परिचय
वैदेशिक रोजगार नेपाल जस्ता विकासशील देशका लागि रोजगारी र आयआर्जनको एक महत्त्वपूर्ण माध्यम बनेको छ । देशभित्र पर्याप्त रोजगारीका अवसरहरू नहुँदा रोजगारी र आयआर्जनका लागि विदेशिने क्रम बढिरहेको छ । वैदेशिक रोजगारीअन्तर्गत यस पाठमा वैदेशिक रोजगारीको परिचय, महत्त्व, यसका प्रतिकूल असर र असर न्यूनीकरणका उपायका बारेमा अध्ययन गर्ने छौं ।
(क) वैदेशिक रोजगारीको परिचय (Introduction to Foreign Employment)
कुनै एक देशको नागरिक रोजगारी तथा आयआर्जनका लागि कुनै अर्को देशमा गएर काम गर्नुलाई वैदेशिक रोजगारी भनिन्छ । यस्तो रोजगारीमा गएको व्यक्ति भविष्यमा स्वदेश फर्किने मनसायले गएको हुन्छ । स्वदेशमा रोजगारीका अवसरहरू नहुँदा वा अवसर भए पनि बढी आर्जन गर्ने उद्देश्यले वैदेशिक रोजगारीका लागि जाने गरिन्छ । रोजगारीका लागि विदेश जाने श्रमिकले त्यहाँको सरकारी, निजी वा व्यावसायिक जुनसुकै कामका लागि गए पनि श्रम अनुमति लिएर मात्र जानुपर्छ ।
विश्वव्यापीकरणसँगै नेपालीहरू भारतलगायत विश्वका विभिन्न विकसित देशमा रोजगारीको सिलसिलामा विदेश जाने क्रम बढ्दै गएको छ । वैदेशिक रोजगारी नेपालको अर्थतन्त्रका लागि विदेशी मुद्रा आर्जन गर्ने एक प्रमुख माध्यम बनेको छ । यसरी प्राप्त हुने आयलाई विप्रेषण (Remittance) भनिन्छ । नेपालको सन्दर्भमा गरिबी न्यूनीकरण गरी व्यक्ति तथा परिवारको जीवनस्तर सुधार गर्न वैदेशिक रोजगारीको महत्त्वपूर्ण योगदान रहेको छ । आर्थिक सर्वेक्षण, २०८१/८२ अनुसार २०८१ फागुनसम्ममा वैदेशिक रोजगारीका लागि १११ देश खुला गरिएको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सङ्ख्या दिनानुदिन बढ्दै गएको देखिन्छ ।
(ख) वैदेशिक रोजगारीको महत्त्व (Importance of Foreign Employment)
नेपालको सन्दर्भमा वैदेशिक रोजगारी महत्त्वलाई बुँदागत रूपमा निम्नानुसार प्रस्तुत गरिएको छ :
(अ) जीवनस्तरमा सुधार (Improvement in Living Standard): वैदेशिक रोजगारीले मानिसको जीवनस्तरमा सुधार गरेको छ। न्यून जीवनस्तर तथा कम आय भएका घरपरिवारका लागि आयको प्रमुख स्रोत बनेको छ । यसले परिवारका आवश्यकताहरू, जस्तै : खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य, शिक्षा आदिमा सहयोग पुगेको छ ।
(आ) बेरोजगारी न्यूनीकरण (Minimizing Unemployment): वैदेशिक रोजगारीले थोरै भए पनि बेरोजगारी समस्यालाई न्यूनीकरण गरेको छ । देशको कृषि क्षेत्रमा रहेको अर्ध वा अदृश्य बेरोजगारीलाई कम गर्न वैदेशिक रोजगारीले सहयोग गरेको छ । स्वदेशमा अन्य क्षेत्रमा रोजगारी नपाएका युवाहरूलाई कामको अवसरसमेत प्रदान गरको छ ।
(इ) शिक्षा तथा स्वास्थ्यमा सुधार (Improvement in Education and Health) : वैदेशिक रोजगारीले शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा पनि सुधार गरेको छ । न्यून आय भएका परिवारको आम्दानी बढ्दा राम्रो शिक्षा, स्वास्थ्य तथा उपचारका क्षेत्रमा समेत पहुँच पुगेको छ ।
(ई) बचत र लगानीमा वृद्धि (Increase in Saving and Investment) : वैदेशिक रोजगारीले मानिसको बचत र लगानीमा वृद्धि गर्छ । वैदेशिक रोजगारीबाट प्राप्त आयको केही भाग निरन्तर बचत गरेर उक्त बचतलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकिन्छ । यसबाट पुँजी निर्माणमा समेत सहयोग पुगी भविष्यमा थप आयआर्जन गर्न सघाउ पुगको छ ।
