3. Tourism Industry: Class 10 Economics Notes | पर्यटन उद्योग
Importantedunotes.com
Back to Economics Notes

Welcome to the complete study guide on Tourism Industry (पर्यटन उद्योग) under Nepal’s Economy. This is Chapter 3 of Unit 5 for Class 10 Economics students in Nepal preparing for their SEE board exams.

Here you will find structured theoretical notes on the concept of tourism, its present state in Nepal, sustainable tourism, its importance, problems, and solutions, along with fully solved textbook exercises.

Explore our complete study list here: Class 10 Economics Notes.

१. सैद्धान्तिक अवधारणा (Theoretical Concept)

परिचय

नेपाल अनुपम प्राकृतिक सौन्दर्य र प्रचुर जैविक विविधताले भरिपूर्ण मुलुक हो । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देशका रूपमा पनि विश्वका सामु परिचित छ । नेपाल विशेषतः मनोरञ्जन, पर्वतारोहण र पदयात्रा पर्यटन तथा तीर्थयात्रा पर्यटनका लागि विश्वकै एक प्रमुख पर्यटकीय गन्तव्य हो ।

(क) पर्यटन उद्योगको परिचय (Introduction to Tourism Industry)

पर्यटन उद्योग सेवामूलक उद्योगभित्र पर्ने मुलुकको अर्थतन्त्रको एक प्रमुख आधार हो । मानिस विभिन्न उद्देश्यले एक ठाउँबाट अर्को ठाउँमा घुमफिर गर्छन् । यसरी घुमफिर गर्ने कार्यलाई पर्यटन भनिन्छ र घुमफिर गर्ने मानिसलाई पर्यटक भनिन्छ । कुनै देशका नागरिक आफ्नै देशभित्र भ्रमण गर्छन् भने तिनीहरू आन्तरिक पर्यटक हुन् र अर्को देशमा गएर भ्रमण गर्छन् भने तिनीहरू बाह्य पर्यटक हुन् ।

संयुक्त राष्ट्र सङ्घको विश्व पर्यटन सङ्गठन (United Nation World Tourism Organization – UNWTO) अनुसार पर्यटनलाई फुर्सद, व्यवसाय र अन्य उद्देश्यका लागि एक वर्षभन्दा कम समयसम्म आफ्नो सामान्य वातावरण बाहिर यात्रा गर्ने र बस्ने व्यक्तिहरूको गतिविधिलाई पर्यटन भनिन्छ ।

पर्यटकहरूलाई सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएका होटल, रेस्टुरेन्ट, यातायात, हवाई सेवा, ट्राभल एजेन्सी, गाइड सेवालगायतका सेवामूलक उद्योगहरूलाई पर्यटन उद्योग भनिन्छ ।

दिगो पर्यटन (Sustainable Tourism) का तीन पक्षहरू :

१. पारिस्थितिकी/वातावरण (जैविक विविधिता संरक्षण)
२. सामाजिक न्याय/समता (पर्यटकबाट जिम्मेवारीपूर्ण भ्रमण)
३. अर्थतन्त्र (पर्यटनमार्फत आर्थिक विकास)

यसमा पर्यटकका लागि बसोबास, खानपान, यात्रा, मनोरञ्जन र सांस्कृतिक अनुभव आदि जस्ता सेवाहरू उपलब्ध हुन्छन् ।

(ख) नेपालमा पर्यटन उद्योगको वर्तमान अवस्था (Current Situation of Tourism Industry in Nepal)

नेपालमा पर्यटन उद्योगको विद्यमान अवस्था दृष्टिगत गर्दा नेपाल भ्रमण गर्ने पर्यटकको सङ्ख्या आ.व. 2080/81 को तुलनामा आ.व. 2081/82 मा 1.7 प्रतिशतले वृद्धि भएको छ । साथै पर्यटकको सरदर औसत बसाइ अवधि करिब 13 दिन र प्रतिदिन औसत पर्यटक खर्च झन्डै 40 अमेरिकी डलर रहेको छ । सन् 2023 मा कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान 6.7 प्रतिशत रहेकामा सन् 2024 मा योगदान बढेर 7 प्रतिशत पुगेको छ । (स्रोत : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, 2024)

