4. Foreign Employment: Class 10 Economics Notes | वैदेशिक रोजगारी
Importantedunotes.com
Back to Economics Notes

Welcome to the complete study guide on Foreign Employment (वैदेशिक रोजगारी) under Nepal’s Economy. This is Chapter 4 of Unit 5 for Class 10 Economics students in Nepal preparing for their SEE board exams.

Here you will find structured theoretical notes on the concept, importance, negative impacts, and measures to reduce the negative impacts of foreign employment, along with fully solved textbook exercises.

Explore our complete study list here: Class 10 Economics Notes.

१. सैद्धान्तिक अवधारणा (Theoretical Concept)

परिचय

वैदेशिक रोजगार नेपाल जस्ता विकासशील देशका लागि रोजगारी र आयआर्जनको एक महत्त्वपूर्ण माध्यम बनेको छ । देशभित्र पर्याप्त रोजगारीका अवसरहरू नहुँदा रोजगारी र आयआर्जनका लागि विदेशिने क्रम बढिरहेको छ । वैदेशिक रोजगारीअन्तर्गत यस पाठमा वैदेशिक रोजगारीको परिचय, महत्त्व, यसका प्रतिकूल असर र असर न्यूनीकरणका उपायका बारेमा अध्ययन गर्ने छौं ।

(क) वैदेशिक रोजगारीको परिचय (Introduction to Foreign Employment)

कुनै एक देशको नागरिक रोजगारी तथा आयआर्जनका लागि कुनै अर्को देशमा गएर काम गर्नुलाई वैदेशिक रोजगारी भनिन्छ । यस्तो रोजगारीमा गएको व्यक्ति भविष्यमा स्वदेश फर्किने मनसायले गएको हुन्छ । स्वदेशमा रोजगारीका अवसरहरू नहुँदा वा अवसर भए पनि बढी आर्जन गर्ने उद्देश्यले वैदेशिक रोजगारीका लागि जाने गरिन्छ । रोजगारीका लागि विदेश जाने श्रमिकले त्यहाँको सरकारी, निजी वा व्यावसायिक जुनसुकै कामका लागि गए पनि श्रम अनुमति लिएर मात्र जानुपर्छ ।

विश्वव्यापीकरणसँगै नेपालीहरू भारतलगायत विश्वका विभिन्न विकसित देशमा रोजगारीको सिलसिलामा विदेश जाने क्रम बढ्‌दै गएको छ । वैदेशिक रोजगारी नेपालको अर्थतन्त्रका लागि विदेशी मुद्रा आर्जन गर्ने एक प्रमुख माध्यम बनेको छ । यसरी प्राप्त हुने आयलाई विप्रेषण (Remittance) भनिन्छ । नेपालको सन्दर्भमा गरिबी न्यूनीकरण गरी व्यक्ति तथा परिवारको जीवनस्तर सुधार गर्न वैदेशिक रोजगारीको महत्त्वपूर्ण योगदान रहेको छ । आर्थिक सर्वेक्षण, २०८१/८२ अनुसार २०८१ फागुनसम्ममा वैदेशिक रोजगारीका लागि १११ देश खुला गरिएको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सङ्ख्या दिनानुदिन बढ्दै गएको देखिन्छ ।

(ख) वैदेशिक रोजगारीको महत्त्व (Importance of Foreign Employment)

नेपालको सन्दर्भमा वैदेशिक रोजगारी महत्त्वलाई बुँदागत रूपमा निम्नानुसार प्रस्तुत गरिएको छ :

