभण्डार, कृषि बजार अपर्याप्त छन् । कृषकले प्राप्त गर्ने कृषि उपजको मूल्य न्यून छ । समय समयमा कृषि उपजको मूल्यमा हुने उतारचढावले जोखिम बढाएको छ ।दिगो, भरपर्दो सडक सञ्जाल, कृषकलाई पायक पर्ने स्थानमा शीतभण्डार, प्रशोधन केन्द्र सञ्चालन गर्नुपर्ने आवश्यकता छ । बजारमा कृषि उपजको मूल्यमा धेरै उताचढाव हुन नदिन कृषि उत्पादनको समर्थन मूल्य निर्धारण गर्नुपर्छ ।
5. कृषि सामग्री तथा ऋणकृषकलाई कृषि कार्य गर्न आवश्यक पर्ने मेसिन, उपकरण, औजार खरिद गर्नका लागि पुँजीको अभाव छ । वित्तीय संस्थाहरूले साना किसानभन्दा ठुला र व्यवसायमूलक किसानमा ऋण लगानी गर्न रुचाउँछन् । फलस्वरूप सम्पूर्ण किसान अझै पनि सहज, सहुलियत र पर्याप्त ऋण सुविधाको पहुँचमा छैनन् ।कृषकलाई आवश्यक पर्ने कृषि सामग्री खरिद तथा अन्य कार्यका लागि सहज, सहुलियत र पर्याप्त कृषि कर्जा सुविधा उपलब्ध गराउन सकिन्छ । कृषि उत्पादनको बिक्रीपश्चात् ऋणको किस्ता, सावाँ र ब्याजको भुक्तानी गर्ने व्यवस्था गर्न सकिन्छ ।
6. प्राकृतिक प्रकोप र जलवायु परिवर्तनजलवायुमा भइरहेको निरन्तर परिवर्तनले प्राकृति प्रकोपमा वृद्धि भएको छ । अतिवृष्टिले कृषि भूमिको कटान, डुबान हुनुका साथै बाढी पहिरोको समेत जोखिम बढ्दो छ । यसका साथै जलवायु परिवर्तनले कृषि बालीमा नयाँ नयाँ रोगको प्रकोप बढ्दो छ ।बाढी, पहिरो, भूक्षयको जोखिम कम गर्न पूर्वाधार निर्माणको कार्यलाई व्यवस्थित गर्न सकिन्छ । जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अनुकूलित बिउबिजनको प्रयोग गर्न सकिन्छ । रोग प्रतिरोधात्मक क्षमता भएको जातको बाली विकास गर्न सकिन्छ ।
7. अध्ययन अनुसन्धान र जनशक्तिकृषि क्षेत्रको अध्ययन र अनुसन्धानमा लगानी अपर्याप्त छ । यस क्षेत्रका लागि आवश्यक पर्ने दक्ष जनशक्तिको कमी छ । देशको युवा जनशक्तिलाई कृषि पेसामा आर्कषण गर्न सकिएको छैन । विदेशबाट सिप सिकेर आएकालाई पनि कृषि पेसामा लाग्न प्रेरित गर्न सकिएको छैन ।कृषिको अध्ययन र अनुसन्धानमा कार्यरत संस्थाहरूको क्षमता अभिवृद्धि गर्न ध्यान दिनुपर्छ । कृषिको उत्पादकत्व वृद्धि गर्न नयाँ नयाँ जातका बिउबिजनको विकासका लागि निरन्तर अध्ययन र अनुसन्धान गर्नुपर्छ। कृषि क्षेत्रमा आवश्यक पर्ने जनशक्ति अनुमान गरी सोहीअनुरूप जनशक्ति योजना तयार गर्नुपर्छ । कृषि पेसालाई आकर्षक र सम्मानजनक बनाउँदै कृषि उद्यमशीलतामा युवालाई जोड्नुपर्छ ।

२. अभ्यास (Exercise) – समाधानसहित
अति छोटो उत्तर आउने प्रश्नहरू [1 Mark]