त्यसै गरी नेपाल पर्यटन बोर्डको तथ्याङ्क हेर्दा नेपालमा सन् 2024 मा आउने पर्यटकमध्ये 40 प्रतिशत भारतबाट आएको देखिन्छ । चीनबाट करिब 9 प्रतिशत, अमेरिका र श्रीलङ्काबाट 7 प्रतिशत र बङ्गलादेशबाट 5 प्रतिशत देखिन्छ । सोही अवधिको तथ्याङ्क हेर्दा कुल पर्यटकमध्ये झन्डै 60 प्रतिशत मनोरञ्जनका लागि, 16 प्रतिशत तीर्थयात्राका लागि, 15 प्रतिशत पदयात्राको लागि र 10 प्रतिशत अन्य उद्देश्यका लागि नेपाल भ्रमण गरेको तथ्य देखिन्छ ।

(ग) दिगो पर्यटनको परिचय (Introduction to Sustainable Tourism)

वर्तमान पुस्ताका साथै भावी पुस्ताको आवश्यकतासमेत पूरा गर्ने गरी सञ्चालन गरिने पर्यटकीय गतिविधिलाई दिगो पर्यटन भनिन्छ । यस्तो पर्यटकीय गतिविधिले वातावरण संरक्षण, स्थानीय संस्कृति र परम्पराको सम्मान, समुदायको सहभागिता, आर्थिक लाभको न्यायोचित वितरणका पक्षमा जोड दिन्छ । त्यस्तै पर्यटकलाई सचेत र शिक्षित बनाउने पक्षमा पनि जोड दिन्छ । यसले पर्यटकीय सेवा सुविधालाई वातावरणसँग एकीकरण गर्नुपर्ने पक्षमा जोड दिएको छ ।

विश्व पर्यटन सङ्गठनका अनुसार दिगो पर्यटनमा निम्नलिखित पक्षहरू समावेश हुन्छन् :

(अ) जैविक विविधताको संरक्षण गर्दै प्राकृतिक स्रोतहरूको कुशलतापूर्वक प्रयोग गर्नुपर्छ ।
(आ) पर्यटन गन्तव्यका सांस्कृतिक सम्पदा र परम्परागत मूल्यको संरक्षण गर्नुपर्छ साथै अन्तरसांस्कृतिक सम्बन्धलाई कायम राख्नुपर्छ ।
(इ) पर्यटन व्यवसायमा आबद्ध सबै सहभागीलाई त्यसबाट प्राप्त आय निष्पक्ष वितरण गर्नुपर्छ ।

अतः दिगो पर्यटन एक नवीन धारणा हो । यसले वातावरणमैत्री पर्यटनलाई प्रवर्धन गर्छ । सांस्कृतिक सम्पदा स्थलहरूको संरक्षण गर्छ र स्थानीय समुदायहरूलाई सबल बनाउँछ ।

(घ) नेपालमा दिगो पर्यटनको महत्त्व (Importance of Sustainable Tourism)

दिगो पर्यटनले नेपालको विकासमा विशेष योगदान दिन सक्छ । विश्वमा जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा पारेको प्रभावलाई न्यूनीकरण गरी यसबाट प्राप्त लाभ समान रूपमा वितरण गर्नु नै दिगो पर्यटनको मूल उद्देश्य हो । विश्व पर्यटन दिवस 2025 को नारा : पर्यटन र दिगो रूपान्तरण (tourism and sustainable transformation) ले पनि दिगो पर्यटनलाई जोड दिएको छ । नेपालको सन्दर्भमा दिगो पर्यटनको महत्त्वलाई निम्नानुसार वर्णन गरिएको छ :

