Nepali Abhivyakti Lekhan
नेपाली अभिव्यक्ति लेखन – सम्पूर्ण अध्ययन
Nepali Abhivyakti Lekhan Introduction
Nepali Abhivyakti Lekhan (नेपाली अभिव्यक्ति लेखन) भाषालाई शुद्धसँग, प्रभावकारी र सुसङ्गठित ढङ्गले लेख्न सिकाउने कला हो। यस पृष्ठमा कक्षा १०, ११, १२ र अन्य तहका विद्यार्थीहरूका लागि आवश्यक विवेचना, सप्रसङ्ग व्याख्या, बोध, बुँदा टिपोट, सारांश, पत्र लेखन, दैनिकी, वादविवाद, संवाद, मनोवाद, वक्तृता, जीवनी, कथा र निबन्ध लेखनसम्मका सम्पूर्ण विधिहरू समावेश गरिएको छ।
१. विवेचना परिचय
माध्यमिक स्तरका अधिकांश विद्यार्थीहरू विवेचनात्मक प्रश्नहरूको उत्तर लेख्दा अलमलिने, प्रश्नले माग गरेको उत्तर ठम्याउन नसकी पूरै पाठको सारांश लेख्ने जस्ता गल्ती गर्न पुग्दछन्। अतः यहाँ विषयवस्तुमा प्रवेश गर्नुअघि विवेचनाका बारेमा केही चर्चा गर्नु सान्दर्भिक देखिएकाले विवेचना भनेको के हो र विवेचना गर्दा के कस्ता प्रक्रियाहरू अपनाउनुपर्दछ भन्नेबारेमा सामान्य छलफल गरिन्छ।
कुनै पनि कृति वा रचनाको सूक्ष्म अध्ययन गरी काव्य तत्त्वका आधारमा वस्तुपक्ष (विषय-वस्तु) र शैली पक्षको विश्लेषण एवम् मूल्याङ्कन गर्नु नै विवेचना गर्नु हो। विवेचनालाई समीक्षा र समालोचना पनि भनिन्छ। विवेचना कृतिगत र प्रश्नगत गरी दुई प्रकारको हुन्छ। कृतिगत विवेचनामा कृतिका सम्पूर्ण पक्षको व्याख्या एवम् विश्लेषण गरिन्छ भने प्रश्नगत विवेचनामा कृतिको बनोट (structure) र बुनोट (texture) का कुनै एक दुई पक्षलाई लिएर मात्र चर्चा गरिन्छ। यहाँ गर्न लागिएको चर्चा प्रश्नगत विवेचनाको हो।
२. विवेचना विधि वा प्रक्रिया
विवेचना विधि या प्रक्रिया भन्नाले विवेचना गर्दा अपनाइने तौरतरिका भन्ने बुझिन्छ। यहाँ तिनै प्रक्रियाहरूको उल्लेख गरिन्छ:
- सम्बन्धित रचनालाई राम्रोसँग पढ्ने। नबुझे दोहोऱ्याई तेहेऱ्याई पढ्ने।
- पढ्ने क्रममा प्रश्नमा केन्द्रित भई आफ्नो मनमा लागेका महत्त्वपूर्ण बुँदाहरूको टिपोट गर्ने।
- बुँदाहरूको आधारमा व्याख्या र विश्लेषण गर्दै मूल्याङ्कन गर्ने।
विवेचना गर्दा साहित्यको कुन विधाको रचनाको गरिने हो त्यसको आधारमा गरिनुपर्दछ। सामान्यतया विषयवस्तु, मूल भाव वा विचारलाई केन्द्रविन्दु मानेर विवेचना गरिनुपर्दछ:
- कविता: ‘सन्तुष्टि’ कविताको मूल भाव — सरलता, श्रम र सन्तुष्टिले धर्तीलाई नै स्वर्ग र मानव जीवनलाई सुखी बनाउँछन्।
- कथा: ‘जन्मभूमि’ कथाको मूल भाव — जननी र जन्मभूमि स्वर्गभन्दा प्यारा हुन्छन्।
- नाटक/एकाङ्की: ‘टीका’ एकाङ्कीको मूल भाव/विचार — विदेशमा गएर धनसम्पत्ति कमाउनभन्दा आफ्नो देशको विकासका लागि पसिना बगाउन लागे मात्र हाम्रो उत्थान र समृद्धि दिगो हुन्छ।
- निबन्ध: ‘जयभुँडी’ निबन्धको विचार — खाऊँ मै लाऊँ भन्ने स्वार्थी प्रवृत्तिका कारण समाजमा वर्गभेद देखा परेको छ र समाज विकासले गति लिन सकेको छैन।
सामान्यतः विवेचना गर्दा विषयवस्तु (भाव/विचार) र तत्त्व (कथानक, पात्र, परिवेश, उद्देश्य आदि) का आधारमा गरिन्छ, तर प्रश्नगत विवेचना भने प्रश्नअनुसार निश्चित विषयवस्तु र तत्त्वका आधारमा गरिनुपर्दछ। प्रश्नमा मूलभाव, विचार, पात्र, सन्देश आदि जुन पक्षको विवेचना गर्ने निर्देश हुन्छ त्यसैअनुरूप गरिनुपर्दछ।
विवेचनात्मक उत्तरमा सामान्यतः तीन भाग हुन्छन् — आदि, मध्य र अन्त्य।
(क) आदि भाग
आदि भागमा सम्बन्धित रचनाका लेखकको सामान्य चिनारी दिइन्छ, जसमा उसको साहित्यिक योगदान र प्रवृत्तिको बारेमा सङ्केत गरिन्छ। यो सानो अनुच्छेदमा आबद्ध हुन्छ।
(ख) मध्य भाग
यो विवेचनाको मूल भाग हो। यसमा प्रश्नले खोजेको उत्तरमा केन्द्रित भई विषयवस्तुको व्याख्या एवम् विश्लेषण गरी मूल भावको निरूपण गरिन्छ। मूल भाव भन्नाले मूल विचार, केन्द्रीय भाव, मूल मर्म, मुख्य बुँदा, मूल अभिप्राय वा आशय भन्ने बुझिन्छ। यो विवेचनाको मूल अङ्ग भएकाले आवश्यकताअनुसार एकभन्दा बढी अनुच्छेदमा आबद्ध हुन सक्छ। खास गरी यस भागको सुरुमा रचनाको सन्दर्भगत प्रसङ्ग दिनुपर्छ। बिचमा प्रश्नमा केन्द्रित भई व्याख्या एवम् विश्लेषण गर्ने र अन्त्यमा उपसंहारस्वरूप मूल्याङ्कन वा निर्णय दिनुपर्छ। यसरी यो भाग पूरा हुन्छ।
(ग) अन्त्य भाग
यस भागमा निष्कर्ष दिँदै रचना/पाठको शैली पक्षको चर्चा गरिन्छ। यसअन्तर्गत रचनाको भाषा (पदावलीको प्रयोग, वाक्य गठन, कथन पद्धति, छन्द, अलङ्कार, बिम्ब, प्रतीक आदि) पर्दछन्।
१. सप्रसङ्ग व्याख्या: परिचय, विधि र प्रक्रिया
गद्य वा पद्य रचनासँग सम्बद्ध अंशको सन्दर्भसहित गरिने विश्लेषणात्मक विस्तारलाई सप्रसङ्ग व्याख्या भनिन्छ। सप्रसङ्ग व्याख्या पाठ्यपुस्तकभित्रका पाठ्यांशहरूको गरिन्छ। यसमा दिइएको अंशलाई विभिन्न उदाहरण, उपमा, प्रतीक, बिम्ब आदिद्वारा विश्लेषण र व्याख्या गर्ने कार्य गरिन्छ। यसबाट सम्बन्धित अंशको भाव विस्तार हुन गई अर्थ स्पष्ट हुन जान्छ। यो एक किसिमको भाव विस्तार हो।
सप्रसङ्ग व्याख्याको विस्तारको निश्चित सीमा नभए तापनि भाव स्पष्ट नहोउन्जेलसम्म यसको विस्तार हुन्छ। वास्तवमा सप्रसङ्ग व्याख्या गर्ने अंश रबर जस्तै तन्किने वस्तु हो भने सप्रसङ्ग व्याख्या तन्काइने प्रक्रिया हो र यसलाई नचुडिउन्जेलसम्म तन्काउनुपर्छ र तन्काउन सकिन्छ। सप्रसङ्ग व्याख्या गर्दा सम्बद्ध अंशमा केन्द्रित रही व्याख्या र विश्लेषण गर्नुपर्छ र अनावश्यक कुराहरू थोपरेर लामो एवम् भद्दा पार्नु हुँदैन। सप्रसङ्ग व्याख्या गर्दा सरल भाषा र आकर्षक शैलीमा भाव स्पष्ट हुने गरी गर्नुपर्दछ।
सप्रसङ्ग व्याख्याका मूल तीन भाग हुन्छन् — (क) आदि भाग: सन्दर्भ खण्ड (ख) मध्य भाग: व्याख्या खण्ड (ग) अन्त्य भाग: उपसंहार खण्ड।
(क) आदि भाग: सन्दर्भ खण्ड
आदि भागमा सन्दर्भ खण्ड रहन्छ। यो नै प्रसङ्ग भाग हो। यो एक अनुच्छेदमा आबद्ध हुन्छ। यसअन्तर्गत निम्न लिखित कुराहरू पर्दछन् — विधा: गद्य (कथा, निबन्ध, नाटक, जीवनी….) वा पद्य (कविता) कुन हो? पाठ्यपुस्तक: कुन पाठ्यपुस्तक हो? नेपाली या अन्य कुनै? पाठ/शीर्षक: शीर्षक के हो? ‘जय भुँडी’ या अन्य कुनै? लेखक: लेखक को र कस्तो प्रवृत्तिको हो? भैरव अर्याल, सम, माधव घिमिरे! कथन सिलसिला: कसको भनाइ हो र कसलाई कुन परिस्थितिमा किन भनिएको हो? यो केसँग सम्बद्ध छ?
