एकाइ १०: अर्थतन्त्र र विकास
पाठ ४: स्थानीय, औपचारिक र अनौपचारिक कारोबार
यस पाठमा हामीले स्थानीय, औपचारिक र अनौपचारिक कारोबार (Local, Formal, and Informal Transactions) र यिनले देशको अर्थतन्त्रमा पार्ने प्रभावबारे विस्तृत रूपमा अध्ययन गर्नेछौं। औपचारिक कारोबारले देशको आर्थिक विकासलाई कसरी टेवा पुऱ्याउँछ र अनौपचारिक कारोबारले राज्यलाई के-कस्ता चुनौतीहरू थप्छ भन्ने विषयमा हामी छलफल गर्नेछौं।
Sthaniya, Aupacharik ra Anaupacharik Karobar
अभ्यासका विषयहरू
१. ‘अनौपचारिक कारोबार पद्धति बढ्नाले राज्यको अर्थतन्त्रमा क्षति हुन्छ र सामाजिक अस्थिरता पैदा हुन्छ।’ यस भनाइलाई पुष्टि गर्नुहोस्।
उत्तर: अनौपचारिक कारोबार (Informal Transaction) अर्थतन्त्र सुधारको बाधक हो, जसले राज्यलाई घाटा मात्र पुऱ्याउँछ। अर्थतन्त्रमा अनौपचारिक क्षेत्रको हिस्सा बढ्दै जानु भनेको मुलुकको समुन्नति र समृद्धिका लागि निश्चय नै नकारात्मक हो। अनौपचारिक कारोबार पद्धति बढ्नाले राज्यको अर्थतन्त्र डामाडोल हुनुका साथै यसले सामाजिक अस्थिरता पनि निम्त्याउँछ। यसका असरहरूलाई निम्न बुँदामा पुष्टि गर्न सकिन्छ:
- राजस्व चुहावट: यस्तो कारोबार बढ्नाले एकातर्फ राज्यको कर (Tax) चुहावट बढिरहेको हुन्छ भने अर्कातर्फ मुलुकमा अनेकौँ बेथिति र विसंगति सिर्जना भइरहेका हुन्छन्।
- आर्थिक अपराधमा वृद्धि: यसले आर्थिक तथा वित्तीय अपराध बढाउने मात्र नभई मुलुकमा विधिको शासनको पनि उपहास गरिरहेको हुन्छ।
- सामाजिक असमानता: राजनीतिक तथा प्रशासनिक आडमा पनि अनौपचारिक कारोबार फस्टाइरहेको पाइन्छ, जसबाट नवसम्भ्रान्त वर्गको उदय भई समाजमा वर्गीय खाडल र आपराधिक गतिविधि बढेको छ।
- नीति कार्यान्वयनमा बाधा: अनौपचारिक माध्यममा रहेको कारोबारले सरकारले लागू गरेका नीति-नियमको प्रभावकारी कार्यान्वयनमा बाधा पुऱ्याउँछ र आर्थिक अपराधमा समेत वृद्धि गराउँछ।
- अस्वस्थ प्रतिस्पर्धा: अनौपचारिक अर्थतन्त्रको हिस्सा बढ्दा त्यसले स्वस्थ र प्रतिस्पर्धात्मक बजारमा नकारात्मक असर पार्दछ र समग्रमा उत्पादकत्व र आर्थिक वृद्धिमा समेत असर पुग्छ।
२. कारोबारलाई व्यवस्थित गर्ने विभिन्न उपायहरू उल्लेख गर्नुहोस्।
उत्तर: स्थानीय, औपचारिक तथा अनौपचारिक कारोबारलाई व्यवस्थित गर्न निम्न उपायहरू अपनाउन सकिन्छ:
क) स्थानीय कारोबारलाई औपचारिक बनाउने उपायहरू:
- मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (VCTS) को प्रभावकारी कार्यान्वयन गर्ने।
- विद्युतीय भुक्तानी कारोबारको लागत घटाउँदै नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने।
- नेपालका परम्परागत आर्थिक गतिविधिलाई करको दायरामा ल्याएर व्यवस्थित बनाउने।
ख) अनौपचारिक कारोबारलाई नियन्त्रण गर्ने उपायहरू:
- ठूलो रकमको कारोबार नगदमा गर्न नपाइने व्यवस्था कार्यान्वयनमा ल्याउने।
- बैंक कारोबारमा ग्राहक पहिचान (KYC) नियमित अद्यावधिक गर्ने र ठूला कारोबारमा परिचयपत्र अनिवार्य गर्ने।
- कर (Tax) का दायराहरू विस्तार गरेर त्यस्ता कारोबारलाई औपचारिक बनाउने।
- असंगठित रूपमा स्थापित प्रतिष्ठानहरूलाई दर्ता प्रक्रिया, कर, दस्तुर आदिमा निश्चित समयसम्म छुट दिएर औपचारिक दायरामा ल्याउन प्रोत्साहन गर्ने।
- भन्सार प्रणालीलाई चुस्त र व्यवस्थित बनाई राजस्व चुहावट नियन्त्रण गर्ने।
ग) औपचारिक कारोबारलाई थप व्यवस्थित गर्ने उपायहरू:
- मुलुकमा औद्योगीकरण र व्यवसायीकरण बढाउँदै लैजाने, जसले कारोबार स्वतः औपचारिक दायराभित्र आउँछ।
- कृषि क्षेत्रको व्यवसायीकरणमा जोड दिई किसानहरूलाई बैंक कर्जामा सहज पहुँच, कर तथा राजस्व छुटजस्ता प्रोत्साहन दिने।
३. औपचारिक कारोबारलाई देशको अर्थतन्त्र विकासको मुख्य आधार मानिन्छ, किन?