(अ) वातावरणीय संरक्षण (Environment Protection): दिगो पर्यटनले वातावरणीय संरक्षणमा सहयोग पुर्‍याउँछ । पर्यटनका गतिविधि वातावरणमैत्री बनाई यसबाट प्राकृतिक सम्पदामा पर्ने सम्भावित नकारात्मक असरलाई न्यूनीकरण गर्न मदत गर्छ ।
(आ) सांस्कृतिक सम्पदाको संरक्षण (Protection of Cultural Heritage): यसले सांस्कृतिक सम्पदाको संरक्षणमा ध्यान दिन्छ । परम्परागत संस्कृतिको सम्मान तथा ऐतिहासिक स्थलहरूको संरक्षणमा जोड दिन्छ ।
(इ) आर्थिक दिगोपन (Economic Sustainability): आर्थिक दिगोपन दिगो पर्यटनको मूल आधार हो । यसले देशभित्रका सम्पदा क्षति नगरी स्थानीय समुदायका लागि आयआर्जनका अवसरहरू प्रदान गर्छ । साथै जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।
(ई) सामुदायिक सशक्तीकरण (Social Empowerment): दिगो पर्यटनले स्थानीय समुदायहरूलाई जागरुक बनाउँछ । पर्यटकीय क्षेत्र र स्रोतहरूको उचित व्यवस्थापनमा सहयोग गर्छ । साथै आर्थिक उपार्जनबाट सामुदायिक सशक्तीकरणमा मदत गर्छ ।
(उ) जलवायु परिवर्तनको असर न्यूनीकरण (Minimizing the Impact of Climate change) : यसले जलवायु परिवर्तन, पारिस्थितिकी प्रणालीका साथै स्थानीय समुदायमा पर्यटनले पार्ने नकारात्मक असरलाई न्यूनीकरण गर्न सहयोग गर्छ ।

(ङ) नेपालमा दिगो पर्यटन विकासका समस्या र समाधानका उपाय (Problems and Measures to Solve Problems of Sustainable Tourism Development in Nepal)

नेपालको सन्दर्भमा दिगो पर्यटनको समस्या र समाधानका उपायहरूलाई तलको तालिकामा प्रस्तुत गरिएको छ :

आधार समस्या समाधानका उपाय
1. वातावरणपर्यटकीय स्थलमा प्लास्टिकजन्य, धातुजन्य, मानव अवशेषलगायतका फोहोर तथा प्रदूषणले वातावरण र पर्यावरणमा असर गरेको छ ।पर्यटकीय स्थलमा फोहोर नफ्याँक्ने र तिनको उचित व्यवस्थापनका लागि साधनस्रोतको पुनः प्रयोग (reuse), पुनः चक्र (recycle) र न्यूनीकरण (reduce) मा जोड दिनुपर्छ ।
2. पूर्वाधारपर्यटकीय पूर्वाधारहरू, जस्तै: सडक, विमानस्थल, होटल, लज, यातायातका साधन, सूचना प्रणालीलगायतका पूर्वाधार अपर्याप्त छन् ।दीर्घकालीन सोचका साथ पर्यावरणमैत्री पूर्वाधार विकासमा जोड दिनुपर्छ जस्तै : विद्युतीय यातायात, इको लज आदि ।
3. नीतिनियमपर्यटनसँग सम्बन्धित नीतिमा एकरूपता नरहेकाले पर्यटनसँग सम्बन्धित विभिन्न निकाय र स्थानीय समुदायबिच समन्वयको अभाव छ ।दिगो पर्यटनलाई आत्मसात् गरी अन्तरनिकाय समन्वय बढाउनुपर्छ । यसका लागि नीतिगत स्पष्टता आवश्यक छ ।
4. प्राकृतिक स्रोतपर्यटकीय क्षेत्रमा रहेका प्राकृतिक स्रोतसाधनको अविवेकशील उपभोगले पारिस्थितिकी प्रणालीमा असन्तुलन ल्याएको छ ।प्राकृतिक स्रोत संरक्षणका लागि पर्यटनको आयबाट प्राप्त रकमको निश्चित भागलाई प्राकृतिक स्रोतको संरक्षण र व्यवस्थापनमा अनिवार्य प्रयोग गर्नुपर्छ ।
5. पहुँचपर्यटकीय स्थलहरूमा सबैतिर आपत्‌कालीन उद्धार र सेवाको पहुँच न्यून देखिन्छ ।पर्यटकीय स्थलहरूमा सुचना तथा सञ्चार प्रणाली प्रभावकारी बनाई आपत्कालीन उद्धार गर्न जनशक्ति परिचालन गर्नुपर्छ ।
6. सहभागितापर्यटनसँग सम्बन्धित योजना निर्माण तथा व्यवस्थापनमा समुदायको सहभागिता अपेक्षाजनक देखिदैन । यसले गर्दा स्थानीय समुदायले उचित लाभ प्राप्त गर्न सकेका छैनन् ।सामुदायिक सहभागिता बढाउन स्थानीय समुदायलाई प्रशिक्षण, रोजगारी तथा निर्णय प्रक्रियामा सहभागी गराई लाभको समान वितरण गर्नुपर्छ ।

