आयाम (Aayam): Complete Guide to Nepali Class 10 Chapter Notes with Exercises

आयाम (Aayam)

Comprehensive guide with all exercises, vocabulary, comprehension and detailed analysis of the story ‘आयाम’ by Bina Thing for Class 10 SEE preparation.

Nepali Class 10 आयाम (Aayam) chapter notes with exercises

शब्दभण्डार (Vocabulary) – आयाम

१. दिइएका शब्द र अर्थबीच जोडा मिलाउनुहोस्:

अपवाद ⇒ नियमसँग नमिल्ने
क्षोभ ⇒ आपत्तिजनक व्यवहार आदिबाट उत्पन्न हुने व्याकुलतासहितको रिस
लवज ⇒ बोली
बडेमा ⇒ अति ठुलो
हैरानी ⇒ दिक्दारी
हताश ⇒ निराश

२. दिइएका उखान टुक्काका अर्थबारे कक्षामा छलफल गर्नुहोस् । तीनओटा उखान र तीनओटा टुक्का प्रयोग गरी अनुच्छेद लेख्नुहोस्:

छोरीले डाँडो काटेको एक हप्ता भइसक्यो, रमिता भने कानमा तेल हालेर बसेकी छन् । छोरी हिँडेकोमा उनलाई केही चिन्तै छैन । ‘शोक न सुर्ता भोक न भकारी’ भनेको यही हो । पहिले पनि सानो घर झगडालाई अनेक किसिमले बलेको आगोमा घिउ थप्ने काम गर्थिन् र उल्टो ‘आफू भलो त जगतै भलो’ भन्दै हिँड्थिइन् । आज गाउँलेलाई भने ‘के निहुँ पाऊँ? कनिका बुकाऊँ’ भने जस्तै भएको छ । उनका बारेमा नानाथरीका कुरा गरेर बसेका छन् ।

३. उदाहरणमा दिइए झैँ अनुच्छेदबाट समावेशक र समावेश्य शब्द पहिचान गरी लेख्नुहोस्:

पाञ्चायन शर्माले सुनकोसी र तामाकोसीको सङ्गमस्थल खुर्कोटनजिक आफ्नै खेतमा फलफूल खेती गरेका छन् । उनले आँप, मेवा, कटहर, केरा, जुनार जस्ता फलफूलका बिरुवा लगाएका छन् । त्यससँगसँगै काउली, मूला, गाजर, आलु आदि तरकारी र रायो, तोरी, चम्सुर, पालुङ्गोको साग पनि कलकलाउँदो बनाएका छन् । नेपालीको महान् चाड तिहारमा फूलको बढी माग हुने कारण सयपत्री, मखमली, गोदावरी, बाबरी आदि फूल पनि प्रशस्त फुलाएका छन् । उनले यसैबाट पर्याप्त आयआर्जन गरी आफ्नो जीविकोपार्जन गरेका छन् ।

समावेशक समावेश्य
फूल सयपत्री, मखमली, गोदावरी, बाबरी
फलफूल आँप, मेवा, कटहर, केरा, जुनार
तरकारी काउली, मूला, गाजर, आलु
साग रायो, तोरी, चम्सुर, पालुङ्गो

४. ‘आयाम’ कथामा तामाङ भाषाबाट प्रभावित शब्द आएका छन्, तिनलाई टिपेर नेपाली भाषाको मानक रूप लेख्नुहोस्:

मो: ⇒ म
मोलाई: ⇒ मलाई
जासारी: ⇒ जसरी
विहे: ⇒ बिहे
गार: ⇒ गर
गारेका: ⇒ गरेका
ता: ⇒ त
डार: ⇒ डर
भानेको: ⇒ भनेको

५. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्:

तरङ्ग: ⇒ अर्काको घरमा जुठा भाँडा माझेर पढाएको कालीको छोरो डाक्टर भयो भनेको सुन्दा गाउँमा तरङ्ग पैदा भयो ।
आमन्त्रण: ⇒ बहिनीको बिहेमा कसैलाई नछुटाउने भनेको, माथिल्लो घरे श्याम काकालाई त छुटाइहाल्लिएछ नि ।
उत्प्रेरणा: ⇒ हाम्री आमाले दुःख गरेको देख्दा पछि गएर केही गर्छु भन्ने छुट्टै उत्प्रेरणा पैदा हुन्छ ।
बगैंचा: ⇒ पहाड घरमा फलफूलको त्यत्रो बगैंचा छ, यहाँ आफूले भने कुहिएको किनेर खानुपर्छ ।
पारिश्रमिक: ⇒ काम लगाएपछि पारिश्रमिक त दिनुपर्छ नि, कस्तो दया नभएको मान्छे होला ?
सम्पर्क: ⇒ नेपालमा सर्वसाधारणले कार्यकारी प्रमुखसम्म पुग्न कुनै सम्पर्क हुनै पर्छ ।
क्षितिज: ⇒ हाम्रो मिलन पक्कै पनि क्षितिजमा गएर हुनेछ ।
असीमित: ⇒ मान्छेका इच्छाहरू असीमित हुन्छन् ।
पारदर्शी: ⇒ “हेर छोरा ! हिसाब भनेको सधैं पारदर्शी हुनुपर्छ” भनेर मेरो बुबाले सानैमा भनेको म कहिल्यै बिर्सन्न ।

बोध र अभिव्यक्ति (Comprehension & Expression)

३. दिइएका प्रश्नको उत्तर भन्नुहोस्:

(क) ‘आयाम’ कथाको प्रारम्भ र अन्त्य कुन कुन घटनाबाट भएको छ ?

⇒ ‘आयाम’ कथाको प्रारम्भ सहरको वर्णनबाट भएको छ भने अन्त्य सासूआमाको मातृत्व भावबाट भएको छ ।

(ख) ‘खुसी हुनुको …. यस्तै यस्तै’…..!’ अनुच्छेदको मुख्य घटना के हो ?

⇒ शान्तमायाको दोस्रो बिहे हुनु, उसको श्रीमान् एउटै घरमा ड्राइभर हुनु र वैवाहिक सुखको अनुभव शान्तमायाको अनुहारमा झल्कनु ।

(ग) कथामा मुख्य र सहायक भूमिका भएका पात्रको नाम भन्नुहोस् ।

मुख्य पात्र:

⇒ याङ्जी, सुरज कुमार, आमा, शान्तमाया

सहायक पात्र:

⇒ कमल, सुनमाया, भाइ, छिमेकी काकी

(घ) कथामा सहरी परिवेश झल्काउने कुरा के के हुन् ?

⇒ सहरको त्यो व्यस्त चोकको मध्यभागको दृश्य मेरो कार्यालयको झ्यालबाट लगभग पुरै देख्न सकिन्थ्यो, स्कुटर थन्क्याएको, डिनर गर्न रेस्टुरेन्ट गएको, मोटरसाइकल दुर्घटनामा परेर कमलको मृत्यु, चार तलाको खरानी रङको भवन आदि ।

५. दिइएको कथांश पढ्‌नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस्:

एक हप्तापछि शान्तमायाले काम गर्न थालिन् । उनले काम गर्ने घर सेवानिवृत्त डाक्टर दम्पतीको थियो । घरमा दम्पती मात्रै थिए । दुई भाइ छोरा देशबाहिर गएका थिए । फराकिलो कम्पाउन्ड र बगैंचा, साढे दुईतले घर, ती दम्पतीलाई घर व्यवस्थापनमा सकस थियो । बगैंचामा चल्ने मिहिनेती हातको खाँचो थियो । भान्छामा, बाथरुममा, कौसीमा जताततै चल्ने छरिता पैतालाको आवश्यकता थियो । समग्रमा इमानदारिताका साथ काम गरिदिने कामदारको आवश्यकता थियो । हाम्रो अफिसमा दम्पती नै आएका थिए । उनीहरूले महिला कामदारलाई प्राथमिकता दिएका थिए । शान्तमायाको व्यक्तिगत विवरण हेरेर उनीहरू खुसी भएका थिए । शान्तमायाले बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म त्यही घरमा काम गर्न थालेकी थिइन् । उनी पनि डाक्टर दम्पतीले उपलब्ध गराएको पारिश्रमिकमा खुसी थिइन् । त्यसमाथि पनि चाडवाडमा थप रकम र कपडा पाउन थालिन् शान्तमायाले ।

(क) शान्तमायाले कसकामा काम गर्न थालिन् ?