(अ) जीवनस्तरमा सुधार (Improvement in Living Standard): वैदेशिक रोजगारीले मानिसको जीवनस्तरमा सुधार गरेको छ। न्यून जीवनस्तर तथा कम आय भएका घरपरिवारका लागि आयको प्रमुख स्रोत बनेको छ । यसले परिवारका आवश्यकताहरू, जस्तै : खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य, शिक्षा आदिमा सहयोग पुगेको छ ।
(आ) बेरोजगारी न्यूनीकरण (Minimizing Unemployment): वैदेशिक रोजगारीले थोरै भए पनि बेरोजगारी समस्यालाई न्यूनीकरण गरेको छ । देशको कृषि क्षेत्रमा रहेको अर्ध वा अदृश्य बेरोजगारीलाई कम गर्न वैदेशिक रोजगारीले सहयोग गरेको छ । स्वदेशमा अन्य क्षेत्रमा रोजगारी नपाएका युवाहरूलाई कामको अवसरसमेत प्रदान गरको छ ।
(इ) शिक्षा तथा स्वास्थ्यमा सुधार (Improvement in Education and Health) : वैदेशिक रोजगारीले शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा पनि सुधार गरेको छ । न्यून आय भएका परिवारको आम्दानी बढ्दा राम्रो शिक्षा, स्वास्थ्य तथा उपचारका क्षेत्रमा समेत पहुँच पुगेको छ ।
(ई) बचत र लगानीमा वृद्धि (Increase in Saving and Investment) : वैदेशिक रोजगारीले मानिसको बचत र लगानीमा वृद्धि गर्छ । वैदेशिक रोजगारीबाट प्राप्त आयको केही भाग निरन्तर बचत गरेर उक्त बचतलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकिन्छ । यसबाट पुँजी निर्माणमा समेत सहयोग पुगी भविष्यमा थप आयआर्जन गर्न सघाउ पुगको छ ।
(उ) प्रविधि र सिपको हस्तान्तरण (Transfer of Technology and Skill) : वैदेशिक रोजगारीले प्रविधि र सिपको हस्तान्तरण गर्न सहयोग पुऱ्याएको छ । वैदेशिक रोजगारमा जाने व्यक्तिहरू आफू मात्र फर्केर आउँदैनन् त्यहाँ सिकेका नयाँ ज्ञान, सिप र प्रविधि पनि साथै लिएर आउँछन् । उक्त ज्ञान, सिप र प्रविधिलाई स्वदेशमा प्रयोग गरी उद्यमशीलता विकास गर्न सकिने सम्भावना बढेको छ ।
(ऊ) वैदेशिक मुद्रा आर्जन (Earning Foreign Currency) : वैदेशिक रोजगारीले विदेशी मुद्रा आर्जन र सञ्चितिमा समेत योगदान पुर्याएको छ । वैदेशिक रोजगारीमार्फत प्राप्त मुद्रा (रेमिट्यान्स) वस्तु तथा सेवाको आयात गर्न, वैदेशिक अध्ययन, भ्रमण तथा वैदेशिक रोजगारीमा समेत उपयोग गर्न सकिन्छ । वैदेशिक रोजगारमार्फत प्राप्त मुद्राले देशको विदेशी मुद्राको सञ्चिति बढाएको छ । वस्तु तथा सेवाको आयात गर्न आवश्यक पर्ने विदेशी मुद्राको आपूर्ति गरेको छ । यसले भुक्तान सन्तुलन सुधार गर्न सघाउ पुऱ्याएको छ ।
(ऋ) आवास, यातायातका साधनमा पहुँच (Access to Housing and Transportation): वैदेशिक रोजगारीबाट प्राप्त आयले घर, घडेरीलगायतका अचल सम्पत्तिमा सर्वसाधारणको स्वामित्व बढेको देखिन्छ । यातायात तथा अन्य भौतिक साधनमा पहुँच वृद्धि भएको छ । आधुनिक सुखसुविधाका सरसामान खरिद गरेर जीवनलाई सहज र सुरक्षित बनाउन मदत गरेको छ ।

(ग) वैदेशिक रोजगारीको प्रतिकूल असर (Negative Impact of Foreign Employment)

नेपालको सन्दर्भमा वैदेशिक रोजगार रोजगारीको राम्रो विकल्पका रूपमा स्थापित भएको छ । देशभित्र प्रशस्त रोजगारीका अवसरहरू सिर्जना हुन नसक्दा धेरैजसो अदक्ष र अर्धदक्ष नेपाली श्रमिक कामका लागि बिदेसिनुपरेको छ । हिजोआज उच्च पारिश्रमिक पाउने गन्तव्यका रूपमा कोरिया, जापानलगायतका देशमा नेपाली कामदारको आकर्षण बढ्दो छ । वैदेशिक रोजगारीले सर्वसाधारणको जीवनस्तर, स्वास्थ्य, शिक्षा, आवासलगायतका सेवा सुविधामा पहुँच पुर्याएको छ । तर यसका नकारात्मक वा प्रतिकूल असरहरू पनि त्यतिकै छन् । वैदेशिक रोजगारीको सिलसिलामा बाहिर गएका कामदार, कामदारको परिवार, समाजका साथै साधनस्रोत परिचालन, उत्पादनलगायतमा यसको प्रतिकूल असर परेको छ । वैदेशिक रोजगारीका केही प्रतिकूल असरहरू निम्नानुसार छन् :

