एकाइ ७: सामाजिक पहिचान, विविधता र वर्ग विभाजन
पाठ २: दलित सवाल
यस पाठमा हामीले दलित सवाल (Dalit Sawal) र यससँग सम्बन्धित सामाजिक, आर्थिक, र राजनीतिक समस्याहरू बारे विस्तृत रूपमा अध्ययन गर्नेछौँ। दलित समुदायले भोग्दै आएको जातीय विभेद (Caste Discrimination) र छुवाछुतजस्ता कुप्रथाको अन्त्यका लागि भएका प्रयासहरू र समाधानका उपायहरूबारे पनि हामी छलफल गर्नेछौँ।
Dalit Sawal
अभ्यासका विषयहरू
१. दलित जागरण सम्बन्धमा गीत, कविता वा कथा लेखी प्रस्तुत गर्नुहोस्।
दलित शब्द मेटाऔँ
विभेदको अन्त्य गर्नुलाई, दलित शब्द मेटाउनुपर्छ
दलितको बदलामा हामी, एक नेपाली लेख्नुपर्छ।
जातीय हिंसाको ऐंजेरु, जरैदेखि उखेल्नुपर्छ
एकै जातको नयाँ नेपाल, हामी मिली बनाउनुपर्छ।
हारेको होइन अब जितको, इतिहास लेखाउनुपर्छ
निष्पट्ट रात चिरी सुनौलो, बिहानी ल्याउनुपर्छ।
पुस्तौँ पुस्ता बिते यहाँ, अधिकार खोज्दा खोज्दै
आफ्नै शिर झुक्यो दलित, हामी भनेर लेख्दा लेख्दै।
आरक्षणको भीख होइन, राज्यले समानता दिनुपर्यो
दिँदैन राज्यले समानता भने, लडेर भए पनि लिनुपर्यो।
जातीय होइन मानवीय, मुद्दामा बहस हुनुपर्छ
देशमा सबैले सम्मान, साथ बाँच्न पाउनुपर्छ।
– स्रोत: रातोपाटी संग्रह
२. दलितका समस्याहरू पहिचान गरी समाधानका उपायहरू पहिल्याउनुहोस्।
उत्तर: ‘दलित’ शब्दको अर्थ दमन गरिएको वा थिचिएको भन्ने हुन्छ। यद्यपि, दलित वर्ग नेपालका सामाजिक इन्जिनियर र आविष्कारक पनि हुन्। मानव समाजलाई समृद्ध पार्ने कार्य उनीहरूबाट हुँदै आएको छ। तर, विभिन्न सामाजिक, आर्थिक र राजनीतिक कारणले गर्दा यो समुदाय पछाडि परेको छ।
दलित समुदायका प्रमुख समस्याहरू:
- आर्थिक क्षेत्रमा: भूमिहीनता, बेरोजगारी र परम्परागत पेसा एवं बालीघरे प्रथा कायमै रहनु।
- राजनीतिक क्षेत्रमा: नीति निर्माण र कार्यान्वयन गर्ने निकायमा समानुपातिक र सार्थक उपस्थितिको व्यवस्था नहुनु।
- सामाजिक क्षेत्रमा: छुवाछुत तथा भेदभाव (Untouchability and Discrimination) हुनु, शिक्षामा पहुँच नहुनु, सामाजिक अपमान र अन्याय कायम रहनु।
- व्यक्तिगत क्षेत्रमा: व्यक्तिगत स्वतन्त्रता र क्षमताको उपयोग गर्नबाट वञ्चित हुने अवस्था रहनु।
समस्या समाधानका उपायहरू:
- संविधानमा व्यवस्था गरिएका दलित समुदायका हक अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न आवश्यक कानुनको निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने।
- नेपालको संविधान (२०७२) को धारा १६ बमोजिम समाजमा सम्मानपूर्वक बाँच्न पाउने वातावरणको सुनिश्चित गर्ने।
- दलित समुदायको आर्थिक-सामाजिक सशक्तीकरण (Socio-economic Empowerment) मा विशेष कार्यक्रम ल्याउने।
- जातीय विभेद गर्ने वा त्यसका लागि दुरुत्साहन गर्ने व्यक्तिलाई तुरुन्त कानुनी दायरामा ल्याउने र कानुनबमोजिम कारबाही गर्ने।
- वर्गीय हिसाबले अधिकांश दलित समुदाय निम्न वर्गमा पर्ने भएकाले उनीहरूको आर्थिक अवस्था उकास्न प्रभावकारी कार्यक्रम ल्याउने।
- दलित समुदायको परम्परागत पेसा, सीप र कलालाई व्यवसायीकरण र आधुनिकीकरण गर्नका लागि प्रोत्साहन गर्ने।
३. ‘दलित हुनु सामाजिक विभेदको परिणति हो। त्यसलाई आधार मानेर आफ्नै दाजुभाइ दिदीबहिनीहरू माथि भेदभाव गर्नु दण्डनीय छ।’ यस भनाइलाई पुष्टि गर्नुहोस्।
उत्तर: छुवाछुत प्रथा अर्थात् जातीय विभेद एक गम्भीर सामाजिक कुप्रथा हो। यो हाम्रो राष्ट्रकै एक जटिल समस्याको रूपमा रहेको छ। युगौँदेखि जरा गाडेर बसेको जातीय भेदभाव र यसकारण उत्पन्न दलितको अवस्थामा सुधार ल्याउन विभिन्न कानुनी व्यवस्था गरिएको छ।
कानुनले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जातजाति, वंश, समुदाय, पेसा वा शारीरिक अवस्थाका आधारमा भेदभाव गरेमा त्यसलाई जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभाव (कसूर र सजाय) ऐन अन्तर्गत दण्डनीय मानेको छ।
स्वभाविक रूपमा यस भनाइले के पुष्टि गर्दछ भने ‘दलित हुनु सामाजिक विभेदको परिणति हो। त्यसलाई आधार मानेर आफ्नै दाजुभाइ दिदीबहिनीहरू माथि भेदभाव गर्नु दण्डनीय छ।’ तसर्थ, समाजमा रहेका सबै प्रकारका विभेद, असमानता र विकृतिहरूको अन्त्य गरी सभ्य र समतामूलक समाज निर्माण गर्नु आजको आवश्यकता हो। समाजमा सबै वर्ग, जात, धर्म र लिङ्गको सहअस्तित्वलाई सम्मान गरी सामाजिक सहिष्णुता दृढ राख्न राज्यले आवश्यक कदम चाल्नुपर्छ।
यो पनि पढ्नुहोस्
कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us