Andhabishwas Hataau | Class 10 Social Notes | Samajik Samasya ra Samadhan
An overview of Andhabishwas Hataau (अन्धविश्वास हटाऔँ) notes for SEE Class 10 Social Studies

एकाइ ४: सामाजिक समस्या र समाधान (Samajik Samasya ra Samadhan)

पाठ ५: अन्धविश्वास हटाऔँ (Andhabishwas Hataau)

१. अन्धविश्वास (Andhabishwas) भनेको के हो? उदाहरणसहित लेख्नुहोस्।

उत्तर: कुनै व्यक्ति वा समुदायले गहन अध्ययन वा जानकारी नै नलिई समाजमा प्रचलित प्रथा र चलनमा विश्वास गर्नुलाई अन्धविश्वास (Andhabishwas) भनिन्छ। यसले गर्दा समाजमा सामाजिक विकृति निम्त्याउनुका साथै नकारात्मक असर पनि परिरहेको हुन्छ। बोक्सीको आरोप लगाउनु, घुम्टो प्रथा आदि यसका प्रमुख उदाहरण हुन्।

२. “अन्धविश्वासले समाजको आधुनिकीकरण, वृद्धि, बदलाव र समृद्धिमा असन्तोष पैदा गर्छ।” कसरी? स्पष्ट पार्नुहोस्।

उत्तर: अन्धविश्वासले महिलाहरूलाई बढी असर पारेको छ। महिला र पुरुष एकै रथका दुई पाङ्ग्रा हुन्। तसर्थ, अन्धविश्वासले समाजको आधुनिकीकरण, विकास, परिवर्तन र समृद्धिको यात्रामा बाधा पैदा गर्छ। अन्धविश्वासका कारण बोक्सीका नाममा अमानवीय व्यवहार भएका छन्। धामीझाँक्रीको भरमा पर्दा अकालमा ज्यान गुमाउनु परेको छ। दाइजो प्रथाले महिलाहरूलाई जिउँदै जलाउने काम भएको छ। घरेलु हिंसाले पारिवारिक सम्बन्धमा तनाव मात्र होइन, सामाजिक कलह सिर्जना भएको पाइन्छ। तसर्थ, हामी के भन्न सक्छौं भने अन्धविश्वासले समाजको आधुनिकीकरण, विकास, परिवर्तन र समृद्धिको यात्रामा बाधा पुऱ्याउँछ।

३. घुम्टो प्रथालाई किन सामाजिक समस्या भनिएको हो? चर्चा गर्नुहोस्।

उत्तर: घुम्टो प्रथा नेपालको पूर्वी र मध्य तराईमा प्रचलनमा रहेको एक सामाजिक समस्या हो। यस प्रथामा विवाहित महिलाले मान्यजन वा पुरुषहरूका अगाडि जाँदा सधैँ घुम्टोले अनुहार छोप्नुपर्ने प्रचलन रहेको हुन्छ। यतिसम्म कि पहिलो बच्चा नभएसम्म उज्यालोमा शौच गर्न जानसमेत प्रतिबन्धको अवस्था हुन्छ। यस प्रथाका कारण महिलाको व्यक्तित्व विकासमा बाधा परिरहेको हुन्छ। विवाहपछि महिलाहरू अगाडि बढ्नबाट वञ्चित छन्। अवसर र शिक्षाबाट समेत वञ्चित रहेका छन्। यो एउटा लैङ्गिक विभेदको अवस्था पनि हो। तसर्थ, घुम्टो प्रथालाई सामाजिक समस्या भनिएको हो।

४. दाइजो प्रथाले समाजमा पुऱ्याएको प्रभाव उल्लेख गरी समाधानका उपायहरू सुझाउनुहोस्।

उत्तर: दाइजो प्रथाले समाजमा पुऱ्याएका असरहरू निम्न छन्:

  • सामाजिक संघर्ष र सद्भावना कायम गर्न अड्चन भएको छ।
  • महिला तथा घरेलु हिंसामा वृद्धि भएको छ।
  • पारिवारिक विभाजन र असन्तुलनको वातावरण बनेको छ।
  • आत्महत्या तथा हत्याका घटनामा वृद्धि भएको छ।
  • गरिब परिवारको छोरीको विवाहमा कठिनाइ उत्पन्न भएको छ।

समाधानका उपायहरू:

  • शिक्षा र चेतना जागरण गर्ने।
  • संगठित सोच र कार्यक्रम सञ्चालन गर्ने।
  • कडा कानुनी प्रबन्ध र कारबाहीको व्यवस्था गर्ने।
  • व्यक्ति, परिवार र समाजको सोचमा सकारात्मक परिवर्तन ल्याउने।
  • महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने।

५. “छाउपडी अन्धविश्वासको परिणाम हो।” यस वाक्यलाई उदाहरणसहित सम्झाउनुहोस्।

उत्तर: महिलाहरूमा हुने रजस्वला प्रक्रियाको कारण नै सन्तान जन्माउने र जन्मने प्रक्रिया सञ्चालन भएको हुन्छ। यो विशुद्ध प्राकृतिक र स्वाभाविक प्रक्रिया पनि हो। सबै महापुरुष वा महिलाको जन्म यही प्रक्रियाको कारण सम्भव भएको हो। यसलाई गलत व्याख्या गरी क्षणिक स्वार्थपूर्तिका लागि महिलालाई दास बनाउने नियतले सुरुवात भएको प्रथा हो छाउपडी। पछिल्ला दिनहरूमा अन्धविश्वासको कारण यसले निरन्तरता पाउँदै आएको छ। जहाँ अन्धविश्वास छैन, त्यहाँ यो समस्या छैन वा निकै न्यून छ। सहरको तुलनामा गाउँमा यो प्रथा बढी प्रचलनमा छ। तसर्थ, छाउपडी अन्धविश्वासकै परिणाम हो।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top