(अ) आर्थिक तथा मानवीय असुरक्षा (Economic and Human Insecurity): वैदेशिक रोजगारीले आर्थिक असुरक्षा बढाएको छ । गन्तव्य देशमा राजनीतिक अस्थिरता, महामारीको अवस्था आदि भएमा रोजगारीका लागि गएका हजारौं श्रमिक बेरोजगार हुने सम्भावना रहन्छ । यस्तो अवस्थामा विभिन्न स्रोतबाट लिएको ऋण तिर्न नसक्ने, घरायसी खर्च टार्न नसक्ने जस्ता आर्थिक समस्या उत्पन्न हुन सक्छ । त्यस्तै वैदेशिक रोजगारीमा जोखिमपूर्ण कामले गर्दा कार्यस्थलमा दुर्घटना भई कामदारको मुत्यु हुने, शारीरिक रूपमा अशक्त हुनेको सङ्ख्या पनि बढ्दै गएको छ ।
(आ) बालबालिकामा असर (Effects on Children): वैदेशिक रोजगारीमा गएका परिवारका बालबालिकामा उनीहरूको व्यवहार र सामाजिकीकरणमा नकारात्मक प्रभाव परेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ । रोजगारीमा जाने अभिभावकका बालबालिकामा संरक्षण, माया र सद्भावको अभाव हुन्छ । हुर्किने, खेल्ने उमेरमा अभिभावक नै साथमा नभएपछि बालमनोविज्ञानमा समेत नकरात्मक असर पर्न जान्छ । बालबालिकामा एक्लोपना, नैराश्यता आदि बढेको छ । बालबालिकाले विद्यालयको अध्ययन पूरा नगरी बिचैमा पढाइ छाड्ने प्रवृत्ति देखा परेका छन् ।
(इ) घरपरिवारमा असमझदारी (Disagreement in Family): वैदेशिक रोगजारीले पारिवारिक असमझदारी बढाएको छ । परिवारका श्रीमान् वा श्रीमतीमध्ये कुनै एक जना वैदेशिक रोजगारीमा गएको अवस्थामा यसले पारिवारिक असन्तुलन, एकआपसमा आरोपप्रत्यारोप, शङ्काउपशङ्का बढ्दै जाने, विश्वासको कमी हुने र कतिपय अवस्थामा सम्बन्धविच्छेदसमेत हुने गरेका छन् । परिवारमा यस प्रकारको असमझदारी वा कलहले पारिवारिक वातावरण बिग्रन्छ । कतिपय अवस्थामा बालबालिका अविभावकविहीन हुनुपर्ने अवस्था आउन सक्छ ।
(ई) मानसिक स्वास्थ्यमा असर (Effect on Mental Health): वैदेशिक रोजगारीले श्रमिकको मानसिक स्वास्थ्यमा असर पारेको छ । आफ्नो घरपरिवार छाडेर नयाँ ठाउँमा रोजगारीका लागि जाँदा घरको याद आउने (home sickness), अपेक्षा गरेअनुसारको ज्याला नपाउँदा काम गर्ने उत्साह तथा जोस जाँगर नहुने, विभेद वा हेपाई खेप्नुपर्ने आदि कारणले मानसिक स्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावना हुन्छ ।
(उ) स्वदेशमा कामदारको अभाव (Shortage of Wokers in Home Country): वैदेशिक रोजगारीमा जानेको सङ्ख्या निरन्तर वृद्धि हुँदै जाँदा स्वदेशमा कामदारको पूर्तिमा कमी हुन सक्छ । खास गरी कृषि क्षेत्रमा श्रमिकको अभाव हुन सक्छ । पछिल्लो समयमा नेपालबाट वैदेशिक रोजगारीका लागि अदक्ष र अर्धदक्ष कामदार मात्र नभएर दक्ष कामदार पनि जाने प्रवृत्ति बढ्दो छ । यसले सिप, दक्षता र क्षमता भएका श्रमशक्तिको पलायन भई उद्योग र सेवा क्षेत्रमा समेत कामदारको अभाव हुने अवस्था सिर्जना हुन सक्छ ।
(ऊ) उपभोगमुखी संस्कृति (Consumerism Culture): वैदेशिक रोजगारीको माध्यमबाट प्राप्त हुने आयको ठुलो हिस्सा वस्तु तथा सेवाको उपभोगमा खर्च हुने गरेको देखिन्छ । अर्काको देखासिकी गर्ने, विलासिताका वस्तुमा धेरै खर्च गर्ने, फजुल खर्च गर्ने प्रवृत्ति बढेको छ । उत्पादनमूलक क्षेत्रमा लगानी गर्नभन्दा पनि वर्तमान उपभोगमै रमाउने उपभोगमुखी संस्कृतिको विकास भएको छ ।