(उ) प्रविधि र सिपको हस्तान्तरण (Transfer of Technology and Skill) : वैदेशिक रोजगारीले प्रविधि र सिपको हस्तान्तरण गर्न सहयोग पुऱ्याएको छ । वैदेशिक रोजगारमा जाने व्यक्तिहरू आफू मात्र फर्केर आउँदैनन् त्यहाँ सिकेका नयाँ ज्ञान, सिप र प्रविधि पनि साथै लिएर आउँछन् । उक्त ज्ञान, सिप र प्रविधिलाई स्वदेशमा प्रयोग गरी उद्यमशीलता विकास गर्न सकिने सम्भावना बढेको छ ।
(ऊ) वैदेशिक मुद्रा आर्जन (Earning Foreign Currency) : वैदेशिक रोजगारीले विदेशी मुद्रा आर्जन र सञ्चितिमा समेत योगदान पुर्याएको छ । वैदेशिक रोजगारीमार्फत प्राप्त मुद्रा (रेमिट्यान्स) वस्तु तथा सेवाको आयात गर्न, वैदेशिक अध्ययन, भ्रमण तथा वैदेशिक रोजगारीमा समेत उपयोग गर्न सकिन्छ । वैदेशिक रोजगारमार्फत प्राप्त मुद्राले देशको विदेशी मुद्राको सञ्चिति बढाएको छ । वस्तु तथा सेवाको आयात गर्न आवश्यक पर्ने विदेशी मुद्राको आपूर्ति गरेको छ । यसले भुक्तान सन्तुलन सुधार गर्न सघाउ पुऱ्याएको छ ।
(ऋ) आवास, यातायातका साधनमा पहुँच (Access to Housing and Transportation): वैदेशिक रोजगारीबाट प्राप्त आयले घर, घडेरीलगायतका अचल सम्पत्तिमा सर्वसाधारणको स्वामित्व बढेको देखिन्छ । यातायात तथा अन्य भौतिक साधनमा पहुँच वृद्धि भएको छ । आधुनिक सुखसुविधाका सरसामान खरिद गरेर जीवनलाई सहज र सुरक्षित बनाउन मदत गरेको छ ।
(ग) वैदेशिक रोजगारीको प्रतिकूल असर (Negative Impact of Foreign Employment)
नेपालको सन्दर्भमा वैदेशिक रोजगार रोजगारीको राम्रो विकल्पका रूपमा स्थापित भएको छ । देशभित्र प्रशस्त रोजगारीका अवसरहरू सिर्जना हुन नसक्दा धेरैजसो अदक्ष र अर्धदक्ष नेपाली श्रमिक कामका लागि बिदेसिनुपरेको छ । हिजोआज उच्च पारिश्रमिक पाउने गन्तव्यका रूपमा कोरिया, जापानलगायतका देशमा नेपाली कामदारको आकर्षण बढ्दो छ । वैदेशिक रोजगारीले सर्वसाधारणको जीवनस्तर, स्वास्थ्य, शिक्षा, आवासलगायतका सेवा सुविधामा पहुँच पुर्याएको छ । तर यसका नकारात्मक वा प्रतिकूल असरहरू पनि त्यतिकै छन् । वैदेशिक रोजगारीको सिलसिलामा बाहिर गएका कामदार, कामदारको परिवार, समाजका साथै साधनस्रोत परिचालन, उत्पादनलगायतमा यसको प्रतिकूल असर परेको छ । वैदेशिक रोजगारीका केही प्रतिकूल असरहरू निम्नानुसार छन् :
(अ) आर्थिक तथा मानवीय असुरक्षा (Economic and Human Insecurity): वैदेशिक रोजगारीले आर्थिक असुरक्षा बढाएको छ । गन्तव्य देशमा राजनीतिक अस्थिरता, महामारीको अवस्था आदि भएमा रोजगारीका लागि गएका हजारौं श्रमिक बेरोजगार हुने सम्भावना रहन्छ । यस्तो अवस्थामा विभिन्न स्रोतबाट लिएको ऋण तिर्न नसक्ने, घरायसी खर्च टार्न नसक्ने जस्ता आर्थिक समस्या उत्पन्न हुन सक्छ । त्यस्तै वैदेशिक रोजगारीमा जोखिमपूर्ण कामले गर्दा कार्यस्थलमा दुर्घटना भई कामदारको मुत्यु हुने, शारीरिक रूपमा अशक्त हुनेको सङ्ख्या पनि बढ्दै गएको छ ।