२. अभ्यास (Exercise) – समाधानसहित
अति छोटो उत्तर आउने प्रश्नहरू [1 Mark]

क. पर्यटन भनेको के हो ?
उत्तर: मानिसहरू विभिन्न उद्देश्यले (फुर्सद, व्यवसाय, मनोरञ्जन आदि) एक ठाउँबाट अर्को ठाउँमा घुमफिर गर्ने र बस्ने कार्यलाई पर्यटन भनिन्छ।
ख. विश्व पर्यटन सङ्गठनका अनुसार पर्यटनलाई परिभाषित गर्नुहोस् ।
उत्तर: विश्व पर्यटन सङ्गठन (UNWTO) का अनुसार फुर्सद, व्यवसाय र अन्य उद्देश्यका लागि एक वर्षभन्दा कम समयसम्म आफ्नो सामान्य वातावरण बाहिर यात्रा गर्ने र बस्ने व्यक्तिहरूको गतिविधिलाई पर्यटन भनिन्छ।
ग. पर्यटन उद्योगअन्तर्गत कस्ता सेवाहरू समावेश हुन्छन् ?
उत्तर: पर्यटन उद्योगअन्तर्गत पर्यटकहरूलाई सेवा सुविधा उपलब्ध गराउने होटल, रेस्टुरेन्ट, यातायात, हवाई सेवा, ट्राभल एजेन्सी, र गाइड सेवाहरू समावेश हुन्छन्।
घ. नेपालको पछिल्लो तथ्याङ्कअनुसार पर्यटकको सरदर औसत बसाइ र प्रतिदिन औसत खर्च कति कति रहेको छ ?
उत्तर: नेपालको पछिल्लो तथ्याङ्कअनुसार पर्यटकको सरदर औसत बसाइ अवधि करिब १३ दिन र प्रतिदिन औसत पर्यटक खर्च झन्डै ४० अमेरिकी डलर रहेको छ।
ङ. नेपालमा सबैभन्दा बढी पर्यटक कुन उद्देश्यका लागि आउने गरेका छन् ?
उत्तर: नेपालमा सबैभन्दा बढी पर्यटक ‘मनोरञ्जन’ (झन्डै ६० प्रतिशत) को उद्देश्यका लागि आउने गरेका छन्।
च. दिगो पर्यटन भनेको के हो ?
उत्तर: वर्तमान पुस्ताका साथै भावी पुस्ताको आवश्यकतासमेत पूरा गर्ने गरी वातावरण संरक्षण, स्थानीय संस्कृतिको सम्मान र आर्थिक लाभको न्यायोचित वितरणलाई ध्यानमा राखेर सञ्चालन गरिने पर्यटकीय गतिविधिलाई दिगो पर्यटन भनिन्छ।