क. कृषि भनेको के हो ?
उत्तर: भूमिमा गरिने सबै प्रकारका बालीहरूको खेती (जस्तै: खाद्यान्न, नगदेबाली, फलफूल) र पशुपन्क्षी पालन व्यवसायलाई समष्टिगत रूपमा कृषि भनिन्छ।
ख. नेपालमा के कस्ता कृषि कार्यको सम्भावना रहेको छ ?
उत्तर: नेपालमा रहेको हावापानी, माटो र भौगोलिक विविधताका कारण यहाँ विविध किसिमका खाद्यान्न, फलफूल, जडीबुटीको खेती, पशुपन्क्षीपालन र वन सम्पदामा आधारित कृषि व्यवसायको प्रचुर सम्भावना रहेको छ।
ग. राष्ट्रिय कृषि गणना, 2078अनुसार नेपालमा कृषक घरपरिवारको सङ्ख्या कति छ ?
उत्तर: राष्ट्रिय कृषि गणना, २०७८ अनुसार नेपालमा जम्मा ४१ लाख २१ हजार कृषक घरपरिवार (३९ लाख ९९ हजार खेतीपाती गर्ने र १ लाख ३२ हजार पशुपन्क्षी मात्र पाल्ने) रहेका छन्।
घ. कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति छ ?
उत्तर: नेपालको कुल गार्हस्थ उत्पादन (GDP)मा कृषि क्षेत्रको योगदान करिब २४ प्रतिशत (आर्थिक सर्वेक्षण २०८०/८१ को तथ्याङ्कअनुसार) रहेको छ भने कुल कृषि उत्पादनमा खाद्यान्न बालीको योगदान करिब ४५ प्रतिशत रहेको छ।
ङ. नेपालमा धेरैजसो कृषि कार्यमा उत्पादनको कुन विधि प्रयोग गरिन्छ ?
उत्तर: नेपालमा धेरैजसो कृषि कार्यमा यान्त्रिकीकरणको अभावका कारण परम्परागत र ‘श्रम प्रधान (Labour Intensive)’ विधि प्रयोग गरिन्छ।
च. नेपालमा कृषि भूमिको स्वामित्व घट्‌दै जानुका कुनै दुईओटा कारण लेख्नुहोस् ।
उत्तर: नेपालमा कृषि भूमिको स्वामित्व घट्दै जानुका दुई कारणहरू: १. तीव्र सहरीकरण र जनसङ्ख्या वृद्धि। २. कृषि योग्य जमिनको खण्डीकरण र पूर्वाधार विकास।
छ. नेपालमा सबैजसो भौगोलिक क्षेत्रमा किन खाद्यान्न बाली नै लगाइएको होला ?
उत्तर: खाद्यान्न बाली प्रत्यक्ष रूपमा दैनिक उपभोगमा प्रयोग गरिने र परम्परादेखि नै जीवन निर्वाहका लागि खेती गरिँदै आएको हुनाले सबैजसो क्षेत्रमा खाद्यान्न बाली नै लगाइएको हो।
ज. नेपालमा कृषि पूर्वाधारमा देखिएका कुनै दुईओटा समस्याहरू लेख्नुहोस् ।
उत्तर: कृषि पूर्वाधारमा देखिएका दुई समस्याहरू: १. भरपर्दो कृषि सडक र यातायात सञ्जालको अभाव। २. प्रशोधन केन्द्र तथा शीतभण्डार (Cold Store) को कमी।
झ. कृषिको आधुनिकीकरण भनेको के हो ?
उत्तर: परम्परागत कृषि प्रणालीको सट्टा उन्नत तथा वैज्ञानिक प्रविधि, आधुनिक उपकरण र व्यवस्थापन पद्धति प्रयोग गरी कृषिको उत्पादन र उत्पादकत्व बढाउने कार्यलाई कृषिको आधुनिकीकरण भनिन्छ।
ञ. कृषि वित्तका कुनै दुईओटा औपचारिक स्रोतहरू उल्लेख गर्नुहोस् ।
उत्तर: कृषि वित्त (कर्जा) का दुई औपचारिक स्रोतहरू: १. वाणिज्य बैङ्कहरू २. सहकारी संस्थाहरू (तथा लघुवित्त संस्थाहरू)।
ट. जलवायु परिवर्तनले कृषि क्षेत्रमा कस्तो असर पुर्याउँछ ?
उत्तर: जलवायु परिवर्तनले वर्षाको समय र मात्रामा असन्तुलन ल्याई बाढी, पहिरो र खडेरीको जोखिम बढाउनुका साथै कृषि बालीमा नयाँ-नयाँ रोग तथा किराको प्रकोप बढाएर उत्पादनमा ह्रास ल्याउँछ।
ठ. नेपालमा कृषि बजारमा देखिएको कुनै एक समस्या लेख्नुहोस् ।
उत्तर: नेपालमा कृषि बजारमा देखिएको मुख्य समस्या कृषकले आफ्नो उत्पादनको उचित मूल्य नपाउनु र बजारमा कृषकको भन्दा बिचौलिया (मध्यस्थकर्ता) को बढी प्रभुत्व रहनु हो।