(आ) बालबालिकामा असर (Effects on Children): वैदेशिक रोजगारीमा गएका परिवारका बालबालिकामा उनीहरूको व्यवहार र सामाजिकीकरणमा नकारात्मक प्रभाव परेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ । रोजगारीमा जाने अभिभावकका बालबालिकामा संरक्षण, माया र सद्भावको अभाव हुन्छ । हुर्किने, खेल्ने उमेरमा अभिभावक नै साथमा नभएपछि बालमनोविज्ञानमा समेत नकरात्मक असर पर्न जान्छ । बालबालिकामा एक्लोपना, नैराश्यता आदि बढेको छ । बालबालिकाले विद्यालयको अध्ययन पूरा नगरी बिचैमा पढाइ छाड्ने प्रवृत्ति देखा परेका छन् ।
(इ) घरपरिवारमा असमझदारी (Disagreement in Family): वैदेशिक रोगजारीले पारिवारिक असमझदारी बढाएको छ । परिवारका श्रीमान् वा श्रीमतीमध्ये कुनै एक जना वैदेशिक रोजगारीमा गएको अवस्थामा यसले पारिवारिक असन्तुलन, एकआपसमा आरोपप्रत्यारोप, शङ्काउपशङ्का बढ्दै जाने, विश्वासको कमी हुने र कतिपय अवस्थामा सम्बन्धविच्छेदसमेत हुने गरेका छन् । परिवारमा यस प्रकारको असमझदारी वा कलहले पारिवारिक वातावरण बिग्रन्छ । कतिपय अवस्थामा बालबालिका अविभावकविहीन हुनुपर्ने अवस्था आउन सक्छ ।
(ई) मानसिक स्वास्थ्यमा असर (Effect on Mental Health): वैदेशिक रोजगारीले श्रमिकको मानसिक स्वास्थ्यमा असर पारेको छ । आफ्नो घरपरिवार छाडेर नयाँ ठाउँमा रोजगारीका लागि जाँदा घरको याद आउने (home sickness), अपेक्षा गरेअनुसारको ज्याला नपाउँदा काम गर्ने उत्साह तथा जोस जाँगर नहुने, विभेद वा हेपाई खेप्नुपर्ने आदि कारणले मानसिक स्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावना हुन्छ ।
(उ) स्वदेशमा कामदारको अभाव (Shortage of Wokers in Home Country): वैदेशिक रोजगारीमा जानेको सङ्ख्या निरन्तर वृद्धि हुँदै जाँदा स्वदेशमा कामदारको पूर्तिमा कमी हुन सक्छ । खास गरी कृषि क्षेत्रमा श्रमिकको अभाव हुन सक्छ । पछिल्लो समयमा नेपालबाट वैदेशिक रोजगारीका लागि अदक्ष र अर्धदक्ष कामदार मात्र नभएर दक्ष कामदार पनि जाने प्रवृत्ति बढ्दो छ । यसले सिप, दक्षता र क्षमता भएका श्रमशक्तिको पलायन भई उद्योग र सेवा क्षेत्रमा समेत कामदारको अभाव हुने अवस्था सिर्जना हुन सक्छ ।
(ऊ) उपभोगमुखी संस्कृति (Consumerism Culture): वैदेशिक रोजगारीको माध्यमबाट प्राप्त हुने आयको ठुलो हिस्सा वस्तु तथा सेवाको उपभोगमा खर्च हुने गरेको देखिन्छ । अर्काको देखासिकी गर्ने, विलासिताका वस्तुमा धेरै खर्च गर्ने, फजुल खर्च गर्ने प्रवृत्ति बढेको छ । उत्पादनमूलक क्षेत्रमा लगानी गर्नभन्दा पनि वर्तमान उपभोगमै रमाउने उपभोगमुखी संस्कृतिको विकास भएको छ ।
(घ) वैदेशिक रोजगारीको प्रतिकूल असर न्यूनीकरणका उपाय (Measure to Reduce Negative Impact of Foreign Employment)
वैदेशिक रोजगारीका प्रतिकूल असर न्यूनीकरणका लागि अपनाउनुपर्ने केही उपायहरू निम्नानुसार छन् :
(अ) श्रम सम्झौता (Labour Contract or Agreement): श्रम सम्झौता वैदेशिक रोजगारीको प्रमुख सर्त हो । सरकारले श्रम सम्झौता भएको देशबाहेक अन्य देशमा कामदार पठाउने कार्यलाई नियन्त्रण गर्नुपर्छ । राजदुतावास, श्रम काउन्सिलरमार्फत वैदेशिक रोजगारीमा गएका नागरिकको हक, हित, अधिकारका लागि रोजगारदाता देशसँग समन्वय र सहजीकरण गर्नुपर्छ । रोजगारीका लागि सम्बन्धित देश जानुपूर्व त्यहाँको भाषा, कामका लागि आवश्यक पर्ने सिप, दक्षता र तालिम प्राप्त गरेपश्चात् मात्र रोजगारीका लागि अनुमति दिने व्यवस्था गर्नुपर्छ ।