जस्तै: प्रस्तुत पद्यांश/गद्यांश….. नेपाली पाठ्यपुस्तकको ………… शीर्षकबाट उद्धृत गरिएको हो। यो …………ले …………लाई भनिएको उक्ति/कथन/पङ्क्तिहरू हुन्। यसमा ………… भनिएको छ।
नोट: पद्यांश/गद्यांशको ठाउँमा पङ्क्ति पनि लेख्न सकिन्छ। पङ्क्ति भए ‘उद्धृत गरिएको हो’ र पङ्क्तिहरू भए ‘उद्धृत गरिएका हुन्’ लेख्नुपर्छ। उद्धृतको सट्टा झिकिएको, निकालिएको पनि लेख्न सकिन्छ।
(ख) मध्य भाग: व्याख्या खण्ड
यो सप्रसङ्ग व्याख्याको मूल खण्ड र मेरुदण्ड भाग हो। यो अरू भागभन्दा ठुलो हुन्छ। यो आवश्यकताअनुसार एक वा एकभन्दा बढी अनुच्छेदमा रहन सक्दछ। यसमा विभिन्न दृष्टान्तहरू दिएर सम्बद्ध अंशको व्याख्या र विश्लेषण गर्ने कार्य हुन्छ। यसमा विभिन्न उदाहरण, तर्क, प्रमाण, विम्ब, प्रतीक आदिका माध्यमबाट भावलाई स्पष्ट पार्ने कार्य गरिन्छ। व्याख्या सन्दर्भित अंशभन्दा बाहिर नगई त्यसैको केन्द्रीय तन्तुमा उनिएको हुनुपर्छ।
(ग) अन्त्य भाग: उपसंहार खण्ड
यो व्याख्येय अंशको निचोड वा सार अंश हो। व्याख्या गरिसकेपछि निचोडस्वरूप दुई तीन वाक्यमा यसलाई समेट्न सक्नुपर्छ। यसमा भन्न खोजेको कुरालाई स्पष्ट पारिन्छ। यसमा भाषाशैलीबारे टिप्पणी पनि गरिन्छ।
यसरी सप्रसङ्ग व्याख्या लेखनको सङ्गठनको स्वरूपअन्तर्गत सन्दर्भ खण्ड शिर हो, व्याख्या खण्ड मेरूदण्ड हो भने उपसंहार खण्ड पुच्छर हो।
२. व्याख्या / भाव विस्तार
सप्रसङ्ग व्याख्या गर्दा कुनै अभिव्यक्तिको सन्दर्भ सापेक्ष अर्थ लगाइन्छ तर व्याख्या वा भाव विस्तार गर्दा सन्दर्भ सापेक्षता कम हुन्छ। व्याख्या अलि स्वतन्त्र र मौलिक खालको हुन्छ भने सप्रसङ्ग व्याख्या पाठको प्रसङ्गमा बढी आश्रित हुन्छ। सप्रसङ्ग व्याख्या गर्दा पुस्तकको नाम, पाठको शीर्षक, विधा, लेखक, कुन पात्रले कुन पात्रलाई कुन प्रसङ्गमा सो कुरा भनेको हो आदि कुरा पहिलो अनुच्छेदमा खुलाउनुपर्ने हुन्छ तर व्याख्या/भाव विस्तार गर्दा यस्तो खोलुवा अपेक्षित हुँदैन।
व्याख्या वा भाव विस्तार गर्दा पनि सामान्यतया तीन अनुच्छेदको सङ्गठन आवश्यक हुन्छ। पहिलो अनुच्छेदमा दिइएको पङ्क्तिको व्याख्याका लागि छोटो आधार तयार पारिन्छ। यो भूमिकामूलक अनुच्छेद हुन्छ। दोस्रो अनुच्छेदमा उक्त गद्यांश/पद्यांशको विस्तारपूर्वक अर्थ लगाइन्छ। यसरी अर्थ लगाउँदा पाठको सन्दर्भका साथसाथै व्याख्याको मौलिक ज्ञान र तर्कको उपयोग गरिन्छ। अन्तिम अनुच्छेदमा व्याख्या गर्नुपर्ने अंशकै मुख्य भारलाई प्रकारान्तरले पुनः कथन गरी निष्कर्षका रूपमा प्रस्तुत गरिन्छ।
१. बोधको परिचय
बोधको शाब्दिक अर्थ बुझाइ वा बुझ्नु हो। सामान्यतः बोध भनेको कुनै पनि मौखिक या लिखित अभिव्यक्तिको आशयलाई राम्रोसँग बुझ्नु वा अर्थबोध गर्नु हो, त्यसको सारतत्त्वलाई निकाल्न सक्नु हो। यहाँ बोध भनेको खास गरेर दिइएको अनुच्छेदलाई राम्रोसँग पढी बुझीकन त्यस अनुच्छेदसँग सम्बन्धित भएर सोधिएका प्रश्नहरूको ठिक ढङ्गले उत्तर दिनु हो। बोध बौद्धिक सामर्थ्यलाई मापन गर्ने कसी हो। यो भाषिक कला पनि हो। बोधका निमित्त सम्बन्धित अनुच्छेदको सान्दर्भिक ज्ञान र शब्द भण्डारको अर्थबोध हुनु जरुरी छ।
२. बोधप्रश्नको उत्तर लेखन प्रक्रिया
- सम्बन्धित अनुच्छेदलाई नबुझुन्जेलसम्म दोहोऱ्याई तेहेऱ्याई गम्भीरतापूर्वक पढ्ने।
- बोधप्रश्नलाई राम्रोसँग पढी तिनले के कस्तो उत्तरको अपेक्षा गरेका छन् त्यसमा ध्यान केन्द्रित गराउने।
- बोध प्रश्नका आधारमा अनुच्छेदमा उत्तरको खोज गरी ठिक उत्तर भएका पद, पदावली र वाक्यमा रेखाङ्कन गर्ने।
- प्रश्नको उत्तर अनुच्छेदमा हुने हुनाले अनुच्छेदभित्रकै पद, पदावली, वाक्यलाई बुझी सकभर आफ्नो शैलीमा उत्तर प्रस्तुत गर्ने।
- यदि वाक्यांशमा उत्तर नपाइए भावका आधारमा उत्तर दिने। उत्तरलाई लामो र भद्दा खालको नपार्ने।
- उत्तर लेख्दा प्रश्नको मागअनुरूप सरल ढङ्गले सङ्क्षिप्त शैलीमा दिने।
- अनुमानात्मक प्रश्नको उत्तर लेख्दाबाहेक अनुच्छेदबाहिर गई आफ्नो तर्फबाट उत्तरमा थपघट नगर्ने।
- रेखाङ्कित पदहरूको अर्थ वाक्यको प्रसङ्गअनुसार दिने।
- शीर्षक दिनुपर्ने आवश्यकता परेमा अनुच्छेदलाई समेट्ने गरी शीर्षक राख्ने।
१. बुँदा टिपोट
बुँदा टिपोटको अर्थ कुनै पनि आन्तरिक विचार वा मौखिक या लिखित अभिव्यक्तिको मनन, श्रवण या पठन गरी तिनमा अन्तर्निहित सारपूर्ण कुरालाई टिप्ने काम वा प्रक्रिया भन्ने हुन्छ। बुँदा टिपोट आन्तरिक अर्थात् मानसिक प्रक्रिया हो। बुँदा टिपोटका लागि टिपोटकर्तामा बोध सामर्थ्य हुनुपर्दछ। टिपोट गरिएका बुँदाहरू भाषिक सन्दर्भमा भाषिक संरचनाका लघुतम एकाइ हुन्। प्रत्येक बुँदा वाक्यात्मक र लघु आकारका हुन्छन्। बुँदाहरूमा विचारको घनत्व र कथनको मुख्य आशय वा सारपूर्ण कुरा लुकेको हुन्छ। अतः कुनै पनि भाषिक अभिव्यक्तिका सारपूर्ण कुरा नै बुँदा हुन्। अभिव्यक्तिबाट जति वटा सारपूर्ण कुराहरूलाई टिपिन्छ, त्यति वटा नै त्यसका बुँदा हुन्छन्। त्यसैले बुँदा अभिव्यक्तिका बोधात्मक एकाइ हुन्।