(घ) वैदेशिक रोजगारीको प्रतिकूल असर न्यूनीकरणका उपाय (Measure to Reduce Negative Impact of Foreign Employment)

वैदेशिक रोजगारीका प्रतिकूल असर न्यूनीकरणका लागि अपनाउनुपर्ने केही उपायहरू निम्नानुसार छन् :

(अ) श्रम सम्झौता (Labour Contract or Agreement): श्रम सम्झौता वैदेशिक रोजगारीको प्रमुख सर्त हो । सरकारले श्रम सम्झौता भएको देशबाहेक अन्य देशमा कामदार पठाउने कार्यलाई नियन्त्रण गर्नुपर्छ । राजदुतावास, श्रम काउन्सिलरमार्फत वैदेशिक रोजगारीमा गएका नागरिकको हक, हित, अधिकारका लागि रोजगारदाता देशसँग समन्वय र सहजीकरण गर्नुपर्छ । रोजगारीका लागि सम्बन्धित देश जानुपूर्व त्यहाँको भाषा, कामका लागि आवश्यक पर्ने सिप, दक्षता र तालिम प्राप्त गरेपश्चात् मात्र रोजगारीका लागि अनुमति दिने व्यवस्था गर्नुपर्छ ।
(आ) श्रम स्वीकृति र करारपत्र (Labour Permit and Contract): वैदेशिक रोजगारीका लागि जानेले श्रम स्वीकृति र करारपत्र अनिवार्य रूपमा लिनुपर्छ । रोजगारीका लागि जान लागेको देश श्रम स्वीकृत सूचीभित्र पर्छ पर्दैन भनेर थाहा पाउनुपर्छ । भिसा, बिमा, स्वास्थ्य परीक्षणलगायतका सम्पूर्ण कागजात तयार गरी वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर मात्र विदेश जानुपर्छ । वैदेशिक रोजगारीमा जानुअगि करारपत्रमा आफू जान लागेको देश, गर्ने काम, पाउने सेवा सुविधा, कम्पनीमा काम गर्नुपर्ने समय, ओभरटाइमको व्यवस्थालगायतका बारेमा करारपत्रमा के के उल्लेख भएको छ, राम्रोसँग अध्ययन गरेर चित्त बुझेमा मात्र हस्ताक्षर वा सहमति जनाउनुपर्छ । यस्तो करारपत्रको एक छायाप्रति (photocopy) आफूले पनि राख्नुपर्छ ।
(इ) कागजातको सुरक्षा र सहयोगी निकायसँग सम्पर्क (Document Security and Contact with Supporting Agency): वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले आवश्यक कागजातहरू आफूसँग सुरक्षित राख्नुपर्छ । सहयोगी निकायका सम्पर्क नम्बरसमेत आफूसँग हुन आवश्यक छ । वैदेशिक रोजगारीको सिलसिलामा गन्तव्य देश पुगेपछि केही शङ्का, दुविधा भएमा दूतावास, आप्रवासी केन्द्रलगायतका निकायमा सम्पर्क गर्नुपर्छ ।
(ई) सुरक्षित कार्य वातावरण (Safe Working Environment): वैदेशिक रोजगारीमा जाने व्यक्तिले आफूलाई सुरक्षित राख्ने उपायहरू थाहा पाउनुपर्छ । रोजगारीका सिलसिलामा कार्यस्थलमा पालना गर्नुपर्ने नियम तथा कानुन अक्षरशः पालना गर्नुपर्छ । दुर्घटनाको सम्भावना धेरै भएको अवस्थामा आपत्‌कालीन जोखिमको उपायका बारेमा जानकार हुनुपर्छ । उपकरण, मेसिन र औजार प्रयोग गर्दा सुरक्षाका सामग्रीहरू प्रयोग गर्नुपर्छ ।
(उ) सद्भाव र विश्वास (Harmony and Trust): वैदेशिक राजगारीमा जाने व्यक्तिले पारिवारिक सद्भाव र विश्वास दिलाउनुपर्छ । आमाबुबा र बालबालिकासँग नियमित सम्पर्कमा रहनुपर्छ । यसले पारिवारिक सामिप्यता बढाउँछ । शङ्काउपशङ्का हटाई विश्वासको वातावरण तयार गर्छ । घरपरिवारले पनि विदेशमा रहेकालाई माया, सद्भाव र स्नेहको भाव राखेर व्यवहार गर्नुपर्छ । विदेशबाट कमाएर पठाएको रकमको सही सदुपयोग गर्नुपर्छ । आमा वा बुबा कुनै एकको अनुपस्थितिमा बालबच्चाको शिक्षा, स्वास्थ्य, पोषणलगायतको व्यवस्थापनमा अर्कोले ध्यान दिनुपर्छ ।
(ऊ) विप्रेषणको सही सदुपयोग (Proper Utilization of Remittance): वैदेशिक रोजगारीबाट प्राप्त आयलाई फजुल खर्च नगरी आवश्यक काममा मात्र प्रयोग गर्नुपर्छ । थोरै भए पनि बचत गर्ने बानीको विकास गर्नुपर्छ । बचतले लगानीको अवसर प्रदान गरी सुरक्षित भविष्य निर्माणमा सहयोग पुर्याउँछ । देखासिकी गर्ने प्रवृत्तिलाई निरुत्साहित गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने बानीको विकास गर्नुपर्छ । ससानो रकम परिचालन गरेर प्राथमिक सेयर खरिद गर्ने, सन्ततिको नाममा बचत वा मुद्दती खाता खोलेर नियमित रूपमा रकम जम्मा गर्ने, बिमा गर्ने, ससानो उद्यम वा व्यवसाय गर्नका लागि यस्तो रकम प्रयोग गरेमा भविष्यमा आयआर्जनका लागि पुनः विदेश जानुपर्ने बाध्यता रहँदैन ।

