class 11 Social Unit 9-Chapter 2 | बस्ती विकास (Basti Bikas)-बस्ती, जनसङ्ख्या र विकास
An overview of Basti Bikas (Settlement Development) notes for NEB class 11 Social Studies

एकाइ ९: बस्ती, जनसङ्ख्या र विकास

पाठ २: बस्ती विकास

यस पाठमा हामीले बस्ती विकास (Basti Bikas) र यसका विभिन्न पक्षहरूको बारेमा अध्ययन गर्नेछौँ। मानव सभ्यताको सुरुवातदेखि नै बस्तीहरूको विकास हुँदै आएको छ। बस्तीको प्रकृति, त्यहाँ उपलब्ध सामाजिक सेवाहरू, र वातावरणीय क्षेत्रसँग यसको गहिरो सम्बन्ध हुन्छ। यो पाठले हाम्लेट र गाउँ बीचको भिन्नतादेखि लिएर बस्ती विकासको महत्त्वबारे विस्तृत जानकारी प्रदान गर्दछ।

Basti Bikas

१. हाम्लेट र गाउँका बीचको फरक छुट्याउनुहोस्।

उत्तर: हाम्लेट (Hamlet)गाउँ (Village) का बीचको फरक यसप्रकार रहेका छन्:

हाम्लेट (Hamlet)

  • हाम्लेट गाउँको पूर्वावस्था हो।
  • यस्तो बस्तीमा प्रायः एउटै जाति वा परिवारका मानिसहरू बस्दछन्।
  • बस्तीका जातिअनुसार सामाजिक सेवाको विकास गरिन्छ।
  • मानिसहरूका धार्मिक आस्थाअनुसारका धार्मिक स्थलको निर्माण गरिन्छ।
  • समुदायअनुसारको धार्मिक गतिविधि गरिन्छ।

गाउँ (Village)

  • गाउँ हाम्लेटको विस्तारित रूप हो।
  • यस्तो बस्तीमा विभिन्न जाति वा परिवारका मानिसहरू बस्दछन्।
  • सबै जातिका साझा आवश्यकताअनुसार सेवा विकास गरिन्छ।
  • बस्तीको प्रकृतिअनुसार धार्मिक स्थलको निर्माण गरिन्छ।
  • सबै समुदाय, धर्म र जातिका मानिसहरूको धार्मिक गतिविधि गरिन्छ।

२. ‘बस्तीको प्रकृति र सामाजिक सेवाबीच गहिरो सम्बन्ध हुन्छ।’ यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस्।

उत्तर: जब बस्तीको प्रकृतिमा नियमित रूपमा परिवर्तन र विस्तार हुन्छ, तब बस्तीको आकार र कार्यमा पनि विस्तार हुन्छ। यसले बस्तीहरूमा जनसङ्ख्याको वृद्धि हुन गई नयाँ-नयाँ गतिविधि र सेवाहरू थपिन थाल्छन्। सेवा र सुविधाहरू थपिँदै जाँदा बस्तीको प्रकृति पनि परिवर्तन हुँदै जान्छ। त्यसैले, बस्तीको प्रकृति र सामाजिक सेवाबीच गहिरो सम्बन्ध छ।

उदाहरणका लागि, डेनियल र हप्किन्सका अनुसार बस्तीलाई एउटा त्यस्तो स्थानका रूपमा लिइन्छ जहाँ मानिसहरू बस्दछन् र विभिन्न किसिमका क्रियाकलापहरू, जस्तै- व्यापार, शिल्प, उद्योग आदि गर्दछन्। यसका लागि खानेपानी, इन्धन, खाना, स्वास्थ्य, शिक्षा, सुरक्षा, यातायात र सञ्चार जस्ता सामाजिक सेवा (Social Services) को आवश्यकता पर्दछ। विभिन्न खालका बस्तीहरूमा सामाजिक सेवाको आवश्यकता र उपलब्धता पनि फरक-फरक हुन सक्छ। एकाकी बस्ती कृषिमा आधारित एउटा बस्ती हो। खासगरी घरबाट कृषि फार्मसम्म आवतजावत गर्न गाह्रो हुने हुनाले कृषि फार्ममा यस्ता बस्तीहरूको निर्माण हुन्छ। यस्ता बस्तीहरूमा आधारभूत सेवाहरू खानेपानी, बिजुली, सिँचाइ आदिको आवश्यकताअनुसार उपलब्धता हुन्छ। एक बस्तीबाट अर्को बस्ती अलि टाढा हुँदा ती बस्तीहरूमा सुरक्षाको आवश्यकता बढी पर्दछ। यस्ता ठाउँहरूमा महत्त्वपूर्ण सामाजिक सेवाका रूपमा शान्ति सुरक्षा आवश्यक पर्दछ।