२. बुँदा टिपोट प्रक्रिया
- बुँदा टिपोट गर्नुपर्ने पाठ वा अनुच्छेदलाई पहिले राम्ररी पढ्ने र मुख्य तात्पर्य ठम्याउने।
- सम्बद्ध पाठ वा अनुच्छेदलाई पुनः पढ्ने क्रममा सारपूर्ण कुरालाई रेखाङ्कित गर्ने।
- रेखाङ्कित पद वा वाक्यांशलाई जस्ताको तस्तै टिपोट नगरी त्यहीँका शब्द पनि राखी आफ्नै शैलीमा छोटा छोटा अपूर्ण वाक्य गठन गर्ने।
- प्रश्नमा उल्लेख भएको सङ्ख्यामा बुँदालाई साफी लेखन गर्ने। समयको अभाव भएमा वा खेस्रा टिप्न आवश्यक नठानेमा एकैचोटि साफी लेखन गर्न सकिने।
- कुनै पनि बुँदालाई एकदेखि दुई हरफसम्मको बनाउन सकिने।
- परीक्षाका दृष्टिले बुँदा टिपोट गर्दा प्रत्येक बुँदाका सुरुमा लामो धर्को (-) र अन्त्यमा अर्धविराम (;) दिने।
- चार वटा बुँदा टिप्ने र एउटा बुँदापछि एक हरफ छोडेर अर्को बुँदा लेख्ने।
३. सारांश लेखनको परिचय
कुनै कृति या रचनालाई राम्रोसँग पढी मूल भाव या विचारलाई नछुटाईकन सिलसिलाबद्ध ढङ्गले एक तृतीयांश (१/३) भागमा प्रस्तुत गरिने प्रक्रियालाई सारांश भनिन्छ। सारांशलाई सङ्क्षेपीकरण या सङ्क्षपीकृत लेखन पनि भनिन्छ। सङ्क्षेपीकरण एक भाषिक कला हो जहाँ अभ्यास र सिपको आवश्यकता पर्दछ। सङ्क्षेपीकरण कुनै पनि रचनाको अपूर्ण वा छोटो अंश होइन। यो सानो शिशु हो, जहाँ मानिसका सम्पूर्ण अङ्ग प्रत्यङ्ग हुन्छन्। यसलाई समास शैलीमा संश्लेषणात्मक ढङ्गले एक अनुच्छेदमा प्रस्तुत गरिन्छ। सङ्क्षिप्तता, पूर्णता, गहनता, स्पष्टता र क्रमबद्धता यसका गुण हुन्।
४. सारांश लेखन प्रक्रिया
सङ्क्षेपीकरण गर्दा निम्न प्रक्रियाहरू अपनाइन्छन्:
- सम्बन्धित रचना वा अनुच्छेदलाई सूक्ष्म ढङ्गले भाव स्पष्ट नभएसम्म २/३ पटक पढी महत्त्वपूर्ण शब्द, वाक्यांश, वाक्य वा मुख्य भागलाई रेखाङ्कन गर्ने।
- विशेषण, क्रियाविशेषण, उखान टुक्का, प्रतीक, विचारको पुनरावृत्ति, उदाहरण जस्ता अप्रासङ्गिक, असम्बद्ध र दोहोरिएका कुराहरूलाई छाडिदिने र मुख्य मुख्य चार वटा बुँदा टिपोट गर्ने।
- सारांश लेख्दा मूल भाव नखजमजिने गरी सार शब्द, समस्त शब्द र पारिभाषिक शब्द प्रयोग गर्ने।
- आफ्ना तर्फबाट कुनै पनि कुरा नथप्ने र आफ्नै भाषा प्रयोग गर्ने।
- मूल भाव वा विचारलाई पक्रेर समास शैलीमा संश्लेषणात्मक ढङ्गले सरल र सहज रूपमा प्रस्तुत गर्ने।
- सरल भाषा र अप्रत्यक्ष कथन शैलीको प्रयोग गर्ने।
- मूल भागको एक तृतीयांश भए नभएको जाँची सकभर एक तृतीयांशमै छाँटकाँट गरी मिलाउने।
- मूल भावअनुसार शीर्षक पनि दिने।
- सङ्क्षेपीकरण गरिएको अनुच्छेदको अन्त्यमा शब्दसङ्ख्या उल्लेख गर्ने।
- परीक्षार्थीले बुँदा टिपोट गरी सारांश लेख्दा प्रश्नपत्रमा निर्देश गरे अनुसार प्रथमतः बुँदा टिपोट गरी चार वटा बुँदा निर्धारण गर्नुपर्दछ र त्यसपछि तिनै बुँदालाई थपघट गरी एक तृतीयांशमा सारांश लेख्नुपर्दछ।
१. चिठीको परिचय
चिठी लेखन अभिव्यक्ति कलाको विशिष्ट अङ्ग हो। यसमा मानिसले आफ्ना विचार, भावना र सन्देशलाई अभिव्यक्त गर्दछ अनि आफ्ना आवश्यकता र आकाङ्क्षालाई प्रस्तुत गर्दछ। यसले मानिस मानिसबिचको भावनात्मक सम्बन्धलाई गाँस्ने काम गर्दछ। यो मानिसको क्षमतालाई कसी लगाउने साधन पनि हो। यसमा मानिसको व्यक्तित्व पनि झल्किएको हुन्छ। चिठी वैयक्तिक सम्बन्धलाई जोड्ने पुल र मित्रताको गाँठोलाई बलियो पार्ने सूत्र एवम् सञ्चारको माध्यम पनि हो। चिठी लेखन आज सञ्चारको माध्यम मात्र नभएर पत्र साहित्यको रूपमा साहित्यको एउटा अङ्ग बनिसकेको छ। आज संसारका महान् पुरुष, राजनेता, विचारक आदिका पत्रहरूले साहित्यिक आकृति प्राप्त गरिसकेका छन्। सरलता, स्पष्टता, प्रभावकारिता, हार्दिकता, शिष्टता र सम्प्रेषणीयता चिठीमा हुनुपर्ने आवश्यक गुण हुन्। चिठी हुलाक वा व्यक्तिका माध्यमबाट उपलब्ध गराइन्छ।
२. चिठीका प्रकार
विषय वस्तुका आधारमा चिठीलाई निम्न अनुसारले वर्गीकरण गर्न सकिन्छ:
- घरायसी (वैयक्तिक)
- व्यापारिक (मागपत्र, प्रचार पत्र)
- कार्यालयीय (निवेदन पत्र, सूचना पत्र, विज्ञप्ति पत्र)
- औपचारिक (निमन्त्रणा पत्र, प्रशंसा पत्र, अभिनन्दन पत्र)
२.१ घरायसी चिठी र नमुना
घरायसी चिठी नितान्त वैयक्तिक हुन्छ। आफ्ना नातेदार, इष्टमित्र, साथीहरूलाई लेखिने चिठीलाई घरायसी चिठी भनिन्छ। यसले टाढा टाढा भएका बाबुआमा, छोराछोरी, साथीभाइ, दिदीबहिनी, दाजुभाइ जस्ता आफन्तहरूबिच आत्मीय सम्बन्धलाई बढाउँछ। यो हालखबरहरूलाई आदानप्रदान गर्ने र आवश्यकताहरूलाई परिपूर्ति गर्ने माध्यम पनि बन्दछ। घरायसी चिठी साहित्यिक तथा राजनीतिक विषयसँग सम्बन्धित पनि हुन्छन्। कुनै साहित्यकारले साहित्यिक दृष्टिकोणले लेख्दा वा नेताले आफ्ना विचारहरू प्रकट गर्दा यस खालका चिठीहरू हुन्छन्। यिनको ऐतिहासिक मूल्य र मान्यता हुन जान्छ।
घरायसी चिठी लेखन प्रक्रिया:
- सर्वप्रथम चिठी लेखिने कागजको दायाँतिरको सिरानमा पत्र लेख्ने व्यक्तिको सङ्क्षिप्त ठेगाना र त्यसमुनि मिति लेख्नुपर्छ।