२. अभ्यास (Exercise) – समाधानसहित
अति छोटो उत्तर आउने प्रश्नहरू [1 Mark]

क. वैदेशिक रोजगारीलाई परिभाषित गर्नुहोस् ।
उत्तर: कुनै एक देशको नागरिक रोजगारी तथा आयआर्जनका लागि (भविष्यमा स्वदेश फर्किने मनसायले) कुनै अर्को देशमा गएर काम गर्नुलाई वैदेशिक रोजगारी भनिन्छ।
ख. वैदेशिक रोजगारीबाट प्राप्त आयलाई के भनिन्छ ?
उत्तर: वैदेशिक रोजगारीबाट प्राप्त आयलाई विप्रेषण (Remittance) भनिन्छ।
ग. वैदेशिक रोजगारीका लागि हालसम्म श्रम सम्झौता भएका मुलुकहरू कतिओटा छन् ?
उत्तर: आर्थिक सर्वेक्षण, २०८१/८२ अनुसार २०८१ फागुनसम्ममा वैदेशिक रोजगारीका लागि नेपाल सरकारले खुला गरेका मुलुकहरू जम्मा १११ ओटा रहेका छन्।
घ. वैदेशिक रोजगारीबाट नेपालले लिन सक्ने दुई फाइदाहरू लेख्नुहोस् ।
उत्तर: वैदेशिक रोजगारीबाट नेपालले लिन सक्ने दुई फाइदाहरू: १. विदेशी मुद्रा (विप्रेषण) आर्जन। २. देशमा रहेको बेरोजगारी समस्याको न्यूनीकरण।
ङ. वैदेशिक रोजगारीमा मानवीय असुरक्षाको कुनै एक उदाहरण दिनुहोस् ।
उत्तर: जोखिमपूर्ण कामले गर्दा कार्यस्थलमा दुर्घटना भई कामदारको मृत्यु हुनु वा शारीरिक रूपमा अशक्त हुनु वैदेशिक रोजगारीमा मानवीय असुरक्षाको एक उदाहरण हो।
च. उपभोगमुखी संस्कृति भनेको के हो ?
उत्तर: वैदेशिक रोजगारीबाट प्राप्त आयलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुभन्दा पनि अर्काको देखासिकी गर्दै विलासिताका वस्तु तथा सेवाको उपभोगमा फजुल खर्च गर्ने प्रवृत्तिलाई उपभोगमुखी संस्कृति भनिन्छ।
छ. वैदेशिक रोजगारीमा जान चाहनेले सुरक्षित रूपमा राख्नुपर्ने कागजातहरू के के हुन् ?
उत्तर: वैदेशिक रोजगारीमा जान चाहनेले भिसा, बिमा, स्वास्थ्य परीक्षणका रिपोर्ट, श्रम स्वीकृति र करारपत्र (Contract Paper) जस्ता कागजातहरू सुरक्षित रूपमा राख्नुपर्छ।
ज. विप्रेषणको सही सदुपयोगको कुनै एक उदाहरण दिनुहोस् ।
उत्तर: विप्रेषणबाट प्राप्त स-सानो रकम परिचालन गरेर प्राथमिक सेयर खरिद गर्नु वा सानो उद्यम/व्यवसाय सञ्चालन गर्नु विप्रेषणको सही सदुपयोगको एक उदाहरण हो।