३. अभ्यास: छोटो उत्तर आउने प्रश्नहरू [5 Marks]

क. कृषिको परिचय दिनुहोस् । कृषिका कुनै चारओटा विशेषता वर्णन गर्नुहोस् । 5 Marks
कृषिको परिचय: भूमिमा गरिने सबै प्रकारका बालीनालीको खेती (खाद्यान्न, फलफूल, तरकारी, नगदेबाली) र पशुपन्क्षी पालन, माछापालन, मौरीपालन जस्ता कार्यहरूको समष्टिगत रूप नै कृषि हो। यो जीवन निर्वाहको प्रमुख माध्यम र देशको समृद्धिको आधार हो।

नेपाली कृषिका चारओटा विशेषताहरू:
१. निर्वाहमुखी खेती: अधिकांश किसानहरूले व्यावसायिक वा व्यापारिक उद्देश्यले नभई आफू र आफ्नो परिवारको आवश्यकता पूरा गर्न (जीवन धान्न) मात्र खेतीपाती गर्ने गर्छन्।
२. श्रम प्रधान खेती: कृषिको पूर्ण यान्त्रिकीकरण हुन नसकेकाले खन्ने, जोत्ने र बाली भित्र्याउने अधिकांश कार्यहरूमा मेसिनको सट्टा मानव श्रमको नै बढी प्रयोग हुन्छ।
३. अदृश्य बेरोजगारी: कृषि क्षेत्रमा आवश्यकताभन्दा बढी जनशक्ति आश्रित छन्। थप मानिसले काम गर्दा पनि कुल उत्पादनमा वृद्धि हुँदैन, जसलाई अदृश्य बेरोजगारी भनिन्छ।
४. मनसुनमा आधारित: नेपालको करिब ६५% खेतीयोग्य जमिनमा मात्र सिँचाइ पुगेको छ। बाँकी क्षेत्रमा खेतीपाती गर्न पूर्ण रूपमा आकाशे पानी (मनसुन) मा भर पर्नुपर्ने बाध्यता छ।

ख. कृषि पूर्वाधार र बजारको अभाव हुँदा कृषकले कस्ता कस्ता समस्याहरू भोग्नुपर्छ, प्रस्तुत गर्नुहोस् । 5 Marks
कृषि पूर्वाधार (सडक, सिँचाइ, शीतभण्डार) र व्यवस्थित बजारको अभाव हुँदा कृषकले निम्न समस्याहरू भोग्नुपर्छ:
– उत्पादन खेर जाने: शीतभण्डार र प्रशोधन केन्द्र नहुँदा तरकारी, फलफूल र दुध जस्ता चाँडै बिग्रने वस्तुहरू भण्डारण गर्न नसकी सडेर खेर जान्छन्।
– ढुवानीमा समस्या: गाउँमा फलेका कृषि उपजहरूलाई बजारसम्म पुर्‍याउन भरपर्दो सडक नहुँदा ढुवानी खर्च अचाक्ली महँगो पर्छ।
– बिचौलियाको शोषण: व्यवस्थित बजार नहुँदा कृषक र उपभोक्ताको बिचमा बिचौलियाहरू हाबी हुन्छन्, जसले गर्दा कृषकले सस्तोमा बेच्नुपर्छ तर उपभोक्ताले महँगोमा किन्नुपर्छ।
– लागत नउठ्ने: बजारमा मूल्यको उतारचढाव भइरहने र समर्थन मूल्य नतोकिने हुँदा कृषकले आफ्नो उत्पादनको लागत खर्च (बिउ, मल, श्रम) समेत उठाउन सक्दैनन्।