३. बस्ती विकास भनेको के हो? मानव जीवनमा यसको महत्त्व उल्लेख गर्नुहोस्।

उत्तर: जब बस्तीको प्रकृतिमा नियमित रूपमा परिवर्तन र विस्तार हुन्छ, तब बस्तीको आकार र कार्यमा पनि विस्तार हुन्छ। यसले बस्तीहरूमा जनसङ्ख्याको वृद्धि हुन गई नयाँ-नयाँ गतिविधि र सेवाहरू थपिन थाल्छन्, यसैलाई नै बस्ती विकास (Settlement Development) भनिन्छ। मानव जीवनमा बस्ती विकासको अत्यन्तै महत्त्वपूर्ण भूमिका हुन्छ, जसका केही महत्त्वहरू निम्नानुसार छन्:

  • यसले मानवीय आवश्यकता परिपूर्ति गर्दछ।
  • मानिसहरूले गर्ने विभिन्न किसिमका क्रियाकलापहरू जस्तै- कृषि, उद्योग, व्यापार व्यवसाय आदिमा यसले सहजता ल्याउँदछ।
  • यसले बस्तीको प्रकृतिमा नियमित रूपमा परिवर्तन र विस्तार गर्दछ।
  • यसले बस्तीमा नयाँ-नयाँ गतिविधि र सेवाहरू थप्दछ।
  • यसले गुणस्तरीय खानेपानी, खाना, स्वास्थ्य सेवा, शिक्षा, सुरक्षा, यातायात र सञ्चार जस्ता मानवका सामाजिक आवश्यकता उपलब्ध गराउँदछ।

४. ‘मानव बस्तीको पर्यावरणीय क्षेत्रसँग गहिरो सम्बन्ध रहेको छ।’ यस भनाइलाई उदाहरणसहित प्रस्ट पार्नुहोस्।

उत्तर: मानव बस्तीको पर्यावरणीय क्षेत्र (Environmental Zone) सँग गहिरो सम्बन्ध रहेको हुन्छ। मानिसले आफ्ना आवश्यकता, क्षमता तथा रुचिअनुसार प्राकृतिक वातावरणको सीमाभित्र बसेर वातावरणसित अन्तरसम्बन्ध कायम गर्दछ। तसर्थ, बस्तीको विस्तार, स्वरूप र संरचनामा पर्यावरणको प्रत्यक्ष प्रभाव पर्दछ।

मानव बस्ती र पर्यावरणको सम्बन्ध गहिरो रहेको कुरा प्राचीन मानव सभ्यताहरूले पनि प्रस्ट पार्दछ। मानव बस्तीको विकासक्रमको धेरै पुरानो इतिहास रहेको छ। मानिसहरूले स्रोत र साधनहरूको उपलब्धता भएको स्थानमा बस्तीहरूको विकास गरी बसोबास गरेको पाइन्छ। विशेष गरेर त्यतिबेला पानी र यातायातको उपलब्धता नै बस्ती विकासका मुख्य आधारहरू थिए। त्यसैकारणले गर्दा नै प्रायः प्राचीन बस्तीहरू नदी किनार क्षेत्रमा नै विकास भएका पाइन्छन्। मिस्रको सभ्यता नाइल नदीको किनारमा, मेसोपोटामियाको सभ्यता युफ्रेटस एवम् टिग्रिस नदीको बीचमा र सिन्धुघाटीको सभ्यता सिन्धु र रावी नदीको किनारमा विकास भएका थिए। यसरी पानीको स्रोत छेउछाउको पर्यावरणीय अवस्थाले प्राचीन बस्तीको विकासमा सहयोग पुर्‍याएको इतिहासले प्रस्ट पार्दछ।

उदाहरणका लागि, नेपालको हिमाल, पहाड र तराई गरी तीन पर्यावरणीय क्षेत्रहरूलाई लिन सकिन्छ। यी क्षेत्रहरूमा विकास भएका बस्तीहरू पनि आ-आफ्नै शैलीका छन्। तराई क्षेत्रका पुराना बस्तीहरूमा काठका वा माटो र बाँसले बनेका होचा घरहरू पाइन्छन्। यहाँ जङ्गली जनावरहरूको आक्रमणबाट बच्नका लागि एकीकृत बस्तीहरू निर्माण गरिएका छन्। पहाडी प्रदेशमा भिरालो भूधरातल, कम उर्वरायुक्त जमिन आदिका कारणले गर्दा बस्तीहरू छरिएर रहेका छन्। हिमाली प्रदेशमा पनि स्रोत र साधनको उपलब्ध भएको स्थानमा सघन बस्ती रहेको पाइन्छ। यी माथिका व्याख्याबाट मानव बस्तीको पर्यावरणीय क्षेत्रसँग गहिरो सम्बन्ध रहेको छ भन्ने प्रस्ट हुन्छ।

थप जानकारीका लागि आधिकारिक स्रोतहरू:

UN-Habitat (Settlement Planning) बस्तीबारे थप जान्नुहोस्

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top