३. अभ्यास: छोटो उत्तर आउने प्रश्नहरू [5 Marks]

क. वैदेशिक रोजगारीको महत्त्व बुँदागत रूपमा लेख्नुहोस् । 5 Marks
नेपाल जस्तो विकासशील देशमा वैदेशिक रोजगारीको महत्त्व अत्यन्तै धेरै छ, जसलाई निम्न बुँदाहरूमा लेख्न सकिन्छ:
– जीवनस्तरमा सुधार: न्यून आय भएका परिवारको आवश्यकता पूरा गरी जीवनस्तर उकास्न मद्दत पुगेको छ।
– बेरोजगारी न्यूनीकरण: स्वदेशमा काम नपाएका र कृषि क्षेत्रमा रहेका अदृश्य बेरोजगार युवाहरूलाई कामको अवसर प्रदान गरेको छ।
– विदेशी मुद्रा आर्जन: वैदेशिक रोजगारमार्फत प्राप्त मुद्राले देशको विदेशी मुद्राको सञ्चिति बढाएको छ र आयात भुक्तानीमा सघाएको छ।
– प्रविधि र सिपको हस्तान्तरण: विदेशमा सिकेका नयाँ ज्ञान, सिप र प्रविधिलाई स्वदेशमा ल्याएर उद्यमशीलता विकास गर्न सहयोग पुगेको छ।
– शिक्षा, स्वास्थ्य र आवासमा पहुँच: विप्रेषणको आयले गर्दा राम्रो शिक्षा, उपचार र घरघडेरी जोड्ने कार्यमा सर्वसाधारणको पहुँच बढेको छ।

ख. वैदेशिक रोजगारीका कुनै पाँचओटा प्रतिकूल असरहरू प्रस्तुत गर्नुहोस् । 5 Marks
वैदेशिक रोजगारीका पाँचओटा प्रतिकूल असरहरू निम्न छन्:
१. आर्थिक तथा मानवीय असुरक्षा: गन्तव्य देशमा अस्थिरता आउँदा बेरोजगार हुनुपर्ने र कार्यस्थलको जोखिमले कामदारको मृत्यु वा अङ्गभङ्ग हुने सम्भावना रहन्छ।
२. बालबालिकामा असर: अभिभावकको साथ नहुँदा बालबालिकामा एक्लोपना र नैराश्यता बढ्ने र बिचैमा पढाइ छाड्ने प्रवृत्ति देखिएको छ।
३. घरपरिवारमा असमझदारी: श्रीमान् वा श्रीमती विदेशिँदा शङ्काउपशङ्का बढ्ने र सम्बन्धविच्छेद भई पारिवारिक कलह सिर्जना हुने गरेको छ।
४. स्वदेशमा कामदारको अभाव: युवा र दक्ष जनशक्ति बाहिरिँदा स्वदेशको कृषि, उद्योग र सेवा क्षेत्रमा कामदारको चरम अभाव सिर्जना भएको छ।
५. उपभोगमुखी संस्कृति: कमाएको पैसा उत्पादनमूलक क्षेत्रमा भन्दा पनि विलासिता र फजुल खर्चमा उडाउने संस्कृतिको विकास भएको छ।