ग. तपाईंको विचारमा कृषिको व्यवसायीकरणका लागि सरकारले कृषकलाई के कस्तो सहयोग र सहायता गर्नुपर्छ ? 5 Marks
कृषिको व्यवसायीकरण (नाफामुखी र व्यापारिक कृषि) का लागि सरकारले कृषकलाई निम्न सहयोग गर्नुपर्छ:
१. आधुनिक प्रविधि र अनुदान: ट्र्याक्टर, थ्रेसर जस्ता कृषि उपकरण र उन्नत बिउबिजन/मलखाद खरिदमा सरकारले भारी अनुदान दिनुपर्छ।
२. सहुलियतपूर्ण ऋण र बिमा: बैंकहरूमार्फत अत्यन्त सस्तो ब्याजदरमा कृषि ऋण र बाली/पशु बिमाको सहज व्यवस्था मिलाउनुपर्छ।
३. पूर्वाधार विकास: सिँचाइ प्रणालीको विस्तार, कृषि सडक निर्माण र गाउँ-गाउँमा शीतभण्डार (Cold Store) तथा सङ्कलन केन्द्रहरू स्थापना गरिदिनुपर्छ।
४. समर्थन मूल्य र बजार ग्यारेन्टी: कृषकको उत्पादन नबिक्ने वा घाटा लाग्ने अवस्था रोक्न सरकारले बाली लगाउनुअघि नै ‘न्यूनतम समर्थन मूल्य’ तोकेर बजारको ग्यारेन्टी गरिदिनुपर्छ।

घ. कृषि वित्तका अनौपचारिक स्रोतहरू उल्लेख गर्दै वर्णन गर्नुहोस् । 5 Marks
बैङ्क तथा वित्तीय संस्थाको पहुँच नभएका वा झन्झटिलो कागजी प्रक्रिया गर्न नसक्ने कृषकहरूले गाउँघरमै सरसापट लिने स्रोतहरूलाई अनौपचारिक वा असङ्गठित स्रोत भनिन्छ। यस्ता स्रोतहरू निम्न छन्:
१. छरछिमेक र साथीभाइ/नातेदार: खेतीपातीको समयमा तत्काल आवश्यक पर्ने स-सानो रकम किसानले आफ्ना छिमेकी वा आफन्तबाट ब्याज वा विनाब्याज सापटी लिन्छन्।
२. साहुमहाजन र व्यापारी: गाउँका धनी साहुमहाजन वा स्थानीय व्यापारीबाट किसानले छोटो समयका लागि ऋण लिन्छन्। यसमा धितो चाहिन पनि सक्छ। यस्तो ऋण प्राप्त गर्न सजिलो भए तापनि यसको ब्याजदर तुलनात्मक रूपमा निकै उच्च र शोषक प्रकृतिको हुन्छ।
३. कृषक समूह: गाउँघरमा किसानहरू आफैँ मिलेर समूह बनाई स-सानो रकम बचत गर्छन् र आवश्यक पर्ने सदस्यलाई सस्तो ब्याजदरमा ऋण दिन्छन्।

४. लामो उत्तर आउने प्रश्नहरू [8 Marks]