⇒ शान्तमायाले डाक्टर दम्पतीकामा काम गर्न थालिन् ।

(ख) डाक्टर दम्पतीले कस्तो कामदारको अपेक्षा गरेका थिए ?

⇒ डाक्टर दम्पतीले इमानदारिताका साथ काम गरिदिने कामदारको अपेक्षा गरेका थिए ।

(ग) शान्तमाया खुसी हुनुको कारण के थियो, तर्क गर्नुहोस् ।

⇒ शान्तमाया खुसी हुनुको कारण डाक्टर दम्पतीले उपलब्ध गराएको पारिश्रमिक थियो, त्यसमा पनि चाडवाडमा थप रकम र कपडा पाइन्थ्यो ।

(घ) ‘मिहिनेती हात’ भन्नुको आशय के हो ?

⇒ ‘मिहिनेती हात’ भन्नुको आशय इमानदारिताका साथ काम गर्ने परिश्रमी व्यक्ति भन्ने हो ।

६. कथामा सुरुदेखि अन्तिमसम्म कस्ता कस्ता घटना घटेका छन्, तिनलाई टिपोट गरी कथासार लेख्नुहोस् ।

घटना टिपोट:

  1. याङ्जीको कार्यालय परिवेशको वर्णन ।
  2. याङ्जीको जन्मदिनमा “खाना खान छिट्टै आऊ है” भनेर आमाले गरेको अनुरोध ।
  3. आमाको वर्णन, याङ्जीलाई आमाले गरेको प्यारको चित्रण ।
  4. याङ्जीको वर्णन, आमाले याङ्जीलाई जागिर खान थाल भन्नु ।
  5. याङ्जीलाई प्रबन्धक देख्दा कमलको याद आउनु, सह-प्रबन्धकको पदमा जागिर खान थाल्नु ।
  6. शान्तमाया काम खोज्न आउनु, उसलाई काम खोजिदिएको एक वर्षमा बिहे गरेको जानकारी गराउनु ।
  7. याङ्जी र सुरज प्रेममा पर्नु ।
  8. आमालाई बताउनु ।
  9. आमाले आफूसँगै बस्ने सर्तमा याङ्जीको प्रेम स्वीकार्नु ।

कथासार:

बिना थिङद्वारा लिखित ‘आयाम’ कथा एक संस्मरणात्मक कथा हो । यो कथा कथाकी मुख्य पात्र याङ्जीका वरिपरि घुमेको छ । कथाको सुरुवात याङ्जीको कार्यालयको वर्णनबाट हुन्छ । उसले आज कार्यालय आउने बेलामा आमाले “आज तिम्रो जन्मदिन हो, म केही मिठा-मिठा खानेकुरा बनाउँछु, छिट्टै आऊ है” भनेको सम्झन्छे । आमाको स्नेह र मायालाई याद गर्छ । आमाकै कारणले उसले जागिर खान थालेको पनि याद आउँछ । आफ्नो २५ वर्षे उमेरमा घरबाट बाहिर ननिस्कने, चिन्तामा हराइरहने बानीबाट आमाले पार लगाउनुभएको याद गर्छ । आमाकै सल्लाहमा यस कार्यालयमा अन्तर्वार्ताका लागि आएको र यहाँका प्रबन्धक सुरज कुमारलाई देख्दा कमलको झझल्को आएको सम्झन्छे । आफू त्यही दिन सह-प्रबन्धकको पदमा छानिएको पनि याद हुन्छ उसलाई । आफूले काम गर्न थालेपछि त्यहाँ जागिर खोजिदिनु भनेर आउने गरेको मान्छेहरूको बारेमा याद गर्न थाल्छे र आफ्नो कार्यालयले मुख्य गरी घरेलु कामदार उपलब्ध गराउने गरेको पनि बताउँछे ।