३. अभ्यास: छोटो उत्तर आउने प्रश्नहरू [5 Marks]

क. पर्यटन उद्योगको उदाहरणसहित परिचय दिनुहोस् । 5 Marks
मानिसहरू विभिन्न उद्देश्यले घुमफिर गर्न जाने कार्य पर्यटन हो भने ती पर्यटकहरूलाई आवश्यक पर्ने बसोबास, खानपान, यात्रा, मनोरञ्जन र सांस्कृतिक अनुभव जस्ता सेवाहरू उपलब्ध गराउने व्यावसायिक प्रतिष्ठानहरूको समूहलाई पर्यटन उद्योग भनिन्छ। यो अर्थतन्त्रको एक प्रमुख सेवामूलक उद्योग हो।
उदाहरण: पर्यटक बस्ने होटल तथा रिसोर्टहरू, घुमाउने ट्राभल एजेन्सी र ट्रेकिङ कम्पनीहरू, हवाई सेवा, पर्यटक पथप्रदर्शक (Guide) सेवा र होमस्टे आदि पर्यटन उद्योगका उदाहरण हुन्।

ख. नेपालमा पर्यटनको वर्तमान अवस्था सक्षेपमा उल्लेख गर्नुहोस् । 5 Marks
नेपालमा पर्यटन उद्योगको विद्यमान अवस्था सुधारोन्मुख छ। पछिल्लो तथ्याङ्क (सन् २०२४) अनुसार:
– पर्यटक आगमन दर अघिल्लो वर्षभन्दा १.७ प्रतिशतले बढेको छ।
– पर्यटकको औसत बसाइ करिब १३ दिन र प्रतिदिन खर्च ४० अमेरिकी डलर रहेको छ।
– कुल गार्हस्थ उत्पादन (GDP) मा पर्यटन क्षेत्रको योगदान ७ प्रतिशत पुगेको छ।
– नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट (४०%), चीनबाट ९%, अमेरिका र श्रीलङ्काबाट ७% रहेका छन्।
– पर्यटकहरूको आगमनको मुख्य उद्देश्य मनोरञ्जन (६०%), तीर्थयात्रा (१६%) र पदयात्रा (१५%) रहेको छ।

ग. दिगो पर्यटनको परिचय दिई यसका तीन पक्षहरू लेख्नुहोस् । 5 Marks
प्राकृतिक स्रोत र सम्पदाको विनाश नगरी वर्तमान र भावी पुस्ता दुवैको आवश्यकता पूरा गर्ने गरी सञ्चालन गरिने वातावरणमैत्री र समतामूलक पर्यटकीय गतिविधिलाई दिगो पर्यटन भनिन्छ। दिगो पर्यटनका मुख्य तीन पक्षहरू निम्न छन्:
१. पारिस्थितिकी/वातावरण: जैविक विविधता र प्राकृतिक स्रोतहरूको संरक्षण गर्ने।
२. सामाजिक न्याय/समता: स्थानीय संस्कृति, परम्परा र सम्पदाको सम्मान तथा समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्ने।
३. अर्थतन्त्र: पर्यटनबाट प्राप्त आर्थिक लाभको न्यायोचित र निष्पक्ष वितरण गरी स्थानीय समुदायको आयआर्जन बढाउने।