क. नेपालमा कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि के कस्ता उपाय अपनाउन सकिन्छ, उपाय प्रस्तुत गरी व्याख्यासमेत गर्नुहोस् । 8 Marks
परम्परागत वा निर्वाहमुखी कृषिलाई आधुनिक प्रविधिको प्रयोग गरी बजारमुखी र नाफामा आधारित व्यवसायमा रूपान्तरण गर्न नेपालमा निम्न उपायहरू अपनाउन सकिन्छ:
१. आधुनिक प्रविधि र यान्त्रिकीकरणको प्रयोग: परम्परागत हलो र कोदालोको सट्टा ट्र्याक्टर, हार्भेस्टर, थ्रेसर, र थोपा सिँचाइ जस्ता आधुनिक उपकरणको प्रयोग गर्नुपर्छ। यसले कम लागत र कम समयमै बढी उत्पादन दिन्छ।
२. उन्नत बिउ र प्रविधि: कृषि वैज्ञानिकहरूले अनुसन्धान गरी रोगप्रतिरोधी र धेरै फल्ने हाइब्रिड (Hybrid) बिउबिजन विकास गरी किसानसम्म पुर्‍याउनुपर्छ।
३. भौगोलिक अवस्थितिअनुसार बाली छनोट: जहाँ जे फल्छ त्यही लगाउनुपर्छ। हिमालमा जडीबुटी र स्याउ, पहाडमा कफी, अलैँची र सुन्तला, तथा तराईमा खाद्यान्न र नगदेबालीको विशिष्टीकृत खेती गर्नुपर्छ।
४. सहकारी खेती प्रणालीको विकास: नेपालका किसानहरूसँग थोरै-थोरै जग्गा छ। त्यस्ता स-साना जग्गालाई चक्लाबन्दी (एकीकरण) गरी सहकारीमार्फत सामूहिक खेती गर्दा लागत घट्छ र व्यावसायिक उत्पादन सम्भव हुन्छ।
५. कृषि पूर्वाधारको विस्तार र बजार व्यवस्थापन: वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने, कृषि सडक निर्माण गर्ने र उत्पादन सुरक्षित राख्न प्रत्येक स्थानीय तहमा शीतभण्डार र प्रशोधन केन्द्रहरू बनाउनुपर्छ।
६. कृषि शिक्षा र सहुलियतपूर्ण कर्जा: किसानहरूलाई आधुनिक खेतीप्रणालीबारे तालिम दिने र सस्तो ब्याजदरमा कृषि कर्जा तथा कृषि बिमाको सहज व्यवस्था गर्नुपर्छ। साथै, जग्गा बाँझो राख्नेलाई जरिवाना र खेती गर्नेलाई अनुदानको व्यवस्था गर्नुपर्छ।

ख. कृषि वित्तका औपचारिक र अनौपचारिक स्रोतहरू वर्णन गर्नुहोस् । 8 Marks
कृषि कार्य (बाली लगाउनेदेखि बेच्नेसम्म) का लागि किसानलाई आवश्यक पर्ने पुँजी वा ऋण प्राप्त गर्ने माध्यमलाई कृषि वित्तका स्रोत भनिन्छ। यसलाई दुई भागमा बाँडिएको छ:

१. औपचारिक वा सङ्गठित स्रोत: कानुनद्वारा स्थापित र सरकारको नियमनमा रहेका वित्तीय संस्थाहरू यसमा पर्छन्। यहाँ ब्याजदर सस्तो र पारदर्शी हुन्छ।
– सरकार: सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले कृषकलाई अनुदान, बिमा प्रिमियममा छुट र औजार खरिदमा सिधै आर्थिक सहायता प्रदान गर्छन्।
– वाणिज्य बैङ्कहरू: नेपाल राष्ट्र बैङ्कको नियमअनुसार वाणिज्य बैङ्कहरूले आफ्नो कुल लगानीको निश्चित प्रतिशत अनिवार्य रूपमा सहुलियतपूर्ण कृषि कर्जामा लगानी गर्नुपर्छ।
– लघुवित्त र सहकारी संस्थाहरू: गाउँ-गाउँमा पुगेका यी संस्थाहरूले साना किसानहरूलाई बिना धितो वा सामूहिक जमानीमा पशुपन्क्षी पालन, तरकारी खेती र मलखाद खरिद गर्न सस्तो ब्याजदरमा ऋण दिन्छन्।

२. अनौपचारिक वा असङ्गठित स्रोत: कुनै कानुनी प्रक्रियाबिना आपसी विश्वासका आधारमा तत्काल प्राप्त हुने ऋण यसमा पर्दछ। बैंकिङ पहुँच नभएका किसानहरू यसमा भर पर्छन्।
– साहुमहाजन र व्यापारी: गाउँका साहु वा व्यापारीबाट लिइने ऋण। यो प्राप्त गर्न सजिलो भए पनि ब्याजदर अत्यन्तै चर्को हुने हुँदा किसानहरू शोषणमा पर्छन्।
– छरछिमेक, साथीभाइ र नातेदार: आपत् पर्दा छरछिमेक वा आफन्तबाट ब्याज वा बिनाब्याज सरसापट लिएर पनि किसानले बीउमलको जोहो गर्छन्।
– कृषक समूह: किसानहरू आफैँले बनाएको समूहमा मासिक बचत सङ्कलन गर्ने र आवश्यक पर्ने कृषकलाई सस्तो ब्याजमा ऋण दिने चलन पनि बढ्दो छ।