ग. वैदेशिक रोजगारीका प्रतिकूल असर न्यूनीकरणका कुनै दुई उपाय वर्णन गर्नुहोस् । 5 Marks
वैदेशिक रोजगारीका प्रतिकूल असर न्यूनीकरण गर्ने दुई मुख्य उपायहरू यस प्रकार छन्:
१. श्रम स्वीकृति र करारपत्रको पूर्ण अध्ययन: विदेश जानुअघि वैदेशिक रोजगार विभागबाट अनिवार्य श्रम स्वीकृति लिनुपर्छ। करारपत्रमा उल्लेख भएका काम, पारिश्रमिक, समय र ओभरटाइमका सर्तहरू राम्ररी पढेर चित्त बुझेपछि मात्र हस्ताक्षर गर्नुपर्छ र त्यसको प्रतिलिपि आफूसँग सुरक्षित राख्नुपर्छ।
२. विप्रेषणको सही सदुपयोग: विदेशबाट कमाएर पठाएको रकमलाई फजुल खर्च र विलासितामा उडाउनु हुँदैन। त्यसलाई बचत गर्ने, सन्ततिको शिक्षामा लगाउने र उद्यम वा सेयर जस्ता उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने बानीको विकास गर्नुपर्छ, जसले गर्दा भविष्यमा पुनः विदेश जानुपर्ने बाध्यता हट्छ।

४. लामो उत्तर आउने प्रश्नहरू [8 Marks]

क. नेपालको सन्दर्भमा वैदेशिक रोजगारी किन आवश्यक छ, यसको महत्त्वका आधारमा व्याख्या गर्नुहोस् । 8 Marks
देशभित्र पर्याप्त रोजगारीका अवसरहरू र उद्योगधन्दाहरू नहुँदा नेपाल जस्तो विकासशील देशका नागरिकहरूका लागि वैदेशिक रोजगारी आयआर्जनको एक प्रमुख र बाध्यकारी विकल्प बनेको छ। देशको गरिबी न्यूनीकरण गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन वैदेशिक रोजगारी अपरिहार्य जस्तै बनेको छ। यसको आवश्यकता र महत्त्वलाई निम्न आधारमा व्याख्या गर्न सकिन्छ:
१. बेरोजगारी समस्याको समाधान: नेपालमा हरेक वर्ष लाखौँ युवा श्रम बजारमा आउँछन् तर स्वदेशमा काम पाउँदैनन्। वैदेशिक रोजगारीले यस्ता युवाहरूलाई रोजगारीको अवसर दिएर देशमा हुन सक्ने आर्थिक सङ्कट र सामाजिक विचलनलाई रोकेको छ।
२. विदेशी मुद्राको प्रमुख स्रोत: नेपालको अर्थतन्त्र विप्रेषण (Remittance) मा नराम्ररी निर्भर छ। वैदेशिक रोजगारीबाट भित्रिने विदेशी मुद्राले नै देशको आयात व्यापार धान्न र शोधनान्तर स्थिति (भुक्तान सन्तुलन) सुधार्न मद्दत गरेको छ।
३. गरिबी निवारण र जीवनस्तर सुधार: वैदेशिक रोजगारीमा गएका परिवारहरूको क्रयशक्ति बढेको छ। उनीहरूले गुणस्तरीय शिक्षा, राम्रो स्वास्थ्य सेवा र सुरक्षित आवासको सुविधा उपभोग गर्न पाएका छन्, जसले देशको समग्र गरिबी दरलाई घटाएको छ।
४. बचत, लगानी र सिप हस्तान्तरण: विदेशमा काम गरेर आर्जन गरेको रकम बचत गरी स्वदेशमा उद्यम व्यवसायमा लगानी गर्ने वातावरण बनेको छ। साथै, विदेशमा सिकेको आधुनिक प्रविधि र कार्यकुशलता स्वदेशमा भित्रिँदा त्यसले देशको विकासमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्छ।
अतः स्वदेशमा पर्याप्त औद्योगिकीकरण नहोउन्जेलसम्म नेपालको अर्थतन्त्र धान्न र नागरिकको जीवन उकास्न वैदेशिक रोजगारी अत्यन्त आवश्यक छ।