- मितिमुनि दुई लहर तल ठिक बायाँतिर आफ्नो नाता सम्बन्धअनुसार प्रशस्ति (सम्बोधन) र त्यसमुनि अभिवादन लेख्नुपर्छ।
- अभिवादन शब्दका ठिक एक लहर मुनिबाट सन्चो बिसन्चोको खबर, आफूले पत्र प्राप्त गरेको वा नगरेको कुरा खोली सन्दर्भसहित चिठी लेखनको प्रारम्भ गर्नुपर्छ।
- चिठी लेख्दा आफूले जुन विषयमा लेख्न थालेको हो त्यसैमा केन्द्रित भई कारण खोली आवश्यकताअनुसार विभिन्न अनुच्छेदमा लेख्नुपर्छ। यो चिठीको मेरुदण्ड भाग हो। चिठी लेख्दा शिष्ट भाषामा लेख्नुपर्छ।
- समापन वाक्यांशका साथ चिठीको अन्त्य गर्नुपर्छ, जस्तै — ‘आजलाई यत्ति’, ‘बाँकी फेरि अर्को पत्रमा,’ ‘अब कलम यहीँ बन्द गर्दछु’, ‘समयले बिदा दियो’……।
- चिठीको अन्त्यमा प्रेषकको प्रापकसँगको सम्बन्धलाई लेख्नुपर्छ, जस्तै: ‘हजुरको आज्ञाकारी पुत्र/पुत्री’, ‘हितैषी मित्र’, ‘तिम्रो भलो चाहने दाजु/दिदी’…आदि। त्यसको ठिक मुनि आफ्नो नाम लेखेर हस्ताक्षर गर्नुपर्छ।
घरायसी पत्रको सम्बोधन शिष्टाचार
| सम्बन्ध | सम्बोधन / प्रशस्ति | अभिवादन / शिष्टाचार | सम्बन्ध ज्ञापन |
|---|---|---|---|
| (क) सानाले ठुलालाई: १. बुबा, आमा, हजुरबा, लोग्ने आदि। २. दाजु, दिदी, काका, काकी, गुरु, सासू, ससुरा, जेठान, मामा आदि। | पूज्य/पूजनीय, पूजनीया आदि। आदरणीय/श्रद्धेय, माननीय आदि। | साष्टाङ्ग दण्डवत्, प्रणाम आदि। ढोग/सादर प्रणाम, नमस्कार….। | हजुरको आज्ञाकारी पुत्र/पुत्री, श्रीमती आदि। हजुरको भाइ/बहिनी, भतिजो/भतिजी, ज्वाइँ…। |
| (ख) ठुलाले सानालाई: १. छोरा, छोरी/भतिजो, भतिजी। २. भाइ, बहिनी, स्वास्नी, सालो, साली आदि। | प्रिय/प्रिया, प्यारो/प्यारी, मायालु आदि। | शुभाशीर्वाद, आशीर्वाद, सम्झना, रोज रोजको आसिक आदि। | भलो चिताउने बाबु/आमा, माया गर्ने दाजु/दिदी..। |
| (ग) आफू समानकालाई: साथी, मित्र | प्रिय मित्र/साथी/मित्रवर आदि। | नमस्ते, सम्झना, सुमधुर सम्झना, नमस्कार आदि। | हितैषी मित्र, शुभेच्छुक, तपाईंको शुभचिन्तक, तिम्रो अभिन्न मित्र आदि। |
खामको नमुना चिठी लेखिसकेपछि त्यसलाई खाममा राखी खामको बाहिर पठाउने र पाउने दुवैको पूरा ठेगाना लेखी टिकट टाँसेर हुलाकद्वारा पठाइन्छ।
- खामको ठेगाना लेख्दा प्रेषक (पठाउने) को ठेगाना खामको बायाँतिर र प्रापक (पाउने) को ठेगाना दायाँतिर लेखिन्छ।
- ठेगाना लेख्दा सिरानमा पठाउने/पाउने दुवैको नाम र नाममुनि स्थान (गाउँ, वार्ड, टोल, जिल्ला, प्रदेश र देशको नाम क्रमशः) लेख्नुपर्छ।
- साधारण वा रजिस्ट्री जुन प्रकारको चिठी हो त्यही मूल्यको टिकट टाँस्नुपर्छ।
खामको नमुना
२.२ व्यापारिक पत्र र नमुना
फिटवेयर जुत्ता विक्री भण्डार नारायणगढले बाँसबारी छालाजुत्ता कम्पनी काठमाडौँलाई लेखेको व्यापारिक पत्र।
फिटवेयर जुत्ता विक्री भण्डार
नारायणगढ, चितवन
मिति: २०८३ / ०५ / ०१
श्री व्यवस्थापकज्यू,
बाँसबारी छाला जुत्ता कारखाना लिमिटेड
बाँसबारी, काठमाडौँ।
विषय: जुत्ता पठाइदिने सम्बन्धमा
महोदय,
हाम्रो यस जुत्ता बिक्री भण्डारले बाँसबारी कारखानालगायत विभिन्न कम्पनीका जुत्ताहरू विक्री वितरण गरी यस क्षेत्रका जनताको सेवा गर्दै आइरहेको छ। बाँसबारी कम्पनीका जुत्ता राम्रा र बलिया भएकाले यस कम्पनीका जुत्ताहरूको माग यस क्षेत्रमा निकै बढेको छ तसर्थ तल लेखिएको सूचीअनुसारका जुत्ताहरू यथाशीघ्र नारायणी ढुवानी सेवामार्फत पठाइदिनुहुन हार्दिक अनुरोध गर्दछु। पच्चिस हजार रुपैयाँको नेपाल वाणिज्य बैङ्कको ड्राफ्ट गरी त्यस कारखानाको नाममा पठाएको छु। बाँकी हिसाबकिताब पछि चुक्ता गरिने छ। सहयोगका लागि धन्यवाद!
माग गरिएका जुत्ताहरूको सूची
- जेन्ट्स बुट — २० जोर।
- साबर जेन्ट्स जुत्ता — ३० जोर।
- जेन्ट्स सेन्डिल — २५ जोर।
- लेडिज जुत्ता — २५ जोर।
- लेडिज सेन्डिल — ३० जोर।
तपाईंको विश्वासपात्र
महेशलाल प्रधान
खामको नमुना
२.३ निवेदन र नमुना
सरकारी वा गैरसरकारी कार्यालय, सङ्घ, संस्था, विभाग, मन्त्रालय वा अड्डा अदालतसमक्ष व्यक्ति वा संस्थाले कुनै पनि समस्या वा आवश्यकता परिपूर्तिका लागि लेखिने चिठीलाई निवेदन भनिन्छ। यो औपचारिक हुन्छ।
निवेदनको नमुना: भर्नासम्बन्धी निवेदन
नयाँ बानेश्वर, काठमाडौँ।
मिति: २०७५।५।२५
श्री प्राचार्यज्यू,
पुल्चोक इन्जिनियरिङ क्याम्पस
पाटन, ललितपुर।
विषय: भर्ना हुन पाऊँ।
महोदय,
उपर्युक्त सम्बन्धमा म २०७३ को कक्षा १२ को नियमित परीक्षामा ८० प्रतिशत अङ्क ल्याई विशिष्ट श्रेणीमा उत्तीर्ण भएको छु। आजको युग कम्प्युटरको युग भएकाले म कम्प्युटर इन्जिनियर बनी राष्ट्रको सेवा गर्न चाहन्छु।
हाम्रो देशमा कम्प्युटर विषयको स्तरीय अध्ययन अध्यापन यस क्याम्पसमा मात्र हुने भएकाले म यस क्याम्पसमा भर्ना भई अध्ययन गर्न इच्छुक छु। अतः भर्ना हुने अनुमति दिई अध्ययन गर्ने सुअवसर प्रदान गर्नुहुन म महोदयसमक्ष विनम्र अनुरोध गर्दछु। आवश्यक प्रमाण पत्रका प्रतिलिपिहरू यसैसाथ प्रस्तुत गरेको छु। धन्यवाद!
