class 11 Social Unit 6-Chapter 1 | विश्व इतिहासको लेखन र मूल प्रवृत्ति (Biswa Itihasko Lekhan ra Mul Pravriti)-विश्वको इतिहास
An overview of Biswa Itihasko Lekhan ra Mul Pravriti notes for NEB class 11 Social Studies

एकाइ ६: विश्वको इतिहास

पाठ १: विश्व इतिहासको लेखन र मूल प्रवृत्ति

यस पाठमा हामीले विश्व इतिहासको लेखन र यसका मूल प्रवृत्तिहरू (Biswa Itihasko Lekhan ra Mul Pravriti) बारे विस्तृत रूपमा अध्ययन गर्नेछौँ। इतिहास लेखन कसरी मौखिक परम्पराबाट वैज्ञानिक र विश्लेषणात्मक स्वरूपमा विकसित भयो भन्ने कुरा बुझ्नेछौँ। साथै, इतिहास लेख्ने विभिन्न शैली र विधिहरूले कसरी विगतको हाम्रो बुझाइलाई आकार दिन्छ भन्नेबारे पनि छलफल गर्नेछौँ।

Biswa Itihasko Lekhan ra Mul Pravriti

१. इतिहास कसरी लेखिन्छ? उल्लेख गर्नुहोस्।

उत्तर: विगतका घटनाको वर्णनलाई इतिहास भनिन्छ। विश्व इतिहास लेखनको सुरुवात प्राचीन युरोपबाट भएको मानिन्छ। सुरुमा इतिहासको वर्णन मौखिक रूपमा हुने गर्दथ्यो। विभिन्न कथा, गीत र कवितामार्फत इतिहासका घटनाहरू सुनाउने गरिन्थ्यो। पछिल्ला पुस्तामा यसरी नै इतिहासको जानकारी हुँदै आएको थियो।

सामान्यतया, इतिहास लेख्ने चारवटा मुख्य प्रवृत्तिहरू रहेका छन्:

  • पूर्वावर्ती घटनाहरूको सङ्ग्रहका रूपमा (Antecedents Trend): घटनाहरूलाई जस्ताको तस्तै सङ्कलन गर्ने।
  • विश्लेषणात्मक प्रवृत्ति (Annalistic Trend): घटनाको विकासक्रमको अध्ययन र विश्लेषण गर्ने।
  • प्रबन्धात्मक प्रवृत्ति (Monographic Trend): कुनै विषयवस्तुमा इतिहासकारको धारणा मिसाएर लेख्ने।
  • वैज्ञानिक प्रवृत्ति (Scientific Trend): तथ्य र प्रमाणको आधारमा व्याख्या र विश्लेषण गर्ने।

२. इतिहास लेखनका मूल प्रवृत्तिहरूका बारेमा छोटकरीमा उल्लेख गर्नुहोस्।

उत्तर: सत्रौं शताब्दीदेखि इतिहासका मूल प्रवृत्तिहरू ज्ञानको विस्तार (Enlightenment), औद्योगिकीकरण, साम्राज्यवाद, राष्ट्रवाद, राजनीतिक क्रान्ति, विश्व युद्ध, शीत युद्ध, उपनिवेशवाद र विश्वव्यापीकरणतर्फ उन्मुख भएको पाइन्छ। इतिहास लेखनका मूल प्रवृत्तिहरू निम्नानुसार रहेका छन्:

क) पूर्वावर्ती घटनाहरूको सङ्ग्रहका रूपमा इतिहास लेख्ने प्रवृत्ति (Antecedents Trend)

यो प्रवृत्तिमा विगतका घटनाहरूको कालक्रमको विवरण मात्र टिपेर घटनालाई जस्ताको तस्तै सङ्ग्रह गरी इतिहास तयार गरिन्छ। यसमा घटनाको गहिरो विश्लेषण हुँदैन।

ख) विश्लेषणात्मक इतिहास लेखन प्रवृत्ति (Annalistic Trend)

विश्लेषणात्मक इतिहास लेखन प्रवृत्तिको सुरुवात रोमन इतिहासकारहरूले गरेका थिए। यस प्रकारको लेखनमा कुनै एउटा घटना वा तथ्य जहिलेसम्म र जसरी विकसित हुँदै जान्छ, तबसम्म त्यसको अध्ययन र विश्लेषण गर्दै त्यसका बारेमा विस्तारमा इतिहास लेख्ने क्रम रहन्छ।

ग) प्रबन्धात्मक इतिहास लेखन प्रवृत्ति (Monographic Trend)

इतिहास लेखनको यो विश्वभर प्रचलित परम्परा हो। यस परम्पराअनुसार इतिहास लेखन गर्दा ऐतिहासिक घटना वा विषयवस्तुलाई विशेष लेखका रूपमा इतिहासकारको धारणा मिसाएर प्रस्तुत गरिन्छ। यसमा इतिहास पढ्ने पाठकले लेखकको धारणाअनुसार नै आफ्नो धारणा विकसित गर्दछ।

घ) वैज्ञानिक प्रवृत्ति (Scientific Trend)

यस प्रवृत्तिमा तथ्य तथा प्रमाणहरू खोजी गरी सोका आधारमा विषयवस्तुको व्याख्या र विश्लेषण गर्दै इतिहास लेख्ने काम गरिन्छ। यो आधुनिक इतिहास लेखनको सबैभन्दा विश्वसनीय विधि मानिन्छ।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top