उत्तर: आर्थिक विकास एक बहुआयामिक तथा जटिल प्रक्रिया हो। मुलुकको कुल गार्हस्थ्य उत्पादन, कुल राष्ट्रिय उत्पादन, र प्रति व्यक्ति आयको सकारात्मक वृद्धिसँगै आमजनताको जीवनस्तरमा आएको बढोत्तरी नै आर्थिक विकास हो। औपचारिक कारोबार (Formal Transaction) लाई देशको अर्थतन्त्र विकासको मुख्य आधार मानिन्छ, जसका कारणहरू निम्न छन्:
- यसले आर्थिक विकासको नेतृत्व गर्छ र समष्टिगत आर्थिक स्थायित्व कायम गर्न मद्दत गर्छ।
- सामाजिक न्यायसहितको आर्थिक प्रणालीको निर्माणमा सहयोग पुऱ्याउँछ।
- व्यावसायिक मूल्य र मान्यताको आधारमा व्यवसाय सञ्चालन गर्न प्रेरित गर्छ।
- वस्तु तथा सेवाहरूको गुणस्तर अभिवृद्धि गरी सर्वसुलभ रूपमा जनतालाई उपलब्ध गराउँछ।
- मुलुकको आर्थिक वृद्धि, राजस्व (Revenue) परिचालन र उद्यमशीलता वृद्धिमा योगदान गर्छ।
- उपभोग्य वस्तुको सरल आपूर्ति तथा वितरण गर्दै सुपथ मूल्य कायम गरी उपभोक्ता हित प्रवर्द्धन गर्छ।
- व्यापार घाटा कम गर्न र राष्ट्रिय आम्दानीमा वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।
४. स्थानीय कारोबारलाई सबल र प्रभावकारी बनाउन के गर्नुपर्छ?
उत्तर: स्थानीय स्तरमा उत्पादन भएका वस्तु तथा सेवा त्यहीँ बिक्री गर्ने कार्यलाई स्थानीय कारोबार (Local Transaction) भनिन्छ। परम्परागत रूपमा लुगा सिउने, फलामका भाँडा बनाउने, खेती गर्ने, पशुपालन गर्ने जस्ता कार्यहरू स्थानीय कारोबार हुन्। यसले स्थानीय आवश्यकता पूरा गर्ने भएकाले यसलाई थप प्रभावकारी र सबल बनाउन आवश्यक छ, जसका लागि निम्न उपायहरू अपनाउन सकिन्छ:
- कृषि क्षेत्रको व्यवसायीकरणमा जोड दिई किसानहरूलाई बैंक कर्जामा सहज पहुँच, कर तथा राजस्व छुट जस्ता प्रोत्साहन दिने नीतिगत व्यवस्था गर्ने।
- राजस्व चुहावट नियन्त्रण गर्न मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (VCTS) को शुभारम्भ र प्रभावकारी कार्यान्वयन गर्ने।
- नेपालका परम्परागत कारोबार गतिविधिहरूलाई करको दायरामा ल्याएर व्यवस्थित गर्ने।
- विद्युतीय भुक्तानी कारोबारको लागत घटाउँदै नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने।
- स्थानीय कारोबारमा हुने अनौपचारिक गतिविधिलाई निरुत्साहित गर्न ठूलो रकमको कारोबार नगदमा गर्न नपाइने व्यवस्था कार्यान्वयनमा ल्याउने।
यो पनि पढ्नुहोस्
कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us