घ. नेपालको सन्दर्भमा दिगो पर्यटनको महत्त्व वर्णन गर्नुहोस् । 5 Marks
नेपालको विकासमा दिगो पर्यटनको अत्यन्तै ठुलो महत्त्व छ, जसलाई निम्न बुँदाहरूमा वर्णन गर्न सकिन्छ:
१. वातावरणीय संरक्षण: पर्यटन गतिविधिहरूलाई वातावरणमैत्री बनाएर प्राकृतिक सम्पदा र जैविक विविधताको जगेर्ना गर्न मद्दत गर्छ।
२. सांस्कृतिक सम्पदाको संरक्षण: परम्परागत संस्कृति, मूल्यमान्यता र ऐतिहासिक स्थलहरूको सम्मान तथा संरक्षणमा जोड दिन्छ।
३. आर्थिक दिगोपन: देशको सम्पदालाई क्षति नगरी स्थानीय समुदायका लागि दीर्घकालीन आयआर्जनका अवसरहरू प्रदान गरी जीवनस्तर सुधार्न मद्दत गर्छ।
४. सामुदायिक सशक्तीकरण: पर्यटकीय क्षेत्रको व्यवस्थापनमा स्थानीय समुदायलाई जागरूक बनाई उनीहरूको आर्थिक र सामाजिक सशक्तीकरणमा टेवा पुर्‍याउँछ।
५. जलवायु परिवर्तनको असर न्यूनीकरण: पारिस्थितिकी प्रणालीमा पर्यटनले पार्न सक्ने नकारात्मक असरहरूलाई न्यूनीकरण गर्न मद्दत गर्छ।

४. लामो उत्तर आउने प्रश्नहरू [8 Marks]

क. दिगो पर्यटनको परिचय दिनुहोस् । नेपालको सन्दर्भमा दिगो पर्यटनका समस्याहरूको सूची तयार गर्नुहोस् । 8 Marks
दिगो पर्यटनको परिचय: दिगो पर्यटन भनेको यस्तो नवीन पर्यटकीय अवधारणा हो जसले पर्यटन गन्तव्यको प्राकृतिक वातावरण, सांस्कृतिक सम्पदा र सामाजिक मूल्यमान्यतालाई कुनै पनि हानि नपुर्‍याई वर्तमान र भावी पुस्ताको आवश्यकता पूरा गर्ने लक्ष्य राख्दछ। यसले जैविक विविधताको संरक्षण गर्दै, स्थानीय समुदायलाई पर्यटनको व्यवस्थापनमा सहभागी गराई प्राप्त आर्थिक लाभको न्यायोचित वितरण गर्नुपर्छ भन्ने कुरामा जोड दिन्छ।

नेपालको सन्दर्भमा दिगो पर्यटनका समस्याहरू: नेपालमा दिगो पर्यटन विकासका सन्दर्भमा देखिएका मुख्य समस्याहरूको सूची निम्न प्रकार छ:
१. वातावरणीय समस्या: पर्यटकीय स्थलहरू (जस्तै: हिमाल र ट्रेकिङ रुट) मा प्लास्टिकजन्य, धातुजन्य र मानव फोहोरको उचित व्यवस्थापन नहुँदा प्रदूषण बढ्नु।
२. पूर्वाधारको अपर्याप्तता: सडक, विमानस्थल, इको-लज र सुविधायुक्त यातायात जस्ता दिगो र पर्यावरणमैत्री पूर्वाधारहरूको कमी हुनु।
३. नीतिगत समस्या: पर्यटनसँग सम्बन्धित विभिन्न सरकारी निकाय र स्थानीय समुदायबिच नीतिगत स्पष्टता र प्रभावकारी समन्वयको अभाव हुनु।
४. प्राकृतिक स्रोतको दोहन: पर्यटनको नाममा प्राकृतिक स्रोतसाधनको अविवेकशील र जथाभाबी उपभोग गरिँदा पारिस्थितिकी प्रणालीमा असन्तुलन आउनु।
५. पहुँचको कमी: विकट पर्यटकीय स्थलहरूमा आपत्कालीन उद्धार, स्वास्थ्य सेवा र भरपर्दो सञ्चार प्रणालीको पहुँच न्यून हुनु।
६. सामुदायिक सहभागिताको कमी: पर्यटनसम्बन्धी योजना निर्माण र व्यवस्थापनमा स्थानीय समुदायलाई पर्याप्त सहभागी नगराइँदा उनीहरूले पर्यटनबाट उचित आर्थिक लाभ प्राप्त गर्न नसक्नु।