कार्यालयमा काम खोजिदिन आग्रह गर्दै आएकी शान्तमायाको जीवनको आरोह-अवरोहले उसको जीवनमा पनि प्रभाव पार्छ । शान्तमायालाई काम लगाइदिएको एक वर्षमा उसको बिहेको खबर र उसको अनुहारमा देखिएको चमकले याङ्जीलाई पनि सुरजतिर आकर्षित हुन प्रोत्साहन गर्छ । सुरजसित जन्मदिनको दिन डिनरमा जान्छे । सुरजको धेरै आग्रहले उसले आमालाई आफू कसैको प्रेममा परेको र उनीहरूले बिहे गर्न चाहेको कुरा बताउँछे । आमा उसकी जन्मदिने आमा नभएर सासूआमा भएको कुरा कथाको अन्त्यमा थाहा हुन्छ । उसकी सासूआमाले बिहेपछि पनि यही घरमा बस्नुपर्ने सर्तमा राजी हुन्छिन् । यसरी यो कथामा सासू-बुहारी बीचको तिक्ततापूर्ण सम्बन्धका विपरीत माया नै मायाले भरिएको सम्बन्धको उल्लेख गरिएको छ ।

७. ‘आयाम’ कथाको ‘आमा हुनुहुन्थ्यो हातगोडा’ अनुच्छेदबाट चारओटा बोध प्रश्न निर्माण गरी तिनको उत्तरबारे साथीसँग छलफल गर्नुहोस् ।

प्रश्नहरू:

  1. आमाको उमेर कति थियो ?
  2. आमाका हातगोडा कस्ता थिए ?
  3. आमाको नाकको वर्णन कसरी गरिएको छ ?
  4. आमाको छालाको रङको वर्णन कसरी गरिएको छ ?

उत्तरहरू:

  1. आमाको उमेर ४५ वर्षको थियो ।
  2. आमाका हातगोडा छोटा-छोटा, मोटा-मोटा र पुटुक्क परेका थिए ।
  3. “गोलै जोर आँखाको बिचमा डल्लो आकारको नाक थपक्क बसेको थियो” भनेर नाकको वर्णन गरिएको छ ।
  4. “सेतो चिमालो फूलको रङ झैँ लाग्ने नरम छाला जीउभरि ओढेकी” भनेर वर्णन गरिएको छ ।

८. दिइएका प्रश्नको उत्तर लेख्नुहोस्:

(क) ‘आयाम’ कथाको मुख्य विषयवस्तु के हो ?

⇒ ‘आयाम’ कथा एक संस्मरणात्मक कथा हो । यो कथाकी कथाकार बिना थिङ हुन् । यस कथामा कथाकी मुख्य पात्र याङ्जीले आफ्ना जीवनमा घटेका विविध घटनाहरूलाई एक दिनमा स्मरण गरेकी छन् र वर्तमानमा आएर कथालाई टुङ्ग्याइएको छ । यस कथामा दाम्पत्य जीवनको आवश्यकता र सुखानुभूतिको उल्लेख गरिएको छ । साथै सुमधुर सम्बन्ध राख्न सके सासू-बुहारी पनि आमा-छोरी बन्न सकिन्छ भन्ने देखाउनु यस कथाको उद्देश्य देखिन्छ । याङ्जी कुनै घटनाको कारण टोलाएर बस्ने, कसैसित नबोल्ने, एक प्रकारले मानसिक रोगीको अवस्थामा पुगेको बेलामा उनकी सासूले आमा बनेर त्यस परिस्थितिबाट बाहिर निकाल्न उनलाई जागिर खाने वातावरण सिर्जना गरेकी हुन्छिन् । बुहारीलाई छोरीलाई जस्तै माया गरेर राख्छिन् । घरको सबै काम आफैँ गर्छिन् । याङ्जी बिहानै अफिस जान्छिन् र बेलुका साँझमा मात्र घर फर्कन्छिन् । आमाले जन्मदिनका दिन मिठा खाना पकाएर कुर्छिन् । अन्त्यमा याङ्जीले आफूले काम गर्ने कार्यालयका हाकिमसित प्रेम गर्छिन् । यो कुरा सासूलाई सुनाउँछिन् । सासूले पनि बिहेपछि पनि आफूसितै बस्ने सर्तमा… विहेको लागि तयार हुन्छिन् र अन्त्यमा दाम्पत्य जीवन सबैको आवश्यकता हो जसको लागि दोस्रो विवाह नै किन गर्नु नपरोस् भन्ने विषयवस्तु यस कथामा अटाइएको छ ।

(ख) कथामा रहेका याङ्‌जी र शान्तमाया पात्रको चारित्रिक विशेषताको तुलना गर्नुहोस् ।