भवदीय
दीपक कार्की
खामको नमुना
१. दैनिकीको परिचय
एक दिनभरिमा गरेका वा भएका मुख्य कार्यहरूलाई सिलसिलाबद्ध ढङ्गले प्रस्तुत गरिने रचनालाई दैनिकी भनिन्छ। यसमा बिहान उठेदेखि बेलुकी सुत्ने बेलासम्मका एक दिनका मुख्य क्रियाकलाप वा घटनावलीलाई समाविष्ट गरिन्छ। दैनिकी व्यावहारिक लेखन र आत्मकथा पनि हो साथै भाषिक कला र सिप पनि हो। यो आज साहित्यको एउटा अङ्ग पनि भइसकेको छ। यसले बौद्धिक विकास र लेखन कलाको सिपलाई अभिवृद्धि गर्दछ। निजात्मकता र वैयक्तिकता, सरलता र क्रमबद्धता दैनिकीका प्रमुख विशेषता हुन्। दैनिकी प्रायः आफ्नो बारेमा लेखिने भएकाले सामान्य भूत काल र प्रथम पुरुष शैलीमा लेखिन्छ। दैनिकी लेखनको अभ्यासबाट पनि मानिस पछि गएर ठुलो लेखक बन्न सक्छ।
२. दैनिकी लेखन प्रक्रिया
- दैनिकी लेख्ने विषयमाथि राम्रोसँग मनन गर्ने।
- प्रारम्भमा जुन दिनसँग सम्बद्ध दैनिकी हो त्यस दिनको मिति लेख्ने।
- विषयअनुसार मानसिक रूपमा योजना तयार पार्ने।
- योजना तयार भइसकेपछि समयका आधारमा बिहानदेखि बेलुकासम्म भए गरेका मुख्य मुख्य कुराहरूलाई क्रमबद्ध ढङ्गले नछुटाईकन मनमनै बुँदा बनाउने।
- बुँदाका आधारमा खेस्रा लेखन गरेर साफी लेखन गर्न पनि सकिने तर सोझै अन्तिम साफी लेखन गरे पनि हुने।
- दैनिकी लेखिसकेर शीर्षक दिने।
१. वादविवादको परिचय
कुनै पनि विषयमा पक्ष र विपक्षका आधारमा तर्कपूर्ण ढङ्गले गरिने बहस, खण्डन मण्डन, तर्कवितर्कलाई वादविवाद भनिन्छ। वादविवाद एक प्रकारको बहस हो। यसमा द्वन्द्व हुन्छ। विषयवस्तुको खण्डन र मण्डन नै यसको प्राण हो। यसमा पक्ष (विषयवस्तुको समर्थन गर्ने) र विपक्ष (विषयवस्तुको विरोध गर्ने) दुई धार हुन्छन्। वादविवादमा विपक्षीले बोलेका कुराहरूलाई तर्कका आधारमा खण्डन गरी आफ्नो विषयको पक्षमा बोलिन्छ। यसमा जति बढी तर्क दिएर विपक्षीका कुराहरूको खण्डन गरी आफ्ना विचारहरूलाई स्थापना गर्न सक्यो, त्यति नै राम्रो प्रस्तुति हुन्छ।
२. वादविवाद लेखन प्रक्रिया
- आफूले बोल्ने वा लेख्ने शीर्षकको विषयवस्तुलाई मनन गरी बुँदा निर्धारण गर्ने।
- उपस्थित व्यक्तिहरू (अध्यक्ष, निर्णायक मण्डल, गुरुवर्ग, श्रोतागण…) को सम्बोधनबाट लेखन प्रारम्भ गर्ने।
- बुँदाका आधारमा खेस्रा लेखन तयार गर्ने।
- सामान्यतया वादविवादको खास बोलिने समय पाँच मिनेटको हुने भएकाले यसको सङ्गठन स्वरूप सानो नै हुनुपर्छ।
- खेस्रा लेखनलाई परिमार्जन गरी अन्तिम स्वरूप प्रदान गर्ने।
३. वादविवादका नमुनाहरू
नमुना १: धनभन्दा विद्या ठुलो (पक्षबाट)
आदरणीय सभाका अध्यक्षज्यू, निष्पक्ष निर्णायक मण्डल, श्रद्धेय गुरुवर्ग र उपस्थित साथीहरू!
आज आयोजित यस वादविवाद प्रतियोगितामा म ‘धनभन्दा विद्या ठुलो’ विषयको पक्षबाट आफ्ना विचारहरू राख्न गइरहेको छु अर्थात् धनभन्दा विद्या ठुलो हो भन्ने मेरो दृढ धारणा छ।
साथीहरू! पूर्ववक्ता साथीले भन्नुभयो — “आजको युग भौतिक युग हो र धनभन्दा ठुलो संसारमा केही छैन। धन नभई विद्या प्राप्त हुन सक्दैन।” यी विचारहरू सुन्दा मलाई बडो आश्चर्य र हाँसो लाग्यो।
म भन्छु, आजको युग भनेको ज्ञान र विज्ञानको युग हो। विद्याको आविष्कार धनबाट नभई धनको आविष्कार विद्याबाट भएको हो। धनले मात्र विद्या प्राप्त गर्न सकिँदैन तर विद्याले धन प्राप्त गर्न सकिन्छ। मानिस धनले होइन, विद्याले ठुलो हुन्छ। भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा धनले ठुला भएका होइनन्, उनीहरू त विद्याले ठुलो भएका हुन्। यदि धनले विद्या प्राप्त गर्न सकिने भए त संसारमा सबै धनी मान्छेहरू मात्र विद्वान् हुने थिए। डाइनामाइटका आविष्कारक तथा नोबेल पुरस्कारका संस्थापक अल्फ्रेड बर्नहार्ड नोबेलले धनले विद्या होइन कि विद्याले धन कमाएका हुन्।
संस्कृतमा एउटा सूक्ति छ — “न चौर हार्यं न च राजहार्यं, न भ्रातृ भाज्यं न च भारकारी, व्यये कृते बर्धत एव नित्यं, विद्याधनं सर्वधनम् प्रधानम्” अर्थात् विद्यालाई न चोरले, न राजाले हरण गर्न सक्दछ। यसलाई न भाइ भाइका बिचमा बाँड्नुपर्छ, न यो भारी हुन्छ। यो त जति खर्च गर्यो उति बढ्दै जान्छ। विद्या नै सर्वश्रेष्ठ धन हो। विद्यासँग कुनै धन र विद्वान्सँग कुनै व्यक्ति पनि तुलना हुन सक्दैन। त्यसैले भनिएको छ — “स्वदेशे पूज्यते राजा विद्वान् सर्वत्र पूज्यते”। अर्थात् राजा स्वदेशमा मात्र पूज्य हुन्छ भने विद्वान् संसारभरि नै पूज्य हुन्छ। त्यस्तै “विद्याविहीन पशु” अर्थात् विद्या नभएको मान्छे पशुसमान हुन्छ। अन्त्यमा धन विद्यासँग तुलना हुन नसक्ने र मानिसलाई विलासितातिर उन्मुख गराउने तुच्छ वस्तु हो भन्दै आफ्ना विचारहरू यहाँ अन्त्य गर्दछु। धन्यवाद!
१. संवादको परिचय
संवादको शाब्दिक अर्थ कुराकानी हो। कुनै पनि विषयका बारेमा दुई वा दुईभन्दा बढी पात्रहरूका बिच हुने कुराकानी वा छलफललाई संवाद भनिन्छ। कुराकानीका शैलीमा लेखिने लेखन नै संवाद हो। यसलाई कथोपकथन, कुराकानी, वार्तालाप, छलफल पनि भनिन्छ।
२. संवाद लेखन प्रक्रिया
- संवाद लेखिने विषयलाई राम्रोसँग मनन गर्ने।
- दुई वा दुईभन्दा बढी पात्र सृजना गर्ने र विषयमा केन्द्रित गराई विभिन्न सम्बन्धित विषयसँग सम्बद्ध बुँदा निर्धारण गर्ने।
- पात्रहरूको कुराकानीका रूपमा विषयवस्तुलाई अगाडि बढाउने।
- बुँदाका आधारमा खेस्रा लेखन गर्ने।
- खेस्रा लेखनलाई थपघट गरी भाषिक शुद्धतालाई ख्याल गर्दै अन्तिम स्वरूप प्रदान गर्ने र शीर्षक दिने।
१. मनोवादको परिचय
मनोवाद भनेको एकालाप अर्थात् एक्लै मनमनै कुरा गर्नु वा गुनगुनाउनु हो। यो कुनै पनि विषयमा आफैँ मनमनै गरिने कुराकानी हो। यसरी कुनै पनि विषयमा एकालाप शैलीमा लेखिने लेखन मनोवाद लेखन हो। यो स्वगत (मनमनै भनिने) कथन हो र यो प्रथम पुरुष शैलीमा लेखिन्छ।
२. मनोवाद लेखन प्रक्रिया
- सुरुमा मनोवादको शीर्षक दिने।
- त्यसपछि स्थान, समय र पात्रको नाम लेख्ने।
- पात्रको स्वगत कथन सुरु गर्नुभन्दा पहिले कोष्ठकमा सम्बन्धित विषयको पृष्ठभूमि, घटना तथा सम्बन्धित पात्रले मनमा कुरा खेलाउनुपर्ने परिवेशको कोष्ठकमा छोटकरीमा वर्णन गर्ने।
- त्यसपछि प्रथम पुरुषको शैलीमा पात्रका मनमा कुराहरूलाई सरसरती व्यक्त गर्दै अघि बढ्ने।
- एकल स्वगत कथनका विभिन्न मोडहरूमा परिवेशमा आएको नयाँपन र पात्रको हाउभाउलाई स्वल्प रूपमा कोष्ठकमा सङ्केत गर्ने।
कुनै विषयवस्तुमाथि आफ्ना मनमा लागेका विचारहरूलाई धारा प्रवाहमा श्रोतासमक्ष प्रस्तुत गरिने अभिव्यक्ति कलालाई वक्तृता भनिन्छ। यो एक किसिमको प्रवचन वा भाषण हो। यसमा वादविवादमा जस्तो पक्ष र विपक्षका बिच खण्डन र मण्डन हुँदैन।
वक्तृताको नमुना: राष्ट्र निर्माणमा युवावर्गको दायित्व
सभाध्यक्ष महोदय, निर्णायक मण्डल, उपस्थित आदरणीय गुरुवर्ग एवम् अन्य महानुभावहरू!