ख. वैदेशिक रोजगारीका प्रतिकूल असरहरूको सूची बनाई असर न्यूनीकरणका उपाय वर्णन गर्नुहोस् । 8 Marks
वैदेशिक रोजगारीले फाइदा मात्र दिएको छैन, नेपाली समाज र अर्थतन्त्रमा गम्भीर नकारात्मक असरहरू पनि पारेको छ।

वैदेशिक रोजगारीका प्रतिकूल असरहरूको सूची:
– आर्थिक तथा मानवीय असुरक्षा (कार्यस्थलको दुर्घटना र मृत्यु)।
– बालबालिकाको मनोविज्ञान र हुर्काइमा नकारात्मक असर।
– पारिवारिक असमझदारी, कलह र सम्बन्धविच्छेदका घटनाहरूमा वृद्धि।
– श्रमिकहरूमा मानसिक स्वास्थ्यको समस्या (नैराश्यता, तनाव)।
– स्वदेशको कृषि र उद्योगमा काम गर्ने युवा जनशक्तिको चरम अभाव।
– समाजमा उपभोगमुखी र विलासी संस्कृतिको विकास।

असर न्यूनीकरणका उपायहरू: यी गम्भीर असरहरूलाई कम गर्न निम्न उपायहरू अपनाउनु जरुरी छ:
१. श्रम सम्झौता र सीपमूलक तालिम: सरकारले श्रम सम्झौता भएका सुरक्षित देशहरूमा मात्र कामदार पठाउनुपर्छ। जानुअघि त्यहाँको भाषा, नियम र कामको पूर्ण तालिम दिएर मात्र पठाउने व्यवस्था गर्नुपर्छ।
२. कागजात र करारपत्रको सुरक्षा: कामदारले आफ्नो भिसा, पासपोर्ट, बिमा र करारपत्रको प्रतिलिपि सुरक्षित राख्नुपर्छ। गन्तव्य देशमा पुगेपछि समस्या परेमा तुरुन्त नेपाली दूतावास वा सहयोगी निकायमा सम्पर्क गर्नुपर्छ।
३. सुरक्षित कार्य वातावरणको ज्ञान: कार्यस्थलमा अपनाउनुपर्ने सुरक्षा मापदण्ड र आपत्कालीन उद्धारका उपायहरूबारे श्रमिक पहिले नै जानकार हुनुपर्छ र जोखिमपूर्ण काम गर्दा सुरक्षा सामग्री अनिवार्य प्रयोग गर्नुपर्छ।
४. पारिवारिक सद्भाव र विश्वास: विदेशमा रहेका व्यक्ति र घरपरिवारबिच नियमित सम्पर्क र कुराकानी हुनुपर्छ। एकअर्कालाई विश्वास दिलाउने र बालबालिकाको हेरचाहमा घरमा रहेका अभिभावकले विशेष ध्यान दिने गर्नुपर्छ।
५. विप्रेषणको सही सदुपयोग: विदेशबाट आएको रगतपसिनाको कमाइलाई अनुत्पादक क्षेत्र (देखासिकी र विलासिता) मा फजुल खर्च गर्नुहुँदैन। त्यसलाई बचत गरेर उद्यम, व्यवसाय वा सेयर जस्ता उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ, जसले गर्दा दीर्घकालीन रूपमा स्वदेशमै आत्मनिर्भर बन्न सकियोस्।

📚 Also Read: Class 10 SEE Notes

Compulsory Subjects

Optional Subjects

Scroll to Top