ख. तपाईंको गाउँपालिका/नगरपालिकामा रहेको कुनै एक पर्यटकीय स्थलको परिचय दिनुहोस् । दिगो पर्यटनका दृष्टिले उक्त स्थलको विकासका लागि स्थानीय समुदायको के कस्तो भूमिका हुन सक्छ, आफ्नो विचारहरू प्रस्तुत गर्नुहोस् । 8 Marks
(नोट: विद्यार्थीहरूले यहाँ आफ्नो गाउँ वा नगरपालिकाको कुनै प्रसिद्ध पर्यटकीय स्थलको नाम राखेर उत्तर लेख्न सक्छन्। यहाँ एउटा नमुना उत्तर प्रस्तुत गरिएको छ।)

पर्यटकीय स्थलको परिचय (नमुना): मेरो नगरपालिका/गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल ‘स्थानीय होमस्टे तथा प्राकृतिक ताल क्षेत्र’ हो। यो स्थल सुन्दर हरियाली डाँडाकाँडा र स्वच्छ तालको बिचमा अवस्थित छ। यहाँ प्राकृतिक सौन्दर्यको अवलोकनका साथै स्थानीय जातजातिको मौलिक संस्कृति, परम्परागत खानपान र न्यानो आतिथ्यताको अनुभव गर्न स्वदेशी तथा विदेशी पर्यटकहरू आउने गर्दछन्।

दिगो पर्यटनका दृष्टिले उक्त स्थलको विकासमा स्थानीय समुदायको भूमिका (मेरो विचारमा): दिगो पर्यटनको मुख्य आधार नै स्थानीय समुदाय हो। उक्त पर्यटकीय स्थललाई वातावरणमैत्री र दीर्घकालीन रूपमा विकास गर्न स्थानीय समुदायले निम्न भूमिका निर्वाह गर्न सक्छन्:
१. वातावरण र सरसफाइ संरक्षण: पर्यटकहरूबाट हुने प्लास्टिक र अन्य फोहोरलाई जथाभाबी फ्याँक्न नदिई, फोहोरको पुनः प्रयोग (Reuse) र पुनः चक्र (Recycle) गर्ने अभियान समुदाय आफैँले चलाउनुपर्छ।
२. मौलिक संस्कृतिको जगेर्ना: विदेशी संस्कृतिको अन्धानुकरण नगरी आफ्नो परम्परागत भेषभूषा, नाचगान र मौलिक खानपानलाई नै पर्यटनको मुख्य आकर्षण बनाएर संरक्षण गर्नुपर्छ।
३. स्थानीय उत्पादनको प्रयोग: पर्यटकहरूका लागि आवश्यक पर्ने खाद्यान्न, तरकारी र हस्तकलाका सामग्रीहरू स्थानीय स्तरमै जैविक (Organic) रूपमा उत्पादन गरी बिक्री गर्नुपर्छ, जसले समुदायको आर्थिक स्तर उकास्छ।
४. प्राकृतिक स्रोतको दिगो उपयोग: ताल र जङ्गलको जथाभाबी दोहन रोकी, आम्दानीको केही हिस्सा प्राकृतिक सम्पदा र जैविक विविधताको संरक्षणमा लगाउन समुदायले सामूहिक निर्णय गर्नुपर्छ।
५. पर्यटकको सुरक्षा र सत्कार: पर्यटकहरूलाई सुरक्षित महसुस गराउन स्थानीय युवाहरूलाई गाइड र उद्धार तालिम दिने तथा अतिथि देवो भवः को भावना अनुरूप सभ्य र सम्मानजनक व्यवहार गर्नुपर्छ। यदि स्थानीय समुदाय यसरी योजनाबद्ध रूपमा अघि बढेमा मात्र पर्यटनको लाभ सदियौँसम्म लिन सकिन्छ।

📚 Also Read: Class 10 SEE Notes

Compulsory Subjects

Optional Subjects

Scroll to Top