आज यहाँ आयोजित ‘राष्ट्र निर्माणमा युवावर्गको दायित्व’ विषयक यस वक्तृत्वकला प्रतियोगितामा आफ्ना धारणाहरू राख्न पाउँदा आफूलाई गौरवान्वित ठानेको छु।
वास्तवमा राष्ट्र भनेको भूमि, जनता र सरकार मिलेर बनेको सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुक हो। युवावर्ग भनेको १८ वर्ष उमेरदेखि ४० वर्ष उमेर बिचका पुरुष र नारीहरूको समूह हो। जुन राष्ट्रमा जन्मियो, हुर्कियो त्यस राष्ट्रप्रति हरेक युवाहरूले पूरा गर्नुपर्ने केही कर्तव्यहरू हुन्छन्। तिनै कर्तव्यहरू नै दायित्व हुन्। आफ्नो राष्ट्रको भौगोलिक सीमाको संरक्षण गर्नु, प्रजातान्त्रिक मूल्य र मान्यताहरू स्थापित गर्नु, मानवाधिकारको संरक्षण गर्नु, कला र संस्कृतिको जगेर्ना गर्नु, आफ्नो भाषा, साहित्य र कलाको उत्थान गर्नु, राष्ट्रिय एकता कायम गर्नु, विज्ञान र प्रविधिको विकास गर्नु, आफ्नो राष्ट्र र राष्ट्रियताको पहिचान अन्तर्राष्ट्रिय जगत्मा गराउनु, राष्ट्रका भाषा, जातजाति, भेषभूषा, रहनसहनका बिचमा समन्वय कायम गर्नु आदि कार्यहरू हरेक नागरिकका कर्तव्य हुन्। अझ विशेष गरेर माथि उल्लिखित दायित्वहरू युवावर्गका काँधमा रहेका छन्। युवावर्ग भनेको त्यस्तो जनशक्ति हो जसमा जोस, जाँगर, साहस र तातो रगत सल्बलाइरहेको हुन्छ। पहाडलाई मैदान र मरुभूमिलाई हराभरा बनाउने शक्ति उसमा रहेको हुन्छ। राष्ट्रलाई अगाडि हाँक्न र मुलुकलाई हल्लाउने शक्ति उसभित्र लुकेर रहेको हुन्छ। त्यसैले युवावर्गलाई राष्ट्रले सही दिशा प्रदान गर्न सक्नुपर्छ। विश्वको इतिहासलाई पल्टाएर हेर्ने हो भने कैयौं मुलुकका ठुला ठुला परिवर्तनहरूमा युवावर्गको ठुलो हात रहेको पाइन्छ। आज युवावर्गमा राष्ट्रिय भावना र चेतना जगाउनु पर्ने खाँचो छ। युवावर्गको सदुपयोग भयो भने राष्ट्रको उन्नति र प्रगति हुन्छ। राष्ट्रको भविष्य नै युवावर्गको हातमा रहेको हुन्छ तर युवावर्गको शक्तिको प्रयोग राष्ट्रले गर्न सकेन भने राष्ट्रको उन्नति कहिल्यै पनि हुँदैन।
युवाहरू पनि आफ्नो क्षणिक स्वार्थलाई त्यागेर राष्ट्रिय स्वार्थलाई आत्मसात् गरी अगाडि बढ्नुपर्छ। यही नै युवाहरूको दायित्व हो। यदि राष्ट्रका सम्पूर्ण युवा राष्ट्र निर्माणको महायज्ञमा लागे भने यो राष्ट्रले छिटै नै काँचुली फेर्ने छ। यति भन्दै आफ्ना विचारहरू यहीँ अन्त्य गर्ने अनुमति चाहन्छु। धन्यवाद!
जीवनी व्यक्ति वृत्तान्त हो। सामान्यतया जीवनी त्यस्ता व्यक्तिहरूको लेखिन्छ, जसले राष्ट्र, समाज अनि सिङ्गो मानवताका लागि महत्त्वपूर्ण कार्य गरेका हुन्छन्। जीवनीमा सम्बन्धित व्यक्तिको बाल्यकाल, शिक्षा, महत्त्वपूर्ण कार्य, योगदान आदिका बारेमा सिलसिलाबद्ध ढङ्गले चित्रण गरिन्छ।
जीवनीको नमुना — जीवनीका लागि बुँदाहरू:
- नाम: विलियम सेक्सपियर
- जन्म: १५६४, २३ अप्रिल
- स्थान: लन्डनदेखि ९० माइल पश्चिमको एभन नदीको किनार, स्ट्राटफोर्ड नगर, इङ्ल्यान्ड
- पितामाता: जन सेक्सपियर, मेरी आर्डन
शिक्षा / सङ्घर्ष / योगदान:
- ग्रामर स्कुलबाट स्कुल तहको शिक्षा, केही समय शिक्षक भएका।
- त्यस बेला त्यहाँ देशका विभिन्न भागबाट नाटक मण्डलीहरू आई नाटक प्रदर्शन गर्ने।
- प्रदर्शित नाटकबाट उनी नाटकतर्फ आकर्षित भएका।
- घुमन्ते नाटक मण्डलीसँग भागी लन्डन गएको, त्यहाँ दर्शकहरूका घोडाका लगाम समात्नेदेखि पर्दाका डोरी तान्ने जस्ता काम गर्नुपरेको।
- बिस्तारै अभिनय गर्ने अवसर प्राप्त भएको।
- पछि आफैँ नाटकहरू लेखी देखाउन थालेको, त्यसबाट पैसा कमाएको।
- दश वटा ऐतिहासिक नाटक, १४ वटा सुखान्त नाटक, १२ वटा वियोगान्त गरी ३७ वटा नाटकहरू लेखेका, थुप्रै चौध हरफे (सोनेट) कविता र केही गीति कविता पनि रचेका।
- प्रमुख कृतिहरू: आँधी, हिउँदको कथा, भेनिसको बेपारी, राजा हेनरी चतुर्थ, रोमियो र जुलियट, म्याक्बेथ, ह्यामलेट, जुलिअस सिजर आदि।
विस्तृत नमुना र रचना
जीवनी व्यक्ति वृत्तान्त हो। सामान्यतया जीवनी त्यस्ता व्यक्तिहरूको लेखिन्छ, जसले राष्ट्र, समाज अनि सिङ्गो मानवताका लागि महत्त्वपूर्ण कार्य गरेका हुन्छन्। जीवनीमा सम्बन्धित व्यक्तिको बाल्यकाल, शिक्षा, महत्त्वपूर्ण कार्य, योगदान आदिका बारेमा सिलसिलाबद्ध ढङ्गले चित्रण गरिन्छ।
जीवनीको नमुना — जीवनीका लागि बुँदाहरू:
- नाम: विलियम सेक्सपियर
- जन्म: १५६४, २३ अप्रिल
- स्थान: लन्डनदेखि ९० माइल पश्चिमको एभन नदीको किनार, स्ट्याट्फोर्ट नगर, इङ्ल्यान्ड
- पितामाता: जन सेक्सपियर, मेरी आर्डन
- शिक्षा: ग्रामर स्कुलबाट स्कुल तहको शिक्षा, केही समय शिक्षक भएका, त्यस बेला त्यहाँ देशका विभिन्न भागबाट नाटक मण्डलीहरू आई नाटक प्रदर्शन गर्ने, प्रदर्शित नाटकबाट उनी नाटकतर्फ आकर्षित भएका,
- घुमन्ते नाटक मण्डलीसँग भागी लन्डन गएको, त्यहाँ दर्शकहरूका घोडाका लगाम समात्नेदेखि पर्दाका डोरी तान्ने जस्ता काम गर्नुपरेको,
- बिस्तारै अभिनय गर्ने अवसर प्राप्त भएको,
- पछि आफैँ नाटकहरू लेखी देखाउन थालेको, त्यसबाट पैसा कमाएको,
- दस वटा ऐतिहासिक नाटक, १४ वटा सुखान्त नाटक, १२ वटा वियोगान्त गरी ३७ वटा नाटकहरू लेखेका, थुप्रै चौध हरफे (सोनेट) कविता र केही गीति कविता पनि रचेका,
- प्रमुख कृतिहरू: आँधी, हिउँदको कथा, भेनिसको व्यापारी, राजा हेनरी चतुर्थ, रोमियो र जुलियट, म्याक्बेथ, ह्यामलेट, जुलिअस सिजर आदि।
- साहित्यिक विशेषता: असल र खराब बिचको द्वन्द्व, जीवनको यथार्थता, त्रासदीपूर्ण, दुःखान्तता…..