याङ्‌जी शान्तमाया
एक पढेलेखेकी विधवा महिला अनपढ विधवा महिला
रोजगार दाता कार्यालयमा काम गर्ने घरायसी काम गर्ने
बोलचालमा भाषिक शुद्धता पाइने बोलचालमा तामाङ भाषाको प्रयोग
दोस्रो विवाह गर्ने निर्णयमा पुगेकी दोस्रो विवाह गरेकी
विवाह गरेको छोटो समयमा नै श्रीमान् गुमाएकी विवाह भएको केही वर्षपछि श्रीमान् गुमाएकी

(ग) कथामा उल्लेख भएको सामाजिक परिवेशको वर्णन गर्नुहोस् ।

⇒ बिना थिङद्वारा लेखिएको ‘आयाम’ कथा एक संस्मरणात्मक कथा हो । यस कथाकी मुख्य पात्र याङ्‌जीले आफ्ना जीवनमा घटेका विविध घटनाहरूलाई एक दिनमा स्मरण गरेकी छन् । यस कथामा सहरी परिवेशको उल्लेख गरिएको छ । कथामा एकल महिलाले भोग्नुपरेका समस्याहरू, समाजले उनीहरूलाई हेर्ने दृष्टिकोण र उनीहरूको मनोभावनालाई सामाजिक परिवेशका रूपमा चित्रण गरिएको छ । विशेषगरी तामाङ समुदायको संस्कृति र परम्परालाई पनि कथामा समेटिएको छ । समाजमा विद्यमान रुढीवादी परम्परा, एकल महिलाप्रतिको सङ्कुचित सोच र पितृसत्तात्मक मूल्यमान्यतालाई कथाले उजागर गरेको छ । सहरको कोलाहलपूर्ण वातावरण र मानिसहरूको व्यस्त जीवनशैली पनि यस कथाको सामाजिक परिवेश हो ।

सुनाइ र बोलाइ (Listening & Speaking)

१. सुनाइ पाठ १६ सुन्नुहोस् र दिइएका वाक्य ठिक भए ठिक र बेठिक भए बेठिक भन्नुहोस्:

(क) भाषाको स्वाभाविक सुन्दरता, सशक्तता, साहित्यिक उच्चता र लेखकको योग्यताबाट शैलीको जन्म हुन्छ । ⇒ ठिक
(ख) साहित्यिक कृतिमा शैलीको महत्त्व हुँदैन । ⇒ बेठिक
(ग) शैलीलाई वर्णनात्मक, आत्मकथनात्मक, हास्यमय, व्यङ्ग्यमय आदिमा विभाजन गरेको पाइन्छ। ⇒ ठिक
(घ) शैली सौन्दर्यबोधक तत्त्व पनि होइन । ⇒ बेठिक

२. सुनाइ पाठ १६ का आधारमा दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) शैली भनेको के हो ?

⇒ विशेष किसिमले कुनै काम गर्ने प्रणाली वा पद्धति, काम गराइको ढाँचा, परिपाटी, छाँटकाँट आदिलाई नै शैली भनिन्छ ।

(ख) शैली कस्तो तत्त्व हो ?

⇒ सामान्य भाषालाई विचलन गरी विशिष्टता प्रदान गर्ने क्षमता भएको शैली भाषाको सौन्दर्यबोधक तत्त्व हो ।

(ग) शैलीका दुई प्रकार के के हुन् ?

⇒ शैलीका दुई प्रकार सरल र अलङ्‌कृत हुन् ।

(घ) शैलीको जन्म कसरी हुन्छ ?

⇒ बोलचालको सामान्य भाषामा विचलन भई बनेको विचलित अभिव्यक्ति नै रचनाको शैली बनेको हुन्छ । भाषिक संरचना र वर्णविन्यास ।

भाषिक संरचना र वर्णविन्यास (Language Structure)

२. दिइएको संश्लेषण र विश्लेषणसम्बन्धी अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