ग. नेपालको कृषि क्षेत्रमा देखिएका वर्तमान समस्याहरू के के छन् ? ती समस्या समाधान गर्ने उपायहरू के के हुन सक्छन्, लेखाजोखा गर्नुहोस् । 8 Marks
नेपाल कृषिप्रधान देश भए तापनि यहाँको कृषि क्षेत्र अनेकौँ समस्याहरूबाट गुज्रिरहेको छ। वर्तमान समस्याहरू र तिनका समाधानका उपायहरू तल प्रस्तुत गरिएको छ:

वर्तमान समस्याहरू:
१. परम्परागत उत्पादन प्रणाली: आधुनिक उपकरण र उन्नत बिउको अभावमा अझै पनि परम्परागत शैलीमै खेती गरिने हुनाले उत्पादकत्व निकै न्यून छ।
२. सिँचाइको अभाव: करिब ३५% खेतीयोग्य जमिनमा अझै सिँचाइ पुगेको छैन। किसानहरू पूर्ण रूपमा आकाशे पानी (मनसुन) मा निर्भर हुनुपरेको छ।
३. जमिनको खण्डीकरण र बाँझोपन: अंशबन्डा र प्लटिङले गर्दा खेतीयोग्य जमिन स-साना टुक्रामा विभाजित भएको छ भने युवाहरू विदेशिँदा गाउँका खेतबारी बाँझै छन्।
४. पूर्वाधार र बजारको समस्या: कृषि सडक र शीतभण्डारको अभाव छ। बजारमा बिचौलियाको हालीमुहाली हुँदा किसानले लागत मूल्य पनि पाउँदैनन्।
५. पुँजीको अभाव र जलवायु परिवर्तन: किसानसँग लगानी गर्ने पैसा छैन। त्यसमाथि जलवायु परिवर्तनले बाढी, खडेरी र नयाँ रोगकीराको प्रकोप बढाएर बाली नष्ट गरिरहेको छ।

समस्या समाधानका उपायहरू:
१. आधुनिकीकरण र यान्त्रिकीकरण: कृषिमा नयाँ प्रविधि, ट्र्याक्टर, हाइब्रिड बिउ र रासायनिक/प्राङ्गारिक मलको प्रयोगलाई अनुदानसहित प्रवर्द्धन गर्नुपर्छ।
२. सिँचाइ आयोजनाहरूको विस्तार: निर्माणाधीन ठुला सिँचाइ आयोजनाहरू छिटो सम्पन्न गर्ने र पहाडमा रेनवाटर हार्भेस्टिङ (आकाशे पानी सङ्कलन) तथा थोपा सिँचाइ लागू गर्नुपर्छ।
३. चक्लाबन्दी र सहकारी खेती: टुक्रिएको जमिनलाई कानुन बनाएर एकीकरण (चक्लाबन्दी) गर्ने र बाँझो जग्गामा सामूहिक वा सहकारी खेती गर्ने व्यवस्था मिलाउनुपर्छ।
४. बजार ग्यारेन्टी र पूर्वाधार विकास: प्रत्येक स्थानीय तहमा शीतभण्डार र कृषि उपज सङ्कलन केन्द्र बनाउनुपर्छ। सरकारले कृषकको उत्पादनको ‘न्यूनतम समर्थन मूल्य’ तोकिदिनुपर्छ।
५. सुलभ कर्जा र कृषि बिमा: किसानलाई सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराउने र बाढी/खडेरीबाट हुने नोक्सानीको जोखिम कम गर्न कृषि बिमालाई अनिवार्य र प्रभावकारी बनाउनुपर्छ। साथै, युवाहरूलाई कृषि उद्यममा आकर्षित गर्ने नीति ल्याउनुपर्छ।

📚 Also Read: Class 10 SEE Notes

Compulsory Subjects

Optional Subjects

Scroll to Top