- अङ्ग्रेजी साहित्यका महान् नाटककारका रूपमा प्रख्यात,
- मृत्यु: २३ अप्रिल १६१६।
महान् नाटककार विलियम सेक्सपियर
अङ्ग्रेजी साहित्यका महान् नाटककार विलियम सेक्सपियरको जन्म २३ अप्रिल १५६४ का दिन बेलायतको राजधानी लन्डनदेखि मध्य पश्चिमको एभन नदीको किनारमा अवस्थित स्ट्याट्फोर्ट नगरमा भएको थियो। उनी बाबु जन सेक्सपियर र माता मेरी आर्डनको सुपुत्रका रूपमा यस धरतीमा पदार्पण गरेका थिए। उनको बाल्यकाल स्ट्याट्फोर्ट नगरमै बितेको थियो। उनको शिक्षादीक्षा नगरकै ग्रामर स्कुलबाट भएको थियो। भनिन्छ, उनले कुनै विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्ने अवसर पाएनन्। उनी केही समय एउटा स्कुलमा शिक्षक पनि भएका थिए।
त्यस बेला स्ट्याट्फोर्ट नगरमा देशका विभिन्न क्षेत्रका नाटक मण्डलीहरू आई नाटक प्रदर्शन गर्ने गर्थे। यी नाटकहरूबाट सेक्सपियर निकै प्रभावित र आकर्षित बन्न पुगे। केही समयपछि तिनै नाटक मण्डलीहरूसँग घरबाट भागेर उनी लन्डन पुगे। सुरु सुरुमा त्यहाँ तिनले दर्शकहरूका घोडाको लगाम समातेर बस्ने, पर्दाका डोरी तान्ने जस्ता कामहरू गरेर पनि बिहान बेलुकाको छाक टार्नुपर्यो। उनले विस्तारै अभिनयका क्षेत्रमा साना साना कामहरू पाएर अभिनय गर्न थाले। अनुभव र ज्ञान बटुल्दै गएपछि आफैले नाटकहरू लेखेर दर्शकहरूलाई देखाउन थाले। तिनै नाटकहरू अहिले आएर उनका अमर कृति बन्न पुगेका छन्। उनले १० वटा ऐतिहासिक, १४ वटा सुखान्त र १२ वटा दुःखान्त गरी जम्मा ३७ वटा नाटकहरू लेखेका छन्। यीबाहेक उनले १५४ वटा जति चौध हरफे (सोनेट) कविता र केही गीति कविता पनि रचेका छन्। उनका प्रमुख नाट्य कृतिहरूमा ‘आँधी’, ‘हिउँदको कथा’, ‘भेनिसको व्यापारी’, ‘राजा हेनरी चतुर्थ’, ‘रोमियो र जुलियट’, ‘म्याक्बेथ’, ‘ह्यामलेट’, ‘जुलिअस सिजर’ आदि रहेका छन्। उनका यी नाट्य कृतिहरूमा असल र खराब पक्षका बिचको द्वन्द्व, त्रासदीपूर्ण जीवन, यथार्थताको गहिराइ, दुःखान्तता जस्ता विशेषताहरू पाइन्छन्।
सेक्सपियरको मृत्यु २३ अप्रिलकै दिन आफ्नै जन्म नगरमा ५२ वर्षको उमेरमा भयो। आज उनी आफ्ना अमर कृतिहरूले गर्दा अङ्ग्रेजी साहित्यका महान् नाटककारका रूपमा विश्व विख्यात बन्न पुगेका छन्।
कथा आख्यानात्मक अभिव्यक्तिको एउटा प्रकार हो। गद्यमा लेखिएको आख्यानयुक्त रचनाको छोटो रुपलाई कथा भनिन्छ। संरचनाका दृष्टिले कथा लघु र विषयवस्तुका दृष्टिले दन्त्य कथा, लोक कथा, सामाजिक कथा विभिन्न प्रकारका हुन्छन्। कथानक (कथावस्तु), पात्र, पर्यावरण, द्वन्द्व, भाषाशैली आदि कथाका प्रमुख तत्त्व हुन्।
कथाको नमुना — कथाका लागि बुँदाहरू:
धेरै वर्षअघि रत्नाकर नामको डाँका हुनु — जनतालाई आतङ्कित पार्नु — एक दिन नारदसँग भेट हुनु — उनीसँग केही नभएपछि मार्न तयार हुनु — नारदले अर्काको लागि मानिसलाई दुःख दिएर किन पाप गर्छौ भनी सम्झाउने प्रयत्न गर्नु — रत्नाकरलाई पापको भोग आफूले मात्र गर्नुपर्ने कुराको ज्ञान हुनु — मनमा परिवर्तन आउनु — पुण्य कमाउने कार्य गर्न प्रेरित हुनु — नारदजीसँग माफी माग्नु — नारदबाट पापमुक्तिको उपायका रूपमा गुरुमन्त्र पाई जपतपमा लाग्नु — शरीरमा धमिरा लागुञ्जेल तपमा लीन हुनु — शरीरमा धमिरा लागुञ्जेल तप गरेकाले वाल्मीकि (धमिराले बनाएको गोलो) नामकरण हुनु — नारदको सल्लाहअनुसार ब्राह्मण पुत्र भएकाले तमसा नदीको किनारमा आश्रम बनाई ऋषि जीवन बिताउन लाग्नु — एउटा व्याधाले गरेको क्रौञ्च पक्षीको हत्याबाट भावविह्वल भई पहिलो कविता स्फुरण हुनु — ब्रह्माको उपदेश पाई ‘रामायण’ को रचना गर्नु — वाल्मीकि ऋषिका नामले प्रख्यात हुनु।
कथा रचना: वाल्मीकि
धेरै वर्षअघि कुनै एउटा राज्यमा रत्नाकर नाम गरेको डाँका थियो। उसले जनताहरूलाई धेरै दुःख दिएर आतङ्कित तुल्याइरहेको थियो। उसको नाम सुन्दै जो पनि डराउँथे।
एक दिन अचानक रत्नाकरको भेट नारदजीसँग हुन पुग्यो। नारदजीसँग कुनै धन सम्पत्ति फेला नपारेपछि मार्न समेत तयार भयो। नारदले उसलाई धेरै सम्झाउने प्रयत्न गरे। “तिमी अर्काका लागि लुटपाट, हत्या किन गर्छौ? यो तिमीले गरेको पापको फल अरूले भोग्ने छैनन्। यसलाई त तिमीले नै भोग्नुपर्ने छ।” नारदका यी कुराबाट उसको मनमा परिवर्तन आयो। अब उसले पापकर्म नगर्ने दृढ अठोट गर्यो। नारदजीसँग माफी माग्यो र पश्चाताप गर्न लाग्यो, “नारदजी अब म यस पापबाट कसरी मुक्त हुन सक्छु? मलाई मुक्तिको बाटो देखाइदिनुहोस्।” नारदजीले मनमनै सोचेर भने, “तिमी अब ईश्वरको तपमा लाग। तपबाट नै तिमीले पापबाट मुक्ति पाउने छौ।” यति भन्दै नारद रत्नाकरलाई एउटा गुरुमन्त्र दिई त्यहाँबाट प्रस्थान गर्दछन्।
रत्नाकर आफ्नो शरीरमा धमिरा लागुञ्जेल तपमा लीन हुन्छन्। उनको यस किसिमको तपबाट ब्रह्माजी खुसी भई उनलाई वरदान दिन्छन्। शरीरमा धमिरा लागुञ्जेल तप गरेको हुनाले उनको नाम रत्नाकरबाट वाल्मीकि हुन जान्छ। वाल्मीकिको अर्थ ‘धमिराको गोलो’ भन्ने हुन्छ। त्यसपछि उनी तमसा नदीको किनारमा आश्रम बनाई ऋषि जीवन बिताउन लाग्छन्।