(आ) श्रम स्वीकृति र करारपत्र (Labour Permit and Contract): वैदेशिक रोजगारीका लागि जानेले श्रम स्वीकृति र करारपत्र अनिवार्य रूपमा लिनुपर्छ । रोजगारीका लागि जान लागेको देश श्रम स्वीकृत सूचीभित्र पर्छ पर्दैन भनेर थाहा पाउनुपर्छ । भिसा, बिमा, स्वास्थ्य परीक्षणलगायतका सम्पूर्ण कागजात तयार गरी वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर मात्र विदेश जानुपर्छ । वैदेशिक रोजगारीमा जानुअगि करारपत्रमा आफू जान लागेको देश, गर्ने काम, पाउने सेवा सुविधा, कम्पनीमा काम गर्नुपर्ने समय, ओभरटाइमको व्यवस्थालगायतका बारेमा करारपत्रमा के के उल्लेख भएको छ, राम्रोसँग अध्ययन गरेर चित्त बुझेमा मात्र हस्ताक्षर वा सहमति जनाउनुपर्छ । यस्तो करारपत्रको एक छायाप्रति (photocopy) आफूले पनि राख्नुपर्छ ।
(इ) कागजातको सुरक्षा र सहयोगी निकायसँग सम्पर्क (Document Security and Contact with Supporting Agency): वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले आवश्यक कागजातहरू आफूसँग सुरक्षित राख्नुपर्छ । सहयोगी निकायका सम्पर्क नम्बरसमेत आफूसँग हुन आवश्यक छ । वैदेशिक रोजगारीको सिलसिलामा गन्तव्य देश पुगेपछि केही शङ्का, दुविधा भएमा दूतावास, आप्रवासी केन्द्रलगायतका निकायमा सम्पर्क गर्नुपर्छ ।
(ई) सुरक्षित कार्य वातावरण (Safe Working Environment): वैदेशिक रोजगारीमा जाने व्यक्तिले आफूलाई सुरक्षित राख्ने उपायहरू थाहा पाउनुपर्छ । रोजगारीका सिलसिलामा कार्यस्थलमा पालना गर्नुपर्ने नियम तथा कानुन अक्षरशः पालना गर्नुपर्छ । दुर्घटनाको सम्भावना धेरै भएको अवस्थामा आपत्कालीन जोखिमको उपायका बारेमा जानकार हुनुपर्छ । उपकरण, मेसिन र औजार प्रयोग गर्दा सुरक्षाका सामग्रीहरू प्रयोग गर्नुपर्छ ।
(उ) सद्भाव र विश्वास (Harmony and Trust): वैदेशिक राजगारीमा जाने व्यक्तिले पारिवारिक सद्भाव र विश्वास दिलाउनुपर्छ । आमाबुबा र बालबालिकासँग नियमित सम्पर्कमा रहनुपर्छ । यसले पारिवारिक सामिप्यता बढाउँछ । शङ्काउपशङ्का हटाई विश्वासको वातावरण तयार गर्छ । घरपरिवारले पनि विदेशमा रहेकालाई माया, सद्भाव र स्नेहको भाव राखेर व्यवहार गर्नुपर्छ । विदेशबाट कमाएर पठाएको रकमको सही सदुपयोग गर्नुपर्छ । आमा वा बुबा कुनै एकको अनुपस्थितिमा बालबच्चाको शिक्षा, स्वास्थ्य, पोषणलगायतको व्यवस्थापनमा अर्कोले ध्यान दिनुपर्छ ।
(ऊ) विप्रेषणको सही सदुपयोग (Proper Utilization of Remittance): वैदेशिक रोजगारीबाट प्राप्त आयलाई फजुल खर्च नगरी आवश्यक काममा मात्र प्रयोग गर्नुपर्छ । थोरै भए पनि बचत गर्ने बानीको विकास गर्नुपर्छ । बचतले लगानीको अवसर प्रदान गरी सुरक्षित भविष्य निर्माणमा सहयोग पुर्याउँछ । देखासिकी गर्ने प्रवृत्तिलाई निरुत्साहित गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने बानीको विकास गर्नुपर्छ । ससानो रकम परिचालन गरेर प्राथमिक सेयर खरिद गर्ने, सन्ततिको नाममा बचत वा मुद्दती खाता खोलेर नियमित रूपमा रकम जम्मा गर्ने, बिमा गर्ने, ससानो उद्यम वा व्यवसाय गर्नका लागि यस्तो रकम प्रयोग गरेमा भविष्यमा आयआर्जनका लागि पुनः विदेश जानुपर्ने बाध्यता रहँदैन ।