धेरै सरल वाक्य जोडेर एउटै छरितो वाक्य बनाउने कार्य वाक्य संश्लेषण हो । वाक्य विश्लेषण वाक्य संश्लेषणको ठिक विपरीत हुन्छ । यसमा जोडिएका वाक्य टुक्र्याइन्छ । वाक्य संश्लेषण र विश्लेषणको अभ्यासबाट कुनै पनि लेख रचनाका लागि उत्कृष्ट वाक्य बनाउन सकिन्छ । यसको अभ्यास गरिरहनुपर्छ । यस्तो बानीले भाषामा राम्रो नियन्त्रण रहन्छ । यसबाट थोरै शब्दमा आफ्ना भाव अभिव्यक्त गर्न सकिन्छ । लेखाइमा द्रुता आउँछ । दुई वा सोभन्दा बढी सरल वाक्यलाई एक सरल, मिश्र वा संयुक्त वाक्यमा रूपान्तरण गर्ने यस्तो प्रक्रियामा भाषाका ज्ञानको आवश्यकता हुने, वाक्यमा मुख्य क्रियाको चयन गर्नुपर्ने, पूर्वकालिक वा असमापिका क्रियाको चयन गर्नुपर्ने, विशेषण, नाम र क्रियापदावलीको निर्माण गर्नुपर्ने, आवश्यकताअनुसार उपसर्ग, प्रत्यय र समास विग्रहको प्रयोग गर्नुपर्ने अनि आवश्यकताअनुसार नयाँ शब्दको पनि प्रयोग गर्नुपर्ने हुन्छ ।

(क) अनुच्छेदको पहिलो वाक्यबाट दुईओटा वाक्य बनाउनुहोस् ।

⇒ धेरै सरल वाक्य जोडिन्छन् । सरल वाक्य जोड्दा वाक्य संश्लेषण हुन्छ ।

(ख) अनुच्छेदको दोस्रो र तेस्रो वाक्य मिलाई एउटै वाक्य बनाउनुहोस् ।

⇒ वाक्य विश्लेषण गर्दा जोडिएर संश्लेषण भएका वाक्यलाई टुक्र्याइन्छ ।

(ग) अनुच्छेदको चौथो वाक्यबाट दुईओटा वाक्य बनाउनुहोस् ।

⇒ वाक्य संश्लेषण र विश्लेषणको अभ्यास गर्नुपर्छ । वाक्य संश्लेषण र विश्लेषणको अभ्यासबाट उत्कृष्ट साहित्यिक वाक्य बन्छ ।

(घ) अनुच्छेदको पाँचौं, छैटौं र सातौं वाक्यलाई मिलाई एउटै वाक्य बनाउनुहोस्।

⇒ यसको अभ्यास गर्दा भाषामा राम्रो नियन्त्रण गरी थोरै शब्दमा आफ्ना भाव अभिव्यक्त गर्न सकिन्छ ।

(ङ) यस अनुच्छेदको अन्तिम वाक्यबाट पाँचओटा वाक्य बनाउनुहोस् ।

  1. दुई वा सोभन्दा बढी सरल वाक्यलाई एक सरल, मिश्र वा संयुक्त वाक्यमा रूपान्तरण गर्नुपर्छ ।
  2. यस्तो प्रक्रियामा भाषाका ज्ञानको आवश्यकता हुन्छ ।
  3. वाक्यमा मुख्य क्रियाको चयन गर्नुपर्छ ।
  4. पूर्वकालिक वा असमापिका क्रियाको चयन गर्न विशेषण, नाम र क्रियापदावलीको निर्माण गर्नुपर्छ ।
  5. वाक्यमा आवश्यकताअनुसार उपसर्ग, प्रत्यय र समास विग्रहको प्रयोग गर्नुपर्ने हुन्छ ।

३. ‘आयाम’ कथाको ‘त्यो दिन …… थियो’ अनुच्छेदबाट चारओटा सरल वाक्य टिपी तिनलाई एउटै वाक्यमा संश्लेषण गर्नुहोस् ।

सरल वाक्यहरू:

  1. त्यो दिन मेरो जीवनको सबैभन्दा भयानक दिन थियो ।
  2. मेरा सुन्दर संसार तहसनहस पार्यो ।
  3. कमल कार्यालयबाट फर्कंदा भएको त्यो मोटरसाइकल दुर्घटना ।
  4. उफ् ! ऊसंग मैले छोटो समय व्यतीत गरेँ ।

संश्लेषण:

⇒ कमल, जोसँग मैले छोटो समय व्यतित गरेँ, ऊ कार्यालयबाट फर्कदा भएको मोटरसाइकल दुर्घटना जुन मेरो जीवनको सबैभन्दा भयानक दिन जसले मेरो सुन्दर संसार तहसनहस पार्यो ।

४. दिइएको कथांशबाट लेख्य चिह्न टिपी तिनको नाम लेख्नुहोस् । तिनको प्रयोग भिन्नताबारे कक्षामा छलफल गर्नुहोस् :

“म अहिल्यै बुढी भईसकें भन्ने ठानेको ? यति काम गर्न सक्दिन सोचेछ । हातगोडा तगडै छन् । बाजीलाई कामको धपेडी छ । म कामबाट अलिक छिटो आइपुग्छु । मलाई फुर्सद भएरै गरेकी हुँ।” यसो भन्दाभन्दै मानौँ आमाका अनुहारमा बावर पाक्थ्यो । यसो भनेर आमा अनुहारमा बावर पकाउनुहुन्थ्यो । सेतो, फराकिलो, नरम र स्वादिलो बावर ।”

⇒ उद्धरण (“ ”), प्रश्नवाचक (?), पूर्णविराम (।), अल्पविराम (,) ।

५. पूर्णविराम, अल्पविराम, अर्धविराम, प्रश्नवाचक, उद्गार, कोष्ठक, निर्देश, उद्धरणचिह्न, विकल्पबोधक चिह्नमध्ये कुनै पाँचओटा लेख्य चिह्नको प्रयोग गरी ‘महिला सहभागिता’ विषयमा एउटा अनुच्छेद रचना गर्नुहोस् ।

समाजको विकास गर्नु छ भने महिलालाई सामाजिक काममा अघि सार्नु पर्दछ । “महिलाको सहभागिता नै विकासको चाबी हो” भन्ने हाम्रा हजुरबा यस समाजका प्रमुख सुधारक हुनुहुन्छ । उहाँलाई साथ दिन गाउँका मुखिया, तल्लाघरे काका लगायत लाग्नु भएको थियो । एक दिन मैले बहिनीलाई ‘तँ छोरीमान्छे यसो गर्न सक्दिनस्’ भनेको थिएँ; हजुरबाले मलाई ‘राम ! यो तैंले के भनिस् ?’ भनेर झन्डै मार्नुभयो ।

७. ‘पाठबाट ‘र’ को फरक फरक रूप प्रयोग भएका कुनै पाँचओटा शब्द टिपोट गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् ।

सहर: ⇒ आजभोलि मानिसहरू सहरमा बसेर दिक्क भएको बेला हावापानी परिवर्तन गर्न भन्दै गाउँ जाने गर्छन् ।
आकृति: ⇒ चित्र बनाउँदा बाहिरी मात्र होइन त्यसको भित्री आकृति पनि दिन सक्ने व्यक्ति नै सच्चा चित्रकार हो ।
गर्थे: ⇒ म सानामा धेरै चकचक गर्थे ।
हृदय: ⇒ अरूको भन्न सक्दिनँ तर आमाको माया भनेको हृदयदेखि कै हुन्छ ।
ड्राइभर: ⇒ हाम्रो घरको ड्राइभर दाइ मलाई आफ्नै दाइ जस्तो लाग्छ ।

सिर्जना र परियोजना कार्य (Creative & Project Work)

१. तपाईंलाई मन परेको शीर्षकमा एउटा कथा लेख्नुहोस् ।

अकबर र बिरबल

एक राज्यमा अकबर नाम गरेका राजा बस्दथे। त्यो राज्यमा सबैले न्याय पाउँथे र अपराधीले दण्ड पनि पाउँथे । अकबर राजालाई राम्रो सल्लाह दिन त्यहाँ उनको मन्त्री बिरबल थियो। एक पटक, एक धनी व्यापारी राजा अकबरको दरबारमा मद्दत लिन आयो । त्यो व्यापारीको घरमा चोरी भएको रहेछ र उसलाई शंका रहेछ कि उसको अमुल्य सामान कुनै एउटा नोकरले चोरेको हो । धेरै सोधपुछ र तलासी गर्दा पनि उसले आफ्नो सामान नभेटाएर चोर पत्ता लगाउनु पर्यो भन्दै सहयोग माग्न आयो ।

सबै कुरा बुझेर बीरबलले एउटा चतुर योजना बनायो र व्यापारीका नोकरहरुलाई बोलाए । उसले प्रत्येक नोकरलाई एउटै लम्बाइको एक-एक ओटा लौरो दियो । अनि उनले उनीहरुलाई भनेः “तिमीहरुमै एक जना चोर छौ । मैले सबैलाई एउटै लम्बाईको लौरो दिएको छु। जसले त्यो सामान चोरेको हो, उसको लौरो भोलि दुइ इन्च बढ्नेछ । भोलि सबैको लौरो नाप्छु र चोर पत्ता लगाउँछु ।”