एक दिन एउटा व्याधाले ‘क्रौञ्च’ पक्षीको हत्या गर्छ। यस हत्याबाट वाल्मीकि भावविह्वल हुन पुग्छन्। ब्रह्माको वरदानस्वरूप भगवान् रामको गाथाले भरिएको ‘रामायण’ महाकाव्य रचना गर्न पुगेका वाल्मीकि संस्कृत साहित्यका आदिकविका रूपमा प्रसिद्ध हुन पुग्छन्।
१. निबन्धको परिचय
निबन्ध एक प्रमुख साहित्यिक विधा हो। यो विचारप्रधान हुन्छ। ‘बन्ध’ मा ‘नि’ उपसर्ग लागेर बनेको निबन्ध शब्दको अर्थ ‘राम्रोसँग बाँधिएको’ भन्ने हो। यस आधारमा निबन्धको तात्पर्य कुनै विषयमा बाँधिएर विचार प्रस्तुत गर्नु हो। नेपालीमा यो अङ्ग्रेजी साहित्यबाट आयातित विधा मानिन्छ। यो अङ्ग्रेजी Essay को पर्यायवाची शब्द भएर आएको छ, जसको अर्थ प्रयास वा प्रयत्न भन्ने हुन्छ। अतः निबन्ध कुनै पनि विषयको बारेमा आफ्ना विचारहरूलाई क्रमबद्ध ढङ्गले सुसङ्गठित रूपमा प्रस्तुत गर्ने भाषिक कला हो। यो आकार प्रकारमा सानो हुन्छ र करिब आधा घण्टा जतिको एक बसाइमा सिद्धिने हुनुपर्छ। निबन्धका प्रमुख तत्त्वहरूमा वस्तु, शैली र उद्देश्य पर्दछन्। निबन्धलाई वस्तुपरक (Objective) र आत्मपरक (Subjective) गरी दुई प्रकारमा वर्गीकरण गरिन्छ। वस्तुपरकअन्तर्गत वर्णनात्मक र विवरणात्मक निबन्ध पर्दछन् भने आत्मपरकअन्तर्गत वैयक्तिक, विचारात्मक र भावात्मक निबन्ध पर्दछन्। सङ्क्षिप्तता, एकता र स्पष्टता निबन्धका मूलभूत विशेषता हुन्।
२. निबन्धका प्रकार
(क) वस्तुपरक निबन्ध
यस खालका निबन्धमा विषय प्रधान र व्यक्ति गौण हुन्छ। यसमा कुनै पनि विषयको वर्णन र विवरणलाई अप्रत्यक्ष कथन पद्धति (तृतीय पुरुष शैली) मा प्रस्तुत गरिएको हुन्छ। यो वर्णनात्मक र विवरणात्मक गरी दुई प्रकारको हुन्छ। वर्णनात्मक निबन्धमा स्थित्यात्मक (Static) वस्तु र ठाउँ विशेषको वर्णन गरिन्छ। यसअन्तर्गत प्राकृतिक स्थल — नदी, पहाड, झरना र वैज्ञानिक आविष्कार (विज्ञान, कम्प्युटर, राडार आदि) को वर्णन गरिन्छ। विवरणात्मक निबन्धमा जीवन र जगत्का गत्यात्मक (Dynamic) पक्षको विवरण प्रस्तुत गरिन्छ। यस्तो निबन्ध समाजका विविध घटनाको वृत्तान्तसँग र यात्राको वर्णनसँग सम्बन्धित रहन्छ। यस्ता निबन्धहरूमा कुनै यात्रा, चाडपर्व, ऐतिहासिक स्थल, खेल आदिसँग सम्बन्धित निबन्धहरू पर्दछन्।
(ख) आत्मपरक निबन्ध
यस खाले निबन्धलाई वैयक्तिक, निजात्मक, भावात्मक निबन्ध पनि भनिन्छ। यी निबन्धमा व्यक्ति प्रधान र विषयवस्तु गौण बन्न पुग्दछ अर्थात् यसमा व्यक्तिको भूमिका महत्त्वपूर्ण रहन जान्छ। यसअन्तर्गत विचारात्मक र भावात्मक निबन्ध पर्दछन्। प्रायः यस खाले निबन्धमा प्रत्यक्ष कथन पद्धति (प्रथम पुरुष शैली) लाई अँगालिएको हुन्छ। आत्मपरक निबन्धको विषय जे पनि हुन सक्छ।
निबन्ध र प्रबन्ध
पहिले पहिले निबन्ध र प्रबन्धको प्रयोग एउटै अर्थमा गरिन्थ्यो तर अहिले आएर सूक्ष्मतम भिन्नताका आधारमा भिन्न रूपमा प्रयोग गरिन्छ। निबन्ध स्वतन्त्र एवम् उन्मुक्त लेखन हो भने प्रबन्ध बौद्धिक, तार्किक एवम् अनुसन्धानमूलक लेखन हो। प्रबन्धमा लेखक तटस्थ रहन्छ भने निबन्धमा लेखकको व्यक्तित्व कुनै न कुनै रूपमा झल्किएको हुन्छ। प्रबन्ध औपचारिक लेखन हो भने निबन्ध अनौपचारिक लेखन हो।
३. निबन्ध लेखन प्रक्रिया
निबन्ध साहित्यका अन्य विधाका तुलनामा सर्वोत्कृष्ट भाषिक अभिव्यक्ति कला हो। यसमा सुसङ्गठित भाषिक लेखन शैलीको प्रयोग गरिन्छ। लेखकको व्यक्तित्वलाई पहिचान गराउने विधाको रूपमा यसलाई लिइन्छ। अतः निबन्ध लेखन प्रक्रिया एउटा जटिल प्रक्रिया हो तापनि बारम्बारको अभ्यास र विषयवस्तुको गहन अध्ययनबाट निबन्ध लेखन कलाको विकास नहुने भन्ने होइन।
यहाँ निबन्ध लेखन पद्धतिको बारेमा सामान्य चर्चा गरिन्छ:
- विषयको चयन: चयन गरिएको विषयमा आफ्नो ज्ञान वा सामान्य जानकारी र रुचि हुनुपर्दछ।
- सामग्री सङ्कलन: यसमा आफूले लेखिने निबन्धको लागि सो विषयसँग सम्बन्धित पुस्तक, पत्रिका अध्ययन गर्नुपर्दछ।
- बुँदा निर्माण: शीर्षकसँग सम्बन्धित बुँदाहरू सिलसिलाबद्ध रूपमा टिप्नुपर्दछ।
- सङ्गठन निर्माण:
- (क) आदि: यो निबन्धको प्रारम्भिक भाग हो। यो प्रायः एक अनुच्छेदमा आबद्ध हुन्छ। यसमा पृष्ठभूमि, प्रस्तावना, विषय प्रवेश वा परिचयभित्रका कुराहरू हुनुपर्दछ। यसमा शीर्षकको सामान्य चिनारी गराइन्छ।
- (ख) मध्य: यो मूल भाग हो। यो विभिन्न अनुच्छेदमा आबद्ध हुन सक्दछ। यसमा तार्किक ढङ्गले विचारको प्रस्तुति, व्याख्या, विश्लेषण, विषयको उपयोगिता र महत्त्व, गुण र अवगुणको निक्र्योल, खण्डन-मण्डन, चर्चा-परिचर्चा गरिन्छ। यस खण्डमा निबन्ध चरम विकासमा पुग्दछ।
- (ग) अन्त्य: यो निबन्धको उपसंहार भाग हो। यो प्रायः एक अनुच्छेदमा आबद्ध हुन्छ। यस भागमा निबन्धको निचोडस्वरूप आफ्नो धारणा प्रस्तुत गरिन्छ।
- खेस्रा लेखन: बुँदाहरूको आधारमा ढाँचाभित्र रही पहिलो लेखन कार्य गरिन्छ।
- परिमार्जन: खेस्रा लेखनलाई थपघट गर्ने तथा भाषा, शैली र प्रस्तुतिमा ध्यान दिइन्छ।
- अन्तिम लेखन: यसमा सम्पूर्ण प्रक्रिया पूरा गरी सफासँग लेखी निबन्धलाई अन्तिम रूप दिइन्छ।
Reference
Book: माध्यमिक नेपाली व्याकरण र अभिव्यक्ति
Author: डी.पी. भट्टराई र दिल्लीराम ढुङ्गेल