भोलिपल्ट बीरबलले नोकरहरुलाई फेरि बोलाए र पालै पालो लौरोको नाप लिए। एकजना नोकरको लौरो अरु सबैको लौरोभन्दा दुई इन्च छोटो थियो । मूर्ख चोरले, बिरबलले भनेको कुरा सत्य ठानेर, भोलि दुइ इन्च बढ्ला भनेर आफ्नो लाठीलाई दुई इन्च छोटो काटेको थियो । त्यसपछि राजाले चोरलाई सहि सजाय दिए ।

२. पुस्तकालयबाट कुनै एउटा कथा खोजेर ल्याउनुहोस् र कक्षामा सुनाउनुहोस् ।

बाँदर र हात्ती (गोही)

यो जनावरहरूको कथा हो । एकादेशमा एउटा पोखरी थियो र त्यो पोखरीको छेउमा एउटा जामुन फलको रुख थियो । त्यो रुखमा एउटा बाँदर बस्थ्यो । उसले हरेक दिन मीठो जामुन टिप्दै खान्थ्यो । एक पटक उसले त्यो पोखरीमा एउटा गोहीलाई आराम गरेको देख्यो जो थकित र भोको देखिन्थ्यो । उनलाई त्यो गोही देखेर माया लाग्यो र अलिकति जामुन टिपेर खान दियो ।

गोहीले जामुन खायो र उसलाई जामुन निकै स्वादिस्ट लाग्यो र उसले बाँदरलाई धन्यवाद दियो । दिन बित्दै गए र उनीहरु एकदमै मिल्ने राम्रो साथी बने । गोहीले सधैं केही जामुन बचाएर आफ्नी श्रीमती गोहीलाई पनि लगिदिन्थ्यो । श्रीमती गोहीलाई पनि त्यो जामुन निकै नै स्वादिस्ट लाग्यो । तर गोहीको श्रीमती दुष्ट गोही थिइन् ।

उनले आफ्नो श्रीमान गोहीलाई भनिन् : “त्यो बाँदरले दिएको जामुन त यस्तो स्वादिस्ट छ, उसको मुटु झन् कति स्वादिस्ट होला ? मलाई त्यो बाँदरको मुटु जसरी भएपनि खानु छ ।” यो कुरा सुनेर गोही सुरुमा रिसाएको थियो तर आफ्नी श्रीमतीको इच्छालाई नाइँ भन्न सकेन ।

भोलिपल्ट गोहीले बाँदरलाई गएर भन्योः ” मित्र! तिमि आज मसँगै घर जाऊँ है। मेरी श्रीमतीले तिम्रोलागि निकै मिठो खाना बनाएर राखेकी छिन् ।” बाँदर पनि साथीको घरको निम्तो पाउँदा खुसी भयो र जान तयार भयो । उनीहरु आधा बाटो पुगेका थिए र गफै गफको तालमा, गोहीले आफ्नी श्रीमतीको सबै योजना बताई दियो ।

यो कुरा सुनेर बाँदर झसङ्ग भयो र अब कसरी यो गोहीबाट बच्ने होला भनेर सोच्न थाल्यो । बाँदर, चतुर भएकोले, उसले गोहीलाई भन्यो, “लौ जा, तपाईंको श्रीमतीलाई मेरो मुटु चाहिएको रहेछ तर मैले त मुटु बिर्सिएर जामुनको बोटमै पो छोडेर आएँ ।” मुर्ख गोहीले बाँदरको कुरा पत्याएर बाँदरलाई त्यही जामुनको बोट भएको ठाउँमा फिर्ता लगिदियो ।

जामुनको बोट देख्ने बित्तिकै बाँदर फुत्त उफ्रेर रुखमा चड्यो । रुखमा पुगेपछि बाँदरले गोहीलाई भन्यो, “कसले आफ्नो मुटु झिकेर अन्तै राख्न सक्छ र ?” त्यसपछी गोही सधैं एक्लो र भोको भयो ।

Also Read: More SEE Resources